आयोगका उपाध्यक्ष नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल बैंकक प्रस्थान
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको नेपाली प्रतिनिधि मण्डल थाइल्याण्डको बैंकका प्रस्थान गरेको छ । एशिया प्यासिफिक फोरम अन सस्टेनेवल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुन उपाध्यक्ष श्रेष्ठ नेतृत्वको टोली बैंकक प्रस्थान गरेको हो । उपाध्यक्ष श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा आयोगका सदस्य डा. रामकुमार फुयाल, सचिव डा. तोय नारायण ज्ञवाली, सहसचिव महेश भट्टराई लगायतको टोली रहेको छ । बैंकका स्थित संयुक्त राष्ट्र ससंघको सम्मेलन केन्द्रमा मंगलबारदेखि शुक्रबारसम्म (फ्रेवुअरी २० देखि २३सम्म) चल्ने कार्यक्रममा दीर्घकालिन सोचका लक्ष्यहरु १, २, १३, १६ र १७ को समीक्षा समेत हुँदैछ ।
विकास र समृद्धिका लागि निर्वाचनमा एउटा दललाई बहुमत दिलाउनुपर्छ
देश विकास, दिगो शान्ति स्थापना र भ्रष्टाचारविहीन समाज निर्माणका लागि नेकपा (एमाले) सदनमा प्रभावकारी भूमिका खेल्न तयार छ। सरकारले संसद्लाई प्रभावकारी तुल्याउन यसपटक पनि पर्याप्त विधेयकहरू उपलब्ध गराएर बिजनेस दिने सम्भावना कम देखिसकिएको छ । अहिले संसद्को अधिवेशन चालु छ । तत्काल निष्कर्षमा पुर्याउनुपर्ने पुराना र महत्त्वपूर्ण विधेयकको सङ्ख्या धेरै छ । हिउँदे अधिवेशन सुरु भएको यतिका दिन भइसक्यो बिजनेस नपाएर सदन कानुन निर्माणको पाटोबाट प्रभावकारी बन्न सकेको छैन । सरकारले सदनलाई बिजनेस नदिएकै कारण गएका दुईवटा अधिवेशन र एकवर्षे कार्यकाल उपलब्धिमूलक भएन । तथापि, प्रमुख प्रतिपक्षी दलका नाताले विभिन्न कोणबाट सरकारलाई घच्घच्याउने काम भने निरन्तर गरिनैरह्यौँ । सरकार अहिले पनि गठबन्धन जोगाउनमात्र केन्द्रित छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको स्थायित्व र विकासका लागि छिटोछिटो कानुन बनाएर अघि बढ्नुपर्छ । विगतको द्वन्द्वको घाउ अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसँग जोडिएका कानुन पीडितलाई न्याय प्रदान गर्ने ढङ्गले तर्जुमा हुनुपर्छ भन्नेमा एमाले दृढ छ । सदनमा त्यसबारे गहन र बृहत् रूपबाट छलफल गर्नुपर्छ । के सही, के गलत भन्ने त्यहीँबाट निष्कर्षमा पुगिन्छ । ठिक छ भने पास गर्छौँ, गलत छ भने सच्याएर ल्याउनुस् भन्छौँ । त्यो विधेयक छिटो सदनमा ल्याउनुपर्नेमा सरकार अलमलिएर बसेको छ । वर्तमान सरकारलाई समर्थन दिएकाले गएको १५ महिना पनि मोटामोटीरूपमा दलहरू मिलेरै अघि बढेको देखिन्छ । ललितपुरको बालकुमारी र सर्लाहीको बरथहवामा बेरोजगारीसँग जोडिएर युवामाथि भएको दमन र चरम लापरबाहीका घटनामा प्रमुख प्रतिपक्षले आवाज उठाउनै पर्छ । सरकारलाई एमालेले भन्दै आएको छ, राम्रो काममा समर्थन रहन्छ, नराम्रो काममा विरोध हुन्छ । सरकारलाई अराजक बन्न दिनुहुन्न भन्ने हाम्रो दृढ मान्यता छ । जनप्रतिनिधि कानुन निर्माणका अतिरिक्त जनताका काममा पनि उपस्थित भइरहनुपर्छ । कहिलेकाहीँ दलको कार्यक्रम पर्यो भने सदन र संसदीय समितिका बैठकमै पनि उपस्थित हुन नसक्ने अवस्था आउँछ । पार्टीका कार्यक्रम जुधेन भने बैठकमा निरन्तर उपस्थित भइनै रहन्छौँ । हामीले निर्वाचनमा विकासका नारा दिएरै चुनाव जितेका हुन्छौँ । आफू निर्वाचित भएका खण्डमा यो निर्वाचन क्षेत्रलाई यसरी अघि बढाउँछु र विकास गर्छौँ भनी रोडम्याप प्रस्तुत गर्छौँ । विदेशमा सांसदको जिम्मेवारी कानुन र नीति–नियम बनाउन केन्द्रित हुन्छन् तर नेपाललगायत दक्षिण एसियाली मुलुकमा विकाससमेतको दोहोरो जिम्मेवारी हुन्छ । यहाँ सांसद्लाई विकासको प्रतिनिधिकारूपमा लिने गरिन्छ । हामीलाई निर्वाचन क्षेत्रमा पुग्दा चुनावमा गरेको बाचा पूरा गरेको खोई भनी प्रश्न उठाइन्छ । अहिले पनि मुलुकको प्रमुख समस्या विकासकै हो । त्यो गर्न सकिएको छैन । मेरो निर्वाचन क्षेत्र पर्सा निर्वाचन क्षेत्र नं ३ विकासका दृष्टिले धेरै पछि परेको छ । निर्वाचन क्षेत्रको प्रमुख प्राथमिकता भनेको ग्रामीण क्षेत्रबाट सदरमुकाम जोड्ने सडक विस्तार र कालोपत्र, पुल निर्माण र पर्यटक क्षेत्रको संरक्षण तथा संवर्द्धनसँग जोडिएका आयोजना हुन् । तर गएको बजेटमा मेरो निर्वाचन क्षेत्रका कुनै पनि आयोजनालाई सरकारले बजेट विनियोजन गरेन । निर्वाचन क्षेत्रमा ४२ योजनाका लागि रकम माग गरेकामा एउटा योजनाका लागि पनि बजेट प्राप्त भएन । दुःखका साथ भन्नुपर्छ, एक वर्षमा एउटा चापाकलसमेत गाड्न सकिएन । सरकारमा रहेका प्रभावशाली नेताको क्षेत्रमा मात्र बजेटको ठूलो हिस्सा केन्द्रित गरियो । यसबाट सन्तुलित विकासको अवधारणमा प्रश्न खडा गर्यो । सिङ्गो निर्वाचन क्षेत्रमा बजेटमा एक पैसा पनि नपरेको इतिहासमै यस्तो कहिलै भएको थिएन । यसमा राजनीतिक पूर्वाग्रह देखिएको छ । यो कुरा अर्थमन्त्री र सभामुखसँग पनि गरेको छु । म स्मरण गर्दछु, नेकपा ९एमाले० नेतृत्वको विगतको सरकारले बजेट विनियोजन र विकासका आयोजनालाई सन्तुलित ढङ्गले अघि बढाएको थियो । देशका अन्य भागमा सञ्चालित कैयौँ आयोजना रकम अभावमा अलपत्र रहेका खबरहरू आइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिनु भनेको भ्रष्टाचार रोकथाम गर्न नसक्नु नै हो । भ्रष्टाचार रोक्ने सरकारको प्रमुख दायित्व भए पनि त्यसमा सफल भएको देखिन्न । अहिले मुलुकको अर्थतन्त्र कमजोर छ । ठूला उद्योगी व्यवसायीले समेत कर्मचारी, कामदारको सङ्ख्या कटौती गर्दै लगेका छन् । युवाको विदेश पलायन बढेको छ । यो परिस्थितिमा पनि सरकारले अर्थतन्त्र सुधार गर्दै रोजगार प्रदान गर्ने उद्योग विस्तार गर्नेतर्फ गम्भीर दृष्टि पुर्याएको देखिन्न । अर्थतन्त्र अप्ठेरामा गएपछि धेरै उद्योगी व्यापारीले आफ्ना पसल र सटर बन्द गरेको अवस्था छ । मुलुकमा देखिएका यी ज्वलन्त समस्या गठबन्धन सरकारले सम्बोधन गर्न सक्ने देखिएन । विसं २०८४ मा हुने चुनावमा एमालेलाई बहुमत दिलाउनुस् भन्ने नाराका साथ हामी सक्रियतापूर्वक काम गरिरहेका छौँ । एउटै दलको बहुमत नभएसम्म राजनीतिक स्थिरता र समृद्धि दिलाउन कठिन हुन्छ । त्यो घटनाले पुष्टि गरिसकेको छ । देश विकासका लागि विद्युत् र पर्यटनमा ध्यान दिए पुग्छ । आगामी पाँच–दश वर्षमै अरु विकास भएका देशको सूचीमा नेपाललाई पुर्याउन सकिन्छ । त्यसका लागि नेपाली जनताले एउटा दल विशेषलाई बहुमत दिलाउनै पर्छ । प्रतिपक्षमै रहे पनि म अहिलेको सरकार राम्रोसँग चलोस्, देशलाई सपारोस् भन्ने कामना गर्छु । रासस (नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश)
काभ्रेपलाञ्चोकमा बृहत् कृषि महोत्सव सम्पन्न, ७० हजारले गरे अवलोकन
धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलाञ्चोक कृषि महोत्सव, २०८०’ सोमबार सम्पन्न भएको छ । बनेपाको तीनदोबाटोस्थित करुणमार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले बताए । प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँचपोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए । महोत्वस अवलोकन गर्नका लागि विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको उनले बताए । किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उनले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गरे । ‘अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्,’ उनले भने, ‘महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई महोत्सवले दबाब दिनेछ ।’ जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्यरूपमा सम्पन्न भएको बताउनुभयो । त्यस क्रममा उनले महोत्सवले किसानको समस्या र उनीहरूको उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी गर्ने थलोका रूपमा विकास गरेको बताए । महोत्सवमा दुई सयवटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएको थियो ।
वीरगन्जमा लगाइएको कर्फ्यू बिहान १० बजेसम्मका लागि हटाइयो
वीरगन्ज । सोमबार बेलुकादेखि वीरगन्जमा लगाइएको कर्फ्यू बिहान ६ बजेदेखि १० बजेसम्मका लागि हटाइएको छ । रौतहटको इशनाथ नगरपालिकाको झडपको विरोधमा सोमबार हिन्दू समाजले निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच वीरगन्जमा झडपको स्थिति सिर्जना भएकाले निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालय पर्साले रौतहटमा भएको झडपको विषयमा हिंसा भड्कन सक्ने भन्दै सोमबार बेलुका ५ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि वीरगन्जका केही भागमा कर्फ्यू लगाएको थियो । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सोमबार बेलुका सूचना जारी गर्दै मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यू हटाइएको जानकारी दिएका छन् । १० बजेपछि भने कर्फ्यु यथावत रहने सूचनामा उल्लेख छ । प्रशासनले वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यू लाग्ने जनाएको छ । ती क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ वा र्याली गर्न एवम् कुनै पनि प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।
बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन
लुम्बिनी । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका छन् । बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै सहयोग वृद्धि गर्ने प्रतिबद्धता गरे । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताए । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव राजु खनाल, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराएका थिए । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराएका थिए । अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पिआइसीयू तथा बालबालिकाको पोषण पुनःस्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा थापाले जानकारी गराए । यस्तै नगर प्रमुख पाण्डेयले बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको जानकारी गराए । त्यस अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्बिर मायाको चिनोस्वरुप प्रदान गरे ।
डिप्रेसनबाट बच्ने ? ध्यान र प्राणायाम गर्नुस्, मस्त सुत्नुस्
काठमाडौं । अहिले खराब जीवनशैली र खराब खानपानका कारण मानिसमा डिप्रेसनको समस्या बढ्दै गएको छ । यसले मानसिक स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । कहिलेकाहीँ शारीरिक क्रियाकलापको कमीले पनि यस्तो समस्या हुने गर्छ । हालै ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार स्ट्रेन्थ ट्रेनिङ, योग र हिँड्नेजस्ता गतिविधिमा संलग्न हुँदा डिप्रेसनको जोखिम कम हुन्छ । डिप्रेसनले तपाईंको मानसिक स्वास्थ्यलाई मात्र नभई शारीरिक स्वास्थ्यलाई पनि नराम्ररी असर गर्छ। डिप्रेसनका कारण स्वास्थ्य बिस्तारै बिग्रिन थाल्छ र तपाईं आफ्नो आत्मविश्वास पनि गुमाउन थाल्नुहुन्छ । अध्ययनका अन्वेषकहरूका अनुसार डिप्रेसनको अवस्थामा योग, व्यायाम र स्ट्रेन्थ ट्रेनिङजस्ता गतिविधिमा संलग्न हुनु मानसिक स्वास्थ्यका लागि थेरापीभन्दा कम हुँदैन । यदि तपाईंलाई डिप्रेसनको समस्या छ भने सबैभन्दा पहिले व्यायाममा ध्यान दिनुपर्छ । यसका लागि शोधकर्ताहरूले २ सय १८ अध्ययनहरूको समीक्षा गरे र यो अध्ययन सञ्चालन गर्न डिप्रेसनबाट पीडित १४ हजार १ सय ७० मानिसलाई पनि समावेश गरे । यो अध्ययनले व्यायामले वास्तवमा डिप्रेसनका लक्षणहरू कम गर्न मद्दत गर्ने प्रमाणित गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वभरि ३० करोड मानिस डिप्रेसनको समस्याबाट ग्रसित छन् । अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयको स्कूल अफ साइकोलोजीका वरिष्ठ प्राध्यापक डा। माइकल नोएटेलका अनुसार डिप्रेसनबाट बच्न व्यायाम गर्नु राम्रो र बलियो विकल्प साबित हुन्छ । यसो गर्दा डिप्रेसनको जोखिम निकै कम हुन्छ । डिप्रेसनबाट बच्ने उपाय डिप्रेसनबाट बच्न शारीरिक रूपमा सक्रिय रहनुपर्छ । यसका लागि ध्यान र प्राणायाम गर्नुपर्छ र पर्याप्त निद्रा पनि लिनुपर्छ । डिप्रेसनबाट बच्न खानपानमा ध्यान दिनुपर्छ । यसका लागि सकेसम्म धेरै व्यक्तिहरूसँग कुरा गर्ने र आफ्नो सामाजिक सर्कल बढाउनुपर्छ । एजेन्सी
यी चार प्रदेशमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं । मंगलबार चारवटा प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको हो । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। यस्तै, सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै बाँकी पहाडी इलाकाका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातका साथै बाँकी उच्च पहाडी र हिमाली इलाकाका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ।
दोलखा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । मंगलबार बिहान दोलखा जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएकाे थियो । बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको केन्द्रले जनाएको छ । यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।