जनरल इन्स्योरेन्सले प्रदेश ७ को कोरोना कोषमा दियो ५ लाख रुपैयाँ
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रदेश ७ को कोरोना कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सुदुरपश्चित प्रदेश ७ सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा उपचार केन्द्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । कम्पनीले कारोना रोकथामको लागि केही राहत होस् भन्ने हेतुले उक्त रकमको चेक सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेको हो ।
मेगा बैंकका ग्राहकलाई घरमै बसी सामान किन्दा विशेष छुट
काठमाडाैं । मेगा बैंक नेपालका ग्राहकहरुले खाद्यान्न लगायतका अत्यावश्यक दैनिक उपभोग्य सामाग्रीहरु घरमै बसेर आकर्षक छुटमा खरिद गर्न सक्ने भएका छन् । दैनिक उपभोग्य सामाग्रीहरु घरदैलोमै पुर्याउँदै आएको मेरो किराना डटकमले मेगा बैंकका ग्राहकहरुलाई १० प्रतिशतसम्मको आकर्षक छुट दिने सहमति भएको छ । कोरोना भाइरसले निम्त्याएको देशव्यापी लकडाउनको परिस्थितिका कारण भौतिक बजारहरु पहुँचमा नहुनुका साथै रोग संक्रमणको जोखिमलाई पनि ध्यानमा राख्दै ग्राहकहरुलाई यो सुविधाको व्यवस्था गरेको मेगा बैंकले जनाएको छ । जसअनुसार, मेगा बैंकका मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले किरानाको अनलाइन तथा एप्स सेवामार्फत अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु अर्डर गरी बिना झन्झट आफ्नै घरदैलोमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा लकडाउनपछि पनि मेगा बैंकका ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । लकडाउनको यस विषम परिस्थितिमा पनि मेगा बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिम नेटवर्क, डिजिटल तथा अनलाइन बैंकिङ सेवाका साथै नगद काउन्टर, रेमिट्यान्स, एलसी ग्यारेन्टी सेवाहरु उपलब्धि गराउँदै आएको छ ।
सवारीसाधनमा कीटनाशक औषधि छर्किदै स्वयमसेवक
काठमाडाैं । नेपाल रेडक्रस साेसाइटीका स्वयमसेवकले सवारीसाधनमा कीटनाशक औषधि छर्किएका छन् । उनीहरूले काठमाडौंको जडिबुटीबाट भक्तपुर गइरहेको सवारीसाधनमा उक्त औषधि छर्किएका हुन् । हाल बढिरहेकाे काेराेना भाइरसकाे प्रकाेप थप फैलिन नदिनका साथै यस विपद् समयमा सरकारलाई केहि राहत हाेस् भन्ने उद्देश्यले उक्त कदम अघि सारेकाे हाे । तस्बिरः प्रदीपराज वन्त/रासस
भाटभटेनीले शुक्रबारबाट उपत्यकाका ६ आउटलेट खोल्ने, कुन कुन ?
काठमाडौं । भाटभटेनी सुपरस्टोरको नामबाट रिटेल चेन सञ्चालन गरिरहेको भाटभटेनी समूहले लकडाउनकै अवधिमा पनि राजधानी उपत्यकाका विभिन्न ६ वटा आउटलेट खोल्ने भएको छ । गुणस्तरीय दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि उपत्यकाभित्रका ६ वटा स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपरस्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए । भाटभटेनी ग्रुपले कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेको हो । ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् । भाटभटेनी समूहले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा पनि भाटभटेनी सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गरेको छ । उपत्यकाबाहिरका आउटलेट पनि खुला रहनेछन् । प्राणघातक रोग कोभिड–१९ निम्त्याउने कोरोना भाइरस संक्रमणको त्रासले मुलुक लकडाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब खोलेरै सेवा दिन लागेको हो । उल्लेखित आउटलेटहरु बिहान १०ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म स्टोर खुल्नेछन् । कोरोना संक्रमण रोकथामका लागि पर्याप्त सावधानी अपनाएर आउटलेट सञ्चालन गरिने छ । एकपटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिइने र त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गर्ने नीति लिइएको छ । ‘लककडाउनको कारण सिर्जित विषम परिस्थितिमा ग्राहकको गुणस्तरीय सामान खरिद गर्ने चाहनालाई मध्यनजर गर्दै स्टोर खुला गर्ने निर्णय गरिएको हो,’ पौडेल भन्छन्, ‘स्टोरमा पर्याप्त सावधानी अपनाइएको छ, ग्राहकले सोसियल डिस्ट्यान्स कायम गरेर ढुक्कले सामान खरिद गर्न सक्नुहुन्छ ।’
नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालकसहचालकको अनिवार्य स्वास्थ्य परीक्षण
काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने माग स्थानीयवासीहरुले गरेका छन् । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि त्यहाँबाट आउने मालवाहक सवारीसाधनका चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल प्रवेश गराउनुपर्ने माग स्थानीयवासीहरुले गरेका हुन् । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि छिमेकी मुलुक भारतबाट नेपाल भित्रिने मालवाहक सवारीसाधनका बारेमा स्थानीय प्रशासनले तथ्याङ्क राख्नुपर्ने र त्यसका चालक तथा सहचालक अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने माग विराटनगर जनपथ निवासी निर्मल श्रेष्ठको छ । उनले भने, ‘भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । यस्तो अवस्थामा नेपाली जनतालाई यसको सङ्क्रमणबाट सुरक्षित राख्न नेपाल भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालकलाई अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था हुनुपर्दछ ।’ अहिलेको परिस्थितिमा चालक तथा सहचालकबाट हुन सक्ने सम्भावित सङ्क्रमणको न्यूनीकरणका लागि पनि उनीहरुको स्वास्थ्य परीक्षण हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ‘नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना सङ्क्रमण देखिएकाले भारतबाट भित्रिने मालवाहक सवारीसाधनका चालक तथा सहचालबाट पनि सङ्क्रमण फैलिन सक्ने उच्च सम्भवना रहेको छ’, विराटनगरस्थित रौनक फार्मेसीका सञ्चालक श्याम श्रेष्ठले भने, ‘सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि त्यस्ता चालक तथा सहचालकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्ने व्यवस्था लागू हुनुपर्दछ ।’ उनले ‘भीडभाडमा जीउ जोगाउनु र अनिकालमा बीउ बचाउनु’ भन्ने उखान अहिले सार्थक बन्न लागेको चर्चा गर्दै कोरोना महामारीबाट बच्न नेपाल प्रवेश गर्ने मानिस र वस्तुप्रति सरकार चनाखो हुनुपर्ने आवश्यकतामाथि जोड दिए । नेपाल अधिकांश कुरमा परनिर्भर छन् । यस्तो अवस्थामा नेपालमा आयात हुने तरकारी, सागसब्जी, खाद्यवस्तु, इन्धन तथा ग्यास बोकेर अन्य मुलुकबाट आउने सवारीसाधनका चालक तथा सहचालकहरु पनि यसको जोखिमबाट अलग रहन नसक्ने भएकाले सरकारले यस्ता कुरामा विशेष निगरानी राख्नुपर्ने एमआर नवराज पाण्डेले जानकारी दिए । ‘कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि चालक तथा सहचालकको स्वास्थ्य परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिइने कार्यलाई अभियानकै रुपमा अगाडि बढाउनुपर्छ’, स्थानीय बुद्धिजिवी राजेश ढङ्गोलले भने, ‘कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि परीक्षण र उपचार व्यवस्थालाई व्यापक बनाउनुपर्ने आवश्यकता छ ।’ शङ्कास्पद देखिएमा त्यस्ता चालक तथा सहचालकलाई तत्काल क्वारेन्टाइनमा राख्नुपर्नेमा उनले जोड दिए ।
हुम्लामा बाहिरी जिल्लाबाट आएका सबैको रिपोर्ट नेगेटिभ
काठमाडाैं । हुम्लाका चार गाउँपालिकामा जिल्ला बाहिरबाट आएका व्यक्तिको हालसम्म ६८ को द्रुत परीक्षण (र्यापिड डायग्नोष्टिक टेस्ट) गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले जम्मा ६१ पुरुष र सात महिला रहेको जनाउँदै सिमकोट २९, नाम्खामा २५, ताजाकोटमा आठ र अदानचुलीमा छ गरी ६८ जनाको द्रुत परीक्षण बताए । यसपछि सदरमुकाम सिमकोटबाट दक्षिणतिर पर्ने ताँजाकोट, सर्केगाड, खार्पुनाथ, अदानचुली र चङ्खेली गाउँपालिकामा जिल्ला बाहिर भारतलगायत अन्य तेस्रो मुलुकबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिको र्यापिड टेस्ट गरिने जनाइएको छ । सो लागि स्वास्थ्य सेवा कार्यालयबाट ल्याब टेक्निसियन बलिराज भण्डारी, भक्ति फडेरा तथा कार्यालय सहयोगी विनोद रोकाया खटिएका छन् ।
भारतीय नोटसहित पक्राउ दुई कारागार चलान
काठमाडाैं । स्रोत नखुलेको ९ लाख ९९ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका २ जनालाई क्षेत्रीय कारागार भीमफेदी चलान गरिएको छ । जिल्ला अदालत मकवानपुरले तोकेको धरौटी बुझाउन नसकेपछि पक्राउ परेका बोलेरो चालक भारत बैरातपुर बस्ने ३१ वर्षीय विजय चौधरी र नहेटी बस्ने ३८ वर्षीय शङ्कर सरकारलाई कारागार चलान गरिएको हो । राजश्व अनुसन्धान कार्यालय पथलैयाले दायर गरेको मुद्दाको सुनुवाई गर्दै जिल्ला अदालत मकवानुरले उनीहरुलाई जनही १७ लाख रुपैँया धरौटी मागेको थियो । गत चैत ५ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको नेतृत्वमा खटिएको टोलिले हेटौंडा-१५ रातोमाटेबाट वीरगञ्जतर्फ जाँदै गरेको डब्लु बि २३ इ २३३३ नम्बरको भारतीय बोलेरोमा उक्त रकम बरामद भएपछि बालेरोसहित उनीहरुलाई पक्राऊ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले कानून विपरित प्रतिबन्धित भारु बोकेको र रकमको स्रोत पनि नखुलेकाले आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको थियो ।
अत्यावश्यक सेवामा चाहिँदैन, मनाेरञ्जनमा प्रयाेग गर्न पाइँदैन
काठमाडौं । सबै भन्दा धेरै मानिस बसोबास गर्ने काठमाडौंमा काठमाडौं जिल्ला प्रशासनले गत बुधबारबाट सवारी पास दिन छाडेको छ । सरकारले गत वर्षको चैत ११ गतेदेखि देशभर लकडाउनको घोषण गरेर थियो । लकडाउनको समयमा अति आवश्यक बस्तु आयात निर्यात गर्नका लागि काठमाडौं जिल्ला प्रशासनले सवारी पास दिने गरेको थियो । तर गत बुधबारबाट मृत्यु संस्कारमा जाने व्यक्ति बाहेक अन्य प्रयोजनका लागि सवारी पास दिन बन्द गरेको छ । सरकारकाे यस्ताे निर्णयले अत्यावश्यक सेवा प्रवाहमा समस्या भएकाे सराेकारवालाकाे भनाइ छ । तर, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग निर्देशक तथा प्रवक्ता रविन्द्र आचार्यले काठमाडौं जिल्ला प्रशासनले सवारी पास रोकेर ठिक गरेको बताए । पास नभएपनि अत्यावश्यक सेवाका सवारी साधन नराेकिने भएकाेले याे निर्णयले दुरूपयाेग राेक्न सहयाेग गर्ने उनकाे भनाइ छ । घर जानदेखि ससुराली जानसम्म सवारी पास लिएर हिड्नेहरु अब रोकिन्छन् भन्दै उनले सवारी पासको दुरुपयोग गर्नेहरुलाई पनि अब ट्राफिकले समाउने र याे निर्णयले भीड नियन्त्रणमा सहयाेग पुग्ने उनले बताए । ‘सरकारले तोकेका अति आवश्यक बस्तुहरु बोकेका सवारीहरुको पास नभए पनि पुलिसले रोक्दैन, गाडीकाे अगाडि अतिआवश्य बस्तु ढुवानी भनेर लेख्ने, तर सवारीमा अन्य बस्तुहरु बोकेर हिड्नेहरुलाई कार्वही पुलिसले गर्छ,’ आचार्यले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुका साथै सडकमा भीड हुन गई लकडाउनको पालना नभएको भन्दै सवारी पास दिन बन्द गर्नु उपयुक्त भएकाे उनकाे भनाइ छ । ‘वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि अति आवश्यक बस्तु ढुवानीको लागि पास जिल्ला प्रशासनले दिने गरेको थियो । अब पुरानाे सवारी पास वा पास विना नै अति आवश्यक बस्तु बोकेको सवारीलाई पुलिसले रोक्दैन्, त्यसैले असर परेकाे छैन, ’ आचार्यले भने । पछिल्ला दिनमा कोरोनाको संक्रमण बढेसँगै सरकारले लकडाउन थप्दै जाँदा उपत्यकामा रहेका मानिसहरु घरभित्रै बसिरहेका छन् । लकडाउनको समयमा एम्बुलेन्स, अग्नि नियन्त्रक, अस्पताल, सुरक्षा निकाय, खानेपानी, फोहोरमैला संकलन, बिजुलीजस्ता आधारभूत आवश्यकता निरन्तर र निर्वाधरुपमा सरकारले सञ्चालन गरिरहेको छ । दैनिक जीवनयपनका लागि नभई नहुने सरकारले तोकेको अति आवश्यक वस्तु तथा सेवामा विनापास नै हिड्न सकिने छ । के के हो सवारी पास नभइ बोक्न पाउने अति आवश्यक बस्तु लकडाउन आफैंमा एउटा संकटको अवस्था हो । तर, पनि जीवनयापनका लागि नभई नहुने वस्तुको उपलब्धता हरेक नागरिकका लागि अतिआवश्यक हुन्छ । चामल, मकै, चिउरा, गहुँ पिठो, मैदा, दाल, नून, चिनी, चिया खानेतेल, घ्यू, दूध, तरकारी, मासु, फलफूल, मसला (जिरा, मरीच, अदुवा, धनिय र खुर्सानी), औषधि, औषधि जन्य बस्तु, लुगा धुने र नुहाउने साबुन, मट्टीतेल, डिजेल, पेट्रोल र हवाई इन्धनसमेत, रसायनीक मल,दाउरा तथा कोईला, लेख्ने र छाप्ने कागज, कापी, मसी सिसाकलम रु न्यूज प्रिन्टका समानलगायतका बस्तु सवारी पास विना नै ढुवानी गर्न सकिने छ । लकडाउनको कारणले अनलाइनबाट पनि घरघरमा नै हुन्छ अति आवश्यक बस्तुको आपूर्ति भइरहेको छ । लकडाउनको बेला अनलाइन व्यापारले पनि आपूर्तिमा सहजा हुदै गइरहेको छ । घरघरमा नै अति आवश्यक बस्तु आपूर्ति गर्ने प्रतिनिधि अनलाइन दराजडटकम लकडाउनअघिदेखि नै संचालनमा रहेको दराजले लकडाउनको समयमा बिगमार्टसँगको सहकार्यमा १५ सय रुपैयाँभन्दा माथिको सामग्रीहरुको अर्डर लिने व्यवस्था गरेको छ । दराज डककममा गएर अत्यावश्यक बस्तुको अर्डर गरेमा त्यस्तो सामान तपाईले भनेकै स्थानममा आइपुग्छ । भाटभटेनी सुपरमार्केट भाटभटेनी सुपरस्टोरले हाल काठमाडौं, पोखरा, चितवन, बुटवल, धरान, विराटनगर, भैरहवा र नेपालगञ्जमा होम डेलिभरी सेवा दिइरहेको छ । भाटभटेनीले टेलिफोन, भाइबर, अनलाइन जस्ता माध्यममा अएको अर्डर लिने र सामान डेलिभरी गर्ने गरिरहेको छ । भाटभटेनीमा फोन गरेर कम्तिमा ५ हजार रुपैयाँ बराबरको सामान अर्डर गर्नुपर्ने हुन्छ । सेल्सबेरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले पनि लकडाउनको समयमा घरघरमै सामानहरु पुराउने व्यवस्था गरेको छ । उपभोक्ताले मगाएका अतिआवश्यक बस्तु फुडमाण्डुडटकमले घरघरमा नै आपूर्ति गर्दिरहेको छ । जिभी एप जिभी एपबाट सजिलै आवश्यक सबै प्रकारको जेनरल मेडिसीन र मेडिकल उपकरणहरु अर्डर गर्न सकिन्छ । जिभी एपले पनि मेडिसीन र मेडिकल उपकरणहरु घरघरमा नै ल्याइदिन्छ ।