कोरोना त्रास : शहरका नागरिक आएपछि गाउँको मुहार फेरिदै
काठमाडौं । भारतको मुम्बईस्थित पाँचतारे होटलमा काम गर्ने बेनी नगरपालिका—२ बगरफाँटका गणेश घिमिरे गाउँ फर्किएर अहिले आफ्नै खेतीपातीमा व्यस्त छन् । विगत २० वर्षदेखि काठमाडौंको गोंगबुमा होटल व्यवसाय सञ्चालन गरेर बस्नुभएका ज्यामरुककोटका दुर्गाबहादुर थापा कोरोना भाइरस त्रासका कारण सपरिवार गाउँ फर्किएर वर्षौदेखि बाँझिएको खेतबारीमा प्राङ्गारिक मल खरिद गरी धमाधम केरा लगाउन थाले । बेनी बजारको एउटा वित्तीय संस्थामा कार्यरत श्याम शर्माले पनि गाउँको माटोमा पैसाको सुगन्ध भेटियो भन्दै तरकारी र पलफूल खेती विस्तार गर्ने ध्याउन्नमा आफूलाई केन्द्रित गरेका छन् । घिमिरे, थापा र शर्मा मात्र होइन, कोरोना भाइरस (कोभिड—१९) त्रासका कारण यतिखेर धेरै व्यक्तिहरु शहर छोडेर गाउँमा फर्किए । कोरोना सङ्क्रमणको आशङ्कामा शहरमा रहेकाहरु गाउँ फर्किएपछि गाउँलेले नयाँ त्राण पाएको छ । जसले गर्दा गाउँमा निकै चहलपहल बढेको छ । विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका लागि शहर बसेकाहरु फर्किएपछि गाउँको रुप फेरिएको छ । अरू बेला गाउँ आउँदा साथीभाइसँग भेटघाट गरेर गफिने र गाउँघर घुमफिर गर्ने अवस्था भने अहिले छैन । हिउँदेखेती थन्काएर कतै मकै लगाउने त कतै गोड्ने याम छ, अहिले गाउँमा । मल बोक्ने काम पनि धमाधम भइरहेको छ । यस्तै काममा आफूलाई व्यस्त राख्दै छन्, गाउँ फर्केका तन्नेरीहरु । कोरोना भाइरस महामारीको त्रासले शहर छोडेर गाउँमा फर्किनेको संख्या पनि निकै छ । पछिल्लो समय वृद्धाश्रम जस्तो देखिने गरेको गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठूलो सहायता मिलेको छ । युवाहरु धमाधम गाउँ फर्किएपछि अहिले गाउँको स्वरुप नै फेरिएको बेनी नगरपालिका—२ बगरफाँटका ८४ वर्षीय बेदप्रसाद शर्माले बताए । “पहिला प्रायः शुन्यशुन्य जस्तो देखिने गाउँ अहिले भरिभराउ भएको छ”, उनले भने, “आपतविपत, सङ्कट र महामारीमा मानिसलाई गाउँ नै प्यारो लाग्दो रहेछ ।” गाउँ फर्केर आफ्नो १६ रोपनी खेतबारीमा २ सयभन्दा बढी मालभोग जातका केराका विरुवा लगाउँदै गरेका बगरफाँटका दुर्गा थापाले गाउँमा सुरक्षा र आनन्द दुवै पाइने भएकाले शहरको त्रासलाई भुलाउन आफू गाउँमा आएको बताए । लकडाउनका कारण शहर बजारमा मानिसहरु घरभित्र नै बसेका भएपनि गाउँमा भने सुरक्षित वातावरणमा धमाधम कृषि कर्महरु भैरहेको गाउँलेहरुले बताएका छन् । खेतीपातीको काममा शहर र विदेशबाट आएका युवा खटेकाले अहिले गाउँका वृद्धबृद्धा, महिला र केटाकेटीहरुले राहत महशुस गरेका छन् । लकडाउनको असर गाउँमा कम छ । गाउँका खेतबारीमा काम भइरहेका छन् । कोही घर सिँगार्न व्यस्त छन् त कोही खेतबारीमा मल बोक्न । त्यस्तै कोहीलाई बाली भित्र्याउने चटारो छ । वर्षौदेखि बाँझो रहेका खेतवारीमा अहिले हरियाली छाएको छ । यो वर्ष उत्पादनमा वृद्धि हुने लक्षण देखिएको स्थानीय किसानहरु बताउँछन् । शहरको रमझम र सुविधामा अभ्यस्त भएका बालबालिकाहरु पनि गाउँको वातावरणमा रमाउँदै जान थालेका छन् । काठमाण्डौंबाट पहिलो पटक हजुरबुबासंग गाउँ आएका ११ वर्षीय रोशन घिमिरेले मम, चाउमीन, समोसा र बजारमा पाइने अरु खाजा भन्दा गाउँमा खाइने खाजा मिठो भएको बताए । विश्वव्यापी महामारीको रुप लिएको कोरोनाबाट बच्नका लागि गाउँ फर्किएका युवायुवती र बालबालिकाहरु अहिले गाउँको माहोलमा रमाएका छन् । गाउँको वातावरणमा सुरक्षित र रमाइलो दुवै भएको उनीहरुको भनाइ छ । गाउँका वृद्धबृद्धाले पनि अब गाउँको दिन आउँछ की भनेर आशा गर्न थालेका छन् । मालिका गाउँपालिका—५ देवीस्थानका रेशबहादुर बूढाले भने, “गाउँका पुराना घरहरु सिंगारिएका छन् । मर्मत सम्भार गरेर चिटिक्क पारिएको छ । बाटो र डहरो पनि सरसफाइ गरिएको छ । कोरोनाका कारण मरिने बाँचिने त ठेगान छैन तर गाउँको रुप भने परिवर्तन भएको देख्न पाइएको छ ।” असिनापानीले अन्नबाली सखाप, बाटो अवरुद्ध म्याग्दीमा गएरानित परेको भिषण असिनापानीले गहुँ, तरकारी र फलफूल खेतीमा ठूलो क्षति पुर्याएको छ । जिल्लाको रघुगङ्गा र मालिका गाउँपालिकाको विभिन्न वडामा परेको असिनापानीले पाकेर थन्काउने बेलाको गहुँ, जौ, लगायत खेतबारीमा रोपेको मकै, सिमी लगायतका तरकारी र सुन्तला जातका फलफूल खेतीमा ठूलो क्षति पु¥याएको स्थानीय कृषकले बताएका छन् । रघुगङ्गा गाउँपालिकाको वडा नं २ भगवती, वडा नं ३ पिप्ले र वडा नं ४ दग्नाम क्षेत्रमा ठूलो क्षति पु¥याएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार करिब १ फिट सम्म परेको असिनाले गहुँ, जौँ, मकै, सिमी लगायतका खाद्यन्नबाली र तरकारी खेतीमा समेत ठूलो क्षति पुर्याएको छ । असिनापानीसँगै आएको बाढीका कारण भगवतीको जैसिखोर क्षेत्रमा केही घरहरुमा समेत क्षति पुर्याएको छ । अहिले जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, वडा अध्यक्ष रिम कटुवाल लगायतको टोलीले भगवती क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलनमा जुटेका छन् । त्यसैगरी मालिका गाउँपालिकाको बिम लगायतका क्षेत्रमा समेत असिनापानीले गहुँ, जौ र सुन्तला खेतीमा क्षति पु¥याएको वडा अध्यक्ष रेशम जुग्जालीले बताए । असिना पानीका कारण रघुगङ्गा गाउँपालिकाका चारवटा वडाका ग्रामीण सडकसमेत अस्तव्यस्त भएका छन् । सोमबार राति हावाहुरीसँगै आएको असिनापानीले वडा नं २ स्थित भगवतीमा केही घर भत्किएको र बाटोसमेत अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए । “एकफिटसम्म असिना परेको छ, क्षतिको विवरण सङ्कलन गरी उचित राहतको व्यवस्था गर्छौं”, उनले भने । उनका अनुसार करिब ३० घरधुरीभित्र अन्नबाली प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेको छ भने ४ घर बस्न नमिल्ने गरी असर गरेको छ । रातभर लगातार परेको असिनापानीले वडा नं ३ दग्नाममा समेत ठूलो क्षति भएको वडाध्यक्ष रुक बहादुर गर्बुजाले बताए । उहाँका अनुसार दग्नाममा गहुँ र जौबाली, आलु र अन्य तरकारी खेती कामै नलाग्ने गरी नष्ट भएको छ । “असिनाले बाली उठाउनै नमिल्ने गरी खेतबारीमै सखाप पारेको छ, हेर्न सक्ने अवस्था छैन”, उनले भने । रासस
लकडाउनपछि नेपाल सरकारले गर्यो १० क्षेत्रमा ८१ वटा राहत र नीतिगत निर्णय (सूचीसहित)
तस्बीरः राजन काफ्ले, प्रधानमन्त्रीको निजी सचिवालय काठमाडौं । कोरोना भाइरस (कोभिड १९) रोकथाम र नियन्त्रणको लागि सरकारले ११ चैतमा देशव्यापी लकडाउन घोषणा गरेपछि त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनिकरणका लागि विभिन्न ८१ वटा निर्णय गरेको छ । सरकारले १० क्षेत्रमा राहत प्रदान गर्ने तथा नीतिगत परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले गरेका १० क्षेत्रमा असंगठित क्षेत्रका दैनिक ज्यालादारी श्रमिक मजदुरका सम्बन्धमा ६ वटा, औपचारिक क्षेत्रमा काम गर्ने मजदुरका सम्बन्धमा ४ वटा, आवश्यक खाद्यान्न सामग्री तथा सेवा आपूर्ति सम्बन्धमा ११ वटा र स्वास्थ्य, शिक्षा सेवा र घरबहाल क्षेत्रमा ९ वटा राहत र नीतिगत निर्णय गरेको छ । अर्थमन्त्रालयले दिएको जानकारी अनुसार भन्सार सहुलियत तथा छुट सम्बन्धमा ८ वटा, आन्तरिक राजस्वतर्फ म्याद थप तथा खर्च कटौति सम्बन्धमा ७ वटा र बैंकिङ क्षेत्रका सम्बन्धमा १४ वटा, बीमा क्षेत्रका सम्बन्धमा ४ वटा र धितोपत्रका सम्बन्धमा २ वटा गरी बैंकिङ, बीमा र धितोपत्र क्षेत्रमा २० वटा राहत र नीतिगत निर्णय गरेको छ । यस्तै, प्रशासनिक तथा नियमनकारी क्षेत्रका छुट तथा सहुलियतहरुमा ६ वटा, अन्य नीतिगत सुधारमा ६ वटा र स्रोत व्यवस्थापन तथा अन्तराष्ट्रिय सहायता परिचालन सम्बन्धमा ४ वटा राहत तथा नीतिगत निर्णय गरिएको अर्थमन्त्रालयको भनाइ छ । असंगठित क्षेत्रका दैनिक ज्यालादारी श्रमिक मजदुरका सम्बन्धमा गरिएको निर्णयमा यस्तो क्षेत्रमा काम गर्नेहरुलाई लकडाउनको समयभित्रका लागि राहत दिनुपर्ने व्यक्तिहरुको लगत तयार गरी राहत वितरण गर्ने, स्थानीय तहसँगको समन्वयमा राहत वितरण गर्ने गराउने, लकडाउनको अवधिमा गर्भवती महिला, अपांगता भएका व्यक्ति, बृद्धाश्रममा रहेका बृद्ध बृद्धा, बालगृहमा रहेका बालबालिकाको लागि आवश्यकता अनुसार खाद्यान्न लगायतका थप व्यवस्था गर्ने लगायतका राहत र नीतिगत निर्णयय भएका छन् । औपचारिक क्षेत्रमा काम गर्ने मजदुरहरुलाई रोजगारदाताले नियमित रुपमा पारिश्रमिक उपलब्ध गराउने, बन्द भएका उद्योग व्यवसायले नियमित रुपमा पारिश्रमिक दिनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक तथा रोजगारदाताको तर्फबाट गत चैत महिनामा जम्मा गर्नुपर्ने योगदान रकम सरकारले दिनेलगायत राहत र नीतिगत निर्णय छन् । यस्तै, स्रोत व्यवस्थापनमा दातृ निकाय विश्व बैंकबाट आपतकालिन महामारी पूर्व तयारी तथा नियन्त्रण योजना अन्तरगत नेपाल सरकारलाई प्राप्त हुने अमेरिकी डलर २९ मिलियन (करिब ३ अर्ब ४८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्न वार्ता र सम्झौता गर्ने, भुक्तानी सन्तुलत तथा विदेशी विनिमय मौज्दात व्यवस्थापन गर्न अन्तराष्ट्रिय मुद्रा कोषबाट उपलब्ध हुने र्यापिड क्रेडिट फ्यासिलिटी अन्तरगत ७८.५ मिलियन एसडीआर (करिब १३ अर्ब ९ करोड रुपैयाँ) बराबरको कोटाको सुविधा परिचालन गर्ने, एसियाली विकास बैंकबाट हालै घोषणा भएको तत्कालिन सहयोग कार्यक्रम अन्तरगत नेपालले परिचालन गर्ने प्रक्रियामा रहेको रकम करिब ६० मिलियन अमेरिकी डलर र सोमा थपघट हुने रकमसमेत बजेट सहायता (पोलिसी बेस्ड लेन्डिंग) स्वीकार गर्न वार्ता तथा सम्झौता गर्ने लगायत निर्णय छन् । यस्ता छन् सरकारले गरेका नीतिगत निर्णय र राहतका कार्यक्रमहरू [pdf id=207892]
भारतमा कोरोना संक्रमितकाे संख्या बढ्दाे, २४ घण्टामै १ हजार २११ थपिए
भारत । भारतमा गएको २४ घन्टायता ‘कोभिड १९’ संक्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा कोरोना भाइरसका संक्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ३३९ पुगेको छ । भारतमा देखिएका यी संक्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ । हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमितहरु उपचाररत रहेका छन् । भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ । महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित रहेका छन् । त्यसैगरी तमिलनाडूमा १ हजार १७३ सङ्क्रमित रहेका छन् । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । (रासस/एएनआई)
मुद्राकोषले नेपालसहित विभिन्न देशको ऋण भुक्तानीको समयावधि ६ महिना थप्यो
न्यूयोर्क । अन्तर्राष्ट्रिय मुद्राकोषले विश्वका अति निर्धन एवं जोखिममा रहेका नेपाल सहित विश्वका २५ वटा मुलुकको करिब ५० करोड अमेरिकी डलर बराबरको ऋण भुक्तानीको समयावधि छ महिना बढाएको छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरसका कारण उत्पन्न स्वास्थ्य एवं आर्थिक व्यवस्थापनका लागि संघर्षरत मुलुकहरुका लागि उक्त कदम चाल्नु परेको कोषले जनाएको छ । कोषकी कार्यकारी निर्देशक क्रिस्टिलिना जर्जिभाले जारी गरेका विज्ञप्तिमा यस्तो सुविधा प्राप्त गर्ने मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, हैटी, सोलोमन आइल्यान्ड, ताजिकिस्तान र यमन तथा अफ्रिकाका १९ वटा मुलुक रहेको उल्लेख छ । उनले भनेका छन् , “कोषको यस नयाँ व्यवस्थाबाट कमजोर आर्थिक स्थिति रहेका मुलुकहरुले आफूसँग रहेको रकम अत्यावश्यकीय मेकिडल तथा अन्य राहत कार्यहरुमा खर्च गर्न मद्दत पुग्नेछ ।” मुद्राकोषको ऋण सहायता प्राप्त गर्ने १९ वटा अफ्रिकी मुलुकहरुमा बेनिन, बुर्किना फासो, मध्य अफ्रिकी गणतन्त्र, चाड, कोमोरोस, कंगो, गाम्बिया, गिनी, गिनी बिसाउ, लाइबेरिया, म्याडागास्कार, मलावी, माली, मोजाम्बिक, नाइजर, रुवान्डा, साओ टोमे, सियरा लियोन र टोगो रहेका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस समेतका १६५ जना अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको समूहले अत्यन्त जोखिममा रहेका राष्ट्रहरुले भुक्तानी गर्नुपर्ने ऋणको म्याद थप गर्न हालैमात्र आग्रह गरेका थिए। जुबिली युएसए नेटवर्कका कार्यकारी निर्देशक एरिक लीकोम्प्टेले अन्तर्राष्ट्रिय मुद्राकोषको कदमको स्वागत गर्दै गरिबीको चपेटामा रहेका मुलुकहरुका लागि अझै धेरै सहायता आवश्यक रहेकामा जोड दिए । “संकटको यस घडीमा सबै कर्जा माफ गर्नु आवश्यक छ ।” (रासस-एपी)
उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति ल्याउदै सरकार, उद्योगी भन्छन्ः सरकारले सहयोग गरे तयार छौं
काठमाडौं । सरकारले देशमा नै उत्पादनमूलक उद्योग वृद्धि गर्ने नीति ल्याउने भएको छ । उद्योग विभागको माध्यमबाट उद्योगहरुको डाटा संकलन गरेर उत्पादनमूलक उद्योग र कृषिजन्य उद्योगलाई आकर्षित गर्ने नीति सरकारले बताउने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उत्पादनमूलक उद्योगको स्थापनाविना देशको आर्थिक अवस्था सुधार नहुने भएकाेले उत्पादनमूलक उद्योग स्थापना लागि काम गरिरहेको जानकारी दिए । उद्योग विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले उद्योग मन्त्रालयले उत्पादनमूलक उद्योगहरुको तथ्याङ संकलन गरिरहेको बताए । सरकारले उद्योगीहरुलाई उत्पादनमूलक र कृषजन्य उद्योगमा आकर्षण बनाउने योजनामा छ । ‘सरकारले उद्योग दर्तामा सहुलियत दिने तयारीमा गरेको छ, यसका लागि उद्योग विभागदेखि मन्त्रालय हुदै उच्चस्तरीय समितिसम्म छलफल भइरहेको छ,’ सिटौलाले भने । उद्योगी पवनकुमार गोल्यान कृषिजन्य र उत्पादनमूलक उद्योगविना देशमा विकास नहुने भएकाेले सरकारले यसकाे विकासका लागि विशेष कार्यक्रम ल्याउन पर्ने बताउँछन् । आफूहरूकाे समूह पनि उत्पादनमूलक उद्योग र कृषिजन्य उद्योगमा लगानी गरिरहेको भन्दै उनले देशको विकास गर्न देश नै आत्मनिभर हुनुपर्ने बताए । ‘गार्मेन्ट उद्योग खोल्ने योजना छ, हाम्रो समूहले देशैभर कृषिजन्य उद्योगहरु स्थापना गर्ने लक्ष्यका साथ काम भइरहेको छ, सरकारले पनि उत्पादनमूलक र कृषिजन्य उद्योगलाई प्राथामिकतामा राख्नु पनुपर्छ,’ गोल्यान भने । उनले भने देशलाई कसरी आत्मनिभर गराउने भनेर सोच्ने बेला आएको बताए । उत्पादन र कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट जोगिन धेरै देशले लकडाउन गरेर सर्वसाधारणलाई हिडडुल गर्न रोक लगाइरहेका छन् । लकडाउनको कारण उद्योग, कलकारखना र व्यापार ठप्प जस्तै छ । नेपालमा दैनिक उपभोग्य बस्तु छिमेकी देश भारत र चीनलगायका तेस्रो मुलुकबाट समेत आयात हुने गरेको छ । सरकारले यहि समयमा कसरी उत्पादमूलक उद्योग स्थापना गर्ने र देशलाई आत्मनिभर बनाउने भनेर गृहकार्य थालेकाे छ ।
११ दिनसम्म हिडेर बुटवल पुगेका मजदूरलाई उपमहानगरले गर्याे खाना र यातायात व्यवस्था
बुटवल। कोभिड–१९ को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तवयमा पुुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदूरको उद्धार गरिएको छ । कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाका १ सय २० जना मजदूर ११ दिन लगाएर पैदलै हिंडी सोमबार राति बुटवलसम्म आएका छन् । उनीहरुले नियमित मजदूरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिँंड्दा यहाँ आइपुगेका थिए । सोमबार राति करीब ९ बजे बुटवल आइपुगेका मजदूरलाई बुटवल उपमहानगरपालिकाले निःशुल्क खानाको व्यवस्था गरेको थियो । उनीहरुको राति नै स्वास्थ्य जाँच गरेर बसमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलाइएको थियो । सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै उनीहरु बुटवलसम्म आइपुगेको राति सूचना पाएपछि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले तत्कालै उनीहरु पुगेका स्थान वडा नं १ वडाध्यक्ष महेन्द्र लिगलसँग सम्पर्क गरेर खानाको व्यवस्थापन गर्न निर्देशन दिए । बुटवल–१ स्थित लायन्स आँखा अस्पताल परिसरमा उनीहरुलाई खाना खुवाउने प्रबन्ध मिलाइएको थियो । त्यहीँ नै उनीहरुको स्वास्थ्य जाँच गरेर तीन बसमा चढाएर पठाइएको थियो । पैदल आएका मजदूर दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका हुन् । उनीहरु सोलुखुम्बु, काठमाडौं, काभ्रेपलाञ्चोक र नारायणघाटमा विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएको बताएका छन् । उनीहरु पैदल यात्राका क्रममा बुटवलमा भेटिएका थिए । पैदलयात्री सबैलाई खाना खुवाएर, स्वास्थ्य जाँच गरेपछि घरसम्म पु¥याउन यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताए । लामो समयदेखि पैदल हिँडेको, कैयौंँ दिनसम्म खाना समेत खान नपाएको र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि खाना तथा यातायातको व्यवस्था मिलाइएको वडाध्यक्ष लिगलले बताए । बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले दिए । बर्दिया घर भएका उनका साथीहरुसंँगै सोलुखुम्बुबाट हिंँडेर आएका थिए । काठमाडौंबाट हिँडेर आउनुभएका कञ्चनपुरका छोटेलाल चौधरी र रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि बुटवलमा भएको व्यवस्थाले अहिलेसम्मको पीडा भुलेको बताए । मजदूरलाई बुटवलमा खाना खुवाएर गन्तव्यसम्मै पुर्याउने ब्यवस्था गरेर नगरपालिकाले राम्रो काम गरेको बटौली संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले बताए । रासस
विदेशमा रहेका ७७ प्रतिशत गैरआवासीय नेपाली स्वदेश फर्किने चाहनामा
लण्डन । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गत आइतवारदेखि सुरु गरेको २४ सै घन्टा हेल्पलाइनमा फोन गर्नेमध्यका ७७ प्रतिशतले मातृभूमि नेपाल फर्किन चाहेको र त्यसको लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका संघले जानकारी दिएको छ । गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघमा प्राप्त फोनकलका आधारमा सबैभन्दा धेरै समस्या मध्यपूर्वका गैरआवासीय नेपालीमा रहेको देखिएको छ । त्यहाँ रहेका अधिकांश नेपालीले नेपाल फर्किन चाहना राखेका छन् । हटलाइनमा प्राप्त सूचना अनुसार ७७ प्रतिशत गैरआवासीय नेपालीले स्वदेश फर्किन चाहेका छन् भने ११ प्रतिशतले नेपालबाट विदेश जानको लागि आवश्यक प्रकृया पूरा गरिदिन आग्रह गरेका छन् । अन्य समस्या हुनेमा १२ प्रतिशत गैरआवासीय नेपाली छन् । मध्यपूर्वमा धेरै नेपालीको जागिर छुटेको वा कम्पनीबाट राजीनामा दिएर नेपाल जानको लागि तयारी अवस्थामा रहेको देखिएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव शर्माका अनुसार गैरआवासीय नेपालीका बारेमा नेपालमा रहेका अभिवाभकहरु धेरै चिन्तित देखिएका छन् । तीमध्ये धेरैले विदेशमा रहेको आफ्नो छोराछोरीलाई तत्काल नेपाल फर्काउन चाहेको र त्यसको लागि सहजीकरण गरिदिन संघ समक्ष आग्रह गरेका छन् । सोमवार साँझसम्म संघलाई प्राप्त टेलिफोनमध्ये भारतको मुम्बई, हैदरावाद, नैनिताल, हरियाना, नयाँ दिल्लीमा नेपालीको ठूलो समूह खान बस्नसमेत नपाएर अलपत्र परेका छन् । युएई, भारत, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, मोजाम्कि, फिनल्यान्ड, अमेरिका, युकेलगायतका देशमा बसोवास गर्ने गैरआवासीय नेपालीले संघ समक्ष आ–आफ्ना समस्या टिपाएको महासचिव डा. शर्माले जानकारी दिए । विदेशबाट छुट्टीमा नेपाल गएका धेरैको भिषा सकिएपछि तत्काल विदेश जाने व्यवस्था गरिदिनसमेत उनीहरुले गैरआवासीय नेपाली संघ समक्ष आग्रह गरेका छन् । गैरआवासीय नेपालीबाट प्राप्त भएका सुझाव र समस्यालाई तत्कालै समाधान गर्न एनआरएनएका राष्ट्रिय समिति र विदेशस्थित नेपाली कुटनीतिक नियोगसँग समन्वयन गरी काम अघि बढाइएको संघका अध्यक्ष कुमार पन्तले जनाए । यसअघि संघले अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक कोभिड–१९ उच्चस्तरीय समिति गठन गरेको थियो । समितिले कोरोना भाइरसबाट प्रभावित नेपालीको तथ्यांक संकलन गर्ने, स्वास्थ्य सम्वन्धी सामग्री नेपाल पठाउने, गैरआवासीय नेपालीले राहत संकलन तथा वितरण गर्ने काम गर्दै आएको छ । वैदेशिक रोजगारी तथा विदेशमै बसोबास गर्ने नेपालीको संख्या ६० लाखको हाराहारीमा भएको अनुमान गरिएको छ ।
स्थिति र जनताको दैनिक आवश्यकता पुर्तिकाे व्यवस्थापन गर्न संघीय सरकारको ध्यानाकर्षण
काठमाडाैं । संघीय सरकारले स्थितिको र जनताको दैनिक आवश्यकता पुर्तिकाे अवस्था बारे अध्ययनन गरी प्रहरीले सीमा व्यवस्थापनका लागि उपयुक्त नीति व्यवहारमा लागू गर्न ध्यानाकर्षण गराएकाे छ । निश्चित रुपमा लकडाउनमा सीमामा आवत जावत रोकिनु पर्दछ तर तराई मधेशमा दैनिक आवश्यकता पूर्तिका लागि खुल्ला सीमानाको प्रयोग गर्ने बानी र सीमाको दुबै तर्फ सम्बन्धीहरु भएको अवस्थामा सीमा व्यवस्थापन गर्दा प्रहरीले स्थितिको जायजा लिईकन स्वयं सहयोगी सेतुको रुपमा पनि कार्य गर्न सक्दछ । हिजो सप्तरीमा प्रहरीको अत्यधिक बल प्रयोगले गर्दा ६५ वर्षीय जैनाब खातुनको अस्वाभाविक मृत्यु भएको छ। उनी आफनै घर अगाडी प्रहरीले उनको छोरा माथि बल प्रयोग गर्दा आफनो छोराको रक्षाका लागि प्रहरी अगाडी आएकी थिईन । प्रहरीको लाठी प्रहारबाट उनी बेहोश भई लडेपछि पनि उनी माथि लाठी प्रहार जारी रह्यो र उनको दुखद मृत्यु भयो । सप्तरीमा जनता विरुद्ध प्रहरीको अत्यधिक बल प्रयोगको यो दोश्राे केस हो । यस घटनाको निष्पक्ष छानबीन हुनु पर्दछ र अत्यधिक बल प्रयोग गर्ने प्रहरीलाई कानूनको दायरामा ल्याई आवश्यक कारवाही हुनु पर्दछ । साथै, मृतक वृद्ध महिलालाई साहसी जीवन रक्षक शहीद घोषणा गरी उनको परिवार लाई क्षतिपूत्र्ति दिने व्यवस्था हुनु पर्दछ । सिरहाको सोहर्वामा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच भिडन्त भइ एक जना सशस्त्र प्रहरी घाइते भएको र कईयन राउन्ड हवाई फायर पनि भएको समाचार संचार माध्यममा आएको छ । घटनाको कारण एक जना भारतीय नागरिकले दुधका केही बट्टा लिई नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले रोके पछि द्वन्द उत्पन्न भई पछि भिडन्त हुने अवस्था आई पुगेको समाचारहरुबाट बुझिन्छ। याे दुखद घटना हो ।