ग्रीन डेभलपमेण्ट बैंकले गर्यो वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम
काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंक र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धनन केन्द्रले संयुक्त रुपमा संचालित वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र पोखरा महानगरपालिका, व्यवसाय प्रवद्धन केन्द्रले फागुन ८ र ९ गते पोखरा महानगरपालिका अन्तर्गतका वडा नं. १९ र २० मा छुट्टाछुट्टै कार्यक्रमकाबीच वित्तीय साक्षरता तथा व्यवसायीक योजना सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् । बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ्ग लगायत समसामायीक विषय वस्तुको बारेमा बैंकका जोखिम व्यवस्थापन तथा अनुपालना विभाग प्रमुख रमेश बञ्जराले सहभागीलाई प्रस्ट प्रारेका थिए । सो कार्यक्रममा व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले ग्रीन डेभलपमेण्ट बैंक, युवा तथा साना व्यवसायी स्वरोजगार कोष र पोखरा महानगरपालिको सहकार्यमा आधारित साझेदारी स्वरोजगार कार्यक्रम बारेमा आफ्नो भनाई राखेका थिए । कार्यक्रमा विभिन्न वडाका जनप्रतिनिधि, कर्मचारी,व्यवसायी तथा अन्य संघ संस्थाका प्रतिनिधि, स्थानीय आमा समुहको सहभागिता भएको थियो । उक्त कार्यक्रमबाट १०२ जनाले वित्तीय साक्षरता सम्बन्धी ज्ञान हासिल गरेका थिए ।
माछापुच्छ्रे बैंकले गर्यो भीडियो केवाईसी सेवाको शुभारम्भ
काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै भीडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्नेछन् । यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन् । यो सेवाबाट देश भित्रै वा विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले विश्वको कुनै पनि ठाउँमा बसेर २४ सै घण्टा अनलाइनबाटै बैंकमा खाता खोल्न र भिडियो केवाईसी सेवा मार्फत आफ्नो खाता एक्टिभेट गर्न सक्ने बैंकले जनाएको छ । साथै सेवाबाट नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरू प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने छ । हाल बैंकले ग्राहकलाई अनलाइन खाता खोल्ने सुविधा दिइरहेको छ जसमा भीडियो केवाईसी सेवाको उपयोग गरी बैंक सम्म पुग्नु पर्ने झन्झट हटेको छ ।
आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याइएको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ललिता निवास प्रकरणका दोषीलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब रुपैयाँ बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरे । प्रधानमन्त्रीले भने, ‘नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ । लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन् । तपाईहरूले पनि त्यही माग राख्नुभएको छ । यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’ प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानबिन र कारबाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो । सरकारले अभियुक्तलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया टुङ्ग्याएर फाइल अदालतमा पेश गरेको थियो, यसकै कारण अहिले अदालतले राम्रो फैसला गरेको छ । ललिता निवासको रु आठ खर्ब बराबरको जग्गा सरकारको नाममा फिर्ता आएको छ ।’ ‘राप्रपाले आफ्ना मुद्दाहरू लिएर सङ्घर्षमा जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन’ प्रधानमन्त्रीले भने, ‘तपाईहरूको सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुङ्ग्याउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस् । सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस् ।’ भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणा राखी ज्ञापनपत्र बुझाएको छ । रासस
सानिमा रिलायन्सले गर्यो असहाय व्यक्तिलाई सहयोग
काठमाडौं । सानिमा रिलायन्स इन्स्योरेन्सले असहाय व्यक्तिहरुलाई सहयोग प्रदान गरेको छ । इन्स्योरेन्सले मङ्गलबार हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरुलाई १ लाख रुपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो । रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिब नाथ पाण्डे ज्यूले उक्त सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा कम्पनीको डेपुटी सीईओ नीराजन कंडेल, एरिया म्यानेजर ईशा प्रधान लगाएतको उपस्थिति रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।
हिमालयन रिले पेस गर्यो पुँजी वृद्धिको योजना, एफपीओबारे सोच्दै नेपाल रि
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गरेर पुँजी वृद्धि गर्ने योजना नेपाल बीमा प्राधिकरणलाई पेस गरेको छ । प्राधिकरण स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले ८० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउने योजना पेस गरेको हो । हिमालयन रिको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ । चुक्ता पुँजीको कम्पनीले ४ प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको बोनस सेयर प्रस्ताव गरेको छ । बोनस सेयर वितरण पश्चात् कम्पनीको पुँजी १० अर्ब ४० करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कम्पनीले १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजीको ८० प्रतिशत अर्थात् १० सेयर बराबर ८ सेयर अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कानश गर्नेछ । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको पुँजी १८ अर्ब ७२ करोड रपैयाँ पुग्नेछ । बाँकी रहेको पुँजी बोनस सेयर वितरण गरेर २० अर्ब पुर्याउने योजना कम्पनीको रहेको प्राधिकरण स्रोतको छ । नेपाल बीमा प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनीहरूलाई २० अर्ब पुँजी पुर्याउन योजना पेस गर्न १५ दिनको समय दिएको थियो । तर, प्राधिकरणमा योजना पेस नगरी पुँजी वृद्धिको एजेण्डा सार्वजनिक गरेको भन्दै हिमालयन रिलाई बीमा प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । हिमालयन रिले आफूबाट गल्ति भएको र माफी मागेको प्राधिकरण स्रोतको भनाइ छ । हिमालयन रिले आइतबार मात्रै योजना पेस गरेको हो भने नेपाल रिइन्स्योरेन्सले भने थप १५ दिनको समय मागेको छ । नेपाल रिले योजना पेस गरेपछि मात्रै पुँजी वृद्धिका लागि कुन विधिलाई स्वीकृति दिने भनेर निर्णय गर्ने प्राधिकरण स्रोतको भनाइ छ । नेपाल रिको हालको चुक्ता पुँजी १२ अर्ब ८१ करोड ३५ लाख ४४ हजार रुपैयाँ छ । २० अर्ब पुँजी पुर्याउन कम्पनीले ७ अर्ब १८ करोड ६४ लाख रुपैयाँ थप गर्नु पर्ने देखिन्छ । नेपाल पुनर्बीमा कम्पनीमा सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी बीमा कम्पनी तथा संगठित संस्थाहरूको लगानी छ । कम्पनी स्रोतका अनुसार २० अर्ब पुँजी पुर्याउन नेपाल रिले थप सार्वजनिक निष्काशन (एफपीओ)को योजना राख्ने विषयमा पनि छलफल भइरहेकाे छ । ‘गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा बोनस सेयर वितरण गरेर पुँजी बढाउन सक्छ, नेपाल रिलाई पुँजी वृद्धिका लागि टाउको दुखाइ नै छैन, सिधैं एफपीओ जारी गरेर २० अर्ब पुर्याउन सक्छ,’ स्रोतले भन्यो ।
मन्दीमा फस्टाएको व्यवसाय, नेपाली विदेशिँदा उच्च आय
काठमाडौं । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस होस् वा विनाशकारी भूकम्प अथवा अरू कुनै विपद् । यस्ता सबै संकटमा एकनास चलिरहने व्यवसाय हो रेमिट्यान्स । सन् २०१५ मा गएको विनाशकारी भूकम्पमात्र नभई २०१९ मा विश्वव्यापी रूपमा ठूलो परिमाणमा जनधनको क्षति गरेको कोरोना भाइरस (कोभिड-१९) महामारीका बेला पनि नेपालको रेमिट्यान्स व्यापार खासै ओरालो लागेन । अध्यागमन विभागको पछिल्लो तथ्यांकअनुसार वैदेशिक रोजगारीका लागि नेपालबाट दैनिक करिब २ हजारहाराहारी नेपाली श्रम खोज्न विदेश गइरहेका छन् । यसको अर्थ विदेशमा गएर काम गरिरहेका नेपालीले बर्सेनि खर्बौं रुपैयाँबराबर रेमिट्यान्स (विप्रेषण) नेपाल पठाइरहेका छन् । सायद यसैको परिमाण हुन सक्छ भूकम्प, कोरोना महामारी वा अन्य विपद्का बेला मुलुकको अर्थतन्त्र धानेको । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामै ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो परिमाण गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको दाँजोमा २५.३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा छ, ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।’ रेमिट्यान्स बढेको यो तथ्यांकलाई चालु आर्थिक वर्षमा विदेश काम गर्न जाने नेपालीको संख्याले पुष्टि गर्छ । केन्द्रीय बैंकको सोही प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७५ हजार ६ सय ४३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४२ हजार ५ सय ४८ रहेको छ । मुलुक बनाउने युवा जनशक्ति देश पलायन हुने क्रम रात दुई गुणा दिन चौगुणा बढिरहेको चिन्ता एकातिर भए पनि रेमिट्यान्स वृद्धिले परिवारको आर्थिक भरथेग गर्न विशेष योगदान गरिरहेकोमा दुई मत नहोला । विदेशमा काम गरिरहेका नेपालीले कमाएर स्वदेश पठाउने रकमलाई औपचारिक माध्यमबाट सम्बन्धित परिवारको हातमा पुर्याउने रेमिट्यान्स व्यापार सदाबहार हुनुको कारण पनि यही हो । महिनामै खर्ब बढीको रेमिट्यान्स भित्र्याउन सहयोग गरिरहेका रेमिट कम्पनीहरूको व्यापार अपार भइरहेको देखिन्छ । दर्जनौं रेमिट कम्पनी यो व्यपारमा संलग्न छन् । भलै, केहीले भने ठूलो बजार हिस्सा ओगटेका छन् । आर्थिक वर्ष २०७६/७७ मा ८ खर्ब ७५ अर्ब ३ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको थियो । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ अर्ब ६१ अर्ब ५ करोड भित्रिएको थियो । सोही वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत(नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको थियो । २०७८/७९ मा विप्रेषण ४.८ प्रतिशतले बढेर १० खर्ब ७ अर्ब ३१ करोड भित्रिएको थियो । उक्त अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य वृद्धि भई ३ लाख ५४ हजार ६ सय ६० पुगेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या त्यसबेला १९८.५ प्रतिशतले बढेर २ लाख ८२ हजार ४ सय ५३ पुगेको थियो । त्यस्तै २०७९/८० मा रेमिट्यान्स २१।२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको थियो । अघिल्लो वर्ष ४.८ प्रतिशतले बढेको थियो सोही वर्ष वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७ सय ४ पुगेको थियो । राष्ट्र बैंकका सहायक सूचना अधिकारी भागवत आचार्य रेमिट्यान्स आप्रवाह बढ्नु र लामो समयपछि चालु खाता बचतमा जानु अर्थतन्त्रको वाह्य क्षेत्र थप सुदृढ हुँदै जानु भएको बताउँछन् । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएका कारण पनि रेमिट्यान्स आप्रवाहमा उल्लेखनीय वृद्धि भएको आचार्यको भनाइ छ । ‘कोरोना महामारीको समय रेमिट्यान्स वृद्धिदर घाटामा थियो, त्यसपछिका वर्षदेखि क्रमशः बढिरहेको छ,’ आचार्यले विकासन्युजसँग भने, ‘चालु आर्थिक वर्षको ६ महिनामा ७ खर्ब ३३ अर्ब बढीे रेमिट्यान्स आप्रवाह भएको तथ्यांकले देखाएको छ, यसलाई अर्थतन्त्र सुधारका लागि राम्रो संकेत मान्न सकिन्छ ।’ अहिलेको अवस्थामा नेपालीहरू स्वदेशभन्दा विदेशमा बढी रमाउन थालेकाले पनि रेमिट्यान्समा वृद्धि भइरहेको उनको विश्लेषण छ । ‘अहिले नेपालीले गुणस्तरमा पनि ध्यान दिन थालेको अवस्था छ,’ उनी भन्छन्, ‘पहिला सामान्य काममा पनि बाहिरिन्थे, अहिलेको अवस्थामा सीप सिकेर राम्रो देश जाउँ भन्ने कन्सेप्ट पनि बस्न थालेको छ ।’ आचार्यका अनुसार सीप सिकेर विदेशिनेको पारिश्रमिक पनि राम्रो हुन्छ । विदेशमा श्रमिकको ज्याला पनि बढेको छ । दसैंतिहारमा रेमिट्यान्स बढ्ने ट्रेन्ड पनि रहेको उनी बताउँछन् । ‘दसैंतिहारमा रेमिट्यान्स अलि बढी आउँछ, किनभने पर्व मान्न भनेर परिवारलाई पैसा पठाउँछन्,’ उनी भन्छन्, ‘रेमिट्यान्स बढ्ने कारण एउटा यो पनि हो ।’ उनका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना ३ लाख ४३ हजार बढी नेपाली कामका लागि तेस्रो मुलुक गएका छन् । ‘भारत जानेको संख्या पनि उच्च छ । ‘विदेशिनेको संख्या बढ्दै जाँदा रेमिट्यान्स पनि बढ्दै गएको हो, जुन अझ बढ्दै जान सक्छ,’ उनी भन्छन् । सूचना अधिकारी आचार्यका अनुसार पहिला नेपालीको मुख्य श्रम गन्तव्य सामान्य हुने गरेको थियो । अहिले युरोप, अमेरिका, भारत, जापान, कोरिया जानेको संख्यामा पनि वृद्धि हुँदा आम्दानी पनि बढेको हो । अहिले सबैभन्दा धेरै रेमिट्यान्स भारतबाट भित्रिने आचार्य बताउँछन् । नेपालमा भित्रिने रेमिट्यान्सको स्रोत मुलकमा भने खाडी मुलुककै वर्चश्व छ । केही समययता युरोप, अमेरिकालगायत देशबाट रेमिट्यान्स आउने क्रम बढेको उनको भनाइ छ । गत आर्थिक वर्ष पहिलो ६ महिनामा ४ लाख १४ हजार ५ सय ४६ जना विदेशिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार २०८० साउनमा काम खोज्दै ५५ हजार ५ सय ७५ विदेशिएका थिए भने पुसमा ६५ हजार ८ सय १३ नेपालीले नयाँ श्रम स्वीकृति लिए । गत पुसमा जारी श्रम स्वीकृति अघिल्लो वर्ष पुसको दाँजोमा धेरै हो । गएको ६ महिनामा विदेशिएका करिब साढे ३ लाख नेपालीमध्ये सबैभन्दा धेरै यूनाइटेड अरब इमिरेट्स (यूएई) गएका छन् । त्यसबेला ८४ हजार ८ सय ५५ नेपाली काम खोज्दै विदेशिएका थिए । त्यसैगरी मंसिरमा मात्र १८ हजार ४ सय ९३ नेपाली यूएई गए । पुसमा १६ हजार ३ सय ८५ गए । पुसमा साउदी अरब जाने नेपाली १४ हजार ३ सय ७ थिए भने कतारमा १४ हजार १८ पुगेको विभागको तथ्यांक छ । ‘यो वर्ष रेमिट्यान्स साढे १४ खर्ब पुग्छ’ रेमिट्यान्स व्यवसायीहरूको छाता संस्था नेपाल विप्रेषक संघका महासचिव सञ्जय सिग्देल चालु आर्थिक वर्षको ६ महिनामा रेमिट्यान्स आप्रवाह उत्साहजनक भएको बताउँछन् । दुई वर्ष अवधिमा धेरै नेपाली विदेशिएको उनी बताउँछन् । ‘गत वर्ष रेमिट्यान्स आप्रवाह १० खर्ब थियो,’ उनी भन्छन्, ‘अहिले ६ महिनामै हामी ७ खर्बमाथि पुगिसकेका छौं, यो हिसाबमै जाने हो भने आर्थिक मसान्त पुग्दासम्म १४ खर्ब ५० अर्ब पुग्ने अनुमान छ ।’ उनका अनुसार अन्तर्राष्ट्रिय श्रम बजार गएका नेपाली कामदारले अवैधभन्दा वैध च्यानलबाट पैसा पठाएकाले रेमिट्यान्स बढेको हो । राष्ट्र बैंकका अनुसार अहिले २३ वटा संस्थाले राष्ट्र बैंकबाट लाइसेन्स लिएर रेमिट्यान्स भित्र्याइरहेका छन् । नेपालको सन्दर्भमा कुरा गर्दा २३ वटा कम्पनीको हिसाब गर्दा एउटा कम्पनीमा अधिकतम ३० जना हुन्छन् । न्यूनतम १० देखि १५ जना कर्मचारी हुन्छन् । बाहिरको कुरा गर्दा एउटामा २ जनासम्म आबद्ध हुन्छन् । रेमिट्यान्स क्षेत्रमा १ लाख हाराहारीले रोजगारी पाएका छन् । ‘बिजनेसको हिसाबले कुरा गर्ने हो भने पनि राम्रै छ । रेमिट्यान्स आउने विषयमा हाम्रो नेटवर्कमा जति पनि बसिरहेका छन्, उनीहरूकै माध्यमबाट सबै कुरा जाने हो,’ सिग्देल थप्छन्, ‘रेमिट्यान्स जति वृद्धि हुन्छ त्यो ट्रान्जेक्सनको नम्बर भोलुममा आउँछ । भोलुम आइसकेपछि त्यसको आधारमा उनीहरूले कमिसन पाउँछन । ट्रान्जेक्सन बढे कमाइ पनि बढी र घटे कमाइ कम हुन्छ ।’ हाल मुलुकमा आईएमई रेमिट, सिटी एक्सप्रेस, ईसेवा, प्रभु, जीएमई, आई पे रेमिट, सिजी फिन्को, नेपाल रेमिट, हुलास रेमिट, सम्सारा रेमिटलगायत कम्पनीले रेमिट्यान्स व्यवसाय गरिरहेका छन् । विदेशिने बढ्दै जाँदा यी कम्पनीहरूको कमाइ पनि राम्रो देखिएको छ ।
थामिएन सेयर बजारको गिरावट, २ अर्ब २४ करोडमा खुम्चियो कारोबार
काठमाडौं । बुधबार पनि सेयर बजार घट्नबाट थामिएन । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक बुधबार पनि ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि घट्ने क्रम रोकिएको छैन । मंगलबारको तुलनामा बुधबार एकैदिन ८७ करोडले सेयर कारोबार घटेको छ । अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार २ अर्ब २४ करोडको मात्रै सेयर किनबेच भएको छ । विगतका दिनजस्तै, बुधबार पनि सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । जसको एकैदिन ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु), हिमालय उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी दुई कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ । त्यस्तै, बजारमा उत्पादनमूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक समूह पनि सामान्य अर्थात २.८४ प्रतिशतले बढेको छ ।
बालुवाटारमा गभर्नर अधिकारीको राजीनामा माग गर्दै लघुवित्त पीडितको प्रदर्शन
काठमाडौं । देशभरका लघुवित्त पीडितहरु बालुवाटारमा गभर्नर अधिकारीको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट सात दिनसम्म हिँडेर काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति नेपालको ब्यानरमा प्रदर्शन गरेका हुन् । पीडितहरुले न्याय नपाएको भन्दै काठमाडौं आएर प्रदर्शन शुरु गरेका हुन् । लघुवित्त पीडितहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट न्याय पाउनको लागि काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेको बताउँदै आएका छन् । बुधवार देशभरका लघुवित्त तथा वित्तीय पीडितले काठमाडौंको गौशालाबाट करिव ३ हजार पीडितहरू जम्मा भएर बालुवाटार पुगेर प्रदर्शन गरेको बताएका छन् । पीडितहरु गौशालाबाट कालोपुल हुँदै बालुटारसम्म पुगेका थिए । सरकारले समिति बनाएर केही काम नगरेको भन्दै उनीहरुले पुनः सरकारलाई झक्झकाउन काठमाडौं आउनुपरेको बताए । पीडितहरुले हाम्रो माग पूरा गर, राष्ट्र बैंकका गभर्नर राजीनामा दे, लघुवित्त ऋण मिनाहा गर, दिदी बहिनी ठग्न पाइँदैन, धितो लिलाम फुकुवा गर,वित्तीय संस्था खारेज गर, वित्तीय आतंक बन्द गर जस्ता नारा लगाएका थिए ।