क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५ सय १० रुपैयाँ दिने गण्डकी सरकारको निर्णय
पाेखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई खाना र नास्ताबापत दैनिक ५ सय १० रुपैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि अबदेखि रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए। “बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ र क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन ५ सय १० रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको छ”, मन्त्री बस्नेतले भने। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न सरकारले तीन वटै सुरक्षा निकायलाई १५ लाखका दरले बजेट निकासा गर्ने निर्णय गरेको छ। नेपाली सेनाको पश्चिम पृतना, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई रकम निकासा गर्ने निर्णय गरिएको सरकारले जनाएको छ । त्यसैगरि डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक, कर्मचारीले एक दिनमा बढीमा दुई हजार २ सय २० का दरले खान, बस्ने रकमको सीमा तोकेको छ। त्यसैगरी सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई प्रदेश मातहत ल्याउनका लागि काम अघि बढाउने भएको छ। रासस
आवश्यकता हेरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले ई पास दिँदै
काठमाडौं । लकडाउनको समयमा अत्यावश्यक सवारीसाधन सञ्चालनको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ई पासको दिने भएको छ । खाद्यान्न ढुवानी, बिरामी ओसारपसार, शववाहन र अन्य अत्यावश्यक कामको लागि अनलाइन मार्फत नै विवरण भरेर ई पास लिन सकिने जनाएको छ । ई पास लिन आवेदकले मोबाइलको म्यासेज बक्समा गएर कारणसहित १११२ मा एसएमएस गर्न पर्ने छ, त्यसपछि मात्र जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ। गृहमन्त्रालयले ई-पासको लागि अलग्गै पोर्टलको विकास गरेको छ । ई-पासका लागि https://epass.moha.gov.np/डोमेनको पोर्टलमा गएर सोधिएका विवरण फर्ममा भरेर वेबसाइटमार्फत पास लिन सकिने मन्त्रालयले जानकारी दिएको छ ।
लकडाउन पछि कौसीबाट नियाल्दै सनसिटीका वासिन्दा, सबै त्रसित मुद्रामा (फाेटाेफिचर)
काठमाडाैं । काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्ट जहाँ कोरोना लागेका दुई जना सङ्क्रमित भेटिएको पुष्टी भएको छ । हाल उक्त अपार्टमेन्ट पूर्णरुपमा लकडाउन गरिएको छ । त्यहाँ १५ सयको सङ्ख्यामा मानिसहरु बस्ने गरेका छन् । सनसिटी अपार्टमेन्टको कौसीबाट नियाल्दै काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा लकडाउनका बेला कौसीबाट बाहिर नियालिरहेको एक परिवार । सनसिटी अपार्टमेन्टमा त्रसित मुद्रामा युवक दुई सङ्क्रमित भेटिएको पुष्टि पछि अपार्टमेन्टमा त्रसित मुद्रामा एक युवक फोनमा कुरा गर्दै । तस्वीरः प्रदीपराज वन्त/रासस
स्थानीय तहमै आरडिटी परीक्षण शुरू
काठमाडौं । जाजरकोटका विभिन्न स्थानमा रहेका होम क्वारेन्टाइनमा बसेकाको र्यापिड डायग्नोष्टिक टेष्ट किट (आरडिटि) मार्फत कोरोना भाइरस परीक्षण सुरु गरिएको छ । कर्णाली प्रदेश सरकारमार्फत जाजरकोटमा र्यापिड डाइगोनोस्टिक टेष्ट किट आइपुगेपछि स्वास्थ्यकर्मीको टोलीले होम क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण थालिएको हो। जिल्लाका ७ वटै स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमै स्वास्थ्य परीक्षण गर्ने योजनाअनुसार आईतबारदेखि भेरी नगरपालिकाका होम क्वारेन्टाइनमा बसेकाको स्वास्थ्य परिक्षण गरिएको हो। वैशाख ३ गते जिल्लाबाट जाँच टोली खटिने छ । बुधबार जुनिचाँदे गाउँपालिका, ५ गते छेडागाड नगरपालिका र ६ गते शिवालय गाउँपालिका आरडीटी जाँच हुँने छ । त्यस्तै बारेकोट गाउँपालिका बैशाख ४ , नलगाड नगरपालिकामा ५ गते र कुशे गाउँपालिकामा ६ गते जाँच गर्न लागिएको प्रमुख जैसीले जानकारी दिए । भेरी नगरपालिकामा आइतबार १४ जनाको जाँच भएको छ भने बाँकी अन्यको आज हुँने उनको भनाई छ । आरडीटी जाँचमा पोजेटिभ भएमा थप जाँचका लागि स्वाब संकलन गरेर पिसिआर मेसिनमा जाँचका लागि सुर्खेत पठाईने उनले जानकारी दिए । पहिलो चरणमा २६० जनाको जाँच गरिने छ । थप अन्य शंका लागेमा पनि जाँच हुने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । पहिलो चरणमा प्रदेश कार्यालयबाट ३ सय थान किट जाजरकोट पठाएको प्रजिअ पन्तले जानकारी दिए । बन्दाबन्दीको समयमा बाहिरबाट आएका र बाहिरी मानिसको सम्पर्कपछि क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गर्ने छन् । आरडिटी किट आइपुगेपछि जाजरकोटमा स्वास्थ्य परीक्षणमा सहज भएको र परीक्षणको काम सबै स्थानीयका क्वारेन्टाइनमा गरिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । आरडिटी गर्दा र्यापिड टेस्ट नेगेटिभ रिपोर्ट देखिएका व्यक्तिलाई घर पठाइने र पोजेटिभ देखिएकालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गरिनेछ । रासस
आइक्यानले कोरोना रोकथाम कोषमा दियो १ करोड रुपैयाँ
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराएको छ । सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । आइक्यानको परिषदबाट चैत ३० गते भर्चुअल बैठक मार्फत सरकारले स्थापना गरेको कोषमा तत्काल सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण सहित नियन्त्रण गर्न सकिने अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ । यसैगरी कोरोना भाइरसको प्रभावले लेखा व्यवसायमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाउने निर्णय पनि बैठकले गरेको छ । कोरोना भाइरसको प्रभावपछि व्यावसायिक परामर्शमा विशेष ध्यान दिनुपर्ने देखिएकोले सो को रणनीति तयार गर्ने उद्देश्यसहित अध्ययन गर्न लागिएको उनले बताए । यसैगरी लेखा व्यवसाय र लेखापरीक्षणका मापदण्ड कार्यान्वयनमा पर्ने प्रभावका विषयमा पनि समितिले अध्ययन गर्नेछ । यस्तै अनलाइन लर्निङ्ग प्लेटफर्म तयार गरी भर्चुअल टे«निङ्गका साथै विद्यार्थीका निमित्त भर्चुअल कक्षाको व्यवस्थापन गर्ने गरी आवश्यक व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको आचार्यले बताए । भविष्यमा पनि यसरी नै तालिम तथा विद्यार्थीलाई कक्षा संचालन गर्न सक्ने गरी व्यवस्थापन गर्ने आइक्यानको तयारी रहेको छ । संस्थाले विदेशी लेखा व्यवसायी संस्थासंग सहकार्य गरेर सदस्यलाई भर्चुअल ट्रेनिङ्ग र सो का आधारमा सदस्यले अनिवार्य रुपमा लिनु पर्ने अनवरत व्यावसायिक शिक्षा वापतको सीपीई हावर प्रदान गर्ने समेत निर्णय गरेको उनले बताए । आइक्यानले कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्ति बाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । “यसले विद्यार्थीहरुलाई केही राहत पुर्याउनेछ भन्ने हाम्रो विश्वास छ,” अध्यक्ष आचार्यले भने ।
सेलपे सेवाले थप्यो नयाँ सुबिधा, बीमा रकम सजिलै भुक्तानी गर्न सकिने
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ग्राहकहरुको माग अनुरुप नयाँ सुबिधाहरु थप गरेको छ । जस अन्तर्गत ग्राहकहरुले अब सजिलै सेलपे मोबाईल वा वेब एप्लीकेशन प्रयोग गरी सहज रुपमा सेलपेसँग आबद्ध भएका विभिन्न बीमा कम्पनीको बीमा रकम भुक्तानी र स्याकार इन्भेस्ट्मेण्ट कम्पनीका इएमआई भुक्तानी गर्न सक्नेछन् । साथै, ग्राहकले आफुले पठाएको रकम प्रापकले सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको नेपालभरीका आफुलाई पायक पर्ने जुनसुकै रेमिटेन्स एजेण्ट कहाँबाट प्राप्त गर्न सक्ने सेलपेले जनाएको छ । हाल विश्व भरी फैलिदै गरेको कोरोना भाईरस (कोभिड १९) को संक्रमणबाट बच्नको लागि नेपाल सरकारबाट आम सर्वसाधारणलाई सामाजिक दुरी कायम गर्न र अत्यावश्यक कार्यका लागि बाहेक घरबाट बाहिर ननिस्कन निर्देशनको पालना गर्दै यो उक्त सुविधा ल्याएको हो । सेलपेले यस अवस्थामा यी थप सेवा र सुबिधाले सेलपेका ग्राहकहरुलाई सामाजिक दुरी कायम गर्नको साथै आफ्नो आवश्यक रकम भुक्तानीका कामहरु गर्न पनि सहजता पुर्याउनेछ । सेलपेका ग्राहकहरुले यस थप सेवाहरुको फाईदा लिनको लागि आफ्नो सेलपे एप्पमा गई हालै नयाँ थपिएका आइकन इएमआई र इन्सुरेन्समा क्लिक गरी आफ्नो आवश्यकता अनुसारको सेलपेसँग आबद्ध भएका कम्पनीको लोगो छनौट गरी सजिलै आफ्नो आवश्यकता अनुरुप रकम भुक्तानी गर्न सक्नेछन् । यसका साथै देशभित्र कुनैपनी ठाउँमा सजिलै पैसा पठाउनका लागि ग्राहकहरुले रेमिट्यान्स आइकनमा क्लिक गरी आफ्नो इच्छा अनुरुप सिटी एक्स्प्रेस मनी ट्रान्स्फर एजेन्ट छनौट गरे पश्चात पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन् । यसरी पैसा पठाईसकेपछि प्रेषकले आफ्नो सेलपे एप्पमा एउटा यूनिक आईडी प्राप्त गर्नेछन् र त्यस यूनिक आईडी प्रेषकले प्रापकलाई दिनु पर्नेछ र प्रापकले देशैभरी रहेका विभिन्न सिटी एक्स्प्रेस मनी ट्रान्स्फरका रेमिट्यान्स एजेन्ट मध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त यूनिक आईडी देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् ।
आँप उत्पादन बढ्ने सङ्केतः औषधि छर्न नपाएपछि किसान चिन्तामा
काठमाडौं । महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ । यसवर्ष आँपको रुखमा सबैतिर मज्जर ९आँपको फूल० बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ । फलस्वरुप आँपमा छर्न नपाएपछि मधुवा किराको प्रकोपले मज्जर र चिचिला झर्ने र उप्पादन घट्न सक्ने चिन्ताले किसानलाई सताएको छ । किसानहरु भन्छन, “माघ गुज्रियो, फागुनमा आँपमा मज्जर (फूल) लाग्यो र चैतमा अत्यधिक टिकोला (चिचिरा) देखिनु उत्पादन बढने सङ्केत हो । तर लकडाउनका कारण औषधि छर्न नपाएपछि मधुवा किराको प्रकोपले उप्पादन घट्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ । लकडाउनका कारण किसानहरुले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गर्न समेत पाएका छैनन् । मधुवा रोगको दीर्घकालिन समाधानका लागि सरकारी स्तरबाट हालसम्म कुनै प्रयास भएको देखिदैन । लकडाउनका कारण प्राविधिक पहुँचबाट बञ्चित रहेका महोत्तरीका किसानहरु मधुवा रोगबाट बच्नका लागि बजारमा औषधिसमेत खरिद गर्न सकिएको छैन् । जिल्लाको सदरमुकाम जलेश्वर, मटिहानी, मनरा, सम्सी, खयरमारा, पिपरा, इटहर्वा, पर्सापतैली, सुगा, लक्ष्मीनिया, मडै, बर्दिवास, गौशालालाई आँप उत्पादनको पकेट क्षेत्र मानिन्छ । यस वर्ष जिल्लामा दुई हजार ६ सय हेक्टर क्षेत्रफलमा आँपखेती गरिएको छ । रासस
कोरोना उपचारमा संलग्न डा. कमर भन्छन्ः न हारेका छाैं न त डराएका नै, जोखिमलाई अवसर ठानेर काम गरिरहेका छौं
काठमाडौं । सुदूरपश्चिमकाे सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितहरुको अपचारमा संलग्न वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले मार्च २२ मा फेसबुकमा एउटा स्टाटस राख्दै भने,‘अरुलाई घरमा बस्नुभन्दा बस्दैनन्, आफू घरमा बस्छु भन्दा पाइँदैन ।’ त्यस्तै, सोही अस्पतालमा कार्यरत सिनियर नर्स भगवती बडालले पनि फेसबुकमै सोही किसिमको स्टाटस राखिन् । उनले लेखेकी थिइन्,‘मर्ने कसैको रहर हुँदैन, तर नमरेको शहर हुँदैन, भागेर जाउँ कुन ठाउँ जाउँ, मान्छे नमर्ने शहर हुँदैन ।’ अस्पतालको आईसोलेसनमा राखिएका व्यक्तिमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि अस्पतालमा कार्यरत चिकित्सकहरुका यी स्टाटसहरुले तहल्का मच्चायो । धेरै मानिसहरुलाई ती स्टाटसहरुले भावुक मात्र होइन डाक्टरी पेशालाई बुझ्न पनि सहयोग पुर्यायो । ती दुवै स्टाटसहरुले चिकित्सकहरुको काम मात्र होइन उनीहरुको दु.ख बेदना र मानसिक अवस्था पनि प्रष्ट पार्यो । ती फेसबुक स्टाटसहरुले अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मीहरु आतंकित बने । कोरोना संक्रमितको नजिकै जान डराए । देशभरका सञ्चार माध्यमहरुमा समाचार आए ‘सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले बिरामीको ‘केयर’ नै गरेनन्, बिरामी नजिकै जान डराए ।’ तर, माहोल कहाँ भने जस्तो सामान्य थियो र ? शरिरमा छुँदै र नजिकै जाँदै रोग सरिहाल्ने । अहँ, कस्ले पो काल निम्त्याउँछ र यसरी ? सबै स्वास्थ्यकर्मीहरु आतंकित बने । माहोल पृथक किसिमको बन्यो । त्यति मात्र हो र ? घरभाडामा बस्ने नर्सहरुलाई घरवेटीले कोठामा बस्न नदिने सम्मका समाचारहरु सम्प्रेषण भए । त्यो समाचार स्थानीय तहतप्कादेखि केन्द्रसम्म पुग्यो । एउटा पीडा घरवेटीले कोठामा बस्न नदिएको, अर्को ठूलो पीडा कोरोना संक्रमितकै छेउमा गएर उपचार गर्नु पर्ने । त्यति मात्र कहाँ हो र ? बिरामी नजिकै जानको लागि सुरक्षित स्वास्थ्य सामगी्र नहुनु अर्को ठूलो समस्या थियो उनीहरुका लागि । ती विविधि समस्या र चुनौतीहरुसँगै लड्दै सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरु उपचारमा खटिरहे । देशको सबैभन्दा विकट रहेको प्रदेशमा पाँच जना संक्रमित देखिनु उनीहरुका लागि अर्को ठूलो चुनौति । कसरी बिरामीहरुलाई सामान्य अवस्थामा पुर्याउने ? उनीहरुको नियमित उपचारमा कसरी संलग्न हुने चिकित्सकहरुका लागि ठूलो पहाड सरीको चुनौती आइलागेको थियो त्यतिखेर र अहिले पनि । तर, भनिन्छ नि,‘प्रत्येक महान डाक्टरका पछाडि एक राम्रो नर्सको भूमिका महत्वपूर्ण हुन्छ ।’ ती सबै नर्स र डाक्टरहरु मिलेर बिरामीहरुको उपचारमा सरिक बने । उनीहरुले एउटा अठोट लिए कि हामीले कोरोनाका बिरामीलाई नियमित ‘टेककेयर’ गर्नै पर्छ । सुरक्षा कवच मानिने पर्सनल प्रोटेक्टिभ ईक्युमेण्ट (पीपीई), मास्क, सेनिटाईजरलगायतका सामग्रीहरुको तत्काल माग गरे । केन्द्रले पनि विशेष प्राथमिकताका साथ सुरक्षा सामग्री पठायो । उनीहरुले आफ्नो भन्दा बढी कोरोना संक्रमित बिरामीहरुको बढी चिन्ता लिए । अस्पताल भित्र चिकित्सक र स्वास्थ्यकर्मीहरुको चिन्ता थियो कि संक्रमित व्यक्तिलाई कसरी बचाउने ? कसरी सुरक्षित तरिकाले उनकीहरुको उपचार गर्ने ? यी विविध चुनौती र समस्याहरुलाई धर्म गर्ने अवसर ठान्दै उनीहरु प्रत्यक्ष उपचारमा खटिरहे । हाल सो अस्पतालमा उपचाररत पाँचै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । दुबईबाट आएका एकजना र उनकै परिवारका एकजना तथा भारतबाट आएका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि चारैजनाको उपचार नियमित रुपमा भइरहेको छ । र हिजै मात्र देखिएकी एक जना वृद्धा पनि सोही अस्पतालमा उपचाररत छन् । ती विभिन्न स्वास्थ्यकर्मीहरुमध्ये कोरोनाको उपचारमा प्रत्यक्ष खटिरहेका वरिष्ठ फिजिसियन डाक्टर शेर बहादु रकमर एक हुन् । उनी कोरोनाका बिरामीको उपचारमा नियमित खटिरहेका छन् । स्वास्थ्यकर्मीहरुलाई ढाडस दिइरहेका छन् । जोखिमलाई अवसरका रुपमा लिएर काम गर्न आग्रह गरिरहेका छन् । उनी भन्छन्, ‘हाम्रो उपचार गर्ने काम हो, आफ्नो ज्यानको प्रवाह नगरी उपचार गरिरहेका छौं, उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।’ अनि तपाइँलाई डर लाग्दैन ? हाँस्दै भन्छन्, अब त बानी परिसक्यो । डर मनबाट हटि सक्यो । हाम्रो एउटा ठूलो तालिम प्राप्त टीम छ । हामी सँगै जान्छौं । डर लागेर पनि के गर्नु, आफ्नो शरिरलाई जोगाउनुभन्दा ठूलो चुनौती बिरामीको उपचार गर्नु हो । त्यसका लागि हामी व्यक्तिगत सुरक्षा सामग्रीकासाथ उनीहरुलाई भेट्न जान्छौं। कुराकानी गर्छौं । उनीहरुलाई सञ्चो बिसञ्चो सोध्छौं । हामीले पनि डर मान्यो भने उनीहरुको उपचार कसले गर्छ । उनी फेरि मुसुक्क हाँस्छन् । हुन पनि हो । यदि विश्वभरका चिकित्सकहरुले डराएर बिरामीको उपचार नगरिदिएको भए ? अहँ, सायद लाखौं मानिसहरु निको भएर घर नफर्किन्थे होलान् । सेती प्रादेशीक अस्पतालमा पनि तल्लिन भएर चिकित्सकहरुको टोली खटिरहेको छ । तर, उनीहरुलाई केही मानिसहरुले बिरामीहरुको उपचार नगरेको आरोप पनि लगाएका छन् । अनि तपाईहरुले त उपचार नै गर्नु भएन रे हो ? मैले पनि समाचारबाटै सुनेको । अलि निराश भावमा आएर कमर भन्छन, ‘अहँ, सेती अस्पतालमा त्यस्तो भएको छैन र हामी हुन पनि दिँदैनौं, कसैले डराएर भने होलान्, उपचार गर्नु त हाम्रो धर्म हो त, त्यो सुरुसुरुमा आएको थियो अहिले त्यस्तो छैन ।’ ‘त्यतिबेला व्यक्तिगत सुरक्षाका सामग्री थिएनन्, हामीलाई पनि जोखिम थियो, जसले जे भने पनि हाम्रो काम नै उपचार गर्ने हो । हामी सधैं आफ्नो ज्यान जोखिममा राखेर उपचारमा खटिरहन्छौंं,’ उनले भने । उनी बिरामीहरुलाई नियमित रुपमा भेटिरहेको बताउँछन् । उनी भन्छन्, पहिलेको भन्दा झन व्यस्त भइएको छ । बिहान उठ्छु । खाना खाएर १० बजे अस्पताल पुग्छु। अस्पतालका इमरजेन्सीका बिरामी आए चेकजाँच गर्छु। कोरोनाको आइसुलेसनका बारेमा छलफल गर्छु। ती बिरामीको ’हिस्ट्री’ हेरिन्छ । कसैलाई केही ’कम्प्लिकेसन’ भएको छ कि भन्ने जानकारी लिन्छु । अझ केही भइहाल्यो भने आईसोलेसन वार्डमा जान्छु । बिरामीसँग कुराकानी गर्छु। अनि बेलुकी आवास फर्कन्छु । यस्तै हो सधैं । तर, यति काम गर्दा गर्दै पनि काम गरेन । बिरामीको उपचार गरेन भनेर सुन्दा दु.ख लाग्छ । उनी अलि भावुक बन्छन् । कोरोना भाइरसकै कारण विश्वमा धेरै चिकित्सकहरुको मृत्यु भइसकेको छ । नेपालमा हाल १६ जना कोरोना भाइरसका बिरामी छन् । जसमा पाँज जना नै सुदूरपश्चिममा छन् । जसले सुदूर सेती प्रादेशीक अस्पतालका डाक्टरहरुलाई पनि स्वभाविक रुपमा डर र चुनौती थपिएको छ । तर, उनीहरु प्रतिक्रिया दिन्छन्,‘हामीलाई डर छैन, कामलाई अवसरका रुपमा लिएर जोखिम कम गरिरहेका छौं ।’ अनि, घरवेटीले कोठा छोड्नु भनेको छ पनि भन्छन् नि ? हो, धेरै साथीहरु कोठा भाडामै लिएर बसिरहनु भएको छ । मेरो त अस्पताल परिसरमै सरकारी आवास छ । हाम्रा स्वास्थ्यकर्मीलाई भने उनीहरुका घरबेटीले भने नआउनू, डेरा छोडनू भनेका रहेछन् । उनीहरु अहिले बाहिर नै बसिरहेका छन् भन्ने सुनेको छु । के गर्ने बिरामीको उपचार गर्नै पर्यो । उनी देशमा कारोनाको सबैभन्दा बढी जोखिम सुदूरपश्चिम भएको बताउँछन् । भारतबाट ढेड लाख मानिस स्वदेश भित्रिएकोले पनि धेरै जोखिम भएको उनी बताउँछन्। कोरोना दीर्घ रोगी, उमेर पुगेका बुढापाकालाई बढी जोखिम हुने भएकोले यसको अचुक औषधि भनेको बाहिरबाट आएकालाई क्वारेन्टाइनमै राख्नु हो र एकान्तबास नै भएको उनको भनाइ छ । डा.कमरले कोरोनाका बिरामीले गर्दा अन्य रोगका बिरामीहरु बढी जोखिममा भएको बताए । सुदूरपश्चिम प्रदेश सरकारले सो अस्पताललाई अहिले कोरोना विशेष अपचार अस्पतालका रुपमा राखेको छ । त्यसले पनि अन्य रोगका बिरामी अस्पतालमा उपचारका लागि आउनै छोडेको उनको भनाइ छ । ‘सेती प्रादेशिक अस्पतालमा कोरोनासँगै शल्यक्रिया पनि भइरहेको छ, यो अत्यावश्यक उपचारमा आउने बिरामीका लागिसमेत खतरा होइन र ? उनी प्रश्न गर्छन् । ‘विश्वमा महामारी झेलिरहेका देशहरुले पनि सुरुमा यस्तै गरेका थिए, अहिले उनीहरु भनिरहेका छन् कि कोरोनाको छुट्टै अस्पताल बनाउनू भनेर, यो अस्पतालमा त ४० बेडको डायलासिस छ, अत्यावश्यक शल्यक्रिया भइरहेका छन, गाईनो वार्ड सञ्चालनमा छ आमाहरुको ’रिजरिङ’ भइरहेको छ ।’ ‘डायलासिस गराउने मान्छे भनेका मृगौलाका दीर्घरोगी हुन् । कोरोना भाइरसले यिनीहरुलाई समात्यो भने बचाउन सकिँदैन, हामीले प्रदेश सरकारलाई धेरै पहिलादेखि भनिरहेका छौं कि कोरोनाका बिरामीका लागि छुट्टै अस्पताल बनाउनुपर्छ भनेर, तर, अहिलेसम्म त्यो व्यवस्था भएको छैन,’ उनले भने । कोरोनाकै कारण अरु बिरामी पनि अस्पताल नआएको उनले बताए । ‘सेतीमा हरेक दिन तीन चार सय बिरामी ओपीडीमा आउँथे, अहिले ती बिरामी घरमै रोग पालेर बसेका छन्, त्यसैले राज्यले यो व्यवस्थापन गर्नुपर्छ ,उनले भने । कोरोना संक्रमित बिरामीको उपचारमा ३ वटा टीम विभाजन गरेर काम भइरहेको उनले बताए । जसमा ५ जना नर्सको टीम छ । डा. कमर जस्तै अन्य स्वास्थ्यकर्मीहरु पनि पनि हिम्मतले काम गरिरहेका छन् । उनीहरु यो महामारीमा काम गरेको अनुभव उनको जीवनमा कहिलै नमेटिने सम्झना भएर रहने भएकोले पनि यस्तो बेला काम गर्न पाउँनु गर्वको विषय भएको उनीहरुको धारणा छ । ‘उपचार कक्षमा पुग्नुअघि जसरी पनि कोरोनालाई जित्नु पर्छ भन्ने सोचका साथ जान्छौं, आइसोलेसनमा भएका बिरामीलाई सिसिटिभीबाट उनीहरूले निगरानी गरिरहेका हुन्छौं, फोन गर्छौं,’ यो रोगसँग लड्न बलियो मन चाहिँन्छ, आफन्तहरु डरले आउँदैनन्, उनीहरुका आफ्ना भन्ने नै हौं, हामीसँग कूरा गरेपछि उनीहरु खुसी हुन्छन् । उनीहरुका परिवारहरुले भने जागिर छोडेर घर आइजा नभनेका होइनन् तर आफुहरुको मनले भने त्यस्तो स्वीकार गर्न नमान्ने उनीहरुको भनाइ छ । उनीहरुले सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कोरोना भाइरसका बिरामीलाई निको बनाउने भरपुर प्रयत्न गरिरहेका छन् ।