विकासन्युज

टोयोटा महिला मोटर र्‍यालीको घोषणा, पहिलो हुनेले ५० हजार पाउने

काठमाडौं ।  युनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा महिला र्‍याली’ निकाल्ने घोषणा गरेको छ । टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी युनाइटेड ट्रेडर्सले आगामी वैशाख ८ गते र्‍याली निकाल्ने घोषणा गरेको हो । महिला र्‍यालीले अटोमोटिभ क्षेत्रमा क्रियाशील महिलाहरुको एड्भेन्चर र सहयोगीपनालाई अझै प्रगाढ बनाउने उद्देश्यका साथ आयोजना गर्न लागेको कम्पनीको भनाइ छ । टोयोटाले सन् २००४ देखि नै यस प्रकारको महिला र्‍याली आयोजना गर्दै आएको थियो । त्यसैको निरन्तरताको रुपमा यो र्‍याली आयोजना गर्न लागिएको हो । कम्पनीका अनुसार सो र्‍यालीमा विजेताहरुलाई नगद पुरस्कार समेत प्रदान गरिने छ । पहिलो हुने टिमले ५० हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने छन् । आगामी मार्च १० बाट यसका लागि रजिष्ट्रेसन खुला हुनेछ। यालीमा सहभागी हुन ३ हजार रुपैयाँ बुझाउनु पर्छ । दर्ताको मिति फागुन ३० गतेदेखि चैत २८ गतेसम्म तोकिएको छ। युनाइटेड ट्रेडर्स सिन्डिकेटले र्‍यालीमा प्रायोजन गर्न समेत विभिन्न कम्पनीहरुलाई आग्रह गरेको छ ।

उधारो बीमा गराउँदै सरकार, २ अर्ब नपाएपछि रोकिदै कृषि बीमा

काठमाडौं । गत बुधबार नेपाल बीमक संघले प्रेस विज्ञप्ति नै जारी गरेर कृषि सम्बन्धि बीमालेख रोक्ने निर्णय गर्‍यो । सरकारले कृषि बीमा बापतको २ अर्ब रुपैयाँ भुक्तानी नदिएसम्म कृषि सम्बन्धि बीमालेख रोक्ने संघले घाेषणा गरिसकेकाे छ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरू पनि कृषि सम्बन्धि बीमालेखको पुरा बीमाशुल्क प्राप्त भएपछि मात्र बीमालेख जारी गर्ने बताइरहेका छन् । सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा अनुदान दिँदै आएको छ । विगत १० वर्षदेखि बीमा कम्पनीहरूले नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम कृषि बीमालेख जारी गर्ने र क्षती हुँदा क्षतीको दाबी भूक्तानी गर्ने गरेका छन् । तर, सरकारले तोकेको अनुदान १ वर्षपश्चात् प्राप्त हुने गरेको बीमक संघले बताएको छ । ‘सरकारले कृषि बीमा शुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरूलाई २ अर्ब रुपैयाँ बाँकी छ । उक्त अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपछि मन्त्रालय, कृषि विभाग र बीमा प्राधिकरणलाई पटक-पटक मौखिक तथा लिखित अनुरोध गर्दा समेत पाएका छैनौं । उक्त रकम नपाएका कारण बीमा कम्पनीहरू अत्यधिक जोखिममा छन्,’ बीमक संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटी अर्याल मन्त्रालयसँग प्रयाप्त बजेट नभएका कारण ढिलाइ भएको बताउँछिन् । उनका अनुसार बीमाबापतको रकम भुक्तानी गर्न यस वर्ष बजेट अभाव छ । बीमा कम्पनीहरूले कृषि बीमा नगर्ने भन्ने विषय अनौपचारिक रूपमा जानकारीमा आएको बताउँछिन् । कृषि विभाग र पशुसेवा विभागको दुइटैको भुक्तानी बाँकी रहेको उनले स्वीकार गरिन् । ‘बीमा कम्पनीहरूलाई तिर्नु पर्ने २ अर्ब बढी छ । तर, यो वर्ष जम्मा ६० करोड रुपैयाँ मात्रै बजेट आएको छ । बजेट अपुग भएपछि थप बजेटका लागि अर्थमन्त्रालमा अनुरोध गरेका छौं । पत्र पठाएको दुई/अढाई महिना भइसक्यो, तर, कुनै सुनुवाइ भएको छैन,’ उनले भनिन् । उनका अनुसार आएकै बजेट पनि कार्यक्रम संशोधन गरेर खर्च गर्नु पर्ने भएकाले ढिलाइ भएको हो । ६० करोड रुपैयाँमध्ये कृषितर्फ आएको १२ करोड रुपैयाँ भुक्तानी गरिसकेको उनको भनाइ छ । तर, पशुपंक्षी बीमातर्फको भुक्तानीमा कार्यक्रम संशोधन गर्नु पर्ने देखिएकाले ४८ करोड रुपैयाँ छिट्टै भुक्तानी गर्ने उनले बताइन् । ‘पशुपंक्षी बीमातर्फको भुक्तानीका लागि अर्थमन्त्रालयमा पत्र पठाएको २ साता भयो । अर्थमन्त्रालयबाट स्वीकृत भएर आयो भने ४८ करोड रुपैयाँ चाँडै भुक्तानी गर्छाैं । तर, बाँकी रहेको भुक्तानी थप रकम निकासा वा रकमान्तर नभइकन भुक्तानी गर्न असम्भव छ,’ प्रवक्ता अर्यालले भनिन् । सरकारको दायित्व भएकाले बीमा कम्पनीलाई ढिलोचाँडो उक्त रकम भुक्तानी गर्ने उनको भनाइ छ । बीमालेख जारी गर्न र दाबी भुक्तानी नरोक्नुहोस् भनेर पहिला पनि कम्पनीहरूलाई अनुरोध गर्दै आएको बताउँदै उनले भनिन्, ‘उहाँहरूले हामीलाई जानकारी नगराई रोक्ने निर्णय गर्नु भयो । अब यो विषयमा कसरी अघि बढ्ने भनेर छलफलका माध्यमबाट समाधान गर्छाैं ।’ किसानलाई अनुदान दिने बहानामा घात भएको बीमा कम्पनीहरूको आरोप छ । तर, घात गरेको भन्न नमिल्ने उनी बताउँछिन् । उनका अनुसार अर्थमन्त्रालयले विनियोजन बजेटमा एथेस्ट बजेट विनियोजन नगर्दा समस्या आएको हो । कुनै कार्यक्रमको बजेट खर्च भएन भने रकमान्तर गरेर भुक्तानीका लागि आग्रह गरेको उनले बताइन् । उखु किसानलाई भुक्तानी दिँदा पनि मलको रकमबाट केही रकम रकमान्तर गरेर भुक्तानी गरेको उनको भनाइ छ । सरकारले कृषिलाई प्राथमिकतामा राखेको छ । तर, स्रोतका हिसाबले अझै पनि अपुग रहेको उनको भनाइ छ । ‘राष्ट्रिय बजेटबाट कम रकम पाउने गरेका छौं । र, अधिकांश बजेट मलको अनुदानमा जान्छ, बजेट बढाउन पटक-पटक अनुरोध पनि गरेका छौं,’ उनले भनिन् ।

बाह्य क्षेत्र सुध्रियो, घट्दो ब्याजदरले व्यावसायिक वातावरण बन्ला ?

काठमाडौं । कोभिड १९ महामारी, रुस-युक्रेन तनाव, अस्थिर राजनीतिलगायत कारणले शिथिल बन्दै गएको मुलुकको अर्थतन्त्र बिस्तारै तङ्ग्रिने क्रममा छ । दुई वर्षअघि करिब धराशायीकै अवस्थामा पुगेको अर्थतन्त्रको बाह्य क्षेत्र अहिले सम्हालिएर सहज लयमा छ । तर, सार्वजनिक वित्तका सूचकहरू अहिले पनि सकारात्मक छैनन् । न्यून राजस्व असुली, कमजोर पुँजीगत खर्च, बढ्दो चालु खर्च, वर्षेनी बढिरहेको सार्वजनिक ऋण र त्यसको साँवा–ब्याजको दायित्वलगायतका समस्या ज्युँका त्युँ छन् । पुँजी निर्माण र आन्तरिक उत्पादनका क्षेत्रमा लगानी हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर लक्षित अङ्कभन्दा निकै तल छ । बेरोजगारी र युवा पलायनको समस्या हल हुन सकेको छैन । बैंक-वित्तीय संस्थामा तरलता सहज भएका ब्याजदर घट्दोक्रममा रहेपनि कर्जाको माग बढ्न सकेको छैन । बढ्दो मुद्रास्फीति र घट्दो बजार मागले उपभोक्ता बजार चलायमान बन्न सकेको छैन । ठूलो लगानी रहेका घरजग्गा र पुँजीबजार क्षेत्रमा पनि उल्लेख्य चमक छैन । यसै सन्दर्भमा पछिल्लो एक वर्ष अवधिमा मुलुकको आर्थिक तथा वित्तीय सूचकमा देखिएका परिवर्तनलाई तुलनात्मक समीक्षा गरेका छाैं । बाह्य क्षेत्र  गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गतवर्षको यहि अवधि अर्थात् २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चिति  १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको छ । चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव सात महिनाको वस्तु आयात र १२.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्छ । जबकि, गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा १०.८ महिनाको वस्तु आयात र नौ दशमलव चार महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति थियो । अहिले विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३४. ३ प्रतिशत छ । गतवर्ष माघ मसान्तसम्ममा यस्तो अनुपात २५.१ प्रतिशत थियो । चालु खाता एवम् शोधनान्तर स्थिति  गत आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा ९ अर्ब ६४ करोड रुपैयाँले घाटामा रहेको चालुखाता अहिले एक खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँले बचतमा छ । गतवर्षको माग मसान्तसम्ममा एक अर्ब ४ करोड रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी मुलुकले भित्र्याएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा पाँच अर्ब १८ करोड रुपैयाँ छ । त्यसैगरी, विसं २०७९ माघ मसान्तमा शोधनान्तर स्थिति एक खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेकोमा २०८० माघ मसान्तमा शोधनान्तर स्थिति दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँले बचतमा छ । विप्रेषण आप्रवाह  गत आर्थिक वर्ष २०७९/८० को शुरुवाती सात महिना अर्थात् माघ मसान्तसम्ममा मुलुकले छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ विप्रेषण भित्र्याएको थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह आठ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो आवको शुरुवाती सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भित्रिएको रेमिट्यान्स २१.६ प्रतिशतले वृद्धि हो । वैदेशिक व्यापार  चालु आर्थिक वर्षको शुरुवाती सात महिनामा कुल वस्तु निर्यात सात दशमलव एक प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालले कुल ९३ अर्ब ४३ करोड बराबरको वस्तु निर्यात गरेको थियो । गतवर्षको तुलनामा निर्यात मात्र नभई आयात पनि घटेको छ । गत आर्थिक वर्ष २०७९/८० को सात महिनामा कुल नौ खर्ब १९ अर्ब १७ करोड बराबर रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा आठ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । सरकारी वित्त  गत आर्थिक वर्ष २०७९/८० को सात महिनामा सङ्घीय सरकारको कुल खर्च छ खर्ब ६७ अर्ब ६६ करोड रुपैयाँ थियो । जसमध्ये चालु खर्च पाँच खर्ब ३१ अर्ब ५० करोड, पुँजीगत खर्च ६६ अर्ब ३० करोड रुपैयाँ र वित्तीय व्यवस्थातर्फको खर्च ६९ अर्ब ८६ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा सरकारको कुल खर्च खर्ब ८६ अर्ब ७५ करोड पुगेको छ । यो अवधिसम्मको चालु खर्च पाँच खर्ब ९ अर्ब ४ करोड, पुँजीगत खर्च ६३ अर्ब ५८ करोड र वित्तीय व्यवस्थातर्फको खर्च एक खर्ब १४ अर्ब १३ करोड रुपैयाँ रहेको छ । अर्थात् गतवर्षको तुलनामा यसवर्ष चालु र पुँजीगत शीर्षकको खर्च घटेको छ भने वित्तीय व्यवस्था शीर्षकको खर्च बढेको छ । वित्तीय व्यवस्था शीर्षकमा छुट्याइएको बजेट सार्वजनिक ऋणको साँवा ब्याज तिर्न खर्च हुने गरेको छ । गतवर्षको तुलनामा यसवर्ष राजस्व सङ्कलनमा पनि उल्लेख प्रगति देखिँदैन । गत आर्थिक वर्षको सात महिनामा सरकारले कर राजस्वतर्फ चार खर्ब ६४ अर्ब १९ करोड रुपैयाँ र गैर कर राजस्वतर्फ ५० अर्ब ५० करोड रुपैयाँ गरी कुल पाँच खर्ब १४ अर्ब ६९ करोड रुपैयाँ राजस्व परिचालन भएको देखिन्छ । चालु आर्थिक वर्षको सोहि अवधिमा समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन ९प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने कर राजस्व पाँच खर्ब १० अर्ब ५० करोड र गैर कर ५६ अर्ब ९१ करोड गरी कुल पाँच खर्ब ६७ अर्ब ४० करोड रुपैयाँ राजस्व परिचालन भएको छ । विसं २०७९ माघ मसान्तमा नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा दुई खर्ब ४ अर्ब ९२ करोड रुपैयाँ नगद रहेकोमा गत माघ मसान्तसम्ममा रु दुई खर्ब १५ अर्ब २६ करोड नगद मौज्दात छ । मुद्रास्फीति  मुद्रास्फीति वृद्धिदर गतवर्षको तुलनामा केही घटेको छ । गत आर्थिक वर्षको माघ मसान्तसम्ममा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा ५.०१ प्रतिशत छ । सेवा क्षेत्र  चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा खुद सेवा आय ३७ अर्ब २६ करोडरुपैयाँले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३८ अर्ब ४५ करोडले घाटामा थियो । गत आर्थिक वर्षको शुरुवाती सात महिनामा विदेश भ्रमणका लागि नेपालबाट ६२ अर्ब ५७ करोड बाहिरिएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा भ्रमण व्यय ४९.९ प्रतिशतले बढेर एक खर्ब ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ । विदेशमा पढ्नका लागि नेपाली विद्यार्थीले गर्ने खर्च अर्थात् शिक्षातर्फको व्यय चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ६४ करोड छ । गत आर्थिक वर्षको शुरुवाती सात महिनामा यस्तो खर्च २२ अर्ब ६० करोड रुपैयाँ बराबर थियो । विनिमय दर  विसं २०८० असार मसान्तको तुलनामा विसं २०८० माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली मुद्रा १.०५ प्रतिशतले अवमूल्यन भएको छ । गत माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३२.५६ पुगेको छ । विसं २०७९ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर १३१.७० पुगेको छ । निक्षेप र कर्जा परिचालन  गत वर्ष २०७९ को माघ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाबाट परिचालन भएको निक्षेप दुई खर्ब ५३ अर्ब ९७ करोड रहेकोमा २०८० माघ मसान्तसम्ममा तीन खर्ब ९७ अर्ब २० करोड रहेको छ । त्यस्तै, गतवर्षको शुरुवाती सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा एक खर्ब ४८ अर्ब १२ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब २१ करोड रुपैयाँ बराबर कर्जा प्रवाह भएको छ । ब्याजदर    विसं २०७९ मा ९१-दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर नौ दशमलव ७९ प्रतिशत रहेकोमा अहिले घटेर २०८० माघसम्म पुग्दा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको छ । विसं २०८० माघमा वाणिज्य बैंकहरुको औसत आधारदर ९.०६ प्रतिशत, विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत थियो । रासस

दक्षिण कोरियामा ५ हजार चिकित्सकको लाइसेन्स निलम्बन गर्ने सरकारको चेतावनी

दक्षिण कोरिया । दक्षिण कोरियाले सरकारी चिकित्सा प्रशिक्षण सुधारको विरोधमा राजीनामा दिएका र काम गर्न छाडेका चार हजार ९०० जुनियर चिकित्सकको मेडिकल लाइसेन्स निलम्बन गर्ने प्रक्रिया सुरु गरेको जनाएको छ । चिकित्सकहरूको सङ्ख्या बढाउने सरकारी योजनाको विरोधमा फेब्रुअरी २० देखि सुरु भएको हड्तालले दक्षिण कोरियामा चिकित्सकको अभाव र दक्षिण कोरियाको बढ्दो वृद्ध जनसङ्ख्याको सामना गर्न आवश्यक जनशक्तिको अभाव भएको छ । चिकित्सकहरूले सरकारी योजनाले चिकित्सकीय सेवाको गुणस्तर घटाउने तर्क गरेका छन् । सरकारको कार्यादेश र कानुनी कारबाहीको धम्कीको बावजुद करिब १२ हजार जुनियर चिकित्सक अर्थात् प्रशिक्षार्थी चिकित्सकको ९३ प्रतिशत सरकारको अन्तिम गणनामा उनीहरूको अस्पतालमा सेवारत छैनन् । प्रशिक्षार्थी चिकित्सकको आन्दोलनले सियोललाई लाखौं डलर राज्यको भण्डारमा रहेको लाखौँ अमेरिकी डलर र सैन्य चिकित्सकलाई परिचालन गरी सर्वसाधारणलाई सहयोग गर्न बाध्य बनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार हजारौं प्रशिक्षार्थी चिकित्सकलाई आफ्नो अस्पताल फर्कन भनिएको विशेष आदेशको अवज्ञा गरेपछि चिकित्सकलाई मेडिकल लाइसेन्स निलम्बन गर्ने कारबाहीको पहिलो कदमका रूपमा प्रशासनिक सूचना पठाएको जनाएको छ । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य तथा चिकित्सा नीति महाशाखाका निर्देशक चुन बयुङ–वाङले भने, ‘मार्च ८ सम्ममा चार हजार ९०० भन्दा बढी प्रशिक्षार्थी चिकित्सकलाई सेवामा फर्किन सूचना पठाइएको छ ।’ सरकारले यसअघि नै हडतालमा उत्रिएका चिकित्सकलाई तीन महिनाका लागि लाइसेन्स निलम्बन गर्ने चेतावनी दिइसकेको थियो । यसका कारण विशेषज्ञका रूपमा योग्य हुन सक्ने क्षमता कम्तीमा एक वर्ष ढिला हुने बताइएको छ । चुनले हडतालमा रहेका चिकित्सकलाई आफ्ना बिरामीकहाँ फर्कन आग्रह गरे । ‘प्रशासनिक व्यवस्था पूरा हुनुअगावै काममा फर्केमा प्रशिक्षार्थी चिकित्सकलाई सरकारले परिस्थितिलाई ध्यानमा राखेर संरक्षण गर्नेछ’, उनले भने, ‘अहिले काममा फर्कने चिकित्सकले कारबाहीबाट बच्न सक्छन् ।’ उनले थपे, ‘सरकार वार्ता गर्न छोड्दैन । संवादको लागि ढोका सधैं खुला छ । सरकारले चिकित्सा सुधारको सहयात्रीका रूपमा चिकित्सा क्षेत्रको विचारलाई सम्मान गर्नेछ र विशेषरूपमा मनन गर्नेछ ।’ सरकारले गत हप्ता प्रशिक्षार्थी चिकित्सकहरूको तलब र सर्तहरू सुधार गर्न नयाँ उपायहरूको घोषणा गरेको थियो र यसको साथै लगातार ३६–घण्टा कार्य अवधिको समीक्षा गर्ने बताएको थियो । यसले जुनियर चिकित्सकको पक्षमा काम गर्ने अधिकारीहरूको भनाइ छ । चिकित्सकको हडतालका कारण धेरै शल्यक्रिया सेवा रद्द हुनु र सेवाका लागि लामो समय पर्खनुपर्नेजस्ता प्रमुख अस्पतालकासेवामा ढिलाइ भएको छ । सियोलले सैन्य चिकित्सकहरू परिचालन गरेको छ र सेवाको कमीलाई न्यूनिकरण गर्नको लागी राज्य कोषबाट लाखौं डलर विनियाजन गरेको छ, तर त्यहाँ पूर्ण स्वास्थ्य सङ्कट छ भन्ने कुरा अस्वीकार गरेको छ । चुनले भने, ‘सैन्य चिकित्सकहरूले यसै हप्ता बुधबारदेखि नागरिक अस्पतालहरूमा काम सुरु गर्नेछन् ।’ दक्षिण कोरियाको कानुनअनुसार चिकित्सकलाई हडताल गर्न प्रतिबन्ध लगाइएको छ र स्वास्थ्य मन्त्रालयले प्रहरीलाई काम रोक्ने सम्बन्धित चिकित्सकमाथि अनुसन्धान गर्न भनेको छ । सरकारले विकसित राष्ट्रहरूमध्ये सबैभन्दा कम चिकित्सक–जनसङ्ख्या अनुपातलाई सम्बोधन गर्न आगामी वर्षदेखि वार्षिक दुई हजारभन्दा बढी विद्यार्थीलाई मेडिकल विद्यालयमा भर्ना गर्ने तयारी गरेको छ । चिकित्सकहरूले सुधारले सेवाको गुणस्तर र चिकित्सा शिक्षालाई खस्काउने डर व्यक्त गरेका छन्, तर सरकारको कार्यक्रमका अनुयायीहरूले चिकित्सकहरूले उनीहरूको तलब र सामाजिक स्थितिलाई सुरक्षित राख्न आन्दोलन गरिरहेको आरोप लगाएका छन् । रासस

उपनिर्वाचनको तयारीबारे छलफल गर्न रास्वपाको बैठक जारी

फाइल फोटो काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । वनस्थलीको चमतिस्थित केन्द्रीय पार्टी कार्यालयमा जारी बैठकमा उपनिर्वाचनका लागि दल दर्ता र निर्वाचनको तयारीबारे छलफल भैरहेको पार्टीको केन्द्रीय सदस्य एवं सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । उनका अनुसार इलाममा हुने उपनिर्वाचनमा भाग लिने विषयमा बैठकमा विशेष छलफल भइरहेको छ । उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र गरिएको निर्णयबारे समेत छलफल हुने प्रतिनिधिसभा सदस्य एवं सो पार्टीका केन्द्रीय सदस्य बिनिता कठायतले जानकारी दिइन् । रासस

आज चार बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज अपरान्ह चार बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चार बजेको लागि उक्त बैठक बोलाएका हुन् ।

१२ वर्षदेखि प्रदिप्ताको नेतृत्वमा कादम्बरी कलेज

काठमाडौं । अहिले धेरै विद्यार्थीको रोजाइमा पर्छ डाक्टर र इन्जिनियरलगायत अरु प्राविधिक विषय । अभिभावकलाई पनि आफ्नो छोराछोरीले यही पढुन् भन्ने लाग्छ । सामाजिक कार्य (सोसियल वर्क) पढेर के हुन्छ ? अरु विषय किन पढ्ने भन्ने अभिभावक पनि धेरै नै छन् । सोसलसाइन्स, ह्युमानिटिजजस्ता विषय अहिले विद्यार्थीकोे प्राथमिकतामा पर्दैन । यस्ता विषय पढ्न नसक्ने, कमजोर विद्यार्थीले पढ्ने हो भन्ने भाष्य निर्माण गरिएको छ । तर, यो भाष्य नै गलत रहेका बताउँछिन् कादम्बरी मेमोरियल कलेजकी प्रमुख प्रदिप्ता कादम्बरी । उनी विगत लामो समयदेखि सामाजिक विषयमा अध्ययन र अध्यापन गराउँदै आइरहेकी छन् । २४ वर्षदेखि शिक्षण पेसामा आवद्ध उनी १० वर्षदेखि कलेजको प्रमुख भएर काम गरिरहेकी छन् । प्रदिप्ताको घर काठमाडौं हो । उनी त्यहीँ हुर्किइन्, बढिन् । उनको शिक्षादीक्षा पनि काठमाडौंमै भयो । उनले सन् १९९५ मा माइक्रोबायोलोजीबाट स्नातकोत्तर गरिन् । त्यसपछि सुरु भयो उनको अध्यापन यात्रा । सन् २००० मा त्रिभुवन विश्वविद्यालयमा एमएस्सीका विद्यार्थीलाई माइक्रोबायोलोजी पढाउन सुरु गरिन् । उनले पढ्दै गर्दा शिक्षक हुन्छु भनेर सोचेकी थिइनन् । तर, जब उनले त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्न सुरु गरिन्, तब उनलाई युवाहरूसँग नजिकिँदा रमाइलो लाग्यो । केही समय शिक्षण पेसामा लागेकी उनी पछि सामाजिक कार्यतिर लागिन् । उनले ‘सुत्र’ नामक एउटा संस्थामा पनि काम गरिन् । चार जना अस्ट्रेलियाली सोसियल वर्करसँग पाँच वर्ष नेपालमा काम गर्ने अवसर पाएको उनले बताइन् । सोसियल साइन्स र इन्टरनेशनल फेमिली स्टडिजमा पनि स्नातकोत्तर पास गरेकी छन् प्रदिप्ताले । कादम्बरी कलेजको स्थापना नेपालमा एउटा फरक उद्देश्यका साथ सञ्चालनमा आएको कलेज हो कादम्बरी मेमोरियल कलेज । प्रदिप्ता त्यही कलेजकी प्रमुख हुन् । समाज र देश विकासको मुख्य आधार नै अध्ययन हो भन्ने लागेपछि नेपाली युवाहरूलाई सोसियल वर्क पढाउन आजभन्दा १७ वर्षअघि कलेज स्थापना भएको हो । काठमाडौंको बुद्धनगरमा अवस्थित यो कलेजले १६ वर्षसम्म ब्याचलर इन सोसियल वर्क (बीएसडब्ल्यू) कार्यक्रम सञ्चालन गर्यो । विगत दुई वर्षदेखि मास्टर अफ सोसियल वर्क (एमएसडब्ल्यू) का कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । त्योभन्दा पहिले काठमाडौं उपत्यकामा सोसियल वर्क पढाइ हुने एउटामात्र कलेज थियो सेन्टजेभियर कलेज । त्यसपछि कादम्बरी मेमोरियल स्थापना गरिएको क्याम्पस प्रमुख प्रदिप्ता कादम्बरी बताउँछिन् । आजभोलि अन्य कलेजहरूमा पनि बीएसडब्लु कार्यक्रम सुरु भएको बताउँदै उनी सामाजिक अध्ययनका लागि कादम्बरी र सेन्टजेभियर कलेजबाहेक अन्य कलेज नरहेको बताउँछिन् । पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त यो कलेजमा पढेका धेरै विद्यार्थी अहिले विश्वका विभिन्न देशमा गएर सामाजिक काम गरिरहेका छन् । कलेजको परिकल्पना नेपालमा अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न संघसंस्थाहरूले काम गरिरहेका छन् । धरैजसोले समाज र नेपालको विकास क्षेत्रमा काम गरिरहेका छन् । समाजका लागि काम गर्ने भन्दै कतिले मन भएर त कतिले धन भएर योगदान गर्छौँ भनेर लागिरहेका उनी बतिउँछिन् । एकताका यस्तो लहर थियो कि नेपालका हरेक टोलटोलमा आइएनजिओले काम गरिरहेका थिए । सामाजिक मुद्दामा काम गर्दा वैज्ञानिक ज्ञान, प्रशिक्षण, सीप चाहिन्छ । तर, त्यो बेला समाजमा गएर काम गर्नेहरूसँग त्यस्तो सीप थिएन । समाजमा गएर काम गर्नलाई पनि सीप चाहिन्छ भन्ने उद्देश्ले कलेजको सुरुवात गरेको प्रदिप्ता बताउँछिन् । ‘नेपालमा काम गर्ने धेरै आइएनजिओ डोनरको पैसा हुन्जेल काम गर्ने र त्यसपछि बन्द गर्नुपर्ने अवस्थामा छन्,’ उनी भन्छिन्, ‘जो सामाजिक मुद्दामा काम गर्छ, सामाजिक विकास, समाजमा भएका विभिन्न समस्या समाधान गर्नलाई काम गर्छ उनीहरूलाई व्यावसायिक रूपमा टे«न गराउने कलेजको उद्देश्य हो ।’ प्रदिप्ताका अनुसार कलेज सुरु गर्दाताका त्रिभुवन विश्वविद्यालयका कतिपय कलेजमा सामाजिक अध्ययन पढाइ हुन्थ्यो । तर, त्यहाँ आवश्यक विषय थिएन । शैक्षिक कार्यक्रम पनि भर्खर सुरु हुँदै थियो । सोसल वर्कलाई क्वालिटी एजुकेशन र प्रोफेसनलरूपमा लिन त्यो बेला आवश्यक थियो । यो क्षेत्रमा काम गर्नेहरू अरु विषयबाट प्रवेश भएको जनशक्ति हुँदा उहाँहरूलाई ट्रेनिङ भइरहेको देखिन्छ । यो क्षेत्रमा काम गरिरहेकहरूका लागि कहिले मनिटरिङ, इभालुसेन टेर्निङ, डेभलपमेन्ट म्यानेजमेन्ट कहिलकाहीँ ह्युमनराइटको पनि तालिम दिरहेको उनको भनाइ छ । ‘त्यो ठाउँमा हाम्रो कलेजमा पढेका सोसियल र्वकर जाँदा उहाँहरूको लगानी र समय पनि बचत हुन्छ,’ उनी भन्छिन्, ‘हामीकहाँ पढेका विद्यार्थी यस्तो ठाउँमा काम गर्न प्रफेक्ट छन्, उनीहरू त्यो ठाउँमा जाँदा यस्तो तालिमको आवश्यक्ता परिरहँदैन ।’ विश्वव्यापीरूपमा पनि अहिले सोसियल वर्करको माग बढिरहेको छ । आजभोलि डिजिटल डेभलपमेन्ट धेरै भएको छ । सबै काम एआइले गरिरहेको पनि देखिन्छ । तर, पनि मान्छेसँगको काम गर्ने पद्धती भने फरक हुन्छ । प्रविधिको विकास भए पनि मानवसँगको आवश्यक्ता जहिले पनि रहन्छ । कोभिडपछिको आर्थिक मन्दिले व्यक्तिगतरूमा सञ्चालनमा ल्याएका कलेजहरू धरमराउन थालेका छन् । कलेजको सिट संख्या अनुसार निजी कलेजको व्यवसाय चौपट बन्दै गएको छ । निजी कलेजका सञ्चालकहरू हात उठाउने अवस्थामा पुगेको उनी बताउँछिन् । ‘कतिपयले कलेजहरूले सेयर नै बेचिसकेका छन् भने कोही तयारीमा छन्,’ उनी भन्छिन्, ‘धेरैजसो कलेज अहिले विकल्पको बाटो खोजिरहेका छन् ।’ कादम्बरी मेमोरियल कलेज पनि यो बाट अछुतो भने छैन । अहिले विद्यार्थी पाउन कलेजलाई पनि सकस परेको छ । कलेजहरूमा विद्यार्थी घट्दै अहिले कादम्बरी कलेजमा एमएसडब्लु र विएसडब्लु गरी लगभग एक सय जति विद्यार्थी छन् । ‘विद्यार्थी पाउन सुरुको दिनमा सजिलो थियो, अहिलेको उत्तिकै कठिनाइ छ,’ कलेजकी प्रमुख प्रदिप्ता भन्छिन्, ‘सुरुवातमा सिट संख्याभन्दा धेरै विद्यार्थी हुन्थे, आजभोलि संख्याको आधा पनि विद्यार्थी पाउन गाह्रो छ ।’ कादम्बरी कलेजमा विगत ४ वर्षदेखि विद्यार्थीको संख्या घट्दै आएको प्रदिप्ता बताउँछिन् । त्योभन्दा पहिले जम्मा सिट सख्या ३० हुँदा २५ देखि २८ जना विद्यार्थी हुन्थे । तर, अहिले ४० सिट संख्यामा १२ देखि १५ जनामात्र विद्यार्थी भर्ना हुने गरेका छन् । तिनीहरू मध्ये पनि कतिपय बाहिर जाने तयारीमा रहेका छन् । ‘दुई/तीन वटा कक्षामा त अझ ६ जना विद्यार्थी छन,’ उनी भन्छिन्, ‘तीमध्ये पनि कतिले बीचमै छोड्छन् थाहा छैन ।’ मास्टर्समा भने अहिले कोटा फुल नै छ । तर, त्यहाँ पनि ड्रप्टआउट हुने संख्या धेरै छ । क्याम्पस प्रमुख प्रदिप्ता अब विश्वविद्यालयले यो विषयमा सोच्नुपर्ने बेला आएको बताउँछिन् । कलेज आइरहेका विद्यार्थीमा पनि बीचमै पढाइ छोड्नेको संख्या अझ डर लाग्दो छ । जति भर्ना भएका छन् ति सबै चौथो समेस्टरमा पुग्दैनन्,’ उनी भन्छिन्, ‘अहिले अरू कलेजको जस्तै समस्या हाम्रो पनि छ, एक त विद्यार्थी भर्नाको संख्या घटेको छ, त्यसैमा अहिले पढ्न आइरहेकाहरू पनि कहिलेदेखि आउन छोड्छन् टुंगो छैन ।’ उनी यसो हुनुको सबै दोष नेपालको राजनीतिलाई दिन्छिन् । ‘नेपाल सरकारको रणनीति नै युवालाई विदेश पठाउने खालको छ,’ उनी थप्छिन्, ‘रेमिटेन्सबाट देश चलिरहेको छ, नेपालमा युवा बस्ने माहोल छैन, पहिले श्रमको बजारमा युवाहरूलाई पठायो, अहिले शिक्षाको नाममा युवाहरू विदेश पठाइरहेको छ ।’ अहिले विद्यार्थी नपाउनु भनेको १२ कक्षा पढिसकेपछि नेपाल बस्नै हुँदैन भन्ने सोचमात्रै होइन कि सामाजिक नियम नै बन्न लागेको उनी बताउँछिन् । पहिले अरु विषय लिएर पढेका विद्यार्थी बाहिर जान्थे । ९० प्रतिशत सोसियल वर्करहरूले नेपालमा काम गरिरहेका थिए । तर, अहिले विदेशतिर पनि सोसियल वर्करको माग बढेको छ । अब झन् नेपालमा विद्यार्थी पाउन नै गाह्रो हुने उनको भनाइ छ । विकल्पकाे खाेजीमा  अहिले धेरै व्यवसायीले आफूले सञ्चालन गर्दै आएको व्यवसाय नचलेपछि विकल्प खोज्न थालेका छन् । नेपालका निजी कलेजका सञ्चालकको अवस्था पनि उस्तै छ । अब कादम्बरी कलेज पनि विकल्पको खोजि गरिरहेको छ । कलेजमा कोभिडपछि आर्थिकरूपमा निकै समस्या भएको उनी बताउँछिन् । ‘एमएसडब्लू कार्यक्रम नआउँदासम्म अब धान्न सकिँदैन भन्ने अवस्थामा थियौं,’ प्रदिप्ता भन्छिन्, ‘एमएसडब्ल्यू कार्यक्रम आइसकेपछि केही आशा पलाएको छ, तर अहिले बिएसडब्यूमै विद्यार्थी नपाएको समयमा एमएसडब्ल्यूमा विद्यार्थी पाउन झन गाह्रो छ ।’ उनी अबको चार पाँच वर्षपछि यो कलेजको भविष्य रहन्छ भन्ने प्रश्न खडा भएको बताउँछिन् । यसको विकल्पको तयारी पनि कलेजले खोज्न थालेको छ । ‘नेपालमा अहिले प्लान नै गर्न सकिने अवस्था छैन,’ उनी भन्छिन्, ‘५-१० वर्षको योजना बनाएर काम गर्न सकिने अवस्था छैन, अबको ४-५ वर्ष पछि हेरौँ के हुन्छ त्यस्तै गर्नुपर्छ ।’ काम गर्छु पढ्छु भन्ने वातारण भएन नेपालमा पढ्दै काम गर्न पाउने वातावरण छैन । अहिले जति पनि नेपाली विद्यार्थी विदेश पढ्न गइरहेका छन्, उनीहरू पढ्दै काम गर्दै गर्छु भनेर गइरहेका छन् । नेपालका कुनै पनि विश्वविद्यालयमा आधा समय काम गर्छु, आधा समय पढ्छु भन्ने अवस्था छैन । विद्यार्थीले कलेज पढ्नको लागि घरमा बाआमासँग पैसा माग्नुपर्छ । काम गर्न पनि उत्तिकै आवश्यक र पढ्न पनि आवश्यक हुँदा युवाहरूलाई यहाँ बस्ने वातावरण नभएको विज्ञहरू बताउँछन् । कुनै पनि काम गर्न बिहान १० बजेदेखि जानुपर्छ साँझ ५, वा ६ बजेसम्म काम गर्दा उसलाई पढ्न समय हुँदैन । प्रदिप्ता कमर्सेल कर्पोरेट हाउसले विद्यार्थीलाई लक्षित गर्दै पार्ट टाइमको व्यवस्था गर्ने हो भने अहिले पनि धेरै नेपाली विद्यार्थी स्वेदशमै बस्ने बताउँछिन् । पारिवारिक सल्लाहमा कलेज कादम्बरी मेमोरियल कलेज कुनै ठूलो योजना र आर्थिक नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको उनको भनाइ छ । प्रदिप्ताका अनुसार यो कलेज त्यो बेलाको आवश्यक्ता र पारिवारिक सल्लाहले सुरु गरिएको थियो । यो कलेज सञ्चालन गर्दा पनि कुनै ठूलो लगानी नगरेको उनी बताउँछिन् । ३० देखि ४० लाखको लगानीमा एउटा भाडाको घरमा सञ्चालन गरिएको थियो । त्यो बेला सोसियल वर्कसम्बन्धी पढाइ हुनेमात्र एउटा कलेज थियो । उनका ज्वाई सेन्टजेभियर कलेजमा सामाजिक विषयमा पढाउथे । उनलाई त्यतिखेर अर्को कलेज पनि आवश्यक छ भन्ने लाग्यो । ज्वाई र बहिनीको आइडियामा दिदी भिनाजु र बहिनी ज्वाई मिलेर कलेज सञ्चालन गरेको उनको भनाइ छ । सुरुमा ‘सुत्र सेन्टर फर एजुकसन एण्ड रिसर्च’ गैर नाफामुलक एनजीओ दर्ता गरे । एनजीओले प्रोजेक्ट खोजेर काम गर्छन् । तर, उनीहरूले कलेज खोल्ने र शिक्षा मार्फत् सामाजिक विकासमा काम गर्ने जनशक्ति तयार पार्ने उद्देश्यले यो कलेजको सुरु गरे । यो अर्थमा पनि उनी यो कलेजलाई गैरनाफामुलक कलेज रहेको बताउँछिन् । शैक्षिक व्यवसाय कुनै पनि संघसंस्था गैर नाफामुलक भने पनि व्यावसायिक प्रयोजनकै लागि सञ्चालित हुन्छन् । व्यवसायको नजरबाट कुरा गर्दा १७ वर्षको अवधिमा भौतिकरूपमा प्रगति नभए पनि क्वालिटी र एजुकेसनको हिसाबले उपलब्धी भएको कलेजको दाबी छ । माइतीघरमा एकतलाको घरमा पाँच कोठा भाडामा सुरु गरेको कलेज अहिले पनि भाडाको घरमा सञ्चालनमा छ । कलेजबाट इनकम गरी आफ्नै जग्गा किनेर भवन निर्माण गर्न सकेको छैन । ‘आर्थिकरूपमा सबल हुन हामीसँग धेरै कार्यक्रम पनि थिएन’ उनी भन्छिन्, ‘हामीले एउटामात्र विषय पढाउँछौँ, त्यो पनि एउटा होे, अर्को बीचमा विद्यार्थीको संख्या नै ओरोलो लाग्दै गयो त्यहाँ पनि समस्या भयो ।’ कलेज स्थापना गर्दा सुरुमा यो विषय पढाउने शिक्षक पनि धेरै थिएनन् । एनजीओ, आइएनजीओमा काम गरेकाहरूले पढाउँथे । सुरुवातीमा चार जना फुल टाइम पढाउने थिए । अहिले पनि पूर्ण काम गर्ने ६ जना र अरू कर्मचारी गरेर १० जना छन् । त्यो बाहेक पार्ट टाइम पढाउन आउने १० जना विज्ञ छन् । सोसियल वर्कको मोडल झन्डै मेडिकल एमबीबीएसको जस्तै हो । सबै साइन्सलाई सोसियल वर्कको लेन्सबाट हेररे समस्या समाधान गरिन्छ । कक्षासँगसँगै प्रशिक्षार्थी कक्षा पनि सञ्चालन गरिन्छ । ब्याचलर्सले चार समेस्टरमा १२ सय घण्टा बढी इन्टर्नसिप गरेको हुन्छ । चार दिन पढाइ हुँदा दुई दिन इन्टर्नसिप हुन्छ । ट्रेनिङ वेस्ट पेडागोजी छ । कक्षामा पठाउँदा पनि विद्यार्थीले नै विद्यार्थीलाई पढाउँछन् । शिक्षकले कहाँनेर कमजोरी भयो त्यहाँनेर सिकाउने काम हुन्छ ।

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सको निःशुल्क टिकट, कसरी गर्ने बुकिङ ?

काठमाडौं । यती एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट दिने भएको छ । एयरलाइन्सले फागुन २८ गतेबाटै लागू हुने गरी सो निर्णय गरेको हो । बिराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । यससँगै यो सेवा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिट्युट)मा उपचारका लागि यात्रा गर्ने बिरामीको लागि उपलब्ध हुने छ । बिरामीहरुले आफ्नो उपचारका लागि डाक्टरको अप्वाइन्टमेन्ट लिइसकेपछि टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् । यात्रुले विमानस्थलमा चेक-इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ । विशेषज्ञ चिकित्सकहरुद्वारा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र लिनका लागि बिरामीहरुले बिराट क्यान्सर इन्टिट्युटमा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।