विकासन्युज

गेटा स्वास्थ्य विश्वविद्यालयमा १५१ जनालाई करार जागिरको अवसर

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीले विभिन्न स्वास्थ्य सेवा पदहरूमा करार सेवामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विश्वविद्यालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै स्वास्थ्य सेवाका आठौं, सातौं र सहायक पाँचौं तहका विभिन्न पदहरूमा गरी कुल १५१ जना जनशक्ति माग गरेको हो ।  विश्वविद्यालयले मेडिकल अधिकृतका लागि १०, डेन्टल सर्जनका लागि ४, बायोमेडिकल इन्जिनियरका लागि १, नर्सिङ अधिकृतका लागि १०, रेडियोग्राफी अधिकृतका लागि १, फार्मेसी अधिकृतका लागि २, फिजियोथेरापी अधिकृतका लागि २, ल्याब टेक्नोलोजिस्टका लागि ३, स्टाफ नर्सका लागि ९०, ल्याब टेक्निसियनका लागि १०, रेडियोग्राफरका लागि ६, फिजियोथेरापी सहायकका लागि २ र फार्मेसी सहायकका लागि १० जना कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र दरखास्त दिन सक्नेछन् ।  दरखास्त फारम विश्वविद्यालयको वेबसाइटबाट डाउनलोड गरी आवश्यक शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, सम्बन्धित परिषदमा दर्ता भएको प्रमाणपत्र र अनुभव खुल्ने कागजातसहित केन्द्रीय प्रशासन कार्यालय, गेटा, कैलालीमा उपस्थित भई पेश गर्नुपर्नेछ । दरखास्तका लागि अधिकृतर आठौं तहका उम्मेदवारले ७०० रुपैयाँ र सहायक पाँचौं तहका उम्मेदवारले ५०० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । उक्त शुल्क राष्ट्रिय वाणिज्य बैंकमा रहेको विश्वविद्यालयको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ । अधिकृत स्तरका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक पाँचौँ तहका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।  छनोट विधिमा शैक्षिक योग्यता र कार्य अनुभवका आधारमा संक्षिप्त सूची तयार गरिने र सर्टलिस्टमा परेका उम्मेदवारहरूको मात्र अन्तर्वार्ता लिइने विश्वविद्यालयले जनाएको छ ।

एमाले पुनर्गठन कार्यदलमा नेतृत्वको विषय पेचिलो, ओलीको विकल्प नखोज्न बादलको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार पार्टी कार्यालय च्यासलमा बस्दैछ । पार्टीको आगामी वैचारिक, राजनीतिक र संगठनात्मक दिशासँगै नेतृत्व व्यवस्थापनका विषयमा तयार भएका फरक प्रस्तावमाथि बैठकमा छलफल हुने भएको छ । एमाले उपमहासचिव तथा कार्यदलका सदस्य लेखराज भट्टका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा निर्वाचन परिणामको समीक्षा, पार्टी पुनर्गठन तथा संगठन सुदृढीकरणका विषयमा छलफल हुने भट्टले जानकारी दिए । एमालेले गत जेठ १० गते पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउने उद्देश्यले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना बनाउन १५ सदस्यीय कार्यदल गठन गरेको थियो । उपाध्यक्ष रामबहादुर थापा संयोजक रहेको कार्यदलमा महासचिव शंकर पोखरेल सदस्यसचिव रहेका छन् । कार्यदलभित्र भने नेतृत्व व्यवस्थापन र कार्यकाल सीमित गर्ने विषयमा फरक धारणा देखिएको एक नेताले जानकारी दिए । महासचिव पोखरेलले तयार पारेको ६५ पृष्ठ लामो प्रतिवेदनमा पछिल्लो विधान अधिवेशनबाट हटाइएको ७० वर्षे उमेर हद पुनः लागू गर्नुपर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, एउटै व्यक्ति लगातार दुई कार्यकालभन्दा बढी एउटै कार्यकारी पदमा रहन नपाउने व्यवस्था गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ । पोखरेलको प्रतिवेदनले पार्टीभित्र अवसरको वितरणलाई प्रभावकारी बनाउने प्रस्ताव अघि सारेको पोखरेल निकट एक नेताले जानकारी दिए । पोखरेलको प्रतिवेदनमा एउटै व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको ती नेताको दाबी छ । उनले नयाँ पुस्तालाई अवसर दिने र नेतृत्वमा अवसरको न्यायोचित वितरण गर्ने उद्देश्यले यस्तो व्यवस्था आवश्यक रहेको प्रतिवेदनमा प्रस्ताव गरेका छन् । महासचिव पोखरेलले आफ्नो प्रतिवेदन कार्यदलका संयोजक थापालाई करिब तीन साताअघि नै बुझाइसकेका छन् । थापाले उक्त प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष बुझाइसकेका छन् । शुक्रबारको बैठकमा भने संयोजक थापाले अध्यक्ष ओलीको निर्देशनअनुसार आफ्नो छुट्टै प्रतिवेदनसमेत प्रस्तुत गर्ने तयारी गरेको उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार थापाको प्रतिवेदनमा तत्कालीन नेतृत्वको विकल्प खोज्न नहुने धारणा अघि सारिएको छ । थापाले ७० वर्षे उमेर हद र प्रमुख पदमा दुई कार्यकालको व्यवस्थाको समेत बचाउ गरेका छन् । उनको प्रस्ताव पार्टी पुनर्गठनको बहस संगठनात्मक सुधारमा मात्रै सीमित नभई एमालेको भावी नेतृत्व र अध्यक्ष ओलीको निरन्तरतासँग समेत जोडिएको देखिएको ती नेताले बताए । एउटै कार्यदलभित्र नेतृत्वको निरन्तरता र कार्यकाल सीमित गर्ने विषयमा फरक प्रस्ताव आएपछि शुक्रबारको बैठकलाई एमालेको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले महत्वपूर्ण मानिएको नेताहरूले बताएका छन् । बैठकले दुवै प्रतिवेदनमाथि छलफल गर्दै पार्टी पुनर्गठनको साझा प्रस्ताव तयार गर्ने र त्यसलाई नेतृत्वसमक्ष लैजाने तयारी गरेको छ ।

पर्यटन बोर्डको सीईओको लागि आवेदन माग

काठमाडौं । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले आज एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।  बोर्डले नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम खुला प्रतिस्पर्धाबाट सीईओ छनोट गर्न लागिएको जनाएको छ । इच्छुक तथा योग्य उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक सम्पूर्ण कागजातसहित आवेदन पेस गर्न बोर्डले सूचना जारी गरेको छ ।  सीईओ पदको लागि नेपाली नागरिक हुनुका साथै मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै, पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव हुनु अनिवार्य गरिएको छ । आवश्यक कागजातहरु उम्मेदवारले आफ्ना प्रमाणित व्यक्तिगत विवरण, शैक्षिक तथा अनुभवका प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । त्यसको अतिरिक्त बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि अधिकतम ३ हजार शब्दको ‘रणनीतिक कार्ययोजना’ पेश गर्नुपर्ने छ ।  यसका साथै, आफूले हासिल गरेका मुख्य उपलब्धि समेटिएको अधिकतम एक हजार शब्दको प्रतिवेदन र स्वघोषणा पत्रसमेत संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ । दरखास्त दस्तुर  आवेदनका लागि १५ हजार दस्तुर निर्धारण गरेको छ । आवेदकले नबिल बैंकको तीनधारा शाखामा रहेको नेपाल पर्यटन बोर्डको खातामा जम्मा गरी भौचर पेश गर्नुपर्नेछ । उम्मेदवारले भृकुटीमण्डपस्थित बोर्डको कार्यालयमा वा इमेलमार्फत आफ्नो आवेदन पठाउन सक्नेछन् ।   

बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा निरन्तरता र आवश्यकताअनुसार थप सेवा उपलब्ध गराउने निर्णयअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकसहितको टोली नुवाकोट पठाउन लागेको हो ।  यसअघि नै प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको अवस्थामा मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा थप आवश्यक रहेकाले अर्को टोली पठाउन लागिएको मन्त्रालयले जनाएको छ । टोलीमा कान्ति बाल अस्पतालकी ११औँ तहकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का तथा सोही अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. धनबहादुर रहेका छन् । टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ । टोलीसँग आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइनेछ । बाढी तथा पहिरोका कारण प्रभावित क्षेत्रमा स्वास्थ्य सेवामा पर्न सक्ने अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यकता पहिचान गरी थप विशेषज्ञ जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री परिचालन गर्दै आएको छ ।

युनाइटेड इदी मर्दी हाइड्रोका सेयरधनीले ५.२६ प्रतिशत सेयर पाउने

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश प्रस्ताव आगामी १७औँ वार्षिक साधारणसभामा पेश गर्ने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशत बराबर २ करोड ४१ लाख ९३ हजार २६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३२ प्रतिशत बराबर १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन् ।  

म्यानमारले इन्धन आपूर्ति सहज हुन थालेपछि यातायातको जोर-बिजोर प्रणाली हटायो

काठमाडौं । इन्धन संकट चुलिएपछि सवारीसाधनमा कोटा तोकेको म्यानमारले झण्डै छ महिना लामो ‘जोर-बिजोर’ प्रणाली औपचारिक रूपमा अन्त्य गरेको छ । बजारमा इन्धन आपूर्ति र दैनिक खपत सामान्य लयमा फर्किएको भन्दै त्यहाँको सरकारले नम्बर प्लेटका आधारमा सडकमा लगाइएको आवागमन प्रतिबन्ध सेप्टेम्बर ९ देखि खारेज गरेको हो । मध्यपूर्वमा चर्किएको द्वन्द्व र त्यसले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पारेको असरका कारण म्यानमारले गत मार्च महिनादेखि सवारीसाधनमा जोर-बिजोर नियम लगाएको थियो । इन्धनको अत्यधिक खपत रोक्न र देशभित्रको मौज्दात जोगाउन सरकारले सवारीसाधनलाई आलोपालो र दिनमा मात्र सडकमा गुडाउन अनुमति दिएको थियो । सरकारको यो नियमका कारण लामो समयदेखि सार्वजनिक यातायात अस्तव्यस्त हुनुका साथै उद्योग-कलकारखाना र आपूर्ति शृंखला नराम्ररी प्रभावित हुँदै आएको थियो । राष्ट्रपति कार्यालयले दिएको सूचनामा इन्धनको आपूर्ति र मौज्दात स्थिर विन्दुमा आइपुगेकाले नागरिकको दैनिक आवागमन सहज बनाउन र आर्थिक गतिविधिलाई बिनाअवरोध चलायमान राख्न जोर(बिजोर नियम हटाउने निर्णय गरिएको उल्लेख छ । यस निर्णयले लामो समयदेखि यात्रामा सास्ती भोगिरहेका सर्वसाधारण र ढुवानी व्यवसायीलाई ठूलो राहत पुग्ने बाताइएको छ ।   सवारी आवागमन पूर्ण रूपमा खुला गरिए पनि इन्धन भर्ने पम्पहरूमा भने सरकारी नियन्त्रण अझै खुकुलो बनाइएको छैन । इन्धनको दुरुपयोग, कालोबजारी र अनावश्यक भण्डारण रोक्न जोर-बिजोरसँगै सुरु गरिएको ‘क्युआर कोड’ मा आधारित वितरण प्रणालीलाई भने सरकारले यथावत् राखेको छ । यसको अर्थ, सवारीधनीले अब सडकमा जुनसुकै दिन गाडी निकाल्न पाए पनि पेट्रोल पम्पबाट इन्धन खरिद गर्दा भने डिजिटल प्रणालीमार्फत तोकिएको कोटा र प्रक्रियाभित्रै रहनुपर्नेछ ।

सशस्त्रमा ६ सय ६६ जनाका लागि जागिर खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनालाई भर्ना गर्ने भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानसहित विभिन्न पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार सशस्त्र प्रहरी जवान ६ सय ४ जना, भान्से ३८ जना, कुचिकार ८ जना, सूचीकार ६ जना, केशकर्तक ७ जना, चर्मकर्मी २ जना र माली १ जनाका लागि दरखास्त आह्वान गरिएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।   

बेनी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ । गत भदौ २२ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका २० लाख ८० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ८ करोड ६३ लाख २० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।