विकासन्युज

राहुघाटको दोस्रो र तेस्रो जोड्ने ३.८३ किलोमिटर लामो सुरुङ जोडियो

म्याग्दी । नेपाल विद्युत प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ बुधबार जोडिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत जनप्रतिनिधि, आयोजना, निर्माण कम्पनी र परामर्शदाताका प्रतिनिधिको उपस्थितिमा आज सुरुङ जोडिएको हो । जलविद्युत् आयोजनामा सुरुङ निर्माणलाई महत्वपूर्ण कामका रूपमा मानिन्छ । राहुघाटको प्रवर्द्धक नेपाल विद्युत प्राधिकरणको शतप्रतिशत लगानीमा रघुगङ्गा हाइड्रोपावर लिमिटेड स्थापना भएको हो । हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले दोस्रो र तेस्रो अडिट जोड्ने तीन हजार ८३६ मिटर लामो सुरुङ जोडिएको जानकारी दिए । ‘रघुगङ्गा गाउँपालिकाको अधेरीखोलामा रहेको दोस्रो अडिटबाट एक हजार ९३९ मिटर र पिप्लेको तेस्रो अडिटबाट एक हजार ८९७ मिटर सुरुङ खनिएको छ,’ उनले भने, ‘राहुघाटको कूल छ हजार २७० मिटरमध्ये हालसम्म ९४ प्रतिशत अथवा पाँच हजार ९१७ मिटर सुरुङ निर्माण सकिएको छ ।’ तीन सय ५३ मिटर सुरुङ खन्न बाँकी रहेको केसीले बताए । चार वर्षअघिदेखि बाँध, अधेरीखोला, पिप्ले र तिल्केनीचौरको चार वटा अडिटबाट राहुुघाटको सुरुङ निर्माण सुरु गरिएको थियो । पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार तीन सय ३२ मिटर लामो सुरुङमध्ये तीन सय ५१ मिटर खन्न बाँकी छ । बाँध र पहिलो अडिट जोड्ने ७७ मिटर लामो सुरुङमध्ये ७५ मिटर खनिएको छ । पिप्लेस्थित तेस्रो अडिटबाट सर्ज साफ्ट जोड्ने २५ मिटर लामो सुरुङको यसअघि नै ‘ब्रेक थ्रु’ भएको थियो । सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा खसाल्ने एक सय ९६ मिटर ठाडो सुरुङलाई फिनिसिङ गर्ने काम अन्तिम चरणमा पुगेको सञ्चालक केसीले जानकारी दिए । उनका अनुसार पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ । विद्युतगृह निर्माणस्थलबाट भर्टिकल प्रेसर साफ्टसँग जोड्ने तीन सय २९ मिटर ‘वटम प्रेसर साफ्ट’को सुरुङ यसअघि नै जोडिएको थियो । सर्ज साफ्टदेखि टप प्रेसर साफ्ट जोड्ने पाँच सय ४१ मिटरमध्ये ४८ मिटर खन्न बाँकी छ । टप प्रेसर साफ्टदेखि भर्टिकल सर्ज साफ्ट जोड्ने एक सय ७१ र भर्टिकल प्रेसर साफ्टदेखि वटम प्रेसर साफ्ट जोड्ने तीन सय २९ मिटर सुरुङ यसअघि नै निर्माण भएको थियो । राहुघाटको ७० प्रतिशत भौतिक र ५५ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाका व्यवस्थापक राज विष्टले बताए । ‘आगामी सन् २०२५ मार्च महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने कार्ययोजनासहित काम भइरहेको छ,’ उनले भने, ‘सिभिल ठेकेदार जयप्रकाश एसोशियट्सले बाँध, सुरुङ र विद्युतगृह निर्माणको कामलाई एकैसाथ तीव्रता दिएको छ ।’ बाँध निर्माणस्थलमा ११९।७ मिटर लामो, ३१ मिटर चौडाइ र १६ मिटर अग्लो डिसेन्टर बनाउन थालिएको छ । एक सय १२ मिटर लामो, ११९.७ मिटर अग्लो र पाँच मिटर फराकिलो अण्डर सुुलुुसबाट खोला डाइभर्सन गरेर डिसेन्डर बनाउन थालिएको विष्टले जानकारी दिए । १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध निर्माण ६० प्रतिशतभन्दा बढी सकिएको छ । विद्युतगृहको संरचना निर्माण सकेर टर्वाइनका उपकरण जडान गर्न थालिएको छ । इलेक्ट्रोमेकानिकलसम्बन्धी काम गर्न विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग ठेक्का सम्झौता भएको थियो । भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बर महिनासम्म थपिएको छ । भारतीय आयातनिर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इञ्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । विसं २०७४ मङ्सिरमा ६ अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको यस आयोजनाको सिभिल ठेकेदार जेपीले विसं २०७५ असारमा पहुँचमार्ग र विसं २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित विसं २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । सर्वोच्च अदालतको विसं २०७८ असार २९ को आदेशपछि कालीगण्डकी नदीबाट ढुङ्गा, गिटी र बालुवा उत्खनन रोकिँदा आयोजना निर्माणका लागि आवश्यक नदीजन्य कच्चा पदार्थको अभाव हुनु चुनौतीका रूपमा देखिएको आयोजना कार्यालयले जनाएको छ । रासस

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा तोयानारायण पौडेलसहित १८ जनाको आवेदन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त पदमा आवेदन दिन सूचना जारी गरेको थियो । आवेदन दिनेमा तोयानारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदकुमार झा, बिजुकुमार थपलिया, विनोद पराजुली, देवीप्रसाद भट्टराई, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेशप्रसाद कोइराला, राजकुमार पोखरेल, रेशमबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहाल छन् । उक्त विश्वविद्यालयको उपकुलपति छनोटको कार्यविधि अनुसार उम्मेदवारको आवेदन चाँचबुझ गरी अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि अल्पसूची प्रकाशन गरिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । यसअघि त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा ४३ जनाले आवेदन दिएकामा १४ जना अल्पसूचीमा परेकामध्ये तीन जनाको नाम सिफारिस समितिले प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेस गरिसकेको छ । सिफारिस समितिको अध्यक्षता शिक्षामन्त्रीले गर्ने व्यवस्था छ ।

कन्या गुरुकुलको अक्षयकोषका लागि पौने दुई करोड सङ्कलन

काठमाडौं । गार्गी कन्या गुरुकुलले अक्षयकोष स्थापनाका लागि काठमाडौंको पशुपतिनाथ क्षेत्रस्थित सुमार्गी भवनमा आयोजना गरेको श्रीमद्भागवतमहापुराण सप्ताह ज्ञान महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको छ । गुरुकुललाई दिगोरुपमा सञ्चालन गर्न, बालिकामा गुरुकुल शिक्षाको महत्व बढाउन र गुरुकुलको अक्षयकोष स्थापनाका लागि गार्गी कन्या गुरुकुल प्रतिष्ठान काठमाडौंले यही फाुगन १ देखि आजसम्म उक्त महायज्ञको आयोजना गरेको थियो । उक्त महायज्ञबाट एक करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएको आयोजक समितिका संयोजक डा गोविन्द टन्डनले जानकारी दिए । सो महायज्ञमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उक्त सहयोग उपलब्ध गराएका थिए । नेपालमा हाल कूल एक सय ५० वटा गुरुकुल सञ्चालनमा रहे पनि चितवन र तनहुँमा रहेका दुई गुरुकुलमा मात्रै बालिका पढ्ने गरेका छन् । संस्कृति तथा संस्कृत शिक्षा सबैले पढ्न पाउनुपर्छ भन्ने मान्यताका साथ स्थापना भएका गुरुकुलमा सबै जातजातिका बालिकाले पढ्न पाउने व्यवस्था मिलाइएको सहसंयोजक पौडेलले बताए । उनले देवघाट धाममा स्थापित पहिलो समावेशी गार्गी कन्या गुरुकुललाई स्थापनाकाल देखिनै अभिभावकीय भूमिका निर्वाह गरेको जानकारी दिए । महायज्ञमा भागवत वाचक पण्डित कुबेर सुवेदीले भागवत कथा वाचन गरेका थिए भने युवा पण्डित सुशीलकुमार वाग्ले उपवाचक रहेका थिए । कन्या गुरुकुललाई स्थापित गराउन अक्षयकोष स्थापना गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गरिएको हो । गुरुकुलमा निःशुल्क आवासीय सुविधासहित ८० कन्या पाँचदेखि ११ कक्षासम्म अध्ययनरत छन् । प्रसिद्ध विदूषी स्वर्गीय अङ्गुरबाबा जोशीको सदिच्छाअनुसार काठमाडौंमा विसं २०६७ देखि गार्गी कन्या गुरुकुलको स्थापना गरिएको हो । विसं २०७५ देखि भरतपुर-देवघाट धाम चितवनमा गार्गी कन्या गुरुकुल सञ्चालनमा रहेको छ । नेपालमा दुई सय ५० भन्दाबढी गुरुकुल दर्ता भए पनि एक सय ५० जति मात्र सञ्चालनमा रहेका राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष गोदा सुवेदीले जानकारी दिए । पछिल्लो समयमा सबैका लागि संस्कृत शिक्षा भन्ने मान्यताका साथ समावेशी गुरुकुल सञ्चालनमा रहेका छन् । रासस

जलविद्युत बीमा शुल्क खुला गर्ने प्राधिकरणको तयारी, मूल्य वृद्धि हुन सक्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जलविद्युत आयोजनाको बीमा शुल्क दर (प्रिमियम)लाई खुला छाड्ने तयारी गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा शुल्कलाई नन ट्यारिफमा लैजान सार्वजनिक रूपमा नै निर्देशन दिएपछि प्राधिकरणले यस्तो तयारी थालेको हो । नेपाल बीमा प्राधिकरणले जलविद्युत क्षेत्रमा न्यूनतम बीमा शुल्क तोकेकोमा उर्जा व्यवसायीहरूले विरोध गर्दै आएका थिए । उनीहरूले खुला अर्थतन्त्रको मान्यता विपरित सरकारले बीमा पोलिसीको मूल्य तोकेको र २ रुपैयाँ बीमा शुल्कलाई वृद्धि गरी ८ रुपैयाँसम्म पुर्‍याएको भन्दै विरोध गर्दै आएका थिए । गत शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले आयोजना गरेको कार्यक्रममा व्यवसायीहरूले सोही आवाज उठाएका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान प्राधिकरणलाई निर्देशन दिएका थिए । अर्थमन्त्री डा.महतको उक्त निर्देशनलाई बीमा प्राधिकरणले आत्मसाथ गरेको र मन्त्रीको निर्देशन अनुसार नीतिगत संशोधन गर्ने तयारी सुरू भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । ‘अर्थमन्त्रीज्यूले जलविद्युत बीमा पोलिसीको दर घटाउन निर्देशन दिनु भएको छ, यस विषयमा छलफल गर्न बीमा सल्लाहाकार समितिको बैठक बोलाएका छौं,’ उनले भने, ‘यसअघि पनि जलविद्युत व्यवसायको बीमा पोलिसी नन ट्यारिफमा नै थियो, पछि बजारको अवस्थालाई ध्यान दिएर ट्यारिफ तोकेका थियौं, अब त्याे व्यवस्था हट्छ ।’ अब प्रयाप्त पुनर्बीमाको सुनिश्चितता गरेर मात्रै जलविद्युत व्यवसायको बीमा गर्न पाउने व्यवस्था गर्न लागिएको उनको भनाइ छ । बीमा शुल्क दर खुला गर्दा जलविद्युत बीमाको शुल्क घट्ने व्यवसायीहरूको विश्लेषण छ । तर, बीमा व्यवसायीहरू भने बीमा शुल्क खुला गर्दा झन् मूल्य वृद्धि हुने बताउँछन् । ‘हामीले यसअघि न्यूनतम बीमा शुल्क तोकेका थियौं, अधिकतम होइन । बीमा दर खुला गर्दा मूल्य बढ्न सक्छ,’ कार्यकारी निर्देशक पौडेलले भने, ‘जलवायु परिवर्तनले जलविद्युत कम्पनीहरू धेरै जोखिममा छन्, जलविद्युत कम्पनी पनि उच्च जोखिममा छन् । यसले बीमा कम्पनीहरूलाई कठिनाई परिरहेको छ । विदेशी पुनर्बीमा कम्पनीहरूले पनि जलविद्युत बीमालाई उच्च जोखिममा राखेका छन् ।’ एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तका अनुसार अब सबै प्रडक्टहरूमा एक्चुरीबाट प्राइसिङ गर्ने व्यवस्था लागू हुँदैछ । साउन १ गतेदेखि एनएफआरएस १७ लागू गर्ने निर्णय भइसकेको छ । ‘अब प्रत्येक प्रडक्टको प्राइसिङ एक्चुरीबाट हुनेछ, त्यो बेलामा प्राइसिङ अन्तर्राष्ट्रिय मापदण्ड अनुसार तोकिनेछ,’ उनले भने, ‘त्यो अवस्थामा बीमा शुल्क वृद्धि हुने सम्भावना हुन्छ ।’ खुला अर्थतन्त्र भन्दैमा जलविद्युत बीमा शुल्कलाई खुला छोड्न नहुने बल्लभको तर्क छ । ‘जलविद्युत बीमा प्रडक्ट चाउचाउ, चुरोट, घ्यू, तेल बिक्री गरे जस्तो होइन, बीमा भनेको जोखिम हस्तान्तरण गर्ने माध्यम हो भनेर बुझ्न जरूरी छ,’ उनले भने । सम्बन्धित सामाग्री जलविद्युत बीमाको कारोबार चाउचाउ र चुरोट जसरी हुन्न

भरतपुर भ्रमण वर्ष सफल बनाउन पर्यटन बोर्ड र भरतपुर महानगरबीच सम्झौता

चितवन । नेपाल पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाबीच भरतपुर भ्रमण वर्ष २०२४ अभियान सञ्चालनको लागि सहकार्य गर्ने सम्झौता भएको छ । बुधबार भरतपुर महानगरपालिका सभाहलमा भरतपुर भ्रमण वर्ष २०२४ लाई प्रर्वद्धन गर्न दुई पक्षबीच सम्झौता भएको हो । भरतपुर भ्रमण वर्ष २०२४ को अभियान सञ्चालनमा लाग्ने कुल खर्च तीन करोड ७० लाखमध्ये बोर्डले ७० लाख रुपैयाँ बेहोर्ने छ । पर्या पर्यटन तथा मानव वन्यजन्तु द्धन्द्ध व्यवस्थापन कार्याशाला, ब्रसोर, स्टीकर, डिजिटल बोर्ड, होर्डिङ बोर्ड, वैदेशिक पर्यटन प्रर्वद्धन, विभिन्न सहरहरुमा प्रचारात्मक कार्यक्रम, नेचर गाईड तालिमलगायतका कार्यक्रम गर्न सो रकम खर्च गरिने सम्झौता पत्रमा उल्लेख छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षलाई सफल बनाउन बोर्ड गरेको सहयोगको उच्च प्रशंसा गरिन् । बोर्डले अभियानलाई सफल बनाउन अहिलेसम्म भएका प्रयोगलाई उच्चतम प्रयोग गरी नमुना काम गर्न अनुरोध गर्दै उनले देशमा भईरहेको आर्थिक मन्दी र त्यसबाट उत्पन्न निरासालाई उत्साहमा परिवर्तन भ्रमण वर्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा आशावादी रहेको बताइन् । कार्यक्रममा बोल्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे। भ्रमण वर्षको आयोजना भरतपुर महानगरपालिकाले गरेको भएपनि निजी क्षेत्रले ल्याउने प्याकेज, सेवा सुविधा, तत्परताले अभियान सफल हुने वरिष्ठ निर्देशक ऐर बताउँछन् । भरतपुर भ्रमण वर्ष सफल बनाउन नेपाल पर्यटन बोर्डले निजी क्षेत्रसँग समवन्य तथा सहकार्य गरी विभिन्न प्रचारात्मक कार्यक्रम अगाडि बढाउने कार्य तालिका रहेको छ । भरतपुर भ्रमण वर्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार गर्न विदेशी पत्रकारलाई नेपालमा ल्याउने कार्यक्रम तय भएको उनको भनाई छ ।

एनसीएचएल र वानपोइन्टबीच सम्झौता, बैंकिङ क्षेत्रलाई सक्षम बनाइने

काठमाडौं । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र वानपोइन्ट डिजिटल सर्भिसेसबीच नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई डिजिटल सेवामा सक्षम बनाउने विषयमा समझदारी भएको छ । उक्त समझदारी पत्रमा वानपोइन्टका सीईओ तथा संस्थापक प्रताप श्रेष्ठ र एनसीएचएलका सीईओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएल र वानपोइन्टले अब बीएफआईलाई संयुक्त रूपमा सहयोग गर्न सहकार्य गरेका हुन् जसले एनसीएचएलका उत्पादन/सेवाहरूको एकीकरणलाई गति दिने अपेक्षा गरिएको छ । एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भुक्तानी प्रणाली र च्यानलहरु उपलब्ध गराउँदै आएको छ । र, वान पोइन्टले एपीआई म्यानेजमन्ट सोलुसनको विकास गरेको छ र यसको ग्राहक बीएफआईलाई संचार च्यानल सक्षम गर्न बाह्य सेवाहरु प्रदान गर्दै आएको छ ।

कार्यसम्पादनमा उत्कृष्ट पालिका बन्यो अर्घाखाँचीको सन्धिखर्क, दोस्रो भरतपुर

काठमाडौं । देशभरका ७५३ वटा स्थानीय तहमध्ये आर्थिक वर्ष ०७९/८० को कार्यसम्पादनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उत्कृष्ट बनेको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले फागुन ८ गने सार्वजनिक गरेको आव ०७९/८० मा पालिकाहरुले गरेको कार्यसम्पादन मूल्यांकनको प्रतिवेदनका आधारमा सन्धिखर्क नगरपालिका ६१.१ अंक ल्याएर उत्कृष्ट बनेको हो । आयोगले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा चितवनको भरतपुर महानगरपालिका ५६.२९ अकंसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् । त्यस्तै, कार्यसम्पादन मूल्यांकनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३.८४ अंक सहित चौथो, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ५३.७६ अंक सहित पाचौं, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२.५७ अंक सहित छैठौं, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५०.४४ अंक सहित सातौं, गुल्मीको रेसुंगा नगरपालिका ५०.०३ अंक सहित आठौं, सिन्धुपाल्चोको पााचपोखरी थांपाल गाउँपालिका ४९.३६ अंक सहित नवौं र प्युठानको सरुमारानी गाउँपालिका ४९.१९ अंक सहित दशौं उत्कृष्ट भएका छन् । आयोगले १७ वटा सूचकलाई आधार बनाएर स्थानीय तहहरुको कार्यसम्पादन मूल्यांकन गरेको थियो । बजेट तालिका अनुसार असार १० गतेभित्र बजेट प्रस्तुत गरेको वा नगरेको, ३० असारभित्र बजेट पास गरेको वा नगरेको, ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने विभिन्न शिर्षकको कर मासिक रुपमा दिएको वा नदिएको लगायतका आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ । त्यस्तै, स्थानीय तहहरुले आय-व्ययको अनुमानित विवरण अर्थमन्त्रालयमा तोकिएको समयमा पठाउने, बजेट समीक्षा गर्ने, राजस्व संकलनको लक्ष्य, संकलनको विवरण, संञ्चित कोष व्यवस्थापन प्रणाली, आवधिक योजना तर्जुमा, विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या, सामुदायिक विद्यालयमा एसईईको ग्रेडिङ, गर्भ जाँच, प्रसुती संख्या, बालबालिकाको संख्या र पूर्ण खोपको अवस्थालाई पनि कार्यसम्पादन मूल्यांकनको सूचकमा आयोगले हेर्ने गर्छ । तर, आव ०७९/८० मा आयोगले गरेको मूल्यांकनमा अधिकांश पालिकाहरुले ५० भन्दा कम अंक प्राप्त गरेका छन् । आयोगले कार्यसम्पादन मूल्यांकन कार्यविधि, २०७८ को दफा ७ अनुसार प्रदेश र स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सूचकको मूल्यांकन गरी अंक प्रदान गरिएको बताउँदै अंक चित्त नबुझेमा पालिकाहरुले ७ दिनभित्र आयोगमा निवेदन गर्नसक्ने बताएको छ । आयोगले प्रकाशन गरेको नतिजा

विराटनगर जुट मिल्सको आगलागी शंकास्पद, २० लाख बराबरको क्षति

काठमाडौं । विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको छ । जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् । आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बुधबार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन । जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन् । विराटनगर महानगरपालिका-१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ । मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाकाअनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी शुरु भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरु समेत निरीक्षण गरेर गएको बताए । सरकारले आगामी वैशाखबाट मिल्स पुनःसंरचना गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वहरुले आगलागी गराएको आशंका रहेको बताउँदै उनले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने जनाए । उनका अनुसार केही समयभित्रमै जुट मिल्स सञ्चालन गर्ने तयारी भइरहेको थियो । विराटनगर महानगरपालिका वडा नम्बर नं. १६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिल्सको चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको अनुमान गर्न सकिने बताए । उनले लागुऔषध सेवनकर्ता तथा चोरीचकारीमा संलग्नहरूले आगजनी गरेको हुनसक्ने आशंका रहेको बताए । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेट आगलागी भएको खबर आएसँगै तत्काल प्रहरी टोली गएको बताए । उनका अनुसार आगलागीबाट तीन वटा पुराना मेसिनहरु र जुट बनाउन राखिएका कच्चा पदार्थ समेत जलेर नष्ट भएका छन् । आगलागीमा २० लाख बराबरको क्षति भएको बताउँदै उनले आगलागीको कारण खुलि नसकेको जनाए । लामो समयदेखि बन्द रहेको उद्योगमा विद्युत आपूर्तिसमेत लामो समयदेखि ठप्प भएका कारण सट-सर्किट भएर आगलागी हुनसक्ने सम्भावना नदेखिएको उनको भनाई छ । प्रहरीकाअनुसार बन्द अवस्थामा रहेको जुटमा अचानक आगलागी हुनुले घटना शंकास्पद देखिएकाले त्यसको आधारमा पनि प्रहरीले अनुसन्धान गर्ने बताएको छ ।