विकासन्युज

नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता

काठमाडौं । नेपाल र भारतबीच विद्युतीय भुक्तानी प्रणालीको विकास गर्ने सम्झौता भएको छ । सो सम्बन्धमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्व बैंकबीच बिहीबार सम्झौता भएको हो । भारतको युनिफाएड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने समझदारी भएको छ ।

दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

लुम्बिनी । ‘राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौंतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो’, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाइन् । उनी छोरीसँगै काठमाडौं जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढेकी थिइन् । सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै दुर्घटना हुँदा उनी घाइते भइ हाल अस्पतालमा उपचाररत छन् । सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्रु घाइते भए । ‘दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिए । त्यसपछि दुई जनाले उद्धार गर्नुभयो’, भीमदत्त नगरपालिका-१६ घर भएकी थापाले सुनाइन्, ‘रातिको समय, जङ्गल र पहाडको खोँचमा फोन पनि नलाग्ने भएकाले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले सुरुमा उनीहरुलाई नै उद्धार गरे जस्तो लाग्यो ।’ सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदा क्षण सम्झँदै भने, ‘राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइन् । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो । सबै यात्रुहरू चिच्याउन थाले ।’ पिलवस्तुकै चन्दौटास्थित अस्पतालमा उपचार गराइरहेका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटक-पटक प्रयास गर्दा पनि असफल भएको बताए । ‘शरीर नराम्रोसँग ठोक्किछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुखिरहेको छ’, उनले भने, ‘जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो ।’ उनले बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गर्छन् । पेशाले मूर्तिकार काठमाडौं कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै दुर्घटना भएको अनुभव सुनाए । ‘आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन’, अनिलले भने । उनी बसको क्याबिनमा चालक नजिकैको सिटमा बसेका थिए । दुर्घटनामा रौतहट औरही-३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिकहल-३ भइ भइ हाल नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरदावादका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ । साथै भीमदत्त-४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका-१६ कञ्चनपुरकी २७ वर्षीया सन्जु थापा, पुर्नवास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुर्नवास नगरपालिका-९ बिसफाटा बस्ने विमलादेवी भट्टको पनि ज्यान गएको हो । बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाए । बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहेका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । घटनास्थल घनाजङ्गल र पहाडमा पर्ने भएकाले सहजरुपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको घाइते यात्रुहरूको भनाइ छ । सशस्त्र प्रहरी भालुवाङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्क्यु टिमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताए । ‘उद्धारका क्रममा पहिलो प्राथमिकता जटिल घाइतेलाई दियौँ’, केसीले भने, ‘घटनास्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ ।’ बस दुर्घटना हुनुमा बसको ब्रेकमा समस्या तथा चालक निदाएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ । रासस

चोरी पैठारीको गुनासो बढेपछि अर्थ समितिले भन्सार कार्यालयको अनुगमन गर्ने

काठमाडौं । अर्थ समितिले उपसमिति बनाएर मुख्य-मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने भएको छ । बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर मुलुकका मुख्य-मुख्य भन्सार कार्यालय अनुगमन गर्ने भएको हो । समिति बैठकमा बोल्दै अर्थसमिति सभापति सन्तोष चालिसेले भन्सार नाकाहरुमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले चोरी पैठारी नियन्त्रण गर्ने उपसमिति बनाएर भन्सार कार्यालयहरुको अनुगमन गर्ने निर्णय गरेको बताए । उनले भन्सार प्रशासनहरुमा प्रविधिको अभाव लगायतका समस्या रहेको अर्थ मन्त्रालयले बताएसँगै समितिले उपसमिति गठन गरेर अनुगमन गर्न आवश्यक देखिएको बताए । उनले अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमो बजेटमा राजश्व संकलनको लक्ष्य निर्धारण संशोधन बजेट तर्जुमा गरेको समयमा सरकारले आयव्यको अनुमान यथार्थपरक ढङ्गले गरेको नदेखिएको भन्दै आगामी बैठकमा अर्थमन्त्रीसँग छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताए । सरकारले आयव्यय अनुमान गर्ने विद्यामान पद्धतिमा कमी कमजोरी र प्रक्षेपणअनुसार राजश्व संकलन नभई लक्ष्य उल्लेख्य रुपमा घटाउनुको कारण, संशोधित लक्ष्यअनुसार राजश्व संकलन गर्ने अर्थ मन्त्रालयको रणनीति र कार्ययोजना बारेमा छलफलमन्त्रीसँग छलफल गर्ने बताए । उनले मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा समितिले समय मिलाएर छलफल गर्ने निर्णय गरिएको जानकारी दिए । ‘आर्थिक वर्ष २०८०/८१को बजेटको अर्धवार्षिक समिक्षामार्फत नेपाल सरकारले यस आर्थिक वर्षको राजश्व संकलनको लक्ष्य संशोधन गरेकोमा बजेट तर्जुमा गरेको समयमा सरकारले आयव्यको अनुमान यथार्थपरक ढङ्गले गरेको नदेखिएकाले अर्थमन्त्रीको उपस्थितिमा नीतिगत छलफल हुनुपर्ने सांसदहरुको माग रहेका छ । भन्सार कार्यालयको अनुगमन सम्बन्धमा उपसमिति गठन गरी आवश्यक काम कारबाही अगाडि बढाउने,मुलुकमा रहेको अन्तर्राष्ट्रिय भन्सारको विषयमा समितिले समय मिलाएर छलफल गर्ने निर्णय गरेको छ’, उनले भने । समिति बैठकमा सांसदहरुले राजश्व वृद्धिदर घट्नुमा भन्सार चुहावट वृद्धि भएको भन्दै समितिले अनुगमन गर्नुपर्ने बताएका थिए ।

बलिउड सुपरस्टार अमिताभ बच्चन दम्पतीको सम्पत्ति कति छ ?

काठमाडौं । बलिउड अभिनेत्री तथा मेगास्टार अमिताभ बच्चनकी पत्नी जया बच्चन पाँचौं पटक राज्यसभामा जाँदै छिन् । उनी यसअघि चार पटक समाजवादी पार्टीबाट राज्यसभा सांसद भइसकेकी छिन् र यही पार्टीबाट पुनः राज्यसभामा पुग्ने भएकी छिन् । फिल्ममा आफ्नो उत्कृष्ट अभिनयका लागि परिचित जयाको सम्पत्तिको कुरा गर्दा उनी करोडौंकी मालिक हुन् । समाजवादी पार्टीबाट उम्मेदवारी दिएका बेला १३ फेब्रुअरी २०२४ मा जयाले निर्वाचन आयोगलाई दिएको शपथपत्रमा उनले आफ्नो चल-अचल सम्पत्तिबारे उल्लेख गरेकी छिन् । त्यसमा दिइएको जानकारीअनुसार ७५ वर्षीया जया र श्रीमान् अमिताभ बच्चनको कुल चल-अचल सम्पत्ति १५ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । यसमा दुवैको आर्थिक वर्ष २०२२-२३ को आम्दानी उल्लेख गरिएको छ । यस अवधिमा जयाको कमाई १ करोड ६३ लाख ५६ हजार १ सय ९० रुपैयाँ थियो भने अमिताभले आफ्नो नेटवर्थमा २ अर्ब ७३ करोड ७४ लाख ९६ हजार ५ सय ९० रुपैयाँ थपेका छन् । चुनावी शपथपत्रका अनुसार जयासँग ५७ हजार ५ सय ७ रुपैयाँ नगद र १० करोड ११ लाख ३३ हजार १ सय ७२ रुपैयाँ बैंक खातामा जम्मा भएको छ । जहाँ श्रीमान् अमिताभसँग १२ हजार ७५ हजार ४ सय ४६ नगद र १ अर्ब २० करोड ४५ लाख ६२ हजार ८३ रुपैयाँ बैंक डिपोजिट छ । जयाले गरेको लगानीको बारेमा कुरा गर्दा उनले सेयर, बन्ड र डिबेञ्चरमा ५ करोड १८ लाख ५७ हजार ९ सय २८ रुपैयाँ लगानी गरेकी छिन्, जहाँ अमिताभको लगानी १ अर्ब ८२करोड ४२ लाख २९हजार ४ सय ६४ रुपैयाँ छ । यदि शपथ पत्रलाई मात्रै हेर्ने हो भने बच्चन दम्पतीले एनएसएस, हुलाक बचत वा बीमा नीतिमा कुनै पैसा लगानी गरेका छैनन् । अभिनेत्री र चार पटकको राज्यसभा सदस्य जयासँग ९ लाख रुपैयाँको गाडी छ भने अमिताभको कार कलेक्सन करिब १७ करोड रुपैयाँको छ । गहनाको कुरा गर्दा जयासँग ४० करोडको गहना छ भने उनका श्रीमानको ५४ करोडको गहना छ । शपथपत्रका अनुसार कुल सम्पत्तिमध्ये दम्पतीसँग ८ अर्ब ४९ करोड ११ लाख रुपैयाँको चल सम्पत्ति छ भने दुवैको ७ अर्ब २९ करोड ७७ लाख रुपैयाँको अचल सम्पत्ति छ । बच्चन परिवारको लक्जरी जीवनशैली उनीहरूको सम्पत्तिबाट सजिलै अनुमान लगाउन सकिन्छ । १५ वर्षको उमेरमा बलिउडमा प्रवेश गरेका जया र उनका श्रीमान् अमिताभ बच्चनले आफ्नो अभिनयका आधारमा फरक स्थान हासिल गरेका छन् । दुवैको सम्पत्ति स्रोतबारे कुरा गर्दा जया बच्चनको सम्पत्तिमा उनको सांसदको तलब र अभिनयबाट भएका कमाइ समावेश छ । जहाँ अमिताभले फिल्मबाट आम्दानी, ब्याज, भाडा, लाभांश, पुँजीगत लाभ र सोलार प्लान्टबाट आम्दानी गर्छन् । उनीहरू दुवैको करोडौंको घर र जग्गा पनि रहेको छ । एजेन्सी

म्याद सकिएको औषधी बेच्ने दुईवटा फार्मेसी बन्द, मन्त्री भन्छन्- कारबाही गर्छौं

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधी पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधी विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधी बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘वीर अस्पताल बाहिर रहेको फार्मेसीले म्याद गुर्जेका औषधी बेचेको भेट्यौं । त्यस्तै औषधी महँगोमा बेचेको पाइयो । औषधीलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्नेछौँ ।’ मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताए । उनले भने, ‘अस्पतालको स्टोरमा औषधी राख्ने तर फार्मेसीमा औषधी छैन भनेर बिरामीलाई बाहिरबाट औषधी किन्न लगाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।’ मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिए । उनले भने, ‘शल्यक्रियाका लागि आवश्यक औषधी र महँगा औषधी अस्पतालको फर्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ ।’ औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताए । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिए । रासस

एनएलजी इन्स्योरेन्सको लाभांशसँगै पारित भयो ६६ प्रतिशत हकप्रद प्रस्ताव

काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित ५.७८९४७ प्रतिशत लाभांश पारित भएको छ । फागुन ३ गते सम्पन्न कम्पनीको १८औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२८०४७ प्रतिशत नगद लाभांश पाउनेछन् । उक्त बोनस पारितसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ । जुन नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । तोकिएको २ अर्ब ५० करोड पुँजी पुर्याउन कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बिहीबार सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको र नेपाल धितोपत्र बोर्डको स्वीकृतिको लागि पेश गरिसकेको कम्पनीले जानकारी गराएको छ । सोही सभाले कम्पनीको आर्थिक वर्ष २०८०८१ को लागि श्री आर राजकर्णीकार एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गरेको हो । हाल कम्पनीको कुल बीमाशुल्क आम्दानी २ अर्ब ४० करोड, खुद बीमाशुल्क आम्दानी ७४ करोड २२ लाख र खुद नाफा २० करोड ८१ लाख रुपैयाँ छ । त्यस्तै, गत आर्थिक वर्षमा कम्पनीको पुनर्बीमा कमिशन आम्दानी ४.०९ प्रतिशतले बढेर ३५ करोड ४३ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कम्पनीले आफ्नो कारोबारको पुनर्बीमा विश्व प्रसिद्ध हेनोभर रीको अगुवाईमा गर्दै आइरहेको छ । जसमा स्वदेशी पुनर्बीमा कम्पनीहरु समेत समावेश गरिएको छ । साथै, कम्पनीले बीमालाई बढीभन्दा बढी ग्राहकहरुसम्म पुर्याउन शाखा विस्तारलाई निरन्तरता दिँदै आइरहेको छ ।

लमजुङमा १०८ फिटको महादेवको मूर्ति निर्माण हुँदै

लमजुङ । सुन्दरबजार नगरपालिका-७ पाउँदीमा एक सय आठ फिट उचाइको सिद्धेश्वर महादेवको मूर्ति निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । कर्मदा नदीको शिवजी महादेव मन्दिर संरक्षण समितिले मस्र्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि महादेवको मूर्ति निर्माण गरिरहेको हो । संरक्षण समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलका अनुसार यस मूर्तिको रङरोगन गर्ने कार्य मात्र बाँकी रहेको र अब डेढ महिनाभित्रमा सकिने छ । काठमाडौं र पोखराबाट कालिगढ ल्याएर निर्माण गरिरहेको तथा बालुवा र सिमेन्टले मात्र मूर्ति निर्माण गरिएको उनको भनाइ छ । मूर्तिका साथै महादेवको बाहन साँढे पनि निर्माण गरिएको छ । मूर्ति बनाउनका लागि मात्र हालसम्म करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको समितिले जनाएको छ । समितिका अनुसार यसको अलवा सोही परिसरमा एक सय आठ शिवलिङ्ग र एक सय आठ धारा निर्माण गर्न लागिएको छ । यतिबेला जमिन सम्याउने र धारा निर्माणका लागि पर्खाल लगाउने कार्य भइरहेको छ । हालसम्म यी पूर्वाधारका लागि दुई लाख रुपैयाँ खर्च भइसकेको समितिका उपाध्यक्ष पोखरेलले बताए । यस समितिको नाममा रहेको ११ रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । समितिको जग्गामा दुई सय २० केभी प्रसारण लाइन विद्युत्को तारमुनि पर्ने र १३ आना जमिनमा टावरसमेत राखेपछि साढे दुई वर्षअघि तारमुनि जमिन परेबापत विद्युत् प्राधिकरणबाट रु ७३ लाख र टावर राखेबापत रु ७२ लाख प्राप्त गरेको थियो । उक्त रकम प्राप्त भएपछि महादेवको मूर्ति, धारा र शिवलिङ्ग बनाउने योजना बनाएर विसं २०७८ वैशाखबाट महादेवको मूर्ति बनाउन थालिएको हो । हाल धारा र शिवलिङ्ग बनाउने कार्यसमेत अघि बढिरहेको समितिले जनाएको छ । समितिका अनुसार ७३ लाख रुपैयाँ बेँसीसहरमा एक बैंकमा १० वर्षका लागि मुद्धति खातामा राखिएको र सोबाट तीन–तीन महिनामा एक लाख ५० हजार रुपैयाँ ब्याज आउने गरेको छ । उक्त ब्याजबाट आएको रकम र टावर राखेबापतको ६३ लाख रुपैयाँबाट थालनी गरिएको उक्त कार्यका लागि सुन्दरबजार नगरपालिकाको गत वर्ष र यस वर्ष गरी ३० लाख रुपैयाँ, खानेपानी तथा सरसफाइ एकाइ कार्यालयबाट धाराका लागि यस वर्ष १० लाख रुपैयाँ, सामाजिक विकास कार्यालयबाट १० लाख रुपैयाँ, पूर्वाधार विकास कार्यालयबाट २० लाख रुवैयाँ, राइनास नगरपालिकाबाट एक लाख ५० हजार रुपैयाँ समितिलाई सहयोग प्राप्त भएको समितिका उपाध्यक्ष पोखरेलले जानकारी दिए । त्यस्तै महादेवको मूर्ति स्थापनाका लागि चन्दा सङ्कलन भइरहेको र अघिल्लो वर्षदेखि हालसम्म १४ लाख रुपैयाँ उठेको तथा धारा र शिवलिङ्ग बनाउनका लागि ११ हजार एक सय ११ रुपैयाँ लिएर आजीवन सदस्य बनाउने अभियान चलिरहेको समितिले जनाएको छ । यस अभियानबाट हालसम्म चार लाख रुपैयाँ बढी रकम उठेको र आजीवन सदस्य बन्ने व्यक्ति थपिँदै गएको समितिका उपाध्यक्ष पोखरेलले बताए । हिन्दू धर्म मान्ने मान्छे घट्दै गइरहेका बेलामा त्यसलाई रोक्न, हिन्दू धर्मको जगेर्ना गर्न यस्ता पूर्वाधार निर्माणले सहयोग पुग्ने अपेक्षाले निर्माण गरिएको उनको भनाइ छ । मस्र्याङ्दी नदीमा स्नान गर्न, सत्बिज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् । तीर्थस्थल बन्दै गएको मस्र्याङ्दी नदीमा यस्ता संरचना निर्माण भएपछि भक्तजन तथा तीर्थालु अन्यत्र जानु नपर्ने तथा टाढा–टाढाबाट समेत भक्तजन यहाँ आउने समितिले जनाएको छ । डुम्रे बेँसीसहर सडक नजिकै तथा लमजुङ र तनहुँको सिमाना पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले यहाँको व्यापार व्यवसायमा समेत टेवा पुग्ने स्थानीयको भनाइ छ । सो क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको छेउमै रहेको छ । महादेवको मूर्ति तथा धारा र शिवलिङ्ग निर्माणले धार्मिकरूपमा मात्र नभई पर्यटकीय गन्तव्यसमेत बन्ने सुन्दरबजारका नगरप्रमुख कृष्णप्रसाद कोइरालाले बताए । त्यस्तै पाउँदी बजारको लोकप्रियतासमेत बढ्ने र धार्मिक तीर्थालु तथा पर्यटक आउँदा आम्दानी पनि हुने उनको भनाइ छ । जिल्लाकै एक प्रमुख धार्मिक एवं पर्यटकीय क्षेत्र बन्ने नगरप्रमुख कोइरालाले बताए । रासस

झापामा १० वर्षमा ५१ वटा झोलुङ्गे पुल निर्माण

  झापा । एक दशकको अवधिमा झापा जिल्लामा सङ्घीय र प्रदेश सरकारको लगानीमा ५१ वटा झोलुङ्गे पुल निर्माण भएका छन्  । पक्की पुल बन्न नसकेका नदीमा आवतजावतको सहजताका लागि झोलुङ्गे पुल निर्माण गरिएका हुन् । आर्थिक वर्ष २०६९/७० देखि हालसम्म सामुदायिक झोलुङ्गे पुल कार्यक्रमअन्तर्गत १२० मिटरसम्म लम्बाइ भएका ५१ वटा पुल निर्माण भएको सामुदायिक झोलुङ्गे पुल कार्यक्रमका संयोजक लीलाराज नेपालले जानकारी दिए । झोलुङ्गे पुल निर्माणका लागि सङ्घीय र प्रदेश सरकारबाट स्थानीय पालिकामा बजेट आउने र निर्माणको प्राविधिक र सामाजिक सहयोग स्थानीय सहारा नेपालले गर्दै आएको नेपालले बताए । झापा जिल्लामा कनकाई, बिरिङ, निन्दा, मेची, हडिया, रतुवा, देउनिया, फुलबासा, टिमाइलगायत दर्जनौँ साना र ठूला नदी रहेका छन् । पक्की पुल नभएको र पुराना काठका पुल जीर्ण भएको स्थानमा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकता दिइएको छ । गत आर्थिक वर्षमा आठ वटा झोलुङ्गे पुल निर्माण भएका र चालु आर्थिक वर्षको छ महिनामा तीन वटाको निर्माण सम्पन्न भइसकेको उनले बताए । आठ वटा पुल क्रमागतरुपमा निर्माण भइरहेको छ । चालू आर्थिक वर्षमा थप चार स्थानमा झोलुङ्गे पुल निर्माणको प्रारम्भिक काम अघि बढाइएको र २६ वटा पुल निर्माणका लागि सर्भे गर्ने कार्यक्रम रहेको बताइएको छ । सरकारले गरिबी निवारणमा टेवा पुर्‍याउने, सामाजिक तथा आर्थिक स्रोत एवं अवसरमा स्थानीयको पहुँच बढाउने उद्देश्यले झोलुङ्गे पुल निर्माणलाई देशभर नै तीव्ररुपमा अघि बढाएको छ । झोलुङ्गे पुल कार्यक्रमले जनाएअनुसार एक सय २० मिटरसम्मका पुल उपभोक्त समितिमार्फत र त्योभन्दा लामा पुल निर्माण व्यवसायीमार्फत बनाउने गरिएको छ । स्थानीय पालिका र उपभोक्ता समितिमार्फत बनाइने पुलको प्राविधिक सहयोगमा सहारा नेपालले सहयोग गर्दै आएको हो । सङ्घीय योजनाअन्तर्गत झोलुङ्गे पुल निर्माणका लागि लाग्ने कूल बजेटमा केन्द्रीय अनुदान ८५ प्रतिशत, स्थानीय सरकारको १३ प्रतिशत र समुदायको श्रमदान दुई प्रतिशत सहभागिता रहने गरेको छ । तर, प्रदेश सरकारको योजनाअन्तर्गतका झोलुङ्गे पुल निर्माणमा सरकारको ९८ प्रतिशत र समुदायको जनश्रमदान दुई प्रतिशत रहने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा मेचीनगर नगरपालिका–१४ को हडिया खोला झोलुङ्गे पुल, अर्जुनधारा नगरपालिका–२ मा घिमिरे टोल गाँजाबारी झोलुङ्गे पुल र शिवसताक्षी नपा–१० मा नुनमाटी खोला दोमुखा झोलुङ्गे पुल निर्माण गरिएको छ । शिवसताक्षी नगरपालिका–१ को धरमपुर ट्रस पुल, विर्तामोड नगरपालिका–७ मा देउनिया खोला पुल, कचनकवल गाउँपालिका–१ मा भेलामुनी मरलवस्ती पुल, झापा गाउँपालिका–१ सितुमारी मिलनबस्ती पुल, अर्जनधारा नगरपालिका–२ मा सहकाले ट्रस पुल, विर्तामोड–४ मा विर्तामोड ट्रस पुल, कनकाइ नगरपालिका–८ मा घाग्राखोला ट्रस पुल र गौरादह नगरपालिका–८ को गेउरिया झोलुङ्गे पुल गत वर्ष निर्माण गरिएको छ । स्थानीय राजनीतिक दलको खिचातानीका कारण कतिपय अत्यावश्यक स्थानमा झोलुङ्गे पुल अझै बन्न सकेका छैनन् । ‘पुलको आवश्यकता एकातिर हुन्छ’, कार्यक्रम संयोजक नेपालले भने, ‘राजनीतिक दबाबले अर्कै ठाउँको छनोट भइरहेको हुन्छ ।’ उनले विकास निर्माणका काम राजनीतिक हस्तक्षेपका आधारमा नभएर आवश्यकताका आधारमा हुँदा राम्रो हुने बताए । कतिपय झोलुङ्गे पुल निर्धारित समयमा बन्न सकेका छैनन् । निर्माण सामग्रीको अभाव, सम्बन्धित निकायबाट समयमै फेव्रिकेशन नहुँदा कठिनाइ हुने, दक्ष मिस्त्री तथा कामदारको अभावलगायत कारणले ढिलोसमेत हुने गरेको उनको भनाइ छ । रासस