अर्थमन्त्री डा. महतले २ खर्बले घटाए बजेट
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष (आव) को बजेट २ खर्ब रुपैयाँले घटाएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित चालु वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै अर्थमन्त्री डा. महतले बजेटको आकार २ खर्ब २१ अर्ब रुपैयाँले घटेको बताएका हुन् । अर्थ मन्त्रालयले चालु आवको लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । जसलाई संशोधन गर्दै अर्थमन्त्री डा. महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् ।
लक्ष्यअनुसार खर्च र आम्दानी नहुने देखियो : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारको लक्ष्यअनुसार आम्दानी र खर्च नहुने बताएका छन् । सोमबार चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको मध्यावधि समीक्षा गर्दै उनले सरकारले बजेटमार्फत् लिएको लक्ष्य र खर्च हुने नदेखिएको बताएका हुन् । उनले आर्थिक वर्ष सकिन ६ महिना मात्रै बाँकी रहेकोले सरकारको लक्ष्य अनुसारको आम्दानी नहुने र खर्च पनि कठिन हुने देखिएको बताएका हुन् । उनले १५ खर्ब २० अर्ब मात्रै खर्च हुने अनुमान गरेको बताएका छन् । अर्थमन्त्री महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए । चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब ६२ करोड मात्रै खर्च हुने बताए । जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.८४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए । वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ । सरकारले लक्ष्यअनुसार नै आन्तरिक अण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान रहेकाे बताए । यस्तै, उनले अर्थतन्त्र सकारात्मक दिशातर्फ अगाडि बढिरहेको बताएका छन् । ‘बैंकिङ क्षेत्रमा सुधार आएको छ, ब्याजदर घटिरहेको छ, बिप्रेषण मुद्रा बढेको छ, सोधानान्तरमा सुधार भइरहेको छ, पर्यटन क्षेत्रमा सुधार आएको छ,’ उनले भने । उनले खर्च कम भएकोमा चिन्ता पनि व्यक्त गरेका छन् । ‘खर्च कम भयो भन्नेमा चिन्ता छm बहुवर्षीय ठेक्का दिँदा दायित्व भुक्तानी गर्न गा¥हो भयो भनेर मापदण्ड बनाएका छौं, इन्धनलाई पनि सीमित गरेका छौं, अब अब पुँजीगत खर्चको रफ्तार बढ्छ,’ उनले भने ।
डलर देखाइ ठगी गर्ने फरार व्यक्ति पक्राउ
काठमाडौं । डलर देखाइ नौ लाख रुपैयाँ ठगी गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ घर भई हाल बूढानीलकण्ठ नगरपालिका–५ टुसाल बस्ने २६ वर्षीय दिलकुमार लामा रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए । उनका अनुसार तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ घर भई हाल काठमाडौं टेकु बस्ने ३२ वर्षीय गिरिराज लिम्बूलाई डलर देखाइ ठगी गरी फरार रहेका निज लामालाई आइतबार बूढानीलकण्ठ–५ टुसालबाट पक्राउ गरी आज सार्वजनिक गरिएको हो । लिम्बूलाई ४० हजार डलर साट्ने प्रलोभनमा पारी गत कात्तिक २३ गते भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मुहानेपोखरी बोलाइ रुमालको पोको दिइ नौ लाख रुपैयाँ लगी गएकामा रुमाल खोली हेर्दा उक्त रुमालमा कागज रहेको हुँदा ठगी भएको भनी पीडितले निवेदन दिएको प्रहरीले जनाएको छ । डलर देखाई ठगी गर्ने कार्यमा संलग्न अर्का व्यक्ति सिन्धुपाल्चोकको बाह्रबिसे–४ बस्ने वर्ष ३६ का अमृतकुमार लामालाई गत मङ्सिर २१ गते प्रहरीले पक्राउ गरिसकेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक पाठकले बताए । रासस
१५ अकंले बढ्यो नेप्से परिसूचक, ५ कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ३३ अकंले उकालो लागेर दुई हजार एक सय एक दशमलव १६ मा पुगेको हाे । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २४ अकंले उकालो लागेर तीन सय ७५ दशमलव ९९ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये १२ उपसमूहको सेयर मूल्यमा उकालो लागेको छ भने एक उपसमूहको सेयर मूल्य ओरालो लागेको छ । कूल एक करोड एक लाख आठ हजार एक सय २२ कित्ता सेयर तीन अर्ब ५८ करोड रूपैयाँ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड दुई लाख ३५ हजार चार सय ४९ रुपैयाँ बराबरको कारोबार भयो । यस्तै एनआरएन इन्फास्टकचर १६ करोड ३० लाख २५ हजार एक सय ७६ रुपैयाँ, एनआइसी एशिया बैंक १३ करोड ७७ लाख ४७ हजार तीन सय ९८ रुपैयाँ, नेपाल इन्स्योरेन्स ११ करोड ३७ लाख तीन हजार दुई सय ९४ रुपैयाँ र सोनापुर मिनरल्स १० करोड २७ लाख ११ हजार सात सय २८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु, समाज लघुवित्त, कुर्थली बुखरी स्मल हाइड्रोपावर, चिर्खवा हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बलेफी हाइड्रोपावरका लगानीकर्ताले भने नौ दशमलव ९८ प्रतिशतले कमाएका छन् । यस्तै एनआइसी एशिया ग्रोथ फण्ड दोस्रो आठ दशमलव ८९, इमर्जिङ नेपाल तीन दशमलव ८६, मिड सिन्धु हाइड्रोपावर तीन दशमलव १८, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम तेस्रो दुई दशमलव ७९ र एसबीएल डिवेञ्चरका लगानीकर्ताले दुई दशमलव शून्य सात प्रतिशतले गुमाएका छन् ।
त्रिविका निमित्त उपकुलपति लम्साललाई तत्काल पदबाट हटाउनुपर्छ : सांसद श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को निमित्त उपकुलपति प्रा. डा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छिन् । सोमबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले सो माग गरेकी हुन् । सांसद श्रेष्ठले निमित्त उपकुलपति भुसालले आफैं उपकुलपति हुने नियतका साथ गतिविधि गरेकाले उनलाई सरकारले तत्काल पदबाट हटाउनुपर्ने जिकिर गरिन् । निमित्त उपकुलपति लम्सालले भागबण्डा गर्ने हिसावले त्रिविमा आफ्नो गतिविधि बढाएको भन्दै त्यस्ता व्यक्ति त्रिविको उपकुलपति हुन लायक नहुने दाबी समेत गरिन् । लम्सालको नाम त्रिविको उपकुलपति क्यान्डिडेटको सर्ट लिस्टबाट पनि हटाउनुपर्ने सांसद श्रेष्ठको भनाई थियो । ‘कार्यकारीले त्यस्तो गर्न पाउँदैन । त्यो कानूनसम्मत नै भएन । नम्बर वान त्यो हो क्या । तर कार्यबहाकले त्यस्तो भन्न पाउँदैन । त्यो चाहीँ कानूनसम्मत भएन । अहिलेको टियुको कार्यबहाकले आफ्नो क्षेत्राधिकार मिचेर आफू नै पछि हुने हिसावले मैले जति सक्छु भागबण्डा गर्छु भन्ने ध्ययले काम गर्छ भने त्यो मान्छे टियुको भिसी हुन लायक भएन’, उनले भनिन् । सांसद श्रेष्ठले राजनीतिक भागबण्डाको आधारमा विश्वविद्यालयको गतिविधि गर्ने कुरा कानून सम्मत नहुने भएकोतर्फ पनि सरकारको ध्यानाकर्षण गराइन् ।
दानबहादुर श्रीषको पौरख : पाखो जग्गा बन्यो कागती बगैँचा
गलकोट । भिरालो पाखो जमिन । चारैतिर झाडीले घेरिएको । जनशक्ति अभावमा बाँझिएको उक्त जग्गाले पाँच वर्षपछि हराभरा होला भनेर कसैले सोचेकै थिएनन् । पाँच वर्षअघिको झाडीले घेरिएको बाँझो जग्गाको अहिले स्वरुप फेरिएर हराभरा मात्रै बनेन पहिलोपटक कागती बिक्रीबाट ६ लाख रुपैयाँ कमाइ गर्यो । बाँझो जग्गामा कागतीको सम्भावना देखेका बागलुङको गलकोट–११ रिघाका ३५ वर्षीय दानबहादुर श्रीषले चार वर्षअघि लगाएका एक हजार दुई सय बिरुवाबाट पहिलो पटक उत्पादित कागती काठमाडौं र पोखरा निर्यात भइसकेको छ । श्रीसले कागतीखेती गर्ने उदेश्यले उक्त जग्गा खरिद गरेका थिए । झाडीले घेरिएको त्यही बाँझो जग्गामा अहिले लटरम्म कागती फलेका छन् । गाउँको बाँझो रहेको जमिन खरिद गरेर २०७६ साउनमा कागतीका बिरुवा लगाएका श्रीषले पहिलो पटक लाख रुपैयाँको कागती बिक्री गरेको बताए । बाँझो भएको पाखोबारीलाई सदुपयोग गरी ३६ रोपनी जग्गामा व्यावसायिक कागतीखेती गरेका हुन् । ‘कागतीको सम्भावना देखेपछि ३६ रोपनी जग्गामा कागतीखेती थालेको २०७६ सालमा हो, पाँच वर्ष पूरा हुँदा कागती फल्यो, पहिलो वर्ष नै छ हजार किलो कागती उत्पादन भएको थियो, थोक मूल्य एक सय रुपैयाँ प्रतिकिलोका दरले कागती बिक्री गरे’, उनले भने, ‘खाली र झाडी बन्दै गएको जमिनमा कागतीखेतीसहित बाख्रापालनको उदेश्य थियो, बाख्रापालन छाडे, अब कागतीबाट राम्रो सम्भावना देखेको छु ।’ जग्गा खरिद, व्यवस्थापन, बिरुवा खरिदसँगै हालसम्म ३० लाख रुपैयाँ लगानी गरिसकेको श्रीष बताउँछन् । तीव्र बसाइँसराइका कारण बाँझो जग्गा खेर जान थालेपछि गाउँमै व्यावसायिकरूपमा कृषिउद्यम गर्ने सोचमा पुगेपछि श्रीष कृषि तथा पशु फर्म दर्ता गरेर कागतीखेतीमा आकर्षित भएका हुन् । गलकोटसहित छिमेकी बजारको कागती आयात प्रतिस्थापन गर्नका लागि कागतीखेतीमा लागेको उनको भनाइ छ । बजारमा भारतबाट आयात गरिएको कागती भित्रिएको देखेपछि कागतीखेती गर्ने सोचमा पुगेर दैलेखबाट बिरुवा ल्याएर रोपेको श्रीषको कागती बगैचा अहिले हराभरा भएको छ । हजुरबाबा भीमबहादुर श्रीषको प्रेरणाले स्वदेशमै केही गर्ने सोच पलाएको यूवा कृषक श्रीष बताउँछन् । ‘युवाहरु उत्पादनसँग नजोडिने हो भने विदेश पलायनको विकल्प नहुने अवस्था अहिले विद्यमान छ, कागती खेतीलाई सय रोपनीभन्दा बढी जग्गामा विस्तार गर्ने योजनामा छु’, उनले भने, ‘सरकारी तहले युवा किसानलाई प्रेरित गर्न आवश्यक छ, सामान्य अनुदानका कार्यक्रमले मात्रै ठूलो फार्मलाई राहत हुँदैन ।’ नगरपालिकामा व्यावसायिकरूपमा कागती खेतीको राम्रो सम्भावना भएकाले नगरपालिकाले कागतीका बिरुवामा अनुदानको कार्यक्रम समावेश गर्दै आएको गलकोट–११ का वडाध्यक्ष श्रीषको भनाइ छ । समुद्री सतहबाट एक हजार तीन सय मिटरसम्म कागतीखेतीको राम्रो सम्भावना भएका कारण नगरपालिकाले कागतीखेतीमा अनुदान दिँदै आएको पाइएको छ । गलकोटमा पछिल्लो समय कागतीखेती फस्टाउन थालेको छ । गलकोटका एक दर्जनभन्दा बढी किसान अहिले कागतीखेतीमा आकर्षित भएका हुन् । रासस
भ्यालेन्टाइन डेको अवसरमा हट एयर बेलुनमा १४ प्रतिशत छुट
पोखरा । यस वर्षको भ्यालेन्टाइन डे (प्रणय दिवस) को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको छ । नेपालमा एक मात्र हट एयर बेलुन सन्चालन गरिरहेको कम्पनी बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिइएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले जानकारी दिए । आधा घन्टा उडानको नेपाली पर्यटकले ९५०० सय रुपैयाँ प्रतिव्यक्ति तिर्नुपर्छ । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा ८१७० रुपैयाँ मा हट एयर बेलुन उड्न सकिने बाडेले जानकारी दिए । छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ । तातो हावाले भरिएको बेलुनमा बसेर हावामा कावा खाँदै मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो हट एयर बेलुन । जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिने यसबाट पोखरा शहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृङ्खला हेर्न सकिन्छ । यस्तै फिसटेल, अन्नपूणर् तथा धौलागिरि हिमश्रृङ्खलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ । बेलुन आकारमा देखिने यसको ‘इनेभेलप’भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा आइसकेपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ । तातो हावाले बेलुनको उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । २१ मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । बास्केटमा आठ जनाले एकैपटक यात्रा गर्न सक्दछन् । बेलुन उडानमा के ख्याल गर्ने ? सूर्योदय मन पर्नेले बिहानको उडान रोज्न सक्छन् भने सूर्यास्त मन पराउनेले साँझको । दिउँसोको समयमा हावाको गति बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ । उचाइको उडान हुने भएकोले पन्जा र टोपीसहित न्यानो कपडा लगाउनु राम्रो हुन्छ । हिल भएको जुत्ता चप्पल भन्दा स्पोर्ट्स जुत्ता लगाउनु उत्तम हुन्छ । टाढा देखिएका दृश्य नजिकै हेर्न मन लागे दूरबिन लैजान सकिन्छ ।
सचिवको टेबलमै थन्कियो एलन मस्कको लगानी प्रस्ताव, नेपालीलाई २० प्रतिशत सेयर दिन अस्वीकार
काठमाडौं । विश्वका धनी तथा चर्चित व्यवसायी एलन मस्कले नेपालमा लगानी गर्न चाहे पनि नेपाल सरकारले प्रक्रिया अगाडि बढाउन सकेको छैन । एलन मस्कको स्याटेलाइट कम्पनी स्टारलिंकले नेपालमा बिनासर्त कम्पनी स्थापना गर्न खोज्दा प्रक्रिया अगाडि नबढेको हो । सञ्चार मन्त्रालयले पनि एलन मस्कले लगानी गर्ने विषयको प्रक्रिया अघि बढ्न नसकेको बताएको छ । एलन मस्कले स्याटेलाइट मार्फत् नेपालमा इन्टरनेट तथा मोबाइल सेवा प्रदान गर्ने उद्देश्यले कम्पनी स्थापना गर्नको लागि प्रस्ताव गरेका थिए । तर, कानुनी प्रक्रियाअनुसार प्रवेश गर्न नचाहेकाले यो विषयलाई स्वीकृति दिने प्रक्रिया अघि नबढेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए । झण्डै एक वर्ष अगाडि एलन मस्कको कम्पनी स्टारलिंकका प्रतिनिधिहरू स्याटेलाइटबाट टेलिफोन सेवा स्थापना गर्न छलफलका लागि नेपाल आएका थिए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार सो टोलीसँग मन्त्रालयको तर्फबाट दुई पटकसम्म छलफल भएको थियो । तर, उनीहरूले नेपालमा भ्वाइस कल तथा इन्टरनेट सेवा सञ्चालनसम्बन्धी विद्यमान कानुनअनुसार कम्पनी स्थापना गर्ने विषयमा तयार नभएपछि थप छलफल अगाडि नबढेको प्रवक्ता सुवेदीले बताए । ‘नेपालमा भ्वाइस कल तथा इन्टरनेट सेवा सञ्चालनको लागि निश्चित कानुनी व्यवस्था छ, उहाँहरूले बिनासर्त आफ्नो कम्पनी दर्ता गरेर सेवा प्रवाह गर्ने प्रस्ताव ल्याउनु भएको रहेछ, त्यसैकारण थप प्रक्रिया अगाडि बढ्न नसकेको हो,’ सुवेदीले विकासन्युजसँग भने । उनले आफू मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा आउनुपूर्व सो द्विपक्षीय छलफल भएको समेत बताए । स्टार लिंकका प्रतिनिधिहरूसँगको दुई पटकसम्मको बैठकमा सहभागी भएका सहसचिवले पनि स्टारलिंकका प्रतिनिधिहरूले बिनासर्त नेपालमा कम्पनी दर्ता गर्ने प्रस्ताव राखेको र त्यसलाई मन्त्रालयले अस्वीकार गरेको बताए । ‘अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालमा सञ्चार सेवा सञ्चालन गर्न २० प्रतिशत नेपाली साझेदार राख्नुपर्छ, प्रयोगकर्ताको तथ्यांक पनि सुरक्षा हुनुपर्छ, त्यसमा पनि उहाँहरू तयार हुनु भएन,’ मन्त्रालयका एक सहसचिवले भने । नेपालमा टेलिकम्युनिकेसन तथा इन्टरनेट सेवा प्रदान गर्दा त्यसको डाटा स्टोरेज नेपालमा नै हुनुपर्ने प्रस्ताव राखेकोमा पनि स्टारलिंक असहमत भएको मन्त्रालयको भनाइ छ । ‘स्टारलिंकले स्याटेलाइटबाट सेवा उपलब्ध गराउँछ । तर, साइबर सुरक्षाको दृष्टिकोणले नेपालीको तर्फबाट प्रयोग भएका भ्वाइस तथा इन्टरनेट सम्बन्धी डाटा नेपाल सरकारको पहुँचमा हुनुपर्छ । अर्थात् डाटा सेन्टर नेपालमा नै हुनुपर्छ, हामीले यो विषय उहाँहरुलाई राख्दा उहाँहरू यो विषयमा तयार हुनुभएन, त्यसैले स्वीकृति नदिएका हौं,’ मन्त्रालयका ती सहसचिवले भने । उनले नेपालमा अहिले पनि केही सेवाग्राहीहरूले स्टारलिंकको स्याटेलाइट इन्टरनेट तथा भ्वाइस सेवा प्रयोग गरिरहेको बताउँदै नेपालमा उपलब्ध टेलिफोन तथा इन्टरनेट सेवाको तुलनामा महँगो भएको पनि बताए । साथै, उनले व्यक्तिगत वा संस्थागत प्रयोजनका लागि प्रक्रिया पूरा गरेर स्टारलिंकको सेवा प्रयोग गर्ने सुविधा सबैलाई रहेको पनि बताए । सरकारले उनको कम्पनीलाई लगानीका लागि स्वीकृति नदिँदा स्टारलिंकको फाइल मन्त्रालयको सचिवको टेबलमै थन्किएको छ । यो विषयमा राजनीतिक तहमा छलफल भइरहेको पनि बुझिएको छ । अहिले स्टारलिंकले विश्वका ७० भन्दा बढी मुलुकमा स्याटेलाइटमार्फत इन्टरनेट तथा मोबाइल सेवा उपलब्ध गराउँदै आएको छ । सो कम्पनीले अहिले मासिक रुपमा न्यूनतम ११० डलर र डिभाइसको शुल्क न्यूनतम ५ सय डलर लिइरहेको छ । जबकी नेपालमा मासिक रुपमा ५ सय रुपैयाँदेखि इन्टरनेट सेवा प्राप्त हुँदै आएको छ ।