विवाहका लागि पास नपाएर तनावमा हुनुहुन्छ ? अब पास बिनै गर्न पाइन्छ
काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले विवाहका लागि प्रयोग हुने सवारी साधानका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास आवश्यक नपर्ने भएको हो । सवारी पास नभए पनि केही शर्तको पालना भने गर्नुपर्ने छ । जिप्रकाले शनिबार जारी गरेको सार्वजनिक सूचनाअनुसार विवाह हुने स्थानीय तहको सिफारिस बोक्ने, सवारी साधनमा शुभ विवाहको ब्यानर राख्ने, प्रहरीसँग समन्वय गर्ने, बेहुला, बेहुली, पण्डित र पूजा सामग्री राख्ने, कमभन्दा कम व्यक्ति लिएर विवाह सम्पन्न गर्नुपर्ने छ । विवाहमा सहभागी हुने दुबै तर्फका जन्तीले सामाजिक दूरी कायम गर्नुपर्ने र कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गरी सावधानी अपनाउनुपर्ने छ । सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायका अनुसार हालसम्म सवारी साधनको इ-पासका लागि ५५८ जनाले निवेदन दिएकामा बिरामी र सुत्केरी बोक्ने ४८ सवारी साधनलाई पास उपलब्ध गराइएको छ । अस्वीकृत गरी जानकारी पठाइएका निवेदन ४७१ वटा रहेका छन् । विचाराधीन अवस्थामा रहेका निवेदनको सङ्ख्या २९ रहेको छ । जिल्ला प्रशासन कार्यालयमा आएका ६१ गुनासोको सुनवाइ गरी समस्या समाधान गरिएको छ । रासस
५० वटा ग्यास उद्योगको अनुमति खारेज
काठमाडौँ । अनुमति लिएर सञ्चालन नभएका ५० वटा ग्यास उद्योगको अनुमति नेपाल आयल निगमले खारेज गरेको छ । ग्यास उद्योग निर्माण गरी सञ्चालन गर्न अनुमति लिने तर उद्योग निर्माण नगर्ने, अनुमतिपत्र खरिद बिक्री गर्ने प्रवृत्तिको अन्त्य गर्न निगमले ग्यास उद्योगको अनुमति खारेज गरेको हो । उद्योग विभागमा ग्यास उद्योग दर्ताका लागि निवेदन दिने र उद्योग विभागबाट निगमसँग राय प्रतिक्रिया माग गरेपश्चात सम्पर्क विहीन हुने परिपाटी बढेसँगै ती उद्योगको अनुमति खारेज गरिएको निगमले बताएको छ । निगमले अनुमति लिएका उद्योगलाई तत्काल सञ्चालनमा आउन तीनपटक सूचना जारी गरेको थियो । ३ पटकसम्म सूचित गराउँदा पनि सम्पर्कमा नआएको उद्योगहरुको निगमले अनुमति खारेज हो । यी हुन खारेजीमा परेका उद्योग सुदूरपश्चिम एलपी ग्यास उद्यागे, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रर्पोज, एचएच कम्पनी, वर्षा ग्यास, जेपी ग्यास, एशियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यास, सप्तकोशी ग्यास, हरि ग्यास, कमला ग्यास, दक्षिणकाली ग्यास, सिद्धबाबा ग्यास, मातारानी ग्यास, पञ्चलक्ष्मी ग्यास, विरता ग्यास, विकल्प ग्यास, बुहारी ग्यास, स्मार्ट गइँस, केदार ग्यास, पूजा ग्यास, सगुन ग्यास र कञ्चनजङ्गा ग्यास रहेका छन् । यसैगरी सरस्वती ग्यास, आरके ग्यास, श्याम ग्यास, श्रीमाया ग्यास, जयश्री तिरुपति ग्यास, पञ्चकोशी ग्यास, बुद्ध इन्डष्ट्रिज, आदित्य ग्यास, गणेश ग्यास, तिलौराकोट ग्यास, ग्रीन ग्यास, बागेश्वरी ग्यास, सान्भी ग्यास, गौरीशङ्कर ग्यास (शाखा), हिमालयन पेट्रो केमिकल्स (शाखा), कोशी ग्यास (शाखा), लुम्बिनी ग्यास (शाखा), नारायणी ग्यास (शाखा), नेपाल ग्यास (शाखा), नोबेल ग्यास (शाखा), राजधानी ग्यास (शाखा), सहारा ग्यास (शाखा), सुगम ग्यास (शाखा), भेरी ग्यास (शाखा) र नेपाल ग्यास उद्योग (नारायणी) प्रालि (शाखा) पनि खारेजीमा परेका छन् ।
कोरोना कहर : पछिल्ला ८ ठूला घटनाहरू
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीको कहर थामिएको देखिएको छैन । युरोपमा यो महामारीबाट करीब एक लाख जनाको ज्यान गइसकेको छ । स्पेनले लकडाउन बढाउने फैसला गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले अमेरिकाका केही राज्यलाई खोल्ने घोषणा गरेका छन् । टेक्सस र वर्मोटमा सोमवारबाट केही कारोवार खोलिनेछन् । – स्पेनका प्रधानमन्त्रीले ९ मईसम्म लकडाउन बढाउनका लागि भनेका छन् । स्पेनका प्रधानमन्त्री पेद्रो सैंचेजले शनिवार भने अनुसार उनी संसदलाई १५ दिन अझ लकडाउन बढाउनका लागि भन्नेछन् । – टर्कीमा कोरोना भाइरसको मामला ईरानमा भन्दा पनि बढि भइसकेको छ । टर्कीमा अहिलेसम्म कोरोना भाइरसका कूल ८२ हजार ३ सय २९ मामला अगाडि आइसकेका छन् । यसका साथै मध्यपूर्वमा टर्र्की कोरोना भाइरसको चपेटामा सवैभन्दा माथि आइपुगेको छ । टर्कीका स्वास्थ्यमन्त्रीले शनिवार भनेका छन् कि छिमेकी ईरान भन्दा पनि भाइरसको संक्रमणको बढि मामला टर्कीमा भएको छ । – मोरक्कोले एक महिना अझ लकडाउन बढाएको छ । अब मोरक्कोमा २० मई सम्म लकडाउन रहनेछ । – फ्रान्समा पछिल्ला २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ६४२ जनाको मृत्यु भएको छ । यसको साथै फ्रान्समा कोरोना भाइरसबाट मृत्यु हुनेको कूल संख्या १९ हजार ३ सय २३ पुगेको छ । फ्रान्स दुनियाँको चौथो देश हो जहाँ कोरोना भाइरसबाट धेरैको ज्यान गएको छ । – ब्रिटेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ हजार पागर गरेको छ । पछिल्लो २४ घण्टामा यहाँ ८८८ जनाको मृत्यु भएको छ । हालसम्म कूल १५ हजार ४ सय ६४ जनाको मृत्यु भइसकेको छ । – बंगलादेशमा लकडाउन र सामाजिक दूरीको नियम उल्लंघन गर्दै कपडा सिलाई गर्ने कामदारहरु सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् । – न्यूयोर्कमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या पछिल्लो दुई हप्तामा सवैभन्दा तल्लो स्तरमा छ । शुक्रवार त्यहाँ ५४० जनाको मृत्यु भयो । (बीबीसी हिन्दीबाट साभार)
कोरोना संक्रमणः यस्तो छ अहिलेसम्म विश्वभरको अपडेट
काठमाडौं । अहिले विहान ६ः३० बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २३ लाख ३० हजार ८ सय ५२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ६० हजार ७ सय ५४ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९६ हजार ४ सय ८२ जनालाई चाहिँ निको भइसकेको छ । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ३९ हजार १४ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ७ लाख ३८ हजार ७ सय ९२ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १५ हजार ७ सय २२ पुगेको छ भने अहिलेसम्म ५२१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३१ जना संक्रमित भएका छन् भने ३ जना लाई निको भइसकेको छ । (तथ्यांक साभार : वल्डोमिटर)
काे हुन् ३१औं कोरोना संक्रमित ?
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित संक्रमित संख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ। मन्त्रालयकाे अनुसार विराटनगरको क्वारेन्टाइनमा बसेका ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा भेटिएका १२ जना काेभिड-१९ संक्रमित समुहकै रहेकाे बताईएकाे छ ।
कोराना जितेकी वृद्दा भन्छिन्: हिम्मत नहारौं, कोरोनालाई अवश्य जितिन्छ
काठमाडौं । बाग्लुङको अञ्चल अस्पताल भर्ना भएकी ६५ वर्षीया कोराना भाइरस संक्रमित महिलालाई कोरोना भाइरस नेगेटिभ देखिएपछि डिस्चार्ज भएकी छन् । उनी चैतमा १९ कोरोना भाइस पोजिटिभ देखिएपछि अस्पताल भर्ना भएर उपचाररत थिइन् । आज उनको चौथो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज दिएको हो । उनले भन्छिन्, ‘हिम्मत नहारौं, कोरोनालाई अवश्य जितिन्छ।’ ती महिलाभन्दा अगाडि कोरोना संक्रमण भएर भर्ना भएकी १९ वर्षिया युवतीको भने चौथो पटकको परीक्षण पोजिटिभ आएको छ। ६५ वर्षिया महिला र ती युवती बेल्जियम हुँदै चैत ४ गते नेपाल आएका हुन्। कतार एयरवेजको विमानमा नेपाल आएकामध्ये संक्रमण देखिएकी अर्की युवती आजै टेकु अस्पतालबाट डिस्चार्ज भइसकेकी छिन्।
नेपाल एसबिआई बैंकले कोरोना नियन्त्रण कोषमा एक करोड सहयोग गर्ने
काठमाडौं । नेपाल एसबिआई बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । बैंक संचालक समितिका निर्णयनुसार प्रदेश नं. दुईको मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट तथा कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई ५/५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । सो कार्यक्रमअन्तर्गत बाँकी रहेका प्रत्येक प्रदेश सरकारलाई ५/५ लाख र केन्द्रीय सरकारलाई ५० लाख रुपैयाँ अविलम्ब उपलब्ध गराइने साथै बाँकी रहेको १५ लाख रुपैयाँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा विभिन्न वर्ग अति विपन्न व्यक्ति र समुदायमा खर्च गरिरहेको बैंकले जनाएको छ ।
कोभिड–१९ निर्देशिका : स्वास्थ्य संस्थाको सेवा व्यवस्थित
काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण प्रभावित भएको मुलुकको स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउँदै सङ्क्रमण फैलिन नदिन सरकारले स्वास्थ्य संस्थाको सेवालाई व्यवस्थित गरेको छ । स्थानीयदेखि बहुविज्ञ सेवा प्रदान गर्ने अस्पतालको सेवा प्रवाहलाई निश्चित गरी सेवा चुस्त बनाइएको हो । बिरामीको सङ्ख्यामा हुनसक्ने सम्भावित वृद्धि र त्यसपछिको उत्पन्न हुनेसक्ने असहज परिस्थितिलाई मध्यनजर गरी सरकारले कोभिड–१९ र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका जारी गर्दै तहगतरुपमा स्वास्थ्य संस्थाको जिम्मेवारी छुट्याएको छ । स्वास्थ्य सेवा सञ्चालनमा समुचित मार्ग निर्देश गर्न सरकारले जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशिकामार्फत तहगतरुपमा सेवा विभाजन गरेको हो । निर्देशिका जारी भएसँगै तोकिएको अस्पतालले निर्देशिकामा उल्लेख भएअनुसारको जिम्मेवारी निर्वाह गर्नुपर्नेछ । प्राथमिक र विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थामा कोभिड–१९ का शङ्कास्पद, सम्भावित र पुष्टि भएका बिरामीको व्यवस्थापन सरल र सहज बनाउन सरकारले उक्त निर्देशिका जारी गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए । निर्देशिकामा कोभिडबाहेकका स्वास्थ्य सेवालाई निरन्तरता दिन र कोभिड–१९ को प्रभावकारी उपचार तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरेको छ । सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म सरल पहुँचका लागि स्थानीय तहले अवश्यक प्रबन्ध मिलाउने व्यवस्था गरिएको छ । कोभिड– १९ को शङ्कास्पद सम्भावित र पुष्टि भएका केसको व्यवस्थापनका लगि तहगत व्यवस्था गर्न भनिएको छ । महामारी अवधिभर कोभिड क्लिनिक सञ्चालन गरी शङ्कास्पद बिरामीलाई छुट्याइ सेवा सञ्चालन भइरहेको सरकारले जनाएको छ । मुलुकभरका अस्पताल र स्वास्थ्य संस्थालाई पाँच तहमा (लेबल)मा विभाजन गरिएको छ । कुन तहको स्वास्थ्य संस्थाले कस्तो सेवा उपलब्ध गराउने भन्ने स्पष्ट तोकिदिएको श्रेष्ठले बताए । निर्देशिका अनुसार कुनै अस्पतालले उपलब्ध गराएको स्वास्थ्य सेवाका क्रममा कोभिड–१९ पोजेटिभ पुष्टि नभएसम्म बिरामीलाई अन्य अस्पतालमा पठाउन पाउने छैन । पठाउँदा स्थानीय सरकारको आधिकारिक स्वास्थ्य संस्थाको स्वीकृति लिनुपर्नेछ । स्वास्थ्य सेवा सञ्चालनका लागि सरकारले निजी स्वास्थ्य संस्था तथा मेडिकल कलेजलाई समेटेर १ सय ११ वटा कोभिड क्लिनिक अस्पताल सञ्चालन गरेको छ । ती अस्पतालले आवश्यक क्लिनिक सेवा दिने छन् । जिल्लास्थित प्रादेशिक अस्पताल, मेडिकल कलेज, कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल हुन् । मुख्य गरी आइसोलेसन, नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ । यसलाई दोस्रो तहको अस्पतालको मान्यता छ । पहिलो तहका अस्पताल सरकारले जारी गरेको निर्देशिकामा सबै स्वास्थ्य चौकी, प्राथमिक उपचार केन्द्र र प्राथमिक अस्पताल पहिलो तहका अस्पताल तोकिएको छ । यसले आधारभूत परामर्श तथा प्रेषण सेवा उपलब्ध गराउनेछ । यस किसिमका अस्पतालले बिरामीलाई आवश्यक परामर्श दिइ शङ्कास्पद भएकालाई नजिकको कोभिड क्लिनिक अस्पताल वा तोकिएको कोभिड अस्पतालमा समन्वय गरी पठाउने छन् । दोस्रो तहको अस्पताल जिल्लास्थित प्रादेशिक अस्पताल, मेडिकल कलेज कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पताल दोस्रो तहका अस्पताल हुन् । यस्ता अस्पताल मुलुकभर १ सय ११ वटा तोकिएको छ । उक्त अस्पतालमा आइसोलेसन वार्डसमेत छ । यहाँबाट नमूना सङ्कलन तथा प्रेषणको सेवा उपलब्ध हुनेछ । उक्त अस्पतालले पहिलो तहबाट आएका बिरामीको स्क्रिनिङ गरी शङ्कास्पद बिरामीको आइसोलेसनमा राखेर उपचार गर्न सक्छन् । नमूना सङ्कलन गरी तोकिएको प्रयोगशालामा पठाए । पोजेटिभ देखिएका सामान्य अवस्थाका बिरामीलाई ‘लेबल १ कोभिड’ अस्पतालमा र जटिल तथा अति जटिल अवस्थाका बिरामीलाई लेभल २ कोभिड अस्पतालमा सिधै पठाउनुपर्ने निर्देशिकामा उल्लेख छ । तेस्रो तहको अस्पताल सरकारले तेस्रो तहको अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पताल भनेर तोकेको छ । यहाँ सामान्य किसिमका बिरामीको उपचार हुन्छ । कोभिड क्लिनिकबाट पठाइएका र यही अस्पतालमा पहिचान भएका बिरामीको आइसोलेसनमा राखेर उपचार गर्ने काम ‘लेबल १ कोभिड’ अस्पतालले गर्छ । वाग्मती प्रदेशमा आयुर्वेद रिसर्च एण्ड टे«निङ सेन्टर कीर्तिपुर, काठमाडौँ मेडिकल कलेज भक्तपुर, कोरोना अस्थायी अस्पताल भरतपुर रहेका छन् । प्रदेश १ मा कोभिड अस्थायी अस्पताल विराटनगर र प्रदेश २ मा जानकी अस्पताललाई तोकिएको छ । गण्डकी प्रदेशमा बाग्लुङ अस्पताल र पोखरास्थित पोखरा एकेडेमी अफ हेल्थ साइन्सलाई तोकिएको छ । यस्तै प्रदेश नं ५ मा राप्ती एकाडेमी अफ हेल्थ रिसर्च अस्पताल, राप्ती प्रादेशिक अस्पताल दाङ, लुम्बिनी अस्पताल बुटवल र भीम अस्पताल भैरहवालाई तथा, कर्णाली प्रदेशमा अस्थायी कोभिड अस्पताल ९सुर्खेत अस्पताल० र सुदूरपश्चिम प्रदेशमा अछाम अस्पताललाई ‘लेबल १ कोभिड’ अस्पतालका रुपमा तोकिएको छ । चौथो तहको अस्पताल चौथो तहको अस्पताललाई ‘लेबल २ कोभिड’ अस्पताल भनेर तोकिएको छ । यहाँ मध्यम र अति जटिल बिरामीको उपचार हुन्छ । अन्य अस्पतालबाट रिफर भएर आएका बिरामी तथा अति जटिल केस यसले हेर्छ । हाइडिपेन्डेन्सी र आइसियू केयर भएका तोकिएका कोभिड अपतालमा प्रोटोकलअनुसार उपचार गर्ने गरिन्छ । यस्ता अस्पताल वाग्मती प्रदेशमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, नेपाल सशस्त्र प्रहरी अस्पताल र भरतपुर अस्पताल रहेको छ । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी र जनकपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा एकेडेमी अफ हेल्थ साइन्स अस्पताल, प्रदेश ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा कर्णाली एकेडेमी अफ हेल्थ साइन्स र सुर्खेत अस्पताल तथा सुदूरपश्चिमा प्रदेशमा सेती अस्पताल छन् । पाँचौं तहका अस्पताल ‘लेबल ३ कोभिड’ अस्पतालहरु पाँचौँ तहका अस्पताल हुन् । यसमा बहुविज्ञ सेवा उपलब्ध छ । पूर्वको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौं, नेपालगञ्ज मेडिकल कजेल कोहलपुरलाई लेबल ३ मा राखिएको छ । तेस्रो तहको कोभिड अस्पतालमा भने शल्यक्रिया सेवासहित बहुविज्ञ सेवा प्राप्त हुने छ । एम्बुलेन्स सेवा सरकारले कोभिड–१९ का बिरामीलाई अस्पताल पुर्याउनका लागि तयार पारिएको निर्देशिकाबमोजिम कोभिड केसका लागि सङ्घ, प्रदेश र जिल्ला तहमा आवश्यक एम्बुलेन्सकोसमेत व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाको हकमा एम्बुलेन्स सेन्टर (१०२) र कोभिड कल सेन्टर ११३३ मार्फत सेवा प्रदान भइरहेको छ । उपत्यका बाहिर नेपाल प्रहरीको १०० र एम्बुलेन्स कल सेन्टर १०२ मा फोन सम्पर्क गरेर सेवा लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिडबाहेकका अन्य आकस्मिक र जटिल अवस्थामा समेत एम्बुलेन्स सेवा नियमित रहेको सरकारले जनाएको छ । रासस