फुङ्लिङ नगरपालिका परिसरमा नेपाल बैंकको एक्सटेन्सन काउन्टर
काठमाडौं । नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखा अन्तर्गत रहनेगरी सोमबारदेखि फुङ्लिङ् नगरपालिका परिसरमा बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । उक्त एक्टेन्सन काउन्टर फुङ्लिङ् नगरपालिकाका उप मेयर भिमा देवि ओझाले एक समारोहका बिच उद्घाटन गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रमको अध्यक्षता नेपाल बैंक, कोशी प्रादेशिक कार्यालय प्रमुख सुर्य प्रकाश भट्टले गरेको थिए । उक्त एक्टेन्सन काउन्टरबाट ग्राहकको खाता सञ्चालन, चेक सटही, रकम डिपोजिट, मोबाइल तथा डिजिटल बैकिंग लगायतका विभिन्न बैकिंग सेवाहरु उपलब्ध हुनेछन् ।
आन्तरिक हवाई उडानको तयारी गर्दै कर्णाली प्रदेश सरकार
कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी फागुनभित्र प्रदेशका सबै जिल्ला जोड्ने गरी आन्तरिक हवाई यातायात सञ्चालनको तयारी थालेको छ । प्रदेश सरकारले राजधानी वीरेन्द्रनगर सुर्खेत विमानस्थलबाट हिमाली जिल्लामा रहेका विमानस्थलमा आन्तरिक हवाई उडान सेवा सञ्चालन गर्ने तयारीलाई अगाडि बढाएको हो । प्रदेश सरकारले सुर्खेतबाट आन्तरिक हवाई सेवा विस्तारका लागि पटक–पटक गरेको आग्रहलाई नेपाल वायुसेवा निगमले कार्यान्वयनमा ल्याउँदै छ । मुख्यमन्त्री राजकुमार शर्मा, नेपाल वायु सेवा निगमका सुर्खेत उडान समितिका संयोजक महेशकुमार मरिता, निगमका इन्जिनियरिङ मरमत विभागका व्यवस्थापक देवेन्द्र पुन, सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख राजन ढुङेगललगायतले हवाई उडानका लागि मङ्गलबार विमानस्थलको अवलोकन गरेका छन् । मुख्यमन्त्री शर्माले आन्तरिक उडानका लागि आवश्यक पर्ने नीतिगत, भौतिक पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग रहने बताए । उनले भने, ‘आन्तरिक उडान थप गरेर कर्णालीबासीको जीवनयापन सहज बनाउन प्रदेश सरकारले सहयोग गर्दछ । प्रदेश सरकार सुर्खेत विमानस्थल सुधारलाई प्राथमिकतामै राखेको छ ।’ उडान समितिका संयोजक मरिताले प्रदेश सरकारले गरेको आग्रहलाई ध्यान दिएर जतिसक्दो छिटो सेवा सञ्चालन गरिने जानकारी दिए । उनले भने, ‘फागुन महिनाभित्र काम सुरु गर्ने गरी तयारी थालिएको छ । यसमा निगमले गर्ने आवश्यक तयारीका निम्ति लागि परेका छौँ ।’ रासस
नारायणगढ-बुटवल सडकखण्ड विस्तार : पाँच वर्षमा ४६ प्रतिशत प्रगति
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सुरु भएको पाँच वर्ष पूरा हुँदा ४६ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । सडक विस्तारको काम विसं २०७९ साउन २२ मा सम्पन्न गर्नेगरी चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले विसं २०७५ माघ २४ मा सम्झौता गरेको थियो । विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ । नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालले पहिलोपटक थप गरिएको समय विसं २०८० भदौ १२ मा सकिएपछि दोस्रोपटक समय थप गरेर आयोजना पूरा गर्ने समय विसं २०८१ साउन ८मा पुर्याइएको बताए । ‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सडक विस्तारको पाँच वर्ष पुग्दा हालसम्म जम्मा ४६ प्रतिशत काम सकिएको छ’, उनले भने, ‘दोस्रोपटक म्याद थप गरेपछि निर्माण व्यवसायीले हालसम्म ५८ प्रतिशत काम गर्छौं भनेर योजना बनाएको भए पनि त्यो पूरा गर्न सकेको छैन ।’ निर्माण व्यवसायीलाई दोस्रोपटक म्याद थपिएको समय सकिने करिब पाँच महिना बाँकी हुँदा हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २० दशमलव ३८ किलोमिटर मात्रै भएको जनाउँदै खनालले दुईतर्फी कालोपत्रको काम एक सय ३० किलोमिटर गर्नुपर्ने बताए । ‘निर्माण व्यवसायीले बनाएको कार्य योजनाअनुसार कुनै पनि काम गरेको छैन,’ उनले भने, ‘निर्माण व्यवसायीले बनाएको योजना र हामीले गर्नका लागि भनेको योजना पनि फरक छ । निर्माण व्यवसायी आफैँले बनाएको योजनाअनुसार काम गर्न सकेको छैन ।’ सडक विस्तारका लागि चालकसहितका सबै कामदार गरी ६ सय २६ जनामात्रै निर्माणमा संलग्न रहेको उनले बताए । ‘निर्माण व्यवसायीले एक हजार पाँच सय ४१ कामदार आवश्यक पर्छ भनेर भनेको थियो । तर हामीले दुई हजार दुई सय मजदुर आवश्यक पर्ने प्रक्षेपण गरेका थियौँ’, उनले भने, ‘आफैँले बनाएको कार्ययोजनासमेत निर्माण व्यवसायीले पूरा गर्न सकेको देखिएन ।’ सडक विस्तारका लागि योजनाले पेभर (कालोपत्र गर्ने उपकरण) दुईवटा आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले एउटा उपकरणबाट मात्रै कालोपत्र गरेको, ग्रेडर (सडक सम्याउने उपकरण) योजनाले २५ आवश्यक पर्ने भनेकामा निर्माण व्यवसायीले निर्माण व्यवसायीले १६ वटाबाट काम गर्ने जनाएकामा जम्मा सातवटामात्रै ग्रेडरको प्रयोग भएको उनले बताए । त्यस्तै, स्काभेटर (माटो खन्ने उपकरण) ४० आवश्यक पर्नेमा निर्माण व्यवसायीले २६ वटाबाट काम गर्छौं भन्दै नौवटामात्रै प्रयोग गरेको, रोलर (कालोपत्र गर्नुअघि सडक सम्याउने उपकरण) ४५ वटा आवश्यक पर्ने भनिएकामा २६ वटाबाट काम गर्छौैं भन्दै नौवटा रोलर मात्रै सडकमा प्रयोग गरेको खनालले बताए । निर्माण व्यवसायीले आफैँले बनाएको योजनाअनुसार काम नगर्दा सडक विस्तारको कामले गति लिन नसकेको खनालको भनाइ छ । ‘ कार्यतालिकाअनुसार काम गर्न र आयोजनाको काम समयमै सम्पन्न गर्न हामीले निरन्तर दबाब दिइरहेका छौँ’, उनले भने, ‘निर्माण व्यवसायीले लो बिडिङ (कम मूल्य) मा ठेक्का सकारेका कारण उसले नगद प्रवाह गर्न नसक्दा भनेअनुसार काम गर्न सकेको छैन ।’ चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले दोस्रोपटक थप भएको समयमा सडक विस्तारको काम नसकिने जानकारीदिदै अझै एक वर्ष म्याद थप्नुपर्ने बताए । ‘सडक विस्तारको सुरुआती समयमा विभिन्न कारणले काममा ढिलाइ भएको थियो, अहिले पनि मौसमका कारण सडकको काम तीव्ररुपमा गर्न सकिएको छैन’, उनले भने, ‘कावासोती, प्रगतिनगरलगायत ठाउँमा कालोपत्र गर्न तयारी गरिएको भए पनि रातिमा शीत खस्ने र मौसम चिसो भएका कारण कालोपत्र गर्न सकिएको छैन ।’ ८ साउन २०८१ सालसम्म आयोजनाको करिब ७० प्रतिशत काम पूरा गर्नेगरी आफूहरु खटिएको उनको भनाइ छ । ‘साउनसम्म हामीले गैँडाकोटबाट दाउन्नेसम्म एकतर्फी कालोपत्र गर्नेगरी काम गरिरहेका छौँ,’ उनले भने, ‘त्यसपछिको बाँकी काम ८१ चैतभित्र सकाउने हाम्रो योजना छ ।’ सडक विस्तार गर्ने केही ठाउँमा खानेपानी र बिजुलीको पोल सार्ने काम बाँकी रहेको भन्दै उनले साइड क्लियर भएको ठाउँमा काम धमाधम अघि बढेको जानकारी दिए । ‘यो फेब्रुअरीसम्म सिजी, गैँडाकोट र दुम्कीबास क्षेत्रमा ३० केभी प्रसारण लाइन सार्ने काम सकिन्छ’ उनले भने, ‘विद्युत्को पाँच किलोमिटर पोल सार्ने र खानेपानीको ६ किलोमिटर पाइप सार्ने कामपछि सडकका सबै बाधा सकिन्छन् ।’ आयोजनाअन्तर्गत अहिले बाँकी रहेका कल्भर्ट निर्माण गर्ने, पहाडको भित्तो काट्ने, पर्खाल लगाउने, सडक किनारमा ग्याभिन भर्ने, बस वे (सवारीसाधन रोक्ने ठाउँ) बनाउने, कालोपत्र गर्ने सडक खन्ने र नयाँ बनाउने, माटो भर्ने, बेस र सब बेसको काम भइरहेको उनको भनाइ छ । नारायणगढबाट बुटवलसम्मको जम्मा एक सय १४ किलोमिटर सडकमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक रहेको छ । विसं २०१८ मा गैँडाकोटको शिलान्यास चोकबाट पूर्वराजा महेन्द्रले शिलान्यास गर्नुभएको सडक करिब ५८ वर्षपछि एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार भइरहेको छ । चार लेनमा विस्तार हुने नारायणगढ-बुटवल सडकका दुई–दुई लेनको बीचमा ‘ग्रिनरी’ सहितको सडक निर्माण हुनेछ । तीन मिटरको बीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात/सात मिटरको हुनेछ । बजार क्षेत्रमा ६/६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७ दशमलव ६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । सडकको ४२ दशमलव सात किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताए । यस खण्डमा १२ वटा ठूलो पुल (मेजर ब्रिज) र सानो २२ वटा (माइनर ब्रिज) बन्ने क्रममा छन् । सडकका विभिन्न स्थानमा निर्माण हुने दुई सय १५ वटा कल्भर्टमध्ये अधिकांशको काम सकिएको छ । एसियाली विकास बैङ्क (एडिबी)को ८५ प्रतिशत ऋण सहयोगमा निर्माण सुरु भएको यस खण्डको कूल लागत रु नौ अर्ब ३८ करोड रहेकामा हालसम्म रु तीन अर्ब ७६ करोड ६६ लाख आर्थिक प्रगति भएको खनालले जानकारी दिए । रासस
व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी
हेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा बेलौरी नगरपालिका-३ पडावमा पुनःस्थापन भएका धम्मलराज चौधरीले अढाई बिघा जमिनमा व्यावसायिक तरकारी खेती लगाएका छन् । निकुञ्जबाट विस्थापित भएर दश कट्ठा जग्गा पाएका उनीहरु पाँच दाजु/भाइले बाँड्दा दुई कट्ठामा समेटिए । गाउँमै खेती किसानी गरेर जीविका चलाउँदै आएका उहाँले व्यावसायिक तरकारीबाट भएको आम्दानीले अहिले ११ कट्ठा जग्गा जोड्न सफल भएको बताए । विगत आठ वर्षदेखि गाउँमा तरकारी खेती गरेका उनले अहिले वार्षिक रु नौ लाख बचत गर्ने जानकारी दिए । ‘मैले सुरु गरेको तरकारी खेतीबाट भएको आम्दानीले मेरो परिवारको आर्थिक अवस्थामा सुधार आउनाका साथै गाउँका अरू किसान पनि तरकारी खेतीतर्फ आकर्षित भएका छन्’, उनले भने, ‘यहाँ उत्पादन भएको तरकारी धनगढी, महेन्द्रनगर, बेलौरी र आइबीआरडीलगायत बजारहरुमा खपत हुन्छ ।’ चौधरीजस्तै पछिल्ला केही वर्षयता कञ्चनपुरमा व्यावसायिक तरकारी खेतीमा थारू समुदायकको सक्रियता बढ्दै गएको छ । पुस्तौँदेखि खेती र पशुपालनबाट जीविका चलाउँदै आएका उनीहरु नगदे बालीका रुपमा तरकारी खेती थालेपछि आयआर्जन समेत बढेको बताउँछन् । ‘सुरुमा दुई/तीन कट्ठाबाट तरकारी खेती थालेको थिएँ,’ किसान धम्मलराज चौधरीले भने, ‘धान, गहुँ खेतीबाट तरकारीमा मुनाफा बढी हुने देखिएपछि व्यावसायिक रुपमा तरकारी खेतीमै लागेँ ।’ उनले तरकारीको मूल्यमा थपघट हुँदा किसान प्रभावित हुने गरेको बताए । उनले तरकारीबाट मासिक रु ७५ हजार आम्दानी हुने गरेको बताउँदै सो रकमबाट परिवारको जीविका चल्नाका साथै छोराछोरीको पढाइ खर्च भइरहको जानकारी दिए । ‘तरकारी खेतीका क्रममा कृषि सेवा केन्द्रबाट अनुदानमा बीउबिजनका साथै विभिन्न तालिम समेत लिएको छु,’ चौधरीले भने, ‘तरकारी खेतीमा सक्रिय किसानलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले पनि सहयोग गरिरहेको छ ।’ उनले तरकारीबाट भएको आम्दानीबाट अहिले गाउँमा ६ कोठे पक्की घर निर्माण गरिरहेको बताए। ‘किसानको आवश्यकता बुझेर सरकारी निकायले अनुदान र सहयोग गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि किसानसम्मै पुग्ने संरचना दरिलो बनाउनु आवश्यक छ ।’ उनले पडाव गाउँमा अहिले ३० जनाभन्दा थारू समुदायका किसान व्यवसायी तरकारी खेती गरिरहेको बताए । त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ बालुवाफाँटाका सुनिल चौधरी पनि गाउँका सफल व्यावसायिक तरकारी खेती गर्ने किसानको सूचीमा पर्छन् । गाउँको इन्द्रेणी कृषक समूहको अध्यक्ष रहेका उनले गाउँमा दुई सय बिघा जमिनमा किसानले तरकारी खेती गरेको बताए। ‘गाउँलाई तरकारीको नमूना क्षेत्र बनाउने योजना छ,’ चौधरीले भने, ‘तरकारी खेतीमा लागेका प्रायः किसानको आम्दानी राम्रै छ ।’ डेढ दशकदेखि तरकारी खेती गरिरहेको चौधरीले अहिले एक बिघा खेतमा तरकारी खेती गरेका छन् । ‘द्वन्द्वकालका बेला मजदुरीका लागि भारतको राजधानी दिल्ली पुग्दा मलाइ समयको महत्व थाहा भयो,’ उनले भने, ‘अरूको देशमा दुःख गर्नुभन्दा आफ्नै माटोमा सङ्घर्ष गर्दा अहिले राम्रो फल मिलेको छ ।’ उनले तरकारी खेतीबाट वार्षिक रु चार लाख बचत हुने गरेको बताए । उनले भएको आम्दानीबाट छोरा माइकल चौधरी टीकापुरमा बिएससी एजी अध्ययन गरिरहेको बताए । ‘छोरालाई पनि कृषिमै लगाउने योजनासहित सम्बन्धित विषय अध्ययन गराउने योजना बन्यो,’ उनले भने, ‘बाँकी आम्दानीको रकमले गाउँमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सहयोग गर्दै आएको छु ।’ कृषि ज्ञान केन्द्रबाट युवा लक्षित कार्यक्रमअन्तर्गत ६० हजार नगद, च्याङ्फालगायत कृषि औजारमा सहयोग पाएको चौधरीको भनाइ छ । व्यवसायी तरकारी खेतीमा लागेका अर्का सफल किसान हुन् बेल्डाँडी गाउँपालिका–३ बैवाहाका रामलाल चौधरी । १६ वर्षदेखि तरकारी खेती गरिरहेका उनले तरकारीबाटै भएको आम्दानीले गाउँमा सात कट्ठा जमिनका साथै धनगढीमा दश धुर घडेरी जोडेका छन् । ‘तरकारी खेतीको क्षेत्रफल बढाएर एक बिघा पुर्याएको तीन वर्ष जति भयो ।’ उनले भने, ‘अहिले उत्पादित तरकारी दैनिक ६/७ क्विन्टल बिक्रीका लागि महेन्द्रनगर बजार लैजाने गरेको छु ।’ उनले बार्षिक रु पाँच लाख मुनाफा हुने गरेको बताए। ‘तरकारी खेतीबाट सन्तुष्ट हुनाका साथै परिवारको खर्च आरामले चलेको छ,’ चौधरीले भने, ‘बेला बखतमा सरकारबाट पनि अनुदान एवं कृषि औजार पाइएकै छ । रासस
ट्राफिकले तिरायो पौने १ अर्ब रुपैयाँ जरिवाना
काठमाडौं । पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटना बढेसँगै जरिवाना पनि बढ्दै गएको छ । चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट पौने १ अर्ब जरिवाना वा राजस्व सङ्कलन भएको छ । ६ महिनाको अवधिमा १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनलाई कारबाही गरी ७९ करोड ७१ लाख ४४ हजार ८५२ रुपैयाँ राजस्व सङ्कलन गरिएको हो । उक्त राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोशी प्रदेशबाट ७ करोड ८७ लाख २ हजार ९४३ रुपैयाँ, मधेस प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१ रुपैयाँ, बागमती प्रदेशबाट ७ करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकी प्रदेशबाट ८ करोड १८ लाख ७६ हजार ६ रुपैयाँ, लुम्बिनी प्रदेशबाट ९ करोड ३८ लाख ६४ हजार २ रुपैयाँ, कर्णाली प्रदेशबाट १ करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २ करोड ४२ लाख ८८ हजार रुपैयाँ सङ्कलन भएको हो । यसैगरी ट्रक/ट्याङकरबाट १५ करोड १९ लाख ९५ हजार ४ सय रुपैयाँ, बस/मिनिबसबाट ९ करोड २० लाख ५ सय रुपैयाँ, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६ रुपैयाँ, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६ सय रुपैयाँ राजस्व सङ्कलन भएको हो । मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन भङ्ग गर्ने, क्षमताभन्दा बढी भार÷ यात्री राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायत कारबाहीबाट उक्त रकम सङ्कलन गरिएको हो । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सो अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक÷ट्याङकर १ लाख ७० हजार ८४२, बस/मिनिबस १ लाख ९ हजार ३७७ वटा, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । नेपाल प्रहरीले ट्राफिक कारबाहीबाट मात्र नभइ कानुन कार्यान्वयनको क्रममा फैसला कार्यान्वयन, भन्सार छलीलगायत गैरकानुनी गतिविधि गर्नेहरूबाट पनि राजस्व सङ्कलन गर्दै आएको छ ।
एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनका लागि कमपनीले भोलि माघ २५ गते सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्जमा आज माघ २४ गतेसम्म कायम सेयरधनीहरू साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार रुपैयाँको ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२९ प्रतिशत नगद गरी कूल ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १८औँ वार्षिक साधारण सभा फागुन ३ गते आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात् जारी तथा चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुग्ने भएको सोही अनुरुप प्रबन्धपत्रको नियमावली संशोधन गर्नेछ ।
नेपाल लाइफको नाफा १३ प्रतिशत बढ्यो, १ खर्ब ८३ अर्ब पुग्यो जीवन बीमा कोष
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा १३ प्रतिशत बढेर ४२ करोड ७७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ अुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.१३ प्रतिशत बढेर १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । पुस मसान्तसम्म कम्पनीको खुद दाबी भुक्तानी १०.८८ प्रतिशत बढेर २४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ अर्ब ५१ करोड ५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको कुल आम्दानी १०.७१ प्रतिशत बढेर २९ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ अर्ब ६८ करोड ९१ लख रुपैयाँ कुल आम्दानी गरेको थियो । कम्पनीको कुल खर्च ९.७० प्रतिशत बढेर २७ अर्ब २९ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्ष २४ करोड ८८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ, सेयर प्रिमियम ४ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोष १ अर्ब ४ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ५८ प्रतिशत बढेर १ अर्ब ३ करोड रुपैयाँ र जीवन बीमा कोष १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १.१९ रुपैयाँ बढेर १०.४२ रुपैयाँ, नेटवर्थ प्रतिसेयर १२८.०१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६२.८६ गुणा छ ।
खराब कर्जा ८.८३ प्रतिशत पुगेपछि नेरुडे लघुवित्तको नाफा ६२.२५ प्रतिशत घट्यो
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा खुद नाफा ६२.२५ प्रतिशत घटेर २ करोड ४८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले ६ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । लघुवित्तको खराब कर्जा बढेर ४.८९ प्रतिशतबाट ८.८३ प्रतिशत पुगेको छ । जसकारण लघुवित्तको नाफामा असर गरेको हो । चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तको खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर २४ करोड २५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले २४ करोड ४६ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो । पुस मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २०.९१ प्रतिशत बढेर ११ करोड ५३ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.२५ प्रतिशत बढेर ३५ करोड ७९ लाख रुपैयाँ, सञ्चालन नाफा ६१.९६ प्रतिशत घटेर ३ करोड ५४ लाख रुपैयाँ छ । लघुवित्तको वितरण योग्य नाफा भने ५ करोड १९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ, जगेडा कोष ५.२४ प्रतिशत बढेर ५९ करोड ५६ लाख रुपैयाँ, निक्षेप तथा सापटि ११ प्रतिशत बढेर ९ अर्ब २४ करोड रुपैयाँ र कर्जा ८.४६ प्रतिशत बढेर १० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी १५.१३ रुपैयाँ घटेर ६.७८ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८८.८१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८१.३८ रुपैयाँ रहेको छ ।