विकासन्युज

भ्यालेन्टाइन डेको अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट

पोखरा । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँ मा हट एयर बेलुन उड्न सकिने बाडेले जानकारी दिए । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा शहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृङ्खला हेर्न सकिन्छ । यस्तै फिसटेल, अन्नपूणर् तथा धौलागिरि हिमश्रृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । बेलुन उडानमा के ख्याल गर्ने ? सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ । उचाइको उडान हुने भएकोले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।

सचिवको टेबलमै थन्कियो एलन मस्कको लगानी प्रस्ताव, नेपालीलाई २० प्रतिशत सेयर दिन अस्वीकार

काठमाडौं । विश्वका धनी तथा चर्चित व्यवसायी एलन मस्कले नेपालमा लगानी गर्न चाहे पनि नेपाल सरकारले प्रक्रिया अगाडि बढाउन सकेको छैन । एलन मस्कको स्याटेलाइट कम्पनी स्टारलिंकले नेपालमा बिनासर्त कम्पनी स्थापना गर्न खोज्दा प्रक्रिया अगाडि नबढेको हो । सञ्चार मन्त्रालयले पनि एलन मस्कले लगानी गर्ने विषयको प्रक्रिया अघि बढ्न नसकेको बताएको छ । एलन मस्कले स्याटेलाइट मार्फत् नेपालमा इन्टरनेट तथा मोबाइल सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी स्थापना गर्नको लागि प्रस्ताव गरेका थिए । तर, कानुनी प्रक्रियाअनुसार प्रवेश गर्न नचाहेकाले यो विषयलाई स्वीकृति दिने प्रक्रिया अघि नबढेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए । झण्डै एक वर्ष अगाडि एलन मस्कको कम्पनी स्टारलिंकका प्रतिनिधिहरू स्याटेलाइटबाट टेलिफोन सेवा स्थापना गर्न छलफलका लागि नेपाल आएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सो टोलीसँग मन्त्रालयको तर्फबाट दुई पटकसम्म छलफल भएको थियो । तर, उनीहरूले नेपालमा भ्वाइस कल तथा इन्टरनेट सेवा सञ्चालनसम्बन्धी विद्यमान कानुनअनुसार कम्पनी स्थापना गर्ने विषयमा तयार नभएपछि थप छलफल अगाडि नबढेको प्रवक्ता सुवेदीले बताए । ‘नेपालमा भ्वाइस कल तथा इन्टरनेट सेवा सञ्चालनको लागि निश्चित कानुनी व्यवस्था छ, उहाँहरूले बिनासर्त आफ्नो कम्पनी दर्ता गरेर सेवा प्रवाह गर्ने प्रस्ताव ल्याउनु भएको रहेछ, त्यसैकारण थप प्रक्रिया अगाडि बढ्न नसकेको हो,’ सुवेदीले विकासन्युजसँग भने । उनले आफू मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा आउनुपूर्व सो द्विपक्षीय छलफल भएको समेत बताए । स्टार लिंकका प्रतिनिधिहरूसँगको दुई पटकसम्मको बैठकमा सहभागी भएका सहसचिवले पनि स्टारलिंकका प्रतिनिधिहरूले बिनासर्त नेपालमा कम्पनी दर्ता गर्ने प्रस्ताव राखेको र त्यसलाई मन्त्रालयले अस्वीकार गरेको बताए । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालमा सञ्चार सेवा सञ्चालन गर्न २० प्रतिशत नेपाली साझेदार राख्नुपर्छ, प्रयोगकर्ताको तथ्यांक पनि सुरक्षा हुनुपर्छ, त्यसमा पनि उहाँहरू तयार हुनु भएन,’ मन्त्रालयका एक सहसचिवले भने । नेपालमा टेलिकम्युनिकेसन तथा इन्टरनेट सेवा प्रदान गर्दा त्यसको डाटा स्टोरेज नेपालमा नै हुनुपर्ने प्रस्ताव राखेकोमा पनि स्टारलिंक असहमत भएको मन्त्रालयको भनाइ छ । ‘स्टारलिंकले स्याटेलाइटबाट सेवा उपलब्ध गराउँछ । तर, साइबर सुरक्षाको दृष्टिकोणले नेपालीको तर्फबाट प्रयोग भएका भ्वाइस तथा इन्टरनेट सम्बन्धी डाटा नेपाल सरकारको पहुँचमा हुनुपर्छ । अर्थात् डाटा सेन्टर नेपालमा नै हुनुपर्छ, हामीले यो विषय उहाँहरुलाई राख्दा उहाँहरू यो विषयमा तयार हुनुभएन, त्यसैले स्वीकृति नदिएका हौं,’ मन्त्रालयका ती सहसचिवले भने । उनले नेपालमा अहिले पनि केही सेवाग्राहीहरूले स्टारलिंकको स्याटेलाइट इन्टरनेट तथा भ्वाइस सेवा प्रयोग गरिरहेको बताउँदै नेपालमा उपलब्ध टेलिफोन तथा इन्टरनेट सेवाको तुलनामा महँगो भएको पनि बताए । साथै, उनले व्यक्तिगत वा संस्थागत प्रयोजनका लागि प्रक्रिया पूरा गरेर स्टारलिंकको सेवा प्रयोग गर्ने सुविधा सबैलाई रहेको पनि बताए । सरकारले उनको कम्पनीलाई लगानीका लागि स्वीकृति नदिँदा स्टारलिंकको फाइल मन्त्रालयको सचिवको टेबलमै थन्किएको छ । यो विषयमा राजनीतिक तहमा छलफल भइरहेको पनि बुझिएको छ । अहिले स्टारलिंकले विश्वका ७० भन्दा बढी मुलुकमा स्याटेलाइटमार्फत इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध गराउँदै आएको छ । सो कम्पनीले अहिले मासिक रुपमा न्यूनतम ११० डलर र डिभाइसको शुल्क न्यूनतम ५ सय डलर लिइरहेको छ । जबकी नेपालमा मासिक रुपमा ५ सय रुपैयाँदेखि इन्टरनेट सेवा प्राप्त हुँदै आएको छ ।

नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूति सम्झौता

काठमाडौ । नागरिक लगानी कोष र सानिगाड हाइड्रो लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कोषको कार्यकारी निर्देशक पर्वत कुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सानिगाडको प्रति सेयर एक सय रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयर बापत ८५ करोड ५० लाख सेयर मूल्य बराबरको प्रत्याभूति कोषले गर्ने छ । सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नु पर्ने छ । ६ महिनाभित्र सेयर निष्कासन नभएमा सम्झौता स्वतः अन्त्य हुने छ ।

राष्ट्रियसभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले देशमा सुशासन र समृद्धिका लागि एकजुट भएर काम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिको गतिमा रहेको उल्लेख गर्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकको विशेष समयमा सांसद कुमार दसौदीले जनतालाई आशा र विश्वास जगाउने कार्यक्रमका लागि सरकारलाई सुझाव दिए । उनले भने, ‘राजनीतिक व्यवस्था परिवर्तनपछि समृद्धिले गति लिन सक्नुपर्छ । कहाँ कहाँ के के समस्या छन्, त्यो खोज्नु पर्छ । जनताको आशा जगाउने काम गर्नुपर्छ। जनता विदेश गएका गयै छन्, जनता निराश छन्  ।’ सांसद दसौदीले जनताका मुद्दा उठान गर्दा सरकारले कार्यान्वयन नगरेको गुनासो गरे । सांसद जीतेन्द्रनारायण देवले देशको परिस्थितिप्रति सचेत हुन सरकारको ध्यानाकर्षण गराए । ‘राष्ट्रिय परिस्थिति चुनौतीपूर्ण, गम्भीर र संकटपूर्ण छ । संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक ढाँचा खडा गरेका छाैं, समाजवादतर्फउन्मुख हुने प्रतिबद्धता गरेका छौं । ती सबै कुरा राजनीतिक शक्तिका लागि चुनौती बनेका छन्’, उनले भने। उनले समग्र देशको हितका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । सांसद नरबहादुर विष्टले थुप्रै काम गर्दा गर्दै पनि भ्रष्टाचार र गरिबीले आक्रान्त भइरहेकोप्रति सरकारलाई सचेत गराए । उनले चुनौतीबीच सरकार सार्वजनिक सेवाप्रवाह सहज बनाउन सक्षम भएको बताए । ‘जनताले लाइन बसेर गर्नुपर्ने काम सहज भएको छ । राहदानी विभाग, वैदेशिक रोजगार विभाग, मालपोत कार्यालयजस्ता ठाउँमा लाइन बस्नुपर्दैन’, उनले भने, ‘सुधारका थुप्रै काम हुँदाहुँदै चुनौती छन् ।’ सांसद विष्टले सरकारी जग्गा हड्पनेक्रम रोक्न ध्यानाकर्षण गराए । उनले नीतिगत भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले आफ्ना प्रयत्न बढाउनुपर्ने बताए । सांसद राजेन्द्रलक्ष्मी गैरेले शान्ति प्रक्रियाको काम चाँडो टुङ्ग्याउन माग गरिन् । उनले युवा र महिलालाई सरकारको काममा प्रत्यक्षरुपमा जोड्न नसकेको उल्लेख गर्दै आउने अधिवेशनमा लैङ्गिक उत्तरदायी बजेट ल्याउनुपर्नेमा जोड दिइन् । राष्ट्रिय गौरवका आयोजना निर्माण गर्न व्यवसायीलाई बाँकी भुक्तान समयमै गर्नका लागि उनले सरकारको ध्यानार्कषण गराए । सांसद नारायणप्रसाद दाहालले राष्ट्रियसभाको मर्यादा र गरिमा बढाउनका लागि सरकासँगै स्वयं सांसदहरुले ध्यान दिनुपर्ने बताए । जनताका मुद्दा र राष्ट्रको समृद्धि केन्द्रमा राखेर काम गरे मात्र जनप्रतिनिधि पनि स्थापित हुनसक्ने उनको भनाइ थियो । यस्तै सांसद दिलकुमारी रावल थापाले भ्रष्टाचारको अनुसन्धान तथा कारबाहीका लागि प्रभाव र दबाबमा नपर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘सरकार जनताको अभिभावक हो। सरकारको भूमिका कार्यकारी हो । सरकारलाई जनताका सवाल, राष्ट्र र राष्ट्रियताको सवाल, जनजीविकाको सवालमा संसद्प्रति जवाफदेही तथा उत्तरदायी बनाउने कर्तव्य सांसदहरुकै हो’, उनले भनिन्, ‘सरकार जवाफदेही बनोस्, सरकारले भ्रष्टाचारका फाइल खोल्दा अनुहार नहेरियोस्, प्रभाव र दबाबमा नपरियोस् भन्ने प्रतिपक्षको मान्यता हो ।’ सांसद थापाले युद्धग्रस्त क्षेत्रबाट नेपाली नागरिकलाई तत्काल फिर्ता गर्न सरकारले पहल गर्नुपर्ने बताइन् । उनले भनिन्, ‘पन्ध्र हजार नेपाली नागरिक रुसी सेनामा भर्ना भएको सुनिन्छ । युद्धग्रस्त क्षेत्रमा फसेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्न कूटनीतिक पहलका लागि सरकारसमक्ष माग गर्दछु ।’ सांसद राधेश्याम पासवानले संविधानअनुसार तत्काल आवश्यक ४० कानुन निर्माणका लागि ढिलाइ गर्न नहुने बताए । सरकारको आलोचना मात्र नगरेर सुशासन र समृद्धिका लागि एकसाथ काम गर्नुपर्ने उनको भनाइ थियो । रासस

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले आगामी फागुन १ गते निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयानुसार यसअघि राजपत्रमा प्रकाशित उक्त दिन बिदा कायम नरहेको जानकारी दिए । सरकारले जनयुद्ध दिवसका अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको थियो । सर्वोच्च अदालतले उक्त दिन सार्वजनिक बिदा नदिन सरकारलाई आदेश दिएको थियो । यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेशअनुसार फागुन १ गते बिदा कायम नगर्ने निर्णय गरेको थियो । रासस

विश्वका मानिसको मन लोभ्याउने मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने जोकोहीले मनाङलाई हिमालभित्रको जिल्ला पनि भन्ने गर्छन् । यहाँको प्रसिद्ध स्थानका रुपमा रहेको तिलिचो ताल, थोरङ्ला पास, आइस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् । चामेको तातोपानी, ताचैको घरबास (होमस्टे), कजिनसारा लेक (सिङ्गर ताल) लगायतका स्थान मनाङ आउने पर्यटकले छुटाउन नहुने स्थान हुन् । मनाङका हरेक स्थान प्राकृतिक सौन्दर्यताले भरिएको छ । तर मनाङको यात्रा सहज पनि छैन । यहाँको यात्रालाई साहसिक यात्राका रुपमा लिने गरिन्छ । साहसिक यात्रा रुचाउनेका लागि अनौठो अनुभव दिलाउने प्रकारको छ । मनाङमा नजिकबाट हिमाल, हिमाली हावापानी, रमणीय वातावरण, हिमाली वन्यजन्तु र मनमोहक छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ । दन्ते लहर झैँ फैलिएका सेता हिमाल, स्थानीय रहनसहन, मस्र्याङ्दी नदीको सुसाइ, चक्रीय अन्नपूर्ण पदमार्गमा जाने पर्यटकका प्राकृतिक साथी बन्नेछन् । पदयात्रीका लागि आकर्षणको केन्द्र हो मनाङ । प्राकृतिक सौन्दर्यको भण्डार छ । हिउँ पग्लिएर बनेका पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दङ्ग पर्ने गर्दछन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरू प्रकृतिमा हराउने गर्दछन् । सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौती दिएको छ । मनाङ तिब्बतको संस्कृतिसँग मिल्ने जनजीवन, बौद्धमार्गी प्रत्येक गाउँमा गुम्बा, हिमाली जनजीवन र स्वतन्त्र परिवेशमा रहेको भूमि हो । मनाङमा गुरुङ, घले, लामा, थकाली र तिनै जातिसँग मिल्ने वेषभूषा र भाषा बोल्ने गरिन्छ । यहाँ दलित, नेवारबाहेक अन्य जातिको भने बसोबास छैन । तर अहिले व्यापार र अन्य कारणले गर्दा केही जातिका व्यक्तिले मनाङलाई कर्म थलोका रूपमा लिन थालेका छन् । नामकरण र इतिहास जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामकरण भएको पाइन्छ । मनाङ शब्द तिब्बती भाषाको ‘म्हनाङ्’ शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ । तिब्बती भाषामा ‘म्ह’को अर्थ सहायता र ‘नाङ’को अर्थ देऊ भन्ने हुन्छ । विकट भौगोलिक परिवेशमा रहेको र बाह्य सहायताविना जनजीवन अतिकष्टकर रहेको भन्ने अर्थमा बुझ्नुपर्ने हुन्छ । सन् १७८१ मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकीकरण हुनुअघि यो जिल्ला लमजुङ राज्यकै एक अङ्गका रूपमा रहेको थियो । पछि यस जिल्लालाई पश्चिम ३ नं गोश्वाराअन्तर्गत पोखरास्थित बडाहाकिममार्फत राखी प्रशासन सञ्चालन गरियो । विसं २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा गण्डकी अञ्चलअन्तर्गत एउटा छुट्टै जिल्लाका रूपमा स्थापित भएको हो । त्यतिबेला मनाङको सदरमुकाम लमजुङ जिल्लाको बाहुनडाँडामा राखियो । बाहुनडाँडा मनाङ जाने मार्गमा पर्दछ । मनाङबाट प्रतिनिधित्व गर्ने पञ्च नेता पनि लमजुङबाट मनोनीत हुन थाले । मनाङवासीलाई यो भूमि नेपाल हो । तपाईं नेपाली हुनुहुन्छ । त्यसैले अब तपाईंले नेपाल सरकारको ऐन नियम पालना गर्नुपर्दछ भन्ने कुरा सिकाउनुप¥यो । लामो समयपछि तल्लो भेगका मनाङवासी सरकारको कुरामा सहमत भएपछि बल्ल सदरमुकाम मनाङ जिल्लाको थोँचेमा सारिएको थियो । सदरमुकाम थोँचेमा रहे पनि उपल्लो मनाङेले पूर्णरुपले सरकारलाई समर्थन गरेनन् । पछि राजा महेन्द्रले मनाङ जिल्लाको भ्रमण गरी उपल्लो मनाङीलाई तेस्रो मुलुकमा विनाभन्सार व्यापार गर्न दिने व्यवस्था मिलाएपछि थोँचेको सदरमुकाम अहिलेको सदरमुकाम चामेमा सारिएको हो । महेन्द्रको हुकुम प्रमाङ्गीको आदेशमा विनाभन्सार तेस्रो मुलुकसँगको व्यापार गर्न पाउनेमा उपल्लो मनाङका बासिन्दा मात्र भए । मनाङको पनि अतिदुर्गम मानिने नार र फू गाउँ एवं तल्लो मनाङका बासिन्दा त्यो सुविधाबाट वञ्चित भएका थिए । त्यसको परिणाम अहिले मनाङमा दुई खाले जनजीवन देखिन्छ । उपल्लो मनाङवासी आर्थिकरुपले सम्पन्न छन् । तर अन्य भूभाग अर्थात् तल्लो भेगका मनाङवासीको अवस्था भने सामान्य नै रहेको पाइन्छ । अहिले मनाङलाई चार स्थानीय तहमा विभाजन गरिएको छ । चामे, नासोँ, ङिस्याङ र नार्पाभूमि गाउँपालिका नामकरण गरिएको छ । मनाङको कुल क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग वर्गकिलोमिटर रहेको छ । भौगोलिक अवस्थिति मनाङको भौगोलिक अवस्थितिका हिसाबले २८ डिग्री २७ मिनेटदेखि २८ डिग्री २८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ४० मिनेट पूर्वी देशान्तरदेखि ८४ डिग्री ३४ मिनेट पूर्वी देशान्तरमा फैलिएको छ । उचाइको हिसाबले यस जिल्ला समुन्द्री सतहबाट एक हजार छ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्मको उचाइमा रहेको छ । चार वटा गाउँपालिका, २८ वटा वडा तथा ३५ भन्दाबढी ग्रामीण बस्ती रहेका छन् । यस जिल्लाको सिमानापूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ । जिल्लाको भौगोलिक सुन्दरताको बयान गर्दा अति नै लोभ लाग्दा दृश्य, तरेली परेका अग्ला भिराला पहाड र उच्च हिमशृङ्खलाजस्ता विशेषता छन् । यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन् । थुप्रै स्वदेशी तथा विदेशी पर्यटक, पदयात्रीको गन्तव्य मार्ग अन्नपूर्ण पदमार्ग, बहुमूल्य जडीबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डको बेजोड सङ्गम भएको मनाङ जिल्ला प्राकृतिकरुपमा धनी मानिन्छ । त्यसले गर्दा यहाँका प्राकृतिक सौन्दर्यले विश्वका मानिसलाई लोभ्याउने गरेको छ । रासस

अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै, दाँत किरा लाग्नबाट बचाउने उपाय

काठमाडौं । मानिसलाई सुन्दर बनाउने मुख्य काम दाँतले पनि गर्दछ । बाहिरी अङ्ग भएकाले पनि पहिलो नजर मासिनको दाँतमा नै पर्ने गर्दछ । दाँत सफा, चट्ट मिलेको र हाँस्दा राम्रो देखियो भने मानिसको सुन्दरता झल्किन्छ । त्यही दाँत बाङ्गोटिङ्गो, मुख बाहिर निस्केको भयो भने मानिसको सुन्दरतामा पनि कमी आउँछ । हो, त्यही दाँत बनाउने र उपचारका लागि अहिले मानिसहरुले धेरै नै खर्च गर्ने गरेका छन् । अधिकांश व्यक्तिमा दाँतसम्बन्धी कुनै न कुनै समस्या हुने गरेको पाइएको छ । दाँतको हेरचाह राम्रोसँग नगर्दा समस्या हुने गरेको चिकित्सकले बताएका छन् । गुलियो, टाँसिने खानेकुरा जस्तै चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा धेरै जसोको दाँतमा किरा लाग्ने गरेको छ । बच्चा पनि धेरै गुलियो खानेकुरा खाँदा र दाँत नमाँझ्ने किराले खाने गरेको छ । वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा डा शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिसहरु दाँतको उपचारमा आउने गरेको बताउँछन् । उनका अनुसार तीमध्ये ७५ प्रतिशत दाँतका किरा लागेका बिरामी हुने गर्दछन् । ‘पहिले दाँतमा किरा लागेपछि फाल्ने गर्दथे भने अहिले धेरै जसो दाँत बचाउनका लागि आउने गरेका छन्’ उनले भने, ‘दैनिक दाँतका बिरामी बढिरहेकाले थेग्न सक्ने अवस्था छैन ।’ अस्पतामला दन्त विभागअन्तर्गत दाँत भर्ने, सफा गर्ने, गिजा रोग, दाँत फाल्ने र शल्यक्रिया गरि पाँच शाखा रहेका छन् । ती शाखामा दैनिक सय जना नयाँ दाँतका बिरामी आउने गर्दछन् । तीमध्ये दैनिक ५० जना बिरामीको दाँत भर्ने गरेको विभागका प्रमुख डा. प्रधानले बताए । उनले दाँतमा किरा लाग्नुबाहेक मानिसहरु दाँत राम्रो देखाउनका लागि पनि अस्पतालमा आउने गरेको बताए । उनका अनुसार बाङ्गोटिङ्गो दाँत मिलाउनका लागि मानिसहरु धेरै आउने गर्दछन । बच्चा तथा युवाको विग्रेको बाङ्गो दाँतलाई स्टिलको तारले बाँधेर दुई वर्षभित्र मिलाउन सकिने उनको भनाइ रहेको छ । दाँतको उपचार छ/छ महिना गर्नुपर्ने सुझाव चिकित्सकले दिन्छन् । किराले खान थालेको कसरी थाहा पाउने ? हाम्रो मुखमा सात सय प्रकारका सुक्ष्म जीवाणु रहेका हुन्छन् । खानेकुरा खाएर दाँत सफा गरेन, मुख स्वस्थ्य राखेन भने जीवााणुले खानासँग रियाक्सन प्रतिक्रियां गरेर एसिड निकाल्ने गर्दछ । त्यही एसिडले दाँत विस्तारै खाने गर्दछ । एसिडले विस्तारै दाँतको बाहिरको सेतो भाग (इनामेल) खाने गर्दछ । विस्तारै जीवाणुले इनामेलको भित्र रहेको डेन्टिङ (कम कडा भएको) पल्प (दाँतको नशा) सम्म पुग्यो भने दाँत दुख्ने गर्दछ । दाँत सुरुमा किराले खाएको थाहा पाउनका लागि गुलियो पदार्थ खादा दाँत सिरिङसरिङ गर्ने गर्दछ । अनि किराले अलि भित्र खाएको छ भने चिसो पानी खाँदा दाँत  सिरिङ हुन्छ । अलि बढी नै दाँत किराले खान थाल्यो भने तातोपानी खाँदा दाँत सिरिङ हुने गर्दछ । तातो खादा दाँत सिरिङ गर्न थाल्यो भने दाँत धेरै नै दुख्न थालेको हुने विभागका प्रमुख डा. प्रधानले बताउँछन् । त्यसपछि दाँतको जरादेखि नै उपचार आरसिटी (रुट क्यानल ट्रिटमेन्ट) गर्नुपर्दछ । मुखमा रहेका सुक्ष्म जीवाणु गिजाको वरिपरी लेउ बनाएर बस्ने गर्दछ । त्यसलाई सफा गर्न बिहान बेलुका नै राम्रोसँग दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि विहान र बेलुका दुई मिनेटसम्म नरम ब्रसले कम्तिमा दुई मिनेटसम्म दाँत माझ्नुपर्दछ र हरेक पटक केही कुरा खाएपछि मुख कुल्ला गर्नुपर्ने सुझाव डा. प्रधानको रहेको छ । दाँत माझेन भने सुक्ष्म जीवाणु दाँतको वरिपरि जम्मा हुने गर्दछ । त्यही सुक्ष्म जीवाणुले गर्दा पछि दाँतमा किरा लाग्ने गर्दछ । वरिष्ठ दन्त चिकित्सक प्रा. डा. प्रधानले मानिसलाई पटक–पटक खानेकुरा नखाने पनि सुझाव दिनुहुन्छ । ‘पटकपटक खायो भने खाना मुखमा रहिरहन्छ । यसले गर्दा मुखमा अम्लीय भइरहन्छ र दाँत किराले खाने गर्दछ,’ उनले भने, ‘छिनछिनमा खानेकुरा खाने मानिसमा दाँतको समस्या बढी हुने गर्दछ ।’ उनका अनुसार चाउचाउ, चकलेट, चिजबलजस्ता गुलियो खानेकुरा दाँतको वरिपरी टाँसिएर बस्ने र तत्काल मुख सफा नगर्ने भएपछि जीब्रोमा सुक्ष्म जीवाणु हुने र त्यही जीवाणु दाँतमा बस्ने भएपछि दाँत किराले खाने गर्दछ । दाँत बचाउने उपाय के हुन सक्छ  ? उनले दाँतको उपचार अन्यभन्दा खर्चिलो र समय धेरै लाग्ने समेत बताउँछन् । नेपाल र भारतमा दाँतको सामान बाहिरबाट आउने भएकोले महङ्गो पर्ने भएकाले सर्वसाधारणले दाँतको उपचार गर्नका लागि समस्या हुने उनको भनाइ रहेको छ । उनले एक जना विरामीको सामान्य उपचार गर्दा कम्तिमा चार पाँच दिन लाग्ने र  आरसिटी, दाँत बाध्नुपर्ने र नयाँ दाँत हाल्नुपर्ने भएपनि महिनौं बिरामी अस्पतालमा आउनुपर्ने बाध्यता रहेको छ । ‘दाँत उपचारको स्वास्थ्य बीमा पनि नगरेकाले अझै सर्वसाधारण दाँतको उपचारबाट बञ्चित रहेका छन’, उनले भने, ‘सर्वसाधारणलाई दाँतको उपचारमा सेवा पुर्याउनका लागि स्वास्थ्य बिमामा आबद्ध गर्नुपर्दछ ।’ पहिलेपहिले मानिसले दाँत किराले लागे भने फाल्ने गर्दथ्ये । तर अहिले मानिसहरुमा चेतना आएपछि दाँतको उपचार गरेर सकभर बचाउने गर्दछन् । अस्पतालका गिजा रोग विशेषज्ञ डा रञ्जिता श्रेष्ठ गोर्खालीले सकभर दाँत बचाउनुपर्ने सुझाव दिन्छन् । उनले दाँत फाल्दा खानपिनमा फरक पर्ने भएकाले दाँत बचाउन सुझाव दिन्छन् । ‘दाँतले राम्रोसँग खानेकुरा चपाएर खाएनौँ भने हाम्रो स्वास्थ्यमा नै असर पर्ने गर्दछ’, उनले भने, ‘त्यही भएर हामीले सकभर दाँत फाल्न हुँदैन ।’ अस्पतालमा आउने दाँतका बिरामीमा दाँतसँगै गिजाबाट रगत आउने पनि समस्या देखिएको छ । सुरुसुरुमा ब्रस गर्दा गिँजाबाट रगत आउने गर्दछ । त्यसको उपचार नगरेपछि पछि स्याउ, गाजर, टोक्दा रगत आउने गर्दछ । त्यसलाई पनि उपचार नगर्दा गिँजामा छोयो कि रगत आउनेजस्ता समस्या देखिने गर्दछ । गिजाको रोग २५ वर्षपछि मानिसमा देखिने गरेको छ । दाँतका बिरामीलाई मधुमेह, मुटुको रोग, बिर्सने रोग (अल्जाइमर) रोग जस्ता थप रोग लाग्ने गर्दछन् । दाँत किराबाट बचाउने के गर्ने ?  दाँत रोग गुलियो खानेकुरा, दाँतमा टाँसिने खालका खानेकुरा चाउचाउ, चकलेट, चिजबलजस्ता खानेकुरा खाँदा लाग्ने गर्दछ । यस्तै चुरोट खाने मानिसलाई दाँत किराले धेरै खाने गरेको छ । चुरोट सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई रोगसँग लड्ने क्षमता कम हुने गर्दछ र त्यस्ता मानिसको गिँजा दुख्ने तथा दाँत झर्ने समस्या हुने गरेको छ । बच्चाले दाँत नमाझ्ने धेरै किराले खाने गर्दछ । दाँत बचाउनका लागि खानेकुरा खाएपछि कुल्ला गर्ने, बिहान उठनासाथ दाँत माझ्ने गर्नुपर्दछ । खाना खाइसकेपछि दाँत माझ्दा किराले खाँदैन । बिहान खाना खाएपछि दुई तीन घण्टा केही खानु हुँदैन । राति सुत्दा अनिवार्य रुपमा दाँत माझ्नु पर्दछ । दिउँसो थुक धेरै आउने भएकाले थुकले सुक्ष्म जीवाणुलाई भित्र लैजान्छ । राति मुखबाट थुक कम आउने र त्यही थुक मुखमा रहिरहने भएकाले दाँतको वरिपरि सुक्ष्म जीवाणु फैलिने हुँदा सुत्नुअघि पनि दाँत माझ्नु आवश्यक रहेको उनको भनाइ छ । हरेक तीन/तीन महिना बु्रस फेर्नुपर्दछ । कडा नभई नरम ब्रसले दाँत माझ्नु पर्दछ । कडा ब्रसले दाँत माझ्दा दाँतको इनामेललाई असर पुर्याउने गर्दछ । एकपटकमा ठूलो केराउको दाना जति पेस्ट राखेर माझ्न सकिन्छ । दाँत माझेपछि त्यही ब्रसले जिब्रो पनि सफा गर्नुपर्छ । अस्पतालमा ठाउँको अभाव वीर अस्पतालमा दाँतको उपचार गुणस्तरीय र राम्रो भएकाले उपचारका लागि बिरामीलाई पालो पाउन नै समस्या हुने गरेको छ । थोरै जनशक्ति र बिरामीको चापले गर्दा दाँतको उपचारका लागि पालो पाउन समस्या हुने गरेको विभागका प्रमुख डा. प्रधानले बताए । अन्य भन्दा वीर अस्पतालमा दाँतको उपचार ५० प्रतिशत सस्तो रहेको छ । ‘हाम्रोमा अन्य भन्दा गुणस्तरीय र सस्तो सेवा रहेको,’ उनले भने, ‘त्यही भएर बिरामीको भीड हुने गर्दछ र पालो पाउन समस्या हुने गरेको छ ।’ अहिले दन्त विभागमा चिकित्सकलाई पनि उपचार गर्नका लागि पर्याप्त मात्रामा बस्ने ठाउँको अभाव रहेको छ । दन्त अस्पताल बनाउने पर्दछ भनेर सम्भाव्यता अध्ययन भएको तर त्यो त्यतिकै भएको अस्पतालका दन्त विभागका प्रमुख प्रा. डा. प्रधान बताउँछन् । अस्पतालमा अहिले सात जनाले मास्टर एण्ड डेन्टल सर्जरीस्नातकोत्तर अध्ययन गरिरहेका छन् । अन्तर्राष्ट्रियस्तर उपचार सेवा नेपालमै   नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ । अस्पतालका गिजा रोग विशेषज्ञ डा रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताए । उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ । उनले डिजिटल स्क्यान गरेर कुन आकारको दाँत बनाउने भन्ने प्रविधि पनि अस्पतालमा रहेको बताए । ‘विदेशमा गरिने सवै विशेषज्ञ सेवा हामीले यही नेपालमा नै दिने गरेका छौ,’ उनले भने, ‘दाँत उपचारका लागि कोही पनि विदेश जानु पदैन ।’ उनका अनुसार बाङ्गोटिगो दाँत मिलाउने, मुख खोल्न नसक्नेको उपचार, ढाड नभएको ठाउँमा ढाड राखेर दाँत राख्ने, चिउडो बाहिर आउनेको मुखको आकृति मिलाउने, दाँतको टोकाई नमिलेकोलाई मिलाउने, कस्टमेटिक सर्जरी जस्ता उपचार नेपालमा नै हुने गर्दछन् । नेपालमा दैनिक रुपमा दाँतका बिरामी बढे पनि गुणस्तरिय उपचार अस्पतालले दिन नसकेको छैन  । ‘नेपालमा दन्त चिकित्सकका प्रसस्त जनशक्ति रहेका छन् । तर राज्यले सर्वसाधारणलाई उपचार दिन छैन,’ प्रमुख प्रा डा. प्रधानले भने, ‘राज्यले सरकारी अस्पतालमा दरबन्दी बढाउनु पर्दछ । दाँतको छुट्टै अस्पताल खोलेर सर्वसाधारणलाई उपचारको पहुँच पुर्याउन आवश्यक रहेको छ ।’ उनका अनुसार अहिले १२ वटा शिक्षण संस्थामा वार्षिक ५०० भन्दा बढी दन्त चिकित्सक र सात वटा शिक्षण सस्थाबाट स्नातकोत्तर तहबाट सयभन्दा दन्त रोग विशेषज्ञ उत्पादन भइरहेका छन् । तर सरकारले ५० भन्दा बढी मात्र दन्त चिकित्सकको दरबन्दीमा राखेको छ । सरकारी सेवामा पर्याप्तमात्रामा दरबन्दी नहुँदा दन्त चिकित्सक क्लिनिक सञ्चालन गरेर बसेका छन् । नेपालमा पर्याप्त जनशक्ति खपत नभएपछि ५० प्रतिशत दन्त चिकित्सक राम्रो सेवा सुविधाका लागि अमेरिका र अष्ट्रेलियामा समेत जाने गरेको उनको भनाइ छ । उत्पादन भए पनि दरबन्दी नभएर सरकारी अस्पतालमा दन्त चिकित्सकको अभाव रहेको प्रा डा प्रधान बताउँछन् । अस्पतालमा अहिले स्थायी र करारमा ४० जना दन्त चिकित्सकले सेवा दिइरहेका छन् । रासस

चितवनको बाँदरझुला अझै अँध्यारोमा, छिट्टै विद्युत् पुर्याउने विद्युत प्राधिकरणको प्रतिबद्धता

काठमाडौं । चितवनको माडी नगरपालिका-९ बाँदरझुला (हनुमानझुला)मा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बाँदरझुलामा विद्युतीकरणका लागि दुई वर्षअघिनै साढे २ करोड रुपैयाँ बजेट विनियोजन गरी टेण्डर आह्वान गरेको थियो । तर, चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलले आफ्नो मध्यवर्ती क्षेत्रमा रहेको अव्यवस्थित बस्तीलाई प्रोत्साहन गरी अतिक्रमणलाई बढावा मिल्ने गरी कुनै योजना सञ्चालन नगर्न पत्राचार गरेपछि विद्युतीकरणका लागि गरिएको टेण्डर प्रक्रिया रोकिएको थियो । निकुञ्जले बाँदरझुला क्षेत्रमा कुनै योजना सञ्चालन नगर्न र विनाअनुमति गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली,२०५२ बमोजिम कारबाही हुने जानकारी गराएको थियो । चितवनको बिकटमा पर्ने बाँदरझुला क्षेत्र पर्साको ठोरी र भारतीय सीमासँग जोडिएको क्षेत्र हो । चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्र दावी गरेको बाँदरझुलामा करिब ८ सय घरपरिवारका ३ हजार पाँच सयजनाभन्दा बढी जनसङ्ख्या बसोबास गर्दै आएका छन् । निकुञ्चले भने आफ्नो क्षेत्र अतिक्रमण गरेर बस्ती बसेकाले उक्त बस्तीलाई अन्यत्रै स्थानान्तरण गर्नु पर्ने बताउँदै आएको छ । उक्त क्षेत्रमा २०४७ साल कात्तिकबाट बसेकाले वर्षोंदेखि आफूले भोगचलन गर्दै आएको जग्गामा स्थानीयले आफ्नो दावी गर्दै आएका छन् । राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न नसकेपछि केहीले सौर्य ऊर्जाबाट विद्युत् प्रयोग गरिरहेका छन् । उक्त क्षेत्रभन्दा करिब २ किलोमिटर दूरीमा पर्ने पर्साको ठोरीसम्म विद्युत् पुगिसकेको छ । विद्युतीकरणको समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, हेटौंडा प्रदेश डिभिजन कार्यालयका प्रमुख, चनौली वितरण केन्द्र प्रमुखलगायत सम्मिलित टोलीले आइतबार बाँदरझुला क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीयहरुसँग अन्तक्रिया गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बाँदरझुला क्षेत्रमा विद्युत् पुर्याउन बजेट विनियोजन गरी काम गर्न टेण्डर आह्वान गरी प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा निकुञ्जको कानुनी व्यवस्था र प्रक्रियाका कारण विद्युतीकरण गर्न नसकिएको बताए । बाँदरझुलाको बस्ती स्थानान्तरण गरिएमा विद्युत्का संरचना पनि हट्ने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले घर/बस्ती भएको क्षेत्रमा विद्यु्त् पुर्याउनु प्राधिकरणको दायित्व भएकाले यसका लागि बजेट सुनिश्चित गरी प्रारिम्भिक काम भइसकेको बताए । ‘विदेशी शरणार्थीलाई त राज्यले न्यूनतम सुविधा दिनु पर्छ भने आफ्नै देशका नागरिकलाई विद्युत्जस्तो आधारभूत सुविधाबाट बञ्चित गर्न मिल्दैन, बस्ती स्थानान्तरण गर्ने नगर्ने/राज्यको विषय होला, पूर्ण विद्युतीकरण गर्न लागिरहेको अवस्थामा घर/बस्ती भएको त्यसमा पनि गर्मी हुने ठाउँमा बसिरहेका नागरिकलाई जसरी पनि विद्युत् उपलब्ध गराउनुपर्छ’, घिसिङले भने । ‘आगामी दिनमा बस्ती स्थानान्तरण गरिएमा विद्युतका संरचना सार्न सकिहालिन्छ, त्यसैले बाँदरझुलामा चाँडो विद्युत् पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ उनले बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका कारण जितपुर सिमरा उपमहानगरपालिका-१६स्थित टाँगियाबस्तीबा बासिन्दा पनि वर्षौंदेखि अँध्यारोमा बसिरहेको अवस्थामा पछि बस्ती हटाएमा विद्युत्का संरचना पनि सोहीअनुसार हुने गरी विद्युतीकरण गरिएको उल्लेख गरे । माडी नगरपालिका-९का वडाध्यक्ष घनश्याम दुवाडीले निकुञ्जले सहज रुपमा काम गर्न नदिंदा नदिंदै पनि व्यवाहारिक रुपमा सङ्घ, प्रदेश र स्थानीय तहबाट बाँदरझुला क्षेत्रको विकासमा लगानी भइरहेकाले विद्युतीकरण तत्काल अगाडी बढाउन आग्रह गरे । ‘बाँदरझुलामा एउटा माध्यमिक, २ वटा आधारभूत विद्यालय,सशष्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट, स्वास्थ्य संस्था छन्, तर विद्युत् अभावमा विद्यालयका विज्ञानप्रयोगशाला र स्वास्थ्य चौकीमा स्थापना गरिएको वर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालन गर्न सकिरहेका छैनौं, त्यसैले तत्काल विद्युत् जोडिदिनु पर्छ ।’ स्थानीय बासिन्दा दिलिप विकले भारतसँग सीमा जोडिएको बाँदरझुलाबासीले विनावर्दीका सिपाइको रुपमा सीमा रक्षकको रुपमा काम गरिरहेको अवस्थामा मध्यवर्ती क्षेत्र घोषणा हुनुभन्दा पहिलेको बस्तीलाई स्थानान्तरणका नाममा विद्युत् सुविधाबाट वञ्चित गराइएको बताए ।