विकासन्युज

एफएनसीसीआइले वितरण गर्यो निम्न वर्गीय परिवारलाई खाद्यान्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) ले कामदारहरुलाई ४० हजार किलो चामल र ५ हजार किलो दाल वितरण गरेको छ । एफएनसीसीआइले लकडाउनका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका निम्न वर्गीय श्रमिक तथा कामदारहरुलाई राहत वितरण गरेको हो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र महासंघकी अध्यक्ष भवानी राणाले संयुक्त रुपमा खाद्यान्न हस्तान्तरण गरेका हुन् ।

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

काठमाडौं । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ । इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा बढेको छ । कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ । कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौं मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ । यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजार ९ सय ६४ सङ्क्रमित भएको र ६४ हजार ७ सय २७ को ज्यान गएको वल्र्डोमिटरर्सको तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजार ६ सय ३८ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना सङ्क्रमित भएको तथ्याङ्क छ । बीस हजार ९ सय ९६ उपचारपछि निको भई घर फर्केका छन् । इटालीमा कोरोनाको सङ्क्रमण र मृत्युदर भयावह देखिए पनि त्यहाँ रहेका नेपालीहरू भने सुरक्षित नै रहेको गैरआवासीय नेपाली सङ्घ इटालीका अध्यक्ष देव गुरुङले जानकारी दिएका छन् । गुरुङका अनुसार इटालीमा १५ सयको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । “यहाँको अवस्था हेर्दा नेपालीहरुको अवस्था चिन्ताजनक नै छ, तर आत्तिइहाल्नुपर्ने अवस्था भने छैन”, गुरुङले भने, “यहाँ रहेका सबै नेपालीसँग हामी निरन्तर सम्पर्कमा छौँ ।” कोरोनाको सङ्क्रमणले सङ्कटग्रस्ट इटालीले गत मार्च ४ (फागुन २१ गते) देखि राष्ट्रिय सङ्कटकालको घोषणा गरेको थियो । गैरआवासीय नेपाली सङ्घका युरोप क्षेत्रीय संयोजक नारायण आचार्यले कोरोनाका कारण सिङ्गो युरोप नै सङ्कटमा गुज्रिरहेकाले नेपालीहरु पनि उच्च जोखिममा रहेको बताएका छन् । कोरोना सङ्क्रमण तिव्र गतिमा बढिरहे युरोपमा रहेका नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा रहेको उनले बताए । कोरोनाको सङ्क्रमणबाट बच्न उच्च सावधानी र सतर्कता अपनाउन युरोपबासी नेपालीहरुलाई आग्रह गर्दै आचार्यले यो महामारीबाट बच्न र बचाउन सङ्घसमेत संस्थागतरूपमा लागि परेको जानकारी दिए । आचार्यका अनुसार कोरोनाबाट आइपर्न सक्ने सम्भावित सङ्कटलाई मध्यनजर गरेर युरोपमा रहेका नेपालीहरुको राहत र उद्धारका लागि ५० हजार युरो बराबरको आपतकालीन कोष स्थापना गर्ने निर्णय भएको छ । कोरोनाबाट प्रभावित नेपालीहरुको तथ्याङ्क सङ्कलन गरेर समस्यामा परेका नेपालीहरुलाई उक्त कोषबाट राहत प्रदान गरिने उनले बताए । इटालीपछि कोराना सङ्क्रमणका कारण सबैभन्दा बढीले ज्यान गुमाएको अर्को युरोपेली देश हो, स्पेन । कोरोनाका कारण स्पेनमा ११ हजार ९ सय ४७ को ज्यान गएको छ भने एक लाख २६ हजार १ सय ६८ मा सङ्क्रमण भएको तथ्याङ्क छ । तीमध्ये ३४ हजार २ सय १९ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्क हेर्दा स्पेनमा पनि कोरोना सङ्क्रमणको वृद्धिदर इटालीमा जस्तै तीव्रगतिमा बढिरहेको छ । स्पेनमा रहेका लोकगायक राजेन्द्र लम्सालले स्पेनको अवस्था निकै दर्दनाक रहेको जानकारी दिए । “घरभित्रै बसेको धेरै दिन भइसक्यो, अत्यावश्यक काम बाहेक घरबाहिर निस्किएका छैनौँ, सर्वत्र कोरोनाको त्रास छ । कतिबेला के हुने हो, केही थाहा छैन”, लम्सालले भने । उद्योगधन्दा, कलकारखाना, सार्वजनिक यातायात, शहर बजार, होटेल रेष्टुरेण्ट, व्यावसायिक प्रतिष्ठानहरु ठप्प हुँदा दैनिकी कष्टकर बन्दै गएको जानकारी दिए । कोरोनाका कारण आक्रान्त बनेको स्पेनमा १० हजारको हाराहारीमा नेपालीको बसोबास रहेको अनुमान छ । स्पेनमा हालसम्म सात नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको गैर आवासीय नेपाली सङ्घ स्पेनका अध्यक्ष दिनेश गुरुङले जानकारी दिए । सङ्क्रमित नेपालीहरुको अस्पतालमा उपचार भइरहेको छ भने तीमध्ये एक जना नेपाली उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसबाट तेस्रो बढी प्रभावित बनेको अर्को युरोपेली मुलुक हो, फ्रान्स । त्यहाँ कोरोनाका कारण सात हजार ५ सय ६० को मृत्यु भइसकेको छ भने ८९ हजार ९ सय ५३ मा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये १५ हजार ४ सय ३८ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । गत सातादेखि फ्रान्समा पनि मृत्युदर र सङ्क्रमण दर बढ्दै गएको छ । कोरोनाको महामारीका कारण आक्रान्त बनेको फ्रान्सको स्थिति हेर्दा नेपालीहरु पनि त्रसित रहेको पेरिसमा रहेका स्याङजाका विष्णुबहादुर सारुले बताए । “घरभित्रै बसेको तीन साताभन्दा बढी भयो, बजार पूरै ठप्प छ”, थापाले भने, “अत्यावश्यक कामका लागि स्वीकृति लिएर मात्रै बाहिर जान पाइन्छ । अन्यथा जरिवाना र जेलसम्मको सजाय हुन्छ ।” फ्रान्समा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको गैरआवासीय नेपाली सङ्घ फ्रान्सका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । नेपालीहरु सुरक्षित रहे पनि जोखिम भने उच्च रहेको छ । कोरोनाले निम्त्याएको सङ्कटका कारण समस्यामा परेका ३५ भन्दा बढी नेपालीलाई सङ्घले राहतस्वरूप खाद्यान्न सामग्री प्रदान गरेको शाहीले जानकारी दिए । फ्रान्समा करिब पाँच हजारको हाराहारीमा नेपालीहरुको बसोबास रहेको दूतावासको अनुमान छ । हालसम्म त्यहाँ रहेका नेपाली सुरक्षित रहेको फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले राससलाई जानकारी दिए । नेपालीहरुलाई पर्ने समस्यामा सहयोग र सहकार्य गर्न फ्रान्स र पोर्चुगलको सरकारलाई आग्रह गरिएको र त्यहाँको सरकारले पनि सहयोग गर्ने आश्वासन दिएको राजदूत अधिकारीले बताए । त्यस्तै जर्मनीमा हालसम्म ९६ हजार ९२ मा कोरोनाको सङ्क्रमण देखा परेको छ भने एक हजार ४४४ को मृत्यु भइसकेको छ । तीमध्ये २६ हजार ४० उपचारपछि घर फर्केका छन् । त्यस्तै बेल्जियममा पनि एक हजार २८३ को मृत्यु भइसकेको छ भने १८ हजार ४ सय ३१ मा सङ्क्रमण भएको पुष्टि भएको छ । तीन हजार २४७ स्वास्थ्यलाभ गरेर घर फर्केका छन् । युरोपमै सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको बेलायतमा ४१ हजार ९०३ मा कोरोनाको सङ्क्रमण देखा परेको छ । त्यहाँ चार हजार ३१३ ले ज्यान गुमाएका छन् । ती मध्ये १३५ जना उपचारपछि घर फर्केका छन् । बेलायतमा हालसम्म आठ नेपालीलाई कोरोना सङ्क्रमणको पुष्टि भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । तीमध्ये दुई नेपालीको ज्यान गएको दूतावासका उपनियोग प्रमुख शरदराज आरणले राससलाई जानकारी दिनुभयो । आरणका अनुसार हाल दुई नेपालीको उपचार भइरहेको छ भने चार जना उपचारपछि घर फर्किसकेका छन् । अन्य १० नेपाली कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेको उनले भने । बेलायतमा रहेका नेपालीहरुलाई उच्च सजगता र सतर्कता अपनाउन विशेष आग्रहसमेत गरिएको उनले बताए । उनले अनुसार यकिन तथ्याङ्क नभए पनि बेलायतमा डेढलाख नेपालीको बसोबास रहेको अनुमान छ । कोरोनाको महामारी कारण युरोपमा रहेका नेपालीहरुको अवस्था सामान्य रहे पनि जोखिम भने उच्च रहेको नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष केजीन राईले बताए । युरोपमा रहेका नेपालीहरुले गर्ने कामको प्रकृति हेर्दा धेरै नेपालीमा सङ्क्रमण हुनसक्ने तर नेपालीहरु खुल्न नचाहेका कारण पनि सङ्क्रमितको यकिन तथ्याङ्क बाहिर नआएको राईको भनाइ छ । बेलायतपछि सबैभन्दा बढी नेपालीको बसोबास रहेको मुलुक पोर्चुगलमा दश हजार ५२४ मा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । पोर्चुगलमा हालसम्म २६६ जनाले ज्यान गुमाइसकेका छन् । पोर्चुगलमा तीन नेपालीमा कोरोना सङ्क्रमणको आधिकारिक पुष्टि भएको लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । उनका अनुसार सङ्क्रमित नेपालीको अस्पतालमा उपचार भइरहेको छ । वाणिज्यदूत हमालका अनुसार अन्य केही नेपालीहरु कोरोनाको आशङ्कामा क्वारेन्टाइनमा रहेका छन् । यहाँ रहेका नेपालीलाई कोरोनाको सम्भावित सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष सजगता र सतर्कता अपनाउन आह्वान गरिएको हमालले बताए । कोरोनाको महामारीबाट बच्न र समस्यामा परेका नेपालीहरुलाई सहयोग र समन्वय गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ पोर्चुगलले विशेष अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष तिलकप्रसाद गैरेले जानकारी दिए । सङ्घका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको संयोजकत्वमा ‘टास्क फोर्स’ नै बनाएर समस्यामा परेका नेपालीको राहत र उद्धारका लागि परिचालन गरिएको गैरेले बताए । यकिन तथ्याङ्क नभए पनि पोर्चुगलमा करिब २५ हजार नेपालीहरुको बसोबास रहेको अनुमान छ । बेल्जियममा एक नेपालीलाई कोराना सङ्क्रमण पुष्टि भएको बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले जानकारी दिए । राजदूत थापाका अनुसार बेल्जियममा नौ हजारको हारहारीमा नेपालीहरु रहेका छन् । बेल्जियमसहित नेदरल्याण्ड्स र लग्जेम्बर्गमा रहेका नेपालीहरुलाई कोरोनाको सङ्क्रमणबाट बच्नका लागि विशेष सुरक्षा, सर्तकता र उच्च सावधानी अपनाउन राजदूत थापाले आग्रह गरे । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार सङ्क्रमितको सङ्ख्यालाई आधार मान्ने हो भने कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित भएको देश अमेरिका बनेको छ । अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । अमेरिकामा झण्डै तीन लाखमा कोरानाको सङ्क्रमण देखा परेको छ । रासस

कोरोना अपडेटः विश्वभर ६४ हजारको मृत्यु, संक्रमित व्यक्ति १२ लाखभन्दा बढी 

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट आइतबार बिहानसम्म विश्वका विभिन्न देशमा गरी ६४ हजार ७३२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंसारभरि १२ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरुमा २ लाख ४६ हजार जना उपचारपछि घर फर्किएका छन् भने ८ लाख ९१ हजार व्यक्ति हाल उपचारारत छन् । चीनको हुबेइ प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ । यद्यपी पछिल्लो चरणमा संयुक्तराज्य अमेरिका सहित युरोपेली मुलुकहरुमा यस भाइरसका कारण भयावह स्थिति उत्पन्न भएको छ । हाल कोरोनाभाइरसका कारण अत्यन्त प्रभावित इटालीमा १५ हजार ३६२ जनाको मृत्यु भइसकेको भने १ लाख २४ हजार भन्दा बढी सङक्रमित छन् । स्पेनमा ११ हजार ९४७ जनाको मृत्यु भएको छ भने १ लाख २६ हजार भन्दा बढीसङक्रमित रहेका छन् । कोरोनाभाइरसको अर्को केन्द्रका रुपमा विकास भइरहेको संयुक्तराज्य अमेरिकामा ८ हजार ४५४ जनाको मृत्यु भएको छ भने ३ लाख ११ हजार भन्दा बढी सङक्रमित छन् । कोरोनाभाइरस सङ्क्रमणबाट चीनमा ३ हजार ३२९ जनाको मृत्यु भएको छ भने कूल संक्रमित ८१ हजार ६६९ जनामध्ये करिब ७७ हजार व्यक्ति निको भएर घर फर्किएका छन् । जर्मनीमा कोरोनाभाइरसको सङ्क्रमणको कारण १ हजार ४४४ जना, फ्रान्समा ७ हजार ५६० जना, बेलायतमा ४ हजार ३१३ जना नेदरल्यान्ड्समा १ हजार ६५१ जना र बेल्जियममा १ हजार २८३ जनाको मृत्यु मृत्यु भइसकेको छ । इरानमा कोरोना भाइरसको सङ्क्रमणका कारण ३ हजार ४५२ जनाको मृत्यु भएको छ भने दक्षिण कोरियामा १८३ व्यक्तिको मृत्यु भएको छ । (रासस–एएफपी)

कोभिड १९: अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि लकडाउनका जारीका कारण काम प्रभावित भएको हो । विमास्थलको निर्माणमा धावन मार्ग, अन्तर्र्राष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिए । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डर मार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको हो । जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो । तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताए । एसियाली बिकास बैंक (एडिबि) को क्रण सहयोगमा निर्माण भइरहेकको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो विमानस्थल हो । यस विमानस्थलको कुल ७ सय ८७ विघाहा क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ । २०२३ देखि आन्तरिक उडान गर्दै आएको सो सो विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश नं. ५ को आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । रासस

काेराेना राेकथामकाे लागि गण्डकी प्रदेश सरकारले के गर्दै छ ?

काठमाडाैं । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस रोग कोभिड १९  रोकथाम, नियन्त्रण र उपचारको लागि विभिन्न कामहरू गरिरहेकाे छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको यस प्रकाेप नियन्त्रण गर्न गण्डकी प्रदेश सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तीको व्यवस्थापन गरी सुरक्षीत भरपर्दो र विश्वसनिय प्रबन्ध मिलाएको छ । गण्डकी प्रदेश सरकारले निम्न अनुसारका काम गरिरहेकाे छ । १. मुख्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय निर्देशक समिति गठन भएको छ । यसै समिति मार्फत नोभल कोरना भाइरस रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनको कार्य भइरहेको छ । आवश्यकता अनुसार सम्बन्धीत निकायलाई  नियमित निर्देशन दिइरहेको छ । २. आर्थिक मामिला तथा योजना मन्त्रीको संयोजकत्वमा नोभल कोरोना भाइरस रोग  रोकथाम, नियन्त्रण र उपचार गर्न आवश्यक व्यबस्थापनमा सहजीकरण गर्न समन्वय समिति गठन गरी कार्य भइरहेको छ । ३. प्रमुख सचिवको संयोजकत्वमा नोभल कोरोना भाइरस रोग कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्ने सम्वन्धमा आवश्यक अनुगमन गर्न प्रदेश स्तरीय समन्वय समिति गठन गरी कार्य भइरहेको छ । ४. सामाजिक विकास मन्त्रालय मातहात स्वास्थ्य क्षेत्रका प्राविधिक जनशक्ति सम्मिलित कार्य प्रकृति र क्षेत्र अनुसार छुट्टाछुट्टै १० वटा विषयगत समिति गठन गरी आवश्यक स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उक्त समितिमा अस्पताल व्यवस्थापन समिति, कर्मचारी व्यवस्थापन समिति, सूचना तथा संचार व्यवस्थापन समिति, एम्बुलेन्स व्यवस्थापन समिति, क्वारेन्टाइन व्यवस्थापन समिति, र्यापिड रेस्पोन्स समिति, हेल्थ डेस्क व्यवस्थापन समिति, प्रयोगशाला तथा नमूना संकलन व्यवस्थापन समिति, बजार अनुगमन तथा नियमन समिति र आपूर्ति व्यवस्थापन समिति रहेका छन् । ५. कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी र अन्य कर्मचारीलाई राष्ट्रिय मापदण्डमा २५ प्रतिशत थप गरी जोखिम बहन भत्ता र ३० लाख बीमाको व्यवस्था गरीएको छ । नेपाल सरकार कोरोना भाइरस रोकथाम र नियन्त्रण उच्चस्तरीय राष्ट्रिय समन्वय समितिसँंग समन्वय गरी आवश्यक सुरक्षा तथा स्वास्थ्य सामाग्री, उपकरण र औषधीको प्रबन्ध गरिएको छ । ६. गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरसको नमूना परीक्षणको लागि पोर्टेबल पिसिआर मेसिन मार्फत पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमान्चल क्षेत्रिय अस्पतालमा प्रयोगशालाको स्थापना र सञ्चालन भई नमूना परिक्षण गरी पूर्णरुपमा उपचार हुने व्यवस्था मिलाइएको छ । हालसम्म पिपिई १ हजार थान, माक्स २० हजार थान, पञ्जा २० हजार थान, एन फाइभ माक्स ४ सय थान, इनफ्रारेड थर्माेमिटर १० थान, भेन्टीलेटर १ सेट नेपाल सरकारबाट प्राप्त भएको छ । यी सामाग्री जिल्ला/जिल्लामा पठाउने काम भएका छन् । ७. गण्डकी प्रदेश सरकारले १५ करोड रूपैयाँको कोरोना भाइरस रोग रोकथाम, नियन्त्रण तथा उपचार कोष खडा गरेको र सो कोषमा स्वैच्छिक रूपमा रकम जम्मा गर्न आव्हान गरिएकोमा विभिन्न संघसंस्थाबाट रकम जम्मा गर्ने कार्य जारी रहेको छ । त्यसैगरी, प्रदेश सरकारले उक्त कोष सञ्चालन कार्यविधि बनाई कार्यान्वयनमा ल्याएको छ । यस कोषमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री लगायत सबै मन्त्रीहरु तथा पदाधीकारीहरु सबैले एक/एक  महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरीएको छ । ८. गण्डकी प्रदेश सरकारको उक्त निर्णयको स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेश संसदीय दलले आफ्नो प्रत्येक सदस्यहरुको न्युनतम १५ दिनको पारिश्रमिक बराबर हुन आउने रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । यसैगरी, गण्डकी प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोलेको  कोरोना भाइरस रोकथाम आपतकालीन कोषको खाता नं ३०२००१८८३०१ मा सबैले सहयोग गर्न खाता सञ्चालन गरिएको छ । ९. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरालाई आइसोलेशन तथा डेडिकेटेड अस्पतालको रुपमा तोकेर कोरोना भाइरस रोग कोभिड १९ को उपचार गर्न नेपाल सरकारको  निर्णय बमोजिम कार्य अगाडि बढाइ सेवा दिइएको छ । १०. पोखरा स्थित चरक मेमोरियल अस्पताल र शिसुवा सामुदायिक अस्पताललाई आइसोलेशन तथा डेडिकेटेड अस्पताल तोकी कोरोना भाइरस रोगको उपचार गर्न आवश्यकता अनुसार प्रयोग गर्न सकिने गरी तयारी अवस्थामा राखिएको छ । ११. गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालहरुलाई नोभल कोरोना भाइरस रोग  कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारको व्यवस्था गर्न आवश्यक निर्देशन दिइएको र सोको व्यवस्था मिलाउन हरेक जिल्ला अस्पताललाई १०/१० लाख बजेट निकासा दिइएको छ । १३. नोभल कोरोना भाइरस रोग  कोभिड १९ को नियन्त्रण, रोकथाम तथा व्यवस्थापन गर्न प्रदेश सरकार अन्तर्गतको कृषि तालिम केन्द्र, मालेपाटन, स्वास्थ्य तालिम केन्द्र, रामघाट र शिक्षा तालिम केन्द्रहरुमा क्वारेन्टाइन सञ्चालनमा राखिएको छ । नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिमको क्वारेण्टाइन व्यवस्थापन र सञ्चालन गण्डकी प्रदेशका ८५  वटै स्थानीय तहहरुले समेत गरेका छन् । गण्डकी प्रदेशका ११ वटा जिल्लाहरुमा क्वारेन्टाइन ३ हजार ७ वेड ,आइसोलेसन ३ सय ६४ वेड र बिभिन्न अस्पतालहरुमा २ हजार ९ सय १३ वेड तयारी अवस्थामा रहेका छन् । १४. गण्डकी प्रदेशभर खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्रीको सर्वसुलभ र सहज आपूर्ति व्यवस्था मिलाउन माननीय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय, प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय र सम्बन्धित स्थानीय तहको प्रमुख र अध्यक्षको संयोजकत्वमा स्थानीय तहस्तरीय अत्यावश्यक दैनिक उपभोग्य सामग्री आपूर्ति तथा अनुगमन समितिहरू गठन गरी कार्य अगाडि बढाइएको छ । गण्डकी प्रदेशबासीको निम्ति न्यूनतम् तीन महिनासम्म पुग्ने दैनिक उपभोग्य सामाग्री मौजाद रहेको छ । १५. दैनिक रुपमा ज्यालादारी गरी आफ्नो जीविका चलाउन निम्न आयस्रोत भएका तथा निमेक गरी खाने व्यत्तिहरुलाइ लक्षित गरी लकडाउनको अवधिभरीको लागि गण्डकी प्रदेश सरकारले आवश्यक राहत प्याकेजको घोषण गरेको छ र यसका लागी सम्बन्धीत वडा समीतिको कार्यालयले निड्डी पिपुललाई  वितरण गर्ने गरी जनसंख्याको आधारमा पोखरा महानगरपालिकालाई १ करोड, हरेक नगरपालिककालाई १०/१० लाख र हरेक गाउँपालिका लाइ ५/५ लाख नगद उपलब्ध गराइएको छ । सम्बन्धित स्थानीय तहलाई नपुग थप रकम आफै व्यवस्थापन गर्न समेत अनुरोध गरीएको छ । १६. नोभलकोरोना भाइरस रोग नियन्त्रण, रोकथाम तथा व्यवस्थापनको सम्वन्धमा टोल प्रि नम्बरमा फोन गरी  डाक्टरको स्वास्थ्य परामर्श लिने दिने व्यवस्था समेत मिलाइएको छ । यसका लागि तपाईँले टोल प्रि नं १०९२ मा फोन गर्न हुन अनुरोध गर्न चाहन्छु । १७. नोभल कोरोना भाइरस रोग  कोभिड १९ को सम्वन्धमा इनफरमेशन डेस्क खडा गरी सूचना संकलन र प्रवाह गर्ने गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्रीको प्रत्यक्ष नियन्त्रणमा सञ्चालित हेलो मुख्यमन्त्री कक्ष को टोल फ्रि नं १०९४ र एक्सन रुमबाट नोभल कोरोना भाइरस रोग (कोभिड १९) नियन्त्रण, रोकथाम तथा उपचार सम्वन्धमा सर्वसाधारण नागरिकबाट प्राप्त गुनासा तथा सुझाव सम्बोधन गर्ने गरिएको छ ।

कोरोना सङ्क्रमित ६५ वर्षीया वृद्धा भन्छिन्, ‘मेरो आत्मबल नै कडा छ’

काठमाडाैं । बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन्। ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित मरुञ्जेल आमालाई घुमाएर नेपाल फर्काउने चाहना थियो। तर, विदेश पुगेको दुई सातामा नै चीन हुँदै विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण बढ्न थाल्यो। धित मर्ने गरी घुम्ने घुमाउने चाहना थाती राखेर उनले नेपाल फर्किने सोच बनाइन् र तत्कालै नेपाल फर्किइन् पनि। कोरोनाभाइरस सङ्क्रमणको डरले घर त आइन् तर भाइरसले पछ्याउँदै घरसम्मै आइपुगेको उनलाई पत्तो भएन। गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आयो अर्थात् आफूमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको समाचार आयो। सुरुमा पत्यार लागेन, तर नपत्याउने आधार पनि बाँकी रहेन। कसरी सर्‍यो सङ्क्रमण? झण्डै २०/२२ वर्षदेखि दमको रोगी समेत रहेकी उनी बेल्जियमबाट दोहा हुँदै कतार एअरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन्। उनीसँगै एउटै विमानमा आएकी बागलुङ नगरपालिकाकै १९ वर्षीया किशोरीलाई कोरोनाभाइरस सङ्क्रमण भेटिएपछि ती ६५ वर्षीया महिलाको पनि स्वाब परीक्षण गरिएको थियो। त्यसबेलासम्म उनमा सङ्क्रमणको कुनै लक्षण समेत थिएन। तर, परीक्षणका क्रममा पोजेटिभ देखिएपछि अर्की किशोरीसहित उनी यही चैत २० गतेदेखि धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत छिन्। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन्। सङ्क्रमणको डर चैत ४ गते काठमाडाैं उत्रिएपछि उनलाई ज्वाईँ लिन एअरपोर्टमा पुगेका थिए। काठमाण्डाैंबाट यति एअरलाइन्सको उडानबाट पोखरा ओर्लिएपछि जीपमा यसअघि सङ्क्रमित भेटिएकी युवतीसँगै बागलुङसम्म उनीहरू आइपुगेका थिए। आएको दिन उनी छोरीको घरमा बसिन्। अर्को दिन घरमा पुगिन्। घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए। उनीहरूलाई चकलेट पनि बाँडेको बताईन्। अस्पतालमा उपचाररत उनलाई रुघाखोकी, ज्वरो आउने कुनै पनि समस्या देखिएको थिएन। त्यसैले उनलाई सङ्क्रमण भएको अनुभव नै नभएको बताउँछिन्। उनी भन्छिन्, “मलाई कुनै लक्षण नै देखिएको थिएन, पहिलेदेखि नै दमको रोगी भएकाले यो रोग लागेपछि मर्छु की भन्ने चिन्ता नै छैन।” पहिले दम बढेर बस्न खान नहुने अवस्थामा अहिले बरु ठीक भए जस्तो भएको उनको अनुभव छ। “अस्पतालमा बसेको भएपनि मैले कुनै औषधी खाएकी छैन,” उनी भन्छिन्। “मेरो आत्मबल नै कडा छ, रोग लागेको छ भन्ने विश्वास नै छैन। आत्मबल भएकालाई त यो रोग पनि लाग्दो रहेनछ,” उनले थपिन्। बीबीसीबाट

औषधिको अभाव हुन नदिइने, उपल्लो डोल्पामा खाद्य डिपो आवश्यक

काठमाडौं । शिवालय गाउँपालिकाभित्र विपन्नलाई खाद्यान्न वितरणसँगै सबैलाई आवश्यक औषधिको कमी हुन नदिन ढुवानीको काम शुरु भएको छ । सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री र अन्य आवश्यक उपकरणको व्यवस्थापका लागि खरिद प्रक्रिया सुरु भएको पालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए । अहिलेको समयमा जसले जहाँबाट सक्छ, त्यहीबाट सहयोग गर्ने समय भएको भन्दै उनले जिम्मेवारीबाट पन्छिने काम कसैबाट नहोस् भने । सङ्घीय र प्रदेश सरकारले सोचे जति सहयोग नगरेको गुनासो गदै अध्यक्ष शाहीले भने, “स्रोत र सामग्रीविना कसरी स्वास्थ्यकर्मीलाई परिचालन गर्न सकिन्छ । दुई सेट पिपीई पठाएर हुन्छ ?” गाउँपालिकाले दैनिक ज्यालादारी गर्ने १५० घरधुरी स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको छ । गाउँपालिकाले तथ्याङ्क संकलन गरी अति विपन्न तथा गरीब स्थानीयवासीलाई खाद्यान्न वितरण गरेको गाउँपालिका अध्यक्ष शाहीले जानकारी दिए । राहतमा २ केजी दाल, १ लिटर तेल र १ केजी नुन चामलसँगै वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए । प्रत्येक व्यक्तिलाई २५ देखि ३० केजी सम्मको चामल उपलव्ध गराएको छ । प्रतिघरमा १ वटा दरले साबुन वितरण गरिसकेको छ । कूल २ हजार ५०० घरधुरी रहेको गाउँपालिकामा १८ हजार जनसङ्ख्या रहेको छ । गाउँपालिका सवै स्थानीयवासीलाई मास्कको व्यवस्था मिलाएको छ । पहिलो चरणमा २ हजार ५०० सावुन वितरण भइसकेको छ भने थप वितरणको तयारी भएको छ । राहत सामग्री पाएसँगै गरीव तथा विपन्न समुदायका सर्वसाधारण खुशी भएका छन् । कोरोना भाईसर ‘कोभिड–१९० कारण सरकारले जारी गरेको ‘लकडाउन’को पालन गदै बसेका गरीब तथा विपन्न परिवारका सर्वसाधारणहरु राहत पाएसँगै सरकार आफूसँग रहेको अनुभूति गरेका छन् । गाउँपालिका –५ का हस्त बुढाले घरमा आवश्यक खाद्यान्न पाएपछि खुशी लागेको भन्दै भने, “घरदेखि बाहिर निस्किन नपाउने अवस्था थियो, घरमा अन्नको गेडा थिएन, गाउँपालिकाका अध्यक्ष शाही आएर चामल दिए । जे होस् खानेकुराको जोहो भयो । धन्यवाद छ ।” गाउँपालिकाले कोरोनाविरुद्ध जनचेतना फैलाउन रेडियोमार्फत् सार्वजानिक सन्देश प्रशारण गरेको छ । त्यस्तै स्वास्थ्यकर्मी, प्रहरी र कर्मचारीको सहयोगमा गाउँ गाउँमा माइकिङ समेत जारी राखेको छ । सडक सञ्जालले सबै गाउँपालिका भरी छोएका कारण राहत वितरणमा सजिलो भएको छ । गाउँपालिका भित्र आउने मुख्य नाका वडा १ स्थित छेडाचौरमा स्वास्थ्य सहायता कक्ष स्थापना गरी जाँचलाई कडाइ गरिएको छ । महिना दिन नपुग्ने खाद्यान्न नयाँ बाली नपाकेको र पुरानो रित्तिएको अवस्थामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोहरुमा एक महिना नपुग्ने खाद्यान्न रहेको जनाइको छ । कम्पनीका जिल्ला शाखा प्रमुख धर्मबहादुर बस्नेतले बारेकोट गाउँपालिकाको घाटमा १३० क्विटल, नलगाड नगरपालिकाको चौखामा १ हजार २७१, घोगी ३३३ क्वीन्टल, दशेरामा ५० क्वीटल, सदरमुकाममा १ हजार ९ सय २१ क्विटल चामल मौज्दात चामल रहेको जानकारी दिए । जुनिचाँदे गाउँपालिका– ११ ताँगामा भने एक गोडा चामल छैन । त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा चामल ढुवानीको लागि बोलपत्र आह्वान भएपनि अहिलेसम्म ठेक्का सदर भएको छैन । अहिले जिल्ला भरी जम्मा भएको ३ हजार ६३५ क्विन्टल चामल मात्र मौज्दात रहेको छ । डोल्पामा सञ्चित तर वितरण प्रबन्ध हुन कठिनाई छिमेकी जिल्ला डोल्पामा पनि पर्याप्त चामल छ तर जनताको पहुँच पुग्ने ठाउँमा वितरणको प्रबन्ध हुन सकेको छैन । जिल्लाको जुफालमा २२ सय, दुनैमा ३ हजार १४, काईगाउँमा ६००, सर्मीमा १०० क्विन्टल चामल रहेको खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पाले जनाएको छ । उपल्लो डोल्पाको शे फोक्सुण्डोमा नयाँ डिपोको लागि प्रस्ताव पठाइएपनि अहिलेसम्म प्रस्ताव स्वीकृति गरिएको छैन । उपल्लो डोल्पाको बिक्री केन्द्रमा कत्तिपनि चामल नभएको बताइएको छ । हाल त्यहाँ हवाइ मार्गबाट सामान लाने गरिएको छ । कर्णाली प्रदेश सरकारले उपभोक्ताको पहुँचमा पुग्ने गरी खाद्यान्न ढुवालीको प्रबन्ध गर्ने जनाउँदै आएको छ । रासस

अमेरिकामा ५ सय नेपालीमा कोरोनाको सङ्क्रमण

काठमाडौं । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपाली मुलुकका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५ सय कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन । अमेरिकामा रहेका नेपाली कति सङ्क्रमित भएका छन् भन्नेबारे आधिकारिकरूपमा बताउन कसैले पनि सकेका छैनन् । अमेरिकामा रहेको नेपाली दूतावासले नेपालीलाई कुनै समस्या परेको खण्डमा सम्पर्क गर्न भन्दै विभिन्न टेलिफोन नम्बर दिएको छ भने दूतावासको वेबसाइटमा एउटा फर्मसमेत राखिएको छ । रासससँगको कुराकानीका क्रममा अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कार्कीले अमेरिकामा पर्यटन वा अन्य प्रयोजनका लागि भ्रमणमा आएका नेपालीलाई विषम परिस्थितिमा उत्पन्न समस्या र भिसालगायतको विषयमा सम्बोधनका लागि अमेरिकी सरकारसमक्ष आवश्यक प्रक्रियाका लागि कूटनीतिक पत्राचार गरेको बताए । अमेरिका भ्रमणमा रहेका कतिपय नेपालीको भिसाको म्याद सकिएको र उनीहरुमा ‘ओभरस्टे’ हुने हो कि भन्ने आशङ्का रहेको छ । अमेरिकाको राज्यसभाको विधायकमा निर्वाचित ह्यारी भण्डारीले नेपालीभाषी अमेरिकीको सहयोगका लागि आफ्नो कार्यालयले विभिन्न कार्यक्रम गरेको बताए । भण्डारीले आफ्नो विभिन्न माध्यम तथा स्थानीय नेपाली समुदायसँगको परामर्शका आधारमा दैनिकरूपमा नेपालीभाषीहरु कोरोनाबाट सङ्क्रमित भएको रिपोर्ट आएको बताए । भण्डारीको कार्यालयले नेपालीभाषीका लागि बेरोजगार घोषणा गर्ने फर्म तथा व्यवसायमा आधारित कर्जा तथा कतिपय व्यक्तिको सङ्क्रमण परीक्षणका लागि सहयोग गरेको छ । सङ्घीय जनप्रतिनिधिसँग समेत सहकार्य गरेर नागरिकका विभिन्न समस्याको सहजीकरणका लागि काम गरिरहेको उनले भने । भण्डारीले मेरिल्याण्ड जनरल एसेम्बलीमा हेल्थ एण्ड गभर्नमेन्ट अपरेशन कमिटीको सदस्यका रूपमा समेत काम गरिरहेको छ । यसपटक मेरिल्याण्डको जनरल एसेम्बली १५८ वर्षमा पहिलोपटक तोकिएको समयभन्दा अगावै कोरोना भाइरसका कारणले अन्त्य गरिएको थियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष तथा पेशाले चिकित्सकसमेत रहेका डा केशव पौडेल अमेरिकामा रहेका नेपालीमा मनोवैज्ञानिक सन्त्रास अत्यधिक रहेको बताए । कोरोना भाइरसको सामान्य लक्षण देखिएका ८० प्रतिशतभन्दा बढीले खानपान र सामाजिक भेटघाट कम गरी आफैं क्वारेन्टाइनमा बस्दा यसमा कुनै चिन्ता लिनुनपर्ने पौडेलको भनाइ छ । पौडेलले भने, “अमेरिकाभरिका बिरामीको प्रकृति र प्रवृत्ति हेर्दा १५ प्रतिशतलाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आएको र पाँच प्रतिशतलाई इन्सेटिभ केयर युनिट (अति सघन कक्ष) मा भर्ना गर्नुपरेको देखिएको छ । त्यसमध्ये करिब एक दशमलव ४ प्रतिशतका बिरामीले जीवन गुमाउनुपरेको छ । पौडेलका अनुसार करिब ५ सय नेपाली कोरोना भाइरसको सङ्क्रमित भएका छन् । तीमध्ये करिब आधाभन्दा बढी अपस्ताल भर्ना नभई सेल्फ क्वारेन्टाइनमा बसेका छन् । कोरोनाका कारण न्यूयोर्कमा बस्दै आएका अनिल लिम्बूको गत साता निधन भएको थियो । नेपालीहरु अमेरिकाको न्यूयोर्क, क्यालिफोर्निया, न्यूजर्सी, पेन्सलभेनिया, टेक्सासलगायतका स्थानमा बढी बसोबास गर्ने तथ्याङ्क छ । यसैगरी मेरिल्याण्ड, न्यूह्याम्पसायर, कनेक्टिकट, भर्जिनिया, नर्थ क्यारोलिना, कोलोराडो वासिङ्टन इलोनोइजमा पनि बसोबास गर्दै आएका छन् । अमेरिकाको पचासै राज्यमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने मुख्यरूपमा न्यूयोर्कमा बढी देखिएको । न्ययोर्कमा मात्र करिब ४० हजार नेपाली बसोबास गर्ने गरेको अनौपचारिक तथ्याङ्क रहेको छ । तर सङ्घीय सरकारले स्वास्थ्य बीमा नभएकाहरुको पनि उपचार गर्ने र राहत प्याकेजअन्तर्गतको प्रतिव्यक्ति १२ सय डलर उपलब्ध गराउने भएकाले धेरै आत्तिन नपर्ने धारणा भण्डारीको छ । भण्डारीले हरेक राज्यमा बस्ने नेपालीलाई सहयोग गर्न आफ्नो कार्यालयले राज्यपिच्छेको सम्पर्क ठेगानासहितको विवरण आफ्नो वेबसाइटमा राखेकोसमेत बताए । अमेरिकामा ३०० रजिष्टर्ड नर्स आबद्ध रहेको सान सोसाइटी अफ अमेरिकन नेप्लिजको अध्यक्ष रहनुभएकी मञ्जु सङ्ग्रौलाले दिएको जानकारीअनुसार आबद्ध नर्सहरु सबै ‘एक्टिभ ड्युटी’मा रहेका छन् । यसैगरी एनआरएनए ग्लोबल हेल्थ कमिटीका अध्यक्ष डा सञ्जीव सापकोटाले रासससँग कुरा गर्दै भने, “हामीले अनौपचारिक तथ्याङ्क सङ्कलन गरेका छौं, यसरी तथ्याङ्क केलाउँदा करिब ५ सय कोरोना भाइरसको सङ्क्रमित भए । तीमध्ये ८० प्रतिशतभन्दा बढी घरमा नै आइसोलेसनमा बसेका छन् ।” सापकोटाका अनुसार कोरोना भाइरस पोजेटिभ देखिँदैमा जीवन अन्त्य हुन्छ भन्ने भ्रम सबैमा रहेको छ । अमेरिकामा आफ्नो स्वास्थ्य अस्वस्थाका बारेमा जानकारी दिने विषय गोपनीयताको हक भएकाले पनि यकिन तथ्याङ्क पत्ता लगाउन कठिन हुने सापकोटाको भनाइ छ । नागरिक अगुवादेखि नेपाली दूतावासका प्रतिनिधि र अमेरिकाका जनप्रतिनिधिसमेत सबैले एकै स्वरमा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको मार्गनिर्देशनहरु अक्षरशः पालना गर्न समुदायमा अपिल गरेका छन् । रासस