काठमाडौं । आफ्नो आमाको मृत्यु हुँदा आफ्नै हातले दागवति दिने कसको मनले नमान्ला र । तर, दार्चुलाका दार्चुलाका बासुदेव भट्टले भने आफ्नी आमाको दागवति दिन पाएनन् ।
अर्थात उनलाई नेपाल सरकारले रोक्यो । हिन्दु परम्परा अनुसार काजक्रिया गर्न जन्मथलो अर्थात दिवन्गत हुनु भएकै ठाउँमा १३ दिनसम्म सेतो कपडा ओढेर गर्नु पर्ने भएपनि उनलाई भने परदेशमा नै बसेर आमाको किरिया गर्नु परेको छ ।
आफ्नै जन्मभुमि जाने प्रवेशद्वारमा ताल्चा लागेपछि उनी आमाको दाहसंस्कारमा त उपस्थित हुन पाएनन्, काजकिरियाका लागि पनि नेपाल प्रवेशको अनुमती नपाएपछि उनी क्वारेन्टाईनमै किरिया बसेका छन् ।
अहिले बासुदेव भारतको बलुवाकोट क्वारेन्टाइनमै सेतो कपडा ओढेर किरिया बसेका छन् । तीन महिना अघि भारतमा मजदुरी गर्न गएका भट्ट लकडाउन पछि घर आउँदा धारचुलामा अलपत्र परेका हुन् ।
दार्चुलाकोे शैल्यशिखर नगरपालिका–१ घर भएका वासुदेव भट्ट दुई सातादेखि भारतको क्वारेन्टाइनमा बसेका बेला मंगलवार घरमा आमा बितेको खबर पाए पनि जन्मभूमि जान पाएनन् ।
मंगलवारदेखि नै उनी आमाको अन्तिम संस्कार र काजकिरियाका लागि घर फर्किन हारगुहार गरिरहेका छन् । ‘आमा वित्दा पनि घर जान पाइएन्, नेपाल सरकारले मलाइ रोकी राखेको छ,’ भट्टले भने ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवरले भने भट्टलाई नेपाल ल्याउन पहल भइरहेको तर माथिको आदेश अहिले सम्म नआएकाले आउन नदिएको बताए ।