विकासन्युज

लकडाउन छिट्टै अन्त्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सात प्रदेशका मुख्यमन्त्रीबीच आज कोरोना भाइरस रोकथाम र नियन्त्रणबारे भिडियो कन्फरेन्सका माध्यमबाट भई लकडाउनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले छलफल सञ्चालन गर्दै यसबीचमा रोकथामका लागि भएका प्रयासहरू सकारात्मक नै रहेको र यसलाई अझ समन्वयात्मक ढङ्गले अघि बढ्न जरूरी रहेको बताए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र सङ्क्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, “भारतमा सङ्क्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन । यसमा नरम बनेर लापरबाही नगर्न म आग्रह गर्दछु ।” उनले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको स्पष्ट पार्दै सरकार स्वयंले अधिकारका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न आग्रह गरे। उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए । लकडाउनमा प्रशासनिक लापरबाही हुन नहुनेमा जोड दिँदै उनले मेला लाग्ने तथा मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्न प्रशासन र प्रहरी सजग हुनैपर्ने निर्देशन दिए । उनले जनतालाई दुःख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनताको लागि आह्वान गरे । प्रधानमन्त्री ओलीले सामाजिक दूरी कायम गर्नुको अर्को विकल्प नै नरहेको स्पष्ट गर्दै सरकार प्रभावकारी र सफल रूपमा यस काममा केन्द्रित रहेको हुँदा अनावश्यक भ्रम र दुष्प्रचार गर्ने तत्वहरूबाट प्रभावित नहुन पनि आम नेपाली दिदीबहिनी तथा दाजुभाईलाई अनुरोध गरे । उनले कोरोना सङ्क्रमणको नियन्त्रण र यसको अन्त्य गरिसक्दासम्म मुलुकको स्वास्थ्य उपचारको क्षेत्रले गुणात्मक फड्को मार्ने, प्रयोगशाला, उपकरण र स्वास्थ्य सामग्री तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्रगति हासिल भइसक्ने पनि बताए । करिब ४ घण्टाभन्दा चलेको छलफलमा सातै प्रदेशका मुख्यमन्त्रीले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका पहल र स्थितिबारे जानकारी गराए । रासस

लकडाउन अझै लम्बिने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन अझैं बढ्न सक्ने संकेत गरेका छन् । शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गर्दै उनल लकडाउन तत्काल नखोलिने स्पष्ट पारेका हुन् । शनिबार सिंहदरबारस्थित एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो संवादमा प्रधानमन्त्री ओलीले लकडाउन अझै लम्बिने बताएका हुन् । बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म चार घण्टा चलेको भिडियो संवादका क्रममा प्रधानमन्त्रीले सीमामा अझै कडाइ गर्ने प्रष्ट पारेका छन्। ‘लकडाउन छिट्टै अन्त्य हुँदैन, सरकारले सीमामा अझ कडाइ गर्छ, भावुक कुरा गरेर लापरबाही स्वीकार्य हुँदैन’, उनले भने । संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको उनको भनाइ छ । ‘भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन, यसमा नरम बनेर लापरबाही नगर्नु होला, यो कुरामा सचेत रहनुस्,’ उनले मुख्यमन्त्रीहरुलाई भनेका छन् । उनले यो भन्दा अगाडि पनि देशवासीको नाममा सम्बोधन गर्दै आगामी दुई साता हाम्रा लागि चुनौतीपूर्ण रहेको बताएका थिए । पटक पटकका प्रधानमन्त्रीका यी बोलीले पनि लकडाउन तत्काल नखोलिने बुझ्न सकिन्छ । उनले जनतालाई दु.ख दिन नभइ जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन आग्रह गरे । नेपालमा तीन सातादेखि लकडाउन छ । सरकारले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र अहिले बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । अझै एकहप्ता थप्ने मनसायमा सरकार छ ।

लकडाउनमा नै जलविद्युत् आयोजनाको काम शुरु

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा तनहुँ जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले उच्च सतर्कताका साथ ठूला आयोजना सञ्चालन गर्न अनुमति दिएसँगै ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको काम सञ्चालन भएको हो । दोस्रो प्याकेजअन्तर्गतको कामको ठेक्का पाएको सिनो हाइड्रोले बिहीबारदेखि केवल टनेल खन्ने कामलाई निरन्तरता दिएको आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए। उनका अनुसार क्याम्पभित्रै बसिरहेका मजदूरलाई परिचालन गरेर कामलाई सञ्चालन गरिएको छ । “बाहिरबाट मजदूर नल्याई क्याम्पमा उपलब्ध मजदूर परिचालन गरेर काम शुरु गरेका छौं”, उनले भने, “काम गर्ने क्रममा पनि सतर्कता अपनाइएको छ ।” हाल क्याम्पमा २४ चिनियाँ तथा अन्य गरी करिब ५० श्रमिक र प्राविधिक छन् । पावर हाउसमा तारहरु लैजानका लागि १ सय ८७ मिटर सुरुङ खनिनेछ । उक्त सुरुङ खनेर सकिएपछि ‘मेन एक्सेस टनेल’ निर्माण शुरु गरिनेछ । पहिलो प्याकेजअन्तर्गतका लागि पुनः तेस्रो पटक बोलपत्र आह्वान भएका कारण उक्त प्याकेजको काममा भने ढिलाइ भएको छ । आयोजनाको निर्माण कम्पनी तनहुँ जलविद्युत् आयोजनाले गत वैशाख १२ गते आह्वान गरेको दोस्रो पटकको बोलपत्रमा छनोट भएका चार कम्पनीको प्राविधिक प्रस्ताव रद्द भएपछि पुनः तेस्रो पटक बोलपत्र आह्वान गरेको थियो । बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा १९ कम्पनीले चासो देखाए पनि चार वटा कम्पनीले बोलपत्र पेश गरेका थिए । चार वटा कम्पनीले पेश गरेको प्राविधिक प्रस्तावलाई एशियाली विकास बैङ्क (एडिबी) ले सारभूत रुपमा प्रभावग्राही हुन नसकेको भन्दै रद्द गरिदिएको थियो । उक्त कामका लागि चीनको चाइना गेजुवा गु्रप अफ कम्पनी लिमिटेड, सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, चाइना नेसनल इलेक्ट्रिक इन्जिनीयरिङ कर्पोरेसन लिमिटेड तथा सोङ डा कर्पोरेसन भियतनाम र कालिका कन्स्ट्रक्सन नेपाल जेभीले बोलपत्र पेस गरेका थिए । तेस्रो पटक आह्वान गरिएको बोलपत्रको म्याद वैशाख १ गते (१३ अप्रिल) सम्म रहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेजको संरचना निर्माणका लागि दातृ निकायहरु एशियाली विकास बैंक (एडिबी) र युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण परिचालन हुनेछ । निर्माण व्यवसायी कम्पनीले आयोजनाको १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँधलगायतका संरचना निर्माण गर्नेछ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २ सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । आयोजनाका लागि १ सय ४० मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाइ १ सय २१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ । यसमध्ये एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, इआइबीले आठ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणले आठ करोड ७० लाख अमेरिकी डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । आयोजनाको विद्यृत्गृह निर्माणका लागि २८८ मिलियन डलर, प्रसारण लाइन तथा सवस्टेशन निर्माणका लागि १५ मिलियन डलर, ग्रामीण विद्युतीकरणका लागि आठ मिलियन डलर, जग्गा प्राप्ति तथा पुनःस्थापनाका लागि ३० मिलियन डलर, वातावरण व्यवस्थापनका लागि २१ मिलियन डलर, पूर्वाधार निर्माण तथा भन्सार एवं कर प्रयोजनका लागि ४६ मिलियन डलर, आयोजना व्यवस्थापन तथा सामुदायिक कार्यक्रमका लागि २५ मिलियन डलर खर्च हुने अनुमान छ । यसका लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् । आयोजनाको समग्र निर्माण २०८१ को असार दोस्रो साताभित्र ९जुन २०२४० सम्पन्न गर्ने लक्ष्य रहेको छ । रासस

कोरोना नियन्त्रणसम्बन्धी भिडियो कन्फरेन्स आयोजना : रोकथाममा तयारी हुन विज्ञको सुझाव

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट नेपाल र नेपालीलाई बचाउन खानेपानी तथा सरसफाईको क्षेत्रले गर्नुपर्ने कामका सम्बन्धमा स्मार्ट वास सोलुसन्स प्रा.लि.ले सरोकारवालाहरुसंग भिडियो कन्फरेन्स सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समा सहभागी भएका विज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सामाजिक दूरी कायम गर्नका साथै हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएको उल्लेख गर्दै यसका लागि पर्याप्त सुरक्षित पानीको उपलब्धता सुनिश्चित हुनुपर्ने कुरामा जोड दिए । उक्त भिडियो कन्फरेन्सका सहभागीहरुले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणसंगै नेपालले गर्मी याममा बर्षेनी फैलिने रोगहरुको रोकथाम र नियन्त्रणमा पनि उत्तिकै तयारी गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा सहभागी पूर्व सचिव ई। सुमन शर्माले भने, ‘विश्वमा महमारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको नियन्त्रण,रोकथाम र उपचार अहिलेको ठूलो चुनौती हो । त्यसका लागि युद्धस्तरमै लाग्नु पर्दछ । तर गर्मी याममा नेपालमा हरेक बर्ष विभिन्न संक्रामक रोगहरु देखिने गरेका छन् । तिनको रोकथाम,नियन्त्रण र उपचारको लागि पनि सरकारले उत्तिकै तयारी गर्न आवश्यक छ ।’ भिडियो कन्फरेन्समा काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्र्ने बताए । उनले कोरोना भाइरसबाट बच्न सफा पानी र सावुन वा स्यानेटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भएपनि सरकारले पानी नै पुर्याउन नसकेको उदाहरण दिदै भने, टोलटोलमा ट्रयाड।की राखिएको छ तर ती रित्ता छन् । सरकारले बनाएका क्वारेन्टाइनमा न पर्याप्त संख्यामा ट्वाइटेल देखिन्छ, न पानीको लागि ट्रयाड।की छन् न त साबुनको नै राम्रो व्यवस्था छ । तिनको अनुगमन गर्नुपर्ने खाँचो छ । प्राध्यापक शर्माले भने, ‘अल्कोहल भएको सानिटाइजरले हात धुनुपर्छ भनेपछि धेरै उत्पादकले बजारमा स्यानिटाइजर ल्याए, जसलाई इथाइल र मिथाइल बिचको फरक नै थाहा रहेनछ । कोरोनाको भाइरसलाई ६० देखि ९० प्रतिशत इथाइल अल्कोहल मिसिएको स्यानिटाइजरले निसंक्रमित गर्न सक्छ । त्यसमा आइसोप्रोपाइल मिसाउदा अझ प्रभावकारी हुन्छ । तर बजारमा फरक किसिमका स्यानिटाइजर आए । त्यसमा हामीले निगरानी गर्न सकेनौं ।’ कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरसलाई सावुन वा स्यानिटाइजर पानीले हात धोएर निस्क्रिय पार्न सकिने भएकोले यसको नियन्त्रणमा खानेपानी र सरसफाईको क्षेत्रमा कार्यरत जनशक्तिको पनि महत्वपूर्ण भूमिका देखिएको बताए । आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड, खानेपानी तथा ढल निकास विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिहरुको महत्वपूर्ण भूमिका रहेको बताए। आम नागरिकलाई स्वच्छ,सुरक्षित र पर्याप्त पानी उपलब्ध गराउन नगर तथा गाँउपालिकाहरुलाई सक्षम बनाउन आवश्यक रहेको पनि उल्लेख गरे । उनले गर्मीको समयमा नेपालमा धेरै संक्रामक रोगहरु फैलिने उल्लेख गर्दै तिनीहरुको रोकथामको पूर्वतयारीमा पनि ध्यान दिन आग्रह गरे । भिडियो कन्फरेन्समा स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहले स्वास्थ्य र सरसफाईको लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताए। उनले कोरोना संक्रमणबाट बच्न पटकपटक साबुन वा स्यानिटार पानीले हात धुन पनि पर्याप्त सुरक्षित पानी चाहिने बताए । उनले पानी आपूर्तिका लागि धारा काटिएको भए जोड्न पर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने, स्वास्थ्योपचारबाट निस्कने फोहरमैलाको सुरक्षित तवरले बन्दोबस्त गर्नुपर्ने सुझाव दिदै भने, ‘पर्याप्त सुरक्षित पानीको आपूर्तिको लागि वित्तीय व्यवस्था गर्न अर्थमन्त्रालयसंग समन्वय गर्न र पानी आपूर्तिको व्यवस्था मिलाउन खानेपानी मन्त्रालयले नेतृत्व लिनुपर्दछ ।’ कार्यक्रमका अर्का सहभागी वाटर एडका अनिल थमनले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले आफूहरुले कन्ट्याक्टलेस ह्याण्ड वासिड सेन्टर (स्वचालित हात धुने केन्द्र) सञ्चालनमा ल्याउन लागेको जानकारी दिए । उनले ललितपुर महानगरपालिकाबाट यसको शुभारम्भ हुने उल्लेख गर्दै निकट भविष्यमा नै ७५ स्थानमा यसको स्थापना गरी आवश्यकता अनुसार विस्तार गरिने पनि बताए। कार्यक्रमका अर्का सहभागी पूर्वमन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको पानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाहरुको बीचमा सार्वजनिक बहस गर्ने मञ्चहरुको अभाव खड्किएको बताए । पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री ईञ्जिनियर गणेश साहले सञ्चालन गरेको सो कार्यक्रममा खानेपानी तथा सरसफाईको क्षेत्रका प्राध्यापक, अनुसन्धान कर्ता र नीति निर्माता,सञ्चारकर्मी,सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता रहेको थियो । मोबाइलको सीआरबीटीमा विविधता ल्याउन सुझाव कोरोना रोग निणन्त्रणमा खानेपानी तथा सरसफाई क्षेत्रको भूमिकाका सम्बन्धमा छलफल गर्न आयोजना गरिएको भिडियो कन्फरेन्समा वाटर एडका अनिल थमनले कोरोना संक्रमण सुरुभए यता नेपाल टेलिकमले आफना ग्राहकको मोबाइलमा बजाउने गरेको सीआबीटी एकैखालको सन्देश निरन्तर आउदा सुन्नेलाई पट्टयार लागेको बताए । उनले भने, ‘जसरी कुनै पनि औषधीको कम वा बढीमात्रा दुवै उचित मान्न सकिदैन, रोगको सन्दर्भमा दिइने सन्देश पनि त्यस्तै हो । यो सन्देश सबैकहा पुगीसक्यो । सन्देश छोटो होस् । विविधता होस् ।’ पूर्वसचिव सुमन शर्माले छोटा सन्देशहरु अनियमित तवरले बज्ने व्यवस्था पनि गर्न सकिने बताए । पूर्व प्राज्ञ दीपक ज्ञवालीले सीआरबीटीबाट जनउपयोगी सन्देशहरु दिने संबन्धित निकायको ध्यानाकृष्ट गराउन आग्रह गरे। कार्यक्रमको सञ्चालन गरेका पूर्वमन्त्री ई.गणेश साहले आफूले यो विषय नेपाल दुरसञ्चार कम्पनी लिमिटेडका महाप्रबन्धक कहा पुर्याउने बचन दिए ।

रानाको कोरोना यात्राः साइकलको सहारामा आगराबाट नेपाल, क्वारेन्टाइनको बसाइपछि घर

कञ्चनपुर । परिवारको खर्च जुटाउनका लागि चार महिना अघि मात्रै भारतको उत्तरप्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा रानाले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोंचेका थिएनन् । कोरोना भाइरसको संक्रमण बढेपछि भारतका सबै क्षेत्रमा लडकडाउनको असरले काम बन्द भए । विद्यालयका विद्यार्थीलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म पुर्याउने रानाको काम थियो । लकडाउनका कारण विद्यालय बन्द भएसँगै रोजगारी गुम्यो । सबै क्षेत्र बन्द भएकाले रानाका लागि अरु क्षेत्रमा रोजगारी पाउने सम्भावना पनि भएन । कमाएको केही पैसा डेरा र खानपानमै सिद्धिन थालेपछि उनले घर फर्कने निधो गरे । घर फर्कनका लागि कुनै पनि सवारीका साधान सञ्चालनमा थिएनन् । रानाले काम गर्दै आएको विद्यालयको पुरानो साइकल चढेर घर पुग्ने हिम्मत जुटाए । उनले भने, “आगरा बाट साइकल रात दिन चलाउनु पर्यो । एक दुई घण्टा सडक छेउमै सुस्ताउँथे । पुनः साइकल चलाएर सडकमा हिड्नु पथ्र्यो ।” साइकल चलाउन निकै परिश्रम गर्नुपर्ने भएकाले त्यसका लागि खाना खान पनि जरुरी थियो । सडक छेउका थोरै मात्र पसल खुलेका हुन्थे । ती पसलबाट बिस्कुट, नमकिनलगायत खाद्य सामग्री खरिद गरी भोक टार्नु पर्ने उनको बाध्यता थियो । सात दिन सात रात लगाएर आगराबाट राना साइकल चढेर सीमानाका आइपुगे तर नेपाल भारततर्फका सीमा नाका पुरै बन्द थिए । सीमा क्षेत्र भएर नेपाल फर्कनका लागि भारतीय सुरक्षाकर्मीसँग उनले अनुयविनय समेत गरे । केही सीप चलेन । आगराबाट कमाएर बचाएको १२ हजारमध्ये चार हजार भारतीय रुपैँया बाटोमै खाना खर्चमा सिद्धिएको थियो । सीमा क्षेत्रमा बसे दुःख गरेर ल्याएको सबै पैसा सिद्धिने र पछि भोकभोकै पर्ने अवस्था थियो । त्यसैले उनले शुरक्षाकर्मीका आँखा छिचोल्दै सीमा पार पर्ने निधो गरे । भारतीय शुरक्षाकर्मीका क्याम्प हुँदै महाकाली नगरपालिकातर्फ लागे उनले भने, “भारतीय शुरक्षाकर्मीले दोधारा चाँदनीका बासिन्दा ठाने र जान दिए । चाँदनीस्थित महाकाली नदी माथिको पुल बन्द गरिएको थियो । महाकाली नदी तर्नु मात्रै एक विकल्प थियो । रातीको मौका छोप्दै काँधमा साइकल राखेर महाकाली तरियो । महाकाली नदी तरेपछि घरमा फोन गरे भारतबाट आइसके । केही घण्टामै घर पुग्दैछु ।” आगरामा कोरोना भाइरसका संक्रमित व्यक्तिका सङ्ख्या आधा दर्जन पुगेको कुरा गाउँका धेरै जनाले भारतीय सञ्चारमाध्यममा सुनेका थिए । वनसमिति बजारमा भारतबाट फर्कँदै गरेका रानाका लागि केही गाँउले कुरेर बसेका थिए । जब राना बनसमिति बजार पुगे । उनलाई नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बस्नका लागि लगियो । राना चैत २१ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका छन् । दुई दिनअघि क्वारेन्टाइनमा बस्दै आएका २५ जनासँगै उनको समेत कोरोना भाइरस परीक्षणका लागि र्यापिड डाइग्नोष्टीक टेस्ट (आरडिटि) विधिबाट परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । सात दिनपछि क्वारेन्टाइनबाट राना घर फर्कन पाउने भएका छन् । रानासँगै परीक्षण गरिएका क्वारेन्टाइनमा बस्दै आएका अन्यको नतिजासमेत नेगेटिभ आएको छ । नगरपालिकाले सञ्चालन गरेको क्वारेण्टमा बसेका सबै जना लडकडाउन पछि सीमा क्षेत्रमा घुसपैठ गरी आएका हुन् । रानाजस्तै भारतको पञ्चेश्वरबाट महाकालीमा ट्युवमा तरेर बैतडी हुँदै पैदल हिँडेर आएका उज्जल बोहरा, रामसिंह बोहरासमेत नगरपालिकाको क्वारेन्टाइनमा बसेका छन् । रातीको आठ बजे महाकालीमा ट्युवमार्फत तार्नेहरुलाई जनही एक हजार भारतीय रुपैँया तिरेर दुवै जना महाकाली तरेका हुन् । दुवै जनासँगै कैलाली र बैतडीका गरी सात जनाले महाकाली तरेका थिए । सात दिन लगाएर पैदल हिडेर चार दिन अघि शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडी घर पुग्दा दुवै जनालाई जनप्रतिनिधि, स्थानीय बासिन्दाले क्वारेन्टाइनमा बस्नका लागि पु¥याएका हुन् । डडेल्धुराको परिगाँउ नजिकैको भारतको बेउरानीबाट ट्युवमार्फत महाकाली नदी तरेका सोही नगरपालिका ११ कलुवापुरका हरिलाल ऐरसहित दैलेखका सात जना जनही भारतीय रुपैयाँ २ सय तिरेर ट्युवमाफर्त महाकाली नदी तरेर चैत १९ गते पुगेका हुन् । दैलेखका सात जना पैदल नै घरतर्फ लागेको र ऐर घर पुगेपछि क्वारेण्टनमा बस्दै आएका छन् । भारतीय शुरक्षाकर्मीले सीमा पार गर्न आउनेलाई केही गर्दैनन् । ऐरले भने, “नेपाल तर्फका शुरक्षाकर्मीले मात्रै कडाई गरेका छन् ।” क्वारेण्टाइनमा बस्दै आएका भारतबाट फर्केकाले बस्ने, खाने व्यवस्था राम्रो रहेपनि सौचालय एउटै प्रयोग गर्नु परेको गुनासो गरेका छन् । क्वारेन्टाइनमा भारतबाट फर्केकासँगै स्वास्थ्यकर्मीको टोलीको समेत व्यवस्था गरिएको छ । रासस

नयाँ वर्षको शुभकामना दिँदै गोल्छाले भने,‘अवस्था सामान्य भएको भए अध्यक्ष भइसक्थेँ’

शेखर गाेल्छा काठमाडौं  । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अहिले अवस्था सामान्य भएको भए आफु अध्यक्ष भइसक्ने बताएका छन् । उनले शनिबार नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै कोरोना भाइरसले असर नपारेको भए आफु अहिले अध्यक्षको कार्यभार सम्हाली सकेको हुन सक्ने बताएका हुन् । उनले भनेका छन, ‘यदि अवस्था सामान्य भएको भए, आजको दिन नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व पाउने दिन हो, यहाँहरुले तीन वर्ष अघि विश्वास गरि मलाई दिनुभएको मत अनुसार मैले अध्यक्षको रुपमा कार्यकाल सम्हाल्ने तयारी गरिरहेको हुन्थेँ, मलाई निर्वाचित गर्नुका साथै पछिल्ला तीन वर्षमा मुलुकको निजी क्षेत्र र महासंघको गरिमा बढाउन यहाँहरुले मसँग गर्नुभएको हातेमालोका लागि म निक्कै आभारी छु ।’ साथै उनले तीन वर्ष सम्मको वरिष्ठ उपाध्यक्ष पदमा रहेर सफल कार्य गरेको दावी गरेका छन् । उनले महासंघको विधान, निजी क्षेत्रको चाहना र मुलुकको आवश्यकता अनुसार काम गर्न सफल भएको भन्दै सबैलाई धन्यबाद समेत दिएका छन् । सारा विश्व कोभिड १९ को चपेटामा परिरहेको अवस्थामा अहिलेको मुख्य काम आफू सुरक्षित रहेर अरुलाई पनि सुरक्षित रहन सघाउनु भएको भन्दै मुलुकमा परेको संकटलाई सबैले सहयोग गरेर पार गर्नु पर्ने उनकाे धारणा छ । ‘यो संकटले उद्यम व्यवसायमा नकारात्मक प्रभाव पार्ने हामी सबैलाई थाहै छ,यसले निम्त्याउने समस्याकाबारे हामी अध्ययन गरिरहेका छौं, सम्बन्धित निकायसँग छलफल चलिरहेको छ, अवस्था सामान्य हुँदै गएसँगै हामी सबै मिलेर उद्यम व्यवसाय उकास्न विशेष कार्यक्रम सहित योजनामा काम गर्ने नै छौ,’ उनले भनेका छन् । त्यसपछि महासंघको महाधिवेशन सम्पन्न भई नयाँ नेतृत्वले पनि काम शुरु गर्ने उनले बताएका छन् । साथै उनले आउँदै गरेको नयाँ वर्ष २०७७ लाई एक अर्कालाई सहयोग गरी मनाउन पनि आग्रह गरेका छन् ।

सुदूरपश्चिममा एक हजार ४ सय ८३ को स्वाब सङ्कलन

डोटी । सुदूरपश्चिम प्रदेशका ६ जिल्लाका क्वारेन्टाइनमा रहेका एक हजार ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित ती स्वाब परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । निर्देशनालयका अनुसार डोटीमा ३ सय ३०, कैलालीमा ३ सय ७१, कञ्चनपुरमा १ सय ५८, डडेल्धुरामा १ सय ९९, बैतडीमा ४२५, अछाममा २२६ जना गरी कुल ४८३ जनाको स्वाब सङ्कलन गरिएको छ । यहाँका अन्य तीन जिल्ला बझाङ, दार्चुला र बाजुरामा भने स्वाब सङ्कलन गर्न बाँकी रहेको बताइएको छ । त्यसैगरी डोटीका क्वारेन्टाइनमा रहेका २१३ जनामा गरिएको कोभिड–१९ ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) जाँचमा सबैको नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका स्वाब सङ्कलनमा नसमेटिएका १९१ पुरुष र २२ महिला गरी २१३ मा रगतबाट गरिने आरडिटी जाँचमा सबैमा ‘नन रिएक्टिभ’ नतिजा आएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । जिल्लाको आदर्श गाउँपालिका, बडीकेदार गाउँपालिका, सायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा गरी चार वटा गाउँपालिकामा आरडिटी गरिएको हो । तीमध्ये आदर्श गाउँपालिकामा २३ पुरुष र दुई महिला गरी २५ जना, बडिकेदार गाउँपालिकामा ६२ पुरुष र एक महिला गरी ६३ जना, सायल गाउँपालिकामा २० पुरुष र पाँच महिला गरी २५ जना र बोगटान फुड्सिल गाउँपालिकामा ८६ पुरुष र १४ गरी १ सय जनाको रगत जाँच गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै आजदेखि होम क्वारेन्टाइनमा बसेकाहरुको समेत आरडिटी परीक्षण शुरु गरिने स्वास्थ्य कार्यालयका प्रमुख मलासीले भने । यसका लागि जिल्लाका नौवटै स्थानीय तहसँग तथ्याङ्क माग्ने काम भइरहेको पनि उहाँले जानकारी दिए । सुदूरपश्चिमकै तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा गरिएको कोरोना जाँचको ¥यापिड टेष्टमा २३८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक प्रयोगशाला धनगढीसहित टोलीले ¥यापिड टेष्ट किटमार्फत उक्त टेष्ट गरेको थियो । कैलालीमा १७९ जना र कञ्चनपुरमा ५९ जनाको क्वारेन्टाइन स्थलमै ¥यापिड टेष्ट गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । ¥यापिड टेष्ट किटमा पोजेटिभ देखिएकालाई मात्रै रियल टाइम पिसिआर मेसिनमा कन्फर्म गरेर मात्रै नतिजा सार्वजनिक गरिने सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुर, प्रादेशिक प्रयोगशाला, सेती प्रादेशिक अस्पताल र नेपाली सेनाको टोलीले तीव्र रुपमा कोरोना जाँच गरिरहेकाले सबैको जिल्लाअनुसारको तथ्याङ्क आइनसकेको बताइएको छ । “स्वाब सङ्कलन गरिएकाहरुको एकीकृत तथ्याङ्क आउन केही समय लाग्छ”, उनले भने, “स्वास्थ्यका सबै निकाय फिल्डमा खटिएका छन्, तथ्याङ्क आउन समय लाग्छ ।” रासस

मलेसियामा अप्रिल २८ सम्म लम्ब्याइयो ‘लकडाउन’

क्वालालम्पुर । मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पुर्याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ । प्रधानमन्त्री मुहिद्धिन यासिनले राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै लकडाउनका लागि जारी गरिएको आवाज जावत नियन्त्रण निर्देशन आगामी अप्रिल २८ तारिखसम्म लागु हुने घोषणा गरेका हुन् । उनले स्वास्थ्य मन्त्रालय र विज्ञहरुको सुझावका आधारमा आवाज जावत नियन्त्रण गर्ने व्यवस्थालाई लम्ब्याइएको बताए । कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका लागि आवत जावत नियन्त्रण अत्यावश्यक र अनिवार्य भएकाले यसलाई निरन्तरता दिनु पर्ने भएको उनको भनाई छ । “हामीले अझै केही समय यही अवस्थाको सामना गर्नु पर्ने भएको छ, यसले धेरैलाई समस्यामा पार्दछ भन्ने हामीले बुझेका छौँ, तर यसको पालना गर्नु हाम्रो बाध्यता हो,” प्रधानमन्त्री यासिनले भने । कोरोना भाइरसको संक्रमण नियन्त्रण नुहदाँसम्म यस्तो व्यवस्था लामो समयसम्म पनि जानसक्ने उनले बताए । उनले भने, “कोरोना भाइरस विरुद्धको लगाई अझै सकिएको छैन, त्यसैले हामीले लडिरहनु पर्ने भएको छ ।” मलेसियामा लकडाउनका लागि आवाज जावत नियन्त्रण निर्देशन लागु गरिएको शनिबार २५ दिन भइसकेको छ । गत मार्च १८ देखि नै मलेसियामा लकडाउन सुरु गरिएको थियो । त्यतिबेला घोषणा गरिएको लकडाउन यही अप्रिल १४ मा सकिने छ भने अहिले घोषणा गरिएको लकडान १५ अप्रिलदेखि २८ अप्रिलसम्म लागु हुनेछ । औषधी, खाद्य पदार्थलगायतका अत्यावश्यक सामग्रीहरु किन्नका लागि निस्कनु पर्ने बाहेक अन्य सवैजना घरमै बस्न प्रधानमन्त्री यासिनले आग्रह गरे । लकडाउनका कारण मलेसियाको आर्थिक क्षेत्रमा ठूलो क्षति पुगेको र यसले धेरै पछिसम्म असर गर्न सक्ने अधिकारीहरुले बताएका छन् । शुक्रबारसम्ममा मलेसियामा कोरोना भाइरसका कारण चार हजार ३४६ जना संक्रमित भएका छन् भने ७० जनाको मृत्यु भइसकेको छ । रासस/एएनआई