विकासन्युज

लकडाउनमा पशुपति : साधुसन्तलाई खाना अभाव, साँढे मन्दिर बाहिरै

काठमाडौं । पशुपतिनाथ मन्दिर तलको वाग्मती नदी छेउमा एक साधु ‘तिर्खा लाग्यो, कोही पानी त देऊ’ भन्दै कराउँदै थिए । वाग्मती किनारमा थौरै मानिस पनि बसिरहेका देखिन्थे । उनीहरु पट्यार र दिक्क मानेर बसेझैँ लाग्यो । आपसमा भलाकुसारी भने गरिरहेका थिए । अलिक नजिक जाँदा नदी किनारमा शव ठड्याएर राखेको देखियो । दुई तीन जनाले शवमाथि वाग्मतीको पानी छर्कदै थिए । धेरै अनुमान गर्नै परेन, उनीहरु दाहसंस्कारको तयारीमा थिए । तिनै मलामीतर्फ हेरेर साधु पानीका लागि गुहार्दै थिए तर मलामीलाई आफन्त गुमाएको पीडा । यस्तोमा ती साधुतर्फ उनीहरुको ध्यानै कसरी जाओस् । मङ्गलबार दिउँसो पशुपतिनाथ मन्दिर क्षेत्रमा पुग्दा एक प्रकारको सन्नाटा थियो । दर्शनार्थी कोही पनि थिएनन् । थिए त मलामी र तीन चार साधु । नदी किनारमा एउटा मात्र शव राखिएको थियो । किनारमा लहरै दाहसंस्कारका लागि बनाइएको स्थलमा दाउरा राखिएको थियो । अरु बेला दाउराका लागि कुर्नुपथ्र्यो । अहिले यहाँ लकडाउनमा दाहसंस्कार गर्न पहिलाको जस्तो शव ल्याइएको छैन । सरकारले दाहसंस्कारका लागि कुनै रोक त गरेको छैन । बरु दाहसंस्कारका लागि चाहिने स्रोतसाधनको पर्याप्त व्यवस्था गरेको छ । “किन हो कुन्नि लडकडाउन शुरु भएयता दाहसंस्कार गर्न पहिलाको जस्तै शव ल्याएको पाइन्नँ”, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशन डा घनश्याम खतिवडाले भने, “हामीले दाहसंस्कारको सबै चाँजोपाँजो मिलाइदिएका छौँ, कुनै कुराको कमी हुन दिन्नौं ।” वाग्मतीपारि जान खोज्दा साँढेले बाटो छेक्यो । अजङ्गको साँढे पुलमा उभिएको थियो । त्यसको अवस्था देख्दा निकै भोकाएको जस्तो देखिन्थ्यो । हत्तपत्त साँढेले बाटो छोडेन । नदीपारि पनि साँढे यत्रतत्र थिए । श्लेषमान्तक वनतर्फको बाटोमा गोबरैगोबर थियो । लकडाउनयता उक्त क्षेत्रमा सरसफाइ गरिएको छैन । उकालो चढ्दा बाटोमा अर्का साधु भेटिए । उनले नेपालीमा कुरा गर्न सकेनन् । भारतबाट आएका साधुले हिन्दीमै जवाफ फर्काए । लकडाउनपछि बाहिरबाट आएका साधुले पशुपतिनाथ मन्दिर क्षेत्र छाडेको उनको भनाइ थियो । “म पनि यहाँ धेरै बस्दिनँ, खानपिनको समस्या छ”, उनले भने । मृगस्थली पुग्दा पनि बाटोमा साँढे नै थिए । साधु बस्ने कुटियाभित्र तीन साँढे भेटिए । “लकडाउन शुरु भएपछि साँढे हामीसँगै कुटियामा बस्ने खाने गरेका छन्”, दिउँसोको भजनकीर्तनको तयारीमा रहेका योगी व्याघ्र वेदनाथले गुनासो गरे, “भगवान् शिवको बाहन साँढे (नन्दी)लाई नै पशुपतिनाथ मन्दिर पस्न मनाही गरिएको छ ।” साँढेलाई पशुपति मन्दिर परिसरमा पस्न नदिएकामा वेदनाथ मात्र होइनन् त्यहाँ रहेका अरु साधु पनि खुशी थिएनन् । उनीहरुले साँढे सधैँ भगवान् शिवको साथमा रहने धार्मिक कथन सुनाए । “साँढेलाई भोकभोकै र यसरी अलपत्र पार्न हुँदैन”, योगी वेदनाथले भने, “यो त सुहाउने काम भएन, मान्छेलाई पो रोक्ने हो, यी पशु कहाँ जान्छन् रु” उनले पशुपति क्षेत्रभित्रका साँढेलाई आहारको कमी भएको बताए । तिनीहरु भोकले पनि साधु भएको ठाउँमा आउने गरेको उनको भनाइ थियो । पशुपति क्षेत्रमा बस्दै आएका साधुसन्तलाई खाद्यान्न अभाव भएको उनीहरुले बताए । उनीहरुले कोषले आफूहरुको समस्याबारे चासो नदिएको गुनासो गरे । “कोषले लकडाउनपछि एक बोरा चामल उपलब्ध गराएको छ”, योगी वेदनाथले भने, “यतिका साधुसन्तलाई यसले पुग्छ ।” त्यही एक बोरा चामल पनि उनीहरुले प्रयोग गरेका छैनन् । “हामी भिखारी होइनौँ, यो चामल प्रयोग गर्दैनौँ, फिर्ता गछौँ, नभए परेवाले खान्छ”, उनले भने । यहाँ बस्दै आएका साधुसन्तले पहिला दर्शनार्थीले ल्याइदिएको खाद्यान्न तथा अन्य सामग्रीले खानपिनको जोहो गर्दै आएका थिए । अहिले कोही पनि नआउँदा उनीहरुलाई समस्या भएको छ । पहिलादेखिकै बचेको सामग्रीका भरमा उनीहरु बस्दै आएका छन् । यहाँका साधुसन्तले उल्टै भोकाएर आउनेलाई समेत खानाको प्रबन्ध मिलाउने गरेका छन् । “दिनहुँ ५० जनाभन्दा बढी भोकै छौँ भन्दै खाना खान आउँछन्”, योगी वेदनाथले भने, “भोकै आउनेलाई खुवाएर पठाउनै पर्यो ।” मृगबाटिकाभित्र ठूलो सङ्ख्यामा मृग राखिएका छन् । मृगबाटिकाभित्रै बोकासमेत राखिएको छ । मृग र बोकालाई समेत आहारको अभाव भएको साधुहरुले बताए । “हाम्रो त यो अवस्था छ, यिनलाई कसले हेर्ने ?” उनीहरु गुनासो गर्दै थिए । मृग र बोकाका लागि हरियो घाँसको व्यवस्था गर्नुपर्ने उनीहरुको माग थियो । “मृगको खान्की नै हरियो घाँस हो, पिठो खुवाएर हुन्छ”, उनीहरुले आक्रोश व्यक्त गरे । कोषका कर्मचारीहरु नियमितरुपमा रेखदेख तथा अनुगमनका लागि नआउने गरेको उनीहरुको दुखेसो थियो । बाटोभरि यत्रतत्र फोहरैफोहर देखिन्थ्यो । कुहेको केरा र चना मात्रै थियो । राम मन्दिरबाट फर्कँदै गर्दा बाटोमा भोक मेटाउन मैतीदेवीबाट हिँडेर पशुपति क्षेत्र पुगेका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–९ का कैलाश खड्का भेटिए । “डेरामा खानपिनको समस्या छ, खाना खान यतै आउँछौँ”, उनले भने। हिँडैरै घर जान पनि असहज भएको उनले बताए । गाउँलेको डरले घर नगएको खड्काको भनाइ छ । “बाहिरबाट रोग ल्याएर आयो भन्लान भन्ने डरले गएको छैन”, उनले भने, “बरु जसोतसो गरी लकडाउन यतै काट्छु ।” खड्कासँगै काठमाडौंमा मजदुरी गरी जीविकोपार्जन गर्दै अन्य दुई जना पनि खाना खान साधुसन्तकहाँ जाँदै थिए । कोषका कार्यकारी निर्देशक डा खतिवडाले साँढेलाई पशुपतिनाथ मन्दिरभित्र प्रवेशमा रोक लगाएको स्वीकारे । “लकडाउनपछि साँढेलाई मन्दिर परिसरमा जान दिएका छैनौँ”, उनले भने, “भित्र जताततै गोबर नै गोबर हुन्छ, फोहर सफा गर्न सकिन्नँ, यस्तो माहामारीमा कर्मचारीलाई घरबाट बोलाउन पनि भएन ।” लकडाउनअघि साँढेलाई मन्दिरभित्र पस्नबाट नरोकेको खतिवडाले बताए । साँढेले दुबो र बगैँचा नास गर्ने भएकाले पशुपतिका चारैतर्फका ढोका थुनेको उनले बताए । सरसफाइलाई ध्यानमा राख्दै साँढेलाई बाहिरै राखिएको खतिवडाको भनाइ छ । निर्देशक खतिवडाले पशुपति क्षेत्रमा रहेका साधुसन्त, बाँदर, मृग, साँढे, बोकालगायतलाई खानपिनको प्रबन्ध मिलाइएको बताए । “मृगबाटिकामा रहेका १५७ मृगका लागि पर्याप्त खानेकुराको व्यवस्था गरेका छौँ”, उनले भने, “पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले छाडेर गएका बोकालाई पनि मृग बाटिकामै राखेका छौँ, उनीहरुलाई खानेकुराको कमी छैन ।” बाँदरका लागि पवन सङ्घाइले एक दशकदेखि खानेकुराको व्यवस्था गर्दै आएको उनले जानकारी दिए । “उहाँले नियमित बाँदरको रेखदेख गर्दै आउनुभएको छ”, खतिवडाले भने । पशुपति क्षेत्रमा झण्डै ४० हजारको सङ्ख्यामा परेवा रहेको उनले जानकारी दिए । “दैनिक ३० पाथी जति चामल र मकै परेवालाई खुवाउने गरेका छौँ”, खतिवडाले भने । लकडाउनपछि पशुपति क्षेत्रको सरसफाइमा १० कर्मचारी खटाइएको छ । “पाँच–पाँच जनाको समूहले काम गर्ने गरेका छन्, लकडाउनका कारण कर्मचारी कटौती गरी काम चलाएका छौँ”, डा खतिवडाले भने । उनले दैनिक ३ सयदेखि ५ सय जनालाई खाना खाने प्रबन्धसमेत मिलाइएको बताए । रासस

लालबन्दीमा खाद्य बैंक स्थापना

काठमाडौं । लकडाउनपछिको सम्भावित खाद्य संकटलाई ध्यानमा राखेर लालबन्दी नगरपालिका –५ ले ‘खाद्य बैंक’ स्थापना गरेको छ । न्यून आय भएका परिवार र सबै प्रकारका मजदूरलाई खाद्यान्न वितरणका लागि बैंक स्थापना गरिएको वडाध्यक्ष मोहनहरि भण्डारीले बताए । वडास्तरीय समिति गठन गरी वडा कार्यालयमा स्थापित बैंकमा दाताले चामल, दाल, नुन र तेल जम्मा गर्न सक्ने र त्यसको अभिलेख राखिने छ । भण्डारीले भने, ‘कैयौंँ व्यक्तिसँग नगद नहुने तर खाद्य वस्तु हुने भएकाले उनीहरुको सहयोगलाई एकीकृत गर्न खाद्य बैंक उपयुक्त हुनेछ ।’ बैंकमा संकलित खाद्य पदार्थ सरकारी राहत वितरणपछि वडाबासीको स्थलगत अनुगमन गरेर छुटेका अतिगरीब र विपन्नलाई वितरण गरिने जनाइएको छ । कोरोना भाइरसको जोखिम जस्तै अन्य विपद् र संकटका बेला पनि बैंकलाई निरन्तरता दिइने उनले बताए । खाद्य बैंकमा हालसम्म २० क्विन्टल खाद्यान्न संकलन भइसकेको छ । रासस

कोरोनाको कारण नेपालको २ खर्ब नोक्सान हुन सक्ने, एसएमईलाई विशेष छुट दिने तयारी

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपालको अर्थतन्त्रमा करिब २ खर्बको नोक्सान हुन सक्ने बताएका छन् । बुधबार बीबीसी नेपाली सेवाको विशेष कुराकानीमा बोल्दै उनले विश्वभर फैलिरहेको कोरोना भाइरसले सरकारले नेपालकाे अर्थतन्त्रमा २ खर्ब रूपैयाँ नोक्सान हुन सक्ने प्रक्षेपण गरेको बताएका हुन् । तर, यो भाइरसका कारण लकडाउन कति सम्म गर्नु पर्ने हो त्यसले नै नोक्सान सिर्जना गर्ने बताए । कोरोनाकै कारण विश्वको अर्थतन्त्र खुम्चिदै गएको बताउँदै उनले नेपालमा पनि रोजगारीको  अवसर र ज्याला पनि खुम्चदै जाने बताएका छन् । ‘हामीले चैतमा देशको आर्थिक वृद्धिदर २ देखि ४ सम्म घट्ने अनुमान गरेका थियौं, अझै यो भाइरस बढ्दै गइरहेको छ, यति नै नोक्सान हुुन्छ भन्न सकिने अवस्था अब छैन,’ उनले भने । साथै, उनले कोरोनाको कारण राजश्वको आधार कमजोर हुने र खर्चको आवश्यकता बढ्ने भएकोले अर्को वर्षको लागि थप चुनौतिपूर्ण हुने बताएका छन् । ‘यो वर्ष कृषि, शिक्षालगायत सामाजिकमा क्षेत्रमा सामान्य वृद्धि हुन्छ,विभिन्न समस्याहरु बढ्दै जाँदा आर्थिक गतिविधी पनि घट्दै जान्छन्, यसले देशको अर्थतन्त्रलाई नराम्रो गरी असर पार्छ, उनले भने । कोरोना भाइरसले देशको पर्यटन, निर्माणको क्षेत्र थोक तथा खुद्रा व्यापार सबैभन्दा बढी प्रभावित हुुन सक्ने उनको भनाइ छ । देशमा सिमीत पूर्वाधार भएकोले पनि दातृ संघ संस्थाहरुलाई सहयोगको अपील गरेको उनले बताए । बजेट सपोर्टका लागि उनीहरुले व्याज र सावाँको समावधि थप गर्ने, केही सहज सर्त तथा विधिहरु राखेर ऋण उपलब्ध गराउनका लागि उनीहरू सहमत भएको उनको भनाइ छ । यस्तै, साना तथा मझौला व्यवसायीहरुको सहजका लागि केही छुट दिने कि भन्ने तयारी भइरहेको उनले बताए । विशेष गरेर  उनीहरुका लागि  विद्युत महसुल मिनाह गर्न सकिने जसले गर्दा उनीहरूलाई धेरै सहज हुने उनले बताए । अब देशमा वेरोजगारीको संख्या बढ्ने भएकोले सरकारले अबको बजेटमा कृषिजन्य क्षेत्रलाई बढी प्राथमिकता दिई विभिन्न योजनाहरु ल्याउने, शिक्षा र स्वास्थ्यका क्षेत्रलाई पनि विशेष प्राथमिकतामा राखि भौतिक पूर्वाधारहरुलाई जोखिमरहित र सहज बनाउने योजना ल्याउने उनको धारणा छ ।

खानेपानी, स्वास्थ्य र सरसफाई क्षेत्रको नेतृत्व लिने व्यक्तिको अभाव खट्कियो- विज्ञ

काठमाडौं। नेपालको खानेपानी,सरसफाई, स्वास्थ्य र स्वच्छताको क्षेत्रमा कार्यरत विज्ञहरुले यस क्षेत्रको नेतृत्व लिने व्यक्तित्वको अभाव खट्केको बताएका छन् । स्मार्ट वास सोलुसन्स प्रा.लि.को आयोजनामा बुधबार राजधानीमा भएको यस क्षेत्रका विज्ञहरुको भिडियो कम्फरेन्सका वक्ता तथा सहभागीहरुले मानिसको बाँच्ने अधिकारसंग जोडिएको र संविधानले मौलिक हकमा समावेश गरेको स्वच्छ र शुद्ध खानेपानीको पर्याप्त मात्रामा पुर्याउने काममा समर्पित नेता नेपालले पाउन नसकेको गुनासो गरेका थिए । सो छलफलमा स्रोतव्यक्तिको रुपमा उपस्थित भएका एशियाली विकास बैंकका पूर्व उपाध्यक्ष तथा एशिया वाटर काउन्सीलका सल्लाहकार डा. बिन्दुनाथ लोहनीले भने, ‘खानेपानीको नेतृत्व त्यतिबेला सफल मानिन्छ, जब सबैले आफूलाई चाहिएजति गुणस्तरीय पानी पाउने वातावरण सुनिश्चित हुन्छ । हामीले नेपालमा यस्तो अवस्था पाइरहेका छैनौ ।’ उनले अमेरिकाका पूर्वराष्ट्रपति जोन अफ केनेडीको एक कथन उदृत गर्दै भने, ‘उहाँले पानीको समस्या समाधान गर्नेलाई दुईवटा नोबल पुरस्कार दिनुपर्ने धारणा व्यक्त गर्नु भएकाे छ। पानीका कारण संसारमा धेरै द्धन्द्धभएकोले यो सममस्या समाधान हुँदा विश्वमा शान्ति आउछ र यसको समाधान गर्ने नेतृत्व शान्तिको हकदार हुन्छ । पानीसंग विज्ञान र प्रविधिको विकास र आविश्कारको सम्बन्ध छ, उ विज्ञानको पनि हकदार हुन्छ ।’ वास सेक्टर एण्ड कोभिड १९ को नाम दिइएको सो भिडियो कन्फरेन्समा बोल्दै डा.लोहनीले कोरोना भाइरस संक्रमणको यो नयाँ संकटले नेपालमा पनि सरकारलाई राहत र पुनरुत्थान कार्यक्रम ल्याउन प्रेरित गर्ने र यस्तो कार्यक्रमले हात धुने बानी, खानेबानी, स्वास्थ्य तथा सरसफाईका हरेक क्षेत्रमा मार्ग निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याउन सघाउने बताए। उनले घरायसी फोहर व्यवस्थापन, नगरीय फोहर व्यवस्थापन,अस्पताल र औद्योगिक क्षेत्रको फोहरमैला व्यवस्थापनमा नीति तथा प्रक्रियागत सुधार ल्याउन पनि यो संकटले अवसर सिर्जना गरेको बताए । उनले यो संकटले नेपाललाई आफ्नै क्लारिनेश प्लान्ट स्थापना गर्न शिक्षा दिएको बताउँदै भने, ‘क्लोरिनको उपलब्धता बिना स्वच्छ र शुद्धपानीको वितरण कतिको सभव छ ? कार्यक्रममा प्रविधिका प्रबर्धनमा संलग्न मंगेशलाल श्रेष्ठले कोरोना भाइरसको संक्रमणले निम्त्याएको संकटले प्रविधिको विकास,विस्ता र उपयोगमा अवसर सिर्जना भएको बताए । नेपालमा पनि लकडाउन पछि अनलाईनबाट काम गर्ने र घरबाटै काम गर्ने संस्कार बढेको बताउदै उनले भने, जोखिम भएका र अत्यावश्यक क्षेत्रमा ड्रोन र रोबोटहरुबाट काम लिने प्रवृत्ति बढ्दो छ । स्वास्थ्य परीक्षण र रिपोर्टिड.मा डिजिटल प्रविधिको उपयोग भएको छ । खाद्यान्न र अत्यावश्यक सेवाहरु आपूर्तिमा नयाँ उपायहरुको खोजी भएको छ । यो संकटले विज्ञान र प्रविधिको विकास,विस्तार र उपयोगलाई व्यापक बनाएको छ । कार्यक्रममा खानेपानी क्षेत्रका विज्ञ डा.दिनेश मानन्धरले कोभिडले कोरोनाभाइरसबाट बच्न एकापसको सम्पर्क कम गर्ने र दूरी कायम गर्नपर्ने कुराले खानेपानी र सरसफाईको क्षेत्रमा सूचना, सञ्चार र प्रविधिको व्यापक प्रयोग बढाउनु पर्ने अवसर सिर्जना गरेको बताए । उनले खानेपानीको उत्पादन, प्रशोधन, वितरण र महसुल भुक्तानीमा स्मार्ट प्रविधि अपनाउन आवश्यक भएको पनि उल्लेख गरे। यो संकटले खानेपानी, उपयोग भैसकेको पानी, ढल र उद्योगबाट निसृत पानीको समुचित प्रशोधन, शहरी फोहरमैला र अस्पतालका फोहरमैलाको सुव्यवस्थापन जस्ता क्षेत्रमा नीति निर्माता र सबै तहका सरकारहरुको ध्यानाकर्षण गरेको पनि बताए । कार्यक्रममा सहभागी पूर्व सचिव ई. किशोर थापाले यो संकटले खानेपानीको उपलब्धता,आपूर्ति र गुणस्तरबारे सोच्न सबै तहका सरकारहरुलाई बाध्य बनाएको बताए । हात धुने सन्देश दिंदा पानी उपलब्ध गराउन सबै तहमा दवाव बढेको उल्लेख गर्दै उनले भने, ‘सरकारी निकायले वितरणगर्ने पानीमा न्यूनतम् गुणस्तर कायम होला तर निजी क्षेत्रले उत्पादन र वितरण गरिरहेको पानीको गुणस्तर कसले हेरेको छ ? इनार र ट्यूबवेलको पानीको गुणस्तर के छ ? उहाँले धेरै जनाले प्रयोग गर्ने चर्पी(ट्वाइलेट)का बारेमा पनि मार्गनिर्देशिका अत्यावश्यक भैसकेको उल्लेख गर्नुभयो ।’ पूर्व सचिव रहेका ई.थापाले कम पानीबाट हातधुने प्रविधि विकास गर्न र पानीबाट सर्ने रोगहरुबाट आम नागरिकलाई जोगाउन यस क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता र अभ्यासकर्ताहरुले ध्यान दिनुपर्ने बताए । कार्यक्रमका अर्का सहभागी राष्ट्रिय नीति प्रतिष्ठानका अध्यक्ष डा. विष्णुराज उप्रेतीले संविधानले मौलिक हक अन्तरगत राखेका स्वास्थ्य र शिक्षाका बारेमा विशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा प्रदेश सांसद शिवचन्द्र चौधरी र रमेश पौडेल, सञ्चारकर्मी प्रकाश अधिकारी र दीपक आचार्य, प्रकाश अमात्य लक्ष्मी देवकोटा,उद्धवराज खतिवडा,फूर्वामोक्तान लगायत सहभागी थिए । स्मार्ट वासका अध्यक्ष ई. रामदीप साहको अग्रसरतामा भएको सो भिडियो कन्फरेन्सको सहजीकरण पूर्वमन्त्री ई.गणेश साहले गरेका थिए ।

कियाले थप्यो वारेन्टी सुविधा लिने अवधि, यस्तो छ नयाँ योजना

काठमाडौं । कोरियाली अटो निर्माता कियाले कोभिड-१९ का कारण वारेन्टी सुविधाअन्तर्गत गाडी मर्मत गराउन नपाएका ग्राहकलाई लक्ष्य गरी किया प्रोमिस नामको योजना ल्याएको छ । यस योजना अन्तर्गत कम्पनीले सन् २०२० को फेब्रुअरीदेखि अप्रिलसम्मा वारेन्टी अवधि सकिएका ग्राहकलाई वारेन्टी अन्तर्गत नै गाडी मर्मत गर्ने सुविधा दिन लागेको नेपालका लागि कियाको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले जानकारी दिएको हो । कोभिड-१९ रोग निम्त्याउने नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु गरिएसँगै संसारका अधिकांश मुलुकका व्यावसायिक प्रतिष्ठानहरु बन्द छन् । लकडाउन र अत्यावश्यक बाहेकको आवगमनमा प्रतिबन्धका कारण कियाका सोरुम र सर्भिस सेन्टरहरु पनि बन्द छन् । सोरुमहरु खुला रहेको ठाउँमा पनि ग्राहकहरु सोरुमसम्म पुग्न नसक्दा वारेन्टी सुविधा अन्तर्गत गाडी मर्मत गराउनबाट वञ्चित छन् । तिनै ग्राहकलाई वारेन्टी सुविधा दिन कम्पनीले किया प्रोमिस कार्यक्रम सार्वजनिक गरेको हो । यसले ग्राहकलाई आगामी जुनसम्ममा वारेन्टी अन्तर्गत गाडी मर्मत गराउने सुविधा दिने कम्पनीले जनाएको छ । उल्लेखित अवधिमा किया सोरुम र सर्भिस सेन्टर पुग्न नपाएका अथवा सर्भिस सेन्टर बन्द भएका कारण सुविधा लिन नपाएका ग्राहकहरुमा मात्र यो अफर लागू हुने कम्पनीको भनाइ छ । ‘यस्ता ग्राहकले आगामी जुनभित्र किया डिलरमा गएर मर्मतका लागि आग्रह गरिसक्नुपर्नेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

जहाँ बन्दैछ, कोरोनाविरुद्ध लड्ने हतियार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा पछिल्ला दिनमा मानिसको आवतजावत बढीरहेको छ । दैनिक नै एक दर्जन बढी एम्बुलेन्स त्यहाँ पुग्छन् । केही समय बस्छन् र लगत्तै फर्कन्छन् । कहिले नेपाली सेनाका सवारी पुग्छन् त कहिले सशस्त्र प्रहरी बलका । कहिले नेपाल प्रहरीका सवारी हान्निँदै पुग्छन् । वीर अस्पताल, शिक्षण अस्पतालका एम्बुलेन्स पनि उत्तिकै पुग्छन् । एम्बुलेन्स किन गएका होलान् भनेर जिज्ञासा पनि आमरूपमा उत्पन्न हुनसक्छ । विश्व स्वास्थ्य सङ्गठन र सरकारले तय गरेको मापदण्डविपरित गएर भने विश्वविद्यालय परिसरमा कुनै भीडभाड गरिएको छैन । आखिर के छ त ? विश्वविद्यालय परिसरमा । जवाफ सहज छ, राष्ट्रिय आविष्कार केन्द्र । नेपालको ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउनेलगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती कमाएका महावीर पुनले विश्वविद्यालय परिसरमा नै केन्द्र स्थापना गएको छ । केन्द्रमा आजकल दैनिक २० जना दिनरात नभनी काम गरिरहेका छन् । केन्द्रका प्रमुख पुन पोखरामा थिए तर उनी पोखरामा रहेको भान कोही कसैलाई पनि छैन । केन्द्रमा भइरहेको काम कारवाहीको बारेमा उनले श्रव्यदृश्य माध्यमबाट निगरानी गरे, निर्देशनसमेत दिए । “तिमी केटाहरूले सङ्कटको समयमा पार लगाउन सक्छौं, कि सक्दैनौं, नेतृत्व क्षमता देखाउन सक्छौं, कि सक्दैनौं भनेर जिम्मा नै दिनुभएको छ पुन सरले”, आविष्कार केन्द्रमा संयोजन गरिरहेका भएका इन्जिनीयर शङ्कर ढकालले भने । कोरोनाको सङ्क्रमणबाट जोगाउने लक्ष्यका साथ राष्ट्रिय आविष्कार केन्द्रमा महत्वपूर्ण काम भइरहेको छ । विश्वव्यापी रूपमा नै कोरोनाको महामारी बढ्दै गएको बेला स्वास्थ्यकर्मीलाई अत्यावश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उत्पादन गरिरहेको छ केन्द्रले । पीपीई मिलाउने र पट्याउने काममा विगत १० दिनदेखि खटिइरहेका पर्वतका अमबहादुर रोकालाई पनि सङ्कटको समयमा दिनरात नभनी काम गर्दा पनि थकाइको महसुस भएको छैन । कोभिड–१९ लागेका मानिसका लागि खाना औषधि पुर्याउन रोबोट बन्दैछ । सो कार्यका लागि इन्जिनीयर सुरज कार्की, किरण रौनियार, रिकेश देव, राम चौधरीलगायत छ जनाको समूहले काम गरिरहेको छ । फ्याकिएका ट्रलीको सदुपयोग गरिएको छ । बाहिरबाट मालसामान ल्याउनुपर्ने बाध्यता पनि छैन । फ्याकिएका सामान नै प्रयोग गरेर रोबोट तयार हुँदैछ । सोमबार डेमो गरिसकिएको छ । “स्वचालित बनाउनका लागि आवश्यक प्रणाली जडान हुँदैछ, अब केही दिनमा तयार पार्छौं, यसले बिरामी जहाँ हुन्छ त्यहाँ खाना र औषधि लिएर जान्छ, मानिस गइरहनु पर्ने आवश्यकता हुँदैन”, ढकालले भने । रोबोट अबको तीन दिनमा तयार हुनेछ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा विभिन्न तीन तल्लामा कोरोनाका बिरामी उपचार गर्ने स्थान बन्दैछ । आईसीयू तयार हुँदैछ । वीरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल सबै क्षेत्रमा १५ देखि २० वटा रोबोट तत्कालै आवश्यक परेको छ । माग पनि उत्तिकै आइरहेको छ, केन्द्रलाई । कोरोनाको उपचार गराइरहेका बिरामी र चिकित्सकबीच कुनै पनि समयमा प्रत्यक्ष सम्पर्क नहोस्, खाना तथा औषधि पुर्याउनसमेत सहज होओस् भनेर नै रोबोट तयार पारिएको इन्जिनीयर कार्कीले बताए । सब्जी कोठी इन्जिनीयर गौरव दासको चटारो पनि उस्तै छ । दासलगायतको समूहले सब्जी कोठी बनाइरहेको छ । किसानले तरकारी १० देखि ४० दिनसम्म जस्ताको तस्तै राख्न सक्छन् कोठीमा । गाडीबाट घरघरमा पु¥याएर बिक्री गर्नसमेत सकिन्छ । त्यसमा डिस इन्फेक्सन च्याम्बर राखिएको छ । त्यसले जुनसुकै भाइसर पनि मारिदिनसक्छ । त्यसभित्र एक प्रकारको कृत्रिम ओजन तह बनाइएको छ । “योसँगै गौरवकै नेतृत्वमा पीपीई, ग्लोब्स, मास्क डिसइन्फेक्सन गर्ने यन्त्रको आविष्कार गरिरहेको छ । काम अन्तिम चरणमा रहेको छ । एक प्रकारको अल्ट्रा भाइलेट रे युक्त (यूभी) बनाइँदै छ । त्यो झण्डै ओभन जस्तै हुन्छ । केही दिनमा तयार हुँदैछ”, दासले भने । त्यसभित्र एक प्रकारको बक्सा हुन्छ । त्यहाँ राखेपछि एक पटक प्रयोग गरिएका सामान फेरि प्रयोग गर्न सकिने गरी भाइरसरहित बनाइन्छ । व्यक्तिगत स्वास्थ्य एवं सुरक्षात्मक सामग्रीको अभाव भइरहेको बेलामा निर्मलीकरण गरेर पनि प्रयोग गर्नसक्ने ओभन जस्तै यूभी बनाउन लागिएको दासले जानकारी दिए । जनकपुर निवासी २६ वर्षका गौरव मेकानिकल इन्जिनीयर तथा जुनियर वैज्ञानिक पनि छन् । दुई वटा शोधको त ‘प्याटेन्ट राइट’ नै छ । सब्जी कोठी र दर्जी उनको प्याटेन्ट राइट भएका अविष्कार हुन् । दास थापाथली इन्जिनीयरिङ अध्ययन संस्थानका विद्यार्थी छन् । स्यानिटाइजिङ टनेल स्यानिटाइजिङ टनेल पनि गौरव कै नेतृत्वमा बनिरहेको छ । के छ त यसको विशेषता रु हाम्रो प्रश्न थियो, दासलाई । बिरामी, स्वास्थ्यकर्मी वा अन्य कर्मचारीले आवतजावत गर्दा, बाहिर गएर आउँदा त्यो टनेलले पूरै शरीर ‘स्यानिटाइज’ गर्छ । त्यस्तै खालको टनेल टेकु अस्पतालमा जडान गरिएको छ । त्यो आयातित हो । दासको समूहले फालिएका र काम नलाग्ने सामग्रीबाटै टनेल बनाइएको हो । सो मेशिनले हातमा स्यानिटाइजर गरे झैँ पूरै यसबाट शरीरलाई स्यानिटाइज गर्न सकिन्छ । जसले गर्दा एक मानिसबाट अर्को मानिसमा भाइरस सर्न पाउँदैन । मेसिनले नै शरीरमा एकैचोटी स्वानिटाइज गर्ने प्रविधि यसमा जडान गरिएको छ । एम्बु ब्याग आविष्कार केन्द्रमा निर्माण भइरहेको अर्को सामग्री हो एम्बु ब्याग । अहिले पनि कतिपय ठाउँमा अक्सिजन दिँदा म्यानुअल पम्पिङ गर्ने गरिन्छ । अस्पतालमा अब यो तयार भएपछि मेसिनले अटोमेटिक रूपमा पम्प गर्छ । भेन्टिलेटरमा यो खालको मेशिन राख्दा झनै प्रभावकारी हुन्छ । अस्पतालमा वा एक ठाउँबाट अर्को ठाँउमा बिरामी लैजाँदा एम्बु व्यागले ठूलो काम गर्छ । गम्भीर बिरामीलाई अक्सिजन पम्पिङ गर्दा हात प्रयोग गर्नु पर्दैन । सिधै मेशिनले गर्न मिल्ने गरी यो बनाउन लागिएको हो । हाल त्यस्तो खालको ब्याग देशभरी जम्मा ५ सय मात्रै होला ढकालको दाबी छ । एरोसल बक्स कोरोनाको शङ्का लागेका बिरामीको स्वाब परीक्षणका क्रममा सबैभन्दा बढी सक्रमणको जोखिममा चिकित्सक नै हुन्छ । उपचारका क्रममा बिरामीले वाकवाक गर्छ, ह्याच्छयूँ गर्छ, त्यसबेला त्यो थुक चिकित्सक नर्ससम्म आउन नदिनका लागि नयाँ बाकस आविष्कार गरिएको ढकाल बताए । जसको नाम ‘एरोसल बक्स’ राखिएको छ । एउटा बाकसमा सिसा लगाइएको हुन्छ । हात छिर्न मिल्ने गरी दुई वटा प्वाल बनाइएको छ । बिरामी बेडमा रहेको बेलामा आवश्यक परीक्षण र उपचारका क्रममा यो बक्स प्रयोग गरिन्छ । विभिन्न अस्पतालबाट यसको माग भइरहेको छ । चितवनको कलेज अफ मेडिकल साइन्सेज र शिक्षण अस्पतालबाट समेत माग आइसकेको छ । पीपीई बुथ केन्द्रले तयार पारेको अर्को आविष्कार हो, पीडीई बुथ । कोरोनाभाइसर स्याम्पल कलेक्सन बुथ (पीपीई बुथ) को रुममा पनि त्यसलाई लिन सकिन्छ । यो एउटा ठूलो बक्सा हो । बक्साभित्र चिकित्सक बस्छन् । बक्साको एक भागमा सिसा राखिएको हुन्छ । सिसामा दुई वटा हात छिराउन मिल्ने प्वाल राखिएको छ । रबर पञ्जामा पीपीईको कपडा जोडेर बनाइएको नयाँ पञ्जा त्यस प्वालमा जोडिन्छ । त्योभन्दा बाहिर प्लाष्टिकको नयाँ पञ्जा प्रयोग हुन्छ । हात छिराएर पञ्जामार्फत चिकित्सकले बिरामीको आवश्यक परीक्षण गर्नसक्छन् । यसरी परीक्षण गर्दा सिसाबाट भाइरसभित्र छिर्न पाउँदैन ताकी चिकित्सकसम्म भाइरस जान पाँदैन र सर्ने सम्भावना कम हुन्छ । विश्वमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई रोग सरेको र कयौँको मृत्युसमेत भइसकेको अबस्थामा यसले रोग सर्नबाट रोक्नसक्ने गरी प्रविधिको विकास गरिएको ढकालको भनाइ छ । उक्त बुथको अर्को साइटमा छ मिटर लामो पाइप राखेर उपयुक्त फ्यान राखिएको छ । जसले दूषित हावा बाहिर फाल्छ भने ताजा हावा चिकित्सकसम्म पु¥याउँछ । कतिपय ठाउँमा प्रयोग गरिएको बुथहरू सुरक्षात्मक नभएकाले हटाउन भनिसकिएको ढकालले बताए । पीपीई आविष्कार केन्द्रमा पीपीईको विज्ञ कोही पनि थिएनन् तर अवस्थाले पीपीई विज्ञ बनाइदियो । समस्या आइसकेपछि पीपीईबाट काम शुरु गर्ने निर्णय भएको ढकालको भनाइ छ । “त्यसको माग बढी थियो । चिकित्सक नै सङ्क्रमित भए भने धेरैलाई प्रभावित पार्ने भयो भनेर हामीले त्यसको अनुसन्धान थाल्यौं”, ढकालले भने, “वीर अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना मगाएर हेरियो । त्यो हेर्दा वाटर पेनिटेसन थिएन । पानी छिर्ने भेटियो । त्यसपछि अनुसन्धान टोलीले विश्व स्वास्थ्य सङ्गठनको गाइडलाइनको अध्ययन गरियो ।” गाइडलाइनमा भनिएको थियो वाटर प्रुफ्ट, एयर प्रुफ्ट र भाइसर प्रोटेक्टिभ हुनुपर्छ पीपीई । त्यसपछि हामीले कुन कपडा कस्तो छ भनेर हामीले खोजी गर्यौं । “डबल लेयर, रबराइज, टाफेटा भन्ने फ्यावरिक पत्ता लाग्यो । यो फेवरिक जापानको उत्पादन हो । कम्पनीले नै भाइरस प्रोटेक्टिभ भनेर प्रमाणित गरेको कपडा हो ।” पहिले प्रयोग भइरहेका पीपीईमा हाई प्रेसरमा पानी पठाउँदा पानी पस्ने गरेको पाइयो भने यो पीपीईमा भने जति प्रेसर गर्दा पनि पानी नपसेको ढकालको भनाइ छ । गुणस्तर विभागले मापदण्ड हेरेर ठीक छ भनेको छ । केन्द्रले विभागलाई नमूना दिएर आवश्यक प्रस्तुति गरेरै काम गरेको हो । पीपीई आवश्यक डिजाइन गरेर निश्चित टेलरमा सिलाउने गरिएको छ । विभागको सुझावको आधारमा पानी नपस्ने खालको र एयर प्रुफ जीफर प्रयोग गरिएको छ । “सकेसम्म कम सिलाउने गरिएको छ । सिलाएको ठाउँमा समेत पानी र हावा छिर्न नसक्ने गरी टेप लगाइएको छ । सकेसम्म साइन्टिष्ट र मेडिकल विद्यार्थीबाट मेहनत गरेर बनाएका छौं” ढकालले भने । अहिलेसम्म दुई हजार ८ सयभन्दा बढी बनाएर निःशुल्क रूपमा वितरण गरिसकेको छ, केन्द्रले । सातै प्रदेश र ७७ वटै जिल्लामा पुगेको छ केन्द्रको पीपीई । माग बढ्दो छ । अझै तीन/चार हजार माग छ ढकालले आँकडा सुनाए । उनले भने, “टेप र जिफर सरकारले उपलब्ध गराइदियो भने नेपाललाई चाहिने सबै पीपीई हामी उत्पादन गर्न सक्छौं ।” राष्ट्रिय आविष्कार केन्द्रले एउटा स्टाण्डर्ड (गाइडलाइन) निकालेको छ । यो निकालेपछि यसैलाई फलो गरेर अन्य ठाउँबाट पनि उत्पादन शुरु गरिएको छ । यही हाम्रो गाइडलाइनबाट बनिरहेको छ । एम्बुलेन्स चालकका लागि पनि छुट्टै पीपीई बनाइएको छ । दुई सयभन्दा बढी चालकले लगिसकेका छन् । त्रिविवि शिक्षण अस्पताल, वीर अस्पताल टेकु, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल तथा निजी अस्पताल सबैलाई पीपीई दिइएको ढकालले बताए । “अझै माग आइरहेको छ । हामी दैनिक १८ घण्टा बढी खटेर पीपीई बनाइरहेका छौं”, ढकालले भने, “कुन अस्पतालाई चाहिन्छ, के कति मात्रामा माग छ भन्ने कुरा महावीर पुनले नै तथ्याङ्क लिनुहुन्छ, र यहाँ पठाउनुहुन्छ । हामी सोहीअनुसार दिएर पठाउछौं ।” पीपीईमा जापानीज फेबरिक प्रयोग हुन्छ, त्यसमा पनि डबल लेयर्ड रबराइज हुनुपर्नेछ, काट्ने र सिलाउने ठाउँ कम गरिएको छ । काटेको ठाउँमा टेपिङ अनिवार्य गर्नुपर्ने, जिफर हावा र पानी नछिर्ने हुनुपर्ने मापदण्ड छ । काठमाडौं मै बस्ने पर्वतका अमबहादुर रोक्का पनि पीपीई पट्याउँदै छन् । उनले ९ दिनदेखि स्वयंसेवकको रूपमा काम गरिरहेका छन् । अहिलेको अवस्थामा सहयोग गर्न यहाँ काम गर्न आएको । सेवा भनेको दुःख पर्दा हो सुख पर्दा जसले पनि गर्छ । त्यही भएर सेवा गर्न मन लागेको छ । यहाँ यसरी झण्डै २० जनाले काम गरिरहेका छन् । रात दिन नभनी काम भइरहेको केन्द्रलाई सरकारले आवश्यक सहयोग उपलब्ध गराए कोरोना नियन्त्रणका लागि विदेशबाट सामान आयात गर्नै नपर्ने ढकालको दाबी छ । हालसम्म सबै सामग्री निःशुल्क दिइएको छ । अमेरिका नेपाल चिकित्सक सोसाइटीले केही सहयोग उपलब्ध गराएको छ । यस्तै नेपालभित्रका केही दाताले सक्दो सहयोग गरेका छन् । सोही सहयोगका आधारमा नै केन्द्रले कोरोना नियन्त्रणका लागि सक्दो सहयोग गरेको छ । सरकारले आफूहरूलाई साधन र स्रोत उपलब्ध गराए देशभित्रै स्वास्थ्य सामग्री बनाउन सकिने उल्लेख गर्दै ढकालले नेपाली युवा वैज्ञानिकको ज्ञान र सीपलाई प्रयोग गर्नुपर्ने बताए । रासस

एशियन लाईफ इन्स्योरेन्सले सार्वजनिक गर्यो ई क्यालेण्डर

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापी रुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै वि.सं. २०७७ सालकाे ई क्यालेण्डर सार्वजनिक गरेको छ । मुद्रित क्यालेण्डर वितरण सहज नभएको अवस्थालाई मध्यनजर गर्दै बीमित, अभिकर्ता, कर्मचारीको साथै सर्वसाधारणको सुविधाको लागी कम्पनीले उक्त क्यालेण्डर सार्वजनिक गरेको हो । ई क्यालेण्डर कम्पनीको बेभसाइटको लिंक https://www.asianlife.com.np/calendar बाट डाउन लोड गर्न सकिनेछ । क्यालेण्डरमा मन्त्री परिषदबाट स्वीकृत सार्वजनिक बिदाको साथै पञ्चाङ समितिबाट स्वीकृत गरिएको तिथी मिति लगायतको उपयोगी जानकारीहरु समावेश गरिएको छ । साथै, कम्पनीको शाखा उपशाखाको सम्पर्क नम्बर समेत क्यालेण्डरमा रहेकोले यसबाट सम्बन्धित सबैलाई सहज हुने विश्वास गरिएको छ ।

स्वदेश छिर्न नदिएपछि क्वारेन्टाइनमै किरिया !

काठमाडौं । आफ्नो आमाको मृत्यु हुँदा आफ्नै हातले दागवति दिने कसको मनले नमान्ला र । तर, दार्चुलाका दार्चुलाका बासुदेव भट्टले भने आफ्नी आमाको दागवति दिन पाएनन् । अर्थात उनलाई नेपाल सरकारले रोक्यो । हिन्दु परम्परा अनुसार काजक्रिया गर्न जन्मथलो अर्थात दिवन्गत हुनु भएकै ठाउँमा १३ दिनसम्म सेतो कपडा ओढेर गर्नु पर्ने भएपनि उनलाई भने परदेशमा नै बसेर आमाको किरिया गर्नु परेको छ । आफ्नै जन्मभुमि जाने प्रवेशद्वारमा ताल्चा लागेपछि उनी आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन्, काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै किरिया बसेका छन् । अहिले बासुदेव भारतको बलुवाकोट क्वारेन्टाइनमै सेतो कपडा ओढेर किरिया बसेका छन् । तीन महिना अघि भारतमा मजदुरी गर्न गएका भट्ट लकडाउन पछि घर आउँदा धारचुलामा अलपत्र परेका हुन् । दार्चुलाकोे शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्ट दुई सातादेखि भारतको क्वारेन्टाइनमा बसेका बेला मंगलवार घरमा आमा बितेको खबर पाए पनि जन्मभूमि जान पाएनन् । मंगलवारदेखि नै उनी आमाको अन्तिम संस्कार र काजकिरियाका लागि घर फर्किन हारगुहार गरिरहेका छन् । ‘आमा वित्दा पनि घर जान पाइएन्, नेपाल सरकारले मलाइ रोकी राखेको छ,’ भट्टले भने । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले भने भट्टलाई नेपाल ल्याउन पहल भइरहेको तर माथिको आदेश अहिले सम्म नआएकाले आउन नदिएको बताए ।