विकासन्युज

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना

काठमाडौं । नेपालको लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले टिभिएस बाईक तथा स्कुटरको खरिदमा ७००० सम्मको नगद छुट पाउन सक्नेछन् । यस्तै कम ईएमआइ सुविधा मात्र ३९९९ बाट सुरु हुने कम्पनीले जनाएको छ । यो योजना एनटोर्क, रेडर, अपाचे १६० २भी, अपाचे १६० ४भी, अपाचे २०० ४भी जस्ता टिभिएसका उत्पादनहरूमा लागू हुने कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो योजना गण्डकी, धौलागिरि र बागमती बाहेक अन्य स्थानहरूमा लागू हुने बताएको छ । यस योजनासँगै कम्पनीले मात्र ३९९९ बाट सुरु हुने सबैभन्दा कम ईएमआइ सुविधा हाइलाइट गर्दै नेपाल अधिराज्यभर लागु हुने गरि ‘सेलिब्रेसन अफर’ पनि सार्वजनिक गरेको छ ।

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ । तर अबोध बालकको डाक्टर बन्ने सपनाले आयुसका बाबु कृष्णको मनमा चिसो पस्यो । ‘आजकलका बच्चाको सपना नै डाक्टर, इन्जिनियर, पाइलट बन्ने हुँदो रहेछ । सन्तानको पवित्र सपना पैसाकै अभावमा पूरा गराउन नसक्नु हामी किसानको बाध्यता छ’, उनले भने । रोङ गाउँपालिकाले कुनै पनि बालबालिका रकम अभावमा उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनु नपरोस् भनेर यस वर्षदेखि ‘एक रुपैयाँ बचत’ अभियान धमाधम चलाइरहेको छ । ‘अभाव, गरिबी र कमजोर आर्थिक अवस्थाकै कारण हाम्रो गाउँपालिकाका कुनै पनि बालबालिका उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले ‘एक रुपैयाँ बचत’ कार्यक्रम सुरुआत गरेका हौँ’, गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले भने, ‘प्रत्येक बालबालिकाको बैंक खातामा गाउँपालिकाले हरेक दिन रु एक जम्मा गरिदिन्छ र उनीहरूलाई पनि आफैँ बचत गर्न लगाउँछ ।’ यो कार्यक्रमका लागि दैनिक एक रुपैयाँका दरले पालिकाको वार्षिक रु पाँच लाख ९४ हजार खर्च हुने उनले बताए । बालबालिकालाई दिनको न्यूनतम एक रुपैयाँ बचत गर्न लगाए पनि उनीहरूले मासिक छ हजारसम्म बचत गरिरहेको उनले जानकारी दिए । ‘हामीले हरेक दिन एक रुपैयाँ बचत गर्नुपर्छ भन्दा एक महिनामा ३० रुपैयाँ हुने हो । तर बालबालिकाले रु छ हजारसम्म बचत गरिरहेका छन् । यो कार्यक्रमले बालबालिकामा बचत गर्ने संस्कार सिकाएको छ’, अध्यक्ष स्याङबोले भने । माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनुचाहिँ बुद्धिमानी हुने ठानेर गाउँपालिकाले यो कार्यक्रम सुरुआत गरेको उनले बताए । ‘एक रुपैयाँ दिनु ठूलो कुरा होइन । यति जाबो पैसा दिने भन्ने कुरा पनि नआएका होइनन् । तर उहाँहरूलाई हामीले बचत गर्न सिकाएको मात्र हो’, स्याङबो भन्छन्, ‘म भोलि इन्जिनियर बन्नु छ, त्यसका लागि आजैबाट बचत गर्छु भनेर बालबालिका लागेका छन् । राज्यले सबै कुरामा दान, भत्ता दिएर हाम्रो सोचाइ बिग्रिसकेको छ । राज्यले बाटो देखाइदिनेमात्र हो । हामीले एक रुपैयाँबाट सुरु गर्‍यौँ यसले बालबालिकाको उच्च शिक्षा अध्ययनलाई ठूलो मद्दत पुग्छ ।’ क्षमता भएर पनि पैसा नहुँदा कैयन बालबालिकाले राम्रो विषयमा उच्च शिक्षा हासिल गर्न नसकेको दृष्टान्त नेपाली समाजमा प्रशस्तै रहेको उनको भनाइ छ । ‘रोङ गाउँपालिकाका विद्यार्थी अबको पाँच–दश वर्ष पछाडि पढाइ छाडेर कतार, मलेसिया जानुपर्ने बाध्यता सधैँका लागि अन्त्य हुन्छ भन्ने विश्वास छ’, उनले भने । यो कार्यक्रमले राज्यलाई पनि फाइदा पुग्ने भएकाले देशव्यापी रूपमा सुरुआत गर्न उनले आग्रह गरेका छन् । ‘तीन तहका सरकारले देशभरिका सबै बालबालिकाको खातामा एक रुपैयाँ हालिदिने र तिमीहरू पनि बचत गर भन्ने हो भने अबको पाँच वर्ष पछाडि राज्यले छात्रवृत्तिको नाममा बजेट छुटाउनै पर्दैन’, उनी भन्छन्, ‘आज एक रुपैयाँ बचतका लागि चाहिने कोषभन्दा पचासौँ गुणा बढी रकम त हामी छात्रवृत्तिका नाममा खर्च गरिरहेका छौँ । त्यति गर्दा सबैले पाएको अवस्था पनि छैन । पहुँचका भरमा पाउलान्, तर वास्तवमै गरिब किसानका छोराछोरीले छात्रवृत्ति पाएका छैनन् ।’ राज्यको सयौँ गुणा बढी खर्च पनि भइरहेको छ, लक्षित समुदायले लाभ लिन सकेका पनि छैनन् भने यो समानता र वितरण प्रणाली तीन तहका सरकारले कपि गर्नुपर्ने भन्दै उनले माग गरेका छन् । गाउँपालिकाले केही वर्षभित्रै छात्रवृत्ति वितरण रोक्ने बताएको छ । छात्रवृत्तिको सट्टा बचत अभियानलाई नै अझ प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाको सोच छ । ‘यो वर्ष रु २० लाखको छात्रवृत्ति बाँड्दै छौँ, गत वर्ष रु २० लाखभन्दा बढीकै छात्रवृत्ति वितरण गर्‍यौँ । अबको दुई–तीन वर्ष पछाडि हामी छात्रवृत्ति रोक्छौँ’, अध्यक्ष स्याङबोले भने । गाउँपालिकाको ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत सञ्चालित बचत कार्यक्रमबाट पालिकाभरिका ३० वटा विद्यालयका करिब दुई हजार पाँच सय विद्यार्थी लाभान्वित हुन्छन् । प्राइम कमर्सियल बैंकले हरेक विद्यार्थीको खातामा एक सय रुपैयाँ जम्मा गरिदिने सहमति छ । बैंकले प्रत्येक वर्ष वित्तीय साक्षरता र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पालिकासँग सम्झौता गरेको बताएको छ । विद्यालयमा आधारित उद्यमशीलताका लागि १४ शर्तमा बैंकसँग सम्झौता भएको गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमका लागि बैंकले रु दुई लाख ५० हजारभन्दा बढी सहयोग गर्ने गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए । रासस

बैंकहरूको नाफा १० प्रतिशत घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा बैंकहरूको खुद नाफा घटेको छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशत घटेको हो । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार पुस मसान्तसम्म बैंकहरूले २८ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा गरेका छन् । गत वर्षको पुसमा बैंकहरूले ३१ अर्ब ९४ करोड रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा यस वर्ष बैंकहरूको नाफा ९.९४ प्रतिशत अर्थात् ३ अर्ब १७ करोड रुपैयाँ घटेको हो । अर्थतन्त्र चलायमान हुन नसकेपछि रिकभरी नहुँदा दोस्रो त्रैमासको वित्तीय विवरण पनि खासै उत्साहजनक नआएको बैंकरहरू बताउँछन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश बैंकहरूको वित्तीय विवरण नकारात्मक रहेकाले सेयरधनीहरूलाई निराश बनाएको छ । पछिल्लो समय ब्याजदर निरन्तर घटिरहेको भए पनि कर्जा प्रवाह भने घटेकाले दोस्रो त्रैमासमा व्यवसाय विस्तार हुन नसकेको बैंकरहरूको भनाइ छ । साथै, अघिल्ला वर्षहरूमा जथाभाबी लगानी बिस्तार गरेकाले बैंकहरूको खराब कर्जाको अनुपात पनि बढेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) महेश शर्मा ढकाल तरलता प्रयाप्त भए पनि कर्जाको माग शून्य रहेको हुँदा वित्तीय विवरण उत्साहजन नआएको बताउँछन् । अर्थतन्त्र सुधारोन्मुख भए पनि अझै चलायमान नहुँदा रिकभरीमा समेत दबाब परेकाले दोस्रो क्वार्टर पनि चिन्ताजनक रहेको उनको भनाइ छ । खराब कर्जा बढेर प्रोभिजनिङ बढेका कारण नाफामा असर गरेको नबिल बैंकका नायव महाप्रबन्धक आदर्श बजगाईंले बताए । समीक्षा अवधिमा तीन वटा बैंकको मात्रै नाफा बढेको छ भने अन्य सबै बैंकको नाफा घटेको छ । हिमालयन बैंक, प्राइम बैंक र एभरेष्ट बैंकको नाफा गत वर्षको तुलनामा बढेको देखिन्छ । हिमालयन बैंकको ५७.५३ प्रतिशत बढेर १ अर्ब ५० करोड रुपैयाँ, प्राइम बैंकको ३२.१३ प्रतिशत बढेर २ अर्ब १८ करोड रुपैयाँ र एभरेष्ट बैंकको ७.८८ प्रतिशत बढेर १ अर्ब ७१ करोड रुपैयाँ नाफा गरेका छन् । यस अवधिमा बसैभन्दा धेरै नाफा नेपाल बैंकको घटेको छ । नेपाल बैंकको ४९.६० प्रतिशत घटेर ५९ करोड रुपैयाँ नाफा गरेको छ भने कृषि विकास बैंकको नाफा धनात्मक छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको १.६६ प्रतिशत घटेर १ अर्ब ५ करोड रुपैयाँ, सिद्धार्थ बैंकको २.१५ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नबिल बैंकको ६.२७ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ, सिटिजन्स बैंकको ६.५९ प्रतिशत घटेर ७८ करोड २७ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, सानिमा बैंकको ११.४१ प्रतिशत घटेर १ अर्ब १३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १३.६२ प्रतिशत घटेर १ अर्ब ८० करोड रुपैयाँ, कुमारी बैंकको १४.३१ प्रतिशत घटेर ८६ करोड ७२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकको २१.४६ प्रतिशत घटेर ८० करोड ५३ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २५.६८ प्रतिशत घटेर २ अर्ब १ करोड रुपैयाँ नाफा गरेका हुन् । यस्तै, ग्लोबल आइएमई बैंकको २६.५६ प्रतिशत घटेर २ अर्ब ४ करोड रुपैयाँ, एनएमबि बैंकको २७.६२ प्रतिशत घटेर १ अर्ब ३७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको २८.६२ प्रतिशत घटेर ८४ करोड ५ लाख रुपैयाँ, प्रभु बैंकको ३९.९६ प्रतिशत घटेर ७२ करोड ३ लाख रुपैयाँ, नआइसी एशिया बैंकको ४१.८३ प्रतिशत घटेर १ अर्ब ९० करोड रुपैयाँ नाफा गरेका हुन् ।

देशभरका १६ वटा पाँचतारे होटेलले गरे नवीकरण, डिलक्स पाँचतारे एउटा मात्रै

काठमाडौं । नेपालमा देशभरी सञ्चालनमा रहेका १६ वटा पाँचतारे होटलले नवीकरण गरेका छन् । पर्यटन विभागका अनुसार पुस २६ गतेसम्म एउटा पाँचतारे डिलक्स र १६ वटा पाँचतारे होटेलले विवरण अद्यावधिक गरेका छन् । पुस २६ गतेसम्म विवरण अद्यावधिक गरेर नवीकरण गरेका डिलक्स पाँचतारे होटेलहरुमा काठमाडौंका १०, बाँकेका २, झापाका २, कास्की, रुपन्देही र बारामा १/१ वटा पाँचतारे होटेल रहेका छन् । जसमध्ये झापाको भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि पाँचतारा डिलक्स होटेलको स्तरमा सञ्चालनमा रहेको विभागले जनाएको छ । नवीकरण भएका डिलक्स सहित १६ वटा पाँचतारे होटेलहरुमा दुई हजार तीन सय ४६ वटा कोठाहरु रहेका छन् । नेपालमा पछिल्लो समयमा पर्यटक आउने संख्यामा वृद्धि हुँदै गएको छ । सन् २०२३ मा विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा १० लाख भन्दा धेरै पर्यटक आएका थिए । पर्यटन क्षेत्रको सम्भावनालाई हेरेर दर्जनौ नयाँ पाँचतारे होटेलहरुको निर्माणमा पनि लगानीकर्ताहरुले लगानी गरिरहेका छन् । [pdf id=459205]

स्ट्याण्डर्ड चार्टर्ड बैंकको एनपीएल १.६ प्रतिशत पुग्यो, नाफासँगै ईपीएस पनि घट्यो

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १.५५ प्रतिशत घटेर १ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खराब कर्जा (एनपीएल) ०.८८ प्रतिशत बढेर १.६ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.७२ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ७.५४ प्रतिशत घटेर २ अर्ब ६३ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.४० प्रतिशत बढेर ७२ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी २.७७ प्रतिशत घटेर ३ अर्ब ६६ करोड रुपैयाँ, सञ्चालन नाफा १.५ प्रतिशत घटेर २ अर्ब ४७ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब १३ करोड रुपैयाँ रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड रुपैयाँ, जगेडा कोष ७ प्रतिशत घटेर ९ अर्ब ९५ करोड रुपैयाँ, निक्षेप संकलन १.५३ प्रतिशत घटेर १ खर्ब १५ अर्ब ७० करोड रुपैयाँ र कर्जा प्रवाह ०.२४ प्रतिशत घटेर ७७ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ०.५८ रुपैयाँ घटेर ३६.६२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १४.३६ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०५.५८ रुपैयाँ रहेको छ । बैंकको आधार दर ७.५६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.२१ प्रतिशत, कस्ट अफ फण्ड ५.५२ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत छ ।

सबैभन्दा बढी नाफा कमाउने बैंक बन्यो नबिल, एनपीएल घटायो, वितरणयोग्य नाफा १.८ अर्ब रुपैयाँ

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६.२८ प्रतिशत घटेर ३ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको खराब कर्जा (एनपीएल) ०.२६ प्रतिशत घटेर १.२ प्रतिशतमा झारेको छ । गत वर्षको सोही अवधिमा १.४६ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत बढेर ८ अर्ब २४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १५.७२ प्रतिशत बढेर १ अर्ब ४८ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.७५ प्रतिशत बढेर १० अर्ब ६ करोड रुपैयाँ, सञ्चालन नाफा ६.२८ प्रतिशत घटेर ४ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ८ करोड रुपैयाँ रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रुपैयाँ, जगेडा कोष ५.३५ प्रतिशत घटेर २८ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ८ प्रतिशत बढेर ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ र कर्जा प्रवाह ९.५९ प्रतिशत बढेर ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी १.५९ रुपैयाँ घटेर २३.६८ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०४.४४ रुपैयाँ रहेको छ । बैंकको आधार दर ९.०७ प्रतिशत, कर्जा निक्षेप अनुपात ८४.९५ प्रतिशत, कस्ट अफ फण्ड ७.२५ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ४ प्रतिशत छ ।

एनआईसी एशियाको नाफा १.३६ अर्ब घट्यो, कर्जा १२.२४ % बढाउँदा सीडी रेसियो ७७.१८ %

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ४१.८४ प्रतिशत अर्थात् १ अर्ब ३६ करोड रुपैयाँ घटेर १ अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा बढेको र ब्याज आम्दानी घटेका कारण नाफामा असर परेको देखिन्छ । बैंकको खराब कर्जा (एनपीएल) ०.५८ प्रतिशत बढेर १.१९ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.६१ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेर ५ अर्ब ५४ करोड रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी १६.३५ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.९६ प्रतिशत घटेर ७ अर्ब १२ करोड रुपैयाँ, सञ्चालन नाफा २४.१३ प्रतिशत घटेर ३ अर्ब ५६ करोड रुपैयाँ र वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २९ प्रतिशत बढेर १४ अर्ब ९१ करोड रुपैयाँ, जगेडा कोष १२ प्रतिशत घटेर १५ अर्ब ६७ करोड रुपैयाँ, निक्षेप संकलन २२.४५ प्रतिशत बढेर ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ र कर्जा प्रवाह १२.२४ प्रतिशत बढेर २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ३१.०९ रुपैयाँ घटेर २५.५२ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १९.९७ गुणा छ भने प्रतिसेयर नेटवर्थ २०५.१ रुपैयाँ रहेको छ । बैंकको आधार दर ९.६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७७.१८ प्रतिशत, कस्ट अफ फण्ड ७.५३ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत छ ।

साढे ४.५४ खर्ब निक्षेप रहेको ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब, अन्य सूचक यस्ता छन्

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा २६.५९ प्रतिशत घटेर २ अर्ब ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यस अवधिमा बैंकको खराब कर्जा (एनपीएल) १.७८ प्रतिशत बढेर ४.६८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा २.९२ प्रतिशत थियो । पुस मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३८ प्रतिशत बढेर ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५४ करोड ३० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । ६ महिनाको अवधिमा बैंकको नेट फि तथा कमिशन आम्दानी ४४.५४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ, कुल सञ्चालन आम्दानी ३९ प्रतिशत बढेर १० अर्ब ८६ करोड रुपैयाँ, सञ्चालन नाफा २५ प्रतिशत घटेर २ अर्ब ८४ करोड रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १ प्रतिशत बढेर ३६ अर्ब १२ करोड रुपैयाँ, जगेडा कोष १०.२९ प्रतिशत घटेर २० अर्ब ७३ करोड रुपैयाँ, निक्षेप संकलन ६.५५ प्रतिशत बढेर ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ र कर्जा प्रवाह ३ प्रतिशत बढेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी ६.७६ रुपैयाँ घटेर ११.३१ रुपैयाँमा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.१३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १५७.४ रुपैयाँ रहेको छ । बैंकको आधार दर ९.६ प्रतिशत, कर्जा निक्षेप अनुपात ८०.०४ प्रतिशत, कस्ट अफ फण्ड ७.७१ प्रतिशत र इन्ट्रेस्ट रेट स्प्रेड ३.९९ प्रतिशत छ ।