नेपाल बीमा प्राधिकरण र त्रि.वि. केन्द्रीय अर्थशास्त्र विभागबीच सम्झौता
काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव राज अधिकारीले मंगलबार काठमाडौंमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशील देव सुवेदी, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रा.डा. योगेश रंजित र सहप्रा.डा. रेमश थापा उपस्थित थिए । समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणले बीमाको अनुसन्धान क्षेत्र पहिचान गर्ने, प्राधिकरण र केन्द्रीय अर्थशास्त्र विभागले आपसी साझेदारीमा अनुसन्धानको कार्य अगाडि बढाउने र अनुसन्धानका लागि आवश्यक वित्तीय सहयोग प्राधिकरणले उपलब्ध गराउने उल्लेख छ । देशको अर्थतन्त्रमा बीमा क्षेत्रको योगदान, बीमा क्षेत्रको विकास, बीमा समावेशिता, बीमा व्यवसाय, सेवाको गुणस्तर, संचालन खर्च, वित्तीय प्रणाली, वित्तीय साक्षरता, बीमा क्षेत्रका चुनौती, बीमा कम्पनीको नियमन तथा सुपरीवेक्षण, पुनर्बीमा र जोखिम बहन नीति लगायतका क्षेत्रमा अनुसन्धान गरिने समझदारीपत्रका उल्लेख गरिएको छ । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले समझदारीबाट देशको बीमा क्षेत्रको गहिरो अध्ययन गर्न तथा प्राधिकरणको अनुसन्धान टोलीलाई सबल बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष सिलवालले बीमा सम्बन्धी अनुसन्धानका लागि आगामी आर्थिक वर्षमा थप रकमको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव राज अधिकारीले समझदारी अनुरूप बीमा सम्बन्धी अनुसन्धान कार्य तत्कालै अगाडि बढाउने बताए । समझदारीपत्रमा हस्ताक्षर भएको मितिले चार वर्षसम्म समझदारी कायम रहने जनाइएको छ ।
एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सुवर्ण पौडेल
काठमाडौं । एनआईसी एशिया लघुवित्त अध्यक्षमा सुवर्ण पौडेल नियुक्त भएका छन् । माघ २ गते बसेको सञ्चालक समितिले सञ्चालक पौडेललाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसअघि संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी थिए । उनले माघ २ गतेबाटै लागू हुने गरी राजिनामा दिएपछि पौडेललाई रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरिएको हो । राठी एनआईसी एशिया बैंकबाट प्रतिनिधित्व गर्दै आएका थिए । अध्यक्ष सुवर्ण पौडेलले व्यवस्थापन विषयमा स्नाकोत्तर तथा हाल एसएमई फाइनानन्सिङमा विधावारीधी गरी रहेका छन् । उनी सँग इमर्जिङ्ग नेपाल लिमिटेडमा निमित्त प्रमुख कार्यकारी अधिकृत साथै व्यवसाय परामर्श, लगानी तथा वित्तीय क्षेत्र गरी एक दशक बढीको कार्यानुभव रहेको छ । साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र मर्जर पश्चात् हालको एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडमा ५ वर्ष देखि सञ्चालक समितिमा रहि काम गरेको अनुभव समेत रकेको हुँदा उनको नेतृत्वमा संस्थाले नयाँ उचाई हासिल गर्ने संस्थाको विश्वास रहेको छ ।
नेपाल मेडिकल कलेजले माग्यो कर्मचारी
काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो । सूचना अनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ । कलेजले निकालेको सूचना अनुसार सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्नेछन् । कलेजको शैक्षिक, सेवागत र प्रशासनिक ब्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्तिहरु माग गरिएको हो । योग्यता पुगेका नागरिकले कलेजको फेसवुक पेजमा क्लिक गरी विस्तृत जानकारी लिन सक्नेछन् । दरखास्त इमेल मार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकाहरूलाइ कलेजले अन्तर्वार्ताका लागि सम्पर्क गर्नेछ ।
सफ्टवेरिका कलेजको आयोजनामा ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सम्पन्न
काठमाडौं । सफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । कलेजले गत पुस २७ गते शुक्रवार नेपाल पर्यटन बोर्डको हलमा ‘विगतलाई अङ्गाल्दै, भविष्य कल्पना गर्दै’ भन्ने विषयवस्तुमा आधारित भएर ‘टेडएक्स सफ्टवेरिका २०२४’ आयोजना गरेको हो । कार्यक्रममा सपना देख्ने र सपना पुरा गर्ने विभिन्न क्षेत्रका दिग्गज व्यक्तिहरू वक्ताका रूपमा उपस्थित भएका थिए । उपस्थित दर्शकसँग उनीहरूले आ–आफ्नो अनुभव र बुझाइ बाँडेका थिए । उक्त कार्यक्रममा नविल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले खुसी खोज्ने र आफ्नो सर्वश्रेष्ठ संस्करण हुनुपर्नेबारे आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार ऋषि धमला लगायतका अन्य वक्ताहरुले आ-आफ्नो विचार राखेका थिए । प्रविधि र नवप्रवर्तनको बारेमा छलफल जारी राख्न भविष्यमा पनि सफ्टवेरिका कलेजले यस्ता कार्यक्रमहरू अवश्य आयोजना गर्ने छ । सफ्टवेरिका कलेज यस्ता ज्ञान आदानप्रदान र सशक्तीकरणका लागि मञ्चहरू तयार गर्न प्रतिबद्ध छ । किनकी यस्ता कुराले समुदायको वृद्धि र विकास गर्न योगदान पुर्याउँछ ।
माघ १२ गतेदेखि छैठौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो सुरु हुँदै
काठमाडौं । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौं नेपाल एग्रीटेक’ आयोजना गर्ने भएको छ । प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा माघ १२, १३ र १४ गते आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन प्रा.ली , फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.ली, तथा प्रदर्शनी तथा व्यापार सेवा भारत प्रा.ली द्वारा संयुक्त रुपमा आयोजित उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषि सम्बन्धी कम्पनीहरूका सय भन्दा बढी स्टलहरू रहने आयोजकले जनाएको छ । उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू जस्तै कुखुरा पालन, माछा पालन, बाख्रा पालन, गाई भैँसी पालन, डेरी लगायत कृषिका नवीनतम औजार, उपकरण, केरा खेती, थोपा सिचाई, विषादी रहित कृषि इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । उक्त प्रदर्शनीमा देश भरीबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, सङ्घ संस्थाका प्रतिनिधि लगायत आम कृषकहरूले प्रदर्शनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकको विश्वास रहेको छ । साथै यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा कृषकहरूका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुने तथा देश भरि बाट आउने कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना साना औजार, मेशिन देखी लिएर डेरी मेशिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने तथा नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन यो प्रदर्शनी कोशे ढुङ्गा साबित हुने आयोजक कम्पनीको विश्वास छ । उक्त प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
डेढ अर्ब बढी ऋण लिँदै प्रभु मनि ट्रान्सफर, कति गर्यो आम्दानी ?
काठमाडौं । रेमिट्यान्स सेवा प्रवाह गर्दै आएको प्रभु मनि ट्रान्सफरले एक अर्ब ५९ करोड ७७ लाख रुपैयाँ बराबरको ऋण लिने भएको छ । कम्पनीले दीर्घकालीन र अल्पकालीन गरि सो मात्राको कर्जा सुविधा लिन लागेको हो । उक्त कर्जा सेवा लिनको लागि संस्थाले केयर रेटिङ्ग नेपालमार्फत रेटिङ्ग गराएको छ । केयर रेटिङ नेपालले प्रभु मनिको दीर्घकालीन बैंक सुविधालाई दिएको रेटिङ्ग परिमार्जन गरेको छ भने अल्पकालीन बैंक सुविधालाई पुनः पुष्टि गरिदिएको छ । कम्पनीको कमजोर वित्तीय जोखिमलाई ध्यानमा राखेर उक्त रेटिङलाई परिमार्जन गरिदिएको केयर रेटिङ्ग नेपालले जानकारी गराएको छ । परिमार्जित रेटिङ्ग अनुसार प्रभु मनिले एक अर्ब ४४ करोड ७७ लाख रुपैयाँसम्मको दीर्घकालीन बैंक सुविधाको लागि केयर एनपी बी को रेटिङ्ग पाएको छ । त्यस्तै, १५ करोड रुपैयाँसम्मको अल्पकालीन बैंक सुविधालाई कम्पनीले केयर एनपी एफ फोर को रेटिङ्ग पाएको छ । यसअघिको तुलनामा उक्त दीर्घकालीन बैंक सुविधा २७ लाख रुपैयाँले बढेको हो भने अल्पकालीन बैंक सुविधा एक अर्ब ५९ करोड ५० लाख रुपैयाँले घटेको हो । जुलाई १६, २००२ मा स्थापित प्रभु मनि ट्रान्सफर प्रभु ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी हो । कम्पनीले नेपाल भित्र र बाहिरबाट नेपालका विभिन्न ठाउँहरुको नेटवर्क मार्फत रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । नेपाल बाहिरको रकम ट्रान्सफरको लागि कम्पनीले २५ कम्पनी/ बैंक/वित्तीय संस्थासँग र देशभित्रका ६ हजार बैंकिङ एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ हजार सहकारी एजेन्टसँग साझेदारी गरेको छ । हाल मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, युएई, अमेरिका लगायतका देशहरुमा नेपाली रकम ट्रान्सफर गर्दै आएको मनि ट्रान्सफरले आर्थिक वर्ष २०२३ मा ३० करोड ९० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । जुन हालसम्मकै घटी हो । कम्पनीले आव २०२२ मा ४४ करोड १० लाख, आर्थिक वर्ष २०२१ मा ५४ करोड ८० लाख र आर्थिक वर्ष २०२० मा ७० करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।
हात मिलाउन छोडौं, ‘जेएन.वान’ जोखिम समूहका लागि घातक छ
विश्व महामारीकारूपमा फैलिएको कोरोना भाइरस शून्यमा झरेको केही महिनापछि पुनः संक्रमण देखिन थालेको छ । पछिल्लो समय चर्चामा रहेको ओमिक्रोनको सव-भेरियन्ट जेएन.वानको संक्रमण हुन थालेको भन्दै विभिन्न देशमा सतर्कता अपनाउन थालिएको छ । नेपालमा पनि केही व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । कोरोनाका थुप्रै भेरियन्ट छन् । अहिले हाम्रो चासोको विषयमा रहेको ‘जेएन वान’ जिन सिक्वेन्सिङबाट मात्र पत्ता लाग्छ । एन्जिोन टेस्ट गरेर, पीसिआर टेस्ट गरेर ‘जेएन.वान’ पुष्टि हुँदैन । कोरोनाको आशंकामा फाट्फुट्ट अस्पतालमा जाँच गर्न आउनेहरूको नमुनालाई जिन सिक्वेन्सीङ गर्यौं भने जेएन वान हो कि ओमिक्रोनको अरू सव-भेरियन्ट हो कि वा पहिलेको डेल्टा भेरियन्ट हो भन्ने विषय पुष्टी हुन्छ । सीमा नाकामा वा कुनै अस्पतालमा गएर जेएन.वान पुष्टि हुँदैन । त्यो पुष्टि गर्नलाई जिन सिक्वेन्सीङ गर्नुपर्छ । ती नमुनाहरूमा रहेका भाइरसको जिन हेर्नुपर्छ । जिनलाई हेरेर त्यसको आधारमा कुन सव-भेरियन्ट हो भनेर पत्ता लगाउन सकिन्छ । तपाईंले अहिले जति पनि सञ्चार माध्यममा सुनिरहनुभएको छ, त्यो कोभिड पोजेटिभ हो ‘जेएन.वान’ होइन । राष्ट्रिय प्रयोगशालामा १६ जनाको जिन सिक्वेन्सिङ गर्दा ७ जनामा ‘जेएन.वान’ देखियो । तर, जेएन-वान सीमा नाकाबाट ल्याएको नमुनामा छैन । काठमाडौं उपत्यकामै विभिन्न स्वास्थ्य संस्थामा संकलन गरिएको नमुनामा देखिएको हो । नेपालमा ‘जेएन.वान’ पुष्टि भइसकेपछि कतिपय नागरिकमा त्रास फैलिएको छ । ‘जेएन.वान’ पहिले देखिएको ओमिक्रोनको सव-भेरियन्ट हो । यद्यपि, यो अरू भेरियन्टभन्दा संक्रामक छ । तर, कम घातक छ । यो भन्दै गर्दा हामीले खोप लगाएका छौं वा हामी बलिया छौं भनेर कुनै सतर्कता नअपनाएर हिड्न थाल्यौं भने जोखिममा परिन्छ । उहाँहरूका लागि यो घातक बन्न सक्छ भन्ने विश्वव्यापी भएका खोज अनुसन्धानले भनिसकेको छ । हामीले पनि त्यही अनुसार सबैलाई जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न भनेर अनुरोध गरेका छौँ । संक्रमित ७ जनाको अवस्था ‘जेएन.वान’ संक्रमण पुष्टि भएका संक्रमितहरूमा सामान्य लक्षण छ । उहाँहरूमध्ये कोही रुघाखोकी लागेको भन्दै बसिरहेका छन् भने केही मौसम परिवर्तन छ ज्वरो आएको भन्दै र कोही चिसो खाएको थियो वा पानीमा भिजेको थिएँ, धुलोमाटोमा हिँडेको थिएँ, त्यसैले ज्वरो आएको होला भन्ने तरिकाले सामान्य हिसाबले अस्पताल पुग्नुभएको थियो । अहिले उहाँहरूलाई हामीले निगरानीमा राखेका छौं । उहाँहरूको सम्पर्कमा आएका व्यक्तिलाई पनि हामीले टेस्ट गरिरहेका छौं । उहाँहरूमा पनि लक्षण देखियो भने परीक्षण गर्छौं । उहाँहरू जतिमा यो संक्रमण भेटियो ती सीमा नाकाबाट ल्याएका नमुनाहरूमा नभइ काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालबाट संकलन गरिएका नमुनामा देखिएको हो । लक्षण देखिएको मान्छेलाई हामीले निगरानी गर्ने हो । तर, उसलाई संक्रमण भइसकेपछि लक्षण देखिन ५/६ दिन लाग्छ । यो ५/६ दिनभित्र नेपाल छिरेको पनि हुनसक्छ । त्यस्तो लक्षण नदेखिएको मान्छे नेपाल छिर्यो , उसले टेस्ट पनि गराएको हुँदैन । उसले आफ्नो घरपरिवारलाई पनि सारेको हुन सक्छ । वा साथीभाइलाई पनि सारेको हुन सक्छ । त्यसैले हामीले यसको अध्ययन गरिरहेका छौं । जतिपनि संक्रमण देखिएको व्यक्ति हुनुहुन्छ उहाँहरू विदेशबाट चाहिँ आएको छैन । तर, उहाँहरूको परिवारमा र अरु को कहाँबाट आए, विगत ५/६ दिनमा कोसँग कहाँ जानुभयो, यो विषयमा अध्ययन गरिरहेका छौं । नेपालभित्रै भएको भए पहिलेको जेनियिन सिक्वेन्सीमा पनि देखिन्थ्यो किनकि हामीले पहिल्यै पनि १२ जनाको जेनियिन सिक्वेन्सी गरेका थियौं । १६ जनामा परीक्षण गरिएकोमा ७ जनामा पुष्टि भएको छ । सीमा नाकामा परीक्षण हामीले सीमा नाकामा एक महिना पहिलेदेखि नै तयारी थालेका छौं । जब भारतको दक्षिणी भागमा ‘जेएन.वान’ पुष्टि भयो । त्यसपछि हामीले सीमा नाकामा भएका हेल्थ डेस्क, स्वास्थ्यकर्मीलाई स्वास्थ्य निगरानीको लागि तयार रहन भन्यौं । देशभित्र छिर्ने स्वदेशी वा विदेशी जो सुकैलाई शंकास्पद लक्षण छ भने उहाँहरूको नमुना लिने, नमुना पोजेटिभ रहे आइसोलेसनमा बस्न सल्लाह दिने काम एक महिना पहिलेदेखिनै सुरु गरिएको हो । तर, केही मानिस नियम पालनामा गाह्रो मान्नु हुन्छ । जसले हामीलाई केही समस्या हुन्छ कि भन्ने छ । भारतबाट आएका जसलाई कोभिड देखिएको छ उहाँहरू यो मान्न तयार हुँदैनन् । जसले गर्दा घरका अन्य व्यक्तिलाई जोखिम हुने सम्भावना छ । कोभिडको बेला विभिन्न उपकरणहरू प्राप्त गरेका छौं । ती सामानलाई काममा ल्याउन र त्यो बेला तालिम प्राप्त स्वास्थ्यकर्मीलाई पनि सोहीअनुसार सेवामा लाग्न अनुरोध गरेका छौं । हामीसँग आवश्यक सबै सामान प्रयाप्त छ । कोभिडका भेरियन्ट तथा सव-भेरियन्टहरू परिवर्तन भइरहन्छन् । हामीले पहिलो र दोस्रो लहरको कोरोनाबाट धेरै कुरा सिकिसकेका छौं । यसको रोकथाम पनि कसरी गर्न सकिन्छ भन्ने विषय थाहा पाइसकेका छौं । यसको उपचार व्यवस्थापन पनि कसरी गर्ने, लक्षण के के देखिन्छन् भन्ने कुरा पनि थाहा छ । त्यही अनुसार हामीले तयारी गरेका छौं । त्यसैले अचानक यसले घातक रुप लिए पनि हामी त्योसँग जुध्न तयार छौँ । पहिलेको जसरी कोभिडले मानिसको मृत्यु हुन दिँदैनौं भन्नेमा हामी लागेका छौँ । स्वास्थ्य क्षेत्रमा नेपाल सरकारको जनशक्ति एकदम कम छ । एकजना स्वास्थ्यकर्मीले पाँच जना बराबर काम गर्नुपरेको छ । तथापि महामारीको बेला हामीकहाँ आफ्नो सेवा सुविधा भन्दा पनि नेपालको स्वास्थ्य क्षेत्र विशेषगरी चिकित्सकहरू दिनरात, भोक प्यास नभनी मनदेखि काम गर्छन । यदि महामारी आइहाल्यो भने पनि हामीसँग सेवानिवृत्त भइसकेको वा निजीमा काम गरिहेकालाई पनि रोस्टरमा राखेर काम गराउने अभ्यास गरेका छौं । स्वास्थ्य सुरक्षाको तयारीमा हामीले कुनै कसरत बाँकी राखेका छैनौं । प्रयाप्त स्वास्थ्य उपकरण कोभिड नभएको बेला कोभिडको लागि बजेट छुट्याउने कुरा भएन । विगत दुई महिनासम्म नेपालमा कोभिड संक्रमण थिएन । तर, अहिले संक्रमण सुरु भएको छ । अब बजेट नभए पनि हामीसँग विपद्को लागि बजेट हुन्छ । कहिलेकाहीँ त्यसले पनि नपुग्ने भए क्याबिनेटबाट निर्णय गराएर बजेट निकासा गर्नु पर्ने हुन्छ । नेपाल सरकारको नियमाअनुसार कुनै पनि सामान खरिद गर्नलाई तीन महिना समय लाग्छ । तर, विपद्को बेला भनेर अहिले फास्ट ट्रयाकबाट एन्टिजेन पनि खरिद भइरहेको छ । र, केही खोप पनि मगाइसकेका छौं । अझैपनि हामीसँग साढे ७ लाख खोप मौज्दात छ । खोप केन्द्रमा खोप लगाउने मान्छे नै छैन । ४० लाख मात्रा डिसेम्वरको पहिलो सातामा डेट एस्पाएर भयो । एक लाखभन्दा बढी पीसीआर र एन्टिजेन किट छ । यो भन्दा बढी महामारी भयो अथवा यो किटले भोलि नपुग्न सक्ला भनेर फास्ट ट्रयाकबाट किट खरिद गर्न सकिन्छ भनेर पत्राचार पनि गरिसकेका छौं । त्यो फास्ट ट्रयाक भनेको नेपाल सरकारको ९० दिन लाग्ने प्रक्रिया नअपनाएर तुरुन्त ल्याउन मिल्ने भन्ने हो । अहिले नेपाल भित्र विभिन्न कम्पनीले किट भण्डारण गरिरहेका छन् । अर्को नेपालको दक्षिणी र उत्तरी सीमानाकाहरूसँग अरबौं मात्रामा किट छन् त्यो पनि खरिद गर्न सकिन्छ । नेपालमा लगभग ९० प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी १० प्रतिशतले पनि कतै न कतै खोप लगाएकै छन् । सबैले खोप लगाइसकेपछि खोप लगाउने मान्छे बाँकी रहेन । अहिले मौज्दात रहेको खोप अझै कोही कतै बाँकी छन् भने उहाँहरूले लगाउनुहुन्छ । कसैले बुस्टर डोज लगाउन बाँकी छ भने उहाँहरूले लगाउनुहुन्छ । नभए पनि हामीले जुन जोखिम समूह भनेका छौं, गर्भवती, जेष्ठनागरिक, दीर्घरोगीलाई सेकेण्ड बुस्टर डोज पनि दिने भन्ने निर्णय गरेका छौं । बुस्टर डोज सबैले लगाउन आवश्यक छ । पहिलो दुई मात्रा अथवा जोन्सन एण्ड जोन्सन हो भने एक मात्रा लगाइसकेपछि सेकेन्ड डोजलाई बुस्टर भनिन्छ । यो लगाएपछि थप सुरक्षा प्रदान गर्छ । अहिले देखिएको ‘जेएन.वान’मा खोप निकै प्रभावकारी छ । खोपले लगभग ९७ प्रतिशत सुरक्षा प्रदान गर्छ भनिएको छ । तर, खोप लगाइसकेपछि जनस्वास्थ्यको मापदण्ड नमान्ने भन्ने हुँदैन । खोपले जटिलता र मृत्यु मात्र जोगाउने हो, संक्रमण जोगाउने हैन । यो भन्दा ठूलो कुरा हामीले सामाजिक दायित्व पनि सम्झनुपर्छ । हाम्रै कारणले गर्दा हाम्रो घरमा रहेका जेष्ठ नागरिक, गर्भवती, दीर्घरोगीलाई संक्रमण भयो भने घातक हुन्छ । त्यसैले पनि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ । एक भौतिकदुरी कामय गर्नु, नचिनेको मान्छे वा बाहिरबाट आएकोसँग सम्पर्कमा नबस्ने, कसैलाई रुघाखोकी, ज्वरो अथवा केही त्यस्तो लक्षण देखिएको छ सतर्कता अपानाउने र मास्कको प्रयोग गर्यो भने केही हदसम्म सुरक्षित हुन सकिन्छ । अब हात मिलाउन, अंकमाल गर्न छोडिदिनुहोस् । हात कहिले आँखामा कहिले नाकमा त कहिले मुअमा पर्नेृ भएकोले मुखमा मास्क लगाउन जुरुरी छ । पटक–पटक साबुन पानीले हात धुने र स्यानिटाइजरको प्रयोग गर्नाले पनि सुरक्षित हुन सकिन्छ । अहिले आत्तिनु पर्ने अवस्था छैन । तर, सजगता भने अपनाउनुपर्छ । यो रोग संक्रामक भए पनि कम घातक छ । संक्रमण भइहाले पनि यसले जटिल अवस्था निम्त्याउँदैन वा मृत्यु गराउँदैन भन्ने धारणा धेरैको सुनिन्छ । तर, त्यस्तो धारणाको पछि पनि लाग्नु हुँदैन । यो जोखिम समूहलाई घातक हुन्छ । त्यसैले उहाँहरूलाई जोगाउनको लागि भए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरौं । हामीले स्वास्थ्यका मापदण्ड पालना गर्यौं भने ‘जेएन वान’को लागि मात्र होइन चिसोको बेलामा श्वासप्रश्वासबाट सर्ने रोगहरूबाट र विभिन्न भाइरल इन्फेक्सनबाट पनि जोगिन सकिन्छ । (बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता हुन् । उनीसँग विकासन्युजकी इन्द्रसरा खड्काले गरेकाे कुराकानीमा आधारित)