विकासन्युज

भिजिट भिसा प्रकरण : ४ जनालाई थुनामा पठाउने आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले आज अधिकृत नरवीर खड्का, अरुण दाहाल, सरोजकुमार यादव र मनोज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उक्त प्रकरणमा अन्य ६ जनासँग अदालतले धरौटी माग गरेको छ । उक्त प्रकरणमा पक्राउ परेकी गीता शाहसँग ५ लाख रुपैयाँ, पदम लामासँग १ लाख रुपैयाँ, विनोद कार्कीसँग २ लाख रुपैयाँ तथा दिनेश ज्ञवाली र रामप्रसाद भण्डारीसँग ७/७ लाख रुपैयाँ र रविन अर्यालसँग १ लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ । भिजिट भिसामा युवालाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध यही माघ १८ गते सरकारी कागजात किर्ते गरी सङ्गठित अपराध गरेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले फरार रहेका १२ जनासहित २२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अध्यागमन अधिकृत खड्कालाई गत मङ्सिर १८ गते सरकारी कागजात कीर्ते गरी नेपाली नागरिकलाई भिजिट भिसामार्फत विदेश पठाउने गिरोहमा सक्रिय रहेको आरोपमा पक्राउ गरिएको थियो । –––

देव नेपालीसँग १४ वटा घर, ३० ठाउँमा जग्गा (सूचीसहित)

काठमाडौं । बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीसँग १४ वटा कर र ३० ठाउँमा जग्गा रहेको खुलेको छ । उनले आफ्नो फेसबुकबाट एउटा विज्ञप्ति जारी गर्दै आफूसँग भएको घरजग्गा सार्वजनिक थरेका हुन् । उनले उनले बचतकर्ताको बचतबाट सम्पत्ति जोडपनि अहिले सो रकम तिर्नका लागि नगद नभएको पनि बताएका छन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना व्यक्त गरेका हुन् । ‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका सेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहबाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं, यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भनेका छन् ।

‘४६ ठाउँमा घरजग्गा छ, बचतकर्ताको पैसा तिर्न नगद छैन’

काठमाडौं । बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकम तिर्नका लागि आफूसँग नगद नभएको बताएका छन् । उनले बचतकर्ताको बचतबाट सम्पत्ति जोडपनि अहिले सो रकम तिर्नका लागि नगद नभएको बताएका हुन् । मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना व्यक्त गरेका हुन् । ‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका सेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहबाटसमेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं, यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं,’ उनले भनेका छन् । घरजग्गाहरु बिक्री वितरण गरेर प्राप्त हुने रकमबाट बैंकहरुबाट लिएको ऋण भुक्तान गरी सदस्य बचतकर्ताहरुको बचत फिर्तां गर्ने कुरामा साथ दिन पनि उनले अपील गरेका छन् । उनले आफू र आफ्नो परिवारको नामा ४६ ठाउँमा जग्गा रहेको पनि बताएका छन् ।  

बीमा सम्बन्धी तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश गर्न जोड

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले बीमा सम्बन्धी तथ्याङ्कलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आयोजित ‘बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । उनले सबै सरकारी निकायहरूको तथ्याङ्कमा एकरूपता आउनु आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय तथ्याङ्क प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्कलाई पनि समावेश गर्न र नेपाल बीमा प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । साथै, उनले अन्तर्राष्ट्रिय मान्यता र राष्ट्रिय क्षमताका आधारमा तथ्याङ्क तयार गर्ने गरिएको समेत जानकारी दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको विकास र यस सम्बन्धी रणनीतिको परिमार्जनका लागि बीमा सम्बन्धी तथ्याङ्कको विश्लेषण आवश्यक भएको बताए । उनले नागरिकलाई गरीबीको दुष्चक्रबाट मुक्त गराउने माध्यम बीमा हुनसक्ने उल्लेख गर्दै हरेक क्षेत्रका राष्ट्रिय नीतिमा बीमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए । साथै, उनले बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, विश्लेषण, शुद्धता र एकरूपताका लागि सम्बद्ध सबै निकायहरूसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए । अध्यक्ष सिलवालले राष्ट्रिय तथ्याङ्क लगायत अन्य निकायबाट सङ्कलन हुने तथ्याङ्कलाई एकीकृत गरी आदान प्रदान गर्ने संयन्त्रको आवश्यकता औंल्याउँदै यसबाट सरकार र प्राधिकरणको नीति निर्माण, कार्ययोजना तर्जूमा र निर्णय तहमा प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे । त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिवराज अधिकारीले यसै वर्ष परिमार्जन गरिने विश्वविद्यालयको पाठ्यक्रममा बीमालाई अझै विस्तृत रूपमा समावेश गर्ने जानकारी दिए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा सम्बन्धी तथ्याङ्कको सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझ व्यवस्थित गर्नका लागि प्राधिकरणलाई सम्वद्ध निकायहरूको साथ र सहयोग आवश्यक रहेको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले बीमा तथ्याङ्क तथा सार्वजनिक निकाय सम्बन्धी प्रस्तुती गर्नुहुँदै राष्ट्रिय जनगणना गर्दा बीमा सम्बन्धी प्रश्नावली पनि समावेश गर्नुपर्ने र राष्ट्रिय तथ्याङ्क प्रणाली तथा राष्ट्रिय लेखा प्रणालीमा बीमा सम्बन्धी तथ्याङ्क पनि समावेश हुनुपर्ने आवश्यकता औंल्याए । प्राधिकरणले बीमा सम्बन्धी तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन र प्रसारण प्रक्रियालाई अझै व्यवस्थित गर्नका लागि सम्बद्ध सरकारी निकायहरूसँग समन्वयात्मक रूपले अगाडि बढ्ने सन्दर्भमा राय सुझावहरू लिने उद्देश्यले मंगलबार उक्त कार्यक्रम आयोजना गरेको हो ।

समितिबाट पारित भयो अनुगमन तथा मूल्याङ्कनसम्बन्धी विधेयक

काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जनसहित सर्वसम्मतले पारित भएको छ । समितिको मंगलबारको २२औं बैठकमा सभापति रामहरि खतिवडाले राष्ट्रियसभामा दर्ता भएको उक्त विधेयक परिमार्जनसहित समितिले सर्वसम्मतिले पारित भएको बताए । विधेयक पारित भइसकेपछि विकास नीति तथा योजना कार्यान्वयनका क्रममा आयोजना प्रमुख, ठेकेदार कम्पनी, सरकार, मन्त्री, कार्यालय प्रमुखलगायत सबै जिम्मेवार व्यक्ति र निकायमा अनुगमन गरी अनियमितता गर्नेलाई सही मार्गमा डोर्याउन सहजता गराउने बताए । सभापति खतिवडाले संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्याउने छलफल अन्तिम चरणमा पुगेको जानकारी दिए । सभापति खतिवडाले बुधबार सदनमा पेस गर्ने कार्यतालिका रहेकामा तर दलका शीर्ष नेताले बोल्ने कार्यक्रम रहेकाले स्थगन भएको बताए । विकास नीति तथा योजनाको कार्यान्वयनमा उत्तरदायित्व र जवाफदेहिता प्रवद्र्धन गरी लागत प्रभावकारिता अभिवृद्धि गर्न विकास नीति, योजनाको अनुगमन तथा मूल्याङ्कनलाई तथ्यपरक, विश्वसनीय, गुणस्तरीय, व्यवस्थित, नतिजामुखी र प्रभावकारी बनाउने सम्बन्धमा विधेयकमा व्यवस्था गरिएको छ । रासस

बझाङको कालंगा हाइड्रोको सेयर प्रत्याभूतिकर्तामा ज्योति र एलएस क्यापिटल

काठमाडौं । बझाङस्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रोको साधारण सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल र लक्ष्मी सनराइज (एलएस) क्यापिटल नियुक्त भएका छन् । कम्पनीले ४९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नको लागि प्रत्याभूतिकर्तामा उक्त दुई क्यापिटललाई नियुक्त गरेको हो । हाल कम्पनीको जारी पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । जसमध्ये ३५ प्रतिशत एक सय रुपैयाँको दरले ४९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो । सेयर प्रत्याभूतिकर्तामा नियुक्त भएसँगै कूल ४९ करोड रुपैयाँमध्ये ३४ करोड ९० लाख रुपैयाँ ज्योति क्यापिटलले र १४ करोड १० लाख रुपैयाँ एलएस क्यापिटलले सेयर प्रत्याभूति गर्ने भएका छन् । साधारण सेयर प्रत्याभूति कार्यको लागि कम्पनीको तर्फबाट सञ्चालक तीर्थराज चटौत तथा प्रत्याभूतिकर्ताहरु ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र एलएसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कालंगा हाइडोले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण सेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।

एनआइबिएल स्टेबल फन्ड योजनाको इकाई बुधबार बाँडफाँड हुने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँड भोलि अर्थात माघ २४ गते हुने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलका अनुसार उक्त इकाईको बाँडफाँड बुधबार बिहान ९ बजे काठमाडौंको लाजिम्पाटस्थित रहेको क्यापिटलको केन्द्रिय कार्यालयमा हुने छ । गत माघ २ गतेदेखि १६ गतेसम्म एक अर्ब रकम बराबरको उक्त बन्दमुखी योजनाको १० करोड इकाईहरु बिक्री भएको थियो । जसको प्रतिइकाई अंकित मूल्य १० रुपैयाँ थियो । जसमा रितपूर्वक आवेदन दिने आवेदकहरुलाई उक्त इकाईहरु बाँडफाँड गरिने छ । एनआईबिएल म्युचुअल फण्ड एनआइएमबि एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको छ ।

घनश्याम भुसालको प्रश्नः पार्टी र नेता सफल हुँदा देश किन असफल भयो ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भएपनि देश किन असफल भयो भनि प्रश्न गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भुसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भएपनि देश भने असफल भइरहेको बताएका हुन् । उनले हरेक राजनीतिक दलहरुको दस्ताबेजहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश चाहीँ किन असफल भएको हो भनि प्रश्न गरे । उनले नेता र पार्टी सफल हुँदा देश असफल कसरी भइरहेको हो भन्दै प्रश्न गरे । नेपालका राजनीतिक दलहरु गुटमा परिणत भइसकेको बताउँदै महासचिव भुसालले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरुमा समस्या भएको बताएका छन् । ‘हरेक राजनीतिक पार्टीले दाबी के गर्छ भने, हामी सफल छौँ । हरेकको केन्द्रिय कमिटी बैठकमा हेर्यौं भनेदेखि ति पार्टीका डकुमेण्टहरुले भन्छन्, हाम्रो पार्टी सफल छ । ठिक छ । असल नै छ भनेर हरेक राजनीतिक पार्टीको डकुमेण्ट भन्छ । राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ ? सबै पार्टी सफल भइराख्ने । काँग्रेस, एमाले, माओवादी, समाजवादी सबै सफल हुने । अनि देशचाहीँ असफल हुने ? दल भनेको अब करिव करिब पार्टी नेताहरुको गुटमा परिणत भइसकेका छन् । अनि हरेक पार्टीको औपचारिक कुरा के हो भन्दाखेरी आफ्नो पार्टीको नेता सफल भएकै हुनाले नेता भयो । देशचाहीँ असफल भइराख्ने । नेता चाहीँ सफल भइराख्ने । देशचाहीँ असफल भइराख्ने पार्टीचाहीँ सफल हुने यो अन्तरविरोध कहाँ हो ? के हो ? संघीय लोकतान्त्रिक गणतन्त्र आफैँमा समस्या होइन । त्यसको अभ्यासमा समस्या छन् । त्यसको विचार र पात्रहरुमा समस्या छन् ।’ उनले भने । महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरुले दशकौँ अघिको सिद्धान्त बोकेर हिँडिरहेका भन्दै त्यसले नै गणतन्त्र कार्यान्वयनमा समस्या आइरहेको बताए । दलहरुको पुराना सिद्धान्तका कारण गणतन्त्र राम्रो बाटोमा हिँड्न नसकेको उनको भनाई छ ।