सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम, शैक्षिक संरचनामा ६ करोड लगानी
फिक्कल । अधिकांश अभिभावक आफ्ना बालबालिकाहरुलाई अङ्ग्रेजी माध्यमबाट पढाउनकै लागि निजी विद्यालय रोज्छन् । शहरी क्षेत्रका अभिभावकलाई त सहज नै छ, घरबाट नजिकै प्रसस्तै निजी विद्यालयहरु पाइन्छन् । ग्रामीण क्षेत्रमा नजिकै निजी विद्यालय नहुने भएका कारण बालबालिका पढाउन सहर नै पस्नुपर्ने अवस्था भए पनि इलामको चुलाचुली गाउँपालिकामा त्यस्तो बाध्यता छैन । गाउँपालिकाका सबै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउन थालेपछि त्यस्तो बाध्यता हटेको हो । चुलाचुली गाउँपालिकाले सबै सरकारी विद्यालयमा आधारभूत तह कक्षा–५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ । सरकारी विद्यालयमै अङ्ग्रेजी माध्यममा पढाई हुन थालेपछि बालबालिकालाई अङ्ग्रेजी माध्यम पढाउनकै लागि शहर पसेका अभिभावकहरु समेत गाउँ फर्कन थालेका छन् । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण समेत बढ्न थालेको छ । सरकारी विद्यालयमा नेपाली माध्यमबाट पढाइ हुने र अभिभावकको चाहना अङ्ग्रेजीमाध्यम बन्दै गएकाले सरकारी विद्यालयमा समेत अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । ‘अङ्ग्रेजी माध्यमबाट पढाउन अब अभिभावकहरुले निजी विद्यालयको भर पर्नु पर्दैन’, अध्यक्ष केरुङले भने, ‘स्थानीय सरकारले अभिभावकको अङ्ग्रेजी माध्यमको चाहनालाई मध्यनजर गर्दै सरकारी विद्यालयमा पनि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो ।’ गाउँपालिकाले प्रत्येक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउन अनुदान कोटामा शिक्षक दिएको छ । अङ्ग्रेजी माध्यमका लागि गाउँपालिकाले २५ जना निजी शिक्षक नियुक्त गरी अनुदान दिँदै आएको छ । सबै विद्यालयमा पूर्वप्राथमिक तहमा निजी विद्यालयमा जस्तै नर्सरी, एलकेजी र युकेजी कक्षासमेत सञ्चालन गर्दै आएको छ । तीन तहका विद्यार्थीलाई गाउँपालिकाले निःशुल्क पाठ्युस्तक र पाठ्यसामग्री उपलब्ध गराउँदै आएको छ । शिक्षा क्षेत्रमा देखिएका कमी कमजोरीलाई क्रमिक रुपमा सुधार गर्दै लैजाने योजनाअनुसार पहिलो काम अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको शिक्षा शाखा प्रमुख राम मिश्रले बताए । ‘सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सबै विद्यायमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो । यसका लागि गाउँपालिकाले शिक्षक अनुदान दिएको छ’, उनले भने, ‘अहिले निजी विद्यालय छाडेर सरकारी विद्यालयमा विद्यार्थी आउन थालेका तथ्याङ्क प्राप्त भएको छ ।’ अङ्ग्रेजी माध्यमबाट अध्यापन भएपछि निजी विद्यालय र सरकारी विद्यालयमा फरक नहुने समाजमा स्थापित हुँदै गएको समेत उनले बताए । आफ्ना छोराछोरीलाई गाउँकै सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढ्न पाएपछि अभिभावकहरु समेत खुसी भएका छन् । हुन त धेरै अभिभावकहरुले आफ्ना बालबालिकाहरु देखासिखी वा फेसनका रुपमा भएपनि चर्को शुल्क तिर्न बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा पढाउन पाउने भएकाले आजभोलि अभिभावकहरु निकै खुसी हुनु स्वभाविक हो । चुलाचुली गाउँपालिका– १ की विशु राई सरकारी विद्यालयले अङ्ग्रेजी माध्यममा पढाई सुरु गरेकाले आफूलाई निकै खुसी लागेको बताउछन् । उनले थप्दै भने, ‘न्यून आय भएकाहरुलाई सरकारी स्तरबाट गरेको यो प्रयास सह्रानीय छ । यसलाई निरन्तरता दिएर जानुपर्छ ।’ त्यसैगरी अर्का अभिभावक अनिस राईले सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन हुन थालेपछि खुसी लागेको बताए । उनले घर नजिकैको सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यम लागू भएपछि आफ्नो निजी विद्यालय पढ्दै गरेको बच्चालाई समेत सरकारी विद्यालयमा ल्याए । धेरै अभिभावकहरुले आफ्ना बालबालिकाहरुलई गुणस्तरीय शिक्षाका लागि चर्को शुल्क तिरेर निजी विद्यालयमा पठाउन बाध्य भइरहेको परिस्थितिमा सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन पाउने भएकाले यस क्षेत्रका अभिभावकहरु खुसी भएका हुन् । सरकारी विद्यालयमा अङग्रेजी माध्यम लागू गरेपछि विद्यार्थी सङ्ख्या समेत बेढको वडा नं. १ कमलस्थित जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विशाल लिम्बू बताउछन् । ‘अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि झण्डै १५ प्रतिशत विद्यार्थी सङ्ख्या बढेको छ’ उनले भने, ‘कतिपय अभिभावकहरुले त आफ्ना छोराछोरी बोर्डिङबाट निकालेर समेत यहाँ ल्याएका छन् ।’ चुलाचुली गाउँपालिकामा आठ माध्यमिक, १३ आधारभूत, दुई सामुदायिक सिकाई केन्द्र र १६ वटा बालविकास केन्द्र छन् । सबै तहमा पाँच हजार विद्यार्थी अध्ययरत रहेको गाउँपालिका शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ । उता निजीतर्फ एउटा माध्यमिक र पाँच वटा आधारभूत विद्यालय छन् । शैक्षिक संरचनामा ६ करोड बढी लगानी चुलाचुली गाउँपालिकाको शैक्षिक क्षेत्र सुधार गर्नका लागि जनप्रतिनिधि र कर्मचारी तल्लीन छन् । गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा शैक्षिक क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको छ । शैक्षिक सुधारका लागि पछिल्लो दुई वर्षमा रु छ करोड बढीको विभिन्न शैक्षिक संरचनाहरु तयार भएका छन् । गाउँपालिकाका सात वटा विद्यालयमा पक्की भवन निर्माण सम्पन्न गरिएको छ भने दुई वटाको निर्माण सम्पन्नको चरणमा रहेको गाउँपालिका अध्यक्ष केरुङले जानकारी दिए । वडा नं २ स्थित जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा (सिभिल इन्जिनियरिङ)को पढाई भइरहेको छ । स्थानीयस्तरमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षाको पढाई सुरु गरिएको प्रधानाध्यापक लक्ष्मीश्वेरप्रसाद बनबरिया यादवले बताए । सो विद्यालयमा सिभिल इन्जिनियरिङका एक सयसहित करिब सात सय विद्यार्थी अध्ययनरत छ । सो विद्यालयलाई गाउँपालिकाले स्कूल बस उपलब्ध गराएको छ । रु ४१ लाख ६९ हजारमा स्कूलबस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । ‘‘हामी सरकारी विद्यालयलाई अब्बल बनाउँदै शैक्षिक गुणस्तर सुधार गर्ने अभियानमा जुटेका छौँ’’ अध्यक्ष केरुङले भने, ‘‘सिभिल इन्जिनियर अध्ययनरत विद्यार्थीसहित अन्य विपन्न वर्गका विद्यार्थीको शिक्षामा सहज पहुँचको लागि बस सेवाले टेवा पुग्ने हाम्रो विश्वास छ ।’’ गाउँपालिकाबाट विद्यालयलाई स्कूल बस प्राप्त भएपनि सम्पूर्ण सञ्चालनको जिम्मा विद्यालयले नै लिएर सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताए । बसको सुविधाले छिमेकी जिल्ला झापाको दमक, केर्खालगायत क्षेत्रबाट आउने विद्यार्थीसमेत लाभान्वित भएका छन् । सो विद्यालयमा प्राविधिक शिक्षातर्फ कोशी प्रदेशका सबै जिल्ला र मधेस प्रदेशका सिराहा, सप्तरी, सर्लाहीलगायत जिल्लाका विद्यार्थी छन् । उनीहरु झापाको दमकमा बसेर बिहान कक्षा लिन चुलाचुली आउने गर्दछन् । चार विद्यालयमा लिम्बू भाषा पठनपाठन त्यस्तै, चुलाचुली गाउँपालिकाले मातृभाषा शिक्षा समेत लागू गरेको छ । चुलाचुली गाउँपालिकाले चारवटा विद्यालयमा स्थानीय मातृभाषा लिम्बू भाषा पठनपाठन गर्दै आएको छ । चुलाचुली गाउँपालिका–१ मा जनता माध्यमिक विद्यालय, फाल्गुनन्द बहुभाषिक लफाङ पाठशाला र शिवज्योति आधारभूत विद्यालय तथा वडा नं। ४ स्थित किरात चोलुङ आधारभूत विद्यालयमा लिम्बू भाषा पठनपाठन भइरहेको शिक्षा शाखा प्रमुख मिश्रले जानकारी दिए । गाउँपालिकाले मातृभाषा शिक्षाका लागि समेत एक-एक जना भाषा शिक्षकका लागि अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रममा नै उल्लेख गरी भाषा शिक्षकका लागि सेवा सुविधा उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष केरुङले बताए । रासस
अमेरिकामा नेपाली धावक आयुषले तोडे २३ वर्ष पुरानो रेकर्ड
काठमाडौं । शिवम् सिमेन्टमा अनुबन्धीत नेपाली एथ्लेटिक्स धावक आयुष कुँवरले अमेरिकामा २३ वर्ष पुरानो कीर्तिमान तोडेका छन् । उनले सन् २००१ मा रामकृष्ण चौधरीले बनाएको ७.०९ सेकेण्डको कीर्तिमान ब्रेक गर्दै ७.०२ सेकेण्डको नयाँ कीर्तिमान बनाएका हुन् । आयुष कुँवरलाई शिवम् सिमेन्टले गत असारमा १ वर्षका लागि अनुबन्धित गरेको थियो । नेपालका स्प्रिन्टर आयुषले एथ्लेटिक्सको इन्डोरमा ६० मिटर र २०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् । आयुषले वासिङ्गटनको स्पोकानमा भएको विथवर्थ इन्डोर ट्रयाक एण्ड फिल्ड इन्भाइट प्रतियोगितामा इन्डोर अन्तर्गत ६० मिटर दौडमा २३ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोडेका हुन । फ्रेब्रोअरी ९ र १० मा भएको यस प्रतियोगितामा विश्व एथ्लेटिक्स्को सर्वोच्च निकाय वल्र्ड एथ्लेटिक्सले स्याङसन गरेको छ । आयुषले क्वालिफाइङ राउण्डमा रामकृष्णको कीर्तिमान बराबरी गरेका थिए भने अर्को राउण्डमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । अमेरिकाको सिटी स्पीड एसएफ क्लबमा प्रशिक्षण गर्दै आएका आयुषले नेपालकै नामबाट प्रतिस्पर्धा गरेका थिए । ६० मिटरमा दुई दशकभन्दा पुरानो राष्ट्रिय कीर्तिमान तथा २०० मिटर दौडमा ७ वर्ष पुरानो कीर्तिमान लाई तोड्न पाउँदा खुशी लागेको आयुषले बताए । ‘मैले इन्डोरमा ६० मिटर र २०० मिटर दुवैमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य राखेको थिएँ त्यसमा सफल भएँ, एकदमै गर्व लागिरहेको छ,’ आयुषले भने । आयुषले इन्डोर २०० मिटर दौडमा पनि ७ वर्ष पुरानो कीर्तिमान ब्रेक गर्दै २२.७९ सेकेण्डको नयाँ कीर्तिमान बनाएका छन् ।
बालकृष्ण शिवाकोटी मेमोरियल कविता वाचन प्रतियोगितामा सदासय गौतम प्रथम
काठमाडौं । बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगिताका उत्कृष्ट भएकाहरुलाई पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसैगरी सरस्वती माविकी अदिती तिमिल्सिना द्वितीय र इष्टपोल स्कुलकी प्रियमशा कार्की तृतीय भएका छन् । त्यसैगरी आर्याभा निरौला, महादेव पाण्डेय र दृस्टि सत्यालले सात्वना पुरस्कार प्राप्त गरेका छन् । प्रथम, द्वितीय र तृतीय हुनुलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरियो । सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरुलाई प्रमाणपत्रसहित एक हजार रुपैयाँ प्रदान गरियो । वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपत्यकाभित्रका ४४ जना विद्यार्थी सहभागी थिए ।
अमेरिका लैजाने भन्दै बन्धक बनाइएका ११ जनाको उद्धार
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए राति काठमाडौंको रातोपुल क्षेत्रबाट उद्धार गरेको जिल्ला प्रहरी परिसरका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । उनले भने, ‘हाम्रो परिसरको टोलीले अमेरिका लैजाने भन्दै काठमाडौंमा ल्याएर बन्धक बनाइएका भारतीय नागरिकको उद्धार गरेको छ, विस्तृत विवरण आज सार्वजनिक गरिने छ ।’ रासस
पुनर्बीमा कम्पनीमा सरकार हावी हुँदा भटाभट सेयर बेच्दै पुराना लगानीकर्ता
काठमाडौं । केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै आइएमई ग्रुपले नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने जानकारी गरायो । देशको ठूलो व्यावसायिक समूह आइएमई ग्रुप अन्तर्गतको आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २० लाख कित्ता, ग्लोबल आइएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र आइएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता गरी कुल ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्री गरेर कम्पनीबाट बाहिरिने निर्णय सो ग्रुपले गर्यो । प्रतिकित्ता २८० रुपैयाँ तोकिएको ती कम्पनीले कुल १ अर्ब ४४ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेका हुन् । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २० लाख कित्ता सेयर बिक्रीमा राखेको छ । त्यस्तै, एक वर्षयता विशाल ग्रुपले २५ लाख कित्ता, प्रभु इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता र नेपाल इन्स्योरेन्सले १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्री गरे । नेपाल पुनर्बीमा कम्पनीमा बीमा कम्पनीहरूसहित विभिन्न ठूला व्यावसायिक घरानाको लगानी छ । नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा ठूलो सेयरधनी सरकार हो । कम्पनीमा सरकारको ४४ प्रतिशत सेयर स्वामित्व छ । बीमा कम्पनीहरूसहित निजी क्षेत्रका संस्थापकहरूको सेयर हिस्सा ४० प्रतिशत छ भने सर्वसाधारणको १६ प्रतिशत लगानी छ । कम्पनीको सञ्चालक समितिमा अध्यक्षसहित पाँच जना छन् । जसमा सरकारको प्रतिनिधित्व गर्ने दुई जना, जीवन बीमा र निर्जीवन बीमा कम्पनीको प्रतिनिधित्व गर्ने एक जना र पब्लिक एवं स्वतन्त्र सञ्चालक दुई जना छन् । स्वतन्त्र सञ्चालक अर्थमन्त्रालयको मन्जुरीमा नियुक्त हुँदै आएको छ । प्रत्यक्ष अप्रत्यक्ष गरी अध्यक्षसहित बहुमत सञ्चालक सरकारी नियुक्तीबाट हुने गरेको छ । सेयर स्वामित्व ४४ प्रतिशत रहेपछि सञ्चालक समितिमा बहुमत रहँदै आएकाले अर्थमन्त्रालयको सहमति विना महत्वपूर्ण निर्णय नेपाल पुर्नबीमा कम्पनीका सञ्चालक समितिले गर्न सक्दैन । यस कम्पनीको कसलाई अध्यक्ष बनाउने, कसलाई सञ्चालक बनाउने, कसलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्ती गर्ने भन्नेमा अर्थमन्त्रालय नै निर्णयक बन्दै आएको र कम्पनीको समग्र सञ्चालन प्रक्रियामा सरकारी शैली देखिँदै आएको जानकारहरु बताउँछन् । साथै, निजी क्षेत्रका लगानीकर्ता एवं प्रतिनिधिहरुको भूमिका प्रभावहीन भएपछि ठूला संस्थापक सेयरधनीहरुले कम्पनीको सेयर बिक्री गरी बाहिरिने बाटो रोजेको हुनसक्ने कम्पनीका एक पूर्व सञ्चालकले बताए । दक्ष व्यक्तिले कम्पनीको नेतृत्व गर्ने मौका नै नपाएको, पुर्नबीमाको व्यापार विदेशमा विस्तार गर्न नसकिएको, लगानीको प्रतिफल घट्दै गएकोले पनि पुराना लगानीकर्ताले कम्पनीको सेयर बेच्न थालेको बताइन्छ । बीमा पुल पुर्नबीमा कम्पनीमा रुपान्तरण हुँदा प्रमुख कार्यकारी अधिकृत रमेश लम्साल थिए । त्यसपछि चिरायु भण्डारी र शंकर रायमाझी प्रमुख कार्यकारी अधिकृत बने । क्षमताको आधारमाभन्दा राजनीतिक पहुँचका आधारमा नियुक्त भएका प्रमुख कार्यकारी अधिृकतले कम्पनीलाई सबल नेतृत्व दिन नसकेको लगानीकर्ताहरूको बुझाई छ । ‘खुला प्रतिस्पर्धाबाट कम्पनीको सीईओ बनेपनि राजनीतिक पहुँचका आधारमा नियुक्त हुँदै आएको छ । उनीहरुलाई पुर्नबीमा बुझ्न र नेतृत्व गर्न सजिलो थिएन । त्यसैले उनीहरुको कार्यसम्पादन पनि कमजोर नै देखियो’ पूर्व सञ्चालकले भने । सबल नेतृत्व नहुँदा कम्पनीको प्रतिफल घट्नु स्वभाविक हाे । कम्पनीले हालसम्म तीन आर्थिक वर्षमा मात्रै लाभांश वितरण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा १९ प्रतिशत, आर्थिक वर्ष २०७७/७८ मा ५.२६ प्रतिशत र आर्थिक वर्ष २०७८/७९ मा ५ प्रतिशत लाभांश वितरण गरेको थियो । तर पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी प्रसाद अर्याल भने पुराना संस्थापक सेयरधनीले सेयर बेच्नुको कारण अरु नै भएको बताउँछन् । केही बीमा कम्पनीहरूलाई पुँजी वृद्धिका लागि भन्दै सेयर बिक्री गरेको, केहीले मर्जपछि सेयर होल्डिङ घटाउन सेयर बिक्री गरेको, केहीले दुई पुर्नबीमा कम्पनीमा क्रस होल्डिङ हुने भएपछि सेयर बेचेको उनको भनाई छ । पुराना लगानीकर्ताले सेयर बेच्दा नयाँले किनिरहेको बताउँदै यसले कम्पनीमा कुनै असर नपर्ने अध्यक्ष अर्यालको भनाई छ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीको धेरै सेयर हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले किनिरहेको छ । त्यस्तै एशियन लाइफ इन्स्योरेन्सले पनि नेपाल पुनर्बीमामा सेयर होल्डिङ बढाउँदै लगेको छ । बजारमा आक्षेप लगाइए जस्तो कम्पनीमा सरकारको मात्र हालीमुहाली नभएको अर्याल बताउँछन् । ‘कम्पनी सिस्टममा चलेको छ । यो कम्पनीबाट सरकारले ठूलो फाइदा लिन खोजेको पनि छैन, नेपालमै रिइन्स्योरेन्स गराएर विदेशी पुँजी भित्र्याउन खोजेको हो’ उनले भने । कम्पनीले नोक्सानी ब्यहोरेर पनि पुनर्बीमा गर्नु परेको उनको भनाइ छ । कम्पनीले नाफाभन्दा पनि सेवालाई बढी जोड दिने गरेको उनले बताए । सरकारको बहुमत सेयर भएकाले सञ्चालक समितिको अध्यक्ष पनि सरकारको नै हुने धारणा उनको छ । ‘बढी सेयर भएकोले अध्यक्ष पाउने हो, यो संसारभरको नियम हो । सीईओ छनोट सञ्चालक समितिले गर्छ । सबै कम्पनीमा हुने यहि प्रक्रिया हो । निजी क्षेत्रमा पनि यस्तै अभ्यास छ’ उनले भने । कम्पनीको नियमित काम कारबाहीमा सरकारको कुनै हस्तक्षेप नरहेको उनले बताए । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले संस्थापक सेयरधनीहरू कम्पनीबाट बाहिरिनु सुःखद विषय नभएको भन्दै सञ्चालक समितिले सबै सेयरधनीहरूलाई मिलाएर लैजानु पर्ने बताए । ‘कम्पनीमा सरकारको लगानी ४४ प्रतिशत छ, सरकारले सोही अनुपातमा आफ्नो मान्छे पठाउँछ । तर, खुला अर्थतन्त्रमा सरकारले हस्तक्षेप गर्न मिल्दैन, सेयर बिक्री गर्न ऐन कानुनले रोक्दैन तर सबैले किन सेयर बिक्री गर्न लागे भन्ने विषय हाम्रो पनि चासोको विषय हो,’ उनले भने । लगानीकर्ताले उचित प्रतिफल नदेखेर पनि सेयर बिक्री गरेको हुन सक्ने बुझाइ उनको छ ।
शक्तिखोर-फिस्लिङ सडक : भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता हट्यो
भरतपुर । इच्छाकामना गाउँपालिका–२ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन । घन्टौँ हिँडेर भरतपुर र मुग्लिन पुगेका उनले घरै नजिकबाट सवारीसाधन ओहोरदोहोर भएको देख्दा दङ्ग छन् । ‘घरैमाथि स्कुल जाने सडक, घरमुनि फिस्लिङ–शक्तिखोर सडक छ’, उनी भन्छन्, ‘यतिको सुविधा होला भन्ने कल्पनासमेत गरेका थिएनौँ, अहिले त गाडी दुनुन्न हिँड्छन् आनन्द छ ।’ सडक सञ्जालले यात्रुसहित यहाँका स्थानीयलाई धेरै सहज भएको उनी बताउँछन् । ‘पहिले निकै कष्टका दिन बितायौँ, ‘दुःखका दिन सम्झँदै उनले भने’, भारी बोकेर नारायणगढ पुर्याउनुपर्ने बाध्यता थियो । अहिले घरबाटै गाडीले जति पनि सामान लैजान्छ । उनी बास बस्दै दुई दिनमा नारायणगढ पुगेको बताउँछन् । ‘अहिले बिहान गए बेलुका घरमै आइपुगिन्छ, सडक निर्माणले निकै सुविधा भएको छ’, उनले भने । मोटरसाइकल र साना गाडीमा गाउँ घुम्न आउने बढेको जनाउँदै आफूहरूलाई समेत रमाइलो लाग्ने गरेको सुनाए । नौलो मान्छे देख्दा भाग्ने चेपाङलाई अहिले बजारसँग जोड्नका लागि यही सडकले महत्वपूर्ण भूमिका खेलेको उनले बताए । ‘अब सरकारले यो बाटोमा पर्ने खोल्साखाल्सीमा पुल हाल्दिने, पिच गर्न बाँकी रहेको ठाउँमा राम्रो बनाउने गर्दिनुपर्छ’, उनले भने, ‘बाटो अलि साँघुरो छ । ठूलो गाडी पनि गुडाउन मिल्ने गरी बढाउनुपर्छ ।’ यो सडकखण्डमा फिस्लिङदेखि उकालो लागेपछि करिब नौ किलोमिटर अझै कच्ची बाटो हिँड्नुपर्छ । माझगाउँबाट कालोपत्रे सुरू भएको बाटो तोलाङ कटेपछि बाँसपुरसम्मको करिब एक/डेढ किलोमिटर सबैभन्दा जोखिमयुक्त छ, जहाँ मोटरसाइकल चलाउन पनि मुस्किल पर्छ’, प्रजाले भने । सडकले गाउँघरमा समृद्धि ल्याएको मायाटारका युवा टीकाबहादुर गुरुङ बताउँछन् । सडक विस्तारपछि उनले घरबास (हामेस्टे) सञ्चालनमा ल्याएका छन् । उनलाई अहिले पाहुनाको स्वागत र सत्कारमा भ्याइनभ्याइ छ । गुरुङका अनुसार फिस्लिङ–शक्तिखोर सडकमा यात्रा गर्नेको सङ्ख्या बढ्दै गएको छ । मुग्लिन नारायणगढ सडकमा पुल निर्माणका लागि दिउँसोमा बन्द भएका कारण अझै बढी यो सडक प्रयोग गर्नेको सङ्ख्या बढेको गुरुङ बताउँछन् । यो सडकको विषयमा अझै कतिलाई थाहै नभएको भन्दै उनले अझै प्रचारप्रसारको आवश्यकता रहेको बताए । ‘धेरैलाई यो बाटो पनि यात्रा गर्न सकिन्छ भनेर थाहै छैन’, उनी भन्छन्, ‘सबैले थाहा पाउने हो भने सम्भव हुने जतिले यो बाटोलाई प्रयोग गर्न सक्छन् ।’ उनले गाउँमा आउने पाहुनाले स्थानीय उत्पादन किनेर लैजाने गरेको बताए । ‘गाउँमा उत्पादन भएको हरेक कुरा अहिले बिक्री हुन्छ’, उनले भने, ‘यहाँका स्थानीयले पनि पैसा कमाउने भएपछि जाँगर चलाउन थालेका छन् ।’ हपनीका किसान शेरबहादुर प्रजा आफ्नो पाखाभित्ताका हरेक उत्पादनलाई अचेल यही सडकको सहायताले बजार पुर्याउँछन् । ‘हाम्रा लागि शक्तिखोर फिस्लिङ सडक वरदान बनेर उदायो’, उनले ‘यो सडक नहुँदा हामी बारीमा फल्ने तरकारी बस्तुलाई खोले दिन्थ्यौँ । अहिले बारीमै बिक्छ ।’ उनका अनुसार हिउँद होस् या बर्खा, अचेल तरकारी लिन जाने गाडी टोलटोलमै पुग्छन । पैसा हातहातै दिन्छन् । ‘सडकले सजिलो बनायो’, उनले थपे, ‘हामीले पनि बाँझो बारीमा तरकारी फलाउन थाल्यौँ, यसले विस्तारै सबैको आर्थिक अवस्थामाथि लाँदैछ ।’ गाउँ–गाउँसम्म विस्तार हुँदै गएको सडक सञ्जालले सर्वसाधारणको जीवनशैलीमा लगातार सकारात्मक परिवर्तन ल्याइरहेको छ । ‘केही वर्षअघिसम्म पनि हातमा रुपैयाँ–पैसा पार्न टाढाको बजार धाएर अन्नपात नै बेच्नुपर्ने बाध्यताका गाउँलेको अहिले बारीमै तरकारी बिक्छ, जसले किसानको क्रयशक्ति पनि बढाएको छ’, उनले भने । इच्छाकामना –३ माझगाउँका किसान होमबहादुर गुरुङले सडक निर्माणपछि यहाँ उत्पादन हुने सुन्तलालगायतका फलफूल र तरकारी बजार लेजान समस्या नभएको बताए । ‘सडकले विकासको लहर आउने रहेछ’, उनले भने, ‘पहिला हाम्रो क्षेत्रमा उत्पादन भएको सुन्तला बिक्री गर्न बोकेर राजमार्ग झार्नुपर्ने बाध्यता थियो’, अहिले बोटबाटै बिक्री हुन्छ । सडकको सहजता थपिएपछि स्थानीय किसानमा व्यावसायिक रुपमा खेती गर्ने धारणाको विकास भएको स्थानीय कृषक मनमाया गुरुङ बताउँछन् । धेरै परिमाणमा उत्पादन गर्नसके बिक्रीको लागि कुनै पनि समस्या नरहेको कृषक उनको भनाइ छ । खास गरेर मानिसमा व्यावसायिक धारणा विकास नहुँदा देश कृषिमा पछि परेको उनको भनाइ छ । सडक निर्माणपछि यस सडक आसपासका गाउँका अधिकांश किसान व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायमा लागेका छन । सडक सञ्जालको पहुँच बढेकै कारण यतिखेर यहाँका किसान व्यावसायिक बन्न सफल भएका छन् । यसले उनीहरूको आर्थिक हैसियत बलियो पार्दै लगेको गाउँपालिकाले जनाएको छ । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले यस क्षेत्रमा उत्पादन भएका तरकारी, फलफूल, खसी बोका सिधै बजार झर्ने गरेको बताए । ‘गाउँलेले भारी बोक्नुपर्ने बाध्यता हटेको छ’, उनले भने, ‘शाखा सडक टोलटोलमा पुगेका छन् ।’ उनले शक्तिखोर फिस्लिङ सडकका कारण मायाटार, बाँसपुर, इच्छाकामना मन्दिर, माझगाउँलगायत आसपासका गाउँको मुहारनै परिवर्तन भएको बताए । उनले सडक निर्माणकै कारण चितवनको पुरानो सदरमुकाम तथा एतिहासिक ठाउँ उपरदाङगढीमा समेत पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए । ‘पहिले यहाँ फाट्टफुट्ट मात्र पर्यटक पुग्ने गथ्र्ये’, उनले भने, ‘अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटक यहाँ पुग्ने गरेका छन् ।’ उनले सहज सडक सञ्जालकै कारण यहाँ नेपालमा मात्र पाइने चरा काँडेभ्याकुर हेर्नका लागि विदेशी पर्यटकसमेत आउने गरेको बताए । ‘यहाँका किसानले उत्पादन गरेको सबै कृषिउपज बजार ल्याउन सजिलो भएको छ’, उनले भने, ‘जसका कारण स्थानियको जीवनयापनमा सहजता आयो । इच्छाकामना गाउँपालिकाको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो । यहाँ रहेका इच्छाकामना र पाथीभरा मन्दिरमा दर्शन गर्न आउने पनि बढेका छन् । सडककै कारण इच्छाकामना मन्दिरमा त भारतीय पर्यटकसमेत आउन थालेका छन् ।’ काठमाडौं जाने वैकल्पिक सडकको रुपमा रहेको यस सडकले अझ बढी चेपाङको आयस्तरमा सुधार भएको उनी बताउँछन् । यो सडकले चितवनको इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई जोड्छ । फिस्लिङबाट तोलाङ–बाँसपुर–मायाटार– तेर्से–उपरदाङगढी शक्तिखोर पुग्ने सडकले चेपाङ बाहुल बस्तीहरूलाई राजमार्ग र बजारसंग जोडेको छ । इच्छाकामना गाउँपालिका–२ का वडाध्यक्ष पञ्चबहादुर चेपाङले गाउँमा उत्पादन भएको चिउरी, फापर, कोदो, मकैलगायतका उत्पादन सहजै बजार जान थालेको बताए । उनले सडक निर्माणपछि दुखबिरामी हुँदा पनि सहजै भरतपुर पुग्न सकिएको बताए । दिनभर हिँड्नुपर्ने सडक दुई घण्टाको यात्रामा छोटिएको बताए । निवर्तमान सांसद कृष्णभक्त पोखरेलले यो सडक निर्माणले एउटा आयोजना निर्माण मात्र नभएका जनाउँदै चेपाङ बस्तीमा पहिलोपटक कालोपत्रे पुगेको बताए । उनले यो सडकको दूरगामी महत्व बुझेर सडक निर्माण गरिएको बताए । नेपालको सीमान्तकृत जातिको सूचीमा छैटौँ नम्बरमा चेपाङ जाति पर्छन । यस क्षेत्रमा पनि अधिकांश चेपाङको बसोबास छ । त्यही बस्तीलाई आधार बनाएर यो सडक निर्माण गरिएको उनले बताए । आधारभूत शिक्षा र स्वास्थ्य सेवाबाट वञ्चित नागरिकलाई यो सडक वरदान सावित भएको उनको भनाइ छ । रासस
डिप्रोक्स लघुवित्तले घोषणा गर्यो १०.५२ प्रतिशत लाभांश
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संथाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ५५ करोड १० लाख ८८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कूल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव ज्ञानेन्द्र प्रसाद अर्यालले बताए ।
मन्दिरै मन्दिरले भरिएको पिठातोला, जहाँ हरेक माडौँमा देउताको बास छ
बझाङ । तीर्थस्थल र पर्यटकीयस्थलमा बझाङ धनीमध्येएक जिल्ला पर्छ । बझाङमा सयौँ त्यस्ता तीर्थस्थल र पर्यटकीयस्थल छन्, जहाँ पुग्दा हरेक मानिसले नयाँपन महसुस गर्छन् । त्यसैमध्ये एउटा सानो टोल छ, पिठातोला । जहाँ प्रशस्त मठमन्दिर र पाटी पौवा भेटिन्छन् । खप्तडछान्ना गाउँपालिका–५ मा पर्ने पिठातोलाले मन्दिरको गाउँ उपमा पाएको छ । मनोरम प्रकृति र मन्दिरैमन्दिरको दृश्यले पिठातोला ‘बझाङभित्रको बझाङ’ जस्तो लाग्छ । आफैँमा पूर्ण लाग्छ । जताततै मन्दिरैमन्दिरको दृश्य देखेर आगन्तुकले ‘कान्छी गाउँ’को उपमा दिन्छन् । कान्छी गाउँमा पाँचवटा माडौँ छन् । मष्टामाडौँ (ठूली पाँण) मष्टामाडौँ (ठूली पाँण) पिठातोलावासीका कुलदेउता हो । यो मन्दिरमा जुन समयमा पनि पूजाआजा हुने गर्छ । परापूर्वकालदेखि पूजाआजा गरिँदै आएको उक्त मन्दिरमा केही वर्ष अगाडिदेखि भने आ–आफ्नो टोल तथा घरघरमा पनि पुज्ने गरिन्छ । वर्षको दुई पटक मन्दिरमै पुजिन्छ, हिउँद र वर्षायाममा । खासगरी नमाकी (नयाँ बालीको पूजाआजा) गरिने बेला कुलदेउता (मष्टामाडौँ)को पूजा गरिने स्थानीयवासी कुलप्रसाद जोशी बताउछन् । नयाँ बाली भित्र्याएपछि त्यसको पूजा गरेर मात्रै अन्न चलनअनुसार कुलदेउता पूजा गरिने उनको भनाइ छ । उनका अनुसार वर्षको दुई पटक मात्रै बाली उत्पादन हुने पिठातोलामा हिउँदे खेती वैशाखमा पाक्ने गर्छ । त्यो बाली भित्र्याएसँगै जेठ–असार वा साउनमा पूजा गरिन्छ भने वर्षायामको बाली धान र कोदो असोजमा भित्र्याइन्छ । यसको नमाकी फागुन–चैतमा पूजाआजा गरिन्छ र अन्न खान सुरु गरिन्छ । पिठातोलाको कुलदेउता ‘मष्टो’ सुरुमा बझाङकै साविकको कँडेल गाविसमा पर्ने बान्नीगढीतिर पूजाआजा गरिन्थ्यो । स्थानीयबासी भानुभक्त जोशीले भने, ‘एक पटक पिठातोलाका पुर्खा (बाजे) वर्षायाममा साउनको महिना पुजपोखल (पूजा सामग्री) लिएर बान्नीगढी (मष्टामाडौँ भएको ठाउँतिर) जाने क्रममा खोला तर्ने बेलामा बग्नुभएछ ।’ त्यस्तै बेलामा बान्नीगढीमा चल्दै गरेका देउता रोकिए । उनले भने, ‘वरिपरि बसेका श्रद्धालुले ‘के भयो परमेश्वर ?’ भनेर प्रश्न गरेछन् । त्यसपछि धामीले जवाफ दिए, ‘खुलीसाँटो पारीको टँगालो आयो, त्यसैलाई तराउन गयाँ (टाढाबाट पूजा गर्न आएको मान्छे खोलामा बग्यो, त्यसैलाई बचाउन गएको थिए) । रोकिएका धामीको हातखुट्टाबाट पानी बगेछ र धामीले भनेछन् एकै छिनमा टँगालो पुग्छ ।’ यो कथन अहिले पनि पिठातोलामा चर्चित छ । जोशीका अनुसा झाँक्रीले नभन्दै पिठातोलाका बाजे मन्दिर पुगे । मन्दिरमा एकैछिनमा झाँक्री र उनको वार्ता भयो । झाँक्रीले सोधे, ‘ए टँगालो आइपुगिस् ?’ उनले जवाफ दिएछन्, ‘हजुर परमेश्वर आइपुगेँ ।’ अब ‘आज उप्रान्त तैँले उतै मष्टालाई पुजेर खानु’ भन्दै झाँक्रीले सिला ‘ढुङ्गा’ दिएछन् । घर आएपछि पिठातोलामा पनि मष्टो पुज्ने गरेको जोशीले बताए । खापरमाडौँ (मोटाकाटियाँ) मोटाकाटियाँ मन्दिरमा परापूर्वकालदेखि पूजाआजा हुँदै आएको छ । स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति वृद्धि हुने तथा सोचेका सबै कुरा पूरा हुने धार्मिक विश्वासले यो मन्दिरमा पूजा गर्दै आएका छन् । पूजा नगरेको वर्ष बालीनाली पनि घट्ने गरेको स्थानीय बताउँछन् । जहाँ पूजा गर्दा खापर देउतालाई खुसी पार्न बाख्राका पाठापाठी बली चढाउने परम्परा छ । हरेक वर्ष भदौ–असोज र फागुन–चैतमा पुजिने खापरमाडौँमा पिठातोलावासीमात्र होइन, छिमेकी गाउँबाट पनि शनिबार र मङ्गलबारको साइत जुराएर पूजाआजा गर्ने गरेको स्थानीय नारायण जोशी बताउँछन् । उनी भन्छन्, ‘यो मन्दिरमा सामूहिक पूजा गरिन्छ । गाउँघरमा सबैले पूजा सामग्री जुटाएर खापरमाडौँ पुज्दै आएको किंम्वदन्ती पनि रही आएको छ ।’ खापरमाडौँमा आकासे पानीका लागि पनि जाग्राम बस्ने चलन छ । खडेरी परेका बेला ‘पानी परोस्’ भन्दै खापरमाडौँको आँगनमा स्थानीयबासी रातभर जाग्राम बस्छन् । चार‑पाँच दिन राति जाग्राम बसेपछि पानी पर्ने गरेको उनी बताउछन् । ‘खापरमाडौँमा गाईभैँसी तथा अन्य सम्पत्ति बढ्दै जाउन भन्नका लागि धवन ढोल्ने (गाई वा भैँसीको दूध खानुअगावै देउतालाई चढाउनु) गर्छन् । जसले गर्दा पशुलाई रोग लाग्दैन, बढ्दै जान्छ भन्ने जनविश्वास छ ।’ नारायणले भने । लाङ्गोमाडौँ (पिठातोली) परापूर्वकालदेखि पुजिँदै आएको ‘लाङ्गो’ देउता चीन हुँदै भोट मानसरोवरबाट ल्याइएको हो । लाङ्गामाडौँ वर्षको दुई पटक भदौ र चैतको शुक्लपक्ष तिथिमा पुज्ने गरिन्छ । प्रायः मङ्गलबार र शनिबार पारेर पुजिने मन्दिर करिब तीन सय वर्षअघि भोटबाट ल्याइएको स्थानीयको बुझाइ छ । बाह्रौ शताब्दीतिर पिठातोलाका जोशीहरू बझाङकै भातेखोला हुँदै पिठातोलामा बसाइँ सरेर आएपछि त्यो ठाउँमा विभिन्न देउताको पूजाआजा गरिँदै आएको किंम्वदन्ती छ । करिब ‘तीन सय वर्ष’ पहिले ‘लाङ्गो’ देउता ‘खोलाबाडा’ टोलका जोशी परिवारकी हजुरआमा भोट भन्ने ठाउँबाट ‘गादो’ कपडामा बेरेर ल्याएको सिला (ढुङ्गा) पिठातोलामा देउता भन्दै पूजाआजा गरिँदै आएको पिठातोलाका लिलाराम जोशी बताउछन्। ‘त्यो देउता ल्याएपछि दोस्रो पटक भोट (तिब्बत नजिकैको ठाउँ) मा जाने बेला धामी, पुजारी तथा भरियाको टोलीसँग आधा बाटोमा पुगेपछि कुकुरको बच्चा देखा पर्छ र त्यसै टोलीसँग हिँड्न थाल्छ । त्यो कुकुरलाई आफूबाट छुटाउन भोट जाने टोलीले धेरै प्रयास गर्छ तर सक्दैन । अन्त्यमा, नौरा (बझाङ सदरमुकाम नजिकैको गाउँ) का स्थानीयलाई चार मोहोरमा बेच्छन् । त्यसपछि त्यो देउताले बेच्नेहरूलाई सराप दिएको हुँदा लाङ्गोलाई खुसी पार्न सधैँ पुजिँदै आएको हाे’, स्थानीय लिलारामले भने । दुदिरमाडौँ यो मन्दिरलाई ‘न्यायको मन्दिर’ को उपमा दिने गरिन्छ । दोषीलाई सजाय र निर्दोषलाई न्याय दिने मन्दिरको रुपमा दुदिरमाडौँलाई पुजिँदै आएको हो । परापूर्वकालमा अन्यायमा परेका न्यायका लागि अदालती प्रक्रियाजस्तै त्यो मन्दिरमा न्याय खोज्न जाने गर्थे । न्यायको पक्षमा ‘दुदिर’ ले फैसला गर्ने गरेको स्थानीय बताउछन् । उनीहरूका अनुसार दोषीले रातिको समयमा पुज्ने र निर्दोषले दिउँसो नै पुज्ने गर्छन् । यो मन्दिरमा पूजाआजा गर्न कुनै खास महिना–बार कुर्नु पर्दैन । दुदिर साविकको पाटादेवल गाविस–४ पुजारी गाउँ नजिकैको सिँडिगाडको दुदिरमाडौँबाट ल्याइएको हो । पिठातोलाका पुर्खाले त्यो ठाउँबाट आउँदा पाल्तो (पानी पर्दा पानी छेक्ने छाताजस्तै रुखको बोक्रा र निगालोबाट बनाइएको वस्तु) मा जुका आएको भन्दै त्यसलाई खोलामा फालेको र जुकोले दुदिरको रुपधारण गरी पिठातोला पुगेको स्व। लक्ष्मीकान्त जोशीले एउटा भिडियो वार्तामा भनेका थिए। उनीसँगको भिडियो वार्तामा भनिएको, ‘जुकोले तैँले मप्रति कुव्यवहार देखाइस्, तेरै छिमेकी भएर बस्छु, भनेर देवता आएको हो ।’ लाटामाडौँ लाटामाडौँ मन्दिर खास गरी विवाह गरेर गएकी चेलीहरू पुग्ने गर्छन् । ‘यहाँ लाटो देउताबाट छोरीहरू टाढा हुँदा रिसाउने गर्छन् । त्यसलाई खुसी पार्नका लागि ठूलो खसीको बली चढाउनुपर्छ । त्यसपछि मात्र लाटो देउता खुसी हुन्छन्’, स्थानीय सत्यराज जोशी भन्छन्, ‘जबसम्म छोरी बहिनीहरूले लाटो देउतालाई खुसी पार्नुहुन्न, तबसम्म उहाँहरूको उन्नति हुँदैन भन्ने विश्वासका साथ पूजा आराधना गरिँदै आएको छ ।’ जानकारका अनुसार पिठातोलाबाट एक जना बिहे गरेर गएकी चेलीको घरमा जति लगानी गरे पनि बिग्रने, राम्रो गर्दा पनि नराम्रो हुने, रोगले ग्रसित भइरहने हुँदा आफ्नो नजिकको देउतालाई सोधेपछि लाटो देउता नपुजेको कारण देखाएको हुँदा त्यो समयदेखि नै लाटा मन्दिरको पूजा हुँदै आएको हो । त्यसपछिका चेलीलाई पनि सोही समस्या दोहोरिन थालेपछि लाटो देउताको पूजाआजाले निरन्तरता पाएको सत्यराज बताउछन् । लाटामाडौँ मन्दिरमा रातिको समयमा मात्र पुज्ने गरिन्छ । पूजाआजा गर्ने बेलाका सामग्री पनि घरमा फिर्ता ल्याउन नपाइने र पूजामा पकाइएका परिकार र मासु पनि उतै खाइसक्नुपर्ने विश्वास सही आएको छ । खान नसकेर घर ल्याएमा देउता रिसाउने हुँदा उतै सक्नुपर्ने उनले बताए । पिठातोलामा माथि उल्लेख गरिएका मन्दिर मात्रै छैनन् । साना‑ठूला गरी अरू दर्जनौँ मन्दिर छन् । धार्मिक संस्कारअनुसार आस्थाका केन्द्र साना–ठूला मठमन्दिर टोलैपिच्छे भेटिन्छन् । धार्मिक गाउँको रुपमा चित्रण गरिएको पिठातोलामा बिहानको समयमा भजनकीर्तनले पुरै गाउँ गुञ्जायमान हुन्छ । बिहान ४ देखि ६ बजेसम्म आरती, शङ्खधुनलगायत पूजाआज प्रत्येक घरमा हुने गर्छ । धार्मिक संस्कारले बाँधिएको पिठातोला पुग्ने जो कोहीले पनि अनौठो महसुस गर्छन् । मन्दिरको नाममा लगानी गरेर आकर्षक बनाइएका मन्दिर भने छैनन् । स–साना मन्दिरमा त फूलपातीले सजाइएका छन् भने अलि ठूला मन्दिरमा जस्ता पाताले छाएको चन्द्रप्रकाश जोशीले बताए। “मठमन्दिर र पाटीपौवाले पिठातोलालाई शोभायमान बनाएको छ” उनले भने । रासस