विकासन्युज

काेराेना काेषमा साना किसान विकास लघुवित्तकाे १० लाख सहयाेग

काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा १० लाख सहयोग गरेको छ । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण र उपचारमा सहज होस् भन्ने हेतुले नेपाल सरकारले खडा गरेको उक्त कोषमा १० लाख सहयोग गरेको साना किसान विकास लघुवित्त संस्थाका सीईओ डा. शिवराम कोईरालाले जानकारी दिए ।

दुबइबाट फर्केका झापाको एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’

काठमाडाैं । प्रदेश नं १ मा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । हल्दिबारी गाउँपालिकाका ६१ जनाको बुधबार आरडिटी गरिएकामा वडा नं २ का ३१ वर्षीय युवामा एन्टीबडी पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँले बताए । उनका अनुसार आरडिटीबाट पोजेटिभ देखिएका व्यक्तिसहित उनको परिवारका सात जनाको थ्रोट स्वाब सङ्कलन गरेर प्रयोगशाला (पिसीआर) परीक्षणका लागि विराटनगरस्थित प्रादेशिक अस्पताल पठाइएको छ । हल्दिबारीका अरु १४ जनाको समेत स्वाब परीक्षणका लागि पठाइएको छ । बुधबारसम्ममा प्रदेशका विभिन्न जिल्लामा ५५५ जनाको आरडिटी गरिएको छ । हल्दिबारीका एक व्यक्तिमा मात्र एन्टीबडी पोजेटिभ देखिएको हो । अरु सबै नमूनामा नेगेटिभ नतिजा आएको छ । प्रदेशमा हालसम्म कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन । प्रदेशभरिमा २८४ जनाको स्वाबको नमूना सङ्कलन भएकामा १८ जनाको नतिजा आज आउँदैछ । अरु २६६ जनाको परीक्षण नतिजा नेगेटिभ आइसकेको छ । प्रदेश नं १ सरकारले समुदायमा छिटो परीक्षणका लागि आरडिटी किट प्रयोगमा ल्याएको छ । किटबाट गरिएको परीक्षणमा शङ्का लागेमा प्रयोगशालामा पिसीआर टेस्ट गराउने व्यवस्था छ । पिसीआर टेस्टलाई मात्र कोरोना पत्ता लगाउने आधिकारिक जाँच मानिएको छ । झापामा एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते संयुक्त अरब इमिरेट्सको दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था सामान्य छ । उनी शुरुदेखि नै होम क्वारेन्टाइनमा बसेका छन् । रासस

र्यापिड टेष्टमा पाेजेटिभ देखिएकाे चितवनका एक पुरुषको नतिजा नेगेटिभ

काठमाडाैं । र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ । भरतपुर कोभिड-१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिए । गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको ¥यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड-१९ प्रयोगशालामा ल्याइएको थियो । सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो । यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ । उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए । रासस

मारवाडी सेवा समितिले गृह मन्त्रालयलाई हस्तान्तरण गर्याे विभिन्न स्वास्थ्य सामाग्री

काठमाडाैं । मारवाडी सेवा समिति नेपालले गृह मन्त्रालयलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ । समितिले बुधबार एक कार्यक्रमकाे बिचमा प्रमुख जिल्ला अधिकारी मार्फत १० हजार थान मास्क, १० हजार थान पंजा र १ हजार बोतल सेनिटाइजर गृह मन्त्रालयलाई हस्तान्तरण गरेकाे हाे । उक्त सामग्री उपत्यकामा सडक सरसफाइको लागि खटिने कर्मचारी अथवा अन्य फ्रोंटलाईन वर्कसको लागि प्रयोगमा ल्याइने गृहमन्त्रालयले जानकारी दिएकाे छ ।

आज माछापुच्छ्रे बैंकको ४० वटा शाखा खुल्ने (सूचीसहित)

काठमाडौं । माछापुच्छ्रे बैंकले आज(बिहीबार) देशभरका ४० वटा शाखा खोल्ने भएको छ । लकडाउनको समयमा ग्राहककाे बैंकिङ्ग कारोबारको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले विभिन्न प्रदेशको गरी उक्त संख्यामा शाखा कार्यालय खोल्न लागेको हो । बैंकको प्रदेश १ को १० वटा, प्रदेश २ को ४ वटा, प्रदेश ३ को ११ वटा, प्रदेश ४ को ४ वटा, प्रदेश ५ काे ७ वटा, प्रदेश ६ काे १ र प्रदेश ७ को ३ वटा शाखा खुल्ने बैंकले एक सूचना मार्फत जानकारी गराएकाे छ । यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखा कार्यालयबाट बैंकले तोकेको समयावधिमा बैंकिङ सेवा लिन सक्ने छन् ।

काेराेनाकाे समयमा के गर्नु हुँदैन ? डा. रवीन्द्र पाण्डे सुझाव यस्ताे छ

काठमाडाैं । डा. रवीन्द्र पाण्डेले  जनस्वास्थ्यविज्ञ हुन् । उनी अहिले विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे राेकथाम तथा न्युनिकरणका लागि विभिन्न सुझाव सल्लाह पनि दिदै आएका छन् । उनले काेराेनाकाे असर रहँदासम्म निम्नलिखित कूराहरू नगर्न सुझाव दिएका छन् । – कोरोना संक्रमणले गर्दा अर्थतन्त्र टाट पल्टिने भयो, पैसा अबमुल्यन हुने भयो, सेयर बजार डुब्ने भयो, आर्थिक मन्दी आउने भयो । जस्ता तनाब दिने कुरा नगरौं | यस्ता कुरा भूकम्पको बेला पनि भएका थिए । नाकाबन्दीको बेला पनि भएका थिए | भोलि कोरोना संक्रमण नियन्त्रणमा आएपछि घाउहरु निको हुँदै जान्छन | नेपाल औद्योगिक देश हैन तसर्थ अर्थतन्त्र हामीले सोंचेजस्तो डुब्ने छैन । – भारतले सामान पठाउन बन्द गर्यो भने इन्धन, खाना र औषधि नपाएर मरिन्छ भन्ने जस्ता कुरा पनि नगरौं | नाकाबन्दीमा बाँचेका थियौं । औषधिको केमिकल चीनबाट ल्याउने हो भारतले पनि । हामीले सिधै चीनबाट ल्याउन सकिन्छ । नेपालमा सयौं औषधि कम्पनी छन्, उनीहरुले आफ्नो ब्यबसाय गर्नेछन | त्यस्तै हामीले ग्यास नपाए बिजुली, दाउरा, गुंइठा बालेर पनि काम चलाउन सक्छौं । बिद्युत उत्पादन र वितरणमा काम गर्यौं भने हामीलाई ग्यास सिलिन्डर नभएपनि काम चल्छ | नेपाल कृषिप्रधान देश हो । गाउँ पुरै बाँझो छ, गाह्रो पर्यो भने हामीहरु खेतीपाती गरेर, अर्गानिक खाना खाएर तथा गाउँ आवाद गरेर झन् आत्मनिर्भर हुनेछौं । – लाखौंको रोजगारी जाने भयो भनेर चिन्ता नगरौं | खेतीपाती, बाख्रापालन, कुखुरापालन, गाईभैंसी पालन आदि गरेर हाम्रा फार्ममा अरुलाई रोजगार दिने हैसियत हाम्रो बन्नेछ । – कोरोना फैलियो भने बिकसित देशमा लाख भन्दा धेरै मान्छेको मृत्यु भयो भने हाम्रो के गति होला भनेर चिन्ता नगरौं | मर्न त्यति सजिलो छैन । संसार कोरोनाले पीडित हुँदा हामी सुरक्षित हुनु संयोग मात्र हैन । हाम्रो हावापानी, खानपिन, रहनसहन कोरोना प्रतिरोधी छ | हामीकहाँ ४ – ६ हप्ता कोरोना लागेका मान्छे भन्दैछन – हामीलाई केहि पनि भएको छैन, एउटा लक्षण पनि देखिएको छैन | लाखौँ मान्छेको कोरोनाबाट मृत्यु हुँदा अहिलेसम्म पोजिटिभ देखिएका १ जना पनि आइसीयु / भेन्टिलेटरमा बस्नुपरेको छैन | उनीहरु दालभात, तरकारी खाएर तथा आफन्तसंग फोनमा कुरा गरेर अस्पतालमा बसेका छन् । – सरकारले केहि गर्दैन, भ्रस्ट्राचार मात्र गर्छ भनेर निरासाको व्यापार नगरौं | सरकारले लकडाउन नगरेको भए स्थिति अर्कै हुनसक्थ्यो | देशभर क्वारेन्टाइन, आइसोलेसन केन्द्र, अस्पतालमा बेडको क्षमता, PPE जस्ता अत्याबश्यक कुरामा प्रगति भएको छ | प्रहरी प्रशासन रातदिन खटेको छ | स्वास्थ्यकर्मीहरु ज्यानको बाजी राखेर काम गरिरहेका छन् | जटिल परिस्थिति आयो भने सरकारले तदनुसार काम गर्नेछ | यस्तो बेलामा कात्रोमा खल्ती सिलाउनेलाई अख्तियार, सिआइबि, चुनाब आदिले तह लगाउनेछन् | उनीहरुलाई पापले भतभती पोल्नेछ | नराम्रो गर्नेको कहिल्यै राम्रो भएको छैन । – सहरमा खान नपाएर तथा उपचार नपाएर धेरैजना मर्ने भए भएर निरुत्साहित गर्ने कुरा नगरौं | कोहि भोको र बिरामी भयो भने प्रहरी कार्यालय वा वडा कार्यालय जानु भयो भने भोक र ज्वरोले मरिने छैन | गाउँगाउँमा सरकारी स्वास्थ्य संस्था छन्, स्वास्थ्यकर्मीले हप्तामा सातै दिन काम गरिरहेका छन् । – भारतमा कोरोना धेरै फैलियो भने इन्डियनहरु नेपाल आएर बर्बाद गर्छन भनेर पनि चिन्ता नगरौं | त्यो परिस्थिति देखियो भने सरकारले बोर्डर शिल गर्छ, मेचीदेखि महाकालीसम्म सुरक्षाकर्मी र स्थानीय जनताको गस्ती हुनेछ | आबश्यक परे सिमानामा कर्फ्यु लागु हुनेछ | हामी लाखौँ स्वयंसेवी जनताको स्वास्थ्य रक्षा गर्न सिमानामा उभिनेछौं । चिन्ता, तनाब, असुरक्षा अनुभूति आदिले रोगसँग लड्ने शारीरिक, मानसिक तथा इम्युनिटी प्रणालीमा नकारात्मक असर गर्दछ । तसर्थ घरमै बसौं, स्वस्थ रहौं, मस्त रहौं । सकिन्छ आशाका किरण वितरण नगरौं, सकिदैन, निराशाको मन्दबिष वितरण नगरौं । पाण्डेकाे फेसबुकवालबाट

एस्ट्रिक्स१७१००ह्यास डायल गर्नुस्, काेराेना संक्रमण भए/नभएकाे आफै थाहा पाउनुस्

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोनाभाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बुधवार (बैशाख ०३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ । यो सर्वेक्षणमा एनसेलका ग्राहक/सर्वेक्षणमा भागलिने व्यक्तिले यूएसएसडी कोड एस्ट्रिक्स१७१००ह्यास डायल गरी कोरोनाभाइरस रोगसँग सम्बन्धित पाँच वटा प्रश्नहरुको जवाफ आफ्नो स्वास्थ्य स्थिती अनुसार १ वा २ विकल्प छानेर दिन सक्छन् । प्रश्नहरुको उत्तर दिएपछि यो सर्वेक्षणमा भाग लिएको व्यक्तिलाई तत्काल उसको स्वास्थ्यको अवस्थालाई मिल्ने सुझाव सहित सरकारले तोकेको हेल्पलाइन नम्बरहरु र एनसेलको हटलाइन नम्बर ९८०१५७५००५ उल्लेख भएको एसएमएस प्राप्त हुन्छ । हटलाइन नम्बरमा कोरोनाभाइरस सम्बन्धि चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिन्छ । यदि सर्वेक्षणमा भाग लिएको कोही संक्रमणमा परेको शंकाको वर्गमा देखिए तत्काल स्वास्थ्य परामर्शका लागि एसएमएस मार्फत सुझाव दिइन्छ । यसरी संक्रमणको शंकामा परेकाहरुको विवरण सरकारको सीसीएमसीलाई पनि बुझाइन्छ । सर्वेक्षणमा भाग लिनु पुर्व नै यस सर्वेक्षणको उद्देश्य नेपाल सरकारलाई कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने रहेको सुचित गरिन्छ । ‘कोरोना भाइरस विरुद्धको हाम्रो यो सामुहिक लडाईका साथै देशमा रहेका हाम्रा सबै ग्राहकको सेवा सुनिश्चित राख्न हामी प्रतिवद्ध छाैं । हाम्रो पुर्वाधार र प्लेटफर्म प्रयोग गर्दै ग्राहक माझ ल्याइएको यो सर्वेक्षणले ग्राहकलाई आफुमा कोरोनाभाइरसको जोखिम भए/नभएको आफै थाहा पाउन मद्दत गर्ने र सरकारलाई यस डाटाले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौं । यस विपद्को घडीमा हामी सबैले आ-आफ्नो तर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ गर्नु पर्दछ र हामी आफ्ना १ करोड ७० लाख भन्दा बढि ग्राहकहरु र साझेदारहरुको सुस्वास्थ्यको लागि हामी प्रतिवद्ध छौं’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले भने । सीसीएमसीसँग यो सर्वेक्षणको लागि गरिएको सहकार्यसँगै, एनसेल नेटवर्कभित्र रहेका हाम्रा सम्पुर्ण ग्राहकले यस सर्वेक्षणमा भाग लिई आफुमा कोरोना भाइरस संक्रमणको जोखिम भए/नभएकोे थाहा पाउन सक्नेछन् । पहिला पाइलट सर्वेक्षणका रुपमा एनसेलले जनकपुरमा यो सर्वेक्षण गरी चैत्र २१ मा पुर्व तथा सूदुरपश्चिममा पनि शुरु गरेको थियो । यहि सर्वेक्षणका आधारमा प्रत्येक उत्तरदातालाई उसको स्वास्थ्य अवस्था अनुसार अपनाउन पर्ने उपयुक्त सल्लाह सहितको एसएमएस पठाइएको थियो र निःशुल्क रुपमा सरकारको हेल्पलाइन र एनसेलको हटलाइनबाट डाक्टरसँग कोरोनाभाइरस सम्बन्धि परामर्श लिन सकिनेबारे जानकारी गराइएको थियो । विपद् प्रतिकार्य अन्तर्गत एनसेलले सरकारको तथा आफ्नो हेल्पलाइनको नम्बरहरुमा निःशुल्क कल गर्न सकिने बनाइसकेको छ । कोरोना भाइरस संक्रमणको रोकथामको लागि एनसेलले सरकारकोे कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० करोड रूपैयाँ योगदान पनि गरिसकेको छ । यो सहयोगले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ । त्यस्तै एनसेल यस विपद्को समयमा आफ्ना ग्राहकहरुलाइ सुलभ दरमा सम्पर्कमा रहिरहन मद्दत गर्न विभिन्न सेवाहरु जस्तै रिचार्जमा १२० प्रतिशत बोनस, सापटी रकमा वृद्धि, १५ जीबी डेटा प्याक, निःशुल्क ब्यालेन्स ट्रान्सफर लगायतका सेवाहरु पनि प्रदान गर्दै आएको छ ।

पछिल्लो परीक्षणकाे रिपोर्ट नेगेटिभ पुष्टि भएसँगै हट्याे सनसिटीको त्रास

काठमाडौं । सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २ सय ९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सो अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र केही अरु ब्लकमा बस्नेहरुको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएपछि यहाँ बसोबास गर्ने परिवार हर्षित बनेका छन् । तीन दिनसम्म आफूलाई पनि सङ्क्रमण भएको हुनसक्ने भनी त्रसित भएकामा त्यो हटेकाले सबै खुसी हुनु स्वभाविक भएको सनसिटी वेयलफेयर सोसाइटीका अध्यक्ष तिलक बस्नेतले बताए । अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको थियो । उनका अनुसार सोसाइटीले अहिले पनि उनीहरुलाई भीडभाड नगर्न भनिरहेको छ । अहिलेसम्म तालाबन्दी (सिल) को अवस्था रहेकाले सबै जना आ–आफ्नो फ्ल्याटमा बसिरहेको उनले बताए । कोभिड–१९ को सङ्क्रमण शुरु भएदेखि नै आवश्यक सावधानी अपनाइएको बताउँदै उनले भने, “त्यसैले पनि यहाँ सङ्क्रमण नफैलिएको हो ।” स्वास्थ्य सेवा विभागले कागेश्वरी मनोहरा नगरपालिकासँगको सहकार्यमा ‘ए ब्लक’ मा बसोबास गर्ने सबै र अरु ब्लकका पनि दीर्घरोगीको परीक्षण गरेको थियो । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये सङ्क्रमित व्यक्तिको घरमा काम गर्दै आएका दुई जनाको भने पिसीआर प्रविधिबाट समेत परीक्षणका लागि स्वाब पठाइएको छ । नगर अस्पतालले सोमबार गरेको आरडिटी परीक्षणका क्रममा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट नेगेटिभ आएसँगै यहाँ प्रशासनले तालबन्दी गरेको थियो । ती तीनै जना व्यक्ति अहिले पाटन अस्पतालको आइसोलेसनमा छन् । तीन जनामध्ये एक महिलाको पिसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि उनी अस्पतालमै छिन् । अपार्टमेन्टभित्रका दीर्घरोगी को को छन् भनी पहिचान गर्न त्यहाँको व्यवस्थापन समितिले सहयोग गरिरहेको छ । नगर प्रमुख कृष्णहरि थापाले कतिपय दीर्घरोगी उपचारका लागि अस्पताल जानुपर्ने भए पनि परीक्षण गरेर ‘नेगेटिभ’ नआएसम्म जान नसक्ने हुँदा उनीहरूलाई प्राथमिकता दिइएको बताए । अपार्टमेन्टमा बसोबास गर्ने सबै र अपार्टमेन्ट बाहिरकाले समेत आफूहरूको परीक्षण गर्नुपर्ने माग गरेका छन् भने नजिकमा रहेका पसल र घरले समेत आफू सङ्क्रमितको सम्पर्कमा आएको हुनसक्ने भन्दै परीक्षण गर्नुपर्ने माग गरेको छन् । अपार्टमेन्टभित्र बसोबास गर्नेको परीक्षण सकिएपछि त्यस बाहिरका बैङ्क, पसल, एटीएमलगायत स्थानका व्यक्तिको पनि परीक्षण हुन माग भएको छ । स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले भने हाल अपार्टमेन्ट आसपासमा दू्रत परीक्षणको योजना नरहेको जनाए । अन्य व्यक्तिमा पोजेटिभ नपाइएपछि नजिकका कार्यालय र पसका व्यक्ति त्रसित हुनु नपर्ने उनले बताए । रासस