हिमालयनलाई सूर्यज्योतिको टक्कर, पछ्याउँदै सानिमा रिलायन्स र प्रभु महालक्ष्मी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको निर्देशन दिएपछि ९ जीवन बीमा कम्पनी मर्जर तथा एक्विजिशन भई ४ वटा जीवन बीमा कम्पनी बने । २० वटा जीवन बीमा कम्पनीमध्ये ९ वटा कम्पनी मर्जर तथा एक्विजिशन भई १४ वटा कम्पनीमा सीमित छन् । साविक सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भई सानीमा रिलायन्स लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ मर्ज भई प्रभु महालक्ष्मी लाइफ, प्राइम लाइफ, युनियन लाइफ र गुँरास लाई मर्ज भई हिमालयन लाइफ र सूर्य लाइफ मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स बने । यी ४ वटै जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जरपश्चात् बनेका यी ४ जीवन बीमा कम्पनीहरूमध्ये अधिकांश सूचकमा हिमालयन लाइफ अग्रस्थानमा छ भने सूर्यज्योति लाइफले पच्छ्याइरहेको देखिन्छ । चुक्ता पुँजी मर्जरपश्चात् हिमालयन लाइफको पुँजी ८ अर्ब बढी पुगेको छ भने अन्य कम्पनीले पुर्याउन सकेका छैनन् । हिमालयन लाइफको ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । सानिमा लाइफको ४ अर्ब १८ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको ४ अर्ब २९ करोड रुपैयाँ र सूर्यज्योति लाइफको ४ अर्ब ५४ करोड रुपैयाँ पुँजीमा सीमित छन् । सेयर प्रिमियम पुस मसान्तसम्मको तथ्याङ्क अनुसार प्रभु महालक्ष्मी र सूर्यज्योतिसँग मात्रै सेयर प्रिमियम रकम जम्मा छ । प्रभु महालक्ष्मीको १ करोड ९३ लाख रुपैयाँ र सूर्यज्योतिको ३ करोड ७२ लाख रुपैयाँ सेयर प्रिमियममा छ । महाविपत्ति कोष महाविपत्ति कोषका आधारमा हिमालयन लाइफ अगाडि छ । हिमालयनको ४८ करोड ११ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३३ करोड १३ लाख रुपैयाँ, सानिमा लाइफको ११ करोड ८३ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ करोड ३० लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्ग रिटेन्ड अर्निङ्ग सूचकमा सूर्यज्योति लाइफ अग्रस्थानमा छ । सूर्यज्योतिको १ अर्ब ४० करोड ६६ लाख रुपैयाँ, हिमालयन लाइफको १ अर्ब ३० करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्सको ९२ करोड १५ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी अन्य इक्विटीमा पनि सूर्यज्योति लाइफ अगाडि छ । सूर्यज्योतिको १ अर्ब १८ करोड ६० लाख रुपैयाँ, प्रभु महालक्ष्मीको ९ करोड २६ लाख रुपैयाँ, हिमालयनको ७ करोड २२ लाख रुपैयाँ र सानिमा रिलायन्सको २ करोड ४२ लाख रुपैयाँ छ । जीवन बीमा कोष जीवन बीमा कोषमा सबैभन्दा बढी रकम हिमालयन लाइफको छ । हिमालयन लाइफको ५८ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ, सूर्यज्योतिको ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ, सानिमा लाइफको १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको ८ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ पुगेको छ । कुल बीमा शुल्क आर्जन बीमा शुल्क धेरै संकलन गर्नेमा हिमालयन नै अग्रस्थानमा छ । हिमालयन लाइफको ८ अर्ब ९ करोड ४८ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ, सानिमा रिलायन्सको २ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २ अर्ब ३ करोड ८२ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद बीमा शुल्क मर्जरपश्चात् व्यवसाय वृद्धिमा हिमालयन अगाडि छ । पुस मसान्तसम्म सबैभन्धेरै खुद बीमा शुल्क आर्जन हिमालयन लाइफले ७ अर्ब ८९ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ४ अर्ब १५ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९९ करोड ८५ लाख रुपैयाँ आर्जन गरेका छन् । खुद दाबी भुक्तानी पुस मसान्तसम्म बीमितलाई सबैभन्दा धेरै दाबी भुक्तानी गर्नेमा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफले ९ अर्ब २० करोड ३८ लाख रुपैयाँ, सूर्यज्योतिले ४ अर्ब ७० करोड ५७ लाख रुपैयाँ, सानिमा रिलायन्सले २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले १ अर्ब ९० कोड ९ लाख रुपैयाँ बीमितलाई भुक्तानी गरेका छन् । अभिकर्ता कमिसन समीक्षा अवधिमा अभिकर्तालाई सबैभन्दा धेरै कमिसन दिनेमा हिमालयन लाइफ छ । हिमालयन लाइफको ६५ करोड ६३ लाख रुपैयाँ, सूर्यज्योति लाइफको ३७ करोड ८५ लाख रुपैयाँ, सानीमा रिलायन्सको २८ करोड ७९ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको २३ करोड ८ लाख रुपैयाँ खर्च गरेको छ । खुद नाफा ६ महिनाको अवधिमा सबैभन्दा धेरै नाफा हिमालयन लाइफले गरेको छ । हिमालयन लाइफको ३४ करोड ६० लाख रुपैयाँ, सूर्यज्योकिो २३ करोड ६६ लाख रुपैयाँ, सानीमा रिलायन्सको २१ करोड ९७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको १७ करोड ६४ लाख रुपैयाँ नाफा गरेका छन् । कुल आम्दानी र खर्च वित्तीय विवरण अनुसार पुस मसान्तसम्म हिमालयन लाइफको कुल आम्दानी १० अर्ब ९७ करोड रुपैयाँ छ भने १० अर्ब ६३ करोड रुपैयाँ कुल खर्च गरेको छ । यस्तै, सूर्यज्योति लाइफको कुल आम्दानी ५ अर्ब ८६ करोड रुपैयाँ र कुल खर्च ५ अर्ब ६२ करोड रुपैयाँ, सानिमा रिलायन्सको कुल आम्दानी ३ अर्ब ४० करोड रुपैयाँ र कुल खर्च ३ अर्ब १८ करोड रुपैयाँ र प्रभु महालक्ष्मीको कुल आम्दानी २ अर्ब ६० करोड रुपैयाँ र कुल खर्च २ अर्ब ४२ करोड रुपैयाँ छ । बीमा लेख यस अवधिमा सबैभन्दा बढी बीमा लेख बिक्री गर्नेमा सूर्यज्योति लाइफ रहेको छ । यस कम्पनीले ९ लाख ८५ हजार बीमा लेख बिक्री गरेको छ । यस्तै, सानिमा लाइफले ८ लाख ६७ हजार, प्रभु महालक्ष्मीले ४ लाख ७८ हजार र हिमालयनले ३ लाख ८४ हजार बीमालेख बिक्री गरेको छ । लगानी हिमालयन लाइफले दीर्घकालिन लगानी ५१ अर्ब ६२ करोड ६ लाख रुपैयाँ र छोटो अवधिको लगानी ७ अर्ब १८ करोड २५ लाख रुपैयाँ गरेको छ । सानिमा रिलायन्सको दीर्घकालिन लगानी १० अर्ब ८८ करोड ७४ लाख रुपैयाँ र छोटो अवधिको लगानी ४ अर्ब ७७ करोड रुपैयाँ गरेको छ । यस्तै, सूर्यज्योतिको दीर्घकालिन लगानी ३० अर्ब १३ करोड ४८ लाख रुपैयाँ र छोटो अवधिको लगानी ३ अर्ब ४० करोड ७ लाख रुपैयाँ र प्रभु महालक्ष्मीको दीर्घकालिन लगानी ११ अर्ब ३९ करोड १९ लाख रुपैयाँ र छोटो अवधिको लगानी २ अर्ब ९ करोड ९५ लाख रुपैयाँ लगानी गरेका छन् ।
बिहीबारसम्म मौसममा फेरवदल भइरहने
काठमाडौं । पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको जानकारी दिए । काठमाडौं उपत्यकामा बादल लाग्न थालिसकेको पनि उनले बताए । बिहीबार भने काठमाडौंमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने पनि उनले जानकारी दिए । विस्तारै मौसम बदली पश्चिमबाट पूर्व सरिहेको छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ । आगामी २४ घण्टाका देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ । ‘यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ’, विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ । रासस
५ हजार रुपैयाँमै बिजनेस सुरु गर्न सकिने, यस्ता छन् आइडिया
काठमाडौं । कुनै पनि व्यवसाय सुरु गर्न पैसा चाहिन्छ । तर, सबैसँग लगानी गर्न पर्याप्त पैसा हुँदैन । केही यस्ता व्यवसाय पनि छन्, जुन तपाईं ५ हजार रुपैयाँबाट सुरु गर्न सक्नुहुन्छ । यदि तपाईं कम पैसामा व्यवसाय सुरु गर्न खोज्दै हुनुहुन्छ भने यी ‘बिजनेस’ आइडिया तपाईंका लागि उपयुक्त हुनसक्छ । ईको-फ्रेन्डली न्यूजपेपर ब्याग सरकारले प्लाष्टिकका झोलामाथि कडाइ गर्दै आएपछि व्यवसायीहरूले कपडा र कागजका झोलाजस्ता वातावरणमैत्री विकल्पहरू खोजिरहेका छन् । यसले प्लास्टिकको विकल्पको माग बढेको छ । यस्तो अवस्थामा अखबारको झोला निर्माण व्यवसाय सुरु गर्न सकिन्छ । तपाईं पर्यावरणमैत्री वस्तु उत्पादन गरेर आफ्नो व्यवसाय सुरु गर्न सक्नुहुन्छ र पसल र ग्राहकहरूलाई सिधै बेच्न सक्नुहुन्छ । आइरनिङ सर्भिस ५ हजार रुपैयाँबाट सुरु हुने अर्को व्यवसाय आइरनिङ सर्भिस हो। आजकल मानिसहरूलाई घरमा लुगा धुने समय कम हुन्छ । त्यसैले उनीहरूलाई आफ्नो लुगा आइरन गर्ने व्यक्ति आवश्यक पर्छ । यस्तो अवस्थामा आजकल आइरन सर्भिस दिने मानिसहरूको राम्रो माग छ । त्यसैले यो व्यवसायको आइडिया पनि उपयुक्त हुन सक्छ । किनभने, तपाईं यो बिजनेस मात्रै ५ हजार रुपैयाँमा सुरु गर्न सक्नुहुन्छ । यसमा तपाईंले आइरन किन्न मात्रै पैसा खर्च गर्नुपर्ने हुन्छ । ब्लगिङ अर्को बढ्दो व्यापार आइडिया ब्लगिङ हो जसलाई ठूलो लगानी आवश्यक पर्दैन । ब्लगिङ आजकल सबैभन्दा छिटो बढ्दो व्यवसायहरूमध्ये एक हो जहाँ तपाईंले आफ्नो वेबसाइटका लागि सामग्री सिर्जना गर्नुपर्नेछ र तपाईं आफ्नो वेबसाइटमा जति धेरै मानिसहरूलाई आकर्षित गर्नुहुन्छ, तपाईंले विज्ञापन मार्फत् धेरै पैसा कमाउन सक्नुहुन्छ । तपाईं कुनै पनि ठूलो रकम लगानी नगरी ब्लगिङमार्फत ठूलो रकम कमाउन सक्नुहुन्छ । ट्युसन सर्भिस यदि तपाईंसँग कुनै पनि विषयमा विशेषज्ञता छ भने तपाईं कुनै ठूलो रकम लगानी नगरी आफ्नो विशेषज्ञतालाई व्यवसायमा रूपान्तरण गर्न सक्नुहुन्छ । तपाईंले विद्यार्थीहरूलाई आफूले राम्रो गरेको विषयमा सिकाउन सक्नुहुन्छ । तपाईं एक कोचिङ सेन्टर सुरु गर्न सक्नुहुन्छ वा अनलाइन सिकाउन पनि सक्नुहुन्छ । र, दुवै अवस्थामा तपाईंलाई ट्युसन सेवा सुरु गर्न धेरै पैसाको आवश्यकता पर्दैन । कन्सल्टेन्सी उदीयमान व्यवसायहरूसँग आफ्नो विशेषज्ञता र अनुभव साटासाट गर्नुभन्दा राम्रो बिजनेस अरू केही हुन सक्दैन । तपाईंले स्टार्टअपलाई युनिकर्न बन्न मद्दत गर्न सक्नुहुन्छ वा तपाईंले आफ्नो विशेषज्ञता अन्यत्र बाँड्न सक्नुहुन्छ र बदलामा राम्रो भुक्तानी पाउन सक्नुहुन्छ । यो व्यवसाय सुरु गर्नका लागि, तपाईंलाई न त कुनै ठाउँ चाहिन्छ न ठूलो लगानी । तपाईंले समयसँगै हासिल गरेको सीपलाई मात्र पुँजीकरण गर्न सक्नुहुन्छ । पेइङ गेस्ट अकोमोडेशन पैसा कमाउने अर्को धेरै सरल तर प्रभावकारी तरिका अतिथि गृह हो। यदि तपाईंसँग एउटा घर छ र तपाईंको घरमा केही अतिरिक्त कोठाहरू छन् भने तपाईंले आफ्नो कोठा कलेजका विद्यार्थी वा काम गर्ने पेसेवरहरूलाई भाडामा दिन सक्नुहुन्छ । आरामदायक र घरेलु वातावरण सिर्जना गर्न धेरै पैसाको आवश्यकता पर्दैन । तपाईं ‘एयरबीएनबी’ सेवा पनि रोज्न सक्नुहुन्छ र यसले तपाईंलाई विज्ञापन गर्न आवश्यक पर्दैन । तपाईं सजिलैसँग अतिथिहरूसम्म पुग्न सक्नुहुन्छ र तपाईंको व्यवसाय बढाउन गुणस्तरीय सेवाहरू प्रदान गर्न सक्नुहुन्छ । एजेन्सी
पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध
सल्लेरी । पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध बनेको छ । गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो । यसबाट सगरमाथा क्षेत्र भ्रमणका लागि नाम्चे र खुम्जुङ क्षेत्र पुग्ने स्वदेशी तथा विदेशी पर्यटक समस्यामा परेका छन् । खुम्बुमा याम सुरु भएकाले अहिले दैनिक एक सय हाराहारीमा विदेशी पर्यटक खुम्बु पुग्ने गरेको पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्क छ । अहिले सो क्षेत्रमा सञ्चार सेवा ठप्प बनेको छ भने एटिएम सेवासमेत प्रभावित बनेको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक कविन राईले बताए । अधिकांश विदेशी नगदका लागि एटिमएममा निर्भर हुने भएकाले विद्युत्का कारण एटिएम नै अवरुद्ध हुँदा समस्या देखिएको पर्यटन व्यवसायीले बताएका छन् । नाम्चेमा विद्युत सेवा नभएपछि सो क्षेत्रमा पुगेका पर्यटकसमेत बिचल्लीमा पर्ने गरेको प्रहरी निरीक्षक राईले बताए । विद्युत्को भरमा सबै सेवा सञ्चालन हुने भएकाले विद्युत् नहुनेबित्तिकै काम प्रभावित हुने गरेको इलाका प्रहरी कार्यालय नाम्चेले जनाएको छ । ‘जिल्लामा रिपोर्टिङ गर्ने काम धेरै हुने भएकाले समस्या भएको छ, हाम्रो सञ्चार सेवा पनि अहिले अवरुद्ध छ, विद्युत् नभएर मोबाइल चार्ज गर्न नपाएर सबै ठप्प छ, जिल्लामा रिपोर्टिङ गर्नका लागि अहिले हामी एक दिनको पैदल दूरीमा पर्ने लुक्ला झर्नुपर्ने बाध्यता छ’, उनले भने । विश्वको पर्यटकको ध्यान केन्द्रित हुने ठाउँ भएकाले आफूहरूले निगरानीमा राखेको भए पनि नाम्चेमा विद्युत् नहुँदा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले बताए । उनले भने, ‘नाम्चे क्षेत्रमा हामीले दुई हप्तादेखि सञ्चार सम्पर्क गर्न पाएका छैनौँ निकै कठिन भइरहेको छ, अझ त्यहाँ पुग्ने पर्यटकको अवस्था के होला ? कल्पनाभन्दा बाहिरको कुरा छ ।’ विद्युत्को जमिनमाथिको भागको लाइन मर्मतमा समस्या नरहे पनि जमिनमुनिको तारमा समस्या देखिएको खुम्बु बिजुली कम्पनीका कर्मचारी सोनाम दोर्जी शेर्पाले बताए । चिसोका कारण जमिन जमेकाले तार फुट्ने तथा भाँचिने गरेकाले समस्या भएको उनको भनाइ छ । उनले भने, ‘हामी प्रयासरत छौँ, हावाहुरीले रुख ढाल्दा खुम्बु भ्याली र नाम्चे भ्याली क्षेत्रको छ–सात ठाउँको लाइनमा क्षति पुगेको थियो । जमिनमाथिको तारको समस्या समाधान भयो तर जमिनमुनिको तारमा देखिएको समस्या हल हुन समय लाग्यो, समस्या समाधान हुन अझै करिब आठ–दश दिन लाग्छ ।’ जमिनमुनिको करिब सात सय ५० मिटर तार फेर्नुपर्ने भएको कम्पनीले जनाएको छ । काठमाडौंबाट खुम्बु तार ढुवानी गर्न लैजान सिलिङ उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणसँग समन्वय गरिरहेको कम्पनी कर्मचारी शेर्पाले बताए । विद्युत् अवरुद्ध हुनेबित्तिकै टेलिफोन सेवासमेत अवरुद्ध हुँदा खुम्बु–काठमाडौं सम्पर्कमा समस्या भएको उनले बताए । सन् १९९३ मा निर्माण गरिएको नौ सय ३० किलोवाट क्षमताको उक्त खुम्बु बिजुली कम्पनीको नौ सय ४० घरधुरी उपभोक्ता रहेका छन् । रासस
आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ । बैंकका स्थित संयुक्त राष्ट्र ससंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।
विकास र समृद्धिका लागि निर्वाचनमा एउटा दललाई बहुमत दिलाउनुपर्छ
देश विकास, दिगो शान्ति स्थापना र भ्रष्टाचारविहीन समाज निर्माणका लागि नेकपा (एमाले) सदनमा प्रभावकारी भूमिका खेल्न तयार छ। सरकारले संसद्लाई प्रभावकारी तुल्याउन यसपटक पनि पर्याप्त विधेयकहरू उपलब्ध गराएर बिजनेस दिने सम्भावना कम देखिसकिएको छ । अहिले संसद्को अधिवेशन चालु छ । तत्काल निष्कर्षमा पुर्याउनुपर्ने पुराना र महत्त्वपूर्ण विधेयकको सङ्ख्या धेरै छ । हिउँदे अधिवेशन सुरु भएको यतिका दिन भइसक्यो बिजनेस नपाएर सदन कानुन निर्माणको पाटोबाट प्रभावकारी बन्न सकेको छैन । सरकारले सदनलाई बिजनेस नदिएकै कारण गएका दुईवटा अधिवेशन र एकवर्षे कार्यकाल उपलब्धिमूलक भएन । तथापि, प्रमुख प्रतिपक्षी दलका नाताले विभिन्न कोणबाट सरकारलाई घच्घच्याउने काम भने निरन्तर गरिनैरह्यौँ । सरकार अहिले पनि गठबन्धन जोगाउनमात्र केन्द्रित छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको स्थायित्व र विकासका लागि छिटोछिटो कानुन बनाएर अघि बढ्नुपर्छ । विगतको द्वन्द्वको घाउ अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसँग जोडिएका कानुन पीडितलाई न्याय प्रदान गर्ने ढङ्गले तर्जुमा हुनुपर्छ भन्नेमा एमाले दृढ छ । सदनमा त्यसबारे गहन र बृहत् रूपबाट छलफल गर्नुपर्छ । के सही, के गलत भन्ने त्यहीँबाट निष्कर्षमा पुगिन्छ । ठिक छ भने पास गर्छौँ, गलत छ भने सच्याएर ल्याउनुस् भन्छौँ । त्यो विधेयक छिटो सदनमा ल्याउनुपर्नेमा सरकार अलमलिएर बसेको छ । वर्तमान सरकारलाई समर्थन दिएकाले गएको १५ महिना पनि मोटामोटीरूपमा दलहरू मिलेरै अघि बढेको देखिन्छ । ललितपुरको बालकुमारी र सर्लाहीको बरथहवामा बेरोजगारीसँग जोडिएर युवामाथि भएको दमन र चरम लापरबाहीका घटनामा प्रमुख प्रतिपक्षले आवाज उठाउनै पर्छ । सरकारलाई एमालेले भन्दै आएको छ, राम्रो काममा समर्थन रहन्छ, नराम्रो काममा विरोध हुन्छ । सरकारलाई अराजक बन्न दिनुहुन्न भन्ने हाम्रो दृढ मान्यता छ । जनप्रतिनिधि कानुन निर्माणका अतिरिक्त जनताका काममा पनि उपस्थित भइरहनुपर्छ । कहिलेकाहीँ दलको कार्यक्रम पर्यो भने सदन र संसदीय समितिका बैठकमै पनि उपस्थित हुन नसक्ने अवस्था आउँछ । पार्टीका कार्यक्रम जुधेन भने बैठकमा निरन्तर उपस्थित भइनै रहन्छौँ । हामीले निर्वाचनमा विकासका नारा दिएरै चुनाव जितेका हुन्छौँ । आफू निर्वाचित भएका खण्डमा यो निर्वाचन क्षेत्रलाई यसरी अघि बढाउँछु र विकास गर्छौँ भनी रोडम्याप प्रस्तुत गर्छौँ । विदेशमा सांसदको जिम्मेवारी कानुन र नीति–नियम बनाउन केन्द्रित हुन्छन् तर नेपाललगायत दक्षिण एसियाली मुलुकमा विकाससमेतको दोहोरो जिम्मेवारी हुन्छ । यहाँ सांसद्लाई विकासको प्रतिनिधिकारूपमा लिने गरिन्छ । हामीलाई निर्वाचन क्षेत्रमा पुग्दा चुनावमा गरेको बाचा पूरा गरेको खोई भनी प्रश्न उठाइन्छ । अहिले पनि मुलुकको प्रमुख समस्या विकासकै हो । त्यो गर्न सकिएको छैन । मेरो निर्वाचन क्षेत्र पर्सा निर्वाचन क्षेत्र नं ३ विकासका दृष्टिले धेरै पछि परेको छ । निर्वाचन क्षेत्रको प्रमुख प्राथमिकता भनेको ग्रामीण क्षेत्रबाट सदरमुकाम जोड्ने सडक विस्तार र कालोपत्र, पुल निर्माण र पर्यटक क्षेत्रको संरक्षण तथा संवर्द्धनसँग जोडिएका आयोजना हुन् । तर गएको बजेटमा मेरो निर्वाचन क्षेत्रका कुनै पनि आयोजनालाई सरकारले बजेट विनियोजन गरेन । निर्वाचन क्षेत्रमा ४२ योजनाका लागि रकम माग गरेकामा एउटा योजनाका लागि पनि बजेट प्राप्त भएन । दुःखका साथ भन्नुपर्छ, एक वर्षमा एउटा चापाकलसमेत गाड्न सकिएन । सरकारमा रहेका प्रभावशाली नेताको क्षेत्रमा मात्र बजेटको ठूलो हिस्सा केन्द्रित गरियो । यसबाट सन्तुलित विकासको अवधारणमा प्रश्न खडा गर्यो । सिङ्गो निर्वाचन क्षेत्रमा बजेटमा एक पैसा पनि नपरेको इतिहासमै यस्तो कहिलै भएको थिएन । यसमा राजनीतिक पूर्वाग्रह देखिएको छ । यो कुरा अर्थमन्त्री र सभामुखसँग पनि गरेको छु । म स्मरण गर्दछु, नेकपा ९एमाले० नेतृत्वको विगतको सरकारले बजेट विनियोजन र विकासका आयोजनालाई सन्तुलित ढङ्गले अघि बढाएको थियो । देशका अन्य भागमा सञ्चालित कैयौँ आयोजना रकम अभावमा अलपत्र रहेका खबरहरू आइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिनु भनेको भ्रष्टाचार रोकथाम गर्न नसक्नु नै हो । भ्रष्टाचार रोक्ने सरकारको प्रमुख दायित्व भए पनि त्यसमा सफल भएको देखिन्न । अहिले मुलुकको अर्थतन्त्र कमजोर छ । ठूला उद्योगी व्यवसायीले समेत कर्मचारी, कामदारको सङ्ख्या कटौती गर्दै लगेका छन् । युवाको विदेश पलायन बढेको छ । यो परिस्थितिमा पनि सरकारले अर्थतन्त्र सुधार गर्दै रोजगार प्रदान गर्ने उद्योग विस्तार गर्नेतर्फ गम्भीर दृष्टि पुर्याएको देखिन्न । अर्थतन्त्र अप्ठेरामा गएपछि धेरै उद्योगी व्यापारीले आफ्ना पसल र सटर बन्द गरेको अवस्था छ । मुलुकमा देखिएका यी ज्वलन्त समस्या गठबन्धन सरकारले सम्बोधन गर्न सक्ने देखिएन । विसं २०८४ मा हुने चुनावमा एमालेलाई बहुमत दिलाउनुस् भन्ने नाराका साथ हामी सक्रियतापूर्वक काम गरिरहेका छौँ । एउटै दलको बहुमत नभएसम्म राजनीतिक स्थिरता र समृद्धि दिलाउन कठिन हुन्छ । त्यो घटनाले पुष्टि गरिसकेको छ । देश विकासका लागि विद्युत् र पर्यटनमा ध्यान दिए पुग्छ । आगामी पाँच–दश वर्षमै अरु विकास भएका देशको सूचीमा नेपाललाई पुर्याउन सकिन्छ । त्यसका लागि नेपाली जनताले एउटा दल विशेषलाई बहुमत दिलाउनै पर्छ । प्रतिपक्षमै रहे पनि म अहिलेको सरकार राम्रोसँग चलोस्, देशलाई सपारोस् भन्ने कामना गर्छु । रासस (नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)
काभ्रेपलाञ्चोकमा बृहत् कृषि महोत्सव सम्पन्न, ७० हजारले गरे अवलोकन
धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार सम्पन्न भएको छ । बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए । महोत्वस अवलोकन गर्नका लागि विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको उनले बताए । किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उनले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गरे । ‘अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्,’ उनले भने, ‘महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई महोत्सवले दबाब दिनेछ ।’ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्यरूपमा सम्पन्न भएको बताउनुभयो । त्यस क्रममा उनले महोत्सवले किसानको समस्या र उनीहरूको उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी गर्ने थलोका रूपमा विकास गरेको बताए । महोत्सवमा दुई सयवटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएको थियो ।
वीरगन्जमा लगाइएको कर्फ्यू बिहान १० बजेसम्मका लागि हटाइयो
वीरगन्ज । सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्मका लागि हटाइएको छ । रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएकाले निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि वीरगन्जका केही भागमा कर्फ्यू लगाएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको जानकारी दिएका छन् । १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ । प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लाग्ने जनाएको छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।