सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

<p>काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसंघले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग [&hellip;]</p>


काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसंघीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् ।

सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसंघले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसंघबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थनप्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए । सार्क संयुक्त राष्ट्रसंघको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसंघले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो ।

राष्ट्रसंघका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्थाबीच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउनेबारेमा छलफल गर्नुभएको सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सार्कले राष्ट्रसंघीय विकास कार्यक्रम, खाद्य संगठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), स्वास्थ्य संगठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसंघीय निकायसँग समझदारीपत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए ।

राष्ट्रसंघ र सार्कबीचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौंस्थित सार्क सचिवालयमा राष्ट्रसंघ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गरे ।

महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबीचको सहकार्य अभिवृद्धिमा जोड दिए । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उहाँले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । साथै उनले दुई संस्थाबीचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Share News