विकासन्युज

स्याङ्जामा हल गोरु पाल्ने किसानलाई पाँच हजार अनुदान

वालिङ । स्याङ्जाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं प्रवद्र्धनामत्मक’ कार्यक्रमअन्तर्गत किसानलाई पाँच हजार रूपैयाँ अनुदान उपलब्ध गराउने वडाअध्यक्ष छविलाल आलेले बताए । हाते ट्र्याक्टर तथा प्रविधिको बढ्दो प्रयोगका कारण पुस्तौँदेखि चल्दै आएको हाम्रो परम्परा पनि हराउँदै गएकाले त्यसको संरक्षणका लागि वडाले अभियानका रुपमा हल गोरु पाल्ने किसानलाई अनुदान दिने नीति अगाडि सारेको उनले बताए । ‘नयाँ पुस्ता प्रविधितर्फ आकर्षित हुँदै गर्दा गोरुपालनका लागि वडाले बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘हाम्रो परम्पराको संरक्षणका लागि पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ ।’ वडा कार्यालयले आर्थिक वर्ष २०८०/८१ को वडास्तरीय स्वीकृत योजनाबाट वडाभित्रका हल गोरु पालेका किसानलाई अनुदान दिइने उनले बताए । वडाभित्र अनुमानित ५०-७० हल गोरु हुनसक्ने अनुमान वडाको छ । ‘कृषि प्रयोजन तथा प्राङ्गारिक मलका लागि गोरु पाल्दै आउनुभएका किसानलाई गोरुको संरक्षण तथा प्रोत्साहनस्वरुप न्यूनतम पाँच हजार रुपैयाँ उपलब्ध गराउँछौँ,’ उनले भने, ‘हल गोरुपालन प्रवद्र्धन कार्यक्रममा सहभागी हुन वडामा अनुदानका लागि निवेदन दिनुपर्नेछ ।’ किसानले गोठमा हलगोरुसँग स्पष्ट देखिने गरी खिचेको तस्बिर, एकीकृत सम्पत्ति कर तिरेको रसिद, कृषि प्रयोजनका लागि एक महिनाअघि हलगोरुको व्यवस्था गरेको स्वघोषणा गरेको हुनुपर्ने वडासचिव डोलजङ्ग गुरुङले बताए । वडा कार्यालयले किसानको गोठमा हल गोरुपालन गरे/नगरेको, स्थानीय टोलबासी तथा जनप्रतिनिधिको स्थलगत अनुगमनपछि मात्रै अनुदान दिइने सचिव गुरुङले बताए । रासस

बेसार प्रवर्द्धनमा जुट्यो इलामको रोङ गाउँपालिका

मङ्गलबारे । गुन्द्रुक र सिस्नोको ‘ब्रान्डिङ’ र बजारीकरणमा सफलता मिलेपछि इलामको रोङ गाउँपालिकाले बेसार प्रवर्द्धधन सुरु गरेको छ । बाँदरलगायत जङ्गली जनावरबाट अन्नबाली जोगाउन समस्या भएपछि गाउँपालिका बेसार उत्पादन र प्रवद्र्धनमा लागेको हो । पहिलो चरणमा गाउँपालिकाले बेसारको बीउ वितरण गरेको छ । स्थानीय एक सहकारीमार्फत बेसारको बीउ वितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रै रहेको इको चिया उत्पादक सहकारीमार्फत ४५ जना किसानलाई अनुदानमा आठ सय ४० किलोग्राम बेसार उपलब्ध गराएको छ । उत्पादन भएको बेसार सहकारीले नै खरिद गर्ने बताइएको छ । प्रतिकिलोग्राम रु ४० का दरले किसानबाट काँचो बेसार खरिद गर्ने बताइएको छ । सुरुमा ४५ जना किसानलाई दिइएको बीउबाट उत्पादन भएको बेसार अन्य किसानलाई समेत उपलब्ध गराइने छ र पर्याप्त उत्पादनपछि बाहिर निकास गर्न थालिने बताइएको छ । गाउँपालिकामा बेसारको राम्रो उत्पादन हुँदै आएको छ । बेसार १० गुना बढी फल्ने गरेको किसान बताउँछन् । एक किलोग्राम बेसारबाट १० किलोग्रामसम्म उत्पादन हुने गरेको किसानको भनाइ छ । गाउँपालिकाकै किसान शान्तकुमारी लाप्चाले एक किलोग्राम बेसारको बीउबाट १६ किलोग्राम बेसार उत्पादन गरेको उनलाई उद्धृत गर्दै अध्यक्ष स्याङ्बोले बताए । किसान लाप्चाले यसअघि पनि बेसार रोपेको र राम्रो उत्पादन लिएको बताइएको छ । गाउँपालिकाले सबै छवटै वडामा बेसार खेती विस्तार गर्ने लक्ष्य लिएको छ । गाउँपालिका र जिल्लाबाहिर बेसार निर्यात गर्न सकिने भएकाले किसानलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यस्तो कार्यक्रम ल्याइएको अध्यक्ष स्याङ्बोले बताए । बेसार पनि विभिन्न जातमा हुन्छन् । गाउँपालिकाले भने कपुरबोट एक जातको बेसार किसानलाई वितरण गरेको छ । गाउँपालिकाले यसअघि ‘रोङ मह’ र गुन्द्रुक ब्रान्डिङ भइसकेको छ । ब्रान्डिङ गरिएको सिस्नो बजार पुर्याउन थालिएको छ । उत्पादन सुरु भएपछि ‘रोङ बेसार’लाई पनि ब्रान्डिङ गरिनेछ । बेसारको प्रयोग  मसलाका रुपमा बेसारलाई तरकारीमा प्रयोग गरिन्छ तर यसलाई औषधीय गुणका रुपमा पनि लिने गरिन्छ । बेसारको नियमित प्रयोगले चिसोबाट बच्न सकिने आयुर्वेदका जानकारहरू बताउँछन् । उनीहरूका अनुसार शरीरका हरेक अङ्गलाई फाइदा पुर्याउने स्वास्थ्यवद्र्धक मानिएको जडीबुटीमा बेसार बहुपयोगस् औषधि हो । ‘एन्टिबायोटिक’ बनाउँदा बेसारको प्रयोग हुनेगरेको छ । बेसारले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नाका साथै ‘इन्फेक्सन’बाट पनि बचाउँछ । रासस

तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी

काठमाडौं । चीनको दक्षिणी भागमा तापक्रम घटेपछि र बेइजिङमा हिउँ परेपछि बुधबार गम्भीर मौसमी चेतावनी दिइएको छ । अधिकारीहरूले मुलुकको त्रिस्तरीय प्रणालीमा सबैभन्दा उच्च रहेको अरेन्ज चेतावनी जारी गरेका छन् । यसले दक्षिणमा औसत तापक्रम शुक्रबार छदेखि १२ डिग्री सेल्सियससम्म घट्न सक्ने चेतावनी दिएको छ । राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले केही क्षेत्रमा तापक्रम २० डिग्री सेल्सियसभन्दा धेरैले घट्नसक्ने बताएको छ । केन्द्रले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, नागरिकलाई न्यानोमा बस्न सल्लाह दिएको र बाली तथा जलीय उत्पादनका सुरक्षाका लागि आवश्यक उपाय अपनाउन आग्रह गरेको चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । तापक्रम शून्यको नजिक रहेको बेइजिङमा रातभर हिमपात भएको छ । सहरका राजमार्गहरूमा यातायात सुस्त भएको छ भने यात्री र साइकल चालकका लागि हिउँले भरिएका फुटपाथ जोखिमपूर्ण भएका छन् । एजेन्सी

आफ्नै स्रोतमा ४५ किलोमिटर सडक स्तरोन्नति गर्दै कृष्णपुर नगरपालिका

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले नौवटै वडाका सडक स्तरोन्नतिको काम थालेको छ । नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार प्रत्येक वडामा पाँच–पाँच किलोमिटर गरी ४५ किलोमिटर सडक स्तरोन्नति गर्ने निर्णयअनुसार कार्य अगाडि बढाएको हो । नगरपालिकाकै साधनस्रोतको प्रयोग गरी ‘ग्राभेल’ गर्ने र कालोपत्र गर्ने काम अगाडि बढाइएको नगर प्रमुख हेमराज ओझाले बताए । ‘वडा नं ९ को पाग्रेचोकबाट सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ,’ उनले भने, ‘थोरै खर्चमा सडक स्तरोन्नतिको काम गरिरहेका छौँ ।’ उनका अनुसार वडाको छनौटमा परेका सडकलाई प्राथमिकतामा राखेर स्तरोन्नतिको कार्य अगाडि बढाइएको छ । ‘पाँच किलोमिटर सडक स्तरोन्नति गर्दा प्राविधिकको अनुमानित लागतअनुसार १० लाखभन्दा बढी लाग्छ,’ नगर प्रमुख ओझाले भने, ‘नगरपालिकाकै लोडर, रोलर, टिपर प्रयोग गरी न्यून खर्चमै सडक स्तरोन्नतिको कार्य अगाडि बढाएका छौँ ।’ यसरी सडक स्तरोन्नति गर्दा नदीजन्य पदार्थको सलामी दस्तुर तिर्ने, चालकलाई खाना, खाजा भत्ताबापतको रकम उपलब्ध गराउने र ढुवानीका साधनमा इन्धनको व्यवस्था गरिने उनले जानकारी दिए । ठेक्का र उपभोक्ता समितिमार्फत हुने कार्यभन्दा कम लागतमा सडक स्तरोन्नतिको कार्य गरी नगरबासीको सुविधाका लागि सडक निर्माण हुने भएको नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले बताए । उनले नगरपालिकाका नौवटै वडामा हुने सडक स्तरोन्नतिको कार्यले सर्वसाधारणको आवागमनमा सुविधा पुग्ने बताए ।

बन्दीपुर गाउँपालिकालाई एक करोडको जग्गा

तनहुँ । बन्दीपुर–४ निवासी पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिकाको सांस्कृतिक भवन निर्माणका लागि एक रोपनी जग्गा दान गरेका छन् । मालपोत कार्यालय तनहुँमा रजिष्ट्रेशन पास गरी जग्गादाता श्रेष्ठले बुधबार गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापालाई जग्गाधनी दर्ता प्रमाणपत्र हस्तान्तरण गरे । अहिलेको चलनचल्तीको मूल्य एक करोड रुपैयाँबराबराको जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । बन्दीपुरको केन्द्र मानिने स्थानमा बहुमूल्य जग्गा उपलव्ध गराएर जग्गादाता श्रेष्ठले ठुलो योगदान गरेको उनले बताए । ‘जग्गा प्राप्तसँगै आर्कषण सांस्कृतिक भवन निर्माण गरेर बन्दीपुरको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्याउन सहयोग मिलेको छ, भवनको पहिलो तलामा तीन सय जना क्षमताको सभाहल निर्माण गर्ने योजना बनाएका छौ,’ उनले भने, ‘भवनको दोस्रो तलामा विभिन्न जातजातिका कलासंस्कृति झल्किने संग्रहालय निर्माण गरेर राखिनेछ ।’ गाउँपालिकाभित्रका सबै जातजातिको कलासंस्कृतिको संरक्षण र प्रर्बद्धनमा सहयोग पुग्ने उद्देश्य अनुरूप आफूले खुशी मनले जग्गादान गरेको जग्गादाता श्रेष्ठले बताए । गत वर्ष गाउँपालिका कार्यालयमा सांस्कृतिक भवन निर्माणका लागि ७० लाख रुपैयाँ विनियोजन भएकामा जग्गा नहुँदा रकम ‘फ्रिज’ भएको बताउँदै उनले अब त्यस्तो नहोस् भनेर जग्गा उपलव्ध गराएको स्पष्ट गरे ।

दादुरा-रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने

काठमाडौं । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले दादुराको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा-रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको बताए । खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ । उनका अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसङ्क्रमित २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिका पनि खोप अभियान सहभागी हुने प्रवक्ता डा. बुढाथोकीले बताए । उनका अनुसार जाजरकोट र पश्चिम रुकुममा भने गत कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिए । उनले खोपका लागि सबै तयारी पूरा गरिएको जानकारी दिँदै सातै प्रदेशमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको बताए । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको छ । डा. गौतमका अनुसार अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको छ । ती खोपलाई प्रदेशमार्फत सबै खोप केन्द्रमा पठाइने उनले जानकारी दिए । उक्त खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा-रुवेलाविरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रूपमा फैलिएको थियो । लक्षण दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।

मालिकाको पन्थोकमा १० कोठे पक्की विद्यालय भवन निर्माण

गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरूपमा उद्घाटन गरेका छन् । गाउँपालिकाका अध्यक्ष गर्बुजाले पाहार ट्रष्टले भवन निर्माणमा ठूलो योगदान पुर्‍याएको बताउँदै आगामी दिनमा पनि अन्य विद्यालयमा भवनलगायत पूर्वाधार निर्माण गर्न चाहेमा गाउँपालिकाले साझेदारी गर्ने प्रतिबद्धता जनाए । गाउँपालिकाले दुर्गम बस्तीका विद्यालयमा भवनलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको अध्यक्ष गर्बुजाले बताए । पाहार ट्रष्टका इन्जिनियर टेक रानाका अनुसार एक करोड २२ लाख तीन हजार दुई सय ६६ रुपैयाँ लागतमा भवन निर्माण भएको हो । ६१ लाख एक हजार, गाउँपालिकाबाट ५० लाख र स्थानीयबासी ११ लाख एक हजार लगानी भएको ट्रष्टका इन्जिनियर रानाले बताए । विसं २०७८ मङ्सिरदेखि निर्माण थालेको भवनको काम २०७९ साल असोजमा सम्पन्न भएको थियो । वडाअध्यक्ष मिम पुन र समाजसेवी क्याप्टेन जितबहादुर घर्तीले ट्रष्टसँगको सहकार्यमा भीम मावि र गौ बोम बस्त माविमा सुविधासम्पन्न भवन निर्माण भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवेदार दिलबहादुर पुनले पहिले जीर्ण पुरानो भवनको साँघुरो कक्षाकोठामा पठनपाठन हुँदै आएकामा अहिले भवन बनेपछि भने सहज भएको बताए । अध्यक्ष ग्रिनले गाउँपालिका र स्थानीयबासीसँगको साझेदारीमा सुविधासम्पन्न भवन निर्माण हुनु दुर्गम गाउँको विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने आधार बनेको बताए । उनका अनुसार पाहार ट्रष्ट युकेमार्फत नेपालका २७ जिल्लाका दुर्गम ग्रामीण बस्तीमा हालसम्म तीन सयभन्दा बढी शिक्षा र स्वास्थ्य क्षेत्रका विभिन्न परियोजना निर्माण भइसकेका छन् । उनले नेपालका दुर्गम ग्रामीण बस्तीका शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा तथा सहयोग गर्न पाएकामा खुसी व्यक्त गरे । भवनको संरक्षण गर्ने विद्यालय र स्थानीबासीको दायित्व भएको उनको भनाइ थियो । विद्यालयका प्रअ डम्बरबहादुर घर्तीका अनुसार कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा दुई सय ३४ जना विद्यार्थी अध्ययनरत छन् ।

मौसम : पहाडी भूभागमा वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

काठमाडौं । बिहीबार दुई वटा प्रदेशमा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी र मधेश प्रदेशलगायत पहाडी भेगका थोरै तथा देशका बाँकी भूभागका एक–दुई स्थानमा चट्यांगसहित हल्का वर्षाको सम्भावना रहेको छ। पश्‍चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार दिउँसो देशभरि आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेशलगायत पहाडी इलाकाका थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति कोशी, मधेश र बागमती प्रदेशलगायत पहाडी इलाकाका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।