प्रभु बैंकले निक्षेपतर्फको ब्याजदर एकल अंकमा झार्याे, अब कुन खातामा कति ?
काठमाडौं । प्रभु बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले विभिन्न खातामा माघ १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो । बैंकले माघ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ६ प्रतिशत ब्याजदर तोकेको छ । रेमिट्यान्स खातामा भने ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.०६५ प्रतिशत र व्यक्तिगततर्फ ८.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो । बैंकले रेमिट्यान्स मुद्दतीमा भने ९.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि पुसमा बैंकले संस्थागततर्फ ७ प्रतिशत, व्यक्तिगततर्फ ८ प्रतिशत र रेमिट्यान्समा १० प्रतिशत ब्याजदर तोकेको थियो । बैंकका अनुसार कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । साथै, फिक्स्ड दरमा कर्जा लिँदा भने बैंकले १४.५० प्रतिशत ब्याजदर तोकेको छ ।
डिप्रोक्स लघुवित्तको सीईओमा पुनः शेषरमण आचार्य नियुक्त
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत (सीईओ)मा पुनः शेषरमण आचार्य नियुक्त भएका छन् । लघुवित्त सञ्चालक समितिले आचार्यलाई संस्थाको सीईओ पुनः नियुक्त गरेको हो । लघुवित्तले सीईओ आचार्यलाई आगामी ४ वर्षका लागि सीईओमा दोहोर्याएको हो । उनको पहिलो कार्यकाल माघ २० गते सकिदै छ । कार्यकाल सकिनु अघि नै उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षको बजेट जनताको प्रत्यक्ष निगरानीमा बनाउनेछ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आगामी आर्थिक वर्षको बजेट बनाउने बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले आगामी आर्थिक वर्षको बजेट आम नेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको आधारमा तयार गरिने बताए । नेपाली जनताको निगरानी, हस्तक्षेपकारी भूमिकाको आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने कुरा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले बैठकमा जोड दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री दाहालले बैठकमा विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आगामी आर्थिक वर्षको बजेट आउने बताए। त्यस अवसरमा प्रधानमन्त्री दाहालले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्वपूर्ण उपलब्धि हात पारेको दाबी गरेको पनि प्रवक्ता सापकोटाले बताए । प्रधानमन्त्री दाहालले बजेटको सिलिङ तय गर्दा पनि विगतभन्दा उन्नतस्तरले गर्ने जानकारी पार्टीका नेताहरूलाई गराएको माओवादी केन्द्रले जनाएको छ ।
लगानीमा बाधा हुने नीति नियम तत्कालै सच्याउन अध्यक्ष ढकालको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्न बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन् । शनिबार नेपाल हस्तकला महासंघको ४३औं वार्षिक साधारण सभामा उनले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताए । अध्यक्ष ढकालले आन्तरिक उत्पादनलाई बढावा दिनुपर्ने हिसाबको नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए । उनले व्यवसायीलाई प्रत्येक दुई÷दुई वर्षमा सिआइपी दिने गरे पनि लबिङ गर्न नै एक वर्षको समय जाने गरेको गुनासो गरे। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यातमा रहेको समस्या समाधान गर्न सरकारले पहल गर्नुपर्नेमा जोड दिए । उनले एकद्वार सर्भिस छ भने पनि हुने नगरेको गुनासो गरे। उनले छिटोभन्दा छिटो निर्यात प्रवर्द्धनका लागि अनलाइन गेटवे खोलेर सिधै उद्यमीले विदेशमा निर्यात हुने सामग्रीको रकम सिधा आफ्नै खातामा आउने सरकारी व्यवस्था गर्नुपर्ने बताए । उनले नेपालको अहिलेको आयात निर्यात भन्दा ९ गुणा बढी रहेकाले सरकारले निर्यात प्रवर्द्धन गर्नुपर्ने बताए । अध्यक्ष मल्लले नेपाली हस्तकलालाई सीपमूलक र विदेशी मुद्रा आर्जन गर्ने माध्यम बनाउनुपर्ने बताए । उनले निर्यात प्रवर्द्धनमा एकद्वार प्रणालीको कमी रहेकाले त्यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
बन्द कारखाना सञ्चालन गर्न सहयोग जुटाउँदै महावीर पुन
तनहुँ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ वैज्ञानिक डा. महावीर पुन पुस्तक बिक्रीका लागि पूर्व–पश्चिम महाअभियानमा निस्किएका छन् । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरूप डा. पुन यस अभियानमा लागेका हुन् । प्रतिपुस्तक ७ सय ५० रुपैयाँमा बिक्री गर्ने गरिएको डा. पुनले बताए । जुनजुन स्थानबाट निम्तो आउँछ सोही स्थानमा पुगेर पुस्तक बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । डा. महावीर पुनको जीवन कथाका लेखक, केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका डा. पुनले यतिबेला पुस्तक बिक्रीका लागि देश दौरानमा दुई साता बिताइसकेका छन् । ‘नौ महिनाको समय लगाएर बन्द रहेको कारखानालाई मर्मत गरी सञ्चालन गर्ने वातावरण बनाएको छौं,’ उनले भने, ‘औजार उत्पादनका लागि आर्थिक स्रोत जुटाउन पुस्तक प्रकाशित गरी बिक्री अभियानमा लागेको छु ।’ नेपालका प्रतिभालाई स्वदेशमा राखेर सहयोग गर्ने र उद्यमी बनाउने लक्ष्यअनुरुप राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेको पुनले बताए । उनका अनुसार युवा प्रतिभाले उद्योग कलकारखाना खोलुन्, रोजगारीको सिर्जना गरुन र अर्थतन्त्र सबल बनाउन लागुन् भन्ने मुख्य उद्देश्य राष्ट्रिय आविष्कार केन्द्रको रहेको छ । पुनले काठमाडौंबाट गजुरी हुँदै धादिङ, धादिङबेंसीबाट मलेखु, मुग्लिन, गोरखा, आँबुखैरेनी, लमजुङको बेंसीसहर र बन्दीपुर हुदै तनहुँका विभिन्न सहरमा पुगेर पुस्तक बिक्री गरेका छन् । कुनै पनि सरकारको पालामा अर्थतन्त्र सुधार्ने काम गर्न नसकेको पुनको आरोप रहेको छ । ‘बेरोजगारीलाई रोजगारी र अर्थतन्त्रलाई सबल बनाउनका लागि राज्यले उद्योग, कलकारखानामा लगानी बढाउनुपर्छ,’ उनले भने, ‘सरकारसँग पैसा नभए पनि कारखाना सञ्चालन गर्ने जिम्मा लिएका हौँ ।’ देशव्यापी अभियान रहेकाले बैतडी, महेन्द्रनगर, धनगढी, नेपालगञ्जबाट बुटवल चितवन, वीरगञ्ज, जनकपुर, काँकडभिट्टा, पाँचथर, मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं पुग्ने योजना रहेको पुनले जानकारी दिए । ‘राज्यले कलकारखाना खोल्नुपर्छ र लगानी गर्नुपर्छ । विकास निर्माणमा लगानी गरिएको छ, त्यसरी नै कलकारखानामा पनि लगानी बढाउनुपर्छ,’ उनले भने, ‘कलकारखाना चलाएर मात्रै हुँदैन, परिणाम आउने गरी उद्योग सञ्चालन गर्न सक्नुपर्छ ।’ यतिदिन घुम्ने भन्ने सीमा अवधि नतोकिएको भन्दै पुनले भने, ‘जसरी हुन्छ धेरैभन्दा धेरै पुस्तक बिक्री गर्ने लक्ष्यअनुरुप देशव्यापी दौरानमा निस्किएको छु ।’ उनका अनुसार हालसम्म २४ हजार पुस्तक बिक्री भइसकेका छन् । करिब तीन लाख पुस्तक बिक्री भएको अवस्थामा कृषि औजार कारखाना सञ्चालनमा ल्याउन सकिन्छ भन्ने विश्वास लिएको डा।पुनले बताए । तनहुँका विभिन्न पालिका र सर्वसाधारण नागरिकले पुस्तक किनेर सहयोग गरिदिएका छन् ।
राष्ट्रिय सहकारी महासंघको अध्यक्षमा ओमदेवी मल्ल
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालको अध्यक्षमा ओमदेवी मल्ल निर्विरोध निर्वाचित भएकी छिन् । महासंघको ३१औं वार्षिक साधारण सभाबाट मल्ल निर्विरोध निर्वाचित भएकी हुन् । सहकारी महासंघको ३० वर्षे इतिहासमा मल्लले पहिलो महिला अध्यक्ष हुने अवसर पाएकी छिन् । महासंघको सञ्चालक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै आफ्नो ३० वर्षे सहकारी यात्रामा मल्ल महासंघको अध्यक्ष बनेकी हुन् । मल्लले सहकारी अभियानको सुदृढीकरणका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा रमेशप्रसाद पोखरेल चयन भएका छन् । पोखरेल यसअघि उपाध्यक्ष थिए । पोखरेल राष्ट्रिय सहकारी बैंकको निवर्तमान अध्यक्षसमेत हुन् । यस्तै नवनिर्वाचित उपाध्यक्षहरूमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त छन् । त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा भीम तुलाचन निर्वाचित भएका छन् । महासंघको नवनिर्वाचित सञ्चालकहरूमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी (अन्जु), बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधवप्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल छन् । साथै, लेखा सुपरिवेक्षण समितिको सदस्यमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।
अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन हालसम्मकै बढी
काठमाडौं । मुलुकको पुरानो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको संख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४ सय ४३ यात्रुले हवाईयात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार ४ सय ९५ ले हवाईयात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कुल यात्रु आवागमन (आन्तरिक र अन्तरराष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए । विमानस्थलबाट एक वर्षको अवधिमा अन्तरराष्ट्रियतर्फ ४५ लाख ४१ हजार १ सय ३७ ले हवाईयात्रा गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो । यो संख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कुल यात्रु आगमन पनि बढेको जानकारी दिए। कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उनको भनाइ छ । सन् २०२३ मा अन्तरराष्ट्रिय उडान अवतरण ३१ हजार ४ सय ६० (गत वर्षको तुलनामा २९ दशमलव ४० प्रतिशत) ले वृद्धि भएको छ । जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ । उक्त अवधिमा कार्गो आवागमन २२ हजार ९ सय ४६ टन भएको छ । जुन गत वर्षको तुलनामा १३ दशमलव ९८ प्रतिशतले घटेको छ । आन्तरिकतर्फ हवाईयात्रा गर्नेको संख्या ४१ लाख ५० हजार ३ सय २६ पुगेको छ । जुन गत वर्षको तुलनामा सात दशमलव ०७ प्रतिशत कम हो । उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार ९ सय ८९ उडान अवतरण भएका छन् । उडान पनि गत वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले घटेको छ । आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १० दशमलव ३६ प्रतिशतले वृद्धि भई ३ हजार ४२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ (एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन् । नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ । पछिल्लोपटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो ।
६० अर्बको आईपीओ बिक्री गर्दै विद्युत् प्राधिकरण
काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिकरूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको सेयर सर्वसाधारणमा बिक्री गर्ने भएको हो । सेयर बिक्रीका लागि अर्थ मन्त्रालयले सहमति प्रदान गरिसकेको छ । अर्थको सहमतिपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आवश्यक प्रस्ताव मन्त्रिपरिषदमा पेस गर्ने तयारी गरेको छ । प्राधिकरण सञ्चालक समितिको गत मङ्सिर २५ गते बसेको बैठकले आवश्यक निर्णय गरेको छ । सञ्चालक समितिले अर्थ मन्त्रालयबाट अधिकृत पुँजी तीन खर्ब रुपैयाँ कायम गर्न सहमति भएकाले ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय गरेको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ बमोजिम खुद सम्पत्ति (नेटवर्थ) को दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा हाललाई प्रस्तावित अधिकृत पूँजीको १० प्रतिशतसम्म सर्वसाधारणलाई सेयर जारी गर्न ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषदमा स्वीकृतिका लागि अनुरोध गर्ने निर्णय भएको छ । सो निर्णय यही पुस १९ गते प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरिसकेका छन् । प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पनि सार्वजनिक संस्थालाई थप सबल बनाउने उद्देश्यका साथ शेयर जारी गर्न लागिएको बताएका छन् । सरकारले संस्थालाई आम नागरिकको बनाउने उद्देश्यका साथ यस्तो तयारी गरेको स्पष्ट पारेको छ । यसअघि नै सरकारले नेपाल दूरसञ्चार कम्पनीको समेत सेयर सर्वसाधरणमा बिक्री गरेको थियो । प्राधिकरणको सेयरको प्रतिकित्ता किताबी मूल्य करिब १ सय २५ कायम गर्ने र त्यसमा त्यति नै रकम प्रिमियम थप गरी सेयर निष्कासनको प्रस्ताव गरिएको छ । यस हिसाबले प्राधिकरणको सेयर किन्न चाहने सर्वसाधारणले प्रतिकित्ता २ सय ५० रुपैयाँ खर्च गर्नुपर्नेछ । प्राधिकरणको हाल अधिकृत पुँजी १ खर्ब २५ अर्ब रुपैयाँबराबर छ । सरकारको लगानीको प्राथमिकता विभिन्न क्षेत्रमा रहने हुँदा ऊर्जा क्षेत्रमा गरेको बजेट विनियोजनले मात्र प्राधिकरणको हालको पूँजीगत लगानीका लागि आवश्यक स्रोत पर्याप्त नभएको ठहर गरिएको छ । त्यसका लागि प्राधिकरणले वैकल्पिक स्रोतमार्फत लगानी जुटाउनुपर्ने अवस्था छ । वित्तीय व्यवस्थापनका लागि वैकल्पिक स्रोतका रूपमा विभिन्न वित्तीय उपकरण प्रयोग गर्ने तयारी गरेको छ । त्यसमा साधारण सेयर, कर्पोरेट बण्ड, डिवेन्चर, ग्रिन बण्ड आदिमार्फत स्रोत जुटाउनुपर्ने आवश्यकता रहेको प्राधिकरणको बुझाइ छ । हाल सहमति प्राप्त अधिकृत पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न आवश्यक छ । प्राधिकरण ऐन २०४१ को दफा (५) मा सर्वसाधारणलाई सेयर जारी गर्न सकिने व्यवस्था रहेको छ । सोही अनुसार प्राधिकरणको सेयर जारी गर्ने प्रस्ताव गरिएको हो । सर्वसाधारणलाई सेयर जारी गरी प्राप्त हुने रकम दीर्घकालीन लगानीका रूपमा जलाशययुक्त आयोजना निर्माण, प्रसारण तथा वितरण लाइनको विस्तार तथा सुदृढीकरण कार्यमा उपयोग गरिनेछ । प्राधिकरणसँग रहेको स्थिर सम्पत्तिको आधारलाई उपयोग गरी वित्तीय उपकरणमार्फत स्रोेतको व्यवस्थापन गरी ठूला आयोजना निर्माण गर्न सकिने छ । सेयर जारी गर्दा प्राधिकरणको शेयर संरचनामा परिवर्तन हुनाका साथै सरकारको जोखिम तथा दायित्व कम हुने, सञ्चालक समितिमा शेयरधनीको प्रतिनिधित्व हुने भएकाले उत्तरदायित्व, पारदर्शिता, स्वायत्तता र सुशासनमा थप अभिवृद्धि हुनेछ । प्राधिकरणको अधिकृत पुँजी ३ खर्ब रुपैयाँको १० प्रतिशत सेयर पहिलो चरणमा सर्वसाधारणलाई जारी गर्न प्रस्ताव गरिएको छ । प्राधिकरणको आव २०७८/७९ सम्मको सेयर पुँजी १ खर्ब ७५ अर्ब र सञ्चित नाफासहितको जगेडा कोष २७ अर्ब गरी जम्मा २ खर्ब २ अर्ब रुपैयाँ नेटवर्थ (सेयर निष्कासन प्रयोजनका लागि) रहेको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को दफा २५ (क) बमोजिम खुद सम्पत्ति (नेटवर्थ) को अधिकतम दुई गुणासम्म प्रतिसेयर मूल्य कायम गरी प्रिमियम मूल्यमा सेयर निष्कासन गर्न सकिने व्यवस्था छ । अधिकृत पुँजी ३ खर्ब पुर्याउने गरी अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले उक्त पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने स्वीकृतिका लागि कार्यकारी निर्देशकले सञ्चालक समितिसमक्ष प्रस्ताव गरेका थिए । प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस क्रेडिट रेटिङ’ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । अघिल्लो वर्ष पनि प्राधिकरणले सोही रेटिङ पाएको थियो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै बहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ । इक्राले प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायतको विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा प्राधिकरणको क्रेडिट रेटिङ गरिएको हो । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा संगठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्यांकन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहित जोखिमबारे सरल र बुझ्न सकिने सांकेतिक सूचकका रूपमा राय दिइन्छ । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्णस्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ । सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रम कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, सेयरमा लगानी (नगद वा ब्याज–साँवा पुँजीकरण) र अन्य आवश्यक रकमरसञ्चालनमार्फत प्राधिकरणलाई सहयोग गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङका अनुसार सार्वजनिक निकायमध्ये प्राधिकरणले डबल ए प्लस क्रेटिड रेटिङ पाएकाले संस्थामा वित्तीय दायित्व बहन गर्न सक्ने उच्चतहको सुरक्षित क्षमता देखिएको छ । ‘क्रेडिट रेटिङबाट संस्थाको वित्तीय स्वास्थ्य राम्रो देखिएको छ । ऋण तिर्न सक्ने क्षमता देखिएको छ,’ उनले भने । कार्यकारी निर्देशक घिसिङका अनुसार आन्तरिक माग धान्न हिउँदका केही महिनामा हुने विद्युत् आयात प्रतिस्थापन छिट्टै हुँदै छ । हरेक वर्ष हुने विद्युत् निर्यात वृद्धि, आन्तरिक रुपमा हुने विद्युत् खपत वृद्धि तथा प्रणालीको चुहावट नियन्त्रणमा हासिल भइरहेका सफलताले संस्थाको नाफा बढ्दै गएको देखाएको उनको भनाइ छ । विद्युत् उत्पादनतर्फका आयोजनाहरु निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि ठूलो पूँजी आवश्यक पर्ने छ, यसका लागि संस्थाले कमाएको नाफा र शेयर निष्कासनबाट प्राप्त हुने रकमबाट लगानीको खाडल पूरा गर्ने योजना तय गरेको छ । प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनाहरुसँग दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) गरिहेको छ । क्रेडिट रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको दखिन्छ । इक्रा नेपालले प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरिद–बिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था भएको, सहायक कम्पनीसहित करिब एक हजार एक सय मेगावाटको विद्युत् उत्पादन क्षमता भएको, सरकारले हरेक वर्ष बजेटमार्फत ऋण र सेयरमा लगानी गर्ने गरेको उल्लेख गरेको छ । प्रसारण तथा वितरण प्रणाली सुधार तथा विस्तारका लागि गरिएको पूँजी प्रतिबद्धताले प्राधिकरणलाई अल्पकालीन रूपमा संस्थाको नगद प्रवाहमा चाप पार्न सक्ने इक्रा नेपालले उल्लेख गरेको थियो । प्राधिकरणले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रुपैयाँको खुद नाफाको प्रक्षेपण गरेको छ । प्रणालीको विद्युत् चुहावट हाल १३ प्रतिशत बराबर छ । रासस