विकासन्युज

कोशी ब्यारेजबाट हाम फालेका साहको सकुशल उद्धार

काठमाडौं । कोशी ब्यारेजको ४७ नम्बर ढोकाबाट हाम फालेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –५ बस्ने अन्दाजी २८ वर्षीय जयप्रकाश साहको उद्धार गरिएको हो । सोमबार दिउँसो करिब २ बजे उनले कोशी नदीमा हाम फालेका थिए ।  घटनालगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस भारदहबाट खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनलाई उक्त व्यारेजदेखि करीव ९० मिटर तलबाट मोटर बोटको सहायाताले सकुशल उद्धार गरेको हो । उद्धार गरिएका साहको अवस्था भने सामान्य रहेको छ ।                                                 

चलचित्र क्षेत्र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्छ : सञ्चारमन्त्री

काठमाडौं । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गरेको छ ।  भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवद्र्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा. तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सरकारले यस्ता पहललाई आवश्यकताअनुसार सहयोग गर्न तयार रहेको बताए । उनले चलचित्र महोत्सवले नागरिकस्तरमा सम्बन्ध विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिनुपर्ने धारणा राखे । सञ्चारमन्त्री तिमिल्सिनाले चीन नेपालका लागि बढी पर्यटक भित्रिने मुलुकमध्ये एक रहेको उल्लेख गर्दै नेपाली प्राकृतिक सम्पदा, संस्कृति र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताए । नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउन तथा अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभलका संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल चीनको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपाल प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । उनले नेपालको अनुकूल वातावरण चलचित्र निर्माणका साथै सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन र नागरिकस्तरको सम्बन्ध सुदृढ गर्न अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न उपयुक्त रहेको धारणा राखे । ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ नेपाल र चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरिएको द्विपक्षीय पहल हो ।  महोत्सवले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बताए । उनका अनुसार सन् २०२६ अप्रिल १४ देखि १९ तारिखसम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङ शहरमा आयोजना गरिएको महोत्सव नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७१औं वर्षको अवसरमा सम्पन्न भएको थियो।  महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकामा ११ वटा चलचित्र प्रारम्भिक छनोटमा परेका थिए । त्यसपछि चिनियाँ सेन्सर प्रक्रियाबाट अन्तिम रूपमा ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी छ वटा नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए ।  ती चलचित्रहरू चिनियाँ सबटाइटलसहित सम्बन्धित चिनियाँ निकायको स्वीकृतिपछि चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो ।  सो महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम मंगलबार (साउन ५, २०८३) चलचित्र विकास बोर्ड, काठमाडौंमा आयोजना हुन लागेको अध्यक्ष दाहालले जानकारी दिए ।

नेपालमै २० हजार रोयल इनफिल्ड उत्पादन, ९ महिनामा ४ अर्ब आम्दानी

काठमाडौं । त्रिवेणी ग्रुपअन्तर्गत रहेको टीजी अटो ग्रुप प्रालिले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ४ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षभरिको तुलनामा बढी हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  कम्पनीका अनुसार मोटरसाइकल बिक्री संख्या बढ्नु र बिक्री मूल्यमा सुधार आउनुले आम्दानी वृद्धि भएको हो । समीक्षा अवधिमा सञ्चालन नाफा पनि उल्लेख्य रूपमा बढेको छ । बिक्री लागत घटेसँगै सञ्चालन नाफाको मार्जिन ६.५७ प्रतिशतबाट बढेर ८.४८ प्रतिशत पुगेको छ । त्यसैगरी, कुल नगद सञ्चिति १९ करोड ७० लाख रुपैयाँबाट बढेर २६ करोड ७० लाख रुपैयाँ पुगेको छ । टीजीपीएलको आम्दानी निरन्तर बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले २ अर्ब ९६ करोड ९० लाख रुपैयाँ र आर्थिक वर्ष २०७९/८० मा १८ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०२२ मेमा स्थापना भएको टीजीपीएल नेपालमा रोयल एनफिल्ड मोटरसाइकलको एकमात्र आधिकारिक निर्माता तथा आपूर्तिकर्ता हो । कम्पनीले बारा जिल्लामा करिब एक लाख वर्गफुट क्षेत्रफलमा अत्याधुनिक मोटरसाइकल एसेम्बल उद्योग सञ्चालन गरेको छ, जसको वार्षिक उत्पादन क्षमता २० हजार मोटरसाइकल रहेको छ । सन् २०२३ मेदेखि व्यावसायिक उत्पादन सुरु गरेको कम्पनीको प्रधान कार्यालय काठमाडौंमा छ । कम्पनीका अध्यक्ष वीरेन्द्रकुमार संघाई हुन् । उत्पादन, व्यापार तथा सेवा क्षेत्रमा लामो अनुभवी उनी एनआईसी एसिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रवर्द्धकका साथै अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स प्रालिका प्रबन्ध निर्देशकसमेत हुन्। टीजीपीएलले भारतस्थित आइशर मोटर्सबाट आयात गरिएका छुट्टाछुट्टै पुर्जा नेपालमै एसेम्बल गरी रोयल एनफिल्ड मोटरसाइकल उत्पादन गर्दै आएको छ । नेपाल सरकारले पूर्ण रूपमा तयार मोटरसाइकलको तुलनामा संयोजन उद्योगलाई अन्तःशुल्कमा ५० प्रतिशत र भन्सार महसुलमा २५ प्रतिशत छुट दिँदै आएकाले कम्पनीले लागतमा प्रतिस्पर्धात्मक लाभ प्राप्त गरेको जनाएको छ । यही सहुलियतका कारण प्रतिस्पर्धी मूल्यमा मोटरसाइकल उपलब्ध गराउन र बिक्री विस्तार गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ । कम्पनीले उत्पादन गरेका मोटरसाइकल नेपालका आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिमार्फत बिक्री हुँदै आएका छन् । काठमाडौं उपत्यकामा हुने अधिकांश बिक्री नगदमा हुने गरेको छ भने बाहिरी जिल्लाका डिलरलाई बढीमा एक महिनासम्मको उधारो सुविधा दिइन्छ । गत आर्थिक वर्षको नौ महिनामा कम्पनीको औसत रकम असुली अवधि चार दिन, मौज्दात अवधि २५ दिन तथा आपूर्तिकर्तालाई भुक्तानी अवधि ६ दिन पुगेको छ । यससँगै कम्पनीको खुद सञ्चालन चक्र २६ दिनबाट घटेर २२ दिनमा सीमित भएको छ, जसले कार्यशील पुँजी व्यवस्थापन अझ प्रभावकारी बन्दै गएको संकेत गरेको छ ।  प्रिमियम मोटरसाइकल बजारमा रोयल एनफिल्डले नेपालमा बलियो ग्राहक आधार बनाइसकेको कम्पनीको दाबी छ । विशेषगरी ३५० सिसीभन्दा माथिको मोटरसाइकल खण्डमा ब्रान्डको लोकप्रियता र स्थिर मागका कारण आगामी दिनमा व्यवसाय विस्तार हुने अपेक्षा गरिएको छ । यद्यपि कम्पनीले बजारमा बढ्दो प्रतिस्पर्धालाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ ।  विद्युतीय मोटरसाइकलको विस्तार, नेपालमा सञ्चालनमा रहेका तथा स्थापना हुने तयारीमा रहेका अन्य मोटरसाइकल संयोजन उद्योगले प्रतिस्पर्धा थप चर्काउने कम्पनीको भनाइ छ । यद्यपि अधिकांश प्रतिस्पर्धी ब्रान्ड २५० सिसीभन्दा कम क्षमताको मोटरसाइकल बजारमा केन्द्रित रहेकाले ३५० सिसीभन्दा माथिको प्रिमियम खण्डमा रोयल एनफिल्डलाई अझै प्रतिस्पर्धात्मक लाभ रहेको कम्पनीको दाबी छ । कम्पनीले सरकारी नीतिगत जोखिमलाई पनि चुनौतीका रूपमा औंल्याएको छ । नेपालमा मोटरसाइकललाई विलासी वस्तु मानिने भएकाले भन्सार महसुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर उच्च रहेको छ । हाल संयोजन उद्योगले केही कर तथा भन्सार सहुलियत पाइरहे पनि भविष्यमा सरकारी नीति परिवर्तन भए त्यसले व्यवसायमा प्रत्यक्ष असर पार्न सक्ने कम्पनीको भनाइ छ । त्यसैगरी, नेपाल राष्ट्र बैंकले सवारीसाधन कर्जाको सीमा, आयातका लागि प्रतितपत्र खोल्दा आवश्यक मार्जिन तथा सवारी खरिद कर्जामा जोखिम भारसम्बन्धी नीतिमा परिवर्तन गर्न सक्ने भएकाले यस्ता नियामकीय व्यवस्थाले कम्पनीको व्यवसायमा प्रभाव पार्न सक्ने जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १ अर्ब रुपैयाँ ऋण लिएको छ । यसअघि कम्पनीको ऋण ७० करोड रुपैयाँमात्रै थियो । 

माछापुच्छ्रे बैंकको वरिष्ठ डीसीईओमा प्रसिद्धराज अर्याल, डीसीईओमा सुभाष जमरकट्टेल

काठमाडौं । माछापुच्छ्रे बैंकले व्यवस्थापन तहमा दुई उच्च अधिकारीलाई पदोन्नति गरेको छ । बैंक सञ्चालक समितिको साउन ४ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्धराज अर्याललाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) र नायब महाप्रबन्धक सुभाष जमरकट्टेललाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा बढुवा गर्ने निर्णय गरेको हो । बैंकका अनुसार अर्यालसँग बैंकिङ क्षेत्रको करिब दुई दशकभन्दा बढी अनुभव छ । काठमाडौं विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर गरेका उनले कर्जा, ट्रेजरी, करेस्पोन्डेन्ट बैंकिङ, शाखा सञ्चालन तथा लघुवित्तलगायतका क्षेत्रमा काम गरिसकेका छन् । उनी यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका अनुभवी बैंकर हुन् । त्यस्तै, वित्तीय तथा बैंकिङ क्षेत्रमा विशेषज्ञता हासिल गरेका सुभाष जमरकट्टेल चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र कानुन विषयमा स्नातक तथा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्यान्डबाट बैंकिङ तथा फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री हासिल गरेका छन् । बैंकले अर्याल र जमरकट्टेल दुवैले आफ्नो बैंकिङ करिअरमा उल्लेखनीय व्यावसायिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै उनीहरूको नेतृत्व, अनुभव र दक्षताले संस्थाको आगामी व्यावसायिक लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । 

कानुन सुधार वर्ष कार्यान्वयनमा सरकार, १६६ विधेयक अघि बढाउन मन्त्रालयगत समन्वय सुरु

काठमाडौं । सरकारले घोषणा गरेको कानून सुधार तथा निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सबै मन्त्रालयसँग नियमित समन्वय प्रक्रिया सुरु गरेको छ । आगामी आर्थिक वर्षभित्र संघीय संसदमा पेश गरिने १६६ वटा विधेयक समयमै तयार गर्न मन्त्रालयले प्रत्येक महिनाको पहिलो सोमबार अन्तरमन्त्रालय समीक्षा बैठक गर्ने निर्णय गरेको हो । सोमबार आयोजित पहिलो बैठकमा विभिन्न मन्त्रालयका कानुन शाखा तथा महाशाखा प्रमुखहरू सहभागी रहेको मन्त्री सोविता गौतमको सचिवालयले जनाएको छ ।  कानुनमन्त्री गौतमको सचिवालयका अनुसार बैठकले विधेयक निर्माणको प्रगति, देखिएका कानुनी तथा प्रशासनिक चुनौती र समाधानका उपायबारे नियमित समीक्षा गरेको छ । मन्त्री गौतमको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कानुन सुधार तथा निर्माण वर्षलाई सफल बनाउन र संघीय संसद्लाई आवश्यक विधायिकी कार्य समयमै उपलब्ध गराउने उद्देश्यले १६६ विधेयकको लक्ष्य पूरा गर्न आजबाट नियमित छलफल सुरु गरिएको हो । यो प्रक्रिया प्रत्येक महिनाको पहिलो सोमबार निरन्तर सञ्चालन हुनेछ ।’ कानुन मन्त्रालयले आगामी आर्थिक वर्षमा संसदमा दर्ता गरिने १६६ वटा विधेयकको सूची यसअघि नै संघीय संसद् सचिवालयमा पेश गरिसकेको छ ।  ती विधेयकको मस्यौदा तयारी, अन्तरमन्त्रालय समन्वय र समयसीमा व्यवस्थापनलाई प्रभावकारी बनाउन मासिक समीक्षा संयन्त्र लागू गरिएको मन्त्रालयले जनाएको छ । सरकारले चालु आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै विकास निर्माण, लगानी प्रवद्र्धन, सेवा प्रवाह र सुशासनलाई सहयोग पुग्ने गरी विद्यमान कानुनको पुनरावलोकन तथा आवश्यक नयाँ कानुन निर्माणलाई प्राथमिकतामा राखेको छ ।  यस अभियानलाई कार्यान्वयन गर्न मन्त्रालयले ९ बुँदे कार्ययोजना समेत तयार गरी लागू गरिसकेको सचिवालयले जनाएको छ । यसैबीच, सरकारले संघीय संसदमा विधेयकको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।  प्रतिनिधिसभाअन्तर्गतको कार्यव्यवस्था परामर्श समितिको बैठक मा सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले संसद्लाई आवश्यक विधेयक समयमै उपलब्ध गराइने र विधायिकी कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएकी हुन् । सरकारले एकै आर्थिक वर्षभित्र १६६ विधेयक अघि बढाउने लक्ष्य सार्वजनिक गरेसँगै अब त्यसको कार्यान्वयन, मन्त्रालयहरूबीचको समन्वय र संसद्को विधायिकी कार्यक्षमता मुख्य परीक्षणका विषय बन्ने देखिएको छ ।

कांग्रेसको १५औं महाधिवेशन सबैका लागि खुला बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औं महाधिवेशनलाई सबैका लागि स्वीकार्य, समावेशी र सहभागितामूलक बनाउने उद्देश्यले पार्टीभित्र निरन्तर संवाद र छलफल भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व तथा अन्य नेताहरूबीच महाधिवेशनको वातावरण सहज बनाउन सकारात्मक ढंगले छलफल अघि बढिरहेको जानकारी दिए । शर्माले आगामी महाधिवेशनमा पार्टीका सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माणमा नेतृत्व गम्भीर रहेको उल्लेख गर्दै त्यसका लागि भइरहेका संवादले सकारात्मक निष्कर्ष दिने विश्वास व्यक्त गरे । उनले पार्टीभित्र जारी छलफलले सहमतिमार्फत महाधिवेशनलाई सफल बनाउने आधार तयार गर्ने बताए । शर्माले भने, ‘सभापति गगनकुमार थापा, सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी नेतृत्वबीच नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन् । ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौं ।’ कांग्रेसभित्र १५औं महाधिवेशनको तयारी, कार्यतालिका तथा सहभागीको दायरालगायत विषयमा पछिल्ला दिनहरूमा नेतृत्व तहमा निरन्तर परामर्श र छलफल चलिरहेको छ ।

कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

काठमाडौं । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो । पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्रगतिमा फैलिएको प्रकोप भएको अधिकारीले बताएका छन् । यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन । सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण तथा उपचारका प्रयास प्रभावित भइरहेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन् । यसैबीच, तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेका छन् । भाइरस सङ्क्रमणका कारण कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल ७२४ जना सङ्क्रमित आइसोलेसन तथा अस्पतालमा उपचाररत छन् । प्रभावित क्षेत्रमा रोग नियन्त्रण, सङ्क्रमितको उपचार र निगरानीका प्रयासलाई तीव्र पारिएको जनाइएको छ ।

‘ड्रागन आर्मर ब्याट्री’सहित जीडब्लूएमले ईभी सुरक्षामा नयाँ मापदण्ड

काठमाडौं । विद्युतीय सवारीसाधनको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला जीडब्लूएमले आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’मार्फत ईभी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने दाबी गरेको छ । विश्वका अधिकांश अटोमोबाइल कम्पनीले तेस्रो पक्षबाट ब्याट्री खरिद गर्ने गरे पनि जीडब्लूएमले आफ्नै भगिनी कम्पनी एसभीओएलटी इनर्जीमार्फत ब्याट्रीको अनुसन्धान, विकास र उत्पादन गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार आफ्नै ब्याट्री विकास गर्ने भएकाले गुणस्तर, सुरक्षा र विश्वसनीयतामाथि पूर्ण नियन्त्रण कायम गर्न सम्भव भएको छ । नेपालमा हालै सार्वजनिक गरिएको जीडब्लूएम ओरा ५ ईभी एसयूभीमा पनि एसभीओएलटीले विकास गरेको ‘ड्रागन आर्मर ब्याट्री’ प्रयोग गरिएको छ । वर्षौंको अनुसन्धानपछि विकसित गरिएको यो ब्याट्री आगो तथा पानी प्रतिरोधी सुरक्षा प्रणाली, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता र उच्च कार्यसम्पादनका विशेषतासहित आएको कम्पनीले जनाएको छ। ‘ड्रागन आर्मर’ नाम ब्याट्रीको विशेष आन्तरिक संरचनाबाट प्रेरित भएको कम्पनीको भनाइ छ । ब्याट्रीभित्रका सेलहरू ड्रागनको खप्टाजस्तै तह–तहमा राखिएकाले विशेष ‘डाउनवर्ड भेन्टिङ’ प्रणाली विकास गरिएको छ । कुनै असामान्य अवस्थामा ताप वा आगो उत्पन्न भए पनि त्यसलाई यात्रु बस्ने क्याबिनतर्फ फैलिन नदिई तलतर्फ बाहिर निकाल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । यसले यात्रुको सुरक्षामा थप सुरक्षा कवचको रूपमा काम गर्ने विश्वास कम्पनीको छ ।