प्रधानमन्त्रीका निर्देशन कार्यान्वयनबारे थालियो अनुगमन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कार्यकालको दोस्रो वर्षको सुरुआतमा गरेको मन्त्रालयगत समीक्षाका क्रममा मन्त्री तथा सचिवलाई दिएका निर्देशन कार्यान्वयनको अवस्थाबारे प्रधानमन्त्री तथा तथा मन्त्रिपरिषद् कार्यालयले अनुगमन थालेको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले कार्यगत एवं नीतिगत सुधारका लागि विभिन्न मन्त्रालयलाई दिएका निर्देशन कार्यान्वयनको प्रगतिका विषयमा प्रतिवेदन माग गर्दै प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालयहरूलाई पत्राचार गरी त्यसको ताकेता समेत गरेको हो । प्रधानमन्त्री कार्यालयले गत माघ १० मा विभिन्न मन्त्रालयलाई निर्देशन कार्यान्वयनको प्रगति विवरण उपलब्ध गराउन पत्र पठाएकोमा केही मन्त्रालयबाट हालसम्म विवरण प्राप्त नभएपछि ती मन्त्रालयलाई फोन गरेर यथाशीघ्र विवरण पठाउनका लागि ताकेता गरिएको प्रधानमन्त्री कार्यालयका सहसचिव खोमराज कोइरालाले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले मन्त्रालयगत समीक्षाका क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे निर्देशन दिएका थिए भने खानेपानी मन्त्रालय र वन तथा वातावरण मन्त्रालयलाई सात/सात बुँदे निर्देशन दिएका थिए । त्यस्तै सहरी विकास मन्त्रालयलाई गरिब, असहाय तथा सीमान्तकृत समुदायका लागि ‘एक पालिका, एक नमूना एकीकृत बस्ती’को अवधारणा लागू गर्ने ‘मोडालिटी’ र योजना पेश गर्न निर्देशन दिएका थिए । त्यसैगरी सो मन्त्रालयलाई देशका सबै सहरमा चलिरहेका परम्परागत बसपार्कलाई स्मार्ट बसपार्कमा रुपान्तरणगर्ने योजनालगायत विभिन्न आठवटा बुँदामा निर्देशन दिइएको थियो । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई दुर्गम क्षेत्रका किसानले उत्पादन गरेका वस्तु तथा सेवाहरूमा लागत घटाउन र बजार पहुँज सुनिश्चित गर्न भौगोलिक विकटताले सम्भव नभएका बाहेक आधा घण्टाभित्रको दूरीमा सबै गाउँबस्तीलाई समेत सडकको पहुँच पुर्याउन आवश्यक रहेको उल्लेख गर्दै त्यस्ता कार्यको यथार्य विवरण प्रधानमन्त्री कार्यालयमा बुझाउन भनिएको थियो । यस मन्त्रालयलाई सवारी चालक अनुमति पत्रको विशेष योजना बनाउन, आयोजना समयमै सम्पन्न नहुने र अलपत्र हुने अवस्थालाई पूर्णरूपमा अन्त्य गर्नेलगायतका विभिन्न १३ बुँदे निर्देशन प्रधानमन्त्रीले दिएका थिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई रोजगारदाता र श्रमिकको एकीकृत विवरण तयार गरी माग र आपूर्तिबीचको सन्तुलन कायम गर्ने योजना प्रस्तुत गर्न र त्यसका लागि सात सय ५३ पालिकामा नै संयन्त्र निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका थिए । कामको सिलसिलामा विदेशमा चोटपटक वा अङ्गभङ्ग भएका तथा घाइते बिरामीको उपचार तत्काल गराउने व्यवस्था गर्नेलगायतका विभिन्न १७ बुँदामा प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको थियो । गैरआवासीय नेपाली सङ्घको नेतृत्वमा ‘एक नेपाली, एक विदेशी साथी नेपाल पठाउँ अभियान’ सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई नेपालको पर्यटक प्रवर्तकमा नियुक्ति गर्ने एवं सांस्कृतिक गाउँ स्थापना गर्नेलगायतका विभिन्न आठ बुँदामा प्रधानमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन गएको थियो । जनतासँग सरकारको राख्ने विभिन्न मुद्दामा केन्द्रित भएर प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार प्रधानमन्त्रीको कार्यालयले सबै मन्त्रालयलाई प्रगति विवरण पठाउन पत्राचार गरेको थियो । प्रधानमन्त्रीले आफ्नो कार्यकक्षमा बोलाएर सम्बन्धित मन्त्री एवं सचिवलाई दिएको निर्देशनको व्यहोरा तत्तत् मन्त्रालयमा पठाइएकोमा त्यसको जवाफका लागि ताकेता गरिएको सह–सचिव कोइरालाले बताए । यसैबीच प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको निर्देशनअनुसार आफूहरूले सम्पूर्ण विवरण तयार पारी प्रधानमन्त्रीको कार्यालय पठाइसकेको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री कार्यालयले खानेपानी मन्त्रालयलाई काठमाडौं उपत्यकामा खानेपानीको माग र आपूर्तिको अवस्था, देशका विभिन्न २३ ठूला सहरका खानेपानी र ढल निकासका देखिएका समस्या समाधान लगायतका विषयमा सात बुँदे दिर्नेशन दिएको दिएको थियो । सामुदायिक वनको पछिल्लो अवस्था र यसबाट उपलब्ध प्रतिफलमा हरेक सीमान्तकृत, गरिब समुदायका लागि पहुँच सुनिश्चित गर्ने अवस्था बुझ्न अध्ययन गरी योजना तयार गर्न प्रधानमन्त्री कार्यालयले वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो । प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको निर्देशन कार्यान्वयन भइरहेको चाँडै त्यसको जानकारी पठाउने सो मन्त्रालयका सचिव डा दीपककुमार खरालले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनको अवस्थाका विषयमा हामीले निरन्तर ताकेता गरिरहेको र कतिपय मन्त्रालयबाट विवरण पनि प्राप्त भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘निर्देशनबमोजिम प्राप्त विवरण सङ्कलन भइरहेका छन्, अझै केही मन्त्रालयबाट प्राप्त हुने क्रममा रहेका छन्, ती मन्त्रालयलाई निरन्तर ताकेता भइरहेको छ ।’ निरन्तर पाक्षिकरूपमा प्रधानमन्त्रीको निर्देशनको प्रगति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वाधार विकास महाशाखामा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । सोहीअनुसार प्रधानन्त्रीलाई नीतिगत तथा कार्यगत अवस्थाबारे जानकारी गराउने व्यवस्था गरिएको छ । रासस
दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने
दमक । दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न ताकेता गरेपछि नगरपालिकाल सो निर्णय गरेको हो । नगरपालिकाले नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मर वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ । नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७० विद्युत् मिटरमा उठेको महसुल वापतको बक्यौता रु छ करोड ९३ लाख ६१ हजार तिर्न विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ । नगर प्रमुख रामकुमार थापाले छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्तीबापतको विद्युत् महसुलका कारण नगरपालिकाका नाममा विद्युत् महसुलको बक्यौता देखिएको ठहर गरेको बताए । अब उप्रान्त कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत् मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र सोपछि भने सम्बन्धित टोल विकास संस्थाले आफैंले ब्यहोरर्ने गर्नुपर्ने गरी मात्रै सिफारिस दिने पनि बैठकले निर्णय लिएको उनले जानकारी दिए । त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरुपमा तिर्नुपर्ने भाडाको बक्यौता हालसम्म रु ४४ लाख रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ । रासस
टिकौली जङ्गल क्षेत्रमा ‘राडर गन’ सहित चेकजाँच
मुग्लिन (चितवन) । जिल्ला ट्राफिक कार्यालय चितवनले सडक दुर्घटनालाई न्यूनीकरण गर्नका लागि टिकौली जङ्गल राजमार्ग क्षेत्रका सडकमा ‘राडर गन’ सहित चेकजाँच सुरुआत गरेको छ । मध्यवर्ती र वरण्डाभार क्षेत्रको बीचमा पर्ने जैविक कोरिडोरसमेत रहेको सो क्षेत्रमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले ट्राफिक सप्ताह २०८० को अवसरमा राजमार्ग क्षेत्रका सडकमा चेकजाँच थालेको हो । सो कार्यालयका प्रमुख खड्कबहादुर खत्रीले सवारी दुर्घटनामध्ये अधिकांश तीव्र गतिका कारण हुने देखिएकाले यसलाई न्यूनीकरण गर्न ‘राडर गन’को सहायताले चेकजाँच सुरु गरिएको जानकारी दिए । ‘केही दिनदेखि हामीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा चेकजाँच गरिरहेका छौँ, अब बढी सवारी साधन ओहोरदोहोर गर्ने व्यस्त बजार क्षेत्रलगायत जिल्लाका अन्य स्थानमा पनि ‘राडर गन’बाट चेकजाँच सुरु गर्छौं’, उनले भने । कुन सवारी साधन कति गतिमा गुडेको छ भन्ने राडर गनमा अङ्क देखिने र तस्बिर पनि खिचिने भएकाले सवारी साधन चेकजाँचमा राडर गनको सहायताले सहज हुने बताइएको छ । सवारी साधन र चालकलाई कारबाही मात्रै दुर्घटना रोक्ने उपाय नभएको जनाउँदै ट्राफिक प्रमुख खत्रीले चालकले सीमित गतिमा आफ्नो सवारी साधन चलाउनु पर्छ भने । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन रहेको वरण्डाभार क्षेत्रभित्र पर्ने टिकौली जङ्गल क्षेत्रका सडकमा सवारी साधनको ठक्करबाट वन्यजन्तु मर्ने गरेका छन् । रासस
एक हजारका नक्कली नोटको बिगबिगी, एकै गाडीमा भेटियो २ करोडको गड्डी
काठमाडौं । नेपाली एक हजार रुपैयाँको नोट नक्कली भेटिएको घटना नयाँ होइन । बेला बेला ठूलो सानो गरेर नक्कली नोटहरू भेटिने गरेका छन् । सुनसरी प्रहरीले आइतबार भारतीय नम्बर प्लेटको गाडीबाट करिब २ करोड रुपैयाँ नक्कली नोट फेला पारेको हो । प्रहरीले गाडीबाट एक हजार दरका एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको हो । सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले भारतीय गाडीमा भारतबाट नेपालमा ल्याउँदै गरेको अवस् नक्कली नोट बरामद गरेको बताए । उनका अनरसार नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन् । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरू बरामद गरिएको हो । प्रहरी उपरीक्षक रेग्मीले रकम बरामद भएपछि यस विषयमा थप अनुसन्धान भइरहेको बताएको छ । पछिल्लो समय नेपालमा पनि नक्कली नोट भेटिएको भेटिने क्रम बढेको छ । भारतले भारतमा नक्कली नोटको कारोबार बढ्दा पाँच सय र एक हजारका नोट प्रतिबन्ध नै गरेको थियो । नेपालमा पनि बेलाबखत नोट प्रतिबन्ध गराएर नयाँ नोट छाप्नु पर्ने आवाज उठ्ने गरेको छ । कसरी चिन्ने नक्कली नोट ? धेरैलाई सक्कली र नक्कली नोट पहिचान गर्न नै सकसपर्छ । बैंक तथा वित्तीय संस्थाले नक्कली र सक्कली नोट पहिचानका लागि विभिन्न समयमा विभिन्न प्लेटफर्ममाफत् जानकारी पनि गराउँदै आएको छ । नक्कली नोट चिन्ने अर्को तरिका हो छाम्ने। सक्कली नोट छाम्दा खस्रो हुन्छ। चाहे त्यो नयाँ होस वा पुरानो । यस्तै नयाँ नोटलाई औंलाले हान्यो भने आवाज कडा आउँछ। नक्कली नोटमा यस्तो आवाज आउँदैन । नोटको दाँया भागको पुच्छरमा १००० लेखिएको अक्षरलाई औंलाले सुम्सुमायो भने अक्षर थोरै उठेको महसुस हुन्छ । यसलाई ‘इन्ट्यागलियो प्रिन्ट’ भनिन्छ । नक्कली नोटमा सो अक्षर उठेको हुँदैन । नोटको बीच भागको तलपट्टी अंग्रेजी अक्षरमा ‘एनआएबी’ लेखेको हुन्छ । नक्कली नोटमा यो कुरा ख्याल गर्नुपर्छ । यस्तै, नोटको बीच भागमा एउटा ठाडो टल्किने धर्का हुन्छ । यसलाई सुरक्षण धागो भनिन्छ । सो धर्कालाई उज्यालोतिर फर्काएर हेर्दा त्यहाँ पनि सानो अक्षरमा ‘एनआरबी’ लेखेको हुन्छ । नोटलाई उज्यालो प्रकाशतर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईट (टर्च लाइट÷मोबाइलको लाइट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालीगुँरासको आकृति स्पष्ट देखिन्छ । उक्त लालीगुँरासको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममा नै बनाइने हुँदा नोटको अग्रभाग (नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग) र पृष्ठ भाग (एकवटा हात्ती) भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ । यस्तै, सुरक्षण धागोमा एनआरबी र उक्त एनआरबीको ऐनामा देखिने उल्टो प्रतिविम्बी रुप क्रमैसँग लहर मिलाएर लेखिएको छ । नोटलाई सामान्य रूपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरू मात्र देखिन्छ ।
क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड
काठमाडौं । राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ । २९औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । आइतबार संघीय सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्यहरू, प्रदेश सरकारका मन्त्री तथा प्रदेश सांसदहरू, विभिन्न आयोगका प्रतिनिधिहरू तथा नीति निर्माण तहका अधिकारीहरू, विभिन्न पालिकाका प्रमुख/उपप्रमुखहरूले इन्फोटेक अवलोकन गरेका छन् । यस अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी, पूर्वमन्त्री तथा सांसद प्रकाशमान सिंह, सांसदहरू सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, ज्ञानेन्द्र शाही, गणेश पराजुली लगायत क्यान इन्फोटेकमा राखिएका प्रविधिहरू हेर्न पुगेका थिए । त्यस्तै सांसद एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसी, सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का आईटी विज्ञ प्रकाश रायमाझी, पूर्व उप प्रधानमन्त्री प्रकाश मान सिंह, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, माओवादीको युवा संगठन वाईसीएलका अध्यक्ष सुवोधराज श्रीपाली, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर लगायतले क्यान इन्फोटेकको प्रत्यक्ष अवलोकन गरेका थिए । त्यस्तै देशका विभिन्न पालिकाका प्रमुख/उपप्रमुहरू, नेपाल विज्ञान प्रविधि प्रतिष्ठान (नास्ट) तथा नेपाल टेलिकमका उच्च तहका अधिकारीहरूले समेत आइतबार प्रदर्शनीको अवलोकन गरेका थिए । सो अवसरमा उनीहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेक जस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्टिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । साथै नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । यसअघि इन्फोटेकमा कलाकारहरू सञ्जोक कोइरालादेखि महानायक राजेश हमालसम्म र राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल लगायत पनि पुगेका थिए । सोमबार (माघ २९) सम्म सञ्चालन हुने ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि आइतबार अवलोकनकर्ताको निकै भीड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थी, स्टार्टअप तथा इनोभेटरले तयार पारेका नवीनतम प्रविधि, एप्लिकेसन र प्रोजेक्टहरुमा अवलोकनकर्ता बढी झुम्मिएका छन् । क्यानका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेक मेला मात्र नभएर सूचना प्रविधि प्रदर्शनी भएको बताए । ‘यसलाई मेला भन्ने भाष्य परिवर्तन गर्नुपर्छ । यो इन्नोभेटिभ आइडिया र स्टार्टअपको एक्सपो पनि हो । अहिले इन्फोटेक सफ्टवेयर, प्रोडक्ट र सोलुसन एवं आइडियाको खानी हो,’ उनले भने । यसअन्तर्गत मसिन लर्निङमा आधारित नेपाली रोबोट ‘कान्छी’देखि डिजिटल ठेगाना तयार पारिदिने ‘कता हो’ प्लेटफर्मसम्ममा आकर्षण देखिएको छ । त्यस्तै एफवन सफ्ट ग्रुपले हालै ल्याएको ‘जुम जुम’ नामको राइड शेयरिङ सेवाबारे पनि अवलोकनकर्ताले चासो देखाएका छन् । त्यस्तै स्वदेशी सफ्टवेयर निर्माताका उत्पादनमा पनि धेरैको झकाव देखिएको छ । त्यस्तै इन्फोटेकको विशेष आकर्षणको रूपमा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानले तयार पारेको आईसीटीमैत्री बस रहेको छ । हालसम्म ५०० भन्दा बढीले यो बसको प्रत्यक्ष अवलोकन तथा अनुभव लिएको नास्टले जनाएको छ । करिब १५० स्टल रहेको इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । ब्राण्डिङ कम्पनीका स्टलहरू मुख्य हलभित्र रहेका छन् भने साना कम्पनीहरू ट्रसमा रहेका स्टलहरूमार्फत आफ्ना वस्तु तथा सेवाको प्रचारमा जुटेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्यसमेत गरिरहेका छन् । क्यान महासंघका अध्यक्ष रणजीत पोदारले एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ मार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताए । उनका अनुसार यसपटक अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु बढी आएका छन् ।
कुमारी बैंकको वार्षिक साधारण सभाबाट ६ सञ्चालक निर्वाचित
काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । उक्त सम्पन्न साधारण सभामा भएको सञ्चालक समितिको चुनावमार्फत् संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंगबहादुर राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।
ट्राफिक प्रहरीद्वारा ६ महिनामा एक करोड राजस्व सङ्कलन
वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा रु एक करोड दुई लाख ५१ हजार राजस्व सङ्कलन गरेको हो । सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् । गत आव २०७९/८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी रु तीन करोड ४२ लाख ६५ हजार राजस्व सङ्कलन गरेको थियो । यो अघिल्लो आव २०७८/०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । अघिल्लो आव २०७८/७९ मा सो कार्यालयले रु दुई करोड ८५ लाख २१ हजार पाँच सय राजस्व सङ्कलन गरेको थियो । ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व सङ्कलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । रासस
बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । फागुन महिनाका लागि अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले फागुनमा पनि घटाएका छन् । बैंकहरूले घटाएको ब्याजदर भोलि फागुन १ गतेदेखि लागू हुनेछ । विकासन्युजलाई प्राप्त तथ्याङ्क अनुसार हिमालयन बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले माघ महिनाको ब्याजदर नै फागुनमा लागू गर्ने छ । हिमालयन बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेका हुन् । यी बैंकले माघमा पनि सोही ब्याजदर लागू गरेका थिए । प्राइम बैंकको ०.६९ प्रतिशत घटेर संस्थागततर्फ ५.४ प्रतिशत र व्यक्तिगततर्फ ७.४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले संस्थागततर्फ ६.१० प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर तोकेको थियो । कृषि विकास बैंकको संस्थागततर्फ १.३१७ प्रतिशत घटेर ४.४४३ प्रतिशत र व्यक्तिगततर्फ ०.८१ प्रतिशत घटेर ६.४४३ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले संस्थागततर्फ ५.७६ प्रतिशत र व्यक्तिगततर्फ ७.२६ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल एसबिआई बैंकले ०.१५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याज दिएको थियो । कुमारी बैंकले ०.१० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.११ प्रतिशत र संस्थागततर्फ ६.११ प्रतिशत ब्याजदर तोकेको थियो । एनएमबि बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको थियो । लक्ष्मी सनराइज बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ०.६ प्रतिशत घटाएर ६ प्रतिशत ब्याज प्रदान गर्नेछ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याज दिएको थियो । प्रभु बैंकले ०.५६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर तोकेको हो । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ०.६० प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले ०.६४ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ५.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले ०.०६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०६५ प्रतिशत र संस्थागततर्फ ६.०६५ प्रतिशत ब्याजदर तोकेको थियो । राष्ट्रिय वाणिज्य बैंकले ०.७२ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.०७ प्रतिशत र संस्थागततर्फ ६.०७ प्रतिशत ब्याजदर तोकेको थियो । नेपाल बैंकले व्यक्तिगततर्फ ०.७५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ १.२५ प्रतिशत घटाएर ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो । नबिल बैंकले ०.३६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर तोकेको थियो । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत घटाएर ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.९ प्रतिशत घटाएर ८.२५ प्रतिशत र संस्थागततर्फ ०.४५ प्रतिशत घटेर ६.१५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि माघमा बैंकले व्यक्तिगततर्फ ९.१५ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर तोकेको थियो ।