विकासन्युज

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप ‘डिस्पोजल’ गर्दै सरकार

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । ‘खोप प्रयोग नभएपछि म्याद सकिएको छ,’ उनले भने, ‘धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछौँ ।’ प्रवक्ता डा. बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटाभट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका उनको भनाइ थियो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो । उक्त खोप चीन सरकारबाट अनुदानमा विसं २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताए । ‘कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा लगाइसकेका थिए,’ उनले भने, ‘खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले प्रयोग गर्न सकेनौँ ।’ बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति जहाज राख्न नपाउने नियम कडा बनाइँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन विमानस्थलले आन्तरिक उडानका वायुसेवा प्रदायकलाई जहाजको रात्रि बिसान काठमाडौं बाहिरका विमानस्थलमा गराउने एक वर्षअघि निर्णय गरेको थियो । उक्त निर्णयअनुरूप वायुसेवा कम्पनीले जहाज काठमाडौं बाहिरका विमानस्थलमा राखेर काठमाडौंका लागि पहिलो उडान पनि सञ्चालन गर्दै आइरहेका थिए तर पछिल्लो समय कतिपय जहाज प्राविधिक, मौसमलगायत कारण देखाएर एयरलाइन्सले काठमाडौंमा रात्रि बिसान गर्न थालेपछि विमानस्थले पुनः कडाइ गर्ने भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रि बिसान नगर्न वायुसेवा कम्पनीलाई दिएको निर्देशन कार्यान्वयनमा कडाइ गर्न लागिएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत वर्ष नै काठमाडौं ‘बेस’ भएर उडान गरिरहेका वायुसेवा कम्पनीलाई काठमाडौंमा रात्रि बिसान नगरी काठमाडौं बाहिरका विमानस्थलमा लैजान निर्देशन दिएको थियो । कतिपय एयरलाइन्सले तोकेको ‘बेस’मा जहाज रात्रि बिसान नगरी विभिन्न कारण देखाउँदै काठमाडौंमा भीडभाड हुन थालेपछि थप कडाइ गर्न लागिएको बताए । ‘पछिल्लो समय एयरलाइन्सले कहिले प्राविधिक र कहिले मौसमको कारण देखाउँदै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न थालेपछि भीडभाड बढेकाले थप कडाइ गर्न लागिएको हो,’ विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, ‘एयरलाइन्सहरुलाई विभिन्न ‘बेस’ तोकिएको छ, सोही अनुसार उनीहरूले जहाज रात्रि बिसान गर्नुपर्छ ।’ काठमाडौं बाहिरका चन्द्रगढी, विराटनगर, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा जहाजको रात्रि बिसान हुने गरेको छ । ती जहाजले काठमाडौंका लागि सम्बन्धित गन्तव्यबाट पहिलो उडान गर्दै आएका छन् । महाप्रबन्धक तिवारीका अनुसार उडान चाप व्यवस्थापन र जहाज पार्किङको जोखिम पनि कम हुने भएकाले काठमाडौं बाहिरका विमानस्थलमा रात्रि बिसानका लागि थप प्रभावकारी बनाउन लागिएको हो । यसबाट काठमाडौं बाहिरबाट आउने यात्रुलाई पनि यसले सहज हुनेछ । प्राधिकरणको निर्णयअनुसार निजी क्षेत्रका बुद्ध एयरको ६, यती एयरलाइन्स र श्री एयरलाइन्सको समान दुई तथा सौर्य, सीता, तारा एयरका समान एक–एक जहाज मात्रै काठमाडौं विमानस्थलमा रात्रि बिसान गर्न पाइने निर्णय भएको थियो ।

विदेश जान ६ महिनामा ३ लाखले लिए श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागबाट चालु आर्थिक वर्षको पहिलो ६ महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख बढी पुगेको छ । साउनदेखि पुससम्ममा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ४३ हजार पुगेको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९÷८० को यही अवधिमा वैदेशिक रोजगारीमा जानका लागि विभागबाट४ लाख १४ हजारले श्रम स्वीकृति लिएका थिए । अघिल्लो वर्षको तुलनामा यस वर्ष श्रम स्वीकृति लिनेको सङ्ख्या ७१ हजारले कमी देखिएको उप्रेतीले बताए । उनले भने, ‘पुस महिनामा ६५ हजार आठ सय १३ नेपालीले वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका छन्, यो सङ्ख्या नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्ने दुवैको हो ।’ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको देखिए पनि साउन र भदौभन्दा मङ्सिर र पुसमा सङ्ख्या बढेको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ । पुसमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमा सबैभन्दा धेरै युएइ जाने रहेका विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार युएइका लागि १६ हजारले श्रम स्वीकृति लिएका छन् भने साउदी अरब र कतार १४ हजार, मलेसिया आठ हजार, कुवेत तीन हजार र कोरिया एक हजार जना गएका छन् ।

बालाजु जलाधार क्षेत्रबाट ३ करोड लिटर पानी जमिनमुनि पठाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजु पार्कको जलाधार क्षेत्रबाट वार्षिक करिब तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली निर्माण गरेको छ । यो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो । कामपाले कोकाकोला वेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटर एड नेपालसँगको सहकार्यमा उक्त प्रणाली विकास गरेको नगर उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन्। उनका अनुसार ‘रिचार्ज’ प्रणालीमा २१ रिचार्ज इनार, २१ रिचार्ज फिल्टरिङ च्याम्बर, दुई पानी थिग्रिने (डिसिल्टिङ चेम्बर), ७५ फिट अग्लो रिचार्ज खाडल र सात (९० फिटका) बाँसको छेकबार (चेक ड्याम) बनाइएको छ । यसको निर्माण कार्य गएको वैशाखमा निर्माण कार्य सुरु गरिएको थियो । उक्त प्रणालीको लागत रु ४३ लाख ६० हजार रहेको छ । ‘सहरमा पानीको अभाव छ, बर्खाको पानी बगेर खेर जान्छ, हिउँदमा पानीको अभाव हुन्छ, यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्द्धन गरिरहेका छौँ,’ उपप्रमुख डङ्गोलले भनिन्, ‘काठमाडौंमा सबैभन्दा धेरै पानीको अभाव हुने लगन क्षेत्रका खुला ठाउँबाट पानी पुनःभरण प्रणाली विकास गर्ने अबको हाम्रो योजना हो ।’ तीव्र सहरीकरणका कारण बढेको पानीको चरम अभाव कम गराउन यसप्रकारका प्रयासले समुदायले दायित्व लिँदै जाने अपेक्षा गरिएको छ । परम्परागतरुपमा काठमाडौंबासीले पानीका प्रमुख स्रोतका रूपमा भूमिगत जल नै प्रयोग गर्ने गरेका थिए । राजकुलो र पोखरीबाट पानी पुनःभरण हुने गथ्र्यो । पछिल्लो समयमा अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय वर्षा छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिकरूपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ । यस अवस्थामा पानीको अभाव कम गराउन व्यक्तिव्यक्तिको तहमा पुनःभरणका विषयमा चिन्तन आवश्यक देखिएको उनी बताउँछिन् ।

हिँउ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी

मनाङ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रूपमा अनुभूति गर्न सकिन्छ । हिमालबाट आएको मर्स्याङ्दी नदीको सङ्लो, कञ्चन अनि सफा पानी र स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर रसास्वादन गर्न पाइने क्षेत्र पनि हो मनाङ । यस स्वर्गीय आनन्दको क्षेत्रमा पुग्न विदेशी मात्रै नभई नेपाली पनि उत्तिकै आतुर हुने गर्छन् । कैयौँ मानिस यस क्षेत्रमा पुग्न लालायित हुने गरेका छन् । प्रकृतिसँग रमाउने क्षेत्रकै रूपमा विश्वमा परिचय बनाएको हिमाली जिल्ला मनाङको मुहार बिस्तारै फेरिँदै गएको छ । विश्वले स्वर्गका रूपमा बयान गर्ने र प्रचारप्रसार गर्ने मनाङमा जलवायु परिवर्तन त टाढाका कुरा हुन् । मनाङलाई प्रत्यक्ष रूपमा देखिने र भेटिने कुराले नै कुरूप बनाउन थालेको छ । विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो बनाएको छ । विभिन्न खालका प्रदूषण पनि बढ्दो छ । प्रत्यक्ष रूपमा जलवायु परिवर्तनको असर देखापरेको छ । यसका साथै मानवीय तवरबाट हुने अन्य फोहरमैला पनि बढ्दै छ । यात्रामा निस्कने पर्यटक तथा स्थानीयले हिमाली क्षेत्र र चिसो भएकाले प्याकेटका खानेकुरालाई प्राथमिकता दिएका छन् । प्लास्टिकका प्याकेटका खाद्यवस्तुको वजन कम हुँदा उपयोग बढेको पाइन्छ । यसबाट निस्कने प्लास्टिकजन्य फोहरमैला मनाङमा बढ्दै गएको छ । मनाङमा वर्षा कम पानी पर्ने परिचय बनाएको मनाङमा बिस्तारै वर्षा हुन थालेको छ । जसले गर्दा विश्वले उत्सर्जन गर्दै आएका विभिन्न असरदार वायुले यहाँका प्रकृतिलाई प्रत्यक्ष रूपमा प्रभाव पारेको छ । १४ जेठ २०७८ र १ असारमा मर्स्याङ्दी नदीमा विनाशकारी बाढी आउनु यसकै प्रभावका रूपमा विश्वले लिएको छ । यही बाढीले यहाँका प्राकृतिक सुन्दरतालाई प्रभाव पारेको छ । यसले पनि यहाँको प्राकृतिक रूप फेरिएको छ । कहिल्यै बाढी नआएको मनाङमा पहिलोपटक आएको देखेको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङले बताए । उनले भने, ‘हामी जन्मिएर बुढो भयौँ । मर्स्याङ्दी नदीमा बाढी आएको कहिल्यै देखेका थिएनौँ । खै के भएको हो बुझ्नै सकिएन । पृथ्वीमा के फेरिँदैछ कुन्नि पहिले नआउने नदीमा बाढी आयो ।’ बाढीले भौतिक पूर्वाधार र यहाँको प्रकृतिलाई धेरै असर पुर्‍याएको छ । उनले भने, ‘नदीको वितण्डाले घर, बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।’ शान्त र सुन्दर वातावरण रहेको मनाङ अहिले फेरिँदै गएको छ । फोहरमैला बढ्दै बिस्तारै मानव जीवनशैली परिवर्तन हुँदै गएको छ । प्राङ्गारिक खाद्यान्नलाई निरुत्साहित गर्दै बजारमा आएका प्लास्टिकका प्याकेटमा भएका खानेकुरालाई प्रोत्साहन गरिएको छ । जसले गर्दा रमणीय र प्राकृतिक क्षेत्र परिवर्तन हुँदै गएका छन् । मनाङ पर्यटकीय क्षेत्र भएकाले यहाँ फास्ट फुडका रूपमा प्याकेटमा बन्द गरिएका सामानको उपभोग बढ्दै गएको छ । यसले प्लास्टिकजन्य तथा सिसाजन्य फोहरमैला बढ्दै गएको छ । फास्ट फुडका रूपमा उपयोग गरिएको खाद्यवस्तुको प्याकेट जथाभाबी फालिँदा यहाँको प्राकृतिक सुन्दरतामा कुरूपता थपिन थालेको छ । फालिएका प्याकेट जताततै फोहरमैलाको डङ्गुर बन्न थालेको स्थानीय फुर्वा लामाले बताए । उनले भने, ‘यहाँबाट निस्कने प्लास्टिकजन्य फोहरमैलाको व्यवस्थापन हुन सकेको छैन । यस्ता फोहर बढ्ने क्रममा रहेकाले व्यवस्थापनमा ध्यान जानु आवश्यक छ । उपयोग गर्ने व्यक्ति सचेत भएमा यसको निराकरण गर्न सहज हुन्छ । मनाङ पर्यटकीय क्षेत्र भएकाले स्थानीय तहले नै फोहर व्यवस्थापन गरेका छन् । पछि समस्याका रूपमा विकास हुने भएकाले समयमा नै फोहर व्यवस्थापनमा सचेतता अपनाउनुपर्नेमा उनको जोड छ । पदमार्ग र हिमाल जोखिममा हिमाल र पदमार्ग नै मनाङको मुख्य आकर्षणको केन्द्र हो । हिमाल र पदमार्ग नै जोखिममा छन् । हिउँ माथि सर्दै गएको छ । जसले बगर र कालापत्थर बन्ने क्रम बढेको छ । हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमा नै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको विज्ञको भनाइ छ । विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले हिमालमा प्रभाव देखिने गरेको विज्ञको बुझाइ छ । पदयात्रा र हिमाल नजिकबाट हेर्न विश्वका पर्यटक यहाँ आउँछन् । मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल आवश्यक छ । सरकारले यस्ता प्राकृतिक सौन्दर्यताले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने स्थानीय याङदुङ गुरुङ बताउँछन् । उनी भन्छन्, ‘बिस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त अलि माथि हिँडे भेटिन्थ्यो अहिले त धेरै माथि पुग्नुपर्छ । हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि बिस्तारै मासिएको छ । पदमार्गमा सडक बनेको छ । अनि केको पदमार्ग ? कि त पदमार्गको विकल्प खोज्नुपर्छ ।’ पदमार्गमा हिँड्न रुचाउने भएर नै पर्यटक आउने हो । पदमार्गको संरक्षण गर्नुपर्नेमा स्थानीयवासीको जोड छ । हिउँमाथि सरेसँगै हिमालको तल्लो क्षेत्रमा पातपतिङ्गर बिनाको पहाड बनेको छ । ती ठूला चट्टानयुक्त पहाडमा न त खेतीपाती हुन्छ । उपयोगविहीन चट्टान देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहान समेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने भएको स्थानीय गुरुङ बताउँछन् । उनी भन्छन्, ‘प्रस्ट उदाहरण हेर्ने हो भने गङ्गापूर्ण ताल नै देख्न सकिन्छ, अरू के खोज्ने हो र रु हामीले हेर्दा हेर्दै सुक्यो त ताल १ यहाँ सुक्यो अरू ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।’ केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अन्तबाट ल्याउनुपर्ने भएको छ । फेरिँदै व्यवसाय जलवायु परिवर्तनको बढी प्रभाव हिमाली क्षेत्रमा परेको छ । स्थानीयवासी जलवायु परिवर्तनको प्रभावले हिमालमा हुने पशुपालन व्यवसाय फेर्न बाध्य हुन थालेका छन् । नासों गाउँपालिका–४ का पशु व्यवसायी सुरेश थकाली वातावरणमा आएको परिवर्तनले पशुपालनमा समस्या हुन थालेको बताउँछन् । व्यावसायिक पशुपालनमा लागेका उनी मौसम फेरिँदा पशुपालन घट्न थालेको बताउँछन् । विगतमा याक, चौँरी पाल्दै आएका थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) छ । याक, चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उनले बताए । ‘पशु व्यवसायमा लेकका खर्कतर्फ जान चाहँदैनन् । यहीँ राखे याकचौरी पाल्न सकिँदैन । पहिला ६०र७० याक, चौँरी पालेको थिएँ, अहिले ४०र५० झोपा पाल्न थालेको छु,’ व्यवसायी थकालीले भने । पुर्ख्यौली पेसा धान्नै मुस्किल भएको उनको भनाइ छ । ‘बिस्तारै मैले व्यवसाय फेर्दै गएको छु । युवा जति पढ्न र अन्य व्यवसायतर्फ आकर्षित भएका छन् । अधिकांश त विदेश पलायन हुन्छन् । जसले गर्दा पुर्ख्यौली पेसा जोगाउन सकस छ,’ थकालीले भने । पशुपालन कम हुँदै गएपछि डेरी खोलेर व्यवसायलाई विस्तार गरेको उनले बताए । उमेर बढ्दै गएपछि अब स्वास्थ्यले पनि साथ दिँदैन । खर्कसम्म पुग्नै मुस्किल हुने गरेको उनले बताए । पशुपालनतर्फ प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याए पनि पशुपालन घट्दो छ । परम्परागत घर मासिँदै हिमाली जिल्ला मनाङमा बिस्तारै परम्परागत घर मासिँदै छन् । हिउँको पानीले चल्ने मनाङमा वर्षा हुन थालेसँगै परम्परागत माटोका घर मासिँदै छन् । वर्षाले माटोका घर चुहिने र भत्किने भएपछि आधुनिक तवरबाट कङ्क्रिटको घर बनाउन थालिएको छ । कङ्क्रिटको घर निर्माणले यहाँका परम्परागत माटोका घर लोप हुन थालेका छन् । यहाँ कमै मात्रामा परम्परागत घर देख्न पाइन्छ । स्थानीय कर्माछिरिङ गुरुङ भन्छन्, ‘पहिले मनाङमा वर्षा हुँदैन थियो । अहिले हिउँ कम पानी बढी पर्न थालेको छ । खै के भएको हो । मौसम पनि फेरिँदै जाने रहेछ कि के हो ?’ पानी पर्न थालेपछि मनाङमा परम्परागत माटोका घर पाउनै मुस्किल हुन्छ । उनी भन्छन्, ‘पानी चुहिने घरमा यस्तो चिसो ठाउँमा बस्न सकिँदैन । जसरी हुन्छ कङ्क्रिटको घर त बनाउनै पर्‍यो नि ! नत्र पानी पर्दा चुहिएर बस्न सकिँदैन । मनाङका सबैजसो ठाउँमा कङ्क्रिटको घर बन्दै गएका छन् । पुरानो घरको आकर्षण बढी छ भनेर नहुने रहेछ । मौसमले हामीलाई चुनौती दिन्छ के गर्नु र ? यहाँका स्थानीयले पानीबाट जोगिन पनि कङ्क्रिटको घर बनाउन थाले ।’ यहाँ लोकप्रिय मानिएको परम्परागत घरलाई संरक्षण गर्न नसकिए भविष्यमा आउने पर्यटक तथा नेपालीलाई नै कथाजस्तो लाग्छ । यसको संरक्षणमा स्थानीयसँगै सरकार सचेत हुनुपर्छ । ताल हराउँदै मुस्किलले चार्टर्ड वा कार्गो फ्लाइट मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीयस्थल झैँ बनेको छ । केही वर्षअघिसम्म आँखैसामु देखिने ग्लेसियर वा हिमनदी भने तस्बिरमा मात्रै सीमित हुन थालेका छन् । माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राका गाउँमा जन्मे–हुर्केका कालु घले घरआँगनसम्म बहेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झन्छन् । उनी भन्छन्, ‘अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले पर्यटक तान्न सकिएला भन्ने थियो । यो ताल अहिले मैदान झैँ बनेको छ ।’ घले भन्छन्, ‘स्विस भूगर्भविद् टोनी हेगनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्बिर लिएर प्रचारमा आएपछि यो ताललाई अहिलेसम्म भौगर्भिक बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने आधार बनाइएको छ ।’ झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ । अनुसन्धान समूहका एक अनुसन्धाता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ । अन्वेषकका बुझाइमा, यो त्रासको स्थिति उब्जिए पनि मनाङ ङिस्याङ गाउँपालिका भने गङ्गापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ । गङ्गापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका–६ का वडाध्यक्ष सोनाम गुरुङ भन्छन्, ‘अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले तीन करोड पाँच लाख बजेट छुट्याएको छ, टेन्डर पनि भइसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्छौं ।’ भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गङ्गापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गङ्गापूर्णजस्ता हिमतालको संरक्षण प्राथमिकतामा रहनुपर्ने बताउँछन् । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा रहेको सिङ्गर लेक (काजिनसारा ताल) (गड अफ फायर) फेला परेको थियो । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (चार हजार नौ सय १९ मिटर) भन्दा झन्डै दुई सय मिटर उँचो स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन । मनाङ ङिस्याङ–६ का वडाध्यक्ष गुरुङका अनुसार, गङ्गापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गङ्गापूर्णलाई सुरक्षित तुल्याएर राख्ने योजना छ । मौसममा आएको परिवर्तनले नै स्वर्गको उपमा पाएको मनाङ मुहार नै फेरिने अवस्थामा पुगेको छ । यहाँका प्राकृतिक चिजबिज नै फेरिँदै गएपछि प्रकृतिमा रमाउन आउने पर्यटकको आकर्षणमा गिरावट आउने त होइन भनी सोच्नुपर्ने बेला भएको छ । रासस

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

काठमाडौं । अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ । जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर उपयोग गर्ने नीति अवलम्बन गरेको र सोही अनुसार कार्य अघि बढाइएको बताए । हालै मात्र प्रहरीद्वारा सफल अनुसन्धान भई अदालतमा थुनछेक बहसका क्रममा रहेको मुलुकभर तथा नेपाली डायस्पोरासमेतमा बहु–चर्चित मुद्दामा पनि उच्चतम प्रविधिको प्रयोग भएको मैनालीले बताए । अपराध अनुसन्धानमा आधुनिक प्रविधिको भूमिका दिनानुदिन बढ्दै गएकाले पनि प्रहरीले उक्त अभ्यासलाई अधिकतम प्रयोग गरिरहेको उनको भनाइ थियो । अनुसन्धान कार्यमा संकलित दशी प्रमाणको परीक्षणका लागि हाल सामाखुशीस्थित नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला रहेको छ । उक्त प्रयोगशालामा रहेका विभिन्न ११ वटा शाखाबाट रसायन तथा लागुऔषध, विस्फोटक पदार्थ, विष विज्ञान, डिएनए, जीवसिरम विज्ञान, ब्यालेस्टिक, विवादास्पद प्रलेख, भौतिक (फुट प्रिन्ट, सवारी साधनको इन्जिन–चेसिस), फोटोग्राफीको वैज्ञानिक परीक्षण एवं विश्लेषण गर्दै आएको छ । औँला छाप, एफआइएस (अटोमेटेड फिङ्गर प्रिन्ट आइडेन्टिफिकेशन सिस्टम) आदि भौतिक सबुद–प्रमाणको वैज्ञानिक परीक्षण एवं विश्लेषण गरी सम्बन्धित निकायहरूलाई विशेषज्ञ राय उपलब्ध गराई अपराध अनुसन्धान र न्याय सम्पादन कार्यमा प्रहरीले सहजीकरण गर्दै आएको छ । काठमाडौंबाहिर धरानमा विष विज्ञान र लागुऔषध तथा नेपालगञ्जमा विष विज्ञानको परीक्षण गरी सम्बन्धित निकायलाई रायसहितको प्रतिवेदन दिने कार्य भइरहेको छ । डिजिटल फरेन्सिक ल्याब (डिएफएल) ले कम्प्युटर, फोन लगायतको डिजिटल परीक्षण, डाटा रिट्राइभ, विश्लेषण तथा अन्य वैज्ञानिक परीक्षण गरी रायसहितको प्रतिवेदन दिने गरिएको छ । पोलिग्राफ मेसिनद्वारा आशंकित व्यक्तिले झुट बोलेको नबोलेको सम्बन्धमा परीक्षण गर्ने गरिन्छ । ज्यानसम्बन्धी कसुरलगायत अन्य कारणले भएको मृत्युका कारण पत्ता लगाउन त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा शवपरीक्षण गरिने गरिन्छ । साथै, अन्यत्र जिल्लामा पनि जिल्लास्तरसम्मै शवपरीक्षण गरिन्छ । कहिलेकाहीँ विवादित मुद्दाको अनुसन्धान गर्ने कार्य र भयानक दुर्घटनाका कारण भएको दुःखद मृत्युमा शवको पहिचानका लागि भने बाहिर जिल्लाबाट शवलाई त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभागमा ल्याएर परिवारलाई शव बुझाइने गरिएको प्रहरीले जनाएको छ । केही वर्षअघिसम्म पुलिस रिपोर्ट लिन असाध्यै कठिन थियो । हालैका दिनमा प्रविधिमार्फत संसारको जुनसुकै कुनाबाट अनलाइन फारम भरेको केही दिनभित्र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने गरी व्यवस्थापन गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी एप्समार्फत अपराध भएको, हुनसक्ने जानकारी प्रहरीलाई पठाई १००, १०३ र १०४ मा फोन गरी नागरिकले अपराध नियन्त्रण र अनुसन्धानमा ‘बिनावर्दीको प्रहरी’को भूमिका निर्वाह गर्नसक्ने प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए । उनका अनुसार ट्राफिक प्रहरीद्वारा सवारी दुर्घटना न्यूनीकरणका तथा अनुसन्धानका लागि विविध प्रविधि प्रयोगमा ल्याइएका छन् । सिसीटिभी क्यामेरा, ट्राफिक लाइट, स्ट्रिट लाइट, रोड साइन एन्ड सिग्नल, रोड मार्किङ्स, राडर गन, लिडार गन, ब्रेथ लाइजर, ड्रग्स डिटेक्सन किट, गोप्रो क्यामेरा, भ्वाइस रेकर्डर, सर्भिलेन्स क्यामेरा जडित सवारीसाधन, ह्विल लक, चेन लक, म्याजिक लाइटको प्रयोगबाट उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित गर्न थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उपत्यकाको मुख्य मुख्य नाकामा भेइकल स्क्यानरलगायत थप प्रविधि भित्र्याउन पहल भइरहेको छ । विभिन्न एप्समार्फत सवारी जरिवाना तिर्ने कार्यले पनि नागरिकको समयको बचत हुन गएको उनले बताए । पछिल्लो समयमा काठमाडौं उपत्यका प्रहरीले सिसी क्यामेराका अलावा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा (एएनपिआर) प्रयोगमा ल्याएको छ । मुख्यगरी यसले चालकको गतिविधि नियन्त्रणमा सहयोग पुग्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक मैनालीले बताए । ‘सिट बेल्ट लगाएको छ कि छैन, चालकले धुमपान गरेर गाडी चलाएको छ कि ? फोनमा कुरा गरेर पो गाडी चलाएको छ कि ? भनेर पत्ता लगाउन उक्त क्यामेराले सहयोग गर्छ,’ उनले भने, ‘नम्बर प्लेटलाई पनि रिड गरेर पठाउने उक्त प्रविधि आधुनिक हो । यसले नम्बर प्लेट र चालकको सिटसम्मकै गतिविधि फोटो खिचेर सर्भरमा पठाउने हुँदा ट्राफिकिङमा ठूलो सहयोग गर्ने विश्वास गरिएको छ ।’ मैनालीका अनुसार उपत्यकामा यस्ता विभिन्न प्रविधियुक्त क्यामेरा १ सय ७० वटा राख्न थालिएको छ । फेस रिड क्यामेरा १० ठाउँमा, अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन क्यामेरा १० ठाउँमा र भिडियो म्यानेजमेन्टसहितको क्यामेरा (एआई प्रविधिमा आधारित) एक सय ५० स्थानमा जडान गर्न लागिएको उनले जानकारी दिए ।

मुग्लिन–पोखरा साढे १९ किलोमिटर सडक कालोपत्र

दमौली । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्र भएको छ । तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्र सकिएको हो । सडक योजना पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय, बरादी खण्डमा कालोपत्र सकिएको जानकारी दिए । त्यसमध्ये ७.२ किमी खण्डमा दुईतर्फी नै कालोपत्र सकिएको छ । उनले भने, ‘सबैगरी १९.५ किलोमिटर कालोपत्र भएको छ । कालोपत्रमध्ये ७.२ किमीमा दुईतर्फी कालोपत्र सकिएको छ । हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रको काम भइरहेको छ ।’ त्यसपश्चात् बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रको काम हुने पाण्डेले बताए । उनका अनुसार पूर्वीखण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ । यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन् । पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ । इञ्जिनियर पाण्डेका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । उनले दुई वटा फाउण्डेशनको पाइलको काम सकिएको जानकारी दिए । हाल भइरहेको पुलभन्दा केही माथि नयाँ पुल निर्माण हुँदैछ । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन् । पूर्वी खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ । पूर्वी खण्डको ठेक्का रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।

अष्ट्रेलियाको भिसा त्यागेर च्याउ खेतीमा जमेका वीरबहादुर

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका २७ वर्षीय वीरबहादुर राना अष्ट्रेलिया जाने मौका रद्द गरी व्यावसायिक च्याउ खेतीमा लागेका छन् । १८ महिने कृषि जेटिए पढेका राना पाँच वर्षदेखि बाह्रै महिना च्याउ खेती गर्दै आएका छन् । घरपरिवार आफन्तले निकै दबाब दिएपछि रानाले अष्ट्रेलिया जानका लागि आवेदन दिए । ‘स्वदेशै स्वरोजगार भएर बस्ने मनभित्रकै इच्छा थियो,’ उनले भने, ‘त्यही भएर कृषि जेटिए पढेँ, विदेश जानका लागि निकै दबाब दिए पनि प्रवेशाज्ञा नै रद्द गरी च्याउ खेतीमा लागेँ ।’ रानाले वर्षमा रु २० लाखदेखि रु २७ लाखसम्मको च्याउ बिक्री गर्दै आएको बताए । सोबाट उनले च्याउ उत्पादन गर्दा लाग्ने खर्च कटाएर रु १० लाख जति रकम बचत गर्दै आएको बताए। च्याउ खेतीका लागि उनले रु ३० लाखभन्दा बढी लगानी गरेका छन् । उनी दैनिक बिहानदेखि साँझ अबेरसम्म च्याउ उत्पादनका लागि राखिएका परालका पोकामा पानी छर्कने, च्याउ टिप्ने र बजारसम्म लगेर बिक्री गर्ने कार्यमा व्यस्त छन् । च्याउ उत्पादनका लागि नगरपालिकाको कृषि शाखाबाट पाइएको रु १२ लाख अनुदान रकमबाट उनले उच्च प्रविधिको प्लास्टिक टनेल निर्माण गरेका छन् । प्लास्टिक टनेल र आफ्नै लगानीमा निर्माण गरिएका सात टनेलमा रानाले च्याउ उत्पादन गर्दै आएका छन् । हिउँदका बेला कन्या जातको, गर्मीका बेला मिल्की जातको र गर्मी तथा चिसो बीचको मौसममा पिङ्की जातको च्याउ रानाले उत्पादन गर्दै आएका छन् । ‘यस वर्षको साउनदेखि हालसम्म पिङ्की चार क्विन्टल र मिल्की च्याउ तीन क्विन्टल उत्पादन भएको छ,’ रानाले भने, ‘पिङ्की रु चार सय प्रतिकिलोका दरले बिक्री भयो, कन्या च्याउ ४० क्विन्टल बिक्री भइसकेको छ, जुन प्रतिकिलो रु एक सय ३० का दरले बिक्री भएको छ ।’ उनका अनुसार टनेलमा अझै ६० देखि एक सय क्विन्टल कन्या जातको च्याउ उत्पादन हुने क्रममा रहेको छ । स्थानीय बजारमै च्याउ खपत हुने भएकाले बेच्नका लागि रानालाई झन्झट भने छैन । कन्या च्याउ जस्तै पिङ्की र मिल्की च्याउको उत्पादन बढाउनका लागि कार्य अगाडि बढाइएको रानाले बताए । ‘दुवै जातका च्याउको बजारमा निकै माग छ, उत्पादन बढाउनका लागि लागेको छु,’ उनले भने, ‘उत्पादन गर्न मेहनत र लागत खर्च बढी लाग्ने भएकाले मूल्य बढी राखेका हौँ ।’ नगरपालिकाबाट पाइएको अनुदान रकमबाट रानाले उच्च प्रविधिको टनेलसँगै पाँच पराल काट्ने मेसिन, च्याउ सुकाउने ड्रायर मेसिन, दुई पानी छर्कने विद्युतीय मोटर जडित ‘फोगर सिस्टम’ खरिद गरेका छन् । ‘पहिला च्याउ उत्पादन गर्न बीउसहित राखिएका परालका पोकामा हातैले ट्याङ्कीबाट पानी छर्कने गरेका थियौँ,’ उनले भने, ‘एकजना मजदुर पानी छर्कनका लागि मात्रै राख्नुपर्ने अवस्था थियो, टनेलमा फोगर सिस्टम जडान गरिएपछि विद्युतको स्विच थिच्ने बित्तिकै स्वचालित रूपमा आफैँ पानी लहरै झुन्ड्याएका परालका पोकामा पुग्ने गर्दछ ।’ सो प्रणालीका कारण समय र मजदुरमा लाग्ने खर्च बचत भएको उनको भनाइ छ । रानालाई विदेश जान दबाब दिने परिवारका सदस्य र आफन्त च्याउ खेतीबाट गरेको कमाई देखेर दङ्ग छन् । परिवारका सदस्यले पनि च्याउ खेती गर्नमा रानालाई सहयोग गर्दै आएका छन् । भविष्यमा च्याउको बीउ उत्पादन गर्न उनले ‘ल्याब’ स्थापना गर्ने सोच पनि राखेका छन् । उनले हाल निजी स्तरबाट सञ्चालित ल्याबमा च्याउको बीउ उत्पादन गर्दै आएका छन् । उत्पादित बीउ आधा ल्याब सञ्चालकका लागि र आधा आफूलाई राख्ने गरी उत्पादन गर्दै आएको उनले बताए । आठजनाको परिवारको खर्च च्याउ खेतीले धानिएको रानाले सुनाए । नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐर राना नगरपालिका क्षेत्रमै च्याउ खेती गरेर बढी कमाई गर्ने किसानका रूपमा परिचित रहेको बताउँछन् । व्यावसायिक च्याउ खेतीमै लागेर कार्य गरेको देखेर प्रोत्साहित गर्नका लागि गत आवमा च्याउ पकेट कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराइएको उनी बताउँछन् । रानाले उत्पादन गरेको च्याउ स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको उनले बताए । व्यावसायिक च्याउ खेती गर्न इच्छुक किसानलाई नगरपालिकाबाट प्रत्येक वर्ष बीउ र प्रविधिमा सहयोग हुँदै आएको उनले जानकारी दिए । वडाध्यक्ष दानसिंह ऐर च्याउ खेतीमा लागेर रानाले गरेको प्रगति प्रशंसायोग्य रहेको बताउँछन् । ‘च्याउ खेतीबाटै रानाले आफ्नो परिचय मात्रै बनाउनुभएको छैन, वडालाई चिनाउनुभएको छ,’ उनले भने, ‘राना नगपालिकाकै गर्व गर्ने पात्रका रूपमा हुनुहुन्छ ।’