
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उही कुरा दोहोर्याउने तर, फरक नतिजा खोज्ने खोज्ने काम पागलपन भएको बताएका छन् । बुधबार उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा बोल्दै भट्टराईले वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइलाई लिँदै सो बताएका हुन् ।
‘उही कुरो पटक-पटक दोहोर्याउने र फरक परिणाको आशा गर्नु भनेको पागलपन हो, मुर्खता हो’, उनले भने, ‘मलाई पनि के अनुभूति हुन्छ भने सत्तामा हुन्छौं भने सबै राम्रो हुन्छ, मैले गर्या हो भन्ने हुन्छ, जो अलि विपक्षीमा जान्छौं केही पनि ठिक छैनौं भन्छौं, तर तथ्यले के भन्छ हामीले भन्ने त्यो हो ।’
उनले नेपालमा ६० वर्षदेखिको आर्थिक वृद्धिदरको तथ्यांकमा नेपालले कहिल्यै पनि दोहोरो अंकले आर्थिक वृद्धि गर्न नसकेको भन्दै समस्या कहाँ छ त्यहाँ जानुपर्ने बताए । उनले आरोप प्रत्यारोप गर्ने भन्दापनि संविधानले स्पष्ट दिशावोध गरेको र सोही अनुसार काम गर्न आवश्यक रहेको बताए ।