काठमाडौं । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरुसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै अध्यक्ष अधिकारीले यस्तो बताएका हुन् । उनले निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनको लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपैयाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको जानकारी दिए ।
उनले आफू नेतृत्वमा आएपछि जहाजहरुको सदुपयोग गर्नुको विकल्प भएको बताए । निमगले महँगो ब्याजदर घटाउनको लागि अन्तर्राष्ट्रिय निकायहरुसँग १ खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको बताए । उक्त लोन २ वा ४ प्रतिशतमा पाइयो भने मँहगो ब्याजदरको पैसा र्फिता गर्ने बताए । अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको जानकारी दिए ।
उनले न्युरोड र सिनामंगलका जग्गाहरुमा निगमको आधुनिक भवनहरु बनाउने योजना रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमल अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताए । त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेश गरेर आर्थिक सहयोग जुटाईदिन माग समेत गरेको जानकारी दिए ।
उनले यो विषयमा लगानीबोर्ड पनि चासो राखेको पनि बताए । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्ने अनुमान रहेको बताए । निमगको ह्याङ्गर बनाउनको लागि मात्र ५ अर्ब बढी रकम लाग्ने अनुमान रहेको जानकारी दिए ।
‘नेपाल वायुसेवा निगमको १३ जिल्लाका २३ ठाउँमा जग्गा रहेको छ । जसमा काठमाडौंको न्युरोडमा १४ रोपना ७ आना,सिनामंगलमा ३४ रोपना १३ आना जग्गा छ । दुवैतिरको भवन बनाउँदा करिव १० अर्ब भन्दा बढी रकम लाग्छ । जसमा ह्याङ्गरको लागि ५ अर्ब बढी लाग्छ । विमानस्थलको उत्तरपश्चिम साइडमा नागरिक उड्डयन प्राधिकरणले दिएको जग्गामा ह्याङ्गर बनाउने भनेर डिपीआर बनाएका छौं । पछि यात्रु वृद्धि हुन थाल्ने र जहाज लिजमा आएपछि भैरहवा कोल्बोको लागि योजना बनाएका छौं । यसले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पनि टेवा पुग्छ । गौतम बुद्धको प्रचारप्रसारमा पनि टेवा पुग्छ’, उनले भने ।
उनले निगम सुधारको लागि निगम व्यवस्थापनले सरकारलाई रसरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताए । निगम सुधारको लागि व्यवसायिक योजनाहरु बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटको लागि जहाजहरु लिजमा लिएर भए पनि काठमाडौं–ब्याङ्गलोर,कोल्बो–काठमाडौं उडान गर्ने योजना रहेको बताए । जहाज लिजमा आएपछि भैरहवा—कोलम्बो उडानको लागि पनि योजना बनाएको दाबी गरे ।