विकासन्युज

पाँच वर्षमा जलविद्युतमा १ सय खर्ब लगानी

नेपालको बैंकिङ क्षेत्रले आजसम्ममा करिव ३२२ अर्व रुपैयाँ जति जलविद्युत अन्य नवीकरणीय ऊर्जामा लगानी गरेको छ । यो बैंकहरूले गरेको कुल लगानीको ६ प्रतिशतभन्दा माथि हो । पछिल्ला २ वर्षमा मात्रै सय अर्बभन्दा माथिको लगानी भएको छ । विगत ५ वर्षभन्दा यताको अवधिलाई हेर्ने हो भने १२२/१२३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । आजको दिनमा बैंकहरूले कुल ५ हजार अर्ब हाराहारी कर्जा लगानी गरेका छन् । त्यसमध्ये ऊर्जा क्षेत्रमा ३२२ अर्ब मात्रै लगानी भएको छ । लगानी वृद्धि चक्रीय रूपमै १० प्रतिशतका दरले जाने हो भने पनि आगामी ५ वर्षपछि अर्थात् सन् २०३० सम्ममा १ हजार अर्ब अर्थात् १०० खर्बको लगानी हुने देखिन्छ । आजभन्दा १० वर्षअघिको अवस्थालाई हेर्ने हो भने ऊर्जा क्षेत्रमा बैंकहरूको कर्जा विस्तारमा १७ प्रतिशतको वृद्धि छ । आजको दिनमा नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार कुल कर्जाको १० प्रतिशत लगानी ऊर्जा क्षेत्रमा हुनुपर्छ । यसले गर्दा आगामी दिनमा अझै पनि ऊर्जा क्षेत्रमा कर्जा लगानी गर्ने राम्रो सम्भावना बाँकी छ । जलविद्युत् क्षेत्रमा लगानीका निम्ति नेपाल बैंकको अहिलेकै प्रावधान अनुसार नै ऊर्जा क्षेत्रमा कर्जा विस्तार गर्ने हो भने सन् २०३० सम्ममा १० खर्ब रुपैयाँ बराबरको कर्जा विस्तार गर्नुपर्ने छ । अबको ५/६ वर्षमा ऊर्जा क्षेत्रमा अर्को ७/८ सय अर्बको कर्जा विस्तार हुने अहिले नै देखिन्छ । निश्चय नै नवीकरणीय ऊर्जा, ग्रिन इनर्जी, क्लिन इनर्जीका लागि हाम्रो ठुलै प्रतिबद्धता छ । आजको दिनमा सबै बैंकहरूको कोर क्यापिटल जोड्ने हो भने ७०० अर्ब हाराहारी छ । बैंकहरूले एउटा सिंगल आयोजनामा वित्तीय लगानी गर्दा कोर क्यापिटलको ५० प्रतिशतसम्म पाउँछन् । सबै बैंकहरू एकै ठाउँमा आए भने एउटै आयोजनामा ३५० अर्बको लगानी गर्न सक्छौं । यसबाट २५ सय देखि ३ हजार मेगावाट क्षमताको आयोजना निर्माण गर्न सक्ने क्षमता विकास भइसकेको छ । यति हुँदाहुँदै पनि १० हजार मेगावाटका आयोजना बना कुरा भइसकेको छ । कसरी जुटाउने लगानी ? समग्रमा आजको दिनसम्ममा जलविद्युत क्षेत्रमा जुन किसिमको प्रगति देखिएको छ त्यसलाई पूर्णता दिने दिशामा नेपालको मभभ क्षेत्र लागेको छ । यसमा दुइटा पक्ष छ। एउटा-यसमा ठुलो सम्भावना देखेर हामी लागिरहेका छौं भने अर्कातर्फ नेपाल सरकारको नीतिअनुरूप निश्चित प्रतिशत लगानी ऊर्जा क्षेत्रमा विशेषगरी जलविद्युत क्षेत्रमा गर्नुपर्ने आवश्यकता छ । यसले गर्दा पछिल्लो समय जलविद्युत सँगसँगै अन्य नवीकरणीय ऊर्जा उत्पादनको क्षेत्रमा बैंकहरूको लगानी बढ्दो छ । यति ठुलो लगानीपछि २७/२८ सय मेगावाट विद्युत उत्पादन भइसकेको छ । ३१ सय मेगावाट क्षमताको आयोजनाका लागि वित्तीय लगानीको सहमति गरिसकिएको अवस्था छ । यसवाहेक अझै २६/२७ सय मेगावाटका लागि सहमति गर्न बाँकी नै छ । नेपालले पछिल्लो समय भारतसँग पनि विद्युत् विक्रीको सम्झौता सम्पन्न गरेको छ । यसबाहेक नेपाल, बंगलादेश र भारतबीचको त्रिपक्षीय सम्झौताले हाम्रो विद्युत्को माग अझै बढ्ने देखिन्छ । यति ठुलो मागलाई पूरा गर्ने गरी आयोजना निर्माण गर्न नेपालभित्रको वित्तीय स्रोतले पुग्दैन । यसका लागि २०औं खर्ब रुपैयाँको आवश्यक पर्छ । अब यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लाग्नुपर्ने हुन्छ । यस क्रममा एनएमबी बैंकले विदेशका थुप्रै लगानीकर्ता ल्याएको छ । केही जलविद्युत्मा लगानी गर्न पैसा ल्याई नै सकेका छौं । हामीले इनर्जी बन्ड गरेर एकल अंकमा लगानी नै गरिसकेका छौं । यसरी नेपालमा विदेशी पैसा ल्याउन काम सुरु भइसकेको छ । हामीले ब्रिटिस अन्तर्राष्ट्रिय लगानी (बिआइआई), एफएमओसँग संयुक्त साझेदारीमा लगानी ल्याएका छौं । हामीले ४०/५० अर्ब रुपैयाँ पैसा ल्याई नै सकेका छौं । यति हुँदाहुँदै पनि आजको दिनसम्ममा जलविद्युत् क्षेत्रको कुल लगानीको ९५ प्रतिशत हिस्सा नेपाली बैंककै छ । अबको चरण भनेको बैंक वित्तीय संस्थाले लगानी गर्न सक्ने क्षमता र आवश्यक पुँजीको अन्तर (ग्याप) पूरा गर्नु हो । यसका लागि कस्ता खालका उपकरण/औजारमार्फत् कर्जा ल्याउने भन्ने हो । यसका लागि ब्लेन्डेड फाइनान्स, ग्रिन बन्ड, हेजिङलगायत औजारको प्रयोग गर्नुपर्नेछ । यसका लागि सबैभन्दा पहिला नेपालको कन्ट्री रेटिङ (सोभरेन क्रेडिट रेटिङ) गर्नैपर्नेछ । ग्रिन बन्ड नेपालले ऊर्जा क्षेत्रमा ३२२ अर्बभन्दा ठुलो लगानी गरिसकेको छ । यो धेरै ठुलो लगानी हो। यसबाट सिर्जना भएको सम्पत्तिलाई देखाएर यसैको सुरक्षणमा हामीले ठुला–ठुला ग्रिन बड जारी गर्न सक्छौं । अथवा सस्टेनेबल बन्ड, इनर्जी बन्डलाई देखाएर विश्व बजारबाट सस्तो दरमा पैसा भित्र्याउन सक्छौं । यसले अन्य आयोजना निर्माणका लागि दीर्घकालीन स्रोत जुट्नेछ । साथै यसले बैंकहरूमाथिको तरलताको दबाब पनि समाधान गर्नेछ । आजको दिनमा हाम्रो बैंकिङ प्रणालीले अल्पकालीन स्रोतमार्फत् दीर्घकालीन लगानी गरिरहेको छ । यसले भोलिका दिनमा बैंकिङ प्रणालीमै समस्या सिर्जना गर्नेछ । त्यसैले यसलाई अगाडि बढाउने हो भने पनि ठुलो फन्ड ल्याउन सक्ने सम्भावना रहन्छ । यसका लागि सरकारी तवरबाट ग्रिन फाइनान्सिङको फ्रेमवर्क तयार हुनुपर्छ । ग्रिन ट्याक्स नलगाउने कुराहरू पनि छन् । देशको रेटिङदेखि लिएर हेजिङका सही औजारहरू सँगसँगै ल्याउनुपर्छ । बाहिरबाट आउने सबै पैसा विदेशी मुद्रामा हुन्छन् । विदेशी मुद्रालाई परिचालन गर्न हेजिङको औजार अति आवश्यक छ । बाहिरबाट ल्याएको पैसाको ब्याजमा समेत १० प्रतिशत कर तिर्नुपर्ने बाध्यता छ । नेपाल जस्तो देशका लागि यो त्यति उपयुक्त हुँदैन । दक्षिण एसियाली मुलुकमा यस्तो अभ्यास छैन । हामीले श्रीलंका, बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेका हुन्छौं भने यस्तो पक्षलाई पनि ध्यान दिनुपर्छ । यस्ता सबै पक्ष हेरेर वैदेशिक लगानी ल्याउने किसिमको वातावरण बनाउनुपर्छ । ब्लेन्डेड फाइनान्सका कुराहरूमा हाम्रो क्षमता अभिवृद्धि गर्दै लैजानुपर्नेछ । अन्तर्राष्ट्रिय समुदायसँग अपिल कार्बन उत्सर्जन कटौतीमा नेपालको धेरै ठूलो योगदान छ । नेपालले यस्तो योगदानलाई अझै बढाएर क्लाइमेट फन्ड ल्याउन सक्छ । यसमा २/३ वटा कुराहरू छन् । पहिलो कुरा आजको दिनमा जुन किसिमले नेपालले कार्बन उत्सर्जन न्यूनीकरणमा योगदान दिइरहेको छ, तर नेपाल त्यसमा दाबी गर्न सकेको छैन । अर्को कुरा संसारभरमै जलवायु जोखिमको अग्रस्थानमा पर्छ । जलवायु परिवर्तनको मुद्दामा नेपालले नगरेको गल्तीको सजाय भोगिरहेको छ । विश्व बैंकको तथ्यांक हेर्ने हो भने नेपालको कार्बन उत्सर्जनमा ०.०२०३ भन्दा पनि कम भूमिका छ । अमेरिका, रुस, साउदी अरेबिया र कुवेत जस्ता मुलुकहरूले गरेको अत्यधिक कार्बन उत्सर्जनबाट बढ्दै गएको जलवायु परिवर्तनसम्बन्धी असर अहिले नेपालले भोगिरहेको छ । नेपालले अन्तर ष्ट्रिय समुदायमा यसको उचित क्षतिपूर्तिका लागि दाबी गर्न सकिरहेको छैन । जलवायु जोखिमलाई न्यूनीकरण गर्न भनेर आजका दिनमा जुन किसिमका लहर चलिरहेको छ, त्यसलाई नेपालले आफ्नो पक्षमा पार्न सक्नुपर्छ । विश्व समुदायमा जलवायु जोखिमको न्यूनीकरण गर्ने अभियानका क्रममा भन्दै धेरै फन्ड सिर्जना भइरहेका छन् । त्यसमा नेपालको एक किसिमले अधिकार जस्तै देखिन्छ । हामीले कूटनीतिक रूपमा त्यस्ता फन्डमा दाबी गर्नुपर्छ । हामीले गरेको पनि केही छैन, तर पनि प्रभावित हुनुपरेको छ भन्ने कुरालाई अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिनुपर्छ । लगानीका जोखिम जलविद्युत् क्षेत्रमा यति ठुलो कर्जा प्रवाह गर्दै गर्दा यससँग सम्बन्धित चुनौती पनि उत्तिकै छन् । अनेक चुनौती हुँदाहुँदै पनि समग्र रूपमा हेर्ने हो भने लगानीको प्रतिफल राम्रो देखिरहेका छौं । यसै क्रममा हामीले देखेका चुनौतीमा समयमा आयोजनाको निर्माण कार्य सम्पन्न नहुने र यसले गर्दा खर्च बढ्ने गरेको छ । खर्च बढ्दै गर्दा आयोजनाको पनि लागत बढ्दै जाने हुँदा जोखिम पनि सँगसँगै बढेर जान्छ । यस्तो हुनुको मुख्य कारण सामाजिक र वातावरणसँग सम्बन्धित कुरा धेरै छन् । जलवायु परिवर्तनको प्रभाव सक्रिय रूपमा देखिन थालेको छ । हामीले केही समयअघि ठुलो बाढीको सामना गर्यो । यस्तो क्षति बर्सेनि जस्तै भइरहेको छ । यसमा बिस्तारै जलवायु परिवर्तनको प्रभाव पनि परिरहेको छ । हाइड्रोलोजीमा परिवर्तन भइरहेको छ । यि सबै कारणहरूले गर्दा यसमा जोखिम देख्छौ । यस्ता जोखिमको हुँदाहुँदै पनि समय आयोजनाको स्थितिलाई हेर्ने हो भने र केही आयोजनाहरूलाई छाइने हो भने यसको सुधार रामै देखिन्छ । विभिन्न जोखिमका बाबजुद पनि हामी अगाडि बढिरहेका छौ । अझै पनि अगाडि बढ्ने हाम्रो प्रतिबद्धता छ । अर्थतन्त्रका संरचनामै फेरबदल आजको दिनमा नेपालको संरचनागत समस्या भनेको व्यापार घाटा हो । नेपालमा निर्यातको तुलनामा आयात बहिरहेको छ । यसले गर्दा ठुलो व्यापार घाटा हुने गरेको छ । व्यापार घाटा बढ्ने बित्तिकै सरकारलाई वैदेशिक मुदाको सञ्चिति गर्न धेरै गाह्रो हुने गरेको छ । कुल आयातको १५/१६ प्रतिशत इन्धन नै छ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा हुने हरेक किसिमका उतारचढावले तत्काल प्रभाव पर्न थालेको छ । यसले नेपालको व्यावसायिक, बैकिङ, बैंकिङ तरलतामा तत्काल प्रभाव पार्ने गरेको छ । रेमिट्यान्सको बढ्दो क्रम रोकिने हो भने भोलिका दिनमा ठुलो संकटको स्थिति आउन सक्छ । नेपालले १० रुपैयाँ आयात गर्दा एक रुपैयाँ मात्रै निर्यात गरिरहेको छ । नेपालले १० रुपैयाँको सामान किन्दा ९ रुपैयाँ घाटा बेहोर्ने स्थिति छ । यसलाई कम गर्न नेपालसँग प्रचुर सम्भावना भएको नवीकरणीय र ग्रिन इनर्जी छ र यसको माग पनि बढेर गइरहेको छ । पछिल्लो समय युक्रेन र रसियाको युद्धपछि विश्वभर नै नवीकरणीय ऊर्जाको माग बढ्दै गइरहेको छ । सँगसँगै हाम्रो छिमेकी राष्ट्र भारत विश्व अर्थतन्त्रको पहिलो पाँचौं नम्बरमा परिसकेको छ । भारत ठुलो जनसंख्या भएको मुलुक हो । भारतले पनि बिस्तारै ऊर्जाको प्रयोगलाई मिश्रित रूपमा अगाडि बढाइरहेको छ । यसले गर्दा भारतमै पनि जलविद्युत्को ठुलो माग हुने सम्भावना छ । सँगसँगै नेपाल, भारत, बंगलादेशबीच त्रिपक्षीय सम्झौताका कुराहरूले गर्दा जलविद्युत्को माग बढेर जाने निश्चित छ । बैंकिङ क्षेत्रले जलविद्युत् क्षेत्रमा लगानी बढाउँदै जाँदा परम्परागत रूपमा भइरहेको व्यापार घाटाको अवस्थालाई बिस्तारै कम गर्दै समग्र व्यापार घाटाको समाधान गर्ने सम्भावना छ । अर्कातर्फ जलवायु परिवर्तनका कारणलाई न्यूनीकरण गर्न विश्वव्यापी हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने विस्तृत योजनाअनुरूप सन् २०४५ सम्ममा ’नेट जिरो’ गर्ने प्रतिबद्धता छ । त्यसलाई पनि यसले ठुलो मद्दत गर्नसक्ने भएकाले बैंकिङ क्षेत्रले पनि यसलाई ठुलो सम्भावनाको क्षेत्र देखेको छ । यस क्षेत्रमा गर्ने लगानीमा हाम्रो प्रतिबद्धता छ । लागत फिक्स छ जलविद्युत् व्यवसायमा बिक्री गर्ने दर पहिला नै तोकिएको हुन्छ । लागत भने फिक्स छ । यसले गर्दा बैंकलाई पनि प्रतिफल पाउन धेरै चुनौती छन् । दीर्घकालीन अवधिका लागि कर्जा लगानी गर्नुपर्ने भएकाले हामीले धेरैभन्दा धेरै सस्तो दरमा कर्जा प्रवाह गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसभन्दा अघि चर्चा गरिएको जस्तो इनर्जी बन्डलगायत उपकरण प्रयोग गरेर पैसा ल्याउन हामीसँग विकल्प छैन । बैंकहरूले प्रतिफलभन्दा पनि अर्थतन्त्रको इको सिस्टमलाई बलियो बनाउने गरी काम गरिरहेका छन् । बैंकहरूले गरिरहेको यस्तो योगदानलाई सरकारले थप प्राथमिकता प्रदान गर्दै नीतिगत रूपमा सहजीकरण गर्न सक्नुपर्छ। भोलिका दिनमा यसका सम्भावनालाई हेर्दा हाम्रो सबैभन्दा चुनौतीपूर्ण काम भनेको हाम्रो वितरणको च्यानललाई प्रभावकारी रूपमा कसरी अगाडि बढाउनुपर्ने छ । वितरण प्रणालीमा राज्यकै एकलौटी छ । यसलाई बिस्तारै निजी स्तरमा दिई विस्तार विद्युत्को व्यापारलाई प्रभावकारी बनाउनुपर्दछ । सबैभन्दा पहिला नेपालभित्रै माग सिर्जना गर्नुपर्छ । नेपालमा अझै पनि हामी ग्यासमा निर्भर छौं । ग्यासमे दलो अनुदान दिइरहेका छौं । नवीकरणीय ऊर्जातर्फ प्रवर्द्धन गर्ने हो भने त्यसले पनि एक तहसम्म काम गर्छ । भोलिका दिनमा जलविद्युतको उत्पादनमा निरन्तरता दिने हो भने हामीले इनर्जी मिक्सको अवधारणा पनि विकास गर्नुपर्छ । वैकल्पिक ऊर्जाका क्षेत्रहरू जस्तै सोलार जलविद्युत्, ग्रिन हाइड्रोजनलगायत क्षेत्रमा पनि सँगसँगै लगानी गर्नुपर्छ । नेपालमा अझै पनि आयोजनाहरू नदी प्रवाहमा आधारित छन् । भोलिका दिनमा हामीले विद्युत् निर्यात गर्दै गर्दा रिजर्भ बेस हाइड्रोपावरलाई बढी जोड दिनुपर्छ । यसमा बरु फाइनान्सिङ बढाउनुपर्छ । यसको लागत धेरै पर्ने भएकाले वैदेशिक लगानी ल्याउन राज्यले पहल गर्नुपर्छ । जलविद्युत् आयोजनाको लागत धेरै माथि छ । लागत कम गर्न धेरैभन्दा धेरै प्रविधिको प्रयोग गर्नुपर्छ । लागत कम भयो भने मात्रै अन्तर ष्ट्रिय बजारमा प्रस्तिस्पर्धा गर्न सक्छौं ।अहिले सरकारले ल्याएका ’नेपालको पानी जनताको लगानी’ देखि लिएर थुप्रै अवधारणामा सबै जना लगानी गर्न तयार छन् । सरकारले यस्ता अवधारणालाई अझ बृहत् रूपमा विकास गर्नुपर्छ । नेपाल दक्षिण एसियामै सबैभन्दा कम वैदेशिक लगानी ल्याउने मुलुकभित्र पर्छ । नेपालको वैदेशिक लगानीको क्षेत्रमा जम्मा ०.०३ प्रतिशत मात्रै हिस्सा छ । भारतकै हेर्ने हो भने वैदेशिक लगानीको हिस्सा धेरै ठुलो छ । जलविद्युत्मा लगानी गर्दा कम्तीमा पनि १० देखि १५ वर्ष अवधिको हुन्छ । यसका लागि दीर्घकालीन पुँजी आवश्यक छ । नेपालभित्रका स्रोतहरू सबै अल्पकालीन छन् । यसैका लागि पनि बन्ड मार्केटको सुरुआत भइसकेको छ । नेपालले बाहिरबाट दीर्घकालीन अवधिका ग्रिन बन्ड मिडियम बन्ड र दीर्घकालीन बन्ड ल्याउनुपर्छ । यही अवस्थामा हामी रहिरह्यौं र दीर्घकालीन क्षेत्रमा कर्जाको हिस्सा बढ्दै गयो भने अझ ठुलो समस्या सिर्जना गर्न सक्छ । अन्ततः आयोजनको सञ्चालनमै प्रभाव पार्न सक्छ ।बैंकिङ तरलताको मुद्दा आयो भने हामीले जलविद्युत्को क्षेत्रमा कर्जा प्रवाह गर्न सक्दैनौँ । त्यसैले जलविद्युत् क्षेत्रका चुनौती र सम्भावनालाई ध्यान दिँदै निजी क्षेत्र, सरकार र बैंकहरूले आपसमा सहकार्य गर्दै अगाडि बढ्नुपर्छ ।  (उर्जा समृद्धिबाट)

पद्मश्री कलेजका ११० जना विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजले १ सय १० जना स्नातक विद्यार्थीलाई दीक्षित गरेको छ । पद्मश्री कलेजबाट स्नातक तह बिआइटी र बिएचएममा ११० जना विद्यार्थीहरु दिक्षित भएका छन् । सबै विद्यार्थीहरुले मलेसियाको निलाइ विश्वविद्यालयको सम्बन्धनमा नेपाल सरकार , शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयबाट स्विकृती लिई संचालन भएका चार बर्षे स्नातक कार्यक्रम अध्ययन सम्पन्न गरेका हुन् । विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्य सचिव तथा अभियन्ता लिलामणि पौडेल र कलेजका अध्यक्ष अणराज सिलवालले संयुक्त रुपमा दिक्षान्त प्रमाणपत्र प्रदान गरेका थिए । सो कार्यक्रममा विद्यार्थीहरुलाई हौसला प्रदान गर्दै प्रमुख अतिथि लिलामणि पौडेलले शिक्षित भए पश्चात सम्भव भए सम्म देश भित्रै अवसरहरुको खोजि गरि काम गर्नु पर्नेमा जोड दिए । सोहि अवसरमा डा पुकार मल्ल, डा लोचन रिजाल, एलिन बाइलोचन तुलाधर लगायतले देश भित्र तथा बाहिरका विभिन्न अवसर र सम्भावनाहरुका बारेमा जानकारी दिएका थिए । पद्मश्री कलेजले बिगत दुइ दशक देखि सूचना प्रविधि, कम्प्युटर, हस्पिटालिटी लगायतका विषयहरुमा शिक्षा प्रदान गर्दै आएको छ।

ओटीसी बजारमा ६३ करोड ६५ लाखको सेयर कारोबार, कसको कति ?

काठमाडौं । गत तीन महिनामा ओटीसी बजारमा कूल ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमास अर्थात कार्त्तिकदेखि पुससम्ममा ओटीसी बजारमार्फत सो रकम बराबरको कारोबार भएको हो । समीक्षा अवधिमा ५९ लाख ६७ हजार २२० कित्ता सेयर किनबेच भएका छन् । नेप्सेका अनुसार वि.सं. २०७२ माघ १८ गतेदेखि हालसम्म २२६ वटा कम्पनीहरु ओटीसी बजारमा दर्ता भएका छन् । ओटीसी बजारमा नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा गर्न नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार तथा नामसारी हुँदै आएको छ । कसको कति ? [pdf id=458899]

नेप्सेको कारोबार प्रणाली पुनः तीन दिन बन्द हुने

काठमाडौं । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को कारोबार प्रणाली पुनः तीन बन्द हुने भएको छ । बिहीबार एक सूचना जारी गर्दै नेप्सेले आज बिहीबारदेखि शनिबारसम्म उक्त प्रणाली बन्द हुने जानकारी गराएको हो । नेप्सेले दोश्रो चरणको विद्युत मर्मत तथा सम्भारको लागि बिहीबार अर्थात माघ ४ गते साँझ ५ बजेदेखि शनिबार अर्थात पुस ६ गते राती ११ बजेसम्म नेप्सेको कारोबार प्रणाली बन्द गर्न लागेको हो । यसअघि पनि नेप्सेको कारोबार प्रणाली गत पुस २६ गते साँझ ५ बजेदेखि पुस २८ गते राती ११ बजेसम्म बन्द भएको थियो ।

जुत्ता व्यापारीद्वारा दुर्गा प्रसाईंमाथि हातपात

काठमाडौं । विवादस्पद व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ । ‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमका लागि बागलुङ पुगेका उनीमाथि हातपात भएको हो । उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलले जानकारी दिए ।

रुकुमपश्चिमबाट ९ करोडको अदुवा बिक्री

रुकुमपश्चिम । व्यावसायिकरूपमा अदुवाखेती गरेका रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीका नरबहादुर खड्काले यस वर्ष अदुवा बिक्रीबाट राम्रो आम्दानी भएको बताए । गत वर्षको भन्दा यस वर्ष अदुवाले दोब्बर मूल्य दिँदा बिक्रीबाट एक लाख आम्दानी भएको उनको भनाइ थियो । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका खड्काले निरन्तर अदुवाखेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको तीन क्विन्टलभन्दा बढी अदुवा बीउको लागि र १२ क्विन्टल अदुवा प्रतिक्विन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको खड्काले बताए । सोही ठाउँकै ५५ वर्षीय किसान हरिबहादुर खड्काले यस वर्ष अदुवा उत्पादनमा केही कमी भए पनि मूल्य भने राम्रो पाइएकामा भने खुसी भएको बताए । विगत ३० वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको बताए । अदुवा गाउँबाटै खैन (खानका लागि प्रयोग) प्रतिक्विन्टल चार हजार र बीउको लागि प्रयोग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजारदेखि १० हजार रुपैयाँसम्ममा बिक्री भएको थियो । जिल्लामा यस वर्ष किसानले उत्पादन गरेको अदुवाले राम्रो मूल्य पाए पनि गत वर्षको तुलनामा यस वर्षमा उत्पादनमा भने कमी आएको कृषि विकास कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए । उनका अनुसार उत्पादनमा कमी भए पनि अदुवाको मूल्य तेब्बरले वृद्धि हुँदा किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गरेका हुन् । गत वर्ष प्रतिक्विन्टल दुई हजार पाँच सयमा अदुवा बिक्री गरेका किसानले यस वर्ष प्रतिक्विन्टल पाँच हजारदेखि आठ हजारसम्ममा बिक्री गरेका छन् । जिल्लामा मुख्यगरी त्रिवेणी गाउँपालिकामा राम्रो अदुवा उत्पादन हुने गरेको छ । त्यस्तै सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र आठबीसकोट नगरपालिकामा पनि केही मात्रामा अदुवा उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए । यस वर्ष जिल्लाबाट एक हजार छ सय मेट्रिक टन अदुवा बिक्री हुँदा आठ करोड ८० लाख आम्दानी भएको छ भने अझै केही अदुवा बिक्री गर्न बाँकी छ । अदुवा उत्पादनबाट ४० हजारदेखि पाँच लाख रुपैयाँसम्म किसानले आम्दानी गर्ने गरेको उनले बताए । अदुवा उत्पादन गर्ने किसानको सङ्ख्या जिल्लामा चार सय हाराहारीमा भए पनि व्यावसायिकरूपमा अदुवाखेती गर्ने किसानको सङ्ख्या ६० देखि ७० रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । सामान्य खेती गर्ने किसानले दुई रोपनीदेखि व्यावसायिकरूपमा खेती गर्ने किसानले ३० रोपनी जग्गामा अदुवाखेती गर्ने गरेका छन् । ‘गत वर्ष जिल्ल्लामा प्राङ्गारिक कृषक प्रमाणित भएका तीन सय एक किसानले उत्पादन गरेको अदुवा सुर्खेतमा रहेको द अग्र्यानिक भ्यालीसँग समन्वय गरेर कृषि विकास कार्यालयले बिक्री गरेको थियो । यस वर्ष भने व्यापारीले किसानकै बारीमा आएर अदुवा खरिद गरेकाले बजारको समस्या भएन । किसानले आफैँ राम्रो मूल्यमा अदुवा बिक्री गरेका छन्’, उनले भने । जिल्लामा उत्पादन भएको अदुवा दाङ, नेपाजगञ्ज र काठमाडौँसम्म जाने गरेको छ । अदुवा लगाएको निश्चित समय नपुग्दै साउनको अन्तिममा बुर्णा (नयाँ तयार नहुँदै निकालिएको पुरानो बीउ) निकाल्नुपर्नेमा असारमै निकालेको यस वर्ष अदुवा उत्पादनमा कमी आएको उक्त कार्यालयको भनाइ थियो । रासस

हिमालयन रिको सेयरमा झुम्मिए लगानीकर्ता, एक्लैको पौने दुई अर्ब बढीको कारोबार

काठमाडौं । पछिल्लो समय हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दो छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि नै कारोबार र मूल्य निरन्तर बढेसँगै लगानीकर्ताहरु यस कम्पनीको सेयरमा आकर्षित भएका हुन् । बिहीबार मात्रै कम्पनी एक्लैको पौने २ अर्ब बढी अर्थात एक अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यससँगै सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि रहेको छ । त्यसैगरी, कारोबार र कारोबार संख्याको आधारमा पनि हिमालयन रि शीर्ष स्थानमा नै देखिएको छ । दिनभरमा कम्पनीको एक लाख ५४ हजार ०११ पटकको कारोबारमा कूल ३० लाख ४४ ह जार ७०२ कित्ता सेयर किनबेच भएको छ । बिहीबार हिमालयन रिको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ६५३ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ८.४४ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्यमा प्रतिकित्ता १०३.५ रुपैयाँको उतारचढाव देखिएको छ । बिहीबार कम्पनीको सेयर न्यूनतम ५५८ रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा किनबेच भएको देखिन्छ । दोश्रो बजारमा प्रतिकित्ता ३०९.२ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य दैनिक बढेर प्रतिकित्ता ६६१.५० रुपैयाँसम्ममा कारोबार भएको छ । समग्रमा बिहीबारको बजारमा कूल ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । त्यस्तै, नेप्से परिसूचक पनि ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा झरेको छ । घटेको बजारमा पनि ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको १० १० प्रतिशतले र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित

काठमाडौं । नबिल बैंक र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स सम्मानित भएका छन् । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले बैंकिङ क्षेत्रबाट नबिल र बीमा क्षेत्रबाट आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलाई सम्मान गरेको हो । इप्पानले निजी क्षेत्रले निर्माण गरेको जलविद्युत आयोजनामा पहिलो पटक लगानी गरेको भन्दै नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक) लाई सम्मान गरेको हो । त्यस्तै, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनी भएको भन्दै आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स (साबिकको एनबी इन्स्योरेन्स) लाई इप्पानले सम्मान गरेको हो । त्यसैगरी, आयोजना निर्माणमा संग्लग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी सम्मानित भएको छ । ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मानित कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई इप्पान विशेष सम्मानले सम्मान गरिएको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । इप्पान विशेष सम्मानबाट सम्मानित हुनेमा उर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत प्राधिकरणका पूर्व उप कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् । त्यस्तै वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ । त्यस्तै १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८ साल माघ १० गते सम्पन्न भएको नेशनल हाईड्रोपावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७।५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । नेशनल हाईड्रोपावरका संस्थापक अध्यक्ष जीत बहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो । कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत आयोजनाका रुपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत आयोजनालाई सम्मान गरिएको छ ।