सामाजिक सुरक्षा कोषमा योगदान १.१६ खर्ब नाघ्यो, साढे ३० लाख योगदानकर्ता
काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल १ खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड १ लाख २० हजार २५२ रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस्तै, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबीतर्फ ३ अर्ब ५२ करोड ५ लाख ४७ हजार ४६२ रुपैयाँ उपलब्ध गराएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख ६ हजार ५१४ रुपैयाँ, आश्रित परिवार सुरक्षा दाबीतर्फ ३८ करोड ४ लाख २५ हजार २१६ रुपैयाँ र अवकाश दाबीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ उपलब्ध गराएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ । पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।
साढे ३ हजार मेगावाटका ९९ हाइड्रो र ७ सौर्य आयोजनाले पाए सर्वेक्षण अनुमति
काठमाडौं । विद्युत् विकास विभागले आर्थिक वर्ष २०८२/८३ मा जलविद्युत क्षेत्रमा ९९ वटा आयोजनालाई सर्वेक्षण अनुमतिपत्र जारी गरेको छ । ती आयोजनाको कुल क्षमता ३ हजार २११ मेगावाट रहेको विभागले जनाएको छ । सौर्य ऊर्जातर्फ सात वटा आयोजनाले सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेका छन्, जसको कुल क्षमता ३११ मेगावाट छ । प्रसारण लाइनतर्फ २२० केभी क्षमताका १७९ सर्किट किलोमिटर, १३२ केभी क्षमताका २७० सर्किट किलोमिटर तथा ३३ केभी क्षमताका १३२ सर्किट किलोमिटर बराबरका आयोजनालाई सर्वेक्षण अनुमतिपत्र प्रदान गरिएको छ । विभागका अनुसार २९ वटा आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन् । ती आयोजनाको कुल क्षमता १ हजार ८५७ मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ तीन वटा आयोजनाले उत्पादन अनुमतिपत्र पाएका छन्, जसको कुल क्षमता ३१ मेगावाट छ । विभागले वार्षिक रूपमा करिब ३ अर्ब ५० करोड रुपैयाँ बराबरको रोयल्टी सङ्कलन गर्दै आएको छ । उक्त रकम प्रदेश तथा स्थानीय तहमा बाँडफाँट गरिने भएकाले स्थानीय आर्थिक उन्नयन तथा विकासमा महत्वपूर्ण योगदान पुगेको विभागको भनाइ छ। हालसम्म विभागले जलविद्युत्तर्फ २६४ वटा आयोजनालाई उत्पादन अनुमतिपत्र जारी गरिसकेको छ । ती आयोजनाको कुल क्षमता १२ हजार ३३६ मेगावाट रहेको छ । सौर्य ऊर्जातर्फ भने १० वटा आयोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरेका छन्, जसको कुल क्षमता ७४.६ मेगावाट छ । प्रसारण लाइन निर्माणतर्फ ४०० केभी क्षमताका एक हजार ९७ सर्किट किलोमिटर, २२० केभी क्षमताका ६५६ सर्किट किलोमिटर, १३२ केभी क्षमताका एक हजार ६०८ सर्किट किलोमिटर तथा ३३ केभी क्षमताका ३३७ सर्किट किलोमिटर बराबरका आयोजनाले अनुमति प्राप्त गरेका छन् । विभागका महानिर्देशक मनदेवी श्रेष्ठका अनुसार ऊर्जा उत्पादन तथा प्रसारण पूर्वाधार विस्तारका लागि अनुमति दिने कार्य निरन्तर जारी रहेको छ ।
सरकारी खर्चमा कडाइ, नयाँ गाडी किन्न र भ्रमणमा नयाँ नियम
काठमाडौं । विनियोजित बजेटबाट नयाँ चार पाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिई कुनै पनि सवारीसाधन खरिद गर्न पाइने छैन । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । कार्यालयको कार्य सम्पादनका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकतामा साथ उपयोग गर्नुपर्नेछ । भाडामा लिने घर पूर्ण रुपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री खर्च, भत्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्चलगायत प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाई खर्च गर्नुपर्नेछ । सार्वजनिक खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । भुक्तानी प्रणालीलाई सहज र व्यवस्थित बनाई सरकारी कोषको प्रभावकारी उपयोगका लागि मासिक नगद योजना तर्जुमा गरी अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ । नगद प्रवाहलाई व्यवस्थित गर्न १ अर्ब रूपैयाँ बढीको भुक्तानी दिनुपर्ने भएमा ७ दिनभित्रै अर्थमन्त्रालयलाई अनिवार्य अनिवार्य जानकारी गराउनुपर्नेछ । आयोजना तथा कार्यक्रम कार्यान्वयनको सिलसिलामा सिर्जना हुन सक्ने वित्त जोखिमको आँकलन गरी वित्त जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेछ । अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायका अनुसार, ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको विकास तथा वित्त जोखिम व्यवस्थापनलाई सबल बनाउँदै पुँजीगत खर्चएमा उल्लेखनीय सुधारको प्रयास गर्नुपर्नेछ । बजेट कार्यान्वयनमा आइपरेका समस्या, कारणहरू उल्लेख गरी राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने व्यवस्था मिलाउन मार्गदर्शनमा आग्रह गरिएको छ । प्रत्येक दुई महिनामा अर्थ मन्त्रालयमा हुने बजेट कार्यान्वयनसम्बन्धी समीक्षा हुनेछ ।
आज ६ प्रदेशमा भारी वर्षाको चेतावनी, चट्याङको जोखिम
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू-भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका -स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
नेपाली बजारमा प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक इमास फाइभ सार्वजनिक, मूल्य ३२ लाख ९९ हजार
काठमाडौं । नेपाली बजारमा मलेसियन ब्राण्ड प्रोटोनको नयाँ इलेक्ट्रीक ह्याचब्याक कार इमास फाइभ सार्वजनिक भएको छ । नेपालका लागि प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले सोमबार (आज) देखि यसको औपचारिक बिक्री सुरु गरेको हो । कम्पनीले प्रोटोन इमास फाइभलाई दुईवटा भेरियन्टमा उपलब्ध गराएको छ । जसअनुसार प्राइम भेरियन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर पहिलो १०० ग्राहकका लागि विशेष अफर स्वरूप २९ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराइने बताएको छ । त्यसैगरी प्रिमियम भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने पहिलो १०० ग्राहकले यसलाई ३४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । जिलीले चीनमा उत्पादन गरेको ‘जिङयुआन’ मोडललाई नै प्रोटोनले रिब्याचिङ गरेर यो नयाँ इमास फाइभ बजारमा ल्याएको हो । प्रोटोन इमास फाइभको प्राइम भेरियन्टमा ५८ किलोवाटको इलेक्ट्रीक मोटर र ३०.१२ किलोवाट आवरको ब्याट्रीप्याक जडान गरिएको छ । जसले १३० न्युटन मिटर टर्क प्रदान गर्नुका साथै एकपटकको फुलचार्जमा २२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसको प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट आवरको ठूलो ब्याट्री छ । जसले १५० न्युटन मिटर टर्कका साथै सिंगल चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छ । रियर ह्वील ड्राइभ सिस्टम भएको यस गाडीको लम्बाई ४१३५ एमएम, चौडाई १८०५ एमएम, उचाइ १५७० एमएम र ह्वीलबेस २६५० एमएम रहेको छ । आकर्षक इन्टेरियर डिजाइन गरिएको यस ह्याचब्याकमा ८.८ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, मल्टिफंशनल स्टेरिङ ह्वील, र भेरियन्ट अनुसार १०.१ तथा १४.६ इन्चको इन्फोटेनमेन्ट स्क्रीन जस्ता आधुनिक सुविधाहरू उपलब्ध कम्पनी रहेको भनाइ छ । यसका साथै हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ कलर भेरियशन सहितको एम्बियन्ट लाइट र किलेस इन्ट्रीजस्ता फिचरले गाडीलाई प्रविधिमैत्री बनाएको छ । सुरक्षाका दृष्टिकोणले ६ वटा एयरब्याग, आधुनिक एडास फिचर र ३६० डिग्री क्यामेरा राखिएको यो गाडीको टर्निङ रेडियस मात्र ४.९५ मिटर रहेकाले व्यस्त सहरी क्षेत्रमा चलाउन निकै सहज र उपयुक्त हुने देखिन्छ । कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले गाडीको मूल्य सार्वजनिक हुनुअघि नै ७९ जना ग्राहकले यसलाई बुकिङ गरिसकेको जानकारी दिए । यसले नेपाली बजारमा यो गाडीप्रति उच्च आकर्षण रहेको उनको भनाइ छ । यस्तै, कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामीले नेपाली ग्राहकका लागि विश्वस्तरीय प्रविधि र सुविधासम्पन्न सवारी साधन भित्र्याउने लक्ष्य राखेका छौं । प्रोटोन इमास ५ ले नेपाली सडकमा विद्युतीय सवारीको अनुभवलाई नयाँ उचाइमा पु¥याउनेछ ।’ यस्तै, कार्यक्रममा बोल्दै कम्पनीकी निर्देशक दीपा अग्रवालले नेपालमा इन्टेलिजेन्ट र सस्टेनेबल मोबिलिटीको नयाँ युग सुरु भएको बताइन् । उनले जगदम्बा मोटर्स र मलेसियाको प्रोटोन इन्टरनेशनल कर्पोरेसन बीचको यो साझेदारीले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय प्रविधि र सुरक्षाको अनुभूति गराउने विश्वास व्यक्त गरिन् । प्रोटोनले नेपालमा केवल सवारी साधन मात्र नभई आधुनिक र वातावरणमैत्री यातायातको समाधान ल्याउने लक्ष्य राखेको उनको भनाइ छ । उनका अनुसार विशेष गरी विद्युतीय सवारी साधन र दिगो विकासलाई कम्पनीले आफ्नो प्राथमिकतामा राखेको छ । शंकर ग्रुप अन्तर्गतको यो कम्पनीको को ७० वर्षभन्दा लामो व्यापारिक विरासत र अनुभवले प्रोटोन ब्रान्डलाई नेपालकै सबैभन्दा भरपर्दो अटोमोबाइल ब्रान्ड बनाउन मद्दत पुग्ने उनको दाबी छ । प्रोटोन इमास फाइभमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । यसमा रहेको ब्याट्रीलाई फास्ट चार्जरको माध्यमबाट मात्र २० मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीमा सुरक्षित यात्राका लागि इन्डिपेन्डेन्ट मल्टिलिंक सस्पेन्सन, प्रिमियम इन्टेरियर र फराकिलो स्पेस रहेको छ । विश्व बजारमा यो मोडेल निकै सफल मानिन्छ र पछिल्लो १६/१७ महिनामा करिब ८ लाख युनिट बिक्री भइसकेको कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै प्रोटोन इन्टरनेसनलका डेपुटी डाइरेक्टर श्री लि झिदानले भने, ‘प्रोटोन इमास फाइभले विश्वव्यापी बजारमा बलियो पहिचान बनाइसकेको छ । विश्वभरका ६ लाख १० हजारभन्दा बढी ग्राहकहरूले प्रोटोन इमास फाइभमा प्रयोग भएको प्लेटफर्मलाई अपनाएका छन् । प्रोटोन इमास फाइभले उन्नत प्रविधि, भरपर्दो सुरक्षा र उत्कृष्ट मूल्यसहितका गाडीहरू उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँदछ । ’ उनका अनुसार प्रोटोनको अन्तर्राष्ट्रिय विकास रणनीतिमा नेपाल एक महत्त्वपूर्ण बजार हो । जगदम्बा मोटर्ससँगको सहयार्यले प्रोटोन इमास फाइभ ब्रान्डलाई भरपर्दो र नवप्रवर्तनीय विद्युतीय सवारी-साधन खोज्ने नेपाली ग्राहकहरूको लागि एक विश्वसनीय रोजाइ बनाउनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । सार्वजनिक कार्यक्रममा मलेसियाली दूतावासका चान्सरी प्रमुख मोहम्मद बुखारी बिन मुस्तफालगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । नेपालमा विद्युतीय सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्न यो गाडी एक किफायती र शक्तिशाली विकल्प हुने कम्पनीको दाबी छ । जगदम्बा मोटर्सले देशभर रहेका आफ्ना डिलर नेटवर्कमार्फत यसको बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्ने जनाएको छ ।
मन्त्रालय संख्या घटेपछि कर्मचारी दरबन्दी मिलान गरिँदै
काठमाडौं । सरकारले साबिकका २२ वटा मन्त्रालयको संख्या घटाएर १८ कायम गरेपछि गाभिएका तथा नवगठित मन्त्रालय र मातहतका निकायहरूको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापनका लागि संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण कार्य अन्तिम चरणमा पु¥याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै सर्वेक्षण कार्य सम्पन्न भएपछि विभिन्न पदहरूको दरबन्दी हालको भन्दा घट्न सक्ने र केही कर्मचारीहरू दरबन्दी भन्दा बढी भई फाजिलमा पर्न सक्ने सम्भावना रहेको जनाएको छ । यसरी फाजिलमा पर्ने कर्मचारीहरूको दरबन्दी मिलानलाई ध्यानमा राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वीकृति बिना स्थायी पदपूर्तिका लागि लोकसेवा आयोगमा माग नगर्ने निर्णय भएको छ । साउन ४ गते बसेको सचिव बैठकले गरेको उक्त निर्णय अनुसार, यदि कुनै पदमा पदपूर्ति गर्न आवश्यक भएमा सुरुमा फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन गरिनेछ । फाजिल कर्मचारीको व्यवस्थापन भइसकेपछि पनि कुनै पद रिक्त रहेमा वा ओ एण्ड एम सर्वेक्षणबाट कायम भएका नयाँ स्वीकृत दरबन्दीको रिक्त पदमा पदपूर्ति गर्नुपर्ने अवस्था आएमा मात्र त्यस्ता पदमा स्थायी पदपूर्तिका लागि नियमित रूपमा लोक सेवा आयोगमा माग गरिने कार्यालयको जारी विज्ञप्तिमा उल्लेख छ ।
विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन
काठमाडौं । सरकारले विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई निर्देशन दिएको छ । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र स्थानीय तहका कर्मचारीलाई कार्यालयमा अनिवार्य रूपमा उपस्थित रहन निर्देशन दिएको हो । विपद् व्यवस्थापन, उद्धार, राहत, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै स्थानीय तह र जिल्ला समन्वय समितिका कर्मचारीलाई नियमित रूपमा कार्यालयमा उपस्थित रहन भनिएको हो । मन्त्रालयका अनुसार विपद्को अवधिभर कर्मचारीहरूले कार्यालय नछोडी समन्वय, सहजीकरण र निर्णय प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेछ । हाल बिदामा रहेका कर्मचारीलाई समेत बिदा छोट्याई सम्बन्धित कार्यालयमा उपस्थित भई आफ्नो जिम्मेवारी पूरा गर्न मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले विपद्सम्बन्धी सूचना संकलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण र अन्य आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा संघीय निकायसँग निरन्तर सम्पर्क र समन्वय गर्न स्थानीय तहलाई आग्रहसमेत गरेको छ । यस्तै, विशेष परिस्थितिवश कार्यालय छाड्नुपर्ने अवस्था सिर्जना भएमा सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर जिम्मेवारीको उचित व्यवस्थापन गरीमात्र कार्यालय छाड्नुपर्ने छ ।
पर्यटन बोर्डमा नयाँ सदस्यको स्वागत, यी विषयमा भयो छलफल
काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले नवनियुक्त बोर्ड सदस्यहरूलाई स्वागत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन १ गते नियुक्त गरेका निजी क्षेत्रतर्फका पाँचजना कार्यकारी समितिका सदस्यहरूलाई सोमबार बोर्डमा स्वागत गरिएको हो । यससँगै बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले बोर्ड स्थापनाको उद्देश्य, नीति तथा कार्यक्रम तथा हालसम्मका प्रमुख उपलब्धिबारे विस्तृत जानकारी गराएका छन् । स्वागत कार्यक्रममा बोर्ड र निजी क्षेत्रबीचको सहकार्यलाई सुदृढ बनाउँदै पर्यटन प्रवर्द्धनलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । कार्यक्रममा निमित्त कार्यकारी प्रमुख ऐरले बोर्डले गत आर्थिक वर्षमा सम्पन्न कार्यक्रमहरू, बोर्डको संरचना, अवसर र चुनौतीबारे समेत नवनियुक्त सदस्यहरूलाई जानकारी गराएका हुन् । उनले नेपाल आरोग्य वर्ष २०२७ लाई सफल बनाउन बोर्डले काम गरिरहेको विषयमा पनि जानकारी गराएका हुन् । नवनियुक्त बोर्ड सदस्य सन्तोष पोखरेलले आगामी दिनमा नेपालको पर्यटन प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गर्दै नयाँ सोच र कार्यशैलीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपालको पर्यटनमा निजी क्षेत्र महत्वपूर्ण कडी रहेको उल्लेख गर्दै हाल देखिएका अवरोध हटाएर समस्या समाधान गर्दै उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनमा विशेष जोड दिए । त्यसैगरी, बोर्ड सदस्य सिर्जना केसीले सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत पर्यटन क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको उल्लेख गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले तथ्यमा आधारित नीति निर्माणका लागि अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । बोर्ड सदस्य सहदेव धमलाले निजी क्षेत्रका समस्या समाधानमा बोर्डले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी आर्थिक वर्षको बजेट तीन ‘पी’ अर्थात् पर्यटन क्षेत्रको संरक्षण (प्रोटेक्सन), संवर्द्धन (प्रिजर्भेसन) र प्रवर्द्धन (प्रमोसन) मा केन्द्रित हुनुपर्ने धारणा राखे । त्यसैगरी, बोर्ड सदस्य पेम्बा शेर्पाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै बोर्डका प्राथमिकताका कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । बोर्ड सदस्य डा. सोविता श्रेष्ठ ढकालले दिगो पर्यटन विकासका लागि गुणस्तर, अनुसन्धान र सुशासनलाई केन्द्रमा राखेर नीति तर्जुमा गर्दै प्रभावकारी व्यवस्थापन र सरोकारवालाबीचको सहकार्य आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले पर्यटनको गुणस्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धात्मक क्षमता थप मजबुत बनाउन बोर्डले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखिन् । स्वागत कार्यक्रमका क्रममा बोर्डका पदाधिकारी र नवनियुक्त बोर्ड सदस्यहरूको सक्रिय सहभागिता र निजी क्षेत्रसँगको सहकार्यमार्फत नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ र प्रतिस्पर्धी बनाउने साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।