विकासन्युज

शवको पहिचान गर्न अमेरिकन एफबीआईका फरेन्सिक विशेषज्ञ नेपालमा

काठमाडौं । बाढी ज्यान गुमाएका व्यक्तिहरूको पहिचान गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरोले काम गर्न थालेको छ । एफबीआईका फरेन्सिक विशेषज्ञहरूले बाढीबाट ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि नेपाल प्रहरीसँग सहकार्य गरिरहेका छन्। एफबीआईका विशेषज्ञहरूले आफ्नो विशेष फरेन्सिक तथा मानवीय विशेषज्ञता प्रयोग गर्दै नेपाल प्रहरीलाई सहयोग गर्दै आएका छन् ।  एफबीआईको सहयोगबाट बाढीमा परी ज्यान गुमाएका अमेरिकी नागरिकसहित सबै पीडितको पहिचान गर्ने अमेरिकी दूतावासले जनाएको छ।  उनीहरूका परिवारलाई आफन्तको अवस्थाबारे यथार्थ जानकारी उपलब्ध गराउन सहयोग गर्ने दूतावासले जनाएको छ । बाढी प्रभावित क्षेत्र २ सय किलोमिटरभन्दा लामो रहेकाले भौगोलिक क्षेत्रमा बेपत्ता तथा मृतकको पहिचान गर्न समस्या भइरहेको छ दूतावासले उल्लेख गरेको छ ।   बेपत्ता भएका शवको पहिचान गर्नुपर्ने भएकाले सावधानीपूर्वक, व्यवस्थित र वैज्ञानिक ढंगले अघि प्रक्रिया अगाडि बढाउनुपर्ने अवस्था रहेको एफबीआईले जनाएको दूतावासले बताएको छ । पीडितको पहिचान कार्यलाई सकेसम्म छिटो सम्पन्न गर्न एफबीआईले नेपाल सरकार तथा नेपाली अधिकारीहरूसँग विभिन्न तहमा समन्वय गरिरहेको दूतावासले जनाएको छ । दूतावासले खोज तथा उद्धारका कार्य जारी रहँदा अमेरिका आफ्ना नागरिकका बेपत्ता आफन्तको खोजीमा सहयोग गर्न तथा नेपाललाई आवश्यक मानवीय सहयोग प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयहरूले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक रहेको नदेखिएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा त्यसतर्फ ध्यान जान नसकेको पनि बताए । उनले दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने बताए । उनले सरकार आफैँले उद्योग सञ्चालन गर्नेभन्दा अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए । २०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै प्रधानमन्त्रीले के रोज्छ भन्ने कुराले देशलाई कता लैजाने भन्ने निर्धारण गर्ने बताए । तत्कालीन सरकारले निजी क्षेत्र र बजारलाई विश्वास नगरेको भए आर्थिक विकासको आधार निर्माण हुन नसक्ने सभापति थापाको दाबी थियो । उनले भने, ‘प्राइममिनिस्टरले कतातिर जाने भन्ने निर्णय गर्ने हो । कुन बाटोतिर लाने भन्ने निर्णय गर्ने हो । जो अहिले प्राइममिनिस्टर हुनुहुन्छ । अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन । अहिलेको प्रधानमन्त्री, मेरो आफ्नो बुझाइमा हैन, हि हेट्स प्राइभेट सेक्टर । यो मैले अनुमानको आधारमा भनेको होइन । अहिले उहाँका पछिल्ला समयका कतिपय अभिव्यक्तिहरू र निर्णयहरू अत्यस्तै छन् ।’ उनले सरकारले निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थानेश्वर पौडेलले दिए २५ लाख २५ हजार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर पौडेलले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि २५ लाख २५ हजार ५२५ रुपैयाँ सहयोग गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्षसमेत रहेका पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन् । गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा ठूलो क्षति पुगेको थियो । बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पौडेलले भदौ २५ गते बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सिंहदरबारमा सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले अघि सारेका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेको पौडेलले बताए । उनले अकस्मात् आएको विनाशकारी बाढीबाट भएको क्षतिपछिको पुनःस्थापनाका लागि देश तथा विदेशमा रहेका नेपालीसहित सबै पक्षलाई खुलेर सहयोग गर्न आग्रहसमेत गरेका छन् ।

चौधरी, ढकाल, श्रेष्ठ र गोल्यानसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भइरहेको हो । छलफलमा उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् । मुलुकको वर्तमान आर्थिक अवस्था, उद्योग–व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायबारे छलफल भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने तथा लगानी र व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल केन्द्रित हुने जनाइएको छ। त्यस्तै, निजी क्षेत्रले भोगिरहेका व्यावसायिक तथा लगानीसम्बन्धी समस्या पहिचान गरी त्यसको समाधानका लागि सरकार र निजी क्षेत्रबीच आवश्यक समन्वय तथा सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ ।

इरान युद्धमा ट्रम्पको अडान–‘पछुतो छैन, फेरि पनि आक्रमण गर्नसक्छु’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेकोमा आफूलाई कुनै पछुतो नभएको बताएका छन् । उनले फेरि यस्तो अवस्था आएमा पनि आफूले अहिले गरेकै काम दोहोर्‍याउने प्रतिबद्धतासमेत जनाएका छन् । बिहीबार अमेरिकामा फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमसँग कुरा गर्दै ट्रम्पले मध्यावधि निर्वाचनमा असर पर्ने भए पनि आफूले इरानमाथि आक्रमण गर्ने बताएका हुन् । इन्ग्राहमले ट्रम्पलाई ‘यदि इरानविरुद्ध युद्ध सुरु नगरेको भए अहिले मध्यावधि निर्वाचनमा तपाईं सहज रूपमा विजयी हुने अवस्थामा हुनुहुन्थ्यो’ भनेकी थिइन् । त्यसको जवाफमा ट्रम्पले इरानले आणविक हतियार प्राप्त गरेको भए त्यसलाई प्रयोग गर्ने दाबी गरे । उनले इरानसँग आणविक हतियार भएको अवस्थामा इस्लामिक गणतन्त्रले इजरायल र मध्यपूर्वलाई ‘समाप्त पार्ने’ तथा अमेरिकी सहरहरूमा समेत आक्रमण सुरु गर्ने दाबी गरे । ट्रम्पको यस्तो भनाइ अमेरिकी राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूले इरान युद्ध आफ्नो वर्तमान कार्यकालभन्दा पनि लामो समयसम्म तन्किन सक्ने सम्भावनाबारे छलफल गरेको वाल स्ट्रिट जर्नलको रिपोर्ट सार्वजनिक भएपछि आएको हो ।  यससँगै बजारमा पनि इरान युद्ध लामो समयसम्म चल्नसक्ने चिन्ता बढेको छ । ट्रम्पले भने मध्यावधि निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने दाबी गर्दै आएका छन् । उनले युद्ध अन्त्य भएपछि तेल तथा ग्यासको मूल्य पनि घट्ने बताएका छन् । युद्ध छिट्टै अन्त्य हुने दाबी उनले पछिल्ला केही महिनादेखि गर्दै आएका छन् । यसैबीच, बिहीबार न्युजनेसनसँगको छुट्टै अन्तर्वार्तामा ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा इरानले आफ्ना कैयौं लडाकु विमानमा प्रहार गरेको भन्ने दाबी अस्वीकार गरेका छन् । अमेरिकी सैन्य सम्पत्तिमा कुनै क्षति पुगेको हो कि भन्ने प्रश्नमा ट्रम्पले ‘कुनै क्षति भएको छैन, केही पनि भएको छैन’ भन्दै रिपोर्टमा कुनै सत्यता नभएको बताए । इरानमाथि आर्थिक दबाब थप कडा अमेरिकाले इरानलाई उसको आर्थिक सञ्जालबाट अलग पार्ने प्रयासलाई थप तीव्र बनाएको छ । अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले आगामी साता ‘ठूलो बैंक’माथि प्रतिबन्ध लगाउने संकेत गरेका छन् । बेसेन्टका अनुसार ९११ मा ज्यान गुमाएका अमेरिकी नागरिकहरूको सम्मानमा प्रतिबन्धसम्बन्धी घोषणा सोमबार गरिनेछ । उनले सोमबार हुने कदमलाई नजिकबाट हेर्नसमेत आग्रह गरेका छन् । बेसेन्टले इजिप्टको दोस्रो ठूलो बैंकको दुबईस्थित शाखाहरूमा प्रतिबन्ध लगाएर बन्द गरिएको दाबी गरेका छन् । उक्त बैंकले इरानलाई १.८ अर्ब अमेरिकी डलर उपलब्ध गराएको उनको आरोप छ । इरानी पक्षलाई रकम उपलब्ध गराउँदै आएको ‘टर्कीको सबैभन्दा ठूलो बैंक’माथि पनि प्रतिबन्ध लगाइएको उनले बताएका छन् । यद्यपि उनले उक्त बैंकको नाम भने खुलाएका छैनन् । न्युजनेसनसँगको अन्तर्वार्तामा ट्रम्पलाई वर्तमान आर्थिक दबाबका बीच इरानले कसरी सामना गरिरहेको छ भन्ने प्रश्न पनि गरिएको थियो । जवाफमा ट्रम्पले इरानले यो अवस्था कति समयसम्म थेग्न सक्छ भन्ने आफूलाई थाहा नभएको बताए । तर उनले मध्यावधि निर्वाचनपछि वा सम्भवतः त्यसअघि नै यो विषय समाधान हुने दाबी दोहोर्‍याए । ट्रम्पले भने, ‘निर्वाचनपछि यो समाधान हुनेछ। वा सम्भवतः त्योभन्दा अगाडि नै । तर निर्वाचन सकिएलगत्तै यो समाधान हुनेछ ।’

सोलुखुम्बुको हुंगा खोलाबाट पानी बग्न थाल्यो, खतरा टरिसकेको छैन

काठमाडौं । सोलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर बनेको ‘ड्याम’बाट पानी बग्न सुरु गरेको छ । पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र करिब १५ मिटर अग्लो ‘ड्याम’ बनेको थियो ।  पानी बगेर नर्मल हुँदै गइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार खतरा भने टरिसकेको छैन । बिहान करिब ९ः१० बजे खोलामा पहिरोका कारण बनेको ‘ड्याम’को ताल भरिएपछि पानी निकास हुन सुरु भएको हो ।  प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ । आज बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ र ४ नम्बर वडाको हुंगा खोलामा गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल वडा नं २ तर्फ करिब ३५ मिटर अग्लो पहिरो खसेको थियो ।  प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशंकर हाइड्रोपावरको पावर हाउस, दूधकोसी–२ हाइड्रोपावर नेपाल तथा सहास ऊर्जा लिमिटेडका दुईवटा हाइड्रोपावरलाई घटनाबारे जानकारी गराइसकेको छ । हाइड्रोपावरमा रहेका कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरेको छ ।

बाढीपीडितलाई आइसीएफसी फाइनान्सद्वारा २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ । संस्थाले बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा बेपत्ता व्यक्तिहरूको सकुशल खोजी र उद्धार होस् भन्ने कामना गरेको जनाएको छ । फाइनान्सले विपद्को यस कठिन समयमा सरकार, सम्बन्धित निकाय, संघसंस्था र आम नागरिकबीच सहकार्य तथा एकता आवश्यक रहेको उल्लेख गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आइसीएफसी फाइनान्सले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिक र समुदायको साथमा रहँदै आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ ।

ग्रे लिस्टबाट नेपाललाई निकाल्न प्रयास भइरहेको छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टबाट बाहिर निकाल्न सरकारले भगीरथ प्रयास गरिरहेको बताएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै अर्थमन्त्री वाग्लेले नेपाललाई ग्रे लिस्टबाट चाँडोभन्दा चाँडो बाहिर निकाल्न अन्तर्राष्ट्रिय समुदायमा समेत पहल भइरहेको बताए । नेपालको पक्ष बलियो ढंगले प्रस्तुत गर्न सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्तासहित ५–६ जनाको टोली परिचालन गरेको उनले जानकारी दिए । उक्त टोली अहिले मलेसियामा रहेर काम गरिरहेको उनले बताए । एफएटीएफकै विषयमा अमेरिकी अर्थमन्त्रीसँग आफूले भेट गर्ने प्रयास गरिरहेको पनि वाग्लेले बताए । नेपाल समयमै ग्रे लिस्टबाट बाहिरिन नसके त्यसको प्रत्यक्ष असर अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहमा पर्ने उनको भनाइ छ । ‘एफएटीएफको ग्रे लिस्टबाट नेपाललाई निकाल्न हाम्रो भगीरथ प्रयास चलिरहेको छ । यसैका लागि चालिएका केही कदमबाट अफवाह पनि फैलिने गरेका छन्,’ उनले भने । नेपालको पक्ष अन्तर्राष्ट्रियस्तरमा बलियो ढंगले प्रस्तुत गर्न सरकार गम्भीर भएर लागेको उनले बताए । ‘यो हलुका विषय होइन । यसले हाम्रो अन्तर्राष्ट्रिय वित्तीय विश्वसनीयता, करेस्पोन्डेन्ट बैंकिङ, लगानी वातावरण र पुँजी प्रवाहसँग सोझै सम्बन्ध राख्छ,’ उनले भने । वाग्लेले वर्षौंदेखि टारिँदै आएका सुधारका कामलाई सरकारले अघि बढाइरहेको बताए । ती सुधारका क्रममा आलोचना र प्रहारसमेत भोग्नुपरेको उनको भनाइ छ । उनले ग्रे लिस्टबाट बाहिरिन सरकारले चालिरहेका कदमबारे अफवाह नफैलाउन पनि आग्रह गरे । यसैगरी, प्राकृतिक विपद्बाट भएको क्षति र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा पनि सरकार केन्द्रित रहेको उनले बताए । पुनर्निर्माणलाई पुरानै संरचना बनाउने अवसरका रूपमा मात्र नलिई जलवायु उत्थानशील पूर्वाधार निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्ने सरकारको नीति रहेको वाग्लेले बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई सँगै लिएर अघि बढ्न खोजिरहेको बताए । लगानीमैत्री वातावरण निर्माण गर्न आफू अर्थमन्त्री भएकै दिनदेखि नीतिगत सुधारमा लागेको दाबी पनि उनले गरे ।