गुल्मीमा २३ करोडको सुन्तला उत्पादन
तम्घास । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आएका छन् । सुन्तलाखेतीबाटै उनले वार्षिक लाखौँको आम्दानी गर्दै आएका छन् । ‘एक वर्ष बिराएर सुन्तलाको उत्पादन राम्रो हुन्छ, पोहोर साल ८ लाख रुपैयाँको बिक्री भयो,’ हमालले भने, ‘यस वर्ष उत्पादन अलि घटेकाले ६ लाख रुपैयाँको सुन्तला बिक्री भयो ।’ सुन्तला लिन घरमै व्यापारी आउने गरेका छन् । अहिले उनले प्रतिकिलो ६५ देखि ७० रुपैयाँमा सुन्तला बिक्री गरेका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाको प्रतिस्पर्धा भए पनि हमाल भने घरमै बसेर मनग्य आम्दानी गरिरहेका छन् । ‘यो पुख्र्यौली पेसा हो, मैले व्यवसायीकरण गरेको मात्र हुँ,’ उनले भने । उनले कुल १२ रोपनी जग्गामा सुन्तलाखेती गर्दै आएका छन् । अहिले २५ हजार बोटमा सुन्तला उत्पादन भइरहेको उनले बताए । थप ४० हजार बिरुवा नर्सरीमा छन् । केही वर्षपछि ती बिरुवाले पनि उत्पादन दिँदा आम्दानी झनै बढ्ने हमाल बताउँछन् । सुन्तला बिक्रीको रकम घरखर्च चलाएर पनि बचत हुने गरेको हमाल बताउँछन् । नयाँगाउँकै कमला पोखरेलले पनि यस वर्ष सबै सुन्तला घरबाटै प्रतिकिलो ६५ रुपैयाँमा बिक्री गरिन् । गत वर्ष ८० हजारको सुन्तला बिक्री गरेकी उनले यस वर्ष पनि सोही रकमकै हाराहारीमा बिक्री गरेको बताइन् । सुन्तला लिन व्यापारी घरमै आउने भएकाले बजारको कुनै समस्या छैन । ‘बारीमा तीन सय बोट छन्, केही साना बिरुवा पनि छन्,’ उनले भनिन्, ‘सुन्तला बिक्रीको रकमबाट घरमा चाहिने दैनिक उपभोग्य सामग्री किन्न सहयोग भएको छ ।’ पोखरेल र हमाल त सुन्तला बिक्री गर्ने केही प्रतिनिधि पात्रमात्रै हुन् । उनीहरूजस्तै जिल्लामा धेरैले सुन्तला बिक्री गरेका छन् । यस वर्ष जिल्लामा २३ करोड रुपैयाँको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । त्यसमा १२ करोड ८४ लाख रुपैयाँको सुन्तला जिल्लाभन्दा बाहिर निर्यात भएको केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए। सरकारले गुल्मीलाई ‘सुन्तला जोन’ भनी घोषणा गरेको छ । गुल्मीमा कुल १ हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ । त्यसमध्ये यस वर्ष ६ सय २३ हेक्टर क्षेत्रफलमा ६ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ । अहिले कुल सुन्तला बगैँचाको ६० प्रतिशत बोट फलेका छन् । आव २०७९/८० मा कृषक, कृषि ज्ञानकेन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पालिकाको लगानीमा १ सय ३० हेक्टर क्षेत्रफलमा थप सुन्तलाखेती विस्तार गरिएको केन्द्रका प्रमुख भण्डारीले बताए । जिल्लाका पालिकाले पनि सुन्तलाखेती प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको धुर्कोट, रेसुङ्गा, मदानेलगायत क्षेत्रमा सुन्तलाखेतीका लागि चक्लाबन्दी कार्यक्रम नै सुरु गरिएको छ । धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोटमा सुन्तलाको बजारीकरणमा कुनै समस्या नभएको बताए । उनले सुन्तलाको उत्पादन वृद्धिका लागि सिँचाइ, प्रविधिलगायत विषयमा पालिकाले सहयोग गर्ने प्रतिक्रिया दिए ।
२० किसिमका औषधी उत्पादन गर्दै औषधी लिमिटेड
काठमाडौं । नेपाल औषधी लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधी उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधीका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधी कम्पनी आफैंले उत्पादन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधी लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधी बिक्री गर्ने तयारी गरिरहेको औषधी लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ छ । उनका अनुसार लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगोरूपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालय र लिमिटेडबीच सम्झौतासमेत भएको छ । विगतमा लिमिटेडले १ सय ४६ किसिमका औषधी उत्पादन गर्दै आएको थियो । केही समय सिटामोलमात्र उत्पादन गर्दै आएको लिमिटेडले हाल नौ किसिमका औषधी उत्पादन गर्दै आएको छ । सरकारले निःशुल्क वितरण गर्दै आएको औषधि उत्पादनमा जोड दिँदै आएको लिमिटेडले पछिल्लो समय लगानीसँगै उत्पादनमा विविधीकरण गर्ने योजना बनाएको हो । प्रतिस्पर्धी बजारमा तालमेल गर्न नसक्नु र प्रविधिमैत्री बन्न नसक्दा यस्ता सरकारी स्वामित्वका कम्पनीको प्रवर्द्धन हुन सकेका छैनन् । प्रधानमन्त्री दाहालको निर्देशन र लिमिटेडले तयार पारेको कार्ययोजनासहित प्रतिस्पर्धामा उत्रिनका लागि सहयोग पुग्ने महाप्रबन्धक पनेरुले विश्वास व्यक्त गरे । उनले भने, ‘हाल केही औषधीमा प्रतिस्पर्धा गर्न सकिन्छ । आगामी दिनमा कम्पनीको क्षमता विस्तार हुँदै गएपछि बजारमा उपलब्ध अन्य औषधीसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्नेछ ।’ गुणस्तरीय औषधी उपलब्ध गराउन लिमिटेड तयार रहेको उल्लेख गर्दै महाप्रबन्धक पनेरुले देशका सबै स्थानीय तहसँग सहकार्य गरेर औषधिको बिक्री वितरण गर्ने बताए। उनका अनुसार कम्पनीले विगतको तुलनामा उत्पादन र बिक्री बढाएको छ । पछिल्लो एक महिनामै १ करोड ५० लाख रुपैयाँसम्मको औषधी बिक्री गर्न सफल भएको छ । लिमिटेडका अध्यक्ष यज्ञप्रसाद न्यौपानले सरकारले जनतालाई उपलब्ध गराउने ९८ किसिमका औषधी उत्पादन गरेर बिक्री गर्ने मुख्य उद्देश्य रहेको र सोहीअनुसार योजना अगाडि बढेको जानकारी दिए। उनका अनुसार प्रतिस्पर्धी क्षमता विस्तार गर्न हाल औषधी लिमिटेडले ओगटेको क्षेत्रलाई स्वआर्जनमूलक परिसरमा रूपान्तरण गर्ने, व्यावसायिकरूपमा ‘मेडिकल हब’ सञ्चालन गर्ने र उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादन क्षमता विस्तार गर्ने योजना बनाएको छ । बर्सेनि अर्बौँको औषधीजन्य पदार्थको आयातलाई निरूत्साहित तुल्याउन पनि औषधी लिमिटेडको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको महाप्रबन्धक पनेरुले बताए। उनले सरकारले तत्कालका लागि लगानी गरेको अवस्थामा उत्पादन गरेर सरकारको रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरे । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा १६ अर्ब ८० करोड रुपैयाँ बराबरको औषधिजन्य पदार्थ आयात भएको छ । गत आर्थिक वर्षमा २०७९र८० मा ४४ अर्ब ६४ कारोड रुपैयाँ बराबरको औषधिजन्य पदार्थ नेपाल भित्रिएको थियो । सबैभन्दा बढी औषधिजन्य पदार्थ भारतबाट आउने गरेको छ । गतवर्ष नेपालबाट १ अर्ब ६० कारोडका औषधीजन्य वस्तु निर्यात भएको थियो । रासस
चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द
सोलुखुम्बु । सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको २ सय ६७ सामुदायिक विद्यालयमध्ये १ सय १ विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा दिने तयारी गरिरहेका छन् । सोलु दूधकुण्ड नगरपालिकामा ६२ सामुदायिक विद्यालयमध्ये ५८, खुम्बु पासाङल्हामु गाउँपालिकाका १७ विद्यालयमध्ये १४ र थुलुङ दूधकोशी गाउँपालिकामा ५१ विद्यालयमध्ये सात विद्यालय बन्द भइसकेका छन् । यस्तै महाकुलुङ गाउँपालिकामा १९ मध्ये आठ, लिखुपिके गाउँपालिकामा २२ विद्यालयमध्ये छ, नेचासल्यान गाउँपालिकामा ३६ विद्यालयमध्ये चार तथा माप्यदूधकोशी गाउँपालिकामा ३९ विद्यालयमध्ये चार विद्यालय बन्द भएको कार्यालयले जनाएको छ । हिमाली भेगमा चिसो अत्यधिक हुने भएकाले धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् । यहाँ चिसोका कारण शिक्षक बस्न नसक्ने तथा विद्यार्थीलाई समेत कठिन हुने भएकाले पुस दोस्रो साताबाटै विद्यालय बन्द गरिएको पिके माध्यमिक विद्यालय लोदिङका प्रधानाध्याक चेतबहादुर मगरले बताए । उनले भने, ‘बालबालिका चिसोका कारण विद्यालयमा कम आउन थालेपछि बाध्य भएर जाडो बिदा दिनुपरेको हो ।’ यस्तै जिल्लाको माथिल्लो खुम्बु क्षेत्रको विद्यालय पुस लाग्दै बन्द गरिएका छन् । उच्च हिमाली क्षेत्रमा मङ्सिर दोस्रो साताबाटै पानी जम्न थालेपछि जाडो बिदा दिइएको खुम्जुङ माध्यमिक विद्यालय खुम्जुङका शिक्षक तिलक रसाइलीले बताए। ‘यतिखेर खुम्जुङ पुरै सुनसान छ, त्यहाँ स्थानीय समेत जाडो छल्न अन्यत्र जान थालेपछि हामीले विद्यालयमा जाडो बिदा दिएका हौं, यतिखेर बस्न सक्ने अवस्था नै छैन,’ उनले भने । सोताङ गाउँपालिका क्षेत्रका कुनै पनि विद्यालयले जाडो बिदा दिएका छैनन् । सोताङ न्यानो ठाउँ भएकाले त्यहाँको कुनै पनि विद्यालय बन्द नगरिएको गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले बताए ।
बर्सेनि घट्दै धान बालीको क्षेत्रफल
गण्डकी । गत वर्ष गण्डकी प्रदेशमा १ लाख ४ हजार १ सय ८४ हेक्टरमा धान खेती गरिएको थियो । यस वर्ष घटेर धान बालीको क्षेत्रफल ९६ हजार ५३ हेक्टरमा सीमित भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद शर्माका अनुसार दुई वर्षअघि धान खेतीको क्षेत्रफल १ लाख १२ हजार २ सय २७ हेक्टर थियो । पछिल्ला वर्ष धान बालीको क्षेत्रफल घट्दै गएको उनले बताए । धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष उत्पादकत्व भने बढेको उनले बताए । ‘गत वर्ष १ लाख ४ हजार १ सय ८४ हेक्टरमा ३ लाख ७५ हजार ३ सय ३२ मेट्रिक टन धान उत्पादन भएको थियो,’ कृषि प्रसार अधिकृत शर्माले भने, ‘यस वर्ष ९६ हजार ५३ हेक्टरमा धान खेती गरिएकामा ३ लाख ६८ हजार ७ सय ८९ मेट्रिक टन उत्पादन भएको हो ।’ गत वर्ष प्रतिहेक्टर तीन दशमलव ६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष बढेर प्रतिहेक्टर तीन दशमलव ७३ मेट्रिक टन धान उत्पादन भएको उनको भनाइ छ । समयमै वर्षात् र रासयनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिँचाइ सुविधा, उन्न बीउबिजन आदि कारणले धानको उत्पादकत्व वृद्धि भएको कृषि प्रसार अधिकृत शर्माले बताए। गण्डकीमा बर्सेनि धानको उत्पादकत्वमा घटबढ भइरहेको निर्देशनालयको तथ्यांकले देखाउँछ । आव २०७८÷७९ मा प्रतिहेक्टर तीन दशमलव ४३ मेट्रिक टन धान उत्पादन भएको थियो भने त्यसको अघिल्लो वर्ष तीन दशमलव पाँच मेट्रिक धन धान उत्पादन भएको थियो । प्रतिकुल मौसम, मल अभाव, कमसल बीउबिजनजस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने गरेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए। प्रमुख रेग्मीले यस वर्ष धानको उत्पादकत्व वृद्धि भए पनि क्षेत्रफल घटेकाले समग्र धानको उत्पादन भने घटेको बताए । धान खेतीको क्षेत्रफल घट्नुमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिनु पहिलो कारण रहेको उनले बताए । ‘खेतीयोग्य जग्गामा बजारीकरण तीव्र छ, हेर्दाहेर्दै ठूल्ठूला फाँट बस्तीले ढाकिए, जग्गा बाँझिने क्रम पनि उस्तै छ, उत्पादन घट्नुको मुख्य कारण यही हो,’ प्रमुख रेग्मीले भन्नुभयो । सिँचाइ, खेती प्रणालीमा सुधार, रोक किरा नियन्त्रण, उन्नत बीउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके किसानले अझ धेरै धान फलाउन सक्ने उनको भनाइ छ । गण्डकीमा बागलुङको गलकोट, बलेवा, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् । हिमालपारिको जिल्ला मुस्ताङ र म्याग्दीबाहेक गण्डकीका नौ वटै जिल्लामा धान खेती हुँदै आएको छ । किसानले राम, सुनौलोसुगन्धा, लोकतन्त्र, खुमल, सुधारिएको जेठोबुढोलगायत स्थानीय जातको धान खेती गर्दै आएका छन् । यहाँ बर्खे र चैते गरी दुई याममा धान खेती हुने गरेको छ ।
लाइन काटिएका २३ उद्योगमा बिजुली जोडियो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार शुक्रबार बेलुका जगदम्बा स्टिलबाट लाइन जोड्न सुरु गरिएको र राति सबै उद्योगको लाइन जोडिसकिएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद्को निर्णय बमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको थियो । ट्रंक लाइन र डेडिकेटेड लाइन लिएका ६१ वटा उद्योगले शुल्क तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
अत्यधिक चिसोले मधेसको जनजीवन प्रभावित
धनुषा । विगत केही दिनदेखि तराई मधेसका जिल्लामा शीतलहर चलेर बाक्लो कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ । मधेस प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ । शीतलहरका कारणले बालबालिका, वृद्ध वृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्ति तथा मजदुर वर्ग बढी मात्रामा प्रभावित बनेका छन् । चिसोका कारणले दम तथा रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ । उपचारका लागि स्वास्थ्य संस्था आउने सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुनप्रसाद सिंहले अत्यधिक चिसो बढेसँगै बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता स्वास्थ्य समस्या अत्यधिक मात्रामा देखिन थालेको जानकारी दिए । चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयमा विद्यार्थीको उपस्थिति घट्न थालेको छ । धेरैजसो विद्यालयमा जाडो बिदा दिइएको छ । शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्कीद्वारा जारी सूचनामा यही पुस २९ गतेदेखि माघ ९ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा जाडो बिदा दिने निर्णय गरिएको उल्लेख छ । शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ । यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन् । ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन् । बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपायाह पनि प्रभावित हुन थालेका छन् । आइतबारदेखि हुस्सु लाग्ने क्रम बढेको छ । घाम लाग्न छोडेको छ । लगातारको चिसो सिरेटोले गाईवस्तुको आहार जुटाउन र स्याहारसम्भार गर्न कठिन भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयाका रामविलास यादवले बताए ।
बागलुङमा १५ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा
ढोरपाटन । बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दुरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ । यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका २२ करोड २४ लाख रुपैयाँको योजना परेका छन् । प्रदेशका एक सय चार र सङ्घीय सरकारका २० गरी एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५ दशमलव १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ । जिल्लामा एक लाख ७८ हजार चार सय हेक्टर जमिन रहे पनि हाल ४६ हजार एक सय ४८ हेक्टरमा खेती गरिँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार ३० हजार ५ सय २३ मध्ये हालसम्म ६ हजार ७ सय ९० हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार आठ सय १५ हेक्टर रहेको छ । प्रमुख पौडेलले बागलुङमा भौगोलिक कठिनाइका कारण सबै ठाउँमा एकै पटक सिँचाइ सुविधा पुर्याउन ठूलो बजेट चाहिने बताउँछन्। अहिले न्यून बजेटमा पनि धेरै खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने गरी काम गरिरहेको उनको भनाइ छ । कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आएको प्रमुख पौडेलले बताए । सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पु¥याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनले बताए । सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । जिल्लाको १० वटै पालिकामा योजना परेको प्रमुख पौडेलले बताए । प्रदेश सरकारले कृषि उत्पादकत्व, लाभान्वित जनसङ्ख्या र जमिन हेरेर योजना बनाउँदै आएको उनी बताउँछन् प्रमुख पौडेल भन्छन्, ‘प्रदेश सरकारले पठाएको योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी काम गरेका छौँ, बागलुङ भौगोलिक कारणदेखि विभिन्न हिसाबले सिँचाइको व्यवस्थापन गर्न सजिलो छैन, यद्यपि सिँचाइ अभाव भएका ठाउँलाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको छ, चालु आर्थिक वर्षमा विनियोजित बजेट पनि कार्यान्वयन गर्ने चरणमा छौँ, अहिले पनि धेरै ठाउँका किसाना आकाशे पानीको भरमा खेती गर्दै आएका छन् ।’ बागलुङ अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका रहेक किसान आयातित खाद्यान्नमै निर्भर बन्नुपरेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू–भाग भिरालो छ । यी क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषक परनिर्भर पर्नुपरेको निसीखोला बडिगाड गाउँपालिका–८ का तिलबहादुर घर्ती मगरले बताए । ग्रामीण क्षेत्र भिराले भए पनि गहुँ खेती राम्रो हुने गरेको भन्दै हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने उनको भनाइ छ । सिँचाइको सुविधा भए वर्षभरि खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नुपरेको गुनासो पोखे । ‘हामी सधैँ बाहिरबाट चामल, मिठो लिएर जीविका चलाउनुपरेको छ, बारी प्रसस्तै छन्, के गर्नु पानी छैन, पानी नभए पनि उत्पादन पनि थोरै हुन्छ, पचासौँ रोपनीमा लगाएको मकै, गहुँले वर्षभरि खान पुग्दैन, बारीमा उब्जेकोले नपुगेपछि किन्ने उही विदेशी चामलनै हो,’ उनले भने, ‘गाउँका बारी भारोलो छन्, भिरालोमा धान त फल्दैन तर राम्रो कुलो हुन्थ्यो बने मुहानबाट पानी लिएर लगाउन त सकिन्थ्यो, अहिलेसम्म यो ठाउँमा सिँचाइका लागि कुलोको योजना पर्न सकेको छैन ।’ निसीखोला गाउँपालिका–५ का बलिभद्र घर्तीले बालीनालीमा सिँचाइको अभाव हुँदा उत्पादनमा कमी आएको बताए । कारीखोलाबाट करिब एक किलोमिटरको दुरीमा कच्ची कुलोमार्फत पानी लिएर खेतबारीमा लगाउने गरे पनि बर्खामा भत्किँदा लाखौँको क्षति हुने गरेको गुनासो पोखे । सरकारले बजेट विनियोजन गरेर पक्की कुलो निर्माण गरि दिए गाउँले आत्मनिर्भर भन्न सक्ने उनको भनाइ छ । सयौँ रोपनी खेत भएको ठाउँमा एउटा मात्रै साँघुरो कुलो रहेको भन्दै पानीका लागि छिमेकीसँग बेला–बेला झगडासमेत पर्ने गरेको घर्तीले सुनाए । घर्तीले भने, ‘समयमै वर्षा हुँदाको वर्ष २० मुरी धान र १५ मुरी गहुँ उत्पादन गर्नु हुन्छ, हिउँदमा लामो समय खडेरी पर्यो भने उत्पादन निकै कम हुन्छ, हिउँदमा आकाशे पानीको भर पर्नुपर्छ, बर्खामा बेसीको सबै सकियो भने बल्ल गाउँका खेतमा रोपाइँ गर्नुपर्ने अवस्था छ, यो सिजनमा पानी परेन भने गहुँ जौँ सबै सुकेर मर्छन् ।’ बागलुङमा सबैभन्दा बढी मकै बाली उत्पादन हुने गरेको छ । जिल्लाभरि मकै २० हजार हेक्टर क्षेत्रफल बढीमा उत्पादन हुन्छ । कोदो १८ हजार हेक्टर र गहुँ सात बढी हजार हेक्टर बढी क्षेत्रफलमा उत्पादन हुने गरेको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार गत वर्ष छ हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार ६ सय ९० मेट्रिक टन मात्रै धान उत्पादन भएको थियो । यस वर्ष पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ । रासस
व्यक्तित्वका ती पक्ष के हुन्, जुन ‘लुक्स’ भन्दा बढी आकर्षक हुन्छन्
काठमाडौं । अंग्रेजीमा एउटा भनाइ छ– ‘फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन।’ यसको मतलब यो हो, तपाईंले पहिलोपटक भेट्दा कुनै व्यक्तिमा जुन छाप वा प्रभाव छाड्नुहुन्छ, त्यो उसले लामो समयसम्म सम्झिन्छ। पहिलो भेटमा तपाईं कस्तो देखिनुहुन्छ भन्ने कुराले फरक पर्न सक्छ, तर व्यक्तिको व्यक्तित्वका ती अन्य पक्ष के के हुन्, जसले मानिसहरूको मन छुन्छ। साधारण बुझाइमा कुनै पनि रोमान्टिक सम्बन्धको सुरुवात तपाईंले पहिलो नजरमा कसरी प्रस्तुत हुनुहुन्छ भन्ने हो । तर, शारीरिक आकर्षण व्यक्तिको अन्य धेरै गुणहरूका कारणले पनि हुन सक्छ । तपाईं पहुँचयोग्य हुनुहुन्छ ? तपाईं कसरी कुरा गर्नुहुन्छ ? तपाईंको व्यवहार कस्तो छ ? अमेरिकामा गरिएको एक सर्वेक्षणमा जोडीहरूलाई लुक्सबाहेक अरू कुन गुणहरू मनपर्छ भनेर सोधिएको थियो । सर्वेमा सोधिएको प्रश्नहरूको जवाफमा उनीहरूले भौतिक सफलता, जस्तै आर्थिक सुरक्षा र राम्रो घर, तिनीहरूका लागि आकर्षक गुणहरूमध्ये सबैभन्दा कम स्थानमा पर्ने बताएका थिए । दोस्रो, तिनीहरूले आफ्नो पार्टनरसँग सहमत हुने, बहिर्मुखी हुने र बौद्धिकतालाई शारीरिक आकर्षणभन्दा धेरै माथि राख्ने बताएका थिए । ‘लुक्स’ कति महत्वपूर्ण ? यस सर्वेक्षणमा अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक ग्रेग वेबस्टरले यस्ता सर्वेक्षणहरूमा मानिसहरूले अरूको नजरमा आफूलाई राम्रो राख्ने जवाफ दिने बताए । उनले भने, ‘यस्तो सर्वेक्षण डाटाले पूर्णरूपमा स्पष्ट चित्र प्रस्तुत नगर्न सक्छ ।’ तर प्रश्न यो छ, जब हामी वास्तविक जीवनको बारेमा कुरा गर्छौं, तब एक व्यक्तिको लुक्सले भन्दा बढी ध्यान व्यक्तित्वले पाउँछ ? यस प्रश्नमा मनोवैज्ञानिक डा। पूजा शिवम जेटली भन्छिन्, ‘सुरुवाती आकर्षण लुक्समा आधारित हुन्छ। तर, यो व्यक्तिमा पनि भर पर्छ।’ उनी थप्छिन्, ‘तिमी कस्तो देखिन्छौ भन्ने कुरा महत्त्वपूर्ण छ र यो सुरुवाती बिन्दु पनि हो । तर, कसैको सौन्दर्य वा रूपले लामो समयसम्म कसैलाई आकर्षित गर्न सक्दैन ।’ यदि तपाईंले लामो समयको सम्बन्ध, व्यक्तित्व, आवश्यकता र संसारलाई कसरी हेर्नुहुन्छ भन्नेबारे सोध्नुभयो भने यी सबै कुराले पनि मानिसलाई आकर्षित गर्ने डा। जेटली बताउँछिन् । उनका अनुसार धेरैजसो सम्बन्धमा यी पक्षहरू छलफल नगर्दा भविष्यमा भिन्नता आउन सक्छ । आफ्नो पार्टनरको कुरा सुन्नु र आपसी सहमति कायम राख्नु कुनै पनि सम्बन्धका लागि धेरै महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तित्व मापन गर्नु गाह्रो काम हो । दशकौंदेखि मानिसहरूलाई साइकोमेट्रिक परीक्षणहरूमा धेरै प्रश्नहरू सोधिएको छ ताकि तिनीहरूको व्यक्तित्वको बारेमा थप जानकारी प्राप्त गर्न सकियोस्। कसैको व्यक्तित्व कसरी मूल्यांकन गर्ने ? सामान्य जीवनमा मानिसको व्यक्तित्वलाई कसरी मूल्यांकन गर्न सकिन्छ भन्ने प्रश्नमा बिहेबियर एक्सपर्ट तथा जीवन प्रशिक्षक आस्था दिवान भन्छिन्, ‘एउटा व्यक्तिको व्यक्तित्व धेरै कुराले बनेको हुन्छ । तपाईसँग सजिलै कुरा गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा धेरै महत्त्वपूर्ण हुन्छ।’ उनी थप्छिन्, ‘के तपाई कुरा गर्दा अरूलाई बोल्ने मौका दिनुहुन्छ रु प्राथमिकता के हो रु विचार के हो रु तपाईंको जीवन मूल्य के हो, तपाईंको आत्मविश्वास कस्तो छ रु यी सबै कुरा तपाईंको व्यक्तित्वको एक महत्वपूर्ण भाग हो ।’ साथै, तपाईंले ‘विपरीत आकर्षण’ बारे सुन्नुभएको होला । यसको मतलब हो, दुई व्यक्ति जो एकअर्काबाट पूर्णतया भिन्न छन् र एकअर्काप्रति आकर्षित हुन्छन् किनभने व्यक्तित्वमा भिन्नताले पनि मानिसहरूलाई आकर्षित गर्दछ । युनिभर्सिटी अफ रोचेस्टर, संयुक्त राज्य अमेरिकाका ह्यारी रीड र मिनेसोटा विश्वविद्यालयका एलन बर्शार्ड जो व्यक्ति पहिले नै चिनेको साथी खोज्छ, जसको व्यक्तित्व, जीवनशैली र सामाजिक समूह मेल खान्छ, यो आकर्षणको आधारभूत सिद्धान्त भएको बताउँछन् । यसबारे डा। आस्था दिवान भन्छिन्, ‘कतिपय मानिस आपसमा समानता खोज्छन्, कहिलेकाहीँ आफूभन्दा फरक व्यक्ति पनि रोज्छन् । समानता खोज्नु मानवीय स्वभाव हो,’ डा। आस्था दिवान भन्छिन्, ‘यो कुराले मानिसलाई धेरै सुरक्षित महसुस गराउँछ । जब तपाईंको विचार, गुण र मनपर्नेमा समानता हुन्छ, त्यहाँ तुरुन्त एक स्पार्क हुन्छ, बन्डिङ हुन्छ।’ कुनै पनि सम्बन्धलाई लामो समयसम्म कायम राख्न सँगै बसेर पनि छुट्टै जीवनमा अगाडि बढ्ने अवसर हुनु जरुरी भएको उनको भनाइ छ । ‘मानिसहरू सधैं समानता खोज्छन् भन्ने होइन,’ उनी भन्छिन्, ‘तर, कहिलेकाहीँ आफूभन्दा पूर्णतया फरक भएका व्यक्तिहरूलाई मन पराउन सकिन्छ, जसले एकअर्काको आधारभूत आवश्यकताहरू पूरा गरिरहेका हुन्छन् ।’ डा। आस्था दिवानका अनुसार मित्रताभन्दा पनि आकर्षण धेरैजसो विपरीत व्यक्तिसँग हुने गर्छ । मित्रता पनि दुई पूर्णतया फरक व्यक्तिबीच छिट्टै हुन्छ। बीबीसी