गण्डकी प्रदेश समाचार : अन्य प्रदेशबाट गण्डकीमा प्रवेश गर्न नपाइने
पाेखरा । कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनको प्रदेशमा कडाइका साथ पालना गराउन सो निर्णय गरेको बताइएको छ । प्रदेशको एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा हुनसक्ने आवतजावतलाई नियन्त्रण गरी सम्बन्धित जिल्ला र स्थानीय तहमा नै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जानकारी दिए । मालबहाक ट्रक वा अन्य अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधनमार्फत अन्य प्रदेशबाट लुकीछिपी आएका मानिस तथा त्यसरी यात्रु ओसारपसार गर्ने सवारी साधनलाई समेत नियन्त्रणमा राखिने भएको छ । प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबाट भइरहेको राहत वितरणकार्यलाई एकद्वार प्रणालीमार्फत वितरण गर्ने र राहत वितरणमा असङ्गठित क्षेत्रका मजदुर, श्रमजीवी वर्ग र न्यून आय भएका व्यक्तिलाई निष्पक्ष वितरणका लागि प्राथमिकीरण गर्ने र सोको अभिलेख राखिने भएको छ । जिल्ला तथा स्थानीय तहमा व्यवस्था भएका क्वारेन्टाइनगृहलाई मापदण्डअनुसार बनाउन निर्देशन दिने र आइसोलेस रूपमा तयार पारिएका कक्षलाई कोभिड क्लिनिकका रूपमा उपयोग गर्न निर्देशन दिने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी विदेशबाट आएका व्यक्तिको परिवारको र्यापिड डायगेनेष्टिक टेष्ट (आरडिटी) र पिसीआर परीक्षण गर्ने व्यवस्था मिलाइने भएको छ । मस्जिद, मदरसा, मन्दिर, गुम्बा, चर्चलगायतका धार्मिकस्थललाई पूर्णत बन्द गर्ने तथा साँझ बिहान, बजार क्षेत्रमा किनमेलका क्रममा हुने भीडभाडलाई कडाइका साथ अनुगमन र नियन्त्रण गर्ने, नाकाबाट प्रवेश गर्ने सवारी साधनलाई ‘डिसइन्फेक्सन’ गर्न स्प्रे गर्ने र चालकको आरडिटी परीक्षणको व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ । एचआइभी सङ्क्रमितलाई घरघरमै औषधि दमौली – बन्दाबन्दीका कारण औषधि लिन जान समस्यामा परेका तनहुँका एचआइभी सङ्क्रमितलाई तनहुँ सहयोगी समूहले घरघरमै औषधि वितरण शुरु गरेको छ । एचआइभी सङ्क्रमितको अधिकारका लागि काम गर्ने उक्त संस्थाले बन्दाबन्दीका कारण प्रभावित उनीहरुलाई घरमै पुगेर एन्टिरेट्रोभाइरल (एआरभी) औषधि वितरण शुरु गरेको हो । दैनिकरूपमा नियमित सेवन गर्नुपर्ने उक्त औषधि सकिएका सङ्क्रमितलाई सहज होस् भनेर सङ्क्रमितको घरमै पुगेर औषधि वितरण भइरहेको संस्थाका अध्यक्ष श्रीराम कँडेलले जानकारी दिए । “बन्दाबन्दीले सवारीसाधन नचल्दा एचआइभी सङ्क्रमितलाई समस्या भइरहेको बेला नियमितरूपमा सेवन गर्नुपर्ने औषधि घरमै पुर्याउने व्यवस्था मिलाएका छौँ”, उनले भने । एचआइभी सङ्क्रमितलाई औषधि पुर्याउनका लागि संस्थाले जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको छ । कतिपय ठाउँमा भने स्वास्थ्य कार्यालयले स्वास्थ्यचौकीसम्म पुर्याइदिने र त्यहाँबाट एचआइभी सङ्क्रमितले औषधि लिने गरेका छन् । जिल्लामा कूल ३ सय १३ एचआइभी सङ्क्रमित रहेको संस्थाले जनाएको छ । बन्दाबन्दी अगाडि २०० जनाले दुई महिनाका लागि पुग्ने औषधि संस्थाबाट लिएर गइसकेका र बाँकी रहेकालाई भने घरमै पुगेर औषधि वितरण गरिने सस्थाका अध्यक्ष कंडेलले जानकारी दिए । उक्त औषधि नेपाल सरकारबाट निःशुल्क रूपमा उपलब्ध हुन्छ । बाहिर उक्त औषधि खरिद गर्न नपाइने भएकाले संस्थाले नै जिल्लामा यो औषधि सङ्क्रमितलाई वितरण गर्ने गरेको छ । एचआइभी सङ्क्रमितले भाइरसको प्रभाव कम गर्न दैनिकरूपमा एआरभी औषधि सेवन गर्नुपर्छ । औषधि छुटे भाइरसको प्रभाव बढेर सङ्क्रमितको स्वास्थ्यमा असर पर्ने बताइएको छ । नदीमा डुबेर युवकको मृत्यु तनहुँको व्यास नगरपालिका–१३ बेलवासस्थित सेती नदीमा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १९ वर्षीय विक्रम थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार पौडी खेल्ने क्रममा नदीमा डुबेर थापाको मृत्यु भएको हो । युवकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ । नदीमा डुबेर तनहुँमा एक साताको अवधिमा तीन जनाले ज्यान गुमाएका छन् । भिडियो कन्फरेन्समार्फत गाउँपालिकाको बैठक आँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक शुक्रबार विद्युतीय (भिडियो कन्फरेन्स) प्रविधिमार्फत सम्पन्न गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण गाउँपालिकाले जिल्लामै पहिलोपटक कार्यपालिकाको बैठक विद्युतीय प्रविधिमार्फत सम्पन्न गरेको हो । कोभिड–१९ को जोखिम नियन्त्रणका लागि लकडाउन गरिएको अवस्थामा गाउँपालिकाको बैठक बस्नका लागि प्रविधिको प्रयोग गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले भने । बैठकले कोरोना, राहत वितरण र आरडिटी परीक्षणको बारेमा समीक्षा गरेको प्रमुख प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए । गाउँपालिकाअन्तर्गत राहत प्राप्त गरेका नागरिकको बील भर्पाइसमेत संलग्न गरी भुक्तानीका लागि वडाध्यक्षले सिफारिस गर्ने सो बील भर्पाइअनुसारको रकम गाउँपालिकाले कोरोनो रोकथाम तथा नियन्त्रण कोषबाट भुक्तानी उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । सो गाउँपालिकाबाट वितरण गरिएको राहत चामलमा अखाद्य रहेको भनी आँबुखैरेनी गाउँपालिका–३ बस्ने सुरेन्द्रकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा भिडियोसमेत बनाई आवश्यक कारवाही गर्नका लागि आह्वान गरेको हुँदा उक्त चामल तत्कालै जफत गरी गुणस्तर ल्याब टेष्टका लागि पठाइएकामा उक्त चामल गुणस्तरअनुसारको रहेको पाइएकाले ढुक्क भएर उपभोग गर्न सर्वसाधारणलाई आग्रह गर्ने निर्णय गरिएको छ । गाउँपालिकाबाट वितरण गरिएका तीन परिवार र हिमान्सु टेड्र्रसबाट चामलको नमूना सङ्कलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइएको थियो । त्यस्तै चैत १ गतेदेखि हालसम्म विदेशबाट फर्किएका गाउँपालिकाभित्रका १७ जनाको आरडिटी परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको र अन्य कोही छुट भएमा यथाशीघ्र आरडिटी परीक्षण गर्ने निर्णय बैठकले गरेको गाउँपालिकाले जनाएको छ । राहत कोषमा जनसहभागिता बढ्दै बलेवा – बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले स्थापना गरेका कोरोना कोषमा सहयोग थपिने क्रम चलिरहेको छ । सर्वसाधारण, विभिन्न सङ्घसंस्था तथा प्रतिष्ठानले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्वि भएको हो । काठेखोलाले सो कोषमा सहयोग गर्ने दाताको नाम नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । हालसम्म गाउँपालिकाको कोषमा संस्था र व्यक्ति गरी ६२ जनाले सहयोग गरेको अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । सो कोषमा सबैभन्दा बढी रु एक लाख प्रभु बैंकका सिईओ अशोक शेरचनले सहयोग गरे भने सोही ठाउँका सामान्य परिवारले कम्तीमा दुई हजार रूपैयाँसम्म कोषमा जम्मा गरेको तथ्याङ्क छ । काठेखोलाको कोष अहिले बढेर रु २७ लाख ४६ हजार ९ सय ११ पुगेको छ । कोषबाट विभिन्न स्वास्थ्य सामग्रीको खरिद, निःशुल्क एम्बुलेन्स सेवाको सञ्चालनदेखि विपन्न तथा मजदुरका लागि रहात बाँड्नेसम्मका काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । “कोषमा धेरै संघसंस्थाले उत्साहजकरूपमा सहयोग गरिरहनुभएको छ”, अध्यक्ष थापा भने, “स्थानीय सरकारसँग सर्वसाधारणको जुन विश्वास देखियो यो हामी मर्न दिन्नौँ ।” बागलुङ नगरपालिकाको कोषमा रु ६५ लाख ३२ हजार ४३३ पुगेको छ । नगरले आन्तरिक स्रोतको परिचालन गरेर रु ५० लाख जम्मा गरेर कोष खडा गरेको थियो । गण्डकी सरकारले पठाएको रु १० लाख सोही कोषमा राखिएको छ । नगरका कर्मचारीको मासिक तलबबाट केही प्रतिशत कट्टा जम्मा भएको रु तीन लाख दुई हजार पनि सोही कोषमा छ । अन्य दाताहरुबाट दुई लाख ३० हजार ४ सय ३३ रूपैयाँ कोषमा जम्मा भएको छ । जिल्लाका दुई सहकारी संस्थाले समेत कोषमा रकम जम्मा गरेका छन् । जिल्ला दुग्ध उत्पादक सङ्घले ५० हजार र आदर्श सञ्चार सहकारी संस्थाले रु ५० हजार कोषमा जम्मा गरेका हुन् । कोषबाट राहत, औषधि उपचार, सामग्री खरिद र उद्वारलगायतका काम चलिरहेको योजना अधिकृत युक्तप्रसाद सुवेदीले बताए । नगरका जनप्रतिनिधिको भने सुविधाकट्टा भएकाले कोषमा कुनै पनि योगदान गरेका छैनन् । यसैबीच बागलुङ नगरपालिकाले सञ्चालन गरेको खाद्य बैंकबाट हालसम्म बागलुङ नगरपालिकाका चार वडाका ३ सय ४९ विपन्न तथा मजदुरले राहत सामग्री लिएका छन् । वडा नं १ का पाँच, २ का ८७, ३ का ७३ र ४ का १ सय ६९ विपन्न तथा मजदुरले राहत सामग्री लिएका हुन् । बिहीबारसम्म खाद्य बैंकले तीन हजार २ सय ७० किलो चामल, ३ सय २९ किलो दाल, ३ सय २७ साबुन, ३ सय २९ पोका नुन र ३ सय २९ पोका तेल वितरण भएको सुवेदीले बताए । रासस
सूर्या लाइफ इन्स्योरेन्सले गर्याे कोरोना कोषमा साढे सात लाख सहयोग
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा साढे सात लाख सहयोग गरेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पछिल्लो समय बढेसँगै सूर्या लाइफ इन्स्योरेन्सले पनि सो सहयोग गरेको हो । नेपाल सरकारबाट कोरोनालाई नियन्त्रण गर्ने उद्देश्यले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै हालसम्म देश लकडाउन छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका सवै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् । सरकारले पछिल्लो समय निजि संघ संस्थाहरु तथा व्यक्तिलाई सहयोगको लागि अपिल गरिरहेको छ ।
नेको इन्स्योरेन्सका सीईओ खड्काद्धारा कीर्तिपूरका विद्यार्थीलाई खाद्यान्न सहयोग
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खडकाले कीर्तिपूर छात्रावासका विद्यार्थीलाई खाद्यान सहयोग गरेका छन् । उनले त्रिभुवन विश्व विद्यालय (टि.यु) का ५ सय विद्यार्थीलाई उक्त सहयोग गरेका हुन् । लकडाउनको परिस्थितिमा टि.यु.का विद्यार्थीमा उत्पन्न भएको खाद्य संकटमा सीईओ खड्काले राहत स्वरूप उक्त सहयाेग गरेका हुन् । उनले आफ्नो एक महिनाको पारिश्रमिक बापतको योगदान दिएका हुन् । उनले दिएको योगदानबाट विद्यार्थीहरुलाई २ साताको खाद्य संकट टरेको छ । ‘अहिले हामी केही संकटको घडीमा छौँ, यस्तो बेलामा सबैजनाले हातेमालो गरेर अघि बढ्नु पर्छ, कीर्तिपूरका छात्रावासमा रहेका विद्यार्थीलाई खाद्यान्न संकट परेको मैले मिडिमा मार्फत थाहा पाए र आफ्नो एक महिनाको तलब बराबरको सहयोग प्रदान गरेँ,’ सीईओ खड्काले विकासन्युजसँग भने ।
सेती अस्पतालमा उपचाररत् कोरोना संक्रमित युवकको दोस्रो रिपोर्ट नेगेटिभ
काठमाडाैं । सेती प्रादेशिक अस्पतालमा उपचाररत् एकजनाकाे दाेस्राे रिपाेर्ट नेगेटिभ आएको छ। पाँचजना कोरोना संक्रमितमध्ये एकजनाको दोस्रो नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालले बताएकाे छ । उनी लम्कीचुहा नगरपालिकाका-२१ बर्षीय युवक हुन् । अस्पतालका अनुसार अहिले आइसोलेसनमै राखेर उपचार भइरहेको ती युवकको अर्को पटकको रिपोर्ट पनि नेगेटिभ आए मात्रै डिस्चार्ज गरिने छ। धनगढी उपमहानगरपालिका- ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका-१ कि ५२ बर्षीया महिलाको कोभिड-१९ परीक्षण रिपोर्ट पुनः पोजिटिभ देखिएको हो।
फ्रन्टलाइनमा काम गर्नेलाई ५० लाखकाे बीमा, राहत बाढ्न पालिकाहरूलाई ५ देखि २० लाखसम्म नगद
काठमाडौं । प्रदेश १ मा पर्ने उदयरपुर जिल्लामा एकैदिन १२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टी भएको छ । उदरपुर सदरमुकाम गाईघाट नजिकै रहेको भुल्केको एक मस्जिदमा बसेका १२ जना भारतीय नागरिकमा कोभिड १९ संक्रमण भएको पुष्टी भएपछि संक्रमण रोकथामका लागि प्रदेश सरकारले के कस्तो तयारी गरेको छ भन्ने चासो बढेको छ । कोभिड १९ रोकथामका लागि प्रदेश १ सरकारले हरसम्भव तयारी गरेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिए । सचिव रेग्मीका अनुसार कोभिड १९ संक्रमितको उपचारमा संलग्न स्थास्थ्यकर्मी, सुरक्षाकर्मी तथा फ्रन्ट लाइनमा काम गर्ने अन्य कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यू भएमा आश्रित परिवारलाई सरकारले प्रतिमृतक ५० लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ । यस्तै, प्रदेश सरकारले २५ करोड रुपैयाँको कोरोना भाइरस सुरक्षा कोष स्थापना गरेको छ । कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकार र सो प्रदेश अन्तरगतका पालिकाहरुलाई थप राहत रकम आवश्यक परेमा सोही कोषबाट थप रकम उपलब्ध गराउने निर्णय भएको सचिव रेग्मीले जानकारी दिए । ‘कोरोना भाइरस रोकथामको लागि अहिले दिइएको बजेटले नपुग्न सक्छ, यस्तो अवस्थामा जुन मन्त्रालय, निकाय वा स्थानीय तहलाई रकम पुग्दैन, सोही कोषमा रकमान्तर गरेर जम्मा गर्ने र सोही रकमबाट आवश्यक परेका मन्त्रालय, निकाय वा पालिकाहरुलाई रकम दिने व्यवस्था मिलाइएको छ,’ सचिव रेग्मीले विकासन्युजसँग भने । यस्तै, प्रदेश सरकारले सो प्रदेश अन्तरगतका महानगरपालिकालाई २० लाख, उपमहानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १० लाख र गाउँपालिकालाई ५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ । यस्तो रकमबाट सम्बन्धित स्थानीय तहले सो तह अन्तरगतका दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने तथा गरिब नागरिकलाई राहत विरतरण गरिने सचिव रेग्मीको भनाइ छ । प्रदेश १ सरकारले सो प्रदेशमा कोरोना संक्रमित र संक्रमण आशंका गरिएका व्यक्तिलाई राख्नको लागि क्वारेन्टिन र आइसोलेसन वार्ड बनाउनको लागि २ करोड रुपैयाँ बजेट निकासा गरिसकेको छ । यस्तै, कोरोना संक्रमण रोकथामको लागि प्रदेश १ सरकारले विभिन्न ४ वटा समिति पनि बनाएको छ । मुल समितिको संयोजक मुख्यमन्त्री शेरधन राई छन् भने अन्य समितिमा सरोकारवाला मन्त्रालयका सबै मन्त्री सहभागी हुने गरी समिति बनाइएको छ । स्थानीय तहसँगको समन्वयका लागि प्रदेश १ सरकारले बनाएको समितिको संयोजक आर्थिक मामिला मन्त्री संयोजक छन् । यस्तै, आपूर्ति प्रणालीको अनुगमन तथा सहजीकरणका लागि बनाइएको समितिको संयोजक आन्तरिक मामिला मन्त्री छन् । कोरोना उपचार समन्वय समितिको संयोजक सामाजिक विकास मन्त्री छन् ।
पश्चिमी वायुको प्रभावः तीन दिन बदलीसँगै वर्षाको सम्भावना
काठमाडौं । आगामी तीन दिनसम्म मौसम बदली गराउनुका साथै देशका कतिपय भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । स्थानीय वायुको प्रभावका साथै पश्चिमी वायुको प्रभावका वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली साथै पूर्वी र मध्य भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका मध्य र पूर्वका केही स्थनका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ । रातको समयमा पनि देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्च्मिी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघर्जन, चट्याङ÷असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । भोलि आइतबार पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ । पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । रातिको समयमा पनि यो क्रम जारी रहनेछ । त्यस्तै वैशाख ८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराह्नपश्चत पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पछिल्लो मौसमी विवरणअनुसार आज काठमाडौंको अधिकतम तापक्रम २७ दशमलव आठ र न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस छ । बितेको २४ घण्टामा काठमाडौंमा चार मिलीमिटर वर्षा भयो । सबैभन्दा बढी सिमरामा ४४, पोखरामा २५ मिलीमिटर वर्षा भएको छ । ओखलढुङ्गामा छ, धनकुटाम तीन र धनगढीमा सात मिलीमिटर वर्षा भएको छ । रासस
लकडाउनमा तनाब बढ्यो ? कम गर्न यस्ता छन् विज्ञका ५ टिप्स
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न विश्वभरका सरकारले लकडाउन गरेको कारण मानिसको सामान्य मानवीय गतिविधिलाई नै असामान्य बनाइ दिएको छ । हरेक दिन लाखौं संक्रमित भएको र हजारौं मरेको समाचारले धेरैको मन अत्तिएको छ । अहिलेको अवस्थामा घरमा बसेका धेरैले आफूलाई सुरक्षित महसुस गरेका छन् । किनभने यो रोगको एउटा मात्र बच्ने उपाय हो अरु मासिनसँगको शारीरिक दुरी । मानिसको थुकको छिट्टाबाट पनि सर्ने र हालसम्म कुनै पनि उपचार पत्ता नलागेको कारण मासिनहरु यो रोगसँग अत्तालिएका छन् । सारा दुनियाँ घरभित्र बस्दा फ्रन्ट लाइनमा बसेर ड्युटीमा खटिरहेको स्वास्थ्यकर्मी, सुरक्षाकर्मी होस वा अरु पेश व्यवसायका व्यक्तिहरु, उनीहरु सबैले आफूलाई सबैभन्दा धेरै असुरक्षित महसुस गरेका छन् । कोभिड–१९ को डरले धेरैले काम पनि त्यागेका छन् । तर अत्यावश्यक सेवामा संलग्न धेरैले काममा आउँदिन भनेर भन्न सकेका छैनन् । किनभने उनीहरुलाई अत्यावश्यक सेवा प्रवाह गर्नै पर्ने दायित्व छ । त्यस्ता अत्यावश्यक पेशामा संगलग्न धेरै व्यक्तिहरु अहिलेको अवस्थामा सबैभन्दा बढि तनावमा छन् । प्रस्तुत छ यस्ता अत्यावश्यक पेशामा संलग्न तथा घरमा बसिरहेका मानिसका लागि तनाव कम गर्ने उपाय के कस्ता हुन सक्छन् भनेर हामीले त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख मनोचिकित्सक प्राध्यापक डा. सरोज ओझासँग कुराकानी गरेर यो सामग्री तयार पारेका छौं । यो समय हरेक मानिसहरुको लागि एउटा निकै नै ठूलो चुनौती हो । त्यसमा पनि अत्यावश्यक सेवामा संलग्न जो कोहीको लागि यो समय निकै तनावपूर्ण रहेको छ । यो समयमा हामीलाई सबैभन्दा पहिला आफ्नो र आफ्नो परिवारको धेरै माया लागेको छ । तर, हामी कदापि नबिर्सौ कि हाम्रो यो सेवालाई इतिहासले पनि बिर्सने छैन । सारा संसार घरभित्र बसेको अवस्थामा हामीले गर्न पाएको पुण्यको कामलाई कसैले पनि चानचुने नसोचौं । सर्वप्रथम आफूले गरेको कामप्रति आफै गर्व गर्नुपर्छ । हामी आफूलाई सुरक्षित राख्दै अरुलाई पनि सुरक्षित राख्न सक्षम छौं । यो समयमा आफुमा भएको तनावलाई यसरी कम गर्न सकिन्छः १. सन्तुलित भोजन तनाव कम गर्नका लागि सबैभन्दा महत्वपूर्ण उपाय हो सन्तुलित भोजन । तपाईहरु धेरैलाई थाहा नहुन सक्छ तर सन्तुलित भोजनले तनावलाई कम गर्न निकै नै मद्दत गर्दछ । हामी हामीले खाएका खानेकुरा हौं । अर्थात हामी जस्तो खानेकुरा खान्छौं, हामी त्यस्तै बन्छौं भन्ने एउटा प्रख्यात भनाई रहेको छ । पर्याप्त पानी, फलफूल, स्वस्थ खानाले दिमागलाई शान्त राख्नको लागि धेरै मद्दत गर्दछ । यस्तो समयमा तनाव कम गर्न भन्दै रक्सी, सुर्ती, चुरोटको सेवनले झनै तनाव बढाउन सक्छ । त्यसैले सर्वप्रथम सन्तुलित आहारमा सबैभन्दा बढी ध्यान दिनुहोस् । २. शारीरिक व्यायम तनाव कम गर्ने अर्काे उपाय हो शारीरिक व्यायम । यसको लागि तपाईलाई घर बाहिरै गएर दौडिनु पर्छ भन्ने छैन । जिम जानुपर्छ भन्ने पनि होइन । तपाईले घरमा बिहानै उठेर घरभित्रै गीत बजाएर नाच्ने, बिहान समयमा उठ्ने, आफूलाई मन लागेको गीत सुन्दै मनपर्ने खानेकुरा बनाउने, घर सरसफाई गर्ने जस्ता काम गर्न सक्नुहुन्छ । यसलाई अन्य सामान्य दिन जस्तो सोचेर काममा जानुहोस् । काममा पनि सकेसम्म एकैठाउँमा लामो समयसँग नबस्नुहोस् । किनभने लामो समय एकैठाउँमा एउटै काम घोरिएर गर्दा झनै तनाव बढ्छ । ३. २४सैं घण्टा समाचारको पछि नदौडिनुहोस् अहिलेको अवस्थाको बारेमा जानकार भएको राम्रो हो । तर, जतिबेला पनि कति जनाको मृत्यु भयो, कति संक्रमित भए, नेपालमा कति जनामा कोरोना देखियो भन्ने जस्ता समाचारहरुबाट टाढा बस्नुहोस् । कार्यालयमा हुँदा पनि कोभिड–१९ को बाहेक अन्य कुरा गर्नुहोस् । साथीहरुसँग अन्य समयको भन्दा धेरै हाँसिमजाक गर्नुहोस् । एकअर्काेको आत्माबल बढाउने प्रयास गर्नुहोस् । ४. केही समय विश्राम गर्नुहोस् यदि तपाई काममा हुनुहुन्छ र धेरै तनाव महसुुस गरिरहनु भएको छ भने केही समय कानमा एयरफोन हालेर केही आनन्द लाग्ने धुनहरु सुन्नुहोस् । र, केही समय शान्त भएर बस्नुहोस् । आँखा बन्द गरेर लामो लामो सास फेर्नुहोस् । धेरै पानी पिउनुहोस् । अनि एकैपटकमा धेरै काम गर्ने प्रयास नगर्नुहोस् । ५. समयमा सुत्ने, उठ्ने गर्नुहोस् दिमागलाई स्थिर अवस्थामा राख्नलाई मद्दत गर्ने अर्को उपाय हो समयमा सुत्ने र समयमा उठ्ने । समयमा सुत्ने र उठ्ने बानीले तपाईलाई तनाव मुक्त हुने धेरै सहयोग गर्छ । एउटा तालिका बनाएर समयमा उठ्ने, खाने, रमाईलो गर्ने र समयमा सुत्ने बानी बसाल्नुहोस् ।
यसकारण युवा माझ लोकप्रिय छ मोटरहेडको टेक्केन २५०
काठमाडौं । मोटरहेडको नेपालका लागि आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले टेक्केन २५० लाई केही वर्षअघि नेपाल भित्र्याएको थियो । मोटरहेडको सवैभन्दा बढी रुचाइएको यो मोडेलको क्रेज पछिल्लो समयमा झन् बढ्दै गइरहेको छ । यो मोटरसाइकल लोकप्रिय हुनुको खास कारणमा डुअल–स्पोर्टस् जर्न र मूल्यलाई मान्न सकिन्छ । डुअल–स्पोर्टस मोटरसाइकल भन्नाले अनरोड र अफरोड दुवैमा राम्रो पर्फम गर्न सक्ने मोटरसाइकल भन्ने बुझिन्छ । चाइनिज कम्पनी फ्यूगो पावर्सले बनाएको मोटरहेड टेक्केन २५० मा हालसालै पावर थोरै अपग्रेड गरेर बजारमा ल्याइएको छ । अहिले यसको २२३ सीसी ओयलकल्ड इञ्जिनले १८ बीएचपीको पावर र १७ एनएमको टर्क प्रोड्यूस गर्छ । ६–स्पीड गियरबक्स दिइएको यो मोटरसाइकलको पावर–टु–वेट रेसियो पनि राम्रो भएको हुनाले गर्दा राम्रो एक्सलिरेशन र टपस्पिड समेत दिएको छ । ८२० मिलिमिटर सीट हाइट रहेको यो मोटरसाईकल हेर्दा हेभी देखिनुका साथै एडभेञ्चर मोटरसाइकलको लुक्सँग पनि मेल खान जान्छ । एलईडी हेडलाईट दिइएको यो टेक्केन २५० मा डुअल–एक्जस्ट, फ्रन्टमा अपसाइड–डाउन फर्क र रियरमा भने स्विङ्गआर्म एसिस्टेड मोनोशक दिइएको छ । यी मजबुत अपसाइड–डाउन फर्कले मोटरसाइकललाई जस्तोसुकै शक पनि एब्जर्व गर्न मद्दत गर्छ भने यसले मोटरसाइकलको लुक्स पनि बढाएको छ । १७ इञ्च स्पोक व्हिल्स दिइएको यो मोटरसाइकलको टायरहरु फ्रन्टमा ११०/९० र रियरमा १३०/८० सेक्सन छन् । दुईओटै व्हिलहरुमा डुअल–पिस्टन क्यालिपर सहितको डिस्कब्रेक दिइएको यो मोटरसाइकलमा एबीएस चाहिँ दिइएको छैन । त्यसैगरी, मोटरहेडले यो मोटरसाइकलमा २८ मिलिमिटर डायमिटर भएको फ्याट ह्याण्डलवार दिएको छ जसले अफरोडिङ्गको वेला मोटरसाइकल पल्टेर ह्याण्डल बाङ्गिने समस्याबाट छुट्कारा दिएको छ । कम्पनीले नेपाली बजारमा यो मोटरसाइकलको मुल्य तीन लाख ९२ हजार रुपैयाँ तोकेको छ ।