निर्माणाधीन रङ्गशालाको ७० प्रतिशत लागत बागमती प्रदेश सरकारले बेहोर्ने
हेटौँडा । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत खर्च बागमती प्रदेश सरकारले बेहोर्ने भएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणका लागि भरतपुर महानगरसँगको सम्झौताअनुसारको स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले महानगरपालिकासँगको सम्झौताअनुसार प्रदेश सरकारले रङ्गशालाका लागि रु ५२ करोड ५० लाखको स्रोत सुनिश्चितता गरेको जानकारी दिए । गत कात्तिक २१ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सो रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाले तयार गरेको रु ७५ करोडको लागत अनुमानमा प्रदेश सरकारले ७० र महानगरपालिकाले ३० प्रतिशत लागत बेहोर्ने सम्झौता भएको थियो । महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्तावअनुसार १० हजार दर्शक अट्ने प्याराफिट र क्रिकेट मैदान निर्माण गर्ने निर्णय भएको मुख्यमन्त्री जम्कट्टेलले बताए । बैठकले भरतपुर महानगरपालिकालाई रङ्गशाला निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाउन समेत आग्रह गरेको छ । आजको बैठकले राष्ट्रिय योजना आयोगले माग गरेअनुसार सङ्घीय समपूरक र विशेष अनुदानका लागि योजना सिफारिस गर्ने निर्णय गरेको छ । बैठकले समपूरक र विशेष अनुदानका लागि १०/१० वटा योजना सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले अघिल्लो आर्थिक वर्षमा निर्माण सम्पन्न भइ भुक्तानी बाँकी आयोजनाको भुक्तानी दिने पनि निर्णय गरेको छ । मुख्यमन्त्री जम्कट्टेलका अनुसार केही प्रक्रियाहरु पूरा गर्नु परेका कारण निर्माण सम्पन्न भए पनि भुक्तानीमा ढिलाइ भएको र हाल भुक्तानीको प्रक्रिया बढाइएको हो । रासस
हेटौंडा उद्योगको सवा २ लाख बोरा सिमेन्ट ६०० मा पनि बिकेन, नाफामा लैजान डेढ अर्ब पुँजी आवश्यक
काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहको हेटौंडा सिमेन्ट उद्योगको सिमेन्ट बिक्री हुन छाडेको छ । कहिले बन्द त कहिले सञ्चालनमा रहेर काम हुँदै आएको यो उद्योगबाट उत्पादित मौज्दात दुई लाख २५ हजार बोरा सिमेन्ट बिक्री गर्न उद्योगलाई सकस भएको हो । उत्पादन भएको सिमेन्ट बिक्री नहुँदा नयाँ उत्पादन पनि हुन छाडेको बताइएको छ । विगतमा दैनिक ५/७ हजार बोरा सिमेन्ट बिक्री गर्दै आएको उद्योग पछिल्लो दिनमा २ हजार बोरामा मात्रै सिमित छ । हेटौंडा सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १५ हजार बोरा सिमेन्ट हो । उद्योगका प्रवक्ता नवीनकुमार कर्णका अनुसार अहिले दैनिक २ हजार बोरा सिमेन्ट बिक्री भइरहेको छ । प्रतिस्पर्धात्मक बजारमा उद्योगको नियमित उत्पादन नहुनु र भएको उत्पादनको पनि ब्राण्डिङ र बजारीकरण गर्न नसक्दा समस्या भइरहेको उनको भनाइ छ । उनले अहिले मौज्दात अवस्थामा रहेको एक लाख बोरा सिमेन्ट बिक्री हुन नसकेको पनि बताए । हालै सिमेन्ट उद्योगले उत्पादन गरेका करिब दुई लाख २५ हजार बोरा सिमेन्ट काठमाडाैं, पोखरा, विराटनगर, जनकपुरलगायत अन्य सहरमा खपत हुन नसक्दा उद्योगले आर्थिक सङ्कटबाट मुक्त हुन नसकेको पनि कर्णले बताए । नाफामा लैजान असम्भव सरकारले पछिल्लो समयमा रुग्ण उद्योगहरूलाई सञ्चालन गर्ने अभियान अगाडि बढाएको छ । तर, झण्डै ५ दशक अगाडि स्थापना भएको सिमेन्ट उद्योग पुरानै मोडेल, मेसिन र व्यवस्थापनबाट सञ्चालन हुँदा समस्या भइरहेको बुझिएको छ । उद्योगले अवकास भएका दर्जनौं कर्मचारीलाई समेत अवकासको ६९ करोड रुपैयाँ भुक्तानी गर्न सकेको छैन । व्यापारिक दायित्व, कर्जा सापटी, वित्तीय दायित्व र अन्य दायित्व गरेर उद्योगको ७७ करोड भन्दा बढी ऋण तिर्न बाँकी रहेको उनको भनाइ छ । प्रवक्ता कर्णका अनुसार उद्योगलाई अहिलेको मेसिनरी अवस्थामा राखेर पूर्ण क्षमतामा सञ्चालन गर्दा पनि नाफामा लैजान सकिँदैन । ‘अहिले भन्दा ५० वर्ष पुरानो प्रविधि भएकाले निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेगरी सञ्चालन गर्न सकिँदैन, यसका लागि थप पुँजी आवश्यकपर्छ,’ उनले भने । उद्योगका छैठौं तहका कर्मचारी निर्मल पौडेलले अहिले उद्योगले उत्पादन गरेको सिमेन्टको प्रतिबोरा उत्पादन लागत ८ सय रहेको तर बजारमा ६ सय रुपैयाँ पनि बिक्री नभएको जानकारी दिए । उद्योगले डेढ वर्ष अगाडि प्लान्टको अडिट गरेर उद्योग मन्त्रालयलाई बुझाएको छ । सो अडिटले उद्योगको प्रविधि तथा संरचनाको कार्यक्षमता ४० प्रतिशत मात्रै रहेको देखाएको छ । प्रवक्ता कर्णका अनुसार उद्योगलाई अहिलेको प्रविधिका आधारमा सञ्चालन गर्न एक अर्ब ६० करोड बढी पुँजीको आवश्यकता पर्छ । २८ सय मेट्रिक टन दैनिक क्लिङकर र दैनिक ३०/४० हजार बोरा सिमेन्ट उत्पादन क्षमताको उद्योग निर्माण गर्न उक्त पुँजी आवश्यकता पर्ने उनको भनाइ छ । यस्तै, उद्योगको प्रविधि पुरानो भएको कारण इन्धन र कर्मचारी तथा कामदारमा समेत बढी खर्च हुने गरेको अवस्था रहेको छ । तर, उद्योगले आफ्नो तालुकदार निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको अडिट प्रतिवेदनको विषयमा भने मन्त्रालयले अहिलेसम्म कुनै निर्णय गरेको छैन । सरकारको पूर्ण स्वामित्व भएको उद्योगमा अर्थ मन्त्रालय र महालेखापरीक्षकको कार्यालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र महालेखा नियन्त्रण कार्यालय, उद्योग मन्त्रालय, उद्योग विभाग र खानी तथा भूगर्भ विभागको बराबर शेयर लगानी रहेको छ । त्यसैले उद्योगको अवस्थामा परिवर्तनको लागि सरकारकै तहबाट निर्णय हुनुपर्ने प्रवक्ता कर्णको भनाइ छ । हेटौंडा सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७५/७६ यता करिब ९० करोड रुपैयाँ घाटा ब्यहोरेको छ । सो सिमेन्ट उद्योगले विसं २०४३ मंसिर २६ गतेदेखि व्यावसायिकरूपमा सिमेन्ट उत्पादन गरी काठमाडौँलगायत विभिन्न सहरमा खपत गर्दै आएको थियो । अहिले सो उद्योगमा प्रशासन, प्राविधिक र मजदुर गरी एक सय ५० जनाले प्रत्यक्ष रोजगारीका अवसर प्राप्त गरिरहेका छन् ।
होन्डाले ल्यायो ‘एसपी १२५’, ५ हजार तिरेर बुकिङ्ग गर्न सकिने
काठमाडौं । होन्डाले आफ्नो नयाँ मोटरसाइकल ‘एसपी-१२५’ नेपालमा बिक्री सुरु गर्ने भएको छ । कम्पनीले चाँडै बजारमा ल्याउन लागेको एसपी-१२५ को बुकिङ्ग खुल्ला गरेको हो । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले नाडा अटो शोमा २०२३ मा देखाएको एसपी-१२५ बुकिङ गर्न चाहकने जो कोहीले ५ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् । होन्डाले भारतमा भन्दा पहिला अटो शो मार्फत सार्वजनिक गरेको मोटरसाइकल बिक्रीको लागि भने अब उपलब्ध गराउने भएको हो । कम्पनीले दुई भेरियन्टमा एसपी-१२५ विक्री गर्ने तयारी गरेको छ । कम्पनीले एसपी-१२५ डिआरएसको मूल्य २ लाख ७८ हजार ९०० र एसपी डिडिएसको मूल्य २ लाख ८८ हजार ९०० रुपैयाँ तोकेर सार्वजनिक गरेको हो । होन्डा एसपी-१२५ मा १२३.४ सीसी सिगंल सिलिन्डर ४ स्ट्रोक इन्जिन रहेको छ । यो इन्जिनले १०.७२ बीएच पावर तथा १०.९ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । साइनभन्दा स्पोर्टी लुक भएको एसपी-१२५ को फ्रन्टमा डिस्क ब्रेक तथा रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसमा कम्वी ब्रेकिङ सिस्टम पाउन सकिन्छ । एसपी-१२५ मा अलोय ह्वील, आकर्षक एलइडी हेडल्याम्प, स्टाइलिस फ्यूल ट्याङ्क पाउन सकिन्छ ।
जहाज भाडामा लिन बोलपत्र आह्वान गर्दै वायुसेवा निगम, आम्दानी बढ्ने
काठमाडौं । नेपाल वायुसेवा निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनका लागि आज अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । मुलुकको पर्यटन प्रवर्द्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई समेत सेवा दिने उद्देश्यले दुईवटा न्यारोवडी जहाज भाडामा लिने निर्णयअनुसार बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ । ‘निगमको कार्ययोजना अनुरुप हाल निगमसँग रहेका दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र दक्षिण कोरिया उडानमा प्रयोग भएका छन् । अन्य गन्तव्यको उडान चाप मौजुदा जहाजले धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागिएको हो । यसबाट दिल्ली, दुबई, दोहा, मलेसियालगायतका गन्तव्यको उडान चाप व्यवस्थापन गर्न सकिन्छ’, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ । जहाज थप भएसँगै निगमको आय बढ्ने र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत अन्य गन्तव्यमा उडान भर्ने निगमको योजना छ । नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरुले समेत निगमको सम्भावित व्यापारलाई विस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएकाले जहाज भाडामा लिन लागिएको निगमको भनाइ छ । ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीको विशेष पहलमा निगमको १० वर्षे व्यवसायिक योजना अनुरुप बजार बिस्तारका लागि जहाज थप गर्न लागिएको हो । उक्त जहाजहरु आगामी जुलाईसम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ’, निगमले भनेको छ । रासस
पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल हुँदै
काठमाडौं । पोखरामा खुकरी फ्रेन्ड्स अफ फेस्टिभल हुने भएको छ । सौन्दर्य र पानीरङको राजधानी पोखरालाई शब्दको सहर बनाउने ध्येयका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलमा विगत तीन संस्करणदेखि नेपाल डिस्टिलरीको पनि साथ रहँदै आएको छ । कम्पनीका अनुसार ‘जहाँ शब्दहरु जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिटरेचर फेस्टिभलले प्रत्येक संस्करणमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लेखक, कलाकार, अभियन्ता, पत्रकार, बुद्धिजीवी, अर्थशास्त्री, सेलिब्रेटी र राजनीतिक व्यक्तित्वहरुलाई सन् २०१६ देखि पोखरामा भेला गराई समसामयिक विषयवस्तुमा अन्तक्रिया र अन्तर्संवाद सम्पन्न गर्दै आएको छ । साथै प्रत्येक दिनको अन्तिम सत्रमा विभिन्न कलाकारका साथ साङ्गीतिक प्रस्तुति राख्दै आएको छ । कलाको सबैभन्दा सशक्त माध्यमका रुपमा सङ्गीतले मानिसलाई आकर्षित गर्दछ र जटिल भावनाहरुलाई अरुसम्म अभिव्यक्ति गरी मानिसहरुलाई तरङ्गित बनाउने गर्छ । फेवा किनारमा पाँच दिनसम्म आयोजना हुने यस वर्षको खुकरी फ्रेन्ड्स अफ फेस्टिभलमा हामीले साङ्गीतिक सत्रका रुपमा पहिलो दिन कुमार नगरकोटीको काव्यिक प्रस्तुति, दोस्रो दिन कुटुम्ब ब्यान्ड, तेस्रो दिन, प्रा.डा. धुवेशचन्द्र रेग्मी अनि उनको समूह र द ब्लु फ्रेट ब्यान्ड तथा अन्तिम दिन विपुल क्षेत्री एन्ड द ट्राभलिङ ब्यान्डका प्रस्तुति रहने कम्पनीले बताएको छ । साहित्यिक र साङ्गीतिक अन्वेषणको यो नौलो यात्राको सुरुवातमा यहाँहरुको सहयोगको अपेक्षा गरिएको नेपाल लिटरेटर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले बताए । खुकरी फ्रेन्ड्स अफ फेस्टिभलले आउँदा दिनमा साहित्य, काव्य र सङ्गीतलाई अन्तरघुलन गर्दै यसमा विश्वास गर्ने विशेष समुदाय निर्माणको लक्ष्य राखेको छ। यस कार्यक्रमलाई इभेन्ट एमएक्सले व्यवस्थापन गर्नेछ ।
फागुनमा राष्ट्रिय महिला उद्यमी सम्मेलन गर्दै एफएनसीसीआई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले राष्ट्रिय महिला उद्यमी सम्मेलन गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले फागुन ४ र ५ गते लुम्बिनी प्रदेश, भैरहवामा राष्ट्रिय महिला उद्यमी सम्मेलन आयोजना गर्ने तय गरेको हो । कम्पनीका अनुसार सम्मेलनमा नेपालका ७७ वटै जिल्लाका करिब २५० देखि ३०० जना महिला उद्यमी व्यवसायीहरुको सहभागिता रहनेछ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अघुवाइमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश एवं सिद्धार्थ उद्योग वाणिज्य संघको समन्वय एवं सहकार्यमा आयोजना गर्न लागिएको हो । यो सम्मेलन महासंघले पहिलो पटक आयोजना गर्न लागेको हो । नेपालमा महिलाहरूले देशको अर्थतन्त्रमा लामो समय देखि सक्रिय रूपमा भाग लिरहेकाछन्, तर महिला उद्यमीहरुको योगदान को प्रायः कम मूल्याङ्कन गरिएको छ । श्रमशक्तिमा महिला सहभागिता १ प्रतिशतले मात्रै बढ़न गएमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतले वृद्धि गर्न सकिन्छ । महिला उद्यमीहरू को सशक्तिकरणले रोजगारी सृजना गर्दछ, वित्त पहुँचमा सुधार देखिनेछ र नवप्रवर्तन बढ्ने छ । महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका साथै महिला सशक्तिकरणम सहयोग पुर्याउने उद्देश्यले आयोजना गर्न लागिएको उक्त सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वितिय पहुंच, बजार पहुंच, पर्यटनका सम्भावना र चुनौति, युवा महिलांस्टार्टअपका लागि गरिएका पहुल साथै भएका व्यवस्था लगायतका विषयमा विषय विज्ञहरुसँग छुट्टा छुट्टै (प्यानल डिस्कसन) छलफल गरिनेछ । दुई दिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा बुझाइनेछ ।
कामना सेवा विकास बैंकले तनहुँको विद्यालयलाई दियो शैक्षिक सामाग्री
काठमाडौं । कामना सेवा विकास बैंकले श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय डुम्रे, तनहुँ मार्फत सालबिस्ने स्थित श्री सत्यवती देवी आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकका शाखा कार्यालय डुम्रेका शाखा प्रमुख बलराम लम्सालले श्री सत्यवती देवी आधारभुत विद्यालयको प्रधानाध्यापक ईश्वर बहादुर देवकोटाको उपस्थितिमा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा विद्यालयका विद्यार्र्थीहरु, शिक्षकहरु तथा स्थानीय महानुभावहरु साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो । यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।
म्याद नाघेका वस्तु बेचेपछि खाद्य उद्योगमा सिल
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका-८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त उद्योगमा सिल गरेको हो । गोप्य सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुसन्धान टोलीले सोमबार उक्त उद्योगमा अनुगमन गरेको थियो । अनुसन्धानका क्रममा मिति मेट्न प्रयोग गरिने स्प्रिट, मिति पुनर्लेखन गर्ने मेसिन र म्यादगुज्रेका फार्म सिटी ब्राण्डका कर्नफ्लेक्स, ओट्सलगायत खाद्यवस्तु राख्नाका साथै बादसाह ब्राण्डको मिति सकिएका र नसकिएका मसाला एकै ठाउँमा राखिएको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए । कैफियत गरेकाले उक्त उद्योगमा स्थानीय जनप्रतिनिधिको रोहबरमा र विभागको अनुसन्धान टोलीले सिल गरेको हो । उद्योगका सञ्चालकलाई विभागमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको पनि उनले बताए । रासस