हृदयघातबाट न्यायाधीश मरासेनीको निधन
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण निधन भएको छ । हृदयघात भएपछि अस्पताल पुराइएका मरासेनीको मंगलबार अस्पतालमै निधन भएको हो । उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो । हृदयघात पछि कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा निधन भएको हो । ५६ वर्षीय मरासेनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए ।
कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र, डुबानको समस्या र खानेपानीको अभाव
भक्तपुर । तीन वर्षमा सम्पन्न गरी जग्गाधनीलाई विकसित घरेडी फिर्ता गर्ने गरी सुरक्षित र सुविधा सम्पन्न आवासको परिकल्पना गर्दै मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार क्षेत्रमा सञ्चालन भएको ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ विगत २० वर्षदेखि अलपत्र परेको छ । तत्कालीन नगर विकास ऐन २०४५ तथा हालको उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार सञ्चालन भई जग्गा एकीकरण आयोजना तीन वर्षभित्र सम्पूर्ण आयोजना सम्पन्न गरेर जग्गा धनीलाई विकसित घरेडीसहितको जग्गा फिर्ता गर्ने शर्तमा नगर विकास प्राधिकरणले सुरु गरेको आयोजना विभिन्न कारण देखाएर ढिलाइ गर्दै पटकपटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ । अरनिको रामार्गबाट उत्तरतर्फ मध्यपुरथिमि नगरपालिका राधेराधेबाट पश्चिमतर्फ शङ्खधर चोकसम्म, उत्तरतर्फ निकोसेरा सानोठमी जाने सडकसम्म र पूर्वतर्फ राधेराधे चोकबाट निकोसेरा चोकको सडकसम्मको क्षेत्रलाई विकसित आवासीय घरेडीसहितको सुविधा सम्पन्न आवासीय क्षेत्र निर्माणम गर्ने उद्देश्यले उपत्यका विकास प्राधिकरणले आर्थिक वर्ष २०५८/५९ बाट आयोजनाको प्रारम्भिक काम सुरु गर्दै बृहत् गुरुयोजना निर्माण गरेको थियो । पटकपटकको विवादपछि २०५९ मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी मध्यपुरथिमिका पूर्वनगर प्रमुख मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति गठनपछि समस्या सुल्झाउँदै प्राधिकरणले २०६१ फागुन १७ गते राजपत्रमा सूचना प्रकाशन गरी एक हजार चार सय ८६ रोपनी जग्गामा एकीकरण गरी आयोजना विधिवत् रुपमा लागू गरेको थियो । आयोजना २०६५ असार मसान्तसम्ममा सम्पन्न गर्ने कार्य सम्पन्न गरी घरघरमा खानेपानी, सबै सडक कालोपत्र, हरियाली क्षेत्र, खेलकुद मैदान, पार्क, सामुदायिक भवनलगायत गुरुयोजना अनुसारको सम्पूर्ण पूर्वाधार निर्माण गरेर जग्गा फिर्ता दिने गरी सम्झौता भए पनि आयोजना सुरु भएको २० वर्ष नाघिसक्दा पनि आयोजना अझै सम्पन्न नभई अलपत्र परेको छ । ४५ प्रतिशतसम्म काटियो जग्गा आयोजनाले अरनिको राजमार्गसँग जोडिएको, पुरानो २० फिटको सडक, राजकुलो, बाटो नपुगेको जग्गा गरी विभिन्न भागमा जग्गाको वर्गिकरण गरी सात दशमलव पाँचदेखि ४५ प्रतिशतसम्म जग्गा काटेको छ । सुरुमा जग्गा कटौतीका विषयमा स्थानीय उपभोक्ता र आयोजनाबीच पटकपटक विवाद भए पनि आयोजनाले वैज्ञानिक पद्धतिमा नियमानुसार जग्गा कटौती गरेको दाबी गर्दै आएको छ । कटौती गरी आएको जग्गामा खुला चौर, पार्क, खेल मैदानका लागि छुट्याएर बाँकी जग्गा आयोजनाले पटकपटक बिक्री गर्दै आएको छ । आयोजनाले सुरुमा नेपाल टेलिकमलाई रोपनीको १८ लाखमा ४५ रुपैयाँ रोपनी जग्गा बिक्री गरेको थियो । त्यसपछि आनाको ६० लाख रुपैयाँसम्मको जग्गा पटकपटक बिक्री गर्दै आयोजनाको खर्च जुटाउँदै आएको छ । परियोजना अनुसार भएन काम आयोजनाभित्र खुल्ला चौर, हरियाली क्षेत्र, खेलकुद मैदान तथा सामुदायिक क्षेत्रसमेतको लागि जग्गा उपलब्ध हुनेछ भनी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा उल्लेख छ । डिपिआरमा हरियाली क्षेत्रलाई प्रथमपटक ५३ रोपनी छुट्याउने भनिए पनि त्यसलाई घटाएर दोस्रोपटक ४२ रोपनीमा कायम गरेको र अहिले फिल्डमा ३६ रोपनी मात्र राखिएको छ । उपभोक्ताहरुको हक र हित विपरीत समग्र आयोजनालाई नै प्रभावित पार्ने कार्य गरेको कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ बताउँछन् । आयोजनाले प्रत्येक सेक्टरमा हरियालीसहितको खुल्ला क्षेत्र राख्ने भनिए पनि खुल्ला क्षेत्रको व्यवस्था समेत त्यसअनुसार नगरिएको उनी बताउँछन् । वर्षामा डुबानको समस्या र खानेपानीको अभाव आवास ठूलो बनाउने तर ढल सानो हाल्दा यस क्षेत्र वर्षामा डुबानमा पर्न थालेको छ । सेक्टर नं १ सङ्गम कोलोनी क्षेत्रभित्र सडकमा ढल प्रयोजनका लागि सानो आकारको ह्युमपाइप प्रयोग गर्दा ढलले थेग्न नसकेर पानी बाहिर निस्कने गरेको स्थानीय एकराज भण्डारी बताउँछन्। आयोजनाको समेत व्यवस्थापनको जिम्मेवारी लिएको मध्यपुरथिमि नगरपालिको लापर्वाहीले गर्दा नगरपालिका, सडक डिभिजन कार्यालय भक्तपुरले निकोसेरा सडकमा वर्षामा हुने डुबान जोगाउन आयोजनाभन्दा बाहिर क्षेत्रमा रहेको बोडे, सिन्टिटार, निकोसेराको माथिल्लो क्षेत्र र नगरपालिका कार्यालय क्षेत्रका करिब एक हजारभन्दा बढी घरको ढलसमेत यही आयोजनाको ढलमा जोडिदिएपछि अहिले यो क्षेत्र डुबानमा पर्ने गरेको छ । ढल ह्युम पाइपले थेग्न नसक्दा ढलको मङ्गलमा राखिएको बिर्को फुटाएर ढलबाट निस्किएको भेलले सङ्गम कोलोनी क्षेत्र पूर्णरुपमा जलमग्न भई बस्तीमा रहेको घरको भुइँतला डुबानमा परेको, हिँड्डुल आवतजावत गर्न समेत कठिनाइ परेको, दुर्गन्ध फैलिने गरेको समाजका अध्यक्ष श्रेष्ठ बताउँछन् । आयोजना क्षेत्रभित्रको ११ मिटर, सात दशमलव पाँच मिटर र चार मिटर सडकहरुमध्ये केहीमा कालोपत्र र केहीमा ग्राइबेल गरेर अलपत्र छाडिएको छ । आयोजनाभित्रका २३ किलोमिटर फुटपाथसहितको सडक करिब ६० करोडको लागतमा कालोपत्र गर्ने गरी २०७७ सालमै श्रेष्ठ नागार्जुन मुडभरी एण्ड जोशी जेभीसँग आयोजनाले ठेक्का सम्झौता गरे पनि करिब दुई किलोमिटर सडक कालोपत्र गरेर अरु सडक अलपत्र पारेको छ । तीन वर्षदेखि ठेकेदार बेपत्ता हुँदा आयोजना र नगरपालिकाले कारबाही गर्ने वा काम पुनः सञ्चालन गराउन सकेको छैन । आयोजनाभित्र खानेपानीको व्यवस्था नहुँदा यहाँका करिब सात सय घरधुरीले पानी किनेरै जीवन धान्नु परेको छ । घरघरमा जुमिनमुनिको पानी निकाले पनि पानीमा अत्यधिक पहेँलो भएका कारण किनेरै खानु परेको स्थानीयवासी एवं सङ्गमेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको अध्यक्ष मोहनवरसिंह प्रधानले बताए । आयोजनाले अधिकांशको घरघरमा खानेपानीको धारोको पाइप पु¥याएर छाडिदिएको छ । पानी नआउने भएकाले धारा जडान गर्न सकेको छैन । मेलम्चीको पानी वितरण गर्ने भनेर केयुकेएलसँग आयोजनाले समन्वय गरेर करिब २० घरमा धारा जडान गरिए पनि पानी नआउने भएपछि लाइन काटिएको उनले बताए । मुद्दा खेप्दै उपभोक्ता यहाँका पीडित उपभोक्ताले आयोजनासँग वर्षौंदेखि मुद्दा खेप्दै आएका छन् । आयोजना सुरु हुनुपूर्व बनेका घरहरुको हकमा समेत आयोजनाले नयाँ नियम लागू गरेर जथाभावी जग्गा काट्ने वा नयाँ मूल्यअनुसार अतिरिक्त रकम तिर्नु पर्ने नियम लगाएपछि यहाँका पीडित उपभोक्ताहरुले वर्षौंदेखि मुद्दा खेप्दै आउनु परेको पीडित परशुराम कार्की बताउँछन् । आयोजना लागू हुनुपूर्व बनेका घरहरुको हकमा आयोजनाको २०६८ साल जेठ २० गतेको २३औँ बैठकको निर्णय नं ४ को अनुसूचीमा रहेको थप जग्गाको मूल्य निर्धारण गरेपछि त्यसविरुद्घमा २०६१ सालको मालपोत कार्यालय भक्तपुरको सरकारी दररेट मात्र उपभोक्ताको हकमा आकर्षण हुनुपर्ने माग गरेको उनले बताए । सोही माग राखेर गर्दै २०६८ साल साउन १९ गते सर्वोच्च अदालतमा आयोजनाविरुद्घ स्थानीय ६३ जनाले रिट निवेदन दर्ता गरिएकामा सात वर्षपछि २०७५ माघ २१ गतेको संयुक्त इजलासबाट आयोजनाले गरेकै निर्णय सदर गर्ने गरी गरेको फैसलासमेत आयोजना आफैँले अटेर गरी उपभोक्तालाई मुद्दामाथि मुद्दा लगाएको कार्कीले बताए । सर्वोच्च अदालतको फैसलालाई स्वीकार्दै फैसलाबमोजिम आयोजनालाई बुझाउनुपर्ने योगदानबापतको रकम बैङ्क दाखिला गर्न जाँदा आयोजनाले रकम नबुझी जग्गाको मूल्य बढेकाले पुनः थप अतिरिक्त शुल्क पाउनुपर्ने भन्दै आफ्नै पक्षमा भएको फैसला समेत अटेर गरी पुनरावलोकनका लागि रिट दायर गरेको पाँच वर्ष बित्दा पनि सर्वोच्चबाट अन्तिम फैसला अझै आउन सकेको छैन । आयोजना लागू हुनुपूर्व बनेको झन्डै ७० वटा घरको अझै नक्सा पास नगर्दा उपभोक्ता थप पीडामा रहेको कार्की बताउँछन् । पीडित उपभोक्ता आन्दोलित कमेरोटार जग्गा एकीकरण आयोजना २० वर्ष बित्दा पनि सम्पन्न नगरी अलपत्र पारेर जग्गाधनीहरुलाई पीडित बनाएको भन्दै कमेरोटार नगर विकास संयोजन समाजका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ नेतृत्व पीडित उपभोक्ताहरुले उपभोक्ता समिति खारेज गर्नुपर्ने, आयोजना छिटो सम्पन्न गर्नुपर्ने, आयोजना नगरपालिकालाई पूर्ण स्वामित्व दिनुपर्ने र नगरपालिकाले संरचना निर्माणका लागि लगानी गर्नुपर्ने माग राख्दै एक महिनादेखि आन्दोलित भएका छन् । समाजका अध्यक्ष श्रेष्ठले २०५९ साल मङ्सिर १ गते उपभोक्ताको हितमा काम गर्ने गरी पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठको अध्यक्षतामा गठन भएको कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति एकपटक पनि पुनर्गठन नगरी कायम भइरहेको भन्दै खारेजीको माग गरेको छ । उपभोक्ता समिति नै जग्गाधनीको पक्षमा काम नगरेको, आयोजनाको बैठक भत्ता र अतिरिक्त सुविधामा लाभिएर आयोजना लम्ब्याउन सहयोग गरेको, उपभोक्ताकै विरुद्धमा लागेको, यही उपभोक्ता समितिमा जग्गाधनी रहनुपर्नेमा राजनीतिक दलका भागबन्डा बनाएर राखिएको, जग्गाधनीलाई समितिबाट बाहिर राखिएको, २० वर्षदेखि अरबौँको जग्गा बिक्री गरेर कुनै पनि हिसाब नराखेको, आयोजनाको वर्षौंदेखि अडिट नगरेको, करोडौँ रुपैयाँ बैठक भत्तामै सकेको भन्दै उनले जनताको जग्गा बिक्री गरेर ब्रह्मलुट मच्चाएको समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । नगर विकास प्राधिकरण, आयोजना र उपभोक्ता समितिको मिलेमतोमा जनताको जग्गा बिक्री गरी हिसाबसमेत पारदर्शीरुपमा नराखी आयोजनालाई केही व्यक्तिले भ्रष्टाचारको अखडा बनाएर आयोजना सम्पन्न गर्न नचाहेको समितिका अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार मध्यपुरथिमि नगरपालिकाका प्रमुख सरेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाएर सुरु भएको अभियानमा, सहरी विकास मन्त्रालय, उपत्यका विकास प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति, सांसद दुर्लभ थापालगायत विभिन्न राजनीतिक दल र सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाइसकेको उनले बताए । आयोजनाभित्र अनेकौँ बेथिति रहेको भन्दै समाजका सचिव ज्ञानेन्द्रकुमार कार्कीले अख्तियारले आयोजना सुरु भएदेखि अहिलेसम्मका सबै फाइल कब्जा गरेर अनुसन्धान गरी भ्रष्टाचारलाई बाहिर ल्याउनुपर्ने बताए । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उपभोक्ता समिति खारेज गर्ने अधिकार नगरपालिकासँग नभएको र प्राधिकरणले यसलाई सुल्झाउनुपर्ने बताउँछन् । उनले प्राधिकरणले नगरपालिकालाई सम्पूर्ण स्वामित्व दिँदै आयोजना हस्तान्तरण गरे दुई वर्षभित्र आयोजना सम्पन्न गर्ने बताउँछन् । सडक कालोपत्र गर्न ठेक्का लागेका ठेकेदारले पहिलो किस्ता रकम लिएर काम नगरेको भन्दै अन्तिम छलफल चलिरहेको काम नगरे ठेक्का रद्ध गर्ने बताए । खानेपानीका लागि आयोजनाले १४ लाख लिटर क्षमताको ट्याङ्की निर्माण सम्पन्न भएको, ट्याङ्कीमाथि पार्क निर्माण गर्ने तयारी गरेको, हरियालीसहितको खुल्ला क्षेत्र र खेलकुद मैदान निर्माणको चरणमा रहेको बताए । आयोजना उपभोक्ता समितिका अध्यक्ष मदनकृष्ण श्रेष्ठले माघ १६ पछि सडक कालोपत्र सुरु गर्ने सहमति ठेक्का सम्झौता भएको कम्पनीसँग गरेको बताउँदै उपभोक्ता समिति खारेजको माग राखेर आन्दोलन गर्नु गलत भएको बताए । विभिन्न कारणले आयोजना ढिलाइ भएको स्वीकार्दै उनले आयोजनाबाट कुनै गैरकानुनी सुविधा कसैले नलिएको दाबी गरे । उनले आयोजनाको बस्ती डुबानमा पर्ने गरी बोडे, सिन्टिटार, नगदेशको ढल आयोजनाभित्र हालेर नगरपालिका र सडक डिभिजन कार्यालयले गल्ती गरेको भन्दै तत्काल यसलाई सुधार्नुपर्ने बताए । रासस
तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लाग्यो
काठमाडौं । आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो लगाएको सचिवालय सहसचिव एवम् लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । लगानी सम्मेलन आयोजना गर्नका लागि सरकारले अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति, मुख्य सचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक समिति रहेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा लगानी सम्मेलन सचिवालय रहेको छ । लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत आर्थिक तथा पूर्वाधार क्षेत्र हेर्ने सचिवको संयोजकत्वमा गठित मौजुदा नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । सम्मेलनका लागि पूर्व तयारीका काम भइरहेका छन् । लगानी बोर्डको कार्यालयले गत शुक्रबार नेपालमा लगानी सम्भाव्यता पहिचान र आर्थिक विकासका लागि समन्वयात्मक रणनीति शीर्षकमा कार्यशाला आयोजना गरेको थियो । रासस
पृथ्वी पाँडे, कैलाश सिरोहिया, प्रदिपजङ्ग पाण्डे र सुमित अग्रवाल बने व्यावसायिक साझेदार
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा हाइप्रोफाइल व्यवसायीको लगानी देखिएको छ । कम्पनीमा विभिन्न उद्योगी व्यवसायी, बैंकर तथा सञ्चार माध्यम उद्यमीको पनि लगानी देखिएको हो । कम्पनीमा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षदेखि वित्तीय संस्था र बीमा कम्पनीको नेतृत्व गरिरहेका व्यक्तिको पनि लगानी देखिएको छ । कम्पनीमा कान्तिपुर पब्लिकेशन प्रालि र सुमित कुमार अग्रवाल सबैभन्दा ठूला सेयरधनी हुन् । यी दुई लगानीकर्ताको समान लगानी रहेको छ । कान्तिपुर पब्लिकेशनको ७.४३ प्रतिशत अर्थात् १९ लाख ५० हजार कित्ता र सुमित कुमार अग्रवालको ७.४३ प्रतिशत अर्थात् १९ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । यस्तै, उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष समेत रहेका कम्पनीका सञ्चालक समितिका अध्यक्ष प्रदीप जङ्ग पाण्डेको ५.२४ प्रतिशत अर्थात् १३ लाख ७५ हजार कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, विकास जे.बि. राणाको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता, सुष्मा राणाको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता, यति वल्र्ड इन्भेष्टमेन्ट प्रालिको ५.१४ प्रतिशत अर्थात् १३ लाख ५० हजार कित्ता सेयर स्वामित्व छ । यस्तै, एयर डाइनेस्टी हेली सर्भिसेज प्रालिको ३.०६ प्रतिशत अर्थात् ८ लाख २ हजार कित्ता, ज्योति प्रकाश पाण्डेको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, ललित अग्रवालको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, उर्मिला पाण्डेको २.२९ प्रतिशत अर्थात् ६ लाख कित्ता, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत अर्थात् ५ दाख २५ हजार कित्ता सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ । यस्तै, राम अग्रवालको १.८९ प्रतिशत अर्थात् ४ लाख ९५ हजार कित्ता, गुडविल फाइनान्सको १.७१ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता, प्रिमियर वायर प्रालिको १.७१ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता, अनुजा लक्ष्मी धितालको १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता, क्याबिनेट श्रेष्ठको १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता, सुजन बैद्य (श्रेष्ठ)को १.३७ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्त सेयर स्वामित्व रहेको छ । यस्तै, सन्दिप पाख्रिन लामाको १.२९ प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, सौगात पाख्रिन लामाको १.२९ प्रतिशत अर्थात् ३ लाख ३७ हजार ५ सय कित्ता, पृथ्वि बहादुर पाँडेको १.२३ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता, शिखर इन्स्योरेन्सको १.२३ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता र हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडको १.१४ प्रतिशत अर्थात् ३ लाख कित्ता सेयर स्वामित्व रहेको कम्पनीको भनाइ छ ।
आर्थिक मन्दीले चितवनमा एक सय ४० उद्योग बन्द
चितवन । घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन् । कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो । कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन् । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्महरु दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए । सोही समयमा व्यावसायिक फर्महरु एक सय ८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिए । व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन् । गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो । यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९/८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए । उनका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरुले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनले बताए । उनले भने, ‘पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरु पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।’ आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनले बताए । कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको सङ्ख्या बढेको खनालले जानकारी दिए । चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरुषका नाममा एक सय ११ वटा दर्ता भएका छन् । रासस
नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई लक्षित गरी रेमिट्यान्स रकम भुक्तानी प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता, नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार दे, प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, प्रमूख प्रविधि अधिकृत सूनन्द मलहोत्रा, प्रमूख व्यवसाय प्रवर्धन अधिकृत रितेश अर्यालका साथै इसेवाका इनोभेसन एण्ड अपरेशन म्यानेजर सूमित भण्डारीको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा तथा इसेवा मनि ट्रान्सफरका प्रमूख कार्यकारी अधिकृत अजेश कोइरालाको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको छ । सर्वसाधारण ग्राहकहरुले नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखाहरु र इसेवाका विभिन्न एजेन्टहरु मार्फत भुक्तानी सेवा प्राप्त गर्न सक्नेछन् ।
स्वरोजगार लघुवित्तको लाभांश घोषणा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । माघ १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ७.३६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले बोनस ७ प्रतिशत र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।
३ खर्ब डलरको ऋणी चीनकै ठूलो घरजग्गा कम्पनी एभरग्रान्ड बन्द गर्न अदालतको आदेश
काठमाडौं । कोरोना भाइरस महामारीपछि चीनको अर्थतन्त्रमा आएको मन्दी अन्त्य हुनुको सट्टा बढ्दै गएको छ । विशेषगरी चीनको रियल इस्टेट क्षेत्रले धेरै नै कठिनाइ सामना गर्नुपरेको छ । चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनी अब बन्द हुने अवस्थामा छ । उक्त कम्पनीलाई बिक्री गर्न आदेश दिइएको छ । चीनको रियल इस्टेट संकट यति गम्भीर बन्दै गएको छ कि यसले सबैभन्दा ठूलो घरजग्गा कम्पनी एभरग्रान्डलाई घेरेको छ । एजेन्सी हङकङको अदालतले एभरग्रान्डलाई खारेज गर्न आदेश दिएको हो । अदालतको आदेशपछि एभरग्रान्ड र यसका सूचीकृत सहायक कम्पनीको सेयर कारोबारमा प्रतिबन्ध लगाइएको छ । रोयटर्सका अनुसार चीनको घरजग्गा कम्पनी एभरग्रान्ड विश्वको सबैभन्दा धेरै ऋण बोकेको घरजग्गा कम्पनी हो । जसको ३ खर्ब अमेरिकी डलरभन्दा बढी ऋण छ । ऋण तिर्न नसकेपछि कम्पनीले कानुनी प्रक्रियाका लागि आवेदन दिएको थियो । अब हङकङको एक अदालतले ऋणमा डुबेको घरजग्गा कम्पनी एभरग्रान्डलाई बन्द गर्न आदेश दिएको छ । एभरग्रान्डको दुई वर्षअघि नै नगद सकिएको थियो । कम्पनीले सन् २०२१ मा नै डिफल्ट घोषणा गरेपछि अब बन्द गर्न निर्देशन दिइएको हो । अदालतले कम्पनीको सम्पत्ति बेचेर ऋण असुल गर्न आदेश दिएको छ । भारी ऋणको बोझले दबिएको कम्पनीलाई ऋण तिर्नका लागि फुल प्रुफ योजना पेस गर्न भनिएको थियो तर कम्पनीले १८ महिनामा कुनै समाधान दिन नसकेपछि अब कम्पनीको सम्पत्ति बेचेर ३ खर्ब डलर असुली गर्ने आदेश दिइएको छ । एजेन्सी