अमेरिकामाथि आक्रमण गर्न इरानले अमेरिकी एआई नै प्रयोग गरेको रिपोर्ट
काठमाडौं । अमेरिकाविरुद्धको युद्धमा इरानसँग सम्बन्धित एउटा समूहले अमेरिकी नौसेनालाई निशाना बनाउने प्रयासमा कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरेको पाइएको छ । बीबीसी न्युजको अमेरिकी साझेदार सीबीएस न्युजले प्रकाशित गरेको विशेष रिपोर्टले यस्तो जानकारी दिएको हो । रिपोर्टअनुसार उक्त समूहले यसका लागि अमेरिकामै विकास गरिएको एआई प्रविधिको प्रयोग गरेको थियो । यो विवरण एआई कम्पनी एन्थ्रोपिकले गत साता सार्वजनिक गरेको रिपोर्टमा आधारित छ । एन्थ्रोपिकले उक्त समूहको पहिचान खुलाएको छैन । कम्पनीले भने त्यसलाई ‘खतरा उत्पन्न गर्ने संगठन’का रूपमा उल्लेख गरेको छ । एन्थ्रोपिकका अनुसार उक्त समूहले इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध जानकारी संकलन गर्न, अमेरिकी नौसेनाको अवस्थिति पत्ता लगाउन तथा सम्भावित लक्ष्य पहिचान गर्न सुझाव लिन क्लाउडमा आधारित एआईको प्रयोग गरेको थियो। कम्पनीले यस गतिविधिमा संलग्न एआई खाता बन्द गरिसकेको जनाएको छ । साथै सम्भावित खतरा रोक्न अमेरिकी सरकारलाई यससम्बन्धी जानकारी उपलब्ध गराइएको पनि एन्थ्रोपिकले बताएको छ । विशेषज्ञहरूले भने यस्ता घटना आगामी दिनमा अझ सामान्य हुन सक्ने बताएका छन् । उनीहरूका अनुसार अमेरिकाका विरोधीहरूले सैन्य अभियानलाई सहयोग पु‍र्याउन एआई प्रविधिको प्रयोगतर्फ ध्यान बढाइरहेका छन् । विशेषज्ञहरूका अनुसार एन्थ्रोपिकको निष्कर्षले इरानले आफ्नो रणनीतिक उद्देश्य पूरा गर्न प्रविधिको प्रयोग गर्दै आएको प्रवृत्तिसँग मेल खान्छ । यसमा अमेरिका र इजरायलसँगको इरानको संघर्ष पनि समावेश छ ।
भगवती कम्पोजिट इण्डष्ट्रिजले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने
काठमाडौं । भगवती कम्पोजिट इण्डष्ट्रिज लिमिटेडले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी ४२ करोड रुपैयाँको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २६ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ः३० बजे भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित होटल पौवामा बस्नेछ । सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सञ्चालक समितिका सदस्यहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्तावसमेत सभामा पेश हुनेछ । विशेष प्रस्तावतर्फ कम्पनीको जारी पुँजी ४२ करोड रुपैयाँबाट वृद्धि गरी ७५ करोड रुपैयाँ कायम गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव रहेको छ । साथै, १० प्रतिशत बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । यसैगरी, कम्पनीको प्रबन्धपत्र वा नियमावलीमा आवश्यक संशोधन तथा थप गर्न नियमनकारी निकाय वा कार्यालयबाट प्राप्त निर्देशनअनुसार संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा छलफल गरी पारित गरिनेछ ।
जलवायु क्षति र न्यायको मुद्दा महासभामा उठाउँदै नेपाल
काठमाडौं । नेपालले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा जलवायु परिवर्तनबाट मुलुकले भोगिरहेको जनधनको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने भएको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा महासभामा नेपालले उठाउने विषयबारे जानकारी दिँदै जलवायु संकटका कारण नेपालले भोगिरहेको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी भइरहेको बताए । उनका अनुसार संयुक्त राष्ट्रसंघका ६ प्रमुख अंगमध्ये एक महासभामा १९३ वटै सदस्य राष्ट्रले ‘एक राष्ट्र, एक मत’को आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन् । महासभाले विश्वका महत्त्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको उनले बताए । सचिव राईले महासभाले साना तथा विकासोन्मुख राष्ट्रलाई आफ्ना राष्ट्रिय हित र एजेण्डा विश्व मञ्चमा प्रस्तुत गर्ने अवसर दिने उल्लेख गर्दै नेपालजस्ता भूपरिवेष्ठित तथा अतिकम विकसित मुलुकका लागि यसको महत्त्व अझ बढी रहेको बताए । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ । महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने जनरल डिबेटमा प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यक्रम तय भएको सचिव राईले जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्री साहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको उनले बताए । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्युयोर्कतर्फ प्रस्थान गरी सेप्टेम्बर २६ मा स्वदेश फर्किने कार्यक्रम रहेको राईले समितिलाई जानकारी गराए । सचिव राईले भने, ‘महासभामा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा माननीय परराष्ट्रमन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायतका प्रतिनिधिहरू संलग्न हुनुहुनेछ । सम्माननीय प्रधानमन्त्रीज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०८३ असोज ६ गते ९२२ सेप्टेम्बर २०२६० न्युयोर्कतर्फ प्रस्थान गरी २०८३ असोज १० गते ९२६ सेप्टेम्बर २०२६० स्वदेश फर्किने कार्यक्रम रहेको छ ।’ नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि ‘फण्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज’ लगायतका संयन्त्रमार्फत तत्काल र उचित वित्तीय सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने भएको छ । जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि जलवायु उत्थानशील पूर्वाधार, जलवायु स्मार्ट कृषि, प्रविधि हस्तान्तरण र क्षमता विकासमा आवश्यक सहयोग उपलब्ध गराउन विकसित मुलुकलाई अपिल गरिने सचिव राईले बताए । नेपालले जलवायु न्यायको विषयलाई वैज्ञानिक प्रमाण र नेपालको वास्तविक जोखिमसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने तयारी गरेको उनको भनाइ छ । महासभाका क्रममा नेपालले ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर क्लाइमेट रिजिलियन्ट फ्युचर’ विषयमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्ने भएको छ । सचिव राईका अनुसार विश्वव्यापी जलवायु परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो । उनले भने, ‘महासभाका क्रममा नेपालले सगरमाथा टु द सीः अ कल टु एक्सन फर क्लाइमेट रिजिलियन्ट फ्युचर विषयक उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्दैछ । विश्वव्यापी जलवायु परिवर्तनका कारण, विशेषगरी हिमाली क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउनु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।’ उक्त कार्यक्रममा हिमाली पारिस्थितिक प्रणालीमा देखिएका परिवर्तन तथा त्यसबाट सिर्जित जोखिमबारे समेत छलफल गरिनेछ । नेपालले विश्व वातावरण संरक्षणमा आफ्नो योगदानसमेत महासभामा प्रस्तुत गर्ने भएको छ । सचिव राईका अनुसार नेपालले प्रकृतिमैत्री जीवनशैली, ४० प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र तथा विस्तृत नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछ । जलवायु संकटको असर भोगिरहेको नेपालले वातावरण संरक्षणमा गरेको योगदानको उचित अन्तर्राष्ट्रिय मान्यता र सहयोगको विषयसमेत महासभामा उठाइने सचिव राईले बताए । महासभाका क्रममा आयोजना हुने अतिकम विकसित मुलुक, भूपरिवेष्ठित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा ‘ग्रुप अफ ७७ एन्ड चाइना’ लगायतका मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्रीको सहभागिता रहनेछ । त्यसैगरी संयुक्त राष्ट्रसंघद्वारा आयोजित विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टमा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव राईले जानकारी दिए । भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले छिमेकी मुलुकलगायत विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्रसंघका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको उनले बताए ।
सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ६२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रधानमन्त्री बालेनको नेतृत्वमा राष्ट्रसंघ महासभा जाने टोलीबारे समितिलाई जानकारी
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल अर्को साता संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने बताएका छन् । बिहीवार (आज) सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै परराष्ट्रमन्त्री खनालले नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा आफू लगायतको प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने जानकारी दिएका हुन् । उनले संयुक्त राष्ट्रसंघको महासभा अर्को सातादेखि सुरु हुने र त्यसमा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीको नेतृत्वमा हुने बताए । महासभामा नेपालको सहभागिताका क्रममा नेपालको राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध तथा समसामयिक विश्व मुद्दासँग सम्बन्धित विषयहरू उठाइने अपेक्षा गरिएको छ । उनले भने, ‘राष्ट्रसंघको महासभा अर्को हप्तादेखि सुरु हुँदैछ र नेपालको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा म लगायत एउटा प्रतिनिधिमण्डल अर्को हप्ता संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नेपालबाट प्रस्थान गर्दैछ ।’ बिहीवारको समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी विषय विज्ञहरूसँग छलफल गर्नुका साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्रमन्त्रीको सहभागिताका विषयमा समेत छलफल भएको छ । बैठकमा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय, अन्तर्राष्ट्रिय सहयोग तथा जलवायु वित्तलगायत विषयमा विज्ञहरूले धारणा राखेका थिए । नेपालको अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनका मुद्दालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विषयमा पनि छलफल भएको हो । परराष्ट्रमन्त्री खनालले महासभामा नेपालको सहभागिता नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीतिक प्राथमिकता प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसरका रूपमा रहने बताएका छन् ।
कालिञ्चोक दर्शनका दुई आधारभूत सेयरधनीले सेयर बेच्ने
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडका दुई आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका अनुसार रमेश राज शिवाकोटीले १ लाख २२ हजार १० कित्ता र उमेश राज शिवाकोटीले ३ लाख २८ हजार १५६ कित्ता सेयर बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन् । उनीहरूले आगामी तीन महिनाभित्र उक्त सेयर बिक्री गर्ने आशय व्यक्त गरेका हुन् । नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुभन्दा कम्तीमा १५ दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई सेयर बिक्रीसम्बन्धी जानकारी गराएको हो ।
२ लाख बढी भवनको डिजिटल नक्साङ्कन, सबै कित्ताको भूउपयोग वर्गीकरण गरिँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाइने भएको छ । भूउपयोग परिषद्का अध्यक्ष एवं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर क्षेत्रभित्रका जग्गाको वास्तविक अवस्था, उपयोग र स्वामित्वसम्बन्धी विवरणलाई भौगोलिक सूचना प्रणाली (जीआइएस) मा एकीकृत गर्ने निर्णय गरेको हो । जीआइएसमा एकीकृत विवरणलाई भूमि व्यवस्थापन, सहरी योजना, राजस्व, विपद् व्यवस्थापन तथा नागरिक सेवा प्रवाहमा तथ्यमा आधारित निर्णयका लागि प्रयोग गर्ने महानगरपालिकाको योजना छ । भूउपयोग ऐन, २०७६, भूउपयोग नियमावली, २०७९ तथा सम्बन्धित निर्देशिका र मापदण्डअनुसार जग्गाको विवरण तयार गर्ने, उपलब्ध नक्सा तथा तथ्यांक अद्यावधिक गर्ने र महानगर क्षेत्रभित्रका सम्पूर्ण कित्ताको कित्तागत विवरण तयार गर्ने प्रक्रिया अघि बढाइनेछ । भूउपयोग तथा भूमि व्यवस्थापनसम्बन्धी कामलाई एकीकृत बनाउन महानगरपालिकाले हाललाई अस्थायी ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गर्ने निर्णयसमेत गरेको छ । उक्त एकाइले भूउपयोग क्षेत्रको वर्गीकरण तथा अद्यावधिक, कित्तागत विवरण र जियोडाटाबेस निर्माण तथा अद्यावधिक, भूमि तथा जीआइएससम्बन्धी तथ्यांक व्यवस्थापन, नक्साङ्कन र प्राविधिक कामको समन्वय गर्ने महानगरले जनाएको छ । भूउपयोग वर्गीकरणमा कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला–ताल–सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्विक महत्वलगायत क्षेत्र समेटिनेछन् । आवश्यकताअनुसार अन्य क्षेत्रसमेत तोक्न सकिने कानुनी व्यवस्था छ । बैठकमा नापी अधिकृत अशोक श्रेष्ठले प्रस्तुतिकरण गर्दै महानगरपालिकाले घरधुरी सर्वेक्षणका लागि सम्पूर्ण क्षेत्रमा ड्रोन तथा डीजीपीएस सर्वेक्षण गरी लेयर डिजिटाइजेसन तथा म्यापिङको काम सम्पन्न गरिसकेको जानकारी दिए । महानगरपालिकाभित्र हालसम्म १२ हजार ८११ वटा सडकको नक्साङ्कन गरिएको छ । तीमध्ये दुई हजार ८ सयभन्दा बढी सडकलाई मौलिक तथा वैज्ञानिक नेपाली नामसहित आधिकारिक जीआइएस डाटाबेसमा प्रविष्ट गरिसकिएको छ । त्यस्तै, घर नम्बरिङ तथा घरधुरी सर्वेक्षणका लागि महानगर क्षेत्रभित्रका दुई लाख १० हजार ९७६ भवन डिजिटल रूपमा नक्साङ्कन गरिएको छ । तीमध्ये २५ हजार १९ वटा भवनको प्रमाणीकरणसमेत भइसकेको महानगरपालिकाले जनाएको छ । विद्यालय, अस्पताल, पाटी, नदी, सम्पदा स्थल तथा सार्वजनिक संरचनाको समेत डिजिटल जीआइएस अभिलेख निर्माण गरिएको छ । भूमि व्यवस्थापनतर्फ गत वैशाख २ गतेदेखि महानगरपालिकाका १० वडाबाट सुरु गरिएको सेवामा भदौ ३० गतेसम्म ३५० भन्दा बढी निवेदन परेका छन् । त्यसमध्ये २८० भन्दा बढी लिखत पारित भएका छन् भने ५० भन्दा बढी नामसारीसम्बन्धी निवेदन फस्र्योट गरी स्वामित्व हस्तान्तरण गरिएको छ । वडा नम्बर १५ बाट मात्रै ६५ वटा कारोबार सम्पन्न भएका छन् । महानगरपालिकाले अब सबै ३२ वडाबाट भूसेवा सञ्चालन गरी केन्द्रबाटै नापी तथा मालपोत सेवा उपलब्ध गराउने लक्ष्य अघि सारेको छ । भूउपयोग वर्गीकरणको अन्तिम प्रक्रियाअन्तर्गत नापी विभागबाट प्राप्त नक्सा तथा तथ्यांकको अध्ययन, जनप्रतिनिधिलाई जानकारी, आधार तथा मापदण्ड तयारी, सरोकारवालासँग छलफल, भूउपयोग उपक्षेत्रमा वर्गीकरण, नक्सा तयार तथा स्वीकृति र अन्तिम कित्तागत विवरण सार्वजनिक गरिनेछ । स्वीकृत नक्सा तथा कित्तागत विवरण महानगरपालिकाको वेबसाइट र सूचना पाटीमार्फत सार्वजनिक गरी सम्बन्धित मालपोत तथा नापी कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइनेछ । बैठकमा नापी विभागको भूउपयोग शाखाका प्रमुख नापी अधिकृत खिम राना र नापी अधिकृत प्रकाश दुलाले भूउपयोग वर्गीकरणको प्रक्रिया तथा कानुनी व्यवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । महानगरपालिकाले आगामी दिनमा ड्रोन तथा लाइडार प्रविधि, तथ्यांक प्रशोधन र विश्लेषणमार्फत डिजिटल प्रशासन तथा स्थानमा आधारित योजना निर्माणलाई प्राथमिकता दिने जनाएको छ । जीआइएसको प्रयोग स्मार्ट टोल, सडक सुरक्षा तथा यातायात व्यवस्थापन, ई–रेजिष्ट्रेसन, सामाजिक नक्सांकन र घरधुरी सर्वेक्षणलगायत नियमित काममा विस्तार गर्ने योजना महानगरपालिकाको छ । यसबाट जग्गा तथा भवनसम्बन्धी विवरणलाई एउटै प्रणालीमा आबद्ध गरी योजना निर्माण र सेवा प्रवाहमा प्रयोग गर्ने लक्ष्य महानगरपालिकाले राखेको छ । भूउपयोग ऐन, २०७६ अनुसार पालिकाका प्रमुखको अध्यक्षतामा भूउपयोग परिषद् रहने व्यवस्था छ । प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने परिषद्मा कार्यपालिकाका सदस्य रहने प्रावधान छ । त्यस्तै, प्रमुखको संयोजकत्वमा भूउपयोग कार्यान्वयन समिति तथा वडाध्यक्ष संयोजक र वडा सचिव सदस्य सचिव रहने भूउपयोग कार्यान्वयन उपसमिति रहने व्यवस्था छ । ऐनले सांस्कृतिक तथा पुरातात्विक महत्त्व, औद्योगिक, सार्वजनिक उपयोग, नदी–खोला–ताल–सिमसार, व्यावसायिक र आवासीयलगायत विभिन्न क्षेत्रमा जमिन वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।
सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने
काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफा तथा पूँजी समायोजन कोषबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयरसमेतको कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिनेछ । यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । अग्राधिकार शेयरको लाभांश सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि समानुपातिक रूपमा प्रदान गरिने बैंकले जनाएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिनेछ । बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँ रहेको छ । अग्राधिकार सेयरतर्फ चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।