विकासन्युज

पुम्दीकोटमा बन्दैछ ‘गुटेरेस प्वाइन्ट’

गण्डकी । संयोग र सौभाग्य दुवै मान्नुपर्छ त्यसदिन पुम्दीकोटको आकाश खुलेको थियो, हिमाल पूरै हाँसेका थिए । पोखरा पुग्ने जोकोहीलाई पनि त्यहाँबाट देखिने हिमाल र पोखराको दृश्य मनमोहक लाग्छ । यस्तै लागेको थियो गत कात्तिक १३ गते संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई पनि । यहाँ आउने पूर्ववत् कार्यक्रम त थिएन, तर नेपाल भ्रमणका क्रममा पोखरा आएका महासचिव गुटेरेस त्यसदिन यहाँको धार्मिक पर्यटकीय गन्तव्य बन्दै गरेको पुम्दीकोट उक्लिए । शिवजीको विशाल मूर्ति हेर्दै भित्र पसेका यी विशिष्ट पाहुनाको स्वागतको पखाइमा थिए सुन्दर पोखरा र सेता हिमाल । बारम्बार हिमाल र फेवाताल चियाउँथे र मुहार उज्यालो पार्थे । त्यो दृश्यले महासचिवको मन पनि लोभ्याएको तथ्य उनको हर्षित मुहारमा पढ्न सकिन्थ्यो । दिउँसो ४ः३० बजे यहाँ आइपुगेका महासचिव गुटेरेसलाई स्वागत गर्न तयारी अवस्थामा थिए, पोखरा महानगरका प्रमुख धनराज आचार्य र महादेवको मूर्ति निर्माण अभियानका संयोजक चन्द्रकान्त बराल । साथमा पोखरा महानगरपालिका वडा नं २२ का वडाध्यक्ष हिमलाल बराल पनि पुगे । गुटेरेस दृश्यावलोकन गर्दै विशाल मूर्ति परिसरको दक्षिण पश्चिम कुनामा पुगे । त्यो कुनाबाट अविचलित हेरिरहँदा लाग्थ्यो उनलाई त्यस कुनाले मोहनी नै लगाएको थियो । केहीबेरको हेराइपछि उनी मूर्ति परिसरको माथिल्लो तल्लामा पुगे । त्यहाँबाट पनि दृश्यहरू नियालीरहँदा उहाँ निकै हर्षित मुद्रामा देखिन्थे । उक्त तलाबाट दृश्यावलोकनसँगै विभिन्न विषयमा जानकारी लिएका गुटेरेस त्यहाँबाट झरे । पुनःअघि हेरैकै कुनामा फर्किएर दोहोर्याएर हिमालसहितको पोखरा आँखामा कैद गरे । त्यहाँबाट फर्किएका गुटेरसको मन अझै रमाएको थिएन । फेरि तेस्रो पटक पनि त्यही कुनामा पुगे । उनी त्यस कुनाबाट देखिने अलौकिक दृश्य चियाउँदै थिए भने उनको स्वागतार्थ त्यहाँ उपस्थित सबैजना गुुटेरेसलाई चियाउँदै थिए । पछि उहाँ लोभिएको त्यो कुनातर्फ नै सबैको ध्यान पुग्यो । त्यही कुनालाई पुम्दीकोट विकास समितिले ‘गुटेरस प्वाइन्ट’का रूपमा विकास गर्ने योजना बनाएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो विश्वकै अतिविशिष्ट व्यक्तिलाई मोहित बनाएको कुनालाई ‘गुटेरेस प्वाइन्ट’का रूपमा विकास गर्ने सोच अघि बढाइएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पुम्दीकोटको विशाल महादेव मूर्ति भएको परिसरको दक्षिण पश्चिम कुना जहाँबाट हिमाली शृङ्खलाहरू एकसाथ देख्न सकिन्छ । यहाँबाट विभिन्न ११ वटा हिमशिखर एकसाथ अवलोकन गर्न सकिन्छ । यहाँबाट आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम, सात हजार नौ सय ३७ मिटरको अन्नपूर्ण दोस्रो, सात हजार पाँच सय ५५ मिटरको अन्नपूर्ण तेस्रो, सात हजार पाँच सय २५ मिटरको अन्नपूर्ण चौथो, सात हजार चार सय ८५ मिटरको खाङसारकाङ र सात हजार दुई सय ९१ मिटरको अन्नपूर्ण दक्षिण हिमाल देख्न सकिन्छ । त्यस्तै ६ हजार नौ सय ९७ मिटरको माछापुच्छ्रे, ६ हजार नौ सय ८३ मिटरको लमजुङ, ६ हजार चार सय ४१ मिटरको घान्द्रुक हिउँचुली र पाँच हजार सात सय ८१ मिटरको मर्दी हिमाल अवलोकन गर्न सकिनु यहाँको विशिष्टता हो । संयुक्त राष्ट्रसङ्घका महासचिव जस्तो अतिविशिष्ट व्यक्ति पुुम्दीकोटमा पुगेबाट नै आफूूहरू गौरवान्वित भएको बताउने पुम्दीकोट विकास समितिका अध्यक्ष बराल उनले निकै अभिरूचिपूर्वक फर्कीफर्की गएर त्यहाँबाट हिमालसहितको पोखरा नियाल्दा आफूहरूलाई हर्षित बनाएको बताउँछन्। महासचिव गुटेरेसले करिब ४५ मिनेट पुम्दीकोटमा बिताएको पुुम्दीकोट विकास समितिका व्यवस्थापक रुद्र पौडेलले बताए । पुम्दीकोट आउने पूर्ववत् कार्यक्रम नरहेको र एक घण्टाकै अन्तरालमा कार्यक्रम बनी उनी आएको पौडेलले जानकारी दिए । उनका अनुसार गुटेरेस आउने भएपछि तत्कालै हेलिप्याडको वैकल्पिक व्यवस्थालगायत विषयमा समेत छलफल गरिएको थियो । उनी अन्ततःगाडीमा नै पुम्दीकोट पुगेका थिए । उक्त क्रममा गुटेरेसले पुम्दीकोटको व्यावसायिक प्रवर्द्धनमा जोड दिनुपर्ने सुझाएको उनले जानकारी दिए । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्मित ५१ फिट अग्लो महादेवको विशाल मूर्ति यतिखेर पोखराको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चासो र चर्चा कमाएको छ । समितिले सुरुमा १०५ फिटको उठेको स्वरुपको महादेवको मूर्ति राख्ने लक्ष्य लिएकामा नागरिक उड्डयन प्राधिकरणको सल्लाहमा बसेको स्वरुपको ५१ फिट उचाइको मूर्ति जडान गरिएको हो । मूर्ति निर्माणसँगै पुम्दीकोटमा बढ्दै गएको स्वदेशी एवं विदेशी पर्यटकको आगमनले आफूहरूलाई निकै उत्साहित बनाएको समितिका अध्यक्ष बरालले बताए । जनस्तरबाट निर्माण गरिएको महादेव विशाल मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माण अघि बढिरहेको उल्लेख गर्दै बरालले हालसम्मका संरचना निर्माणमा लगभग रु २६ करोड लगानी भइसकेको बताए । समितिले मूर्तिसहित संरचना निर्माणका लागि रु ४० करोड लागत अनुमान सहितको गुरुयोजना अनुरूपका कामलाई अघि बढाइरहेको छ । पोखराको मुख्य बजार क्षेत्रबाट करिब १३ किमी दूरीमा रहेको यस स्थानमा आएका पर्यटकले विशाल मूर्तिको अवलोकनसँगै यहाँबाट बृहत् पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्णजस्ता हिमशृङ्खला नाङ्गो आँखाले हेर्दछन् । देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । पछिल्ला समयमा बढ्दै गएको आकर्षणले पशुपतिनाथ पछिको दोस्रो तीर्थस्थलका रूपमा पुम्दीकोट स्थापित हुने समितिको विश्वास छ । पुम्दीकोटका पर्यटकीय सम्भावनालाई उजागर गर्ने लक्ष्यका साथ विसं २०७३ फागुनमा महाशिवपुराण लगाउँदा रु ६ करोड १८ लाखसहित दानस्वरूप २० रोपनी जग्गा प्राप्त भएको थियो भने विसं २०७८ मा दोस्रोपटक महायज्ञ लगाउँदा करिब रु ३ करोड सहयोग प्राप्त भएको अध्यक्ष बरालले जानकारी दिए । समितिले बृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन, गुरुमहाराज आश्रमसँगै नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिने गरी संरचना निर्माण गरिसकिएको छ । विशाल मूर्ति रहेको स्थान कैलाश र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने समितिको कार्ययोजनासमेत छ । त्यस्तै शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, बगैँचा आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिङ्ग आदि स्थापना भइसकेको छ भने परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको छ । शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माण गर्ने समितिको सोच छ । पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्य पुम्दीकोट बनेको समितिका सदस्य मातृका बरालले बताए । पछिल्ला समयमा पोखरा आएका विशिष्ट एवं अतिविशिष्ट व्यक्ति पुम्दीकोट पुग्दा आफूहरू हर्षित भएको उनले बताए । ‘संयुक्त राष्ट्रसङ्घका महासचिवजस्ता अतिविशिष्ट व्यक्तिको पुम्दीकोटमा भएको आगमनले यहाँको विश्वव्यापी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको छ,’ उनले भने । फेवातालसहितको पोखरा, अन्नपूर्ण, माछापुच्छ्रेलगायत हिमशृङ्खला एकसाथ देख्न सकिने पुम्दीकोटमा महादेवको मूर्ति स्थापना गरिएसँगै बजारका विभिन्न स्थानबाट माछापुच्छ्रेको काखैमा महादेव ध्यानमग्न भएजस्तो देखिनुले यहाँको सौन्दर्यतालाई थप उजागर गरेको छ । पूर्वाधार निर्माणकै क्रममा हालै विशाल मूर्ति परिसरभन्दा यताको थुम्कोमा सुमेरु पर्वत निर्माण गरिसकिएको बरालले जानकारी दिए । यसका लागि करिब रु दुई करोड खर्च भइसकेको र यस परियोजनामा बाँकी तीन करोड रुपैयाँ लगानी थप आवश्यक भएको उनले बताए । पोखरामा आउने पर्यटकलाई साँझमा ‘लेजर लाइट’मार्फत महादेवको मूर्तिलाई पर्दा बनाइ शिव ताण्डव नृत्य, महादेवको शिवलीलासमेत प्रदर्शनी गरिने समितिको सोच छ । परियोजनाका परिमार्जित गुरुयोजनामा सुमेरु पर्वत नामकरण गरी भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म पहुँचका लागि विद्युतीय चियर कार, ग्रिनरी पार्क, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने विषय समेटिएको छ । विशाल मूर्ति स्थापनासँगै पुुम्दीकोटको महिमा र गरिमा चुलिँदा आसपासका सर्वसाधारण लाभान्वित बनेका छन् । पछिल्ला समयमा होटेललगायत पूर्वाधार एकपछि अर्को गर्दै थपिएका छन् । विगतमा गाउँ छोडेर सहर झर्नेहरू विशाल मूर्ति निर्माणसँगै बढेको पर्यटकीय आकर्षणले पुनः गाउँमा नै फर्कन थालेका छन् । रासस

रोशी भिमखोरीका ३६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनकाे विद्युत्

फाइल फोटो काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ भिमखोरीको ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । प्रसारण लाइन जडान कार्य सम्पन्न भएपछि शुक्रबार रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले विद्युतीकरणको शुभारम्भ गरेका हुन् । प्रसारण लाइनको शुभारम्भ गरेसँगै वडा नं ११ का छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ र अमलबासका गरी ३ सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको छ । विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकको जीनस्तरमा थप सुधार हुने अपेक्षा गरिएको अध्यक्ष लामाले बताए । पालिकाका नागरिकलाई आवश्यक सेवासुविधा प्रदान गर्नका लागि स्थानीय सरकारले प्रयत्न गरेको बताउँदै उनले स्थानीय तहबाट गर्नुपर्ने काममा आवश्यक सुझाव दिन आग्रह गरे । राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि वडा कार्यालयमा सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह गर्दै आइएको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए । विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुँदै जाने उनको भनाइ थियो । ‘आज हामी धेरै खुसी छौँ । अब वडाबाट नागरिकको काम सहजरुपमा गर्नसक्ने भएका छौँ,’ उनले भने, ‘यसअघि आकाशमा बादल छायो कि सोलार चार्ज सकेर सेवा प्रवाह रोकिन्छ कि भन्ने डर हुन्थ्यो ।’ यसअघि साउनमा सो वडाका तल्लो भेग कालढुङ्गाका एक सय ३५ घरधुरीमा प्रसारण लाइन जोडिएको थियो । करिब एक हजार घरधुरी रहेको वडामा बाँकी रहेका घरमा छिट्टै लाइन जडान गरिने गाउँपालिका अध्यक्ष लामाले बताए । अन्य घरधुरीमा सामुदायिक विद्युतीकरणमार्फत विद्युत् जडान गरिएको उनले जानकारी दिए । उनका अनुसार विभिन्न चरणमा गरेर हालसम्म यहाँका ६ सय १२ घरधुरीका नागरिकले सुविधा पाएका छन् । वडाका स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्करूपमा विद्युत मिटर बक्स वितरण गरेको छ । त्यसका लागि गाउँपालिकाले रु ६ लाख खर्च गरेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए । राष्ट्रिय प्रसारण शाखा लाइन विस्तारका लागि रु तीन करोडमा ठेक्का सम्झौता भएर काम सम्पन्न भएपछि यहाँका नागरिकले विद्युत् उपभोग गर्न पाएका हुन् । ३० किलोमिटर एबिसी केबुल, ७ सय ४० वटा आठ मिटरको स्टिल खम्बा, चार वटा ट्रान्सफर र प्रोजेक्टबाट अन्य थप गरी शाखा लाइन विस्तार गरिएको नेपाल विद्युत प्राधिकरण बनेपा शाखाका प्रमुख अमृत अधिकारीले जानकारी दिए ।

२७ हजार बढी भूकम्पपीडितले पाए पहिलो किस्ताको राहत

जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् । ४२ हजार ५ सय २४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित ६ हजार ६ सय ३४ मध्ये ४ हजार ६ सय ४२ ले पहिलो किस्ताको रकम पाएका छन् । नलगाड नगरपालिकाका जम्मा ८ हजार ९७ जना पीडितमध्ये ७ हजार १ सय ५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा ८ हजार २ सय पाँचमध्ये २ हजार १ सय ८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ । बारेकोटमा पाँच हजार ५ सय ८६ मध्ये चार हजार ६ सय ८७ जनाले पहिलो किस्तावापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका ५ हजार २ सय ८७ परिवारमध्ये ४ हजार १ सय ५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । त्यस्तै जुनिचाँदे गाउँपालिकामा ५ हजार ४ सय ६ मध्ये १ हजार १ सय १३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ । शिवालय गाउँपालिकामा ३ हजार ३ सय ९ जनामध्ये ३ हजार १ सय ४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ । ४२ हजार ५ सय २४ पीडितमध्ये हालसम्म २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ । १० हजार एक सय ५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत उल्लेख गरिएको छ । हालसम्म ३२ हजार ३ सय ६५ परिवार अझै त्रिपालमा बसिरहेका छन् । जम्मा भूकम्पपीडितको सङ्ख्या ४२ हजार ५ सय २४ रहेको छ । हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पकेट क्षेत्रमै ६० प्रतिशत घट्यो सुन्तला उत्पादन

पर्वत । सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकी, यस वर्ष उनीहरूले सोचेअनुसारको कमाइ गर्न सकेनन् । गत वर्ष सुन्तला उत्पादनबाट पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष दुई करोड हाराहारीको आम्दानीमा चित्त बुझाउनुपरेको छ । गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनसो गरेका छन् । सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले बताए । यहाँका बगैँचामा सुन्तला किन्नका लागि काठमाडौं पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । तीन वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढङ्गले बगैँचा जिम्मा लगाएको माछापुच्छ्रे सुन्तला सहकारी संस्थाका पूर्वअध्यक्ष दाताराम चापागाईँले बताए । यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनले बताए । ‘गएको वर्ष पाँच करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौँ । यस वर्ष मुस्किलले रु दुई करोड जति आम्दानी भएको अनुमान छ,’ चापागाईँले भने। आफूले गत वर्ष ६ लाखको सुन्तला बिक्री गरेकामा यस वर्ष २ लाखभन्दा आम्दानी नभएको उनले गुनासो गरे । स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार सुन्तला टिप्नका लागि एक साताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैँचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैँचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको उनले बताए । देउपुरका कृषक खेमराज पौडेलले एक वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए । उनले गत वर्ष पाँच लाखमा सुन्तलाको बगैँचा बिक्री गरेको बताउँदै यस वर्ष सुन्तला उत्पादन झण्डै आधा घटेको जानकारी दिए । विगत दुई दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागत रुपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आएको छ। यहाँका एक सय ६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् । साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिकरूपमा सुरु गरेको अर्का कृषक विजय चापागाईँले बताए । उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए । सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिकरूपमा प्रत्येक परिवारको दुईदेखि सात लाखसम्म कमाइ हुन थालेको चापागाईंको भनाइ छ। यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेको स्थानीय टीकाराम तिमिल्सिनाले बताए । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाइ छ। कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताए । उनले देउपुरमा औँसा कीरा, फल झर्नेलगायत अन्य सङ्क्रमणका कारण पनि सुन्तलाको उत्पादन गत वर्षभन्दा घटेको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताए ।

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर । भोजपुर नगरपालिका– १० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा २ करोड ७ लाख रुपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको हो। २० मिटर लम्बाइ रहेको पुलको सुनसरी– ४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे। त्यस अवसरमा उनले यस क्षेत्रको विकासमा आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो’, उनले भने, ‘स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौं । अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि भूमिका खेल्ने छु।’ खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए। धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयवासी नेपाली कांग्रेसका जिल्ला सचिव तथा कांग्रेसको केन्द्रीय विभागअन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताए। ‘महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो’, उनले भने, ‘धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौं। अब हामीलाई आवतजावतमा सहजता भएको छ।’ काफ्ले(महभिर(खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण सुरु गरिएको थियो । यहाँ नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो।

कृषि एम्बुलेन्सले चेपाङ गाउँमा ल्याएको परिवर्तन

भरतपुर । चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ । एम्बुलेन्स हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन् । गाउँलेको सामान लोड गरेपछि एम्बुलेन्स बजार झर्छ । गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको कृषि एम्बुलेन्स हपनीका चेपाङ समुदायका लागि आयस्रोतको सजिलो माध्यम कृषि एम्बुलेन्स बनेको छ । कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्र्याङबाट किसानको तरकारी फलफूल र अन्य सामग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडीलगायतका बजारसम्म लैजाने गरेका छन् । दिनभर किसानका सामान बेचेपछि उनी साँझ गाउँ फर्कन्छन् र किसानको आम्दानी बुझाउँछन् । ‘सबै सामान आफैँ बिक्री गरिदिने गरेका छौँ’, उनले भने, ‘साँझ भाडा कटाएर बाँकी रहेको पैसा किसानलाई बुझाउने गरेको छु । यसले गाउँलेलाई सहज भएको छ ।’ कृषि एम्बुलेन्स चलाउन थालेपछि गाउँमा परिवर्तन आएको दीपकले बताए । ‘गाउँका सबै सामान बजार लगेर बिक्री गर्न पाइएको छ, डोकोमा बोकेर घन्टौँ हिँड्नुपर्ने बाध्यता हटेको छ’, उनले भने । गाउँमा उत्पादन भएका तरकारी, फलफूल, डोको नाङ्लोलगायतका सबै उत्पादन बिक्रीका लागि बजार लैजाने गरेको उनले बताए । यहाँ उत्पादन हुने फलफूल र तरकारी प्रायः अर्गानिक हुने उनको भनाइ छ । ‘गाउँका खसी बोका पनि यही एम्बुलेन्समा राखेर बिक्रीका लागि लैजाने गरिएको छ । अघिल्लो महिना चार पाँच टिप खसीबोका बजार लगैँ’, चालक प्रजाले भने, ‘रु पाँच सय ५० केजीमा गाउँबाटै खसीबोका बिक्री हुने गरेको छ ।’ उनले गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेको बताए । किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै उनले प्रायः समय खाली बस्न नपरेको बताए । गाउँमा कृषि एम्बुलेन्स सञ्चालन भएको छ महिना भएको भन्दै उनले अहिले सबै घर कृषि उत्पादनमा जोडिएको बताए । गाउँबाटै सबै सामान बिक्री हुने भएपछि हातमा सीप भएकाहरूले डोको नाङ्लो बुन्ने गरेका छन् । हपनी कृषक समूहको अध्यक्ष टेकबहादुर चेपाङ कृषि एम्बुलेन्सले गाउँलेलाई उत्साहित र जाँगरिलो बनाएको बताउँछन् । ‘सबै गाउँलेको मागअनुसार नै गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा एम्बुलेन्स खरिद गरेका हौँ’, उनले भने, ‘अहिले सबैजान खुसी हुनुहुन्छ ।’ पहिले गाडी नहुँदा फिस्लिङसम्म बोकेर नै तरकारी फूलफूल बिक्रीका लागि लैजाने गरेको उनी बताउँछन् । ‘अरुको गाडी भनेको समयमा नआउने र सामन भनेको ठाउँमा नपुर्‍याउने समस्या थियो’, अध्यक्ष टेकबहादुरले भने, ‘गाउँमै गाडीवालाको बार्गेनिङले मूल्य नपाउने समस्या थियो ।’ अहिले आफ्नै गाडीले सामान लैजादा बजार र मूल्यको समेत चिन्ता नरहेको उनले बताए । समूहमा ३५ घरधुरी आबद्ध छन् । यहाँका ५३ घरधुरीमध्ये आधा बढी सहकारीमा आबद्ध रहेको र अन्य पनि आबद्ध हुने तयारीमा रहेको टेकबहादुरले जानकारी दिए । हपनीका कृषक पदमबहादुर चेपाङ यस वर्ष सखरखण्ड, तरुललगायतका कृषि उत्पादन बिक्री गरेको बताए । एम्बुलेन्स (बोलेरो) चलेपछि धेरै सहज भएको भन्दै उनले आफ्नै गाउँठाउँका दाजुभाइले घरबाटै सामान लगेर घरमै पैसा ल्याइदिने गरेको बताए । ‘उत्पादन गरे बजारको चिन्ता छैन, आजभोलि खेती किसानी गर्न पनि जाँगर लागेको छ’, उनले भने, ‘पछिल्लो समय गाउँमा बाँदरले खेतीबाली नष्ट गर्ने समस्या भने छ ।’ गाउँबाटै कृषि एम्बुलेन्स चलेपछि स्थानीयले उत्पादन गरेको दुई मुठा सागले पनि बजार पाएको स्थानीय अगुवा शेरबहादुर प्रजा बताउँछन् । ‘पहिलेपहिले पनि उत्पादन गथ्र्यौं । तर, अरुको गाडी बोलाउँदा आनाकानी गर्ने, भाडा महँगो भन्नेजस्ता समस्या थियो’, उनी भन्छन्, ‘त्यस्तो अवस्थामा थोरै उत्पादन गर्ने किसानको उपजले बजार पाउनै मुस्किल थियो । अहिले त्यस्तो अवस्था छैन । दुई किलो सखरखण्डले पनि बजार पाएको छ ।’ उनले एम्बुलेन्स सञ्चालनपछि गाउँमा काम गर्ने र उत्पादन गर्ने प्रतिस्पर्धा चलेको बताए । वडा नं २ का अध्यक्ष पञ्चबहादुर चेपाङका अनुसार करिब पाँचरछ वर्षदेखि यहाँका किसानले व्यावसायिकरुपमा कृषि कर्म गर्दै आएका छन् । गाउँलेले गोलभेँडा, रायो, स्कुस, धनियाँ, तरुल, सखरखण्ड, पिँडालु, केराउ, सिमीलगायतका तरकारी खेती उत्पादन गर्दै आएका छन् । ती सबैले राम्रोसँग बजार पाउँदा त्यसले समग्र गाउँलाई नै फाइदा पुगेको उनी बताउँछन् । गाउँपालिकाले किसानको आवश्यकताअनुसार मल र बिउमा ५० प्रतिशत अनुदान दिँदै आएको वडाअध्यक्ष चेपाङले जानकारी दिए । वडा नं २ मा हपनीसहित वल्र्याङ, मैतेस, माझखर्क, हुस्ती, तल्लो काउले, माथिल्लो काउले, थापाथली, तोलाङ, छापडाँडालगायतका गाउँमा व्यावसायिकरुपमा तरकारीखेती गर्दै आएका छन् । तरकारीखेतीका आलवा बाख्रापालन, चोयाको सामग्री बनाउनेजस्ता कार्यमा समेत यहाँका चेपाङ समुदाय अग्रपङ्क्तिमा रहेको उनले बताए । किसानको आवश्यकताअनुसार गाउँमा पुगेको कच्ची सडकलाई स्तरोन्नति गर्नुपर्ने आवश्यकता रहेको अध्यक्ष पञ्चबहादुरले बताए । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ हपनी उदाहरणीय चेपाङ गाउँ बन्दै गएको बताए । उनले यहाँका चेपाङ समुदायको आयस्तर उकास्न र उनीहरुलाई व्यावसायिक बनाउन गाउँपालिकले एम्बुलेन्स उपलब्ध गराएको बताए । अन्य ठाउँबाट पनि एम्बुलेन्सको माग हुँदाहुँदै पनि चेपाङ समुदायको बस्ती रहेको क्षेत्रलाई प्राथमिकतामा राखेर एम्बुलेन्स उपलब्ध गराएको उनले जानकारी दिए । गाउँपालिकाले यस वर्ष दुई वडामा एक एक वटा कृषि एम्बुलेन्स दिने तयारीमा रहेको बताए । वडा नम्बर १ को सिराइचुली कृषि सहकारी हात्तीबाङ र वडा नं ७ को दाहाखानीस्थित लालीगुँरास कृषि समूहलाई कृषि एम्बुलेन्स दिने तयारी गरिएको छ । एउटा पनि बोलेरो गाडी नभएको ठाउँलाई लक्षित गरेर कृषि एम्बुलेन्स दिन लगिएको अध्यक्ष गुरुङले जानकारी दिए । इच्छाकामना गाउँपालिका समृद्धि कृषि र पर्यटनबाट मात्र सम्भव रहेको भन्दै उनले पालिकाले पनि यसैलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । रासस

कर्णालीको १९ हजार टन रैथाने बाली खरिद गर्दै व्यापार कम्पनी

कर्णाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशले १९ हजार ४ सय ६४ मेट्रिक टन यहाँको रैथाने बाली खरिद गर्ने भएको छ । यसका लागि कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । कर्णाली प्रदेशमा उत्पादित रैथानेबालीको संकलन, प्रशोधन र बजारीकरणका लागि प्रशोधन केन्द्र (मिल) स्थापना गर्नेसम्बन्धी मन्त्रालय र व्यापार कम्पनीबीच शुक्रबार समझदारी भएको हो । उक्त समझदारी पत्रमा मन्त्रालयको तर्फबाट सचिव डा. नरहरिप्रसाद घिमिरे र कम्पनीको तर्फबाट निमित्त प्रादेशिक प्रमुख माधव मिश्रले हस्ताक्षर गरेका हुन् । समझदारी पत्रअनुसार व्यापार कम्पनीले कोदो ८ हजार ६ सय ६०, कागुनो ३ सय ३८, चिनो ६ सय ८७, जुनेलो २ , फापर ७ सय ६२, उवा ६ सय १९, सिमी ४ हजार ४ सय ७० र मार्सी धान ३ हजार ८ सय ८६ गरी कूल जम्मा १९ हजार ४ सय ६४ मेट्रिक टन रैथाने बाली खरिद गर्ने सहमति भएको सचिव डा. घिमिरेले जानकारी दिए । समझदारी पत्रअनुसार प्रथम पक्ष भनिएको मन्त्रालयले मातहतका कार्यालयलाई वार्षिक कार्यक्रममार्फत कृषकलाई रैथानेबाली उत्पादन तथा प्रवर्द्धनका लागि आवश्यक बजेट विनियोजन गर्न निर्देशन दिने, प्रदेशस्तरीय रैथानेबालीको प्रशोधन, लेवलिङ र प्याकेजिङका मेसिनरी उपकरण व्यवस्था गर्न बजेटको प्रबन्ध मिलाउने, यसको उत्पादन परिमाण तथा कृषकको तथ्यांक उपलब्ध गराउनेलगायतका जिम्मेवारी पूरा गर्नुपर्नेछ । त्यस्तै, समझदारी पत्रको दोस्रो हस्ताक्षरकर्ता सुर्खेतस्थित व्यापार कम्पनीले आफ्नो वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा मिल सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थको रुपमा कर्णालीमा उत्पादन हुने रैथाने बालीको नियमित तवरबाट स्थानीय तहसँग समन्वय गरी खरिद गर्ने, नेपाल सरकारको गुणस्तर मापदण्डअनुसार खाद्यान्न संकलन गरी सोको प्याकेजिङ, लेवलिङ तथा कर्णाली प्रदेशको मूल्यवान लोगोसमेत उल्लेख गरी ब्रान्डिङलगायतका जिम्मेवारी पूरा गर्नुपर्नेछ । कर्णाली प्रदेश सरकारको पहिलो बैठकले कर्णालीलाई प्राङ्गारिक प्रदेश स्थापित गर्ने निर्णय भएअनुसार कृषि मन्त्रालयले ‘कर्णाली प्रदेश प्राङ्गारिक कृषि प्रवद्र्धन ऐन २०७६’ मार्फत आफ्नो नीति र कार्यक्रममा प्राङ्गारिक कृषि र रैथानेबाली प्रवर्द्धनमा सहयोग तथा सहजीकरण गर्दै आएको छ ।

चित्रे–घोडेपानी सडक स्तरोन्नतिको काम अघि बढ्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रे–घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने तयारी थालेको हो । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले मन्त्रालयको निर्देशनअनुसार सडक स्तरोन्नति गर्न प्राविधिक टोलीले सर्वेक्षण गरेको जानकारी दिए । विसं २०७६ मा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको थियो । सडक विस्तार, ग्रेड, घुम्ति तथा मोड सुधार गरेर बाह्रै महिना सहजरूपमा नियमित यातायात सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता र चासो देखाएको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु ३० लाख बजेट बिनियोजन भएको यो सडक योजनाका लागि थप रु ३० लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर रु ३ करोड बजेट बराबरको वहुवर्षीय ठेक्का लगाउन लागेको छ । गत मङ्सिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समीक्षामा सहभागी हुन आएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चित्रे–घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष वहुवर्षीय ठेक्का प्रक्रिया सुरु गर्ने घोषणा गरको थिए । घोडेपानीबाट कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष रु तीस लाख बजेट विनियोजन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको छ । कास्कीको नयापुुल, तिखेढुुङ्गा, उल्लेरी हुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ । सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजारभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउने गरेका छन् ।