कम खर्चमा कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु
काठमाडौं । नेपालगञ्जबाट कैलाश मानसरोवरसम्मका लागि हिमाली उडान ‘माउण्टेन फ्लाइट’ सुरु भएको छ । विभिन्न पर्यटन व्यवसायसँग सम्बन्धित सङ्घसंस्थाको पहलमा दुई दिनअघि गर्ने भनिएको उडान सोमबार सम्भव भएको हो । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण ‘भिजीबिलीटी’ कमहुँदा गत शनिबार उडान भएको थिएन । पर्यटन व्यवसायी केशव न्यौपानेले भारतीय पर्यटकसहितको हिमाली उडानले नेपालगञ्जको खस्कँदो व्यवसायलाई राहत मिल्ने र पर्यटनको क्षेत्रमा चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “याममा भारतीय पर्यटकका लागि कम्तीमा एउटा उडान भयो भने पनि त्यसले पर्यटकीय चहलपहल बढाउन मद्दत पुग्छ ।” उडानबाट कैलाश मानसरोवर जाँदा त्यहाँको आर्कषक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको उनको भनाइ छ । पर्यटन व्यवसायी डा. ओम मिश्रले लामो समयको प्रयासपछि हिमाली उडान सुरु भएकामा खुसी व्यक्त गर्दै नेपालगञ्ज पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको बताए । उनले भने, “यहाँको पर्यटनमा कायापलट भएको छ र यो सहर पर्यटकीय सहरका रूपमा परिणत भएको छ ।” नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाटा), बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले उडानको सफलतासँगै आर्थिकरूपमा नेपालगञ्जको भविष्य जोडिएको बताए । उनले यहाँको पर्यटन प्रवर्द्धनका लागि कायापलट हुने उल्लेख गर्दै नेपालगञ्ज–पोखराको उडानलाई प्रभावकारी बनाउन आग्रह गरे । अर्का पर्यटन व्यवसायी विकास मिश्रले कैलाश मानसरोवरका लागि आफूले सकेजति योगदान गर्ने आश्वासन दिँदै कम खर्चमा मानसरोवर पुग्न पाएकामा भारतीय नागरिक खुसी भएका बताए । उनले भने, “कैलाश पर्वत घुम्नका लागि यो एउटा महत्त्वपूर्ण अवसर हो ।” होटल व्यवसायी पुनम भुसालले भन्नुभयो “यसले हाम्रो पर्यटन उद्योगलाई फस्टाउन सहयोग गर्ने छ । ” पहिलो दिन मानसरोवर गएर बसेर भोलिपल्ट कैलाशको दर्शन गर्न सकिने बताइएको छ ।
आजदेखि कार्यालयहरू ५ बजेसम्म खुल्ने, खाजा खाने समय ३० मिनेट
काठमाडौं । मङ्लबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो । सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।
वायुसेवा निगम प्रमुखलाई मन्त्री किरातीको प्रश्न – परिणाम नदिने हो भने नेतृत्वमा किन बस्ने ?
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले परिणाम दिनेगरी काम गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नेतृत्वलाई निर्देशन दिएका छन् । निगमको विद्यमान अवस्थालाई सुधारेर नतिजा निकाल्न निगम व्यवस्थापनलाई पटक–पटक निर्देशन दिइएपनि परिणाम नआएको जनाउँदै मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको ध्यानाकर्षण गराएका हुन् । सन् २०१२ बाट ‘ग्राउन्डेड ट्विनअटर’ जहान बनाउन पर्यटनमन्त्री किरातीले निर्देशन दिएको करिब ६ महिना भए पनि नतिजा आउन नसकेको जनाइएको छ । कानुनी प्रक्रिया पूरा भएको दुई महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्षले मन्त्री किरातीलाई आश्वासन दिएका थिए । मन्त्री किरातीको निर्देशनपछि वायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । सोही अनुसार मन्त्री किरातीले सञ्चारमाध्यममा हाल सञ्चालनमा रहेको दुई र नयाँ खरिद गरिने तीन जहाजसँगै ग्राउन्डेड जहाज बनाएर ६ थान जहाजबाट दुर्गममा सेवा दिने बताउँदै आएका थिए । तर, ग्राउन्डेड जहाज नबनेपछि आज पर्यटनमन्त्री किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको जहाज मर्मतस्थलमा अनुगमनका लागि पुगेका थिए । जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाएपछि कडारुपम प्रस्तुत हुनुभएको थियो । “जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो”, पर्यटनमन्त्री किरातीले भने, “जहाज कहिलेसम्म बनि सक्छ ? यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ?” मन्त्री किरातीले आफूलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेको र प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएको बताउँदै निगम नेतृत्वबाट परिणाम नदिने हो भने नेतृत्वमा किन बसिरहनुपर्ने भनी प्रश्न गरेका थिए । पर्यटनमन्त्रीका अनुसार निगम बोर्ड बैठकबाट करिब २० करोडसम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हालसम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेको उनको भनाइ छ । मन्त्री किरातीले प्रत्येक हप्ता आफू निरीक्षणमा आउने र कार्ययोजनाअनुसार काम गरेर प्रगति विवरण आफूलाई पेस गर्न निगमलाई निर्देशन दिए ।
आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदै
काठमाडौं । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रमका साथ आज देशभर विभिन्न कार्यक्रमका साथ शहीद दिवस मनाइँदैछ । इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाइने परम्परा छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि शहीदरूको योगदानको चर्चा गर्दै यही माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा दिवस मनाउने कार्यक्रम जारी छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीको सम्झनामा दिवस मनाउन थालिएको हो । देश र जनताका लागि प्राण आहुति दिनुहुने शहीदहरूको विशेष सम्झना गरिने दिनका रुपमा शहीद दिवसलाई लिइन्छ । प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए । यही माघ १६ गते शहीद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ । प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको सुनिन्छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । पछिल्लो समय स्पष्ट परिभाषा नगरी शहीद घोषणा गरिएको भनी जनस्तरबाट टिप्पणी हुने गरेको छ । यसैबीच नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ ।
१६.१८ % प्रतिफल प्रक्षेपण रहेको एनआईबिएल स्टेबल फण्डमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एनआईबिएल स्टेबल म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनआईएमबि एस क्यापिटलले माघ २ गतेदेखि बिक्री खुला गरेको एनआईबिएल स्टेबल फण्डमा लगानीकर्ताहरूले आज माघ १६ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटलले १२ वर्ष अवधि रहेको १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड बिक्री खुला गरेको हो । यो फण्ड एक बन्दमुखी योजना हो । जुन हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत हो । योजनाको अवधिभर यस योजनाले वार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरिएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको हो । कूल इकाईमध्ये १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल (साविक एनआईबिएल एस क्यापिटल) र १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेन्ट बैंक)लाई छुट्याई बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधरण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । क्यापिटलको फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाईदेखि अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन सक्ने छन् । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् आवेदन दिन सक्ने छन् ।
एनसेलमा ८ करोड लगानीबाट १ खर्ब नाफा, ६८ अर्ब लग्यो लाभांश
काठमाडौं । एनसेल खरिद-बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले एनसेलले ६८ करोड रुपैयाँ लाभांशबापत विदेश लगेको बताएको छ । छानविन समितिका संयोजक तथा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले हालसम्म आयाजिटाले एनसेलमा लगानी गरेबापत ६८ करोड रुपैयाँ लाभांश लगेको बताएका हुन् । समितिले सोमबार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई अध्ययन प्रतिवेदन बुझाउँदै एनसेलले नेपालबाट ६८ करोड लाभांश लगेको बताएका हुन् । विदेशीले गरेको ८ करोड र नेपालीले २ करोड गरेर कम्पनीमा कुल १० करोड लगानी भएको समितिको अध्ययनले देखाएको छ । एनसेलले हालसम्म १ खर्ब रुपैयाँ नाफा गरेको अनुसन्धानबाट खुलेको छ । उनका अनुसार एनसेलले हालसम्म सरकारलाई ३ खर्ब २ अर्ब रुपैयाँ राजश्व बुझाएको छ । विभिन्न अदालतले गरेको फैसला अनुसार एनसेलले अझै ८५ अर्ब रुपैयाँ बढी बक्यौता भुक्तान बाँकी रहेको छानविन समितिको निस्कर्श छ ।
एनसेलको सेयर खरिदबिक्री १४ पटक, विदेशमै कारोबार गरेर कर छलेको आशंका
काठमाडौं । एनसेलको सेयर खरिदबिक्री १४ पटक भएको अनुसन्धानबाट खुलेको छ । एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले हालसम्म एनसेलको खरिदबिक्री १४ वटक भएको अनुसन्धानबाट भेटाएको हो । छानविन समितिका संयोजक तथा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माले हालसम्म १४ पटक सेयर खरिदबिक्री भएको देखिए पनि पैसाको कारोबार भने विदेशमै भएको बताए । उनले त्यो कारोबार नेपाली बैंकिङ प्रणालीमा पनि नदेखिएकोले सरकारले यस विषयमा थप अनुसन्धान गरेर कम्पनीसँग थप कर असुल्ने बताए । यसअघि भएका विभिन्न १४ वटा खरिदबिक्री विदेशमै भएको देखिन्छ, त्यो पैसा नेपाली बैंकिङ प्रणालीमा पनि आएको छैन, यसमा कर छल्ने नियत देखिन्छ, सरकारले छानविन समिति नै गठन गरेर यस विषयमा अध्ययन गरेर थप कर असुल गर्नुपर्छ,’ शर्माले भने । उनका अनुसार एनसेलले हालसम्म सरकारलाई ३ खर्ब २ अर्ब रुपैयाँ राजश्व बुझाएको छ । हालसम्म ८ करोड विदेशी र २ करोड नेपाली गरी कुल १० करोड रुपैयाँ लगानीबाट कम्पनीले ६८ करोड रुपैयाँ बढी लाभांश विदेश लगेको छानविन समितिको अध्ययनले देखाएको छ । विभिन्न अदालतले गरेको फैसला अनुसार एनसेलले अझै ८५ अर्ब रुपैयाँ बढी बक्यौता भुक्तान गर्नु पर्ने छानविन समितिको निस्कर्श छ ।
एनसेलको सेयर खरिदबिक्री सम्झौता रद्द गर्न सुझाव, पुनः कर निर्धारण गरेर असुल गर्नुपर्ने
काठमाडौं । एनसेल खरिद–बिक्री प्रकरण छानबिन गर्नका गठित समितिले एनसेलको सेयर खरिदबिक्री स्वीकार गर्न सकिने अवस्था नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाउँदै एनसेलको खरिदबिक्री स्वीकार गर्न नहुने प्रतिवेदन पेश गरेको हो । पूर्वमहालेखापरीक्षक टंकमणि शर्माकाे संयोजकत्वमा बनेको समितिले दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक र उद्योग विभाग लगायत निकायसँग सहकार्य गरी तथ्यांक माग गरेर अनुसन्धान गर्दा एनसेलले कर छल्नका लागि सेयर बिक्री गरेको हुन सक्ने प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले यसअघि पनि एनसेलकाे सेयर १४ पटक खरिदबिक्री भएको र त्यो खरिदबिक्री नेपाल बाहिर भएको बताएको छ । त्यो खरिदबिक्री पनि नेपालको बैंकिङबाट नभएको देखिएकोले त्यसमा कर छल्ने नियत बुझ्न सकिने छानविन समितिका संयोजक शर्माको भनाइ छ । उनका अनुसार एनसेलले हालसम्म सरकारलाई ३ खर्ब २ अर्ब रुपैयाँ राजश्व बुझाएको छ । हालसम्म ८ करोड विदेशी र २ करोड नेपाली गरी कुल १० करोड रुपैयाँ लगानीबाट कम्पनीले ६८ करोड रुपैयाँ बढी लाभांश विदेश लगेको छानविन समितिको अध्ययनले देखाएको छ । विभिन्न अदालतले गरेको फैसला अनुसार एनसेलले अझै ८५ अर्ब रुपैयाँ बढी बक्यौता भुत्तलान गर्नुपर्ने छ । आकर्षक मुनाफा गरिरहेको अवस्थमा कम्पनीले नेपाल सरकारबाट काम गर्ने वातावरण भएन भन्नु तथ्यहीन भएको समितिको निस्कर्श छ । ‘सम्बन्धित निकायबाट पूर्व स्वीकृति नलिएको र खरिदकर्ताको क्षमता र व्यवसायिक पृष्ठभूमि बलियो नभएकोले सेयर खरिदबिक्रीको सम्झौतालाई स्वीकार गर्न सकिँदैन, यसको यथार्थता अध्ययन गरी नेपाल सरकारले आवश्यक निर्णय लिनु पर्ने देखिन्छ,’ संयोजक शर्माले भने । यसअघि पनि विभिन्न कम्पनीमार्फत् विदेशमा अपारदर्शी कारोबार भएकोले कम्पनीले कर छलेकाके हुन सक्ने अनुमान समितिको छ । यस विषयमा सरकारले थप अध्ययन समिति गठन गरेर काम गर्नु पर्ने सुझाव समितिको छ । यस विषयमा अध्ययन गरेर सम्बन्धित कम्पनीलाई थप कर निर्धारण गरेर असुल गराउनु पर्ने सुझाव समितिको छ । एनसेलको ८० प्रतिशत सेयर स्वामित्व खरिद-बिक्रीको विषयमा छानबिन गर्न सरकारले छानविन समिति गठन गरेको थियो । पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा संयोजकत्वमा सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव फणीन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । गत कात्तिकमा आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूके नामक कम्पनीलाई साढे ६ अर्ब रुपैयाँमा बिना अनुमति बिक्री गरेपछि यो विषयको अध्ययन गर्न सरकारले समिति गठन गरेको हो । यस्ताे छ छानविन समितिकाे निस्कर्श: १. नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८० मङ्सिर २१ गतेको निर्णयबाट एनसेलको अधिकांश शेयर खरिद विक्री भएको सम्बन्धमा अध्ययन तथा छानविन गरी ३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नको लागि पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको थियो। अध्ययन तथा छानविनको क्रममा पूर्वनिर्धारित समय अपुग भएकोमा मन्त्रिपरिषद्को मिति२०८० पुस २४ गतेको निर्णयबाट माघ १५ गतेसम्म समितिको म्याद थप भएकोमा थपिएको म्यादभित्रै सरकारले दिएको कार्यादेशबमोजिम समितिले अध्ययन तथा छानविनको कार्य सम्पन्न गरी तयार पारेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको। २. समितिले अध्ययन तथा छानविनको क्रममा नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, ठूला करदाता कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैङ्कबाट आवश्यक कागज, प्रमाण, शेयर खरिद विक्री सम्झौता प्राप्त गर्ने, विभिन्न टेलिकम कम्पनीहरूको वेबसाइटबाट आवश्यक विवरणहरू सङ्कलन गर्ने, सङ्घीय संसद्का विभिन्न समितिहरूबाट प्राप्त निर्देशनहरू अध्ययन गर्ने, विज्ञ विशेषज्ञहरूसँग छलफल गरी राय सुझाव लिने, स्थलगत निरीक्षण गर्ने र सम्बन्धित पक्षहरूलाई समितिमा नै उपस्थित गराएर र भर्चुअल माध्यमबाट समेत सोधपुछ गर्ने समेतका कार्यहरू गरी त्यसको अध्ययन तथा विश्लेषण गरिएको। ३. नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा (साविकको स्पाइस सेल प्रा.लि) वि.सं. २०५८ सालमा स्थापना भएदेखि यस कम्पनीको हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद बिक्री भएकोमा ती खरिद बिक्रीमा धेरैजसो कारोबारहरू नेपालबाहिर नै अफसोररूपमा भएको तर उक्त कारोबारहरूसँग सम्बन्धित लेनदेनका अभिलेख तथा विवरणहरू कम्पनीले नेपालका आधिकारिक निकायहरूमा पेश गरेको नदेखिएको। कतिपय नेपाली शेयरधनीहरूको कारोबारको भुक्तानी नेपालको बैंकिङ्ग प्रणालीबाट नभई देशबाहिर समेत भएको देखिएको। ४. एनसेलले हालसम्म १ करोड ३० लाखभन्दा बढी सिमकार्ड वितरण गरी मोवाइल सेवा प्रदान गरिरहेको र हालसम्म कर र गैरकर राजस्व गरी नेपाल सरकारलाई करिब ३ खर्ब २ अर्ब रूपैया बुझाएको देखिएको। ५. एनसेलले नेपालमा व्यवसाय शुरू गरेदेखि हालसम्म जम्मा ८ करोड रुपैयाँ विदेशी लगानी र २ करोड रुपैयाँ स्वदेशी लगानी गरेको तथा रू. १ खर्बभन्दा बढी नाफा कमाई विभिन्न शीर्षकमा ६८ अर्ब रुपैंयाभन्दा बढी रकम विदेश लगेको देखिएको। ६. एनसेल आजियाटाले नेपाल सरकार समेतलाई कर र गैरकर गरी तिर्नु, बुझाउनु पर्ने ८५ अर्ब रुपैंयाभन्दा बढी रकमको विषय विभिन्न तहका अड्डा, अदालतहरूमा मुद्दाकारूपमा विचाराधीन रहेको देखिएको। ७. एनसेलको मातृ कम्पनी आजियाटा बर्हाडले दूरसञ्चार सेवाको क्षेत्रमा लगानी गरेका नेपाल बाहेकका मुलुकहरूको तुलनामा नेपालमा बढी प्रतिशतले करपछिको मुनाफा आर्जन गरेको देखिएको हुँदा आकर्षक मुनाफा कमाइरहेको अवस्थामा आजियाटाले १ डिसेम्बर २०२३ मा जारी गरेको विज्ञप्तिमा नेपालमा व्यावसायिक वातावरण अनुकूल नभएको भनी लगाएको आरोप तथ्यहीन रहेको। ८. आजियाटाले International Center for Settlement of Investment Disputes (ICSID) Tribunal मा मध्यस्थको लागि दावी पेश गर्दा राज्य पक्षबाट वैधानिक अपेक्षा उल्लंघन गरेको आरोप लगाएकोमा सो Tribunal ले नेपालले वैधानिक अपेक्षा सिर्जना हुनेगरी कुनै कार्य गरेको प्रमाण आजियाटाले पेश गर्न सकेको नदेखिँदा वैधानिक अपेक्षाको उल्लङ्घन भएको नदेखिएको, स्वच्छ र समन्यायिक व्यवहार भएन भन्ने आजियाटाको दावी पनि स्थापित नभएको भनी निर्णय गरेको अवस्थामा उक्त कम्पनीले त्यस्तै प्रकृतिका आरोपहरू पुनस् दोहोर्याएर विज्ञप्ति प्रकाशन गर्नु तथ्यसंगत नदेखिएको। ९. आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूकेवीच १ डिसेम्बर २०२३ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौतामा उल्लिखित कारोबार समान व्यावसायिक व्यवहारको सिद्धान्त (Arm’s Length Principle) मा आधारित भएको नदेखिएको, विक्रीकर्ता पक्ष हावी भई खरिदकर्ता पक्षमा स्वभाविकभन्दा बढी शर्तहरू राखेको, शेयर विक्रीपश्चात वर्षौसम्म पनि विक्रेताले आफूले विक्री गरेको कम्पनीको लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने, कम्पनीको ऋण तथा दायित्वसमेत विक्रीकर्तामा नहुनेजस्ता शर्तहरू उल्लेख भएको देखिएकोले उक्त सम्झौता स्वतन्त्र ढङ्गले भएको स्वभाविक सम्झौता मान्न सकिने नदेखिएको। १०. वार्षिकरूपमा नै अर्बाै मुनाफा आर्जन गरिरहेको नेपालकै ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले विज्ञप्तिमार्फत सार्वजनिक गरेको शेयर कारोबारको व्यावसायिक मूल्य र सम्झौताका शर्तहरू स्वभाविक नदेखिएको, खरिदकर्ताको प्राविधिक सक्षमता र करोडौँ ग्राहक रहेको टेलिकम कम्पनी सञ्चालन गर्न आवश्यक वित्तीय क्षमतासमेत सबल नदेखिएको ।