ओमोडाले एक वर्षमा बिक्री गर्यो १ लाख ४७ हजारभन्दा बढी सवारीसाधन
काठमाडौं । ओमोडाले २०२३ मा बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । जसमा गत अप्रिलमा लन्च भएको ओमोडा ई५ को उल्लेखनीय योगदान रहेको बताइएको छ। ओमोडाले वर्षभरमा १ लाख ४७ हजार भन्दा बढी सवारी साधनहरूको बिक्री गरेर अटो बजारमा उत्कृष्ट प्रदर्शन गरेको कम्पनीले बताएको छ । यसैगरी वर्षको अन्तिम महिनामा निर्यात बिक्री १३,६७७ इकाइमा पुगेको जनाइएको छ । २०२४ मा ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन लागिपरिरहेको छ। साथै, नयाँ दृष्टिकोणका साथ, ओमोडाले नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च(गुणस्तर विकासमा थप योगदान दिने प्रयास जारी राखेको छ ।
राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको स्वतन्त्र सञ्चालकमा लक्ष्मी प्रसाद श्रेष्ठ नियुक्त भएका छन् । पुस १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । लुम्बिनी प्रदेशका रुपन्देहीका नवनियुक्त सञ्चालक श्रेष्ठले माघ २ गते अध्यक्ष दिनेश उपाध्यायमार्फत पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
आइएमई पे टिकेटिङ पार्टनर रहेको ‘कन्दरा’ को कन्सर्टमा १० हजार सहभागी
काठमाडौं । कन्दरा ब्यान्डले पोखरामा ‘कन्दरा- लाइभ इन पोखरा’मा प्रस्तुती गरेको छ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा आफ्नो भूमिकालाई सम्पन्न गरेको छ । संगीत, उर्जा र अविस्मरणीय पलहरूले भरिएको रातमा नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश’को नारा लिएर आफ्नो साङ्गीतिक टुरको पहिलो कार्यक्रम पोखरामा पुस २७ गते शुक्रबार प्रस्तुत गरेको कन्दरा ब्यान्डले यो वर्षकै सबैभन्दा ठूलो साङ्गीतिक कार्यक्रम समापन गरेको हो । ‘पहिला घरदेश, अनि परदेश’ को नारा र कन्दरा ब्यान्डका यी सम्पूर्ण कार्यक्रमका साथै कन्दरा ब्यान्डको नै व्यवस्थापन गरिरहेको कम्पनि एल्फा स्क्वायर (ए.एस.क्यु) ले जनाए अनुसार पोखरा प्रदर्शनी केन्द्रमा आयोजित यस कार्यक्रममा १० हजारभन्दा बढी दर्शकहरूको उपस्थिति रहेको थियो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले यस कार्यक्रमको सफल समापनमा आफ्नो प्रसन्नता व्यक्त गर्दै भने, ‘सबै क्षेत्रका संगीत प्रेमीहरूलाई एकसाथ ल्याउने यस्तो उल्लेखनीय साँझको एक हिस्सा हुन पाउँदा हर्षित बनेको जनाउनु साथै यस परियोजनाको पहिलो कार्यक्रमको सफल समापनले मनोरञ्जन तथा इभेन्ट उद्योगमा आइएमई पेको तर्फबाट उत्कृष्ट सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई सुदृढ बनाएको र यो उपलब्धि हाम्रो टिमको समर्पण र विशेषज्ञताको प्रमाण हो ।’
रेसुङ्गा विमानस्थलमा हप्ताको ४ पटक उडान हुँदै
तम्घास । गुल्मीको रेसुङ्गा विमानस्थलमा हप्ताको चारपटक उडान हुने भएको छ । हाल हप्तामा दुई पटक मात्रै उडान हुदैँ आएकामा अगामी फागुनको पहिलो हप्ताबाट चार पटक उडान हुनेगरी व्यवस्था मिलाइएको हो । रेसुङ्गा विमानस्थलमा गत वैशाख २९ गते पहिलो व्यावसायिक उडान भएको थियो । यात्रुको अत्याधिक चाप भएपछि बुधबार र शुक्रबार गरी हप्ताको दुई दिन उडान भइरहेको थियो । अझै पनि यात्रुको चाप अत्याधिक नै भएका कारण हप्ताको चार दिन उडान गर्ने गरी तयारी भइरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए । यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण तथा नेपाल वायुसेवा निगमसँग पुनःसम्झौता गर्ने तयारी गरिएको उनले बताए । रेसुङ्गामा हालसम्म ६४ उडान भएका छन् । यसबाट आठ सय १५ यात्रुले सेवा लिएका छन् । जहाजमा अधिकाशं गम्भीर रोगका बिरामी, ज्येष्ठ नागरिक र अशक्त नागरिकले सेवा लिएका छन् । रासस
एकैदिन ८ अर्ब माथिको सेयर कारोबार, साउनयताकै उच्च बिन्दुमा परिसूचक
काठमाडौं । आइतबारको बजारमा एकैदिन ८ अर्ब माथिको सेयर कारोबार भएको छ । कारोबार खुलेदेखि निरन्तर बढेको बजारमा दिनभरमा ८ अर्ब २ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जुन विगत एक वर्षयताकै सर्वाधिक कारोबार हो । बजारमा परिसूचक पनि ५४.५४ अंकले बढेर २१७५.१७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा २.५७ प्रतिशतले बढी हो भने गत साउन यताकै उच्च बिन्दु हो । बजारमा सोनापुर मिनिरल्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बढेको बजारमा १५ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमा बुटवल पावर कम्पनी, यूनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, नेपाल वेयरहाउजिङ्ग कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दिी हाइड्रो, अप्पर तामाकोशी हाइड्रोपावर, न्यादी ग्रुप पावर, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था र लिवर्टी इनर्जी कम्पनी रहेका छन् । त्यसैगरी, बजारमा कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१३ अंकले बढेको छ ।
अधिकांश सेवा अनलाइनबाट दिँदै त्रिवि, विद्यार्थीलाई सहज हुने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ट्रान्सक्रिप्टलगायत अधिकांश सेवा अनलाइनबाटै दिने भएको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको मंगलबारको बैठकले परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट दिइने सेवालाई यही माघ १५ गतेदेखि अनलाइनबाट दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । यससँगै अब विद्यार्थीले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाण पत्र, पुनर्योग, प्रतिलिपी जस्ता सेवा अनलाइनबाटै लिन सक्नेछन् । साथै, यसबारे विस्तृत जानकारी माघ १० गते वेवसाइटमार्फत जानकारी गराइने समेत बताइएको छ ।
यति ब्रुअरीले आईपीओ जारी गर्ने, एनआइएमबि एस क्यापिटल बिक्री प्रबन्धक
काठमाडौं । यति ब्रुअरीले आईपीओ जारी गर्ने गर्ने भएको छ । यति ब्रुअरीले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव सर्राफ र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । यति ब्रुअरीको रजिष्टर्ड कार्यालय अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौंमा रहेकोे छ र यस यति ब्रुअरीको फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं। ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरीले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटलद्वारा बुक बिल्डिङ्ग विधि मार्फत यति ब्रुअरीको साधारण सेयरहरु सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरुमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।
एनसीएचएलबाट एकैदिन ८४ अर्ब बढीको कारोबार, एक अर्ब राजश्व संकलन
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरु मार्फत् पुस मसान्तको अन्तिम दिनमा ८४ अर्बभन्दा बढिको भुक्तानी कारोबार फछ्र्यौट गरेको छ । गत वर्षको सोहि दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६० प्रतिशत र रकमको आधारमा ७० प्रतिशतले वृद्धि भएको हो । एनसीएचएलका प्रणालीहरुमध्ये एनसीएचएल ईसीसी, एचसीएचएल आईपीएस र आरपीएस मार्फत् क्रमश ४१ अर्ब, १४ अर्ब र २९ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फछ्र्यौट भएको हो । विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस् अन्तर्गत कनेक्टआईपीएस (वेब, एप तथा गेटवे), कर्पोरेट पे बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरु मार्फत् रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ । त्यस्तै पुस मसान्तको अन्तिम दिनमा एनसीएचएल आईपीएस र आरपीएस आरपीएसमार्फत् एक अर्ब ६ करोड रुपैयाँ बराबरको राजस्व संकलन तथा ६ अर्ब ८ करोड रुपैयाँ बराबरको सरकारी खर्च सम्बन्धी १ लाख २५ हजारभन्दा बढि भुक्तानी कारोबारहरु भएका छन् । सरकारी भुक्तानी सम्बन्धी कारोबारहरु कनेक्ट आईपीएस, कर्पोरेटपे, नेपालपे क्यूआर गेटवे, बैंक शाखाहरु, मोबाइल बैंकिङ्ग तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ । नेपाल सरकार र राष्ट्र बैंकले लिएको नीतिगत पहलहरुले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । एनसीएचएलका भुक्तानी प्रणालीहरुमा डाइरेक्ट सदस्यका रुपमा ५३ बैंक/वित्तीय संस्थाहरु तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरु आबद्ध भई प्रयोग गर्दै आएका छन् । सदस्य बैंक/वित्तीय संस्थाले आफ्ना ७ हजारभन्दा बढी शाखाहरु तथा मोबाइल बैंकिङ्ग प्लेट्फर्म मार्फत् आफ्ना दुई करोडभन्दा बढी ग्राहकहरुलाई यी सेवाहरु प्रदान गर्दै आएका छन् ।