विकासन्युज

एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बियो

काठमाडौं । एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । एनआईएमबि एस क्यापिटलले माघ २ गतेदेखि बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डमा लगानीकर्ताहरूले अब माघ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले १२ वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल) र १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेन्ट बैंक)लाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।

प्यान अद्यावधिक गराउन एनआईसी एशियाको आग्रह, कर चुक्ता प्रमाण लिन बैंक धाउनु नपर्ने

काठमाडौं । एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान)अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई इटीडीएस रेकर्डमा देखाउन प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ । स्थायी लेखा नम्बर अद्यावधिक भएपश्चात् करकट्टीको विवरण सो नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने बैंकको भनाइ छ । जसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने बैंकले जनाएको छ । ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने हुन्छ । त्यसैले बैंकको वेबसाइट एनआईसी एशिया वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेटमा ट्याब गरी आफ्नो स्थायी लेखा नम्बर यथाशिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो । ग्राहकहरूले प्यान अद्यावधिक नगराएका कारण इटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र ब्याज करमा थप समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने बैंकले जनाएको छ । साथै, यसअघि बैंकलाई स्थायी लेखा नम्बर उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

नबिल स्टक डिलरको नाफा ११.५१ प्रतिशत बढ्यो

काठमाडौं । नबिल स्टक डिलरको चालु आर्थिक वर्ष २०७९/८०को दोस्रो त्रैमासमा खुद नाफा ११.५१ प्रतिशत बढेर ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९८ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको थियो । पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी ९ करोड ४७ लाख २२ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो । सञ्चालन नाफा ७ करोड ३५ लाख रुपैयाँ, कुल नाफा ९ करोड ३७ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोष १२ करोड ६६ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८.७८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०८.३३ रुपैयाँ छ ।

माछापुच्छ्रे बैंकको नाफा साढे ८० करोड रुपैयाँ, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०७९/८०को दोस्रो त्रैमासमा खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अुनसार ६ महिनाको अवधिमा खुद नाफा २१.४५ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा बढेका कारण नाफामा असर गरेको देखिन्छ । बैंकको खराब कर्जा १.२१ प्रतिशत बढेर २.६२ प्रतिशत पुगेको छ । गत वर्षको पुसमा बैंकको खराब कर्जा १.४१ प्रतिशत थियो । पुस मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको नेट फि एण्ड कमिसन आम्दानी ६.५५ प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ६.६७ प्रतिशत घटेर ३ अर्ब ३४ करोड रुपैयाँ, सञ्चालन नाफा १३.१९ प्रतिशत घटेर १ अर्ब २७ करोड रुपैयाँ र वितरण योग्य नाफा २४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६२ करोड रुपैयाँ, जगेडा कोष ११.३३ प्रतिशत घटेर ५ अर्ब ४५ करोड रुपैयाँ, निक्षेप संकलन १.१० प्रतिशत घटेर १ र्ख ५२ अर्ब ४८ करोड रुपैयाँ र कर्जा प्रवाह २.९९ प्रतिशत बढेर १ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँ छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.१३ रुपैयाँ घटेर १३.८६ रुपैयाँमा झरेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १४.६५ गुणा छ । यस्तै, बैंकको कर्जा निक्षेप अनुपात ८०.६१ प्रतिशत, आधार दर ९.७८ प्रतिशत, इन्टेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत र कस्ट अफ फण्ड ७.२६ प्रतिशत छ ।

सञ्चार मन्त्रालयकै छानबिन समितिको निष्कर्ष : टेरामक्स आवश्यक नभएको परियोजना थियो

काठमाडौं । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) नेपालको दूरसञ्चार क्षेत्रमा आवश्यक नभएको परियोजना भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अध्ययनका निम्ति बनाएको समितिले निष्कर्ष निकालेको छ । मन्त्री रेखा शर्माले गत मंसिरमा टेरामक्स र एमडिएमएस खरिदको विषयमा प्रश्न उठेपछि बनाएको अध्ययन समितिले सो निष्कर्ष निकालेको हो । बिहीबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयले बनाएको अध्ययन समितिका संयोजक तथा सहसचिव गौरव गिरीले टेरामक्स भिओआइपी कलमार्फत आम्दानी गुम्यो भन्ने आधारमा त्यसलाई नियन्त्रण गर्न खरिद गर्न खोजिएको तर, खरिद गर्ने दिनसम्म आइपुग्दा त्यसको औचित्य नै नभएको बताए । उनका अनुसार २०७२ सालदेखि नै इन्टरनेशनल भिओआइपी कलमार्फत आम्दानी गुमेर गयो भनेर नेपाल दूर सञ्चार प्राधिकरणले भिओवाइपी कल नियन्त्रणको विषयमा अध्ययन शुरु गरेको थियो । टेरामक्स खरिद प्रकृयालाई अगाडि बढाउने कार्यक्रम सहित प्राधिकरणले ०७४ सालमा मन्त्रालयमार्फत वार्षिक कार्यक्रम स्वीकृति लिएको थियो । ‘शुरुमा भिओआइपीबाट भएको नोक्सानलाई कमी गर्ने भन्ने मात्रै भएको देखिन्छ, टेलिकम्युनिकेसनमा विभिन्न फ्रडहरु हुन्छ त्यसलाई नियन्त्रण गर्ने उद्देश्य राखेको पाइन्छ’, सहसचिव गिरिले भने । तर, अहिले सञ्चालनमा रहेका दुईवटा मोबाइल नेटवर्क नेपाल टेलिकम र एनसेलसँग ट्राफिक मनिटरिङको सिस्टम र सोलुसन रहेको उनले बताए । साथै पछिल्लो समयमा कल प्रकृयामा डाटाको प्रयोग हुनेभएकाले भिओआइपीबाट हुने कल असाध्यै नगन्य भएकोले सो प्रविधिमाथिको लगानीको औचित्यमाथि समेत प्रश्न उठ्ने अवस्था रहेको बताए । ‘अहिले भिओवाइपीबाट हुने कल न्यून मात्रामा छ, परम्परागत कल अहिले डाटातिर सिफ्ट भैसकेको अवस्था छ । भिओआइपीबाट खासै नोक्सान भएको अवस्था देखिँदैन’, सहसचिव गिरिले भने, ‘त्यसैले यसमा गरेको लगानीको कसरी जवाफ दिने भन्ने पनि प्रश्न उठ्ने देखिन्छ ।’ खरिदको दिनसम्म आउँदा भिओवाइपीको कल भन्दा पनि डाटा सेवा प्रदायकहरुको अनुगमनको आवश्यकता देखिएको उनले बताए । ‘यो प्राधिकरणले २०७६ सालमा टेन्डर गरेर प्रदान गरेको छ, फेरि ०७८ सालमा पनि अवार्ड गरेको अवस्था छ, भिओवाइपी फ्रड नियन्त्रण गर्ने भन्ने जुन उद्देश्य टेरामक्सको थियो ०७८ सालसम्म आइपुग्दा भिओवाइपीबाट चुहावट भएर जाने कल अत्यन्तै न्यून भइसकेको अवस्था थियो’, उनले भने ‘बरु डाटा सेवा प्रदायकहरुको अनुगमन गर्नुपर्ने हो की भन्ने प्रश्न उठेको छ ।’ टेरामक्स, एमडिएमएस, एनसेल लगायत नेपाल दूर सञ्चार प्राधिकरणसँग जोडिएका विभिन्न विषयहरु सार्वजनिक छानबिन र छलफलको दायरामा आइरहेको बेलामा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पनि राजीनामा दिइसकेका छन् । मन्त्रालयले बनाएको अध्ययन समितिले निकालेको निष्कर्ष र प्राधिकरणका अध्यक्षको राजीनामाले शंकामा आएका विषयहरुमाथि थप टेवा पुर्याएको देखिन्छ ।

लोयल्टी पोइन्ट व्यवस्थापन गर्न फोनपोइन्टस् र इसेवाबीच साझेदारी

काठमाडौं । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र फोनपोइन्टस् प्रा.लि.बीच रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने साझेदारी भएको छ । बुधबार एक कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र फोनपोइन्टसका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलकाबीच सम्झौता भएको हो । सम्झौता अनुसार इसेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टसले गर्नेछ । फोन पोइन्टसले इसेवाको रिवार्ड, लोयल्टी तथा अन्य पुरस्कार कार्यक्रमको व्यवस्थापनमा प्रमुख साझेदारको रूपमा काम गर्नेछ । साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने- ‘ हामी फोनपोइन्टस्सँग साझेदारी सुरू गर्न पाउँदा खुशी छौं र यसले लोयल्टी पुरस्कार व्यवस्थापनमा सकरात्मक प्रभाव पार्ने कुराको आशा गर्दछौं । हामी फोनपोइन्टस्ले इसेवा प्रयोगकर्ताको अनुभवमा ल्याउने सुधारहरू हेर्न तत्पर छौं ।’ फोनपोइन्टस् र इसेवाबीचको यो सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिन महत्वपूर्ण फड्को मार्ने आशा गरिएको छ । दुवै कम्पनी इनोभेशनलाई बढवा दिन तथा ग्राहकको सन्तुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् । फोनपोइन्टस् एक लोयल्टी पोइन्ट व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायलाई लोयल्टी प्रोग्रामहरूमासँग संलग्न हुने तरिकामा धेरै तरिकाले परिवर्तन गर्ने लक्ष्य राख्छ । इनोभेशनमा ध्यान केन्द्रित गर्दै फोनपोइन्टसले सबैका लागि रिवार्ड प्राप्त र प्रयोग गर्ने अनुभवमा आयाम् परिवर्तन ल्याउनेछ । सन् २००९ मा स्थापना भएको इसेवा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त अग्रणी भुक्तानी सेवा प्रदायक संस्था हो । एफवान सफ्ट इन्टरनेशनलसँग आवद्ध रहेको इसेवाले नगदरहित डिजिटल अर्थतन्त्रको प्रवर्द्धन गर्दै सुविधाजनक र सुरक्षित डिजिटल भुक्तानी गर्न सकिने सेवा प्रदान गर्दै आएको छ । नेपालभरी ८१ लाख बढी प्रयोगकर्तालाई प्रत्यक्ष रूपमा तथा २ लाख ३० हजार बढी इसेवा एजेन्ट मार्फत थप लाखौं बढीलाई अप्रत्यक्ष रूपमा डिजिटल सेवा प्रदान गर्दै आएको इसेवामा ४ लाख बढी मर्चेन्टको साथमा २५ सय भन्दा बढी सेवाहरू प्रदान गर्दै आएको छ।

नियमित उडानमा फर्कियो निगमको वाइड बडी जहाज

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि बिहीबारदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौं-दोहा उडानको तयारीमा रहेको उक्त जहाजको ‘फ्लाइट कन्ट्रोल सेन्सर’मा समस्या देखिएपछि ग्राउन्डेड भएको थियो । जहाजको आवश्यक पार्टपुर्जा बेलायतबाट ल्याएर मर्मत गरिएको हो । वाइडबडी जहाज मर्मतपछि अपरान्ह ४ बजे दुई सय ६७ यात्रु लिएर दुबईका लागि उडेको निगमका प्रवक्ता पौडेलले जानकारी दिए । निगमको अन्तर्राष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी र दुई थान वाइड बडी जहाज छन् । तीमध्ये एक न्यारो बडी जहाज मर्मतका लागि हालै इजरायल पठाइएको छ । रासस

१५० वटा बोइङ जहाज किन्दै आकास एयर, भारतमा नयाँ तरङ्ग

भारत । भारतको नयाँ वायुसेवा कम्पनी आकास एयरले बिहीबार १५० वटा बोइङ ७३७ म्याक्स विमान माग गरेको जनाएको छ । गत जनवरीको सुरुमा अलास्का एअरलाइन्सको विमानमा प्राविधिक समस्या हुँदा आपतकालीन अवतरण गर्न बाध्य भएपछि अमेरिकी उड्डयन कम्पनी बोइङको ७३७ म्याक्स ९ जेट विमानका कारण कम्पनीको विश्वव्यापी रूपमा चर्को आलोचना भइरहेको छ । आकास एयरका प्रमुख कार्यकारी अधिकृत विनय दुबेले ७३७ म्याक्स १० र ७३७ म्याक्स ८–२०० जेटका लागि भएको ‘ऐतिहासिक’ मागपछि भरतीय एयरलाइन्सलाई ‘विश्वको शीर्ष ३० अग्रणी एयरलाइन्समध्ये एक बन्ने’ मार्गमा लैजाने बताए । सन् २०२१ मा ७२ वटा र सन् २०२३ मा थप चारवटा विमानको माग गरिसकेको आकास बोइङको बलियो सहयोगी रहँदै आएको छ । प्रमुख कार्यकारी अधिकृत दुबेले भने, ‘आकास एयरको विमान वृद्धिले ‘भारतको उड्डयन बजारको प्रतिज्ञा’लाई पूरा गर्ने प्रयासमा टेवा पुग्नेछ ।’ यो मागमा अलास्का एअरलाइन्सको विवादित बोइङको म्याक्स ९ विमान समावेश गरिएको छैन । कुनै पनि भारतीय एयरलाइन्सले बोइङ म्याक्स ९ विमान प्रयोग गर्दैनन् । देशको उड्डयन नियामक निकायले दुई साताअघि ७३७ ८ म्याक्स विमानको परीक्षण सन्तोषजनकरूपमा सम्पन्न भएको बताएको थियो । रासस