विकासन्युज

स्वावलम्बन लघुवित्तले कोरोना रोकथाम कोषमा दियो २५ लाख रुपैयाँ

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । संस्थाले कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक, काठमाडौंमा रहेको खातामा उक्त रकम जम्मा गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थितिमा देशमा सो को संक्रमण रोकथाम, नियन्त्रण, उपचारका साथै न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास लिई आर्थिक सहयोग रकम उपलब्ध गराएको हो । वित्तीय संस्थाले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय समयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको यस संस्थाले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैर वित्तीय, दक्षता अभिवृद्धि लगायतका सेवा प्रदान गर्दै आएको छ ।

सामाजिक सञ्जाल मै बित्छ अधिकांशको समय

काठमाडाैं । कोरोना भाइरस (कोभिड-१९)को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् । घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दो माध्ययमका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौंका बिनोद फुँयाल बताउँछन् । ‘सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रुपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु’, उनले भने । कतिपय मानिस घरबाहिर निस्कने गरेकोमा भने उनको आक्रोस छ । उनी भन्छन्, ‘सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको ?’ नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको बुझाइ छ । त्यस्तै प्रह्लाद चापागाईंको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युव चलाएरै बित्ने गर्छ । उनले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहनुभएको छ । मजदुरी गरेर जिविका चलाउने उनको जीवन भने केही कष्टकर नभएको होइन । ‘सरकारले राहत सामग्री समयमै उपलब्ध गराइदिए खासै समस्या हुने थिएन्’, उनले भने। अधिकांश समय घरबाहिरै बिताउनेहरु लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् । कोरना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले केही साता लकडाउन थप्नुपर्ने भूगर्भविद अमृत ढकाल बताउँछन्- ‘अहिले सरकारको निर्णयलाई पूर्ण रुपमा पालना गर्नु अहिलेको बुद्धिमानी हो ।’ सामाजिक सञ्जालमै समय बिताइरहेका उनी पहिले अधिकांश समय बाहिरै बिताउँथे । आजकल परिवारसँगै समय बिताउन पाउँदा उनी निकै हर्षित छन् । रासस  

४८ घण्टाभित्र कोरोनालाई पूर्णरुपमा मार्न सक्ने औषधि पत्ता लागेकाे वैज्ञानिकको दाबी

काठमाडाैं । कोरोनाभाइरसको अनुसन्धानमा विश्वभरिका हजारौं अनुसन्धानकत्र्ता एवम् वैज्ञानिक युद्धस्तरमा अनुसन्धान गरिरहेका छन् । कहिले बेलायत त कहिले अमेरिकी वैज्ञानिकले खोप विकास गरी विभिन्न जनावरमा परीक्षण समेत गरेको बताएका छन् । तर अष्ट्रेलियाको मोनाश विश्वविद्यालयका वैज्ञानिकले हालै एक नयाँ अनुसन्धानलाई परिणाममुखी बनाएको दाबी गरेका छन् । अष्ट्रेलियाली वैज्ञानिकहरुले एउटा सामान्य परजीवी औषधीले ४८ घण्टाभित्र कोरोना भाइरसको सेललाई पूर्णरुपमा मार्न सक्ने पत्ता लगाएको दाबी गरेका छन् । औषधीको एक पटक सेवन गरे मात्रै कोषभित्र रमाउने सार्स–कोभ–२ भाइरसलाई मार्न सक्ने जनाएका छन् । इभर्मेक्टिन एफडीए अनुमोदिन परजीवी विरुद्धको औषधी हो । जसको एकपटक मात्रैको सेवनले बढीमा ४८ घण्टा र कम्तिमा २४ घण्टाभित्र भाइरल आरएनएलाई नष्ट गर्नेछ । उक्त औषधी जुम्रा र लुत्तो रोकथाममा प्रयोग हुन्छ । इभरमेक्टिन एचआइभी, डेंगी र इन्फ्लुएन्जा रोकथाममा समेत प्रभावकारी हुने बताइएको छ । शुक्रबार मोनाश बायोमेडिसिन डिस्कोभरी इन्स्टिच्युटका डा. काइली वागस्टाफले एक खुराकले भाइरल आरएनलाई नष्ट गर्ने बताउनुभयो । एन्टीभाइरस रिसर्च जर्नलमा प्रकाशित उक्त अनुसन्धानको परीक्षण मानवमा गर्न बाँकी रहेको छ । वैज्ञानिकहरुले उक्त औषधीको मानवलाई आवश्यक खुराक निर्धारण गर्न जुटेका छन् । कति खुराक खुवाए मानव स्वास्थ्य सुरक्षित रहने निर्धारण भएपछि मानवमा परीक्षण गरिनेछ । “विश्व समुदाय महामारीको चपेटामा छन्, अहिलेसम्म अनुमति प्राप्त उपचार आएको छैन्, कुनै ‘कम्पाउन्ड’ विश्वमा पहिले उपलब्ध भएको भए मानवलाई छिट्टै सघाउ पुग्थ्यो ।”–डा. वाग्स्टाफले भने। विश्वब्यापी रुपमा उक्त खोप उपलब्ध हुन केही समय लाग्ने उनले जानकारी दिए । वैज्ञानिकले मानव परीक्षणका लागि कम्तिमा एक महिना लाग्ने जनाएका छन् । इभरमेक्टिनलाई कोरोना विरुद्ध प्रयोग गर्नुअघि मानवमा प्रयोगशाला परीक्षण आवश्यक हुनेछ । गाेरखापत्रबाट (नोटः कोरोना विरुद्ध विश्वमा भएक खोजबारेका यी समाचार पाठलाई जानकारी गराउने उद्देश्यले मात्र प्रकाशित गरिएको हो । यस्ता औषधिको प्रयोग चिकित्सकको सल्लाह र रेखदेख बिना कुनै हालतमा गर्न नहुने कुरा आदरणीय पाठक वर्गमा अनुरोध छ  )  

म दिनरात काम गर्छु, साथीहरु भन्छन्- ‘तिमी कति भाग्यमानी’

३३ वर्षको उमेरमा नायब प्रमुख कार्यकारी अधिकृत भइन् उपासना पौडेल, युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडमा । उनका धेरै साथी सङ्गिनीले भन्छन्- ‘तिमी त भाग्यमानी रहेछौं । छिट्टै प्रगति गर्यौं । राम्रो अवसर पायौं ।’ ‘जसले मलाई भाग्यमानी ठान्छन्, उनीहरुलाई के थाहा मेरो मिहिनत’ उपासना भन्छिन्- ‘हुनसक्छ, लकले पनि साथ दिनुपर्छ । तर म बिहानैदेखि राती अबेरसम्म अफिसको काम गर्छु । कुनै दिन राती ४ बजेसम्म अफिसमा बसेर काम गरेको छु ।’ उनकी छोरी ७ महिनाको भइन् । अहिलेपनि घरबाट बिहान ८ः३० बजे निष्कनु र बेलुका ९/१० बजे घर पुग्नु उनको दैनिकी हो । ‘छोरी ममीले हेर्नुहुन्छ । एक जना सहयोगी राखेकी छु’ उनले लामो स्वास फेरिन् र भनिन्- ‘गाह्रो छ ।’ किन ? ‘यति सानो बच्चा घरमा छोडेर अफिसमा १२/१४ घण्टा काम गर्छु । तपाईं आफै भन्नुहोस् न ।’ उनले सोचलाई तत्काल बदलिन् । ‘तर म ह्यापी छु । घर छ । परिवार छ । आफ्नो देशमा काम गर्न पाएको छु ।’ पढाई र जबको सिलसिलामा एक दशकभन्दा बढी विदेशमा बसेकाले होला, देशमा बसेर काम गर्न पाउनुलाई पनि उनले खुशीको रुपमा प्रकट गरिन् । भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम गर्दा तलब, अतिरिक्त सुविधा, बोनस सहित वर्षमा ६० लाख रुपैयाँसम्म कमाइ हुने गरेको तर नेपालमा त्यो भन्दा धेरै कम भएको उनले बताइन् । तर उनी खुशी देखिन्छिन् । भन्छिन्- ‘मलाई नेपालमै ठिक छ । आफ्नै देशमा काम गर्न पाइएको छ । घर छ । परिवार छ । पहिचान छ ।’ देश र पहिचानको कुरा गर्नु, भारतमा भन्दा कम पैसा भए पनि नेपालमा काम गर्दा खुशी हुनुमा अर्को कारण पनि रहेछ । भन्छिन्- ‘भारतका कम्पनीहरुमा कार्यकारी प्रमुख पदमा रहेर काम गर्ने अवसर नेपालीलाई हमेसा मिल्दैन । नेपालभित्र टप लेबलमा बसेर काम गर्न पाइने अवसर प्रशस्त छ । मलाई पैसाले भन्दा रिकग्निशनले बढी सन्तुष्टि दिन्छ ।’ पाँच वर्षअघि कसैले तिम्रो चाहाना के हो भनेर प्रश्न गर्यो भने उनी भन्थिन्- ‘मेरो चाहाना भीपी (भाइस प्रेसिडेन्ट) बन्ने ।’ डेपुटी सीईओ भईसकेपछि उनको चाहना फेरिएको छ । ‘अहिले कम्पनी कसरी राम्रो बनाउने भन्ने चाहना छ । काम राम्रो गर्नेलाई अवसर आइहाल्छ ।’ नेपाली युवा पुस्तामा आफै उद्यमी बन्ने आकांक्षा धेरैमा पलाएको छ । तर उपासनाले विजनेशमा आफ्नो रुचि नभएको बताइन् । ‘आफै बिजनेश गर्दिन । चाहेको भए बाबाको विजनेश नै चलाउँथे ।’ शिक्षित परिवारमा जन्म विकासन्युज स्वतन्त्र लेखन प्रतियोगिता, ‘भविष्य कोरौं, एक लाख जितौं’ काठमाडौंको कुलेश्वरस्थित शिक्षित परिवारमा जन्मेकी उपासना । हजुरबुबा पण्डित पनि, स्कूलको प्रधानाध्यापक पनि । बुबा व्यवसायी । आमा बैंकर्स । एमबीएपछि उनलाई बैंकमा काम गर्न मन थियो । नसोचेको क्षेत्र जनरल इन्स्योरेन्समा उनी डुबिन् । उनले स्कूल शिक्षा डिएडीबाट लिइन् । प्लसटु डनबास्कोबाट । बिजनेश इन्फर्मेशसन सिस्टम विषयमा ब्याचलर काठमाडौं कलेज अफ म्यानेजमेन्टमा गरिन् । र, एमबीए दिल्ली यूनिभर्सिटीबाट गरिन् । पहिलो काम भारतको पुनेस्थिति कमेन्स इन्डिया नामक कम्पनीमा गरिन् । गाडीको इन्जिन लगायत मेरिनरी सामान उत्पादन गर्ने यो कम्पनीमा उनले ९ महिना काम गरिन् । उपासनाको विवाह हुने भयो । केटा नेपाली नै हुन् तर बम्बईमा बस्थे । त्यहाँ औषधि कम्पनीमा चीफ फाइनान्स अफिसर थिए । विवाहसँग उपासना पनि बम्बई बस्ने भईन् । तर काम गरिरहेको कम्पनीको शाखा बम्बईमा अफिस थिएन । उनले अफिस छोडिन् । विवाह लगत्तै उनले बम्बईमा आईसीआईसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरिन्, प्रडक्ट मेनेजर भएर । इन्डियाको टप फाइभ कलेजबाट पासआउट भएकोले राम्रो पाेजिशन दियो कम्पनीले । बैंकले गराउने बीमा पाेलिसी (बैंक्यास्याेरेन्स) बनाउने जिम्मेवारी पाइन् उनले । ‘तीन वर्षमा बढुवा हुने कम्पनीको नियम भए पनि मैले एक/दुई वर्षको बीचमा प्रमोशन पाए । म सिनियर प्रडक्ट म्यानेजर भए । नेतृत्व विकास गर्ने कम्पनीको योजनाभित्र मैले ग्रुप लिडर हुने मौका पाए । बीमा भित्र फाइनान्स बाहेक सबै जिम्मेवारी हेर्ने मौका पाए । प्रडक्ट डेभलपमेन्ट, रिइन्स्योरेन्स, आईटी म्यानेजमेन्ट लगायतका क्षेत्रमा काम गरेँ’ उनले अनुभव सुनाइन् । उक्त कम्पनीमा काम गरेको ३ वर्ष भएको थियो । उनलाई भोडाफोनबाट जागिरको अफर गयो । आईसीआईसीआई छोडेर उनी भोडाफोनमा जोइन भइन् । भाेडाफोनमा उनलाई पोष्टपेडको मार्केटिङको जिम्मा दिइयो । त्यतिबेला उपभोक्ताहरु पोष्टपेड छोडेर प्रिपेडमा जान थालेका थिए । ‘पोष्टपोड छोडर प्रिपेडमा जाने ग्राहकलाई कसरी रोक्ने, भोडाफोन छोडर अरु टेलिकमको सर्भिस लिन खोज्नेलाई कसरी रिटेइन गर्ने भन्ने जिम्मेवारी काँधमा आयो’ उनले भनिन्- ‘नयाँ ग्राहक कसरी वृद्धि गर्ने भन्ने पनि थियो ।’ भोडाफोनमा काम गरेको साढे दुई वर्ष भएको थियो । त्यहिबीचमा आईसीआईसीआई काम गर्दाको उपासनाको मेन्टरले भारतीय एक्जा जनरनल इन्स्योरेन्समा काम शुरु गरे । पूर्व मेन्टरको अफरमा फेरी उपाशना जनरल इन्स्योरेन्स कम्पनीमा फर्किन् । ‘इन्स्यारेन्स जानेको क्षेत्र पनि भयो । मलाई इन्स्योरेन्समा फेरी फर्कन मन लाग्यो । म भारतीय एक्जामा जोइन भएँ ।’ भारतीय एक्जामा दुई वर्ष काम गरेपछि उनी नेपाल फर्किन् र सानिमा जनरल इन्स्योरेन्समा नायव महाप्रबन्धक भइन् । डेढ वर्ष काम गरेर उनले सानिमा छोडिन् । गत मंसिरदेखि उनी यूनाईटेडमा डेपुटी सीईओको रुपमा प्रवेश गरिन् । उनले छोटो अवधिमा ६ कम्पनी परिवर्तन गरेको देखियो । जसलाई राम्रो मानिदैन । तर उपासनाले आफ्नो बचाउँ गरिन् । ‘कमेन्समा काम गर्नु मेरो चाहाना थिएन । कलेजको सिस्ष्टमबाट जानु परेको हो । आईसीआईसीआई मैले राम्रो अवसर पाएको हुँ । ३ वर्षसम्म काम पनि गरे । तर मलाई कन्जुमर इडिस्ट्रजमा काम गर्ने चाहानाले म भाेडाफोन गए । भारतीय एक्साबाट फर्कदा म अब जनरल इन्स्योरेन्समा नै काम गर्छु भनेर फर्किए । त्यसपछि म निरन्तर जनरल इन्स्योरेन्समा छ । उनी थप्छिन्- ‘मलाई धेरैले भन्छन्- तिमी त धेरै स्थीर भयौं । मलाई लाग्छ- युनाईटेडमा कम्तिमा ५ वर्ष काम गर्छु । दोस्रो, म जनरल इन्स्योरेन्स भन्दा बाहिर जान्न । उनले आँटिलो प्रस्तुति राखिन् । ‘मलाई पैसा भन्दा रिकग्निशनले  मनपर्छ । जुन क्षेत्रमा म छु, त्यो क्षेत्रमा मलाई राम्रो ज्ञान छ । जोसँग जे विषयमा ज्ञान छ उसले त्यहि क्षेत्रमा मात्र रिकग्निशन पाउँछ । बैकिङ क्षेत्रबाट धेरै अफर र अवसर आएको तर नगएको उनको भनाई छ । ‘मैले धेरै वर्ष बीमामा काम गरे । विदेशमा, नेपालमा । अब म यो क्षेत्रमा नै काम गर्छु । सोचमा परिवर्तन ल्याउन सक्छु ।’ कुराकानीको क्रममा अब उनी बीमा क्षेत्रको समस्याको जडमा पसिन् । ‘बीमा जबर्जस्ती गर्नुपरेको छ । बीमा कम्पनीले पैसा लग्यो । बीमा गरेर केही पाउने होइन भन्ने माइन्डसेट छ । बीमा गर्नु भनेको पैसाको बर्वादी मात्र हो भन्ने बीमितलाई परेको छ । यस्तो सोचमा परिवर्तन गर्न सकिन्छ’ उनले भनिन्- ‘नेपालमा खराब अनुभवहरु पनि छन् । बीमा दावी भुक्तानी पाउन धेरै गाह्रो भएको भएको उपभोक्ताको अनुभव छ । त्यसमा हामीले सुधार थालिसकेका छौं ।’ उनले अपनाएको नयाँ शैलीबारे पनि भनिन् । ‘पहिला बीमा गर्दा पोलिसीमा लेखिएका सबै कुरा बुझाउँछौं । बीमा दावी गर्दा कति पाइन्छ, त्यो सबै बुझाउँदैछौं । दोस्रो, हामी हेल्पलाईन राख्दैछौं । बीमा दावी आओस् वा नआओस्, ग्राहक सेवा दिनुपर्छ । २४ सै घण्टा सेवा दिन्छौं । टाउको दुख्यो, कहाँ उपचार गर्ने ? हामी ग्राहकलाई सुझाव दिन्छौं । गाडी ठोकियो । कहाँ जाने ? के गर्ने ? हामी सबै भनिदिन्छौं । बीमा दावी आयो भने स्वास्थ्य बीमाको ७ दिनभित्र, मोटर बीमा १५ दिनभित्र भुक्तानी दिने याेजना छ । हामी नयाँ प्रडक्ट पनि ल्याउँदै छौं, जहाँ डिडक्सन कम होस्, ग्राहकलाई वेष्ट अफ मनि भन्ने फिल गर्नु नपरोस् । उनी व्याख्या गर्दै गईन् । हामी कहाँ बीमा पोसिली बेच्ने तरिका ठिक छैन । किन्नेले पनि, बेच्नेले पनि सस्तो पोलिसीमा फोकस भयो । गोदामको बीमा दोकानको रेटमा गरिन्छ, गराइन्छ । सस्तो बीमाको बेफाइदा बीमितलाई बुझाउने प्रयास जरुरी छ । हामीले कर्पोरेट क्लाइन्टलाई एक्स्पर्टबाट बुझाउने काम शुरु गरेका छौं । एक जना स्टाफलाई पठाएर ल हेर है मात्र भनेका छैनौं । मेडिकल इन्स्योरेन्स र मोटर इन्स्योरेन्समा नयाँ अभ्यास गर्दैछौं । ५५ प्रतिशतको ग्रोथ युनाईटेड इन्स्योरेन्स स्थापनाको क्रममा ५औं कम्पनी हो । बिजनेशको हिसावले कुनै बेला टप थ्रीमा पर्थ्यौं । यो कम्पनीको प्रमोटर ठूला र सफल व्यवसायीक संस्था छन् । हामीसँग युवा कर्मचारी छन् । कर्मचारी पनि बीमाबाट मात्र नभई अरु क्षेत्रबाट पनि आएका छन् । हामीले राम्रो शुरुवात गरिसकेको छौं । चालु आर्थिक वर्षमा ५५ प्रतिशतले विजनेश ग्रोथ भएको छ । हामीले अर्गानिक ग्रोथ र नाफामुखी ग्रोथलाई प्राथमिकता दिएका छौं ।

मुक्तिनाथ विकास बैंकले विपन्न परिवारलाई वितरण गर्यो खाद्यान्न सामाग्री

काठमाडौं । मुक्तिनाथ विकास बैंकले जनकपुरधामका विपन्न परिवारका १ सय ५० जनालाई खाद्यान्न सामाग्री वितरण गरेको छ । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधाममा एक कार्यक्रमकाबीच चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरेको हो । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिएका छन् । यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डिम्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

गाउँपालिकाका अध्यक्ष भन्छन् : सचेत रहु, राहतको पोकासंगै कोरोना आउन सक्छ ?

काठमाडौं । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तानले राहतको पोकोसंगै कोरोना आउन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । लकडाउनको समयमा राहत वितरण गर्नेहरुले पनि सतर्कता अपनाएर मात्रै राहात वितरण गर्नु पर्ने उनले बताए ।  पोकाको राहात बाँडेर आफूलाई भगवान बनाउन खोज्नेको राहत अस्वीकार गर्न समेत मोक्तानले अनुरोध गरेका छन् । ‘गाउँमा नै उत्पादन भएका निउरो, कर्कलो, कोइरालाको फूल, सिस्नु, केराको बुङ्गो, वनतरुल, पिडालु, सिमलतरुललगायका बस्तुहरु खाएर पनि बच्न सकिन्छ, दयाको पात्र सम्झनेहरुले भगवान् देखाउन चामलको बोरा बाँड्न आएका र उनीहरु माथि नै कोरोनाको हुनसक्छ,’ मोक्तानले भने ।

मेटलाइफ फाउन्डेशनले कोरोना रोकथामको लागि २५ मिलियन डलर दिने

होङकोङ । मेटलाइफ फाउन्डेशनले कोरोना रोकथाम नियन्त्रणको लागि २५ मिलियन डलर सहयोग गर्ने भएको छ । वैश्विक महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड(१९ का कारण हाल विस्वमा प्रभावित समुदायहरूको समर्थनमा फाउन्डेशनले उक्त सहयोग गर्ने भएको हो । मेटलाइफ फाउन्डेशनले प्रदान गर्ने अनुदानले सबै मेटलाइफका कार्यालय भएका क्षेत्रहरूमा विस्तार हुनेछ र दुबै छोटो तथा दीर्घकालीन राहतका प्रयासहरूलाई सम्बोधन गर्नेछ । मेटलाइफका अध्यक्ष तथा सीईओ मिशेल खलाफका अनुसार ‘मेटलाइफ फाउन्डेशनले कोरोनाभाइरसबाट बढी प्रभावित समुदायहरूमा आफ्ना स्रोत तथा साधनहरूलाई परिचालित गरिरहेको छ। हामी जुन समुदायहरूमा काम गर्छौं, आज त्यो समुदायलाई हाम्रो साथ र सहयोगको धेरै आवश्यकता भएकोले हामी आफूले सक्ने जति सबै सहयोग गर्न अघि बढ्ने छौँ ।’ मेटलाइफ फाउन्डेशनको प्रारम्भिक अनुदानले जरुरी आवश्यकताहरु भएका समुदाय र व्यक्तिहरुलाई तत्काल लागि चाहिने खानपीन, स्वास्थ्य सेवा, बाल हेरचाह र प्रत्यक्ष वित्तीय सहयोग गर्नेछ । मेटलाइफ फाउन्डेसनले आफ्ना विद्यमान साझेदारहरूसँग मिली कम आय आर्जन भएका मानिसहरूलाई र साना व्यवसायहरूको वित्तीय स्वास्थ्य निर्माण गर्न सहयोग पुर्याउनुका साथै आवश्यकताहरूको छिटो प्रतिक्रिया दिन सधै अग्रसर रहेनछ । यस प्रतिबद्धताको एक हिस्साको स्वरूप, मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरुले एसिया, ईएमईए, ल्याटिन अमेरिका, र संयुक्त राज्य अमेरिकामा राहतको लागि ४ मिलियन डलर अनुदान दिने घोषणा समेत गरिसकेका छन् । साथै, कोरोना भाइरसको कारण, परिणाम स्वरूप युएस फूड बैंकहरुमा उत्पन्न भएको सेवाहरूको बढ्दो मागको सामना गर्न पनि मेटलाइफ फाउन्डेशन र अन्य मेटलाइफका संस्थाहरु सहयोग गर्न तत्पर रहेका छन् ।

अर्को हप्ता हाम्रा लागि अझै चुनौती छ –अमेरिकी राष्ट्रपति

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई हप्ता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् । अमेरिकामा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई हप्तामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले शनिबार जानकारी दिए । पछिल्लो विवरणमा अमेरिकामा कोरोना भाइरसका संक्रमितको संख्या तीन लाखभन्दा बढी रहेको छ । ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए । स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २ सय ९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो । राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गरेका छन् । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ । कार्यदलकी सदस्य डा म्यारी इ.बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताए । उनले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि जानकारी दिए । अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९ सय ४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ । रासस /एएनआई