कोरोनालाई जित्दै बागलुङकी ६५ वर्षीया वृद्धा
काठमाडौं । नेपालकी छैटौं कोरोना सङ्क्रमित महिलालाई कोरोना निको भएको छ । बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया कोरोना सङ्क्रमित महिलाको तेस्रो र चौथो पटकको रिपोर्ट नेगेटिभ अर्थात् कोरोना निको भएको आएपछि धौलागिरि अञ्चल अस्पताल बागलुङमा १७ दिनदेखि उपचाररत उनको डिचार्ज गर्ने तयारी भइरहेको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र वि पोखरेलले जानकारी दिए । “हामी बैठकमा छौं”, पोखरेलले भने, “सकेसम्म आजै नत्र भोलि घर पठाउने अस्पतालको तयारी छ ।” गत चैत ४ गते बेल्जियमबाट कतार हुँदै बागलुङ आएकी वृद्धामा चैत १७ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशनमा भर्ना गरी उपचार भइरहेको थियो । कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेशन वार्डमा उपचाररत महिलाको यसभन्दा पहिले दुई पटक स्वाब परीक्षण गर्दा पोजेटिभ आए पनि तेस्रो र चौथौ पटक नेगेटिभ आएका कारण उनलाई कोरोना ठीक भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए । “चौथो रिपोर्ट पनि नेगेटिभ आएको छ”, गुरौंले भने, “दुई पटकसम्म नेगेटिभ रिपोर्ट आउनु भनेको कोरोना निको हुनु हो ।” अस्पतालबाट डिस्चार्ज भएकी महिलालाई अझै केही समय घरकै क्वारेन्टाइनमा बस्नुपर्ने डाक्टरहरुले बताएका छन् । नेपालमा ती महिला कोरोना निको हुने तेस्रो सङ्क्रमित हुने बताइएको छ । रासस
कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एनसीसी बैंकले गर्याे एक करोड सहयोग
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग गर्ने उक्त रकममध्ये ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा ३५ लाख रुपैयाँ सात वटै प्रदेशले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो । बैंकले प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं. दुईका मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधि मार्फत प्रदान गर्ने भएको छ । बैंकले विगतदेखि नै विभिन्न संघसंख्यामा सहयोग प्रदान गर्दै आएको छ । कोरोनाको संक्रमण बढेसँगै लकडाउनको पूर्णपालना गरी सुरक्षित रहन बैंकले सबैलाई आग्रह गरेको छ ।
काठमाडाैंबाट विज्ञ टोली भेरी अस्पताल, आइतबारबाट नियमित परीक्षण शुरु
नेपालगञ्ज । भेरी अस्पतालमा कोभिड—१९संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाडौंबाट विज्ञसहितको टोली आइपुगेको छ । शुक्रबार नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ । पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिविज्ञ सुलभ आचार्यसहितको टोलीले ‘भ्यालिडेट’ दिएपछि मात्र स्वाब परीक्षण शुरु हुने अस्पताल प्रमुख डा.प्रकाशबहादुर थापाले बताए । टोलीले पिसिआर ल्याबको निरीक्षण, उपकरणको जाँच र अस्पतालका माइक्रोबायोलोजिष्टलाई आवश्यक तालिम दिने काम अहिले गरिरहेको छ । ‘आज साँझसम्म हामी एउटा स्वाब परीक्षण गर्छौ, उपकरणले दुरुस्त काम गर्यो भने सम्भवतः आइतबार बिहानैवाट नियमित परीक्षण शुरु हुनेछ’—डा.थापाले भने । भेरी अस्पतालमा पिसिआर उपकरण एक साताअघिनै जडान भइसके पनि सञ्चालन विज्ञ र आवश्यक किट्स केन्द्रबाट आउन ढिलाई भएकाले सुरु हुन ढिलाइ भएको हो । बाँकेमा आरटीडी र पीसीआर विधिबाट ४८३ जनाको कोरोना भाइरस नमूना जाँच गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए । सीमा क्षेत्रमा थप निगरानी कोभिड–१९ को सङ्क्रमण रोकथामको लागि बाँकेमा भारतसँग जोडिएको सीमा जोडिएको क्षेत्रमा थप सुरक्षा चौकी स्थापना गरी निगरानी बढाईएको छ । विश्वमै महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतीय सीमाबाट हुन सक्ने आवत–जावतलाई निस्तेज पार्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा फौज परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार, जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षकसहितको टोली र सीमा सुरक्षा पोष्ट (बीओपी) मा रहेका सशस्त्र प्रहरी सहितको संयुक्त सुरक्षा टोलीले सीमा नाकामा जाँच तथा निगरानी गर्नेछ । सीमा क्षेत्रमा जाँच तथा निगरानीका लागि भारतसँग जोडिएको नरैनापुर नेपाली सीमाक्षेत्र भगवानपुरस्थित हुलासपुरुवा, सुईयाको दश गजा नजिक, कालाफाँटाको कोटिया र नरैनापुरको घरधौरियामा सुरक्षा चौकी स्थापना गरिएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा राप्तीसोनारी गाउँपालिकाको कुसुम बजार, बैजनाथ गाउँपालिकाको मानखोला नजिक सम्झना चोक, कोहलपुर नगरपालिकाको चौराहचोक र नेपालगञ्जको धम्बोझी चोकमा सहयाता कक्ष थप गरी सञ्चालनमा ल्याईएको पनि प्रहरी उपरीक्षक वलीले जानकारी दिए थर्मल गन : गाउँपालिका पुगे, वडामा पुगेनन् कोरोना संक्रमणको त्रास बढेपछि ज्वरो नाप्ने थर्मल गन र व्यक्तिगत सुरक्षा सामग्रीको अभाव हुँदा जोखिम मोलेर काम गर्नु परेको दाङका ग्रामिण क्षेत्रका स्वास्थ्यकर्मीले गुनासो गरेका छन् । ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा वडा स्वास्थ्य केन्द्रमा थर्मल गन नहुँदा जोखिम मोलेर स्वास्थ्य जाँच गर्नुपरेको ज्वरो नाप्नु परेको प्राथमिक स्वास्थ्य केन्द्र श्रीगाउँका इञ्चार्ज रविन गौतमले गुनासो गरे । उपलब्ध गराईका थर्मल गनहरु सबै स्थानीयतहको स्वास्थ्य शाखाले परिचालन गरेका छन् । “हामीलाई तीनवटा आएको थियो”, तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा निरीक्षक बीमल केसीले भने, “तीमध्ये एउटा बिग्रिसकेको छ, एउटा मोबाइल टोलीसँग र एउटा क्वारेन्टाइनमा छ ।” दाङमा २३ वटा थर्मल गन ल्याइएको थियो । अहिले ज्वरो नाप्नका लागि थर्मोमिटर व्यक्तिको काखीमा च्याप्ने र हातले समाएर हेर्ने गर्दा संक्रमण हुन सक्ने स्वास्थ्यचौकी बाघमारेका इञ्चार्ज कमल भण्डारीले बताए । बजारमा पनि उक्त गन नभेटिएको समेत उनको भनाइ छ । ‘बजारमा पनि धेरै खोज्यौं, काठमाडौंमा पनि धेरै ठाउँ खोज्यौं”, उनले भने, “तर कतै भेटिएन् ।” आफू निर्वाचित दाङ क्षेत्र नं.३ का लागि आवश्यक थर्मल गन ल्याउने भनि स्वास्थ्य मन्त्रालयमा बुझ्दासमेत नपाइएको सांसद हिराचन्द्र केसीले बताए । थर्मल गनसँगै सुरक्षाका लागि पिपिईसमेत सीमित मात्रामा रहेकाले अपुग भएको स्वास्थ्यकर्मीको गुनासो छ । “हामीसँग अहिले पर्याप्त पिपिई छैन”, शान्तिनगर स्वास्थ्यचौकीका घनश्याम पाण्डेले भने, “त्यसले गर्दा सबै जनशक्ति समेत खटाउन सकिएको छैन् ।” अहिले स्थानीयतहले नै हेल्थ डेस्क स्थापना गरि थर्मल गनको प्रयोग गरेका कारण प्राथमिक चौकीमा अभाव भएको स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ सम्पकै व्यक्ति कमल चन्दले बताए । पाल्पामा गाउँमै स्वास्थ्य सेवा बन्दाबन्दीका समयमा मारमा परेका नागरिकलाई मध्यनजर गर्दै रामपुर नगरपालिकाले गाउँ गाउँमा पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । नियमित औषधी सेवन गर्ने, दीर्घरोगी र ज्येष्ठ नागरिकलाई लक्षित गरी टोलमा गएर स्वास्थ्य परीक्षण, औषधी वितरण थालिएको हो । शुक्रबार पहिलो दिन वडा नं ३ बाट सेवा शुरु गरिएको नगरपालिकाले जनाएको छ । वडाको गैलुक, लामटाङ्, डाबरा क्षेत्रका ९५ नागरिकको स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई औषधी वितरण गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । नियमित औषधी सेवन गर्दै आएका उच्च रक्तचाप, मधुमेह, दमका बिरामीलाई आवश्यकताअनुसार औषधी प्रदान गरिएको र प्रेसर, ज्वरो जाँचसहित सामान्य उपचार सेवा दिइएको नगरपालिकाका स्वास्थ्यकर्मी कमला श्रेष्ठले जानकारी दिए । रासस
अब घरभित्रै रहेका संगीतप्रेमीलाई मनाेरञ्जन दिन ‘म्युजिक फर पिस’ कार्यक्रम सञ्चालन हुने
काठमाडाैं । कोरोनाको विश्वव्यापी कहरसँगै भौतिक संसारमा ठूलो सन्नाटा छ । ‘लकडाउन’, ‘क्वारेन्टाइन’, ‘सेल्फ आइसोलेसन’जस्ता मानिसलाई एक्ल्याउने शब्दावली अहिले जीवन रक्षाका मानक बनेका छन् । यही बेला एक्लिएको मानव जीवनमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल म्युजिक फर पिस नामक कार्यक्रम सन्चालन गर्ने भएको छ । नेपाल कोरोना बाट ग्रसित भएको बेला घरमै बसेर आफ्ना दर्शक स्रोता हरु सँग कुराकानीका साथमा आफ्ना प्रस्तुतिहरुबाट कलाकारहरुले मनोरन्जान प्रदान गर्नेछन् । साे कार्यक्रम बैशाख ७ गते आइतबार बाट सुरु हुनेछ । हरेक दिन ५ बजे नेपाल ग्यालरीको अफिसियल फेसबूक पेज र ग्रुपबाट साे कार्यक्रम हेर्न सकिने बताइएकाे छ । यो हप्ता गायिका तथा नेपाल आइडलकी प्रतियोगी श्रीङखला जोशी, ममता गुरुङ, गायक टंक तिमिल्सिना, चेतन बोहरा, सुदिप साजनलगायतका कलाकारहरु को प्रस्तुति रहने बताइएकाे छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जना प्रेमीमाझ यसको प्रभावकारिता देखिने बिस्वास राखिएको छ । लकडाउनमा समय व्यतीत गर्न अधिकांश मानिस सामाजिक सञ्जालमा झुन्डिएका छन् । भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ । सामाजिक सञ्जालहरूमाथि अफवाह सिर्जना गर्ने माध्यम बनेको आरोप लागिरहँदा नेपाल ग्यालरीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेका हो ।
उपत्यकामा लकडाउन : प्रहरी देख्दासम्म पालना, ओझेल पर्नासाथ अवज्ञा
काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि यसको अवज्ञा गर्दै सडकमा हिँड्ने र दिनभर पसल खोल्ने बढिरहेका छन् । काठमाडौं उपत्यकाका तीनै जिल्लामा प्रहरीको आँखा छलेर स्थानीयवासी खाद्यान्न किन्न र घुम्नका लागि हिँडिरहेको भेटिन्छ । शनिबार प्रहरीले पसल बन्द गराउन हिँडिरहँदा जडीबुटी, पेप्सीकोला, लोकञ्थली, इमाडोललगायतका स्थानमा प्रहरीको आँखा छलेर पसल खोलिरहेको देखिन्थ्यो । स्थानीय तहले कुन समयमा पसल खोल्ने भनेर तोके पनि यी स्थानमा पुग्दा दिनभरजसो नै भित्री भागमा पसल खुला पाइएको छ । अधिकांश पसलमा आधा सटर खोलेर व्यापार गरिरहेको देखिन्थ्यो । व्यापारीले प्रहरी र मिडियाका प्रतिनिधि आएको देख्नासाथ बन्द गर्ने र उनीहरु जानासाथ खोल्ने गरेका छन् । कतिपय व्यक्ति मोटरसाइकल र स्कुटरमा पानी, ग्यास किन्न हिँड्ने गरेको दृश्य विभिन्न स्थानमा दैनिक देखिन्छ । तरकारी र खाद्यान्नका ती पसलमध्ये कतिपयले घरभित्रबाट दिनभर बिक्री गरेको देखिन्थ्यो । ती पसमा बिहान तोकिएको अवधिमा सामाजिक दूरी कायम गरेको भए पनि दिउँसोको समयमा एकै पटक भीडभाड देखिन्छ र धेरै उपभोक्ता एकैपटक पसलभित्र सामान किनिरहेका दृश्य भित्री सडक छेउमा पसलमा देखियो । नरेफाँटकी सन्ध्या चापागाईँ दिउँसो झण्डै १२ बजेतिर चाउचाउ किन्न जाँदै गर्दा भेटियो । उनी बिहान आफूलाई याद नभएकाले अहिले किन्न हिँडको भन्दै थिए । प्रहरीको आँखा छलेर सामान किन्न जान उनी हतारमा थिए। उनले भने, “छोराछोरीले लकडाउन भने पनि भनेको कुरा नभइ मान्दैनन् अनि जानैपर्छ ।” खाद्यान्न किन्नका लागि मात्रै नभएर हावा खान वा खुट्टा तन्काउन हिँडेको भन्ने व्यक्ति पनि धेरै भेटिन्छन् । तीमध्ये कतिपय मधुमेह, उच्च रक्तचाप, मुटुरोग लगायतका दीर्घरोगका बिरामी छन् । घरमै बसिरहँदा गाह्रो हुने भन्दै दैनिक पाँच/दश मिनेट हिँड्ने गरेको लोकञ्थलीका भीम मगरले बताए । झण्डै एक दशकदेखि मधुमेहको नियमित औषधि खाँदै आएका उनी पहिले बिहान–बिहान हिँड्ने गरेका थिए । लकडाउनका समयमा बिहान जतासुकै भीड भएकाले खाना खानासाथ हिँड्ने गरेको उनले बताए । उनले भने, “खोला छेउमा कोही नभेटिने हुँदा मनोहरा किनारैकिनार हिँड्ने गरेको छु ।” लकडाउनको कार्यान्वयन गराउन प्रहरी मुख्य सडक र भित्री सडकमा समेत खटिएका देखिन्छ । बिहान पसल बन्द गराउनेदेखि दिउँसो छड्के हेर्नका लागि प्रहरी खटिइरहेका छन् । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा हिँड्ने झण्डै तीन हजार ६ सयलाई सडकमै तीन घण्टा उभ्याएर मात्रै पठाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । लकडाउन अझै कडाइ गर्ने सरकारको निर्णयसँगै यस्तो कारवाहीमा पर्नेको सङ्ख्या बढिरहेको छ । अझै पनि धेरै नागरिकले लकडाउन मेरा लागि भन्दा पनि नेपाल प्रहरीका लागि भन्ने बुझ्दा यसको अवज्ञा भइरहेको चोकचोकमा खटिने प्रहरी बताउँछन् । कतिपय व्यक्ति हातमा थोरै तरकारी बोकेर बिहानभरि घुम्ने गरेको पाइएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । सरकारले अत्यावश्यक कामका लागि उपलब्ध गराएको ‘सवारी पास’ पनि दुरुपयोग भइरहेको छ । कतिपय व्यापारीको त्यही सटरमा पसल र त्यहीभित्र पकाउने, खाने र त्यही सुत्ने भएकाले पनि सटर आधा खोलिएको पाइएको छ । प्रहरीले कारवाही नगर्दा पनि गरेन भन्ने र गर्दा पनि त्यसको विरोध हुने गरेको उनको भनाइ छ । विभिन्न बहानामा छोटो दूरीमा हिँडिरहेका पैदलयात्रु हुन् वा काठमाडौं हुँदै काठमाडौं बाहिर घरसम्म जान लागेका नागरिकलाई रोक्दा र नरोक्दा दुवै अप्ठ्यारो भएको उनले बताए । अत्यावश्यक सामग्री किन्न जाँदा पनि प्रहरीले माक्स लगाउन, समूहमा नहिँड्न भन्ने गरेको छ । उनले भने, “उल्टै प्रहरीलाई जे गरे के मतलब भन्दै झगडा गर्ने र एर्काथरि सामाजिक सञ्जालमा भिडियो हाल्ने गर्छन् ।” आम नागरिकलाई सरकारले सामाजिक दूरी कायम गर्न भने पनि नेपाल प्रहरीमा लागु हुनसकेको छैन । प्रहरीले लामो समयसम्म र धेरै दिनदेखि कोरोना ड्युटी गरिरहेकाले छन् । उनीहरुले स्वास्थ्य सुरक्षाका लागि माक्स र स्यानिटाइजरको प्रयोग गर्दै लामो समयसम्म ड्युटीमा खटिरहेको उनले बताए । अरु नियमित ड्युटीसँगै लकडाउन कार्यान्वयनका लागि सडकमा खटिएका प्रहरीलाई काममा उत्साह जगाउन जरुरी छ । प्रहरीलाई एकातिर कामको चाप र अर्कातिर चुनौती दुवै भएको उनले भने । नागरिकले मेरो लागि लकडाउन गरिएको हो भनी बुझेर घरमै बस्दा उनीहरु र प्रहरी दुवैलाई राम्रो हुन्छ । उनले भने, “नेपाल प्रहरी अहिले पनि बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म नियमित ड्युटीमा खटिइरहेका छन् ।” रासस
सर्वसाधारणको प्रश्नः बाहिर लकडाउन छ, बैशाखमै विद्युत महसुल तिर्न के उडेर जाउँ ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत फागुन र चैतको विद्युत महसुल वैशाखभित्र तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णय बमोजिम प्राधिकरणले फागुन र चैतको बिद्युत महसुल बैशाखमै तिर्ने ग्राहक अर्थात उपभोक्तालाई जरिवाना नगर्ने निर्णय गरेको हो । यो निर्णय आफैमा राम्रो छ । २/३ महिनाको विद्युत महसुल एक महिना नै तिर्न पाउनु आफैमा राम्रो काम र निर्णय हो । तर, आम सर्वसाधारणहरुले भने त्यो निर्णयमाथि प्रश्न खडा गरेका छन् । उनीहरुले देश लकडाउन भएको समयमा आफुहरुले कसरी विदुत महसुल तिर्ने भन्ने प्रश्न खडा गरेका हुन् । विभिन्न सञ्चार माध्यममा बैशाखमै विदुत महसुल तिरेमा जरिवाना नलाग्ने समाचार त आए । तर, आम सर्वसाधारणले भने यो निर्णय माथि ठूलो प्रश्न खडा गरेका हुन् । बैशाखमा विदुत महसुल तिरे जरिवाना नलाग्ने समाचार प्रकाशित भएको कमेन्टमा सर्वसाधारणले प्रश्न गरेका छन् । उनीहरुले जनताका लागि राम्रो भएपनि लकडाउनको समय पारेर यस्तो गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन् । काठमाडौं मइतिदेवीका सुरज त्रिपाठीले सरकरको यो निर्णयले सर्वसाधारण जनतालाई नछुने बताए । ‘लकडाउनको कारण सबै घरभित्रै छन्, अनलाइनबाट तिर्न सक्ने तिर्लान्, तर, अनलाइनबाट तिर्न नजान्नेका लागि यो निर्णयले काम गर्दैन,’ उनले भने । देशका धेरै मानिसहरु अनलाइनबाट तिर्न सक्ने नभएकोले सरकारको यो निर्णय विभेदकारी भएको उनको बुझाई छ । उनले लकडाउनको मौका छोपेर बैशाखमा तिरे जरिवाना नलाग्ने निर्णय सरकराले लोकप्रिय बन्न खोज्नु बाहेकको नभएको बताए । यस्तै, सोही ठाउँका सुनिल यादव पनि सरकारको यो निर्णय सर्वसाधारणको लागि भन्दा पनि लोकप्रिय बन्न र जय–जय पाउनका लागि भएको बताउँछन् । ‘नेपालमा धेरै मानिसहरु विकटमा बस्छन्, उनीहरु यो अवस्थामा न बाहिर निस्कन सक्छन् न अनलाइनबाट विद्युत महसुल तिर्न सक्नछन्, सरकारको यो निणर्य मलाई उचित लागेन,’ उनले भने । लकडाउनको समयमा नभएको भए सरकराको यो निर्णय राम्रो र स्वागतयोग्य नै हुने उनको भनाइ छ । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था भएकोमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार, फागुन र चैत महिनाको महसुल वैशाखभित्र तिरेमा जरिवाना छुट दिने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । तर, सर्वसाधारणको यो प्रश्नमा घिसिङ सहमत छैनन् । उनले यदि लकडाउन बढ्यो भने विद्युत महसुल तिर्ने समावधि पनि लम्बिने बताए । ‘प्राधिकरणको वित्तीय जोखिम न्यूनीकरणका लागि अनलाइनबाट तिर्न सक्नेले महसुल तिर्न सक्ने आग्रह गरेका हौं, यदि लकडाउन बढ्यो भने महसुल तिर्ने समय पनि बढाइन्छ, घिसिङले भने । लकडाउनको कारण सिंगल फेज मिटर रहेका घरायसी ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्न नसकिएको उनको भनाइ छ । तर, ग्राहकहरुले अघिल्लो महिनामा तिरेको रकम बराबरको महसुल प्राधिकरणका आय संकलन गर्न स्वीकृति प्राप्त विभिन्न आठवटा अनलाइन सेवाप्रदायकमार्फत भुक्तानी गर्न सकिने उनले बताए । ग्राहकले बढी तिरेको छकि वा कम यसको बारे लकडाउन सकिसकेपछि यकिन गर्ने उनको भनाइ छ । प्राधिकरणलाई वित्तीय रुपमा नोक्सान नहुन वा जोखिम कम गर्नको लागि यो निर्णय गरेको घिसिङले बताए ।
कर्णालीमा युवा स्वरोजगार व्यावसायिक परियोजना तयार
काठमाडौं । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँका २९ हजार युवालाई स्वरोजगार दिने अग्र्यानिक कृषि व्यावसायिक परियोजना तयार गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ देखि युवा केन्द्रित हुनेगरी कृषि मन्त्रालयले ‘अग्र्यानिक कृषि व्यावसायिक स्वरोजगार परियोजना’ बनाएको हो । मन्त्रालयले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहका ७१८ वडापालिकाका २८ हजार ७२० युवा स्वरोजगार हुनेगरी अग्र्यानिक कृषि व्यावसायिक परियोजना बनाएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए । “कर्णाली सरकारले यो प्रदेशलाई अग्र्यानिक बनाउने लक्ष्यका साथ अभियान शुरु गरिसकेको छ” मन्त्री केसीले भने, “युवा लक्षित ‘अग्र्यानिक कृषि व्यावसायिक स्वरोजगार परियोजना’ प्रदेश सरकारको यो अभियानमा कोसेढुङ्गा सावित हुनेछ ।” यसका लागि सङ्घीय सरकारसँग छ अर्ब ४६ करोड रुपैयाँको प्रस्ताव गरिएको उनले भने । यस विषयमा सङ्घीय सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालसँग कुरा भएको मन्त्री केसीले जानकारी दिए । सातै प्रदेशका कृषि मन्त्रीबीच शुक्रबार भएको भर्चुअल बैठकमा पशुपक्षी विकासमन्त्री भुसालले कर्णाली प्रदेशको उक्त योजना निकै राम्रो भएको भन्दै त्यसका लागि सङ्घीय सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने वचन प्राप्त भएको मन्त्री केसीले बताए । स्थानीय तहको एउटा वडाका ४० जना युवालाई स्वरोजगार दिनेगरी बनाइएको यो परियोजनाले यहाँको बाँझो जमिनको प्रयोग र युवा पुस्ता पलायनमा कमी आउने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायले बताए । आयोगका सदस्य डा रोकायले भने, “अग्र्यानिक कृषि व्यावसायिक स्वरोजगार परियोजना’को प्रभावकारी कार्यान्वयन हुन सक्नुपर्छ, कर्णाली कृषिमा आत्मनिर्भर र अग्र्यानिक प्रदेश निर्माणको लक्ष्यबिन्दुमा पुग्छ ।” उक्त मन्त्रालयका सूचना अधिकारी धनबहादुर कठायतले जुम्ला तथा सुर्खेतमा प्रादेशिक शीतगृह जैविक विषादी उत्पादन प्रयोगशाला तथा दाना उद्योग निर्माण, सिँचाइ र विदेशबाट फर्किएका तथा कोरोना प्रभावित युवा लक्षित हुनेगरी बाँझो जमिन उपयोग तथा चक्लाबन्दीको कार्यक्रम बनाएर सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा प्रस्ताव पठाउन थालिएको बताए । सूचना अधिकारी कठायतका अनुसार कृषि मन्त्रालयले निर्माण गरेका परियोजना र कार्यक्रमले प्रदेश सरकारले लिएको आत्मनिर्भरताको नीति र अग्र्यानिक प्रदेश निर्माणको सपना एवं अभियान पूरा हुने जनाए । विश्वव्यापी प्रकोप बन्दै गएको ‘कोभिड–१९’ बाट चालू आवमा केही नभए पनि आगामी आर्थिक वर्षबाट यहाँको कृषि तथा पशुपक्षी विकासमा अपेक्षित प्रगति देखाउने नीति, योजना तथा कार्यक्रम प्रदेश सरकारले बनाएको उनको भनाइ थियो । रासस
कर्णालीमा पहिलो पटक बन्यो, स्यानिटाइजर गेट
काठमाडौं । सुर्खेतका दुई युवाले कर्णालीमै पहिलो पटक शरीर निर्मलीकरण गर्ने अत्याधुनिक उपकरण तयार गरेका छन् । युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक मेसिन बनाएका हुन् । कोरोना भाइरसलगायतका अन्य किटाणु नष्ट गर्न उपकरण उपयोगी हुने बताइएको छ । राजेन्द्र बायो केमिष्ट तथा श्याम साइन्स फिजिक्सका अनुसन्धानकर्ता हुनुहुन्छ । पश्चिम नेपालमै पहिलो पटक आफूहरुले यस प्रकारको उपकरण बनाएको उनीहरुको दाबी छ । राजेन्द्रका अनुसार विद्युतीय मोटर पम्पको सहायताबाट केमिकल स्पे्र गराएर तत्कालै व्यक्तिलाई भाइरसरहित गराउने सकिन्छ । स्यानिटाइजर गेटमा प्रवेश गर्ने र फर्किने दुईवटाद्वार रहेका छन् । प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर सञ्चालन गर्दछ । उक्त मेसिनमा निर्मलीकरणका रुपमा विश्वभर प्रयोग हुँदै आएको सोडियम हाइपोक्लोराइट केमिकल प्रयोग गरिएको छ । “यो मेसिन प्रयोग गरेर दैनिक सयौँ मानिसलाई पूर्णरुपमा किटाणुरहित गराउन सकिन्छ”, राजेन्द्रले भने, “सेवाग्राही तथा कर्मचारीको भीडभाड बढी हुने कार्यालयमा स्यानिटाइजर गेट निर्माण गर्दा धेरै उपयोगी हुन्छ ।” आफूहरुले पहिलो पटक निर्माण गरेको नमूना स्यानिटाइजर गेट वीरेन्द्रनगर नगरपालिकालाई निःशुल्क प्रदान गरेको उनले जानकारी दिए । यसका लागि सोलार सिस्टम जडानमा ८० हजार रुपैयाँ, विद्युतीय सिस्टम जडानमा ६० हजार रुपैयाँ लागत लाग्छ । साथै एउटा प्याकेजका लागि कम्तीमा ५० लिटरको केमिकल आवश्यक पर्छ । विष्ट दाजुभाइले वीरेन्द्रनगरमा सुर्खेत साइन्स एण्ड सर्जिकल र सुर्खेत बायोकेमिकल एण्ड हाइजिन इन्डस्ट्री सञ्चालन गरे । यी उद्योगबाट ‘सुबिन’ ब्राण्डका हार्पिक, स्यानिटाइजर उत्पादन हुँदै आएका छन् । रासस