कोरियन भाषा परीक्षा १ वर्षसम्म चल्ने
काठमाडौं । इपीएस कोरिया शाखाले सुरु गरेको कोरियन भाषा परीक्षा आगामी २०८१ पुस २ गते सकिने भएको छ । सोमबार पहिलो चरणअन्तर्गत सुरु भएको उक्त परीक्षामा ४७ हजार पाँच सय १९ जना सहभागी हुने उक्त परीक्षा आउँदो चैत २४ गते सकिने इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिए । उनका अनुसार दोस्रो चरणमा ७९ हजार नौ सय ३७ जनाको परीक्षा लिइने भएको र उक्त परीक्षा आउँदो २०८१ को वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन हुने छ । यसैगरी तेस्रो चरणको परीक्षामा ३६ हजार एक सय ७९ जना परीक्षार्थी सहभागी हुने तथा उक्त परीक्षा २०८१ कात्तिक २६ गतेदेखि सुरु भएर २०८१ पुस २ गतेसम्म सञ्चालन हुने भएको छ । सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६ सय ३५ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भइरहेको र उक्त परीक्षाका लागि एक दिनमा पाँचवटा सिफ्ट तयार गरी दिनमा एक हजारजनाले परीक्षा दिन थालेको इपीएस कोरिया शाखाका निर्देशक कँडेलले राससलाई जानकारी दिए । उनले भने, ‘पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिनेछन्, शनिबार पनि परीक्षा लिने गरी व्यवस्था मिलाएका छौँ, तीन चरणमा सञ्चालन हुने उक्त परीक्षा आगामी २०८१ पुस २ गते सकिन्छ ।’ परीक्षाको अघिल्लो दिन आफ्नो सिफ्टअनुसार इपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेसन फिङ्र प्रिन्ट दर्ताको लागि उपस्थित भई परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाइ हुने इपीएस कोरिया शाखाका शाखा अधिकृत कमल श्रेष्ठले जानकारी दिए । परीक्षा समयभन्दा एक घण्टाअघि परीक्षा हलमा परामर्श सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने निर्देशक कँडेलले बताए । उनका अनुसार उक्त परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ । यसैगरी परीक्षामा चिट, कपी गरेको तथा अरू अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको इपीएस कार्यालयले जनाएको छ । रासस
विष्णुमति करिडोरका अवैध संरचना हटाउन सुरु
काठमाडौं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को जानकारी दिए । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रुपमा निर्माण गरिएका संरचना हटाएको हो । उक्त समितिले आज टोखा नगरपालिका-८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । उनले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिका लागेको बताए । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए । फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई ढुङ्गामुढासमेत गरेका थिए । नगरपालिकाले केहीदिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो । रासस
त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञासामा उनले भने, ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’ पत्रकारिताजगतले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै उनले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले गत पुसमा भएको बालकुमारी घटनाका सम्बन्धमा प्राप्त प्रतिवेदन आफूले अध्ययन गरिरहेको जानकारी दिँदै त्यस विषयमा छिट्टै निर्णय लिइने बताए । उनले आफूले प्रधानमन्त्रीका रुपमा मुलुकलाई विश्वमाझ चिनाउन प्रयत्न गरेको उल्लेख गर्दै उच्चस्तरीय भ्रमणबाट विभिन्न मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको बताए । ‘संयुक्त राष्ट्र सङ्घको महासचिवको नेपाल भ्रमण तथा आफूले विभिन्न अन्तर्राष्ट्रिय फोरममा जनाएको सहभागिताबाट नेपालप्रति विश्व समुदायको ध्यान गएको छ’, उनले भने । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उनले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताए । ‘लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ’, उनले भने । सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री दाहालले सरकारले थालनी गरेको अभियानमा सञ्चारजगत्बाट सहयोगको अपेक्षा गरिएको बताए । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए । रासस
रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने
काठमाडौं । रोयल इनफिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ । रोयल इनफिल्डको लागि आधिकारीक बिक्रेता अल्फा अटोमोटिभले हन्टर ३५० मोटर साइकलको कार्निभल सञ्चालनमा गर्ने लागेको हो । उक्त कार्यक्रम यही फाुगन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुलमा हुने कम्पनीले बताएको छ । कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सेन्च क्याम्प, हेरिटिज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स् हुने कम्पनीले बताएको छ ।
काठमाडौंमै झल्कियो खोटाङ
काठमाडौं । काभ्रेपलाञ्चाककी रोजिना तामाङ खोटाङ पुग्न पाएकी छैनन् । तर उनले सोमबारदेखि काठमाडौं बबरमहलस्थित नेपाल कला परिषद्मा सञ्चालित चित्रकलामार्फत खोटाङबारे निजकबाट नियाल्न मौका पाइन् । काठमाडौंको एक विद्यालयमा कक्षा-१२ मा अध्ययनरत तामाङले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’मार्फत राखिएका खोटाङका धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलबारे जानकारी लिइन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यही फागुन ५ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा आएकी रोजिनाले भनिन्, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु काठमाडौंमै बसेर अवलोकन गर्न पाउँदा सिङ्गो खोटाङ कस्तो रहेछ भन्ने थोरै भए पनि जानकारी लिन पाइयो । चित्रकला हेरेपछि खोटाङ मेरो घुम्नै पर्ने सूचीमा परेको छ । त्यहाँ पुगेर धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरु घुम्ने छु ।’ काठमाडौंको एक क्याम्पसमा बीबीए पढ्दै गरेकी अर्घाखाँचीकी कुसुम श्रेष्ठ पनि सोही चित्रकला प्रदर्शनीमै भेटिएकी थिइन् । ‘चित्रकला प्रदर्शनीमा सिङ्गो खोटाङको रुप झल्किएको पाएँ । अर्घाखाँचीको मान्छेलाई काठमाडौंमै बसेर खोटाङको धर्म, संस्कार, संस्कृति र परम्पराबारेमा चित्रकलामार्फत जानकारी लिने अवसर मिल्यो । यो कार्यक्रमले खोटाङलाई चिन्नलाई सहयोग गरेको महसुस गरेकी छु ।’ भक्तपुर बस्ने धनगढीका गणेश कडाल पनि श्रीमती र बच्चासहित चित्रकला अवलोकनका लागि आएका थिए । चित्रकलाको प्रशंसा गर्दै यसबाट खोटाङको संस्कृति र परम्परा बुझाउने प्रयास गरिएको उनले बताए । राष्ट्रपति रामचन्द्र पौडेलले क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा रोजिना, कुसुम र गणेशजस्तै दैनिक करिब पाँच सयले चित्रकला अवलोकन गर्दै आएका छन् । दिक्तेलको धार्मिक तथा ऐतिहासिकस्थल मझुवागढी, भवनगैरा, हाटडाँडा, शङ्खधर शाख्वाचोक, शुभम् फाउण्डेसन र जालपा पुगेर ख्यातिप्राप्त चित्रकारले प्रत्यक्षरुपमा उतारेका क्यानभास चित्रलाई प्रदर्शनीमा राखिएको छ । दिक्तेलमा गत असोज-१७ गतेदेखि २१ गतेसम्म आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका दुई सय १० वटा चित्रलाई सङ्कलन गरेर प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ । देश तथा विदेशमा समेत ख्यातिप्राप्त चित्रकारहरुले खोटाङको धार्मिक तथा पर्यटकीयस्थलहरु त्रिधार्मिकस्थल हलेसी, जन्तेढुङ्गा, भुलभुले दूधकुण्डलगायतका ठाउँको क्यानभास चित्र उतारेका छन् । धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थलहरुका साथै जिल्लाको भौतिक विकास तथा धर्म, संस्कार, संस्कृति र रहनसहनबारेमा चित्रकारहरुले क्यानभासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरेर इतिहास निर्माण गरेको चित्रकार के-के कर्माचार्यले बताएका छन् । ‘प्रदर्शनीमा राखिएका क्यानभास चित्रहरु ऐतिहासिक छन् । यो नगरपालिकाको सम्पत्ति हो । यस्तो कार्यक्रम अहिलेसम्म कसैले गरेका छैनन्’, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका निवर्तमान कुलपतिसमेत रहेका उनले भने, ‘चित्रकला कलामध्येका एउटा अद्भूत कला हो । यसलाई जसले जसरी अर्थ्याउन पनि सक्छन् । क्यानभास चित्रलाई युगौंयुगसम्म राख्न सकिन्छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विश्वका ख्यातिप्राप्त चित्रकारको चित्र सङ्कलन गर्न सफल भएको छ । यो ऐतिहासिक कार्य हो । यसले नगरपालिकालाई विश्वभर परिचित गराएको छ ।’ चित्रकार कर्माचार्यको अमूर्त क्यानभास चित्रहरुसमेत प्रदर्शनीमा राखिएका छन् । अमेरिकाकी चित्रकार एवम् प्रोफेसर जोय वल्फ, लातभियाकी चित्रकार आन्दा पैकाने, नेपाली चित्रकारहरु रतनकुमार राई, विजय थापालगायत ५० देशका चित्रकारले क्यानभासमा उतारेर प्रदर्शनीमा राखिएका चित्रहरुलाई खोटाङमै बोलाएर जिल्लाका दशवटै स्थानीय तहका धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थलहरु तथा धर्म, संस्कार, संस्कृति, परम्परा र रहनसहनलाई क्यानभासमा उतार्न लगाइएको थियो । संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ धनु आर्ट स्टुडियोसँगको सहकार्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम आयोजना गरिएको नगर प्रमुख तीर्थराज भट्टराईले बताए । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्को शृङ्खलाको रुपमा आयोजना गरिएको छ । प्रदर्शनमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर सङ्ग्रहालय बनाएर राख्ने योजना बनाइएको छ’, उनले भने । स्वदेश तथा विदेशबाट आएका ख्यातिप्राप्त चित्रकारले उतारेका क्यानभास चित्रमा समग्र खोटाङको तस्वीर झल्किएको प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले बताएका छन् । ‘चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रमले नगरपालिकाको मात्र नभइ समग्र खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउँदै यहाँको सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुगेको छ’, उनले भने, ‘नेपालसहित १४ देशबाट आएका ख्यातिप्राप्त चित्रकारहरुले समग्र खोटाङको चित्र कोरेका छन् । यसमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सफल भएको छ ।’ स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले जिल्लाका विभिन्न ठाउँमा बसेर क्यानभासमा उतारेका प्रत्यक्ष क्यानभास चित्रलाई प्रदर्शनी कार्यक्रम सकिएपछि पुनः दिक्तेल लगेर सङ्ग्रहालयमा राख्ने तयारी गरिएको नगर उपप्रमुख विशन राईले बताए । ‘स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरु हाम्रो नगरपालिकाको सम्पत्ति हो । यी चित्रहरुलाई नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बनाउने योजना छ’, उनले भने, ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रम प्रत्यक्ष फाइदा नदेखिए पनि हामीले एउटा ईतिहास निर्माण गरेका छौं । आगामी दिनमा यो नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत बन्नेछ ।’ रासस
कृषि विकास बैंकले डाक्यो वार्षिक साधारण सभा, छैन लाभांश प्रस्ताव
काठमाडौं । कृषि विकास बैंकले आगामी फागुन ३० गते वार्षिक साधारण सभा आव्हान गरेको छ । बैंकले आफ्नो १७औं वार्षिक साधारण सभा सो दिन भक्तपुरको बोडेस्थित केन्द्रिय तालिम प्रतिष्ठानमा गर्न लागेको हो । उक्त सभामा बैंकले लाभांश तथा हकप्रद सेयर लगायतका कुनै पनि प्रस्ताव गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्ने, इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी तथा गोबर ग्यास कम्पनीको गत आवको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ । साथै, सभामा जाने प्रयोजनको लागि बैंकले आगामी फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
पनौतीको चामखरमा पर्यटकको चहलपहल
धुलिखेल । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-४ को अग्लो डाँडा चामखरमा पछिल्लो समयमा पर्यटकको चहलपहल बढेको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-३ थापागाउँका महेश थापाले दुई महिनाअघि देखि ‘भ्यू प्वाइन्ट रिसोर्ट’ सञ्चालनमा ल्याएपछि अचेल दैनिक चामखर पुग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । अग्लो डाँडामा चिटिक्कको घर, त्यसैको मूलढोकाअघि फरफराइरहेको छ दज्र्यु (बौद्ध धर्मका मन्त्र लेखिएको झन्डा) । वरिपरिका मनोरम दृश्यावलोकन गर्दै आनन्द लिएर स्थानीय उत्पादनबाट तयार पारिएका परिकार खानका लागि पर्यटकको चाहनाको केन्द्र बनेको छ । दश वर्ष विदेशी भूमिमा पसिना बगाएर आफ्नै गाउँ फर्किएका उनले रिसोर्ट सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनको काममा लागेका हुन् । स्वदेशमा आएर केही गरौँ भन्ने तयारीमा लाग्दै जाने क्रममा रिसोर्ट सञ्चालन गर्न थालेको उनले बताए । विदेश जानुअघि ट्राभल एन्ड टुरिजममा केही अनुभव बटुली सकेका उनले पछिल्लो समयमा लोप हुन लागेको रैथाने बाली संरक्षण गर्ने र आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले रिसोर्ट सञ्चालन गरेको बताए । स्थापित हुन समय धेरै लाग्ने भए पनि त्यस क्षेत्रमा योगदान दिन बामे सर्दै गरेको उनको भनाइ छ । विदेशमा हुँदा धेरै योजना बुनेर गाउँ फर्कने र यहाँका विभिन्न गतिविधिले फेरि सुटकेस बोकेर विमानस्थलमा छोराछोरी र श्रीमती रुवाएर पुनः जानुपर्ने बाध्यता रहेकामा अब त्यसरी जानुहुँदैन, केही गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले व्यवसाय सुरु गरेको उनले सुनाए । करिब १५ लाख लगानीमा जग्गाधनी सुकराम तामाङसँग समन्वय गरेर थालनी गरेको काममा स्थानीय पाँचजनालाई रोजगार दिएका छन् । थापाले व्यवसाय सुरु गरेपछि गाउँमा नै काम गर्ने अवसर पाएकी मीना तामाङले रिसोर्ट सञ्चालनले थप उत्साह पैदा भएको बताइन् । ‘गाउँको नजिकै काम गर्ने अवसर पाएको छु, निकै खुसी छु,’ उनले भनिन्, ‘सुरुमा भनेजस्तो सेवासुविधा नपाए पनि पछि बिस्तारै वृद्धि हुँदै जाने आशा पलाएको छ ।’ अहिले सो रिसोर्टमा उनीसँगै अन्य चारजनाले रोजगारी पाएका छन् । घरबास तरिकाको रिसोर्टमा पछिल्लो समयमा जानेहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । सो ठाउँमा पुगेपछि पर्यटकीयस्थल नगरकोट, नमोबुद्ध, धुलिखेल, फुल्चोकीडाँडालगायत हिमशृङ्खला अवलोकन गर्न सकिने भएकाले सो डाँडामा व्यवसाय सुरु गरेको उनले बताइन् । रिसोर्टमा स्थानीय किसानले उत्पादन गरेको चामल, मकै, गुन्द्रुक, साग र स्थानीय कुखुरालायत उत्पादनको स्वाद लिन सकिने गरी सेवा दिने गरिएको छ । गाउँलेले उत्पादन गरेको सबै प्रकारका खाद्यान्नवस्तु आफूले खरिद गरिदिने गरेको र त्यही अनुसारको मूल्य तिरेर खरिद गर्दा किसान पनि खुसी हुने उनले बताए । पाँचवर्षे योजना बनाएर काम गरिरहेको बताउने उनले थप संरचना निर्माण गर्ने, बगैँचा बनाउने र स्थानीय उत्पादन खरिदसँगै आफैँले पनि उत्पादन गर्ने तयारीमा रहेको योजना सुनाए । उनी पाँच वर्षभित्रमा कम्तीमा २० जनालाई रोजगारी दिने गरी अगाडि बढेको बताउँछन् । त्यहीँ पुगेर बस्न चाहनेका लागि चारवटा कोठा रहेका छन्भने सामूहिक रुपमा बस्न चाहनेका लागि २० जनासम्मलाई आवासको व्यवस्थापन गर्न सक्ने क्षमता रहेको उनले बताए । पनौतीबाट साँगा निस्कने हाइकिङ रुट पनि भएकाले चामखरमा पुग्नेका लागि उक्त रिसोर्ट केन्द्रमा पर्ने गरेको त्यहाँ पुग्नेहरु बताउँछन् । रासस
चीनबाट ल्याइएको मल १० महिनादेखि भन्सारकै गोदाममा
चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड-अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउँछन् । खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर चेकजाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै राजधानी लाने गरेको उनले जानकारी दिए । भूकम्प र कोरोनापछि खुलेको तातोपानी नाकामा पाँच वर्षदेखि एकछत्र काम गर्दै आएको सिल्क कम्पनी अन्तर्गत रहेको सिल्क मार्केट प्रालिले चीनबाट मल आयात गरेको हो । सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ । ठेक्का आर्थिक वर्ष ०७९/८० मा सम्झौता भएको थियो । सम्झौताअनुसार सिल्क मार्केटले रासायनिक मल समयमै ल्याउन सकेन । गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन् । कृषि सामग्री कम्पनी लिमिटेडसँग कुराकानी गरिरहेको र प्रक्रिया पूरा भएपछि मल काठमाडौं लगिने शेर्पा बताउँछन् । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाउने किसान भने समस्यामा परेका छन् । रासस