विकासन्युज

आईएमई लाइफ इन्स्योरेन्सले कोरोना कोषमा दियो साढे ७ लाख रुपैयाँ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । कम्पनीले अफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी कोषमा उक्त सहयोग गरेको हो । यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाईरस विरुद्ध रोकथाम, तथा नियन्त्रणको साथै उपचारका लागि केही थप सहयोग हुने आशा कम्पनीले गरेको छ । साथै, यस कम्पनीले नेपालभरको विभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई ब्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पीपीई लगायतका सामानहरु समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

सुदुरपश्चिममा कोरोना संक्रमितको उपचारको लागि ३४ जना चिकित्सक पुगे धनगढी

काठमाडौं । सुदुरपश्चिममा कोरोना संक्रमितको उपचारको लागि ३४ जना चिकित्सकको टोलीलाई धनगढी पठाईएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडिएमएस अध्यनरत ३४ चिकित्सकलाई कोरोना संक्रमितको उपचारको लागि शुक्रबार धनगढी पठाईएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका हुन् । सुदुरपश्चिम प्रदेशमा छिमेकी मुलुक भारतबाट आउने नेपालीहरुको संख्या धेरै रहेको र त्यहाँ जनशक्तिको आवश्यक महसुस भएकोले चिकित्सक पठाईएको देवकोटाले जानकारी दिए । उनी भन्छन्, ‘सुदुरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिष्दको कार्यलयबाट उनीहरुलाई उक्त प्रदेशको विभिन्न अस्पतालहरुमा परिचालन हुने गरी पठाईएको हो। ’ उनीहरुलाई हाल एक महिनाको लागि त्यहाँ पठाईएको र आवश्यकता अनुसार समय थप्ने देवकोटाले बताए ।

खानेपानी बोर्डले केयुकेएलका ट्याङ्कर चालक र सह चालकलाई वितरण गर्याे सुरक्षा सामग्री

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले उपत्यका भित्र खानेपानी वितरण गर्ने ट्याङ्कर चालक र सह चालकका लागि आवश्यक सामग्रीहरु सहयोग गरेको छ । बोर्डले कोरोना भाइरस  (कोभिड-१९ ) को सम्भावित जोखिमबाट सुरक्षित रहन भन्दै उक्त सामग्रीहरू सहयाेग गरेकाे हाे । बोर्डले  काठमाडौं उपत्यका भित्र खानेपानी आपूर्ति गरिरहेका निजी क्षेत्रका ट्याङ्कर चालक र सह चालकका लागि  शुक्रवार आवश्यक सुरक्षाका सामग्रीहरु सहयोग गरेको हो। बोर्डका कार्यकारी निर्देशक डा सन्जिब बिक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मास्क, स्यानिटाइजर, हेजर, र पन्जा लगायतका सामग्रीहरु निजी क्षेत्रका ट्याङ्कर व्यवसायीहरुलाई हस्तान्तरण गरे । उपत्यका भित्र ट्याङ्कर मार्फत खानेपानी वितरण कार्यमा प्रत्यक्ष रुपमा सहभागी हुने चालक र सह चालकहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बोर्डले सहयोग गरेको कार्यकारी निर्देशक राणाले बताए । बोर्डले आफ्नो १४ औ वार्षिकोत्सवको दिनमा आज निजी क्षेत्रका ८ वटा व्यवसायी संघ र केयुकेएलका ट्याङ्कर चालक र सह चालकका लागि सहयोग गरेको हो ।

बालुवाटारमा बहसः घर जान चाहनेलाई पठाउने कि नपठाउने ?

काठमाडाैं । देश लकडाउनमा छ । धेरै मानिसहरु घर जान चाहन्छन् । तर, सरकाले भने यसतर्फ ध्यान दिएको छैन । आज भने यो विषयको बारेमा ठोस निर्णय हुने बताइएको छ । लकडाउनका कारण शहरमा र बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने बारे व्यवस्था मिलाउने सरकारले तयारी गरेको छ । यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ । तर निर्णय गर्नु अघि प्रधानमन्त्री केपी ओलीसँग पनि छलफल भइरहेको छ । छलफलका लागि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई पनि बोलाएका छन् । स्रोतका अनुसार घर जान दिने निर्णय गर्ने भन्दा पनि जनप्रतिनिधसँगको समन्वयमा जाने व्यवस्था मिलाउने बारे छलफल भइरहेको छ । धेरै नागरिकहरू सडकमा अलपत्र परेका छन् । धेरै नगरिकहरु राजधानीसहितका विभिन्न स्थानबाट पैदल नै गाउँ फर्किरहेका छन् । याे भन्दा अगाडि सरकारले निर्णय गरेकाे  भनेर सञ्चार माध्यममा समाचार आएपनि सरकारले नगरेकाे बताएकाे थियाे  ।  

चैतन्य जागृति महिला समूहले ४० श्रमिक परिवारलाई वितरण गर्याे राहत

ललितपुर । चैतन्य जागृति महिला समूहले ललितपुरको हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण गरेको छ। आर्थिक अवस्था कमजोर रहेका श्रमिक र मजदुर परिवारलाई महिला समूहले राहत वितरण गरेको हो। चैतन्य जागृति महिला समूहकी सदस्य एवम् सामाजिक अभियन्ता रेशमा बानुको नेतृत्वमा हरिसिद्धिका ४० घरका एक सदस्यभन्दा धेरै परिवार सदस्यलाई राहत वितरण गरिएको हो। सामाजिक अभियन्ता एवम् चैतन्य जागृति महिला समूहकी सदस्य रेशमा बानुले आर्थिक अवस्था कमजोर रहेका परिवारबाट आफूलाई राहत नपाएको गुनासो आएपछि राहत वितरण गरेको बताइन्। ‘केही परिवारले राहत पाएको र केही परिवारले नपाएको जानकारी आयो, त्यसपछि महिला दिदीबहिनीहरूसँग सल्लाह गरेर राहत वितरण गरिएको हो,’ बानुले भनिन्, ‘भोकै बस्नुपर्ने अवस्था आउनु भएन भनेर नै हामीले राहत वितरणको पहल गरेका हौँ।’ सरकारको तर्फबाट कम्तिमा लकडाउनको अवधिभर पुग्ने राहत सामग्री वितरण गर्नु पहल हुनुपर्नेमा सामाजिक अभियन्ता बानुको जोड छ। ‘सरकारले, राज्यले चाहेमा गर्न नसक्ने कार्य केही हुँदैन, सरकारले अगुवाइ गर्ने तथा सामाजिक र आर्थिकले सरकारलाई सहयोग गर्ने हो भने कुनै पनि नेपालीले भोको हुनुपर्दैन,’ बानुले भनिन्। ४ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई २५ किलोको एक बोरा चामल, दुई किलो दाल, एक किलो चना, एक लिटर तेल, दुई किलो चिउरा वितरण गरिएको समूहकी सदस्य पुनम थपलियाले जानकारी दिइन्। ललितपुरको हरिसिद्धि श्रमिक र मजदुरहरू धेरै भएको इलाका हो। ललितपुर वडा नम्बर २८ ले राहत स्वरूप पाँच किलोग्राम चामल तथा अन्य केही सामग्री वितरण गरेको थियो। तर, श्रमिकहरूले सरकारी राहत अपर्याप्त रहेको गुनासो आएको र यसलाई सम्बोधन गर्न मानवअधिकारकर्मी तुलसीदास थापाले माग गरेका छन्।

पाटन अस्पतालमा पनि पिसिआरबाट कोरोना परीक्षण सुरु

काठमाडौं । पाटन अस्पतालमा पनि रियल टाईम  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको छ । कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा  पिसिआरबाट कोरोना परीक्षण सुरु भएको बताएका हुन् । यहीसँगै रियल टाईम पिसिआरबाट नेपालमा कोरोना परीक्षण गर्न स्थानको संख्या १४ भएको छ ।

प्राइम बैंकले कोरोना कोषमा हस्तान्तरण गर्यो पौने दुई करोड रुपैयाँको चेक

काठमाडौं । प्राइम कमर्सियल बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड ७५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईलाई उक्त रकमका चेक हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारलाई उक्त सहयोग गरेको हो । साथै, लकडाउनका बेला दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न वितरण गरी सहयोग पुर्याउँदै आएको छ ।

शुल्क नतिरेपनि लकडाउनभरि इन्टरनेटको लाइन नकाट्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई सेवा अवरुद्ध नगर्न निर्देशन दिएको छ। कोभिड-१९ को सम्भावित संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिभरि सेवा शुल्क तिर्न नसकेका इन्टरनेट ग्राहकको लाइन नकाट्न सेवा प्रदायकहरुलाई नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको हाे । प्राधिकरणले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन भुक्तानीका लागि उत्प्रेरित गर्न र अनलाइन पनि भुक्तानी गर्न नसक्ने भएमा लकडाउनपछि बिलम्ब शुल्क नलगानइ भुक्तानी लिन प्राधिकरणले सेवाप्रदायकहरुलाई निर्देशन दिएको हाे । लकडाउनकाे कारणले धेरै ग्राहकले पैसा तिर्न नसकेकाे गुनासाे गरेका छन् ।