
काठमाडौं । गएको साता शुक्रबार रातिदेखि युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईलगायत प्रायः सबै सहरमा ठूलो परिमाणमा वर्षा भयो । शुक्रबार रातिदेखि पानीले सडक भरिँदा यातायात आवागमन प्रभावित मात्र बनेन, विमानस्थल धावनमार्गमा पनि पानी जमेर उडान–अवतरणमा कठिनाइ हुन पुग्यो ।
यूएईको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शुक्रबार रातिदेखि तीन दिन लगातार मौसम परिवर्तन भई पानी पर्ने, बादल लाग्ने र हावा चल्ने प्रक्षेपण गरेको थियो ।
दुबईमा मात्र ६ घण्टामा २ इन्च अर्थात् ५० मिलिमिटरसम्म पानी पर्यो । केन्द्रको पछिल्लो तथ्यांकअनुसार पूरै देशमा वर्षभरिमा औसत ४.५ इन्च अर्थात् १ सय २० मिलिमिटर पानी पर्छ । दुबईमा आखिर एक्कासि कसरी यस्तो वर्षा भयो त ? खासमा यो प्राकृतिक वर्षा थिएन, यो त ‘कृत्रिम वर्षा’ (क्लाउड सिडिङ) थियो । प्राकृतिक रूपमा हत्तपत्त पानी नपर्ने ठाउँमा यस्तो विधि प्रयोग गरिन्छ ।
क्लाउड सिडिङ प्रविधिमा बादलमा नुन हालेर पानी पर्ने अवस्था सिर्जना गरिन्छ । तर, यो अति नै महँगो प्रविधि हो ।
के नेपालमा पनि कृत्रिम वर्षा गराउन सकिने सम्भावना छ त ?
नेपालमा पनि कृत्रिम वर्षा गराउन संयन्त्रहरू धेरै हुनुपर्ने मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । उनका अनुसार कृत्रिम ठेट वर्षा ‘सिल्भर आयोडाइड’ भन्ने यौगिक हुन्छ, त्यसलाई बादलमाथि छरेपछि त्यहाँभित्र ‘आइस क्रिस्टल’ बनेर पानी पर्ने हो ।
‘सिल्भर आयोडाइड महँगो हुने भएकाले त्योभन्दा सस्तो सोडियम क्लोराइड (नुन) राखेर पनि वर्षा गराउने गरिन्छ,’ मानन्धरले विकासन्युजसँग भनिन्, ‘साइन्टिफिकल्ली चाहिँ सिल्भर आयोडाइड, पोटासियम क्लोराइड र सोडियम क्लोराइडको धुलोलाई विकसित हुन लागेको बादलमा माथि हवाईजहाजबाट छरेर आइस क्रिस्टल बनाएर पानी पार्ने विधि हो यो ।’
अहिलेसम्म नेपालमा भने यो विधि प्रयोग गरिएको छैन । यो विधि प्रयोग गरेर कृत्रिम वर्षा गराउन धेरै महँगो पर्न जाने मौसमविद् मानन्धरको भनाइ छ ।
‘यो हवाईजहाजबाट गर्नुपर्ने हुन्छ, हवाईजहाज पनि त्यस्तै प्रविधियुक्त चाहिन्छ,’ उनी भन्छिन्, ‘हवाईजहाज चालक पनि विज्ञ हुनुपर्यो, त्यसो हुनाले नेपाल गरिएको पनि छैन र अहिलेको अवस्थामा चाहिँ सम्भव पनि छैन ।’
धेरै गर्मी भएको, धेरै वर्षा चाहिएको, प्रदूषण बढी हुने ठाउँमा यस्तो विधि अपनाइने उनी बताउँछिन् । ‘नेपालमा पनि यो विधि अपनाउन असम्भव हुने भन्ने त होइन, तर त्यसैअनुसारको प्राविधिक र प्रविधि हुनुपर्छ,’ उनी भन्छिन्, ‘हवाईजहाज पनि त्यस्तै खालको चाहियो, हामीसँग आफ्नो व्यक्तिगत छैन, अनि कसरी र कुन लेभलमा बादलमा आइस क्रिस्टल छर्ने भन्ने प्रविधि पनि विकास भएको छैन, निकट भविष्यमा विकास हुने सम्भावना भने रहन्छ ।’
नेपालमा चार महिना मनसुनले पानी पर्छ । प्रि-मनसुन र पोस्ट मनसुनमा पनि पानी परिहाल्छ । खुक्खा र अनियमित वर्षा हुने ठाउँ हाम्रोमा नभएको उनी बताउँछिन् ।
‘यी विविध कारण नेपालमा कृत्रिम वर्षा गराइहाल्नुपर्ने अवस्था त नहोला,’ उनी भन्छिन्, ‘तर, केही गरी त्यस्तो स्पेसल केसमा त्यस्तो कुनै जलवायु परिवर्तनकै कारणले वर्षा नभएको अवस्थामा वा धेरै समय खडेरी परेको अवस्थामा गराउन भने सकिन्छ, तर नेपालमा सुरु भइसकेको छैन ।’
यो विधि निकै खर्चिलो हुने हुनाले नेपालमा अहिले नै सम्भावना नभएको उनी बताउँछिन् । अहिले नै यति खर्च लाग्छ भनेर भन्न नसकिने उनको भनाइ छ । ‘त्यस्तै हवाइजहाज किन्ने, भाडामा लिने, त्यसलाई चलाउने मान्छे गर्दा धेरै खर्च आउँछ नै,’ उनी भन्छिन्, ‘यी सबै खर्च महँगो पर्छ, यति नै पर्छ भन्न सकिँदैन ।’
गत वर्ष यूएईको सहयोगमा पाकिस्तानले पनि आफ्ना १० सहरमा कृत्रिम वर्षा गराएको थियो । नेपालले पनि खडेरी लागेको बेला यूएईसँगको चार दशक लामो कूटनीतिक सम्बन्धको उपयोग गर्दै यो प्रविधिको प्रयोग गरी कृत्रिम वर्षाको लाभ लिन सक्ने सम्भावना त छ तर अहिले नै त्यो सम्भव नभएको उनको भनाइ छ ।
बाढी, खडेरी, लु, तुफान, डढेलोजस्ता प्राकृतिक विपत्तिमा आकाशबाटै नियन्त्रण गर्ने विकल्प खोजीका रूपमा कृत्रिम वर्षाको चर्चा गरिन्छ ।
यो विधि खडेरीको समस्या भएका स्थानमा बढी मात्रामा प्रयोग गरिन्छ । सन् १९४० को दशकमा अमेरिकाबाट ‘क्लाउड सिडिङ’ विधि सुरु भएको मानिन्छ ।
के हो कृत्रिम वर्षा ?
वायुमण्डलमा प्राकृतिक रूपबाट बनेको बादलले आफैं वर्षा गराउँछ भने त्यसलाई प्राकृतिक वर्षा भनिन्छ । तर, कतिपय अवस्थामा बादल बने पनि त्यसभित्रको केही अपूर्ण प्रक्रियाका कारण यसले वर्षा गराउन सक्दैन ।
वर्षा भए पनि केवल बादलमै सीमित भइदिन्छ, जमिनसम्म पुग्न सक्दैन । यस्तोमा एउटा विशेष प्रविधिका माध्यमबाट बादलमा वर्षातको बीउ राखेर वर्षा गराइन्छ । जसलाई कृत्रिम वर्षा भन्ने गरिन्छ । यो प्रविधिलाई क्लाउड सिडिङ भनिन्छ ।
क्लाउड सिडिङ प्रविधि के हो ?
क्लाउड सिडिङको अर्थ बादलमा वर्षाको बीउ रोप्ने काम भन्ने हुन्छ । तर, सामान्य शब्दमा भन्ने हो भने बादलमा वर्षाको बीउ रोप्ने प्रक्रियालाई नै क्लाउड सिडिङ भनिन्छ ।
यसमा बीउका रूपमा सिल्भर आयोडाइड, पोटासियम क्लोराइड र सोडियम क्लोराइड जस्ता पदार्थ प्रयोग गरिन्छ । यी पदार्थलाई हवाईजहाज जस्ता साधनको सहयोगमा बादलमा छर्ने गरिन्छ । यी पदार्थले बादलमा रहेका पानीका थोपालाई बरफमा परिणत गरिदिन्छन् ।
त्यसपछि बरफका टुक्रा अन्य टुक्रासँग टाँसिन्छन् र बरफका गुच्छा बन्न पुग्छन्, अनि ती बरफका गुच्छा जमिनमा झर्छन् । यसकै चर्चा गर्ने हो भने लामो इतिहास छ ।
अमेरिकी वैज्ञानिक विन्सेन्ट जे शेफरले क्लाउड सिडिङ आविष्कार गरेका थिए । यसको सुरुवात खोज्दै जाँदा सन् १९४० को दशकसम्म पुग्नुपर्ने हुन्छ ।
खासगरी त्यस समयमा अमेरिकामा यसमाथि काम भएको थियो । तर, जहाँ कुनै पनि बादल हुँदैन, त्यहाँ क्लाउड सिडिङ सम्भव छैन ।
त्यसैले सबैभन्दा पहिला कृत्रिम वर्षा गराउन खोजिएको स्थानमा बादल छ कि छैन भनेर हेरिन्छ । यदि बादल छ भने कति उचाइमा छ र त्यस वरपरको वातावरणीय अवस्था के छ भन्नेमा पनि विचार गरिन्छ ।
त्यसपछि पूर्वानुमानको सहयोगमा वा मापन गरेर बादलमा कति पानी छ भन्ने पत्ता लगाइन्छ । त्यसपछि बादलमा उपयुक्त स्थानमा एक विशेष प्रकारको केमिकल (साल्ट वा साल्टको मिश्रण) राखिन्छ ।
उक्त केमिकलले बादलको माइक्रोफिजिकल प्रक्रिया (अर्थात् वर्षाका कण तथा बरफ) लाई तीव्र पारिदिन्छ । यसपछि वर्षाका रूपमा त्यो जमिनमा खस्छ ।
बादललाई इलेक्ट्रिक शक दिने एउटा अर्को विधि पनि छ । जसको प्रयोगबाट समेत वर्षा गराउन सकिन्छ । यो प्रक्रियामा ड्रोन प्रविधिको सहयोगमा बादलमा विद्युतीय झड्का दिइन्छ ।
कृत्रिम वर्षाको आवश्यकता
साधारणतया सुक्खा तथा बाढीको अवस्थासँग जुध्नका लागि कृत्रिम वर्षा गराइन्छ । यसबाहेक जंलमा भीषण आगलागी हुँदा, असहनीय गर्मी वा लु, तुफान तथा प्रदूषण कम गर्नका लागि पनि यसको प्रयोग गरिन्छ ।
इजरायलले नियमित रूपमा कृत्रिम वर्षा गराउँछ, किनकि त्यहाँ प्राकृतिक वर्षा निकै कम हुन्छ ।
सबैभन्दा पहिला कहिले प्रयोगमा आएको थियो ?
वर्तमान समयमा यस विधि प्रयोग कतिपय देशले गर्छन् । २०१७ मा संयुक्त राष्ट्र संघको मौसमसँग सम्बन्धित संगठनले ५० भन्दा बढी देशले हालसम्म क्लाउड सिडिङ गराइसकेको जनाएको थियो ।
जसमा अस्ट्रेलिया, जापान, इथियोपिया, जिम्बाम्बे, चीन, अमेरिका र रुस समेत छन् । यहाँसम्म कि भारतले समेत यसको प्रयोग गरेको छ ।
प्रदूषणको मार खेपिरहेकोे चीन यसको प्रयोग धेरै गर्छ । २००८ मा बेइजिङमा आयोजित ग्रिष्मकालीन ओलम्पिक खेलअघि चीनले पहिलो पटक क्लाउड सिडिङ प्रविधि प्रयोग गरेको थियो ।
त्यस्तै भारतले १९८४ मा यसको पहिलो पटक प्रयोग गरेको थियो । त्यतिखेर तमिलनाडुले भयंकर खडेरीको सामना गरिरहेका बेला तत्कालीन सरकारले १९८४–८७, १९९३–९४ को बीचमा क्लाउड सिडिङ प्रविधिको सहारा लिएको थियो ।
२००३ र २००४ मा कर्नाटक सरकारले पनि क्लाउड सिडिङ प्रयोग गरेको थियो । सोही वर्ष महाराष्ट्रमा पनि यसको प्रयोग गरिएको थियो ।
(विभिन्न एजेन्सीको सहयोगमा)