निरन्तर बढिरहेको समाज लघुवित्तको सेयर मूल्यमा लाग्यो ब्रेक, प्रतिकित्ता कति ?
काठमाडौं । करिब दुई सातायता निरन्तर उकालो लागिरहेको समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आइतबार ब्रेक लागेको छ । आइतबार कम्पनीको सेयर मूल्य २१७.६० रुपैयाँले घटेर प्रतिकित्ता १९५८.७० रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १० प्रतिशत घटी हो । गत बिहीबार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २१७६.३० रुपैयाँ पुगेको थियो । यद्पि यो अधिकतम मूल्य भने होइन । गत साउन १ गतेदेखि दोश्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयर मूल्य गत माघ १४ गते आइतबारदेखि भने निरन्तर उकालो लागिरहेको थियो । बजारमा प्रवेश गर्दा प्रतिकित्ता ७२.१० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य माघ ११ गतेसम्म आइपुग्दा प्रतिकित्ता ४१८.३ रुपैयाँ पुगेको थियो । र, माघ १४ गतेको बजारमा कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ४४३.८ रुपैयाँ पुगेको थियो । त्यसपछिको बजारमा भने कम्पनीको सेयर मूल्य एकाएक बढ्न थाल्यो । र, माघ २४ गतेदेखि फागुन १० गतेसम्म निरन्तर सकारात्मक सर्किट लागेको देखिन्छ । माघ २४ गते ७६३ रुपैयाँबाट कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य फागुन १० गतेसम्म पुग्दा प्रतिकित्ता २१७६.३ रुपैयाँसम्म पुगेको थियो । यससँगै उक्त १० दिनको अवधिमा कम्पनीको सेयर मूल्य प्रतिकित्तामै एक हजार ४१३ रुपैयाँले बढेको देखिन्छ । तर आइतबार अर्थात फागुन १३ गतेको बजारमा भने कम्पनीको सेयर मूल्य घट्यो । दिनभरको कारोबारमा कम्पनीको सेयरमूल्यमा तीव्र उतारचढाव देखिएको थियो । प्रतिकित्ता २ हजार २१९.८० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २३९३.९० रुपैयाँसम्म पुगेको थियो । जुन कम्पनीको सेयरको अधिकतम मूल्य थियो । तर, उक्त उचाई केही समयपनि टिक्न सकेन र बजार बन्द हुँदासम्म घटेर प्रतिकित्ता १९५८.७० रुपैयाँमा झर्यो । आइतबार संस्थाको एक करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरमा संस्थाको ७ हजार २४१ कित्ता सेयर ४७१ पटकमा खरिद बिक्री भएका छन् ।
सरकार असफल भयो, मन्त्रीहरुले राजीनामा दिए हुन्छ : सांसद गौतम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी छिन् । आईतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शुन्य भएको बताइन् । उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरुलाई आग्रह गरिन् । आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक-पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरु कसलाई भेट्छन् ? भनि प्रश्न समेत गरिन् । प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भएपनि प्रदेश सरकारको त्यस्तो भुमिका हुन नसकेको बताइन् । यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अफ्ठारो परेको जानकारी दिइन् । ‘पटक पटक मन्त्रालयमा मन्त्री भेट्न आउँछु । भेट्न समय दिनुहुन्न । सांसद, जो जनताको आवाज बोकेर आएको छ, जनताको प्रत्यक्ष मत लिएर आएको छ । जनताहरुका मुद्दाहरु लिएर गयो । भेट्न समय पाइदैनँ । प्रत्यक्ष निर्वाचित भएका सांसदहरुलाई भेटन्को लागि, कुरा सुन्न समय छैन भने के गरेर बस्छन् मन्त्रीहरु ? राजीनामा दिए हुन्छ । यस्तो मन्त्रीहरुको काम छैन । यस्तो सरकारको काम छैन । सरकारको काम शुन्य भयो । लगभग लगभग यो सरकार असफल भयो । सरकार असफल हो काम गर्न नसक्ने भए राजीनामा दिएर गए हुन्छ’, उनले भनिन् । उनले ठूला पार्टीहरु संसदमा एकले अर्कोलाई आरोपित मात्रै गरिरहेका बताइन् । वर्तमान प्रदेश संरचनालाई सुधार्नेतर्फ छलफल केन्द्रीत गर्नुपर्ने बताइन् ।
पूर्वराष्ट्रपतिको हिपको प्रत्यारोपण गर्ने अर्थोसर्जन भन्छन् : हाडजोर्नीको उपचार सरल हुँदैछ
काठमाडौं । भारतीय अर्थोपेडिक एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक सर्जन प्रा डा राजीव के शर्माले हाडजोर्नीसम्बन्धी रोगको उपचार अब सरल एवं सामान्य हुँदै गएको बताएका छन् । नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस् (एम्स), एपोलो हस्पिटल नयाँदिल्लीलगायतमा हाडजोर्नीसम्बन्धी फ्याकल्टी तथा सर्जनका रुपमा समेत काम गरिसकेका प्रा डा शर्मा अर्थोपेडिक सर्जनहरुको एक ‘कन्फ्रेन्स्’ का लागि हालै काठमाडौं आएका बेला हामीले यस विषयमा जिज्ञासा राखेका थियौँ । कुराकानीकाक्रममा उनले भने, ‘मानवीय हाडजोर्नी तथा हड्डीसम्बन्धी रोगको उपचार अब पहिलेजस्तो जटिल छैन, सामान्य हुँदै गएको छ । अहिले शरीरका हाडजोर्नी, घुँडाको अत्याधुनिक मेडिकल प्रविधि प्रयोग गरेर सफल प्रत्यारोपण (ट्रान्सप्लान्ट) गर्न या फेर्न (रिप्लेस्मेन्ट) सकिन्छ । मेडिकल अनुसन्धान तथा प्रविधिले धेरै कुरा सफल र सम्भव तुल्याइदिएको छ । ‘ ज्वाइन्ट रिप्लेस्मेन्ट सर्जन डा शर्माले केही वर्षअघि ९४ वर्षीय वृद्धको हिप प्रत्यारोपण गरेको प्रसङ्ग सुनाउँदै भने, ‘बालबालिका र यो उमेरका वृद्धवृद्धामा पनि ज्वाइन्ट रिप्लेस्मेन्ट हामीले गरिरहेका छौँ, हामी सफल भइरहेका छौँ, जटिलता देखिएको छैन । पहिला त यो उमेरका बिरामीमा प्रत्यारोपण गरौँ कि नगरौँ भन्ने पनि भयो । बिरामीको पनि गरिदिए हुन्थ्यो भन्ने चाहना थियो । मैले नै ‘रिप्लेस्मेन्ट’ गरेँ, सफल पनि भयो । वर्षौंसम्म आफैँले फलोअप गरेँ । ‘रिप्लेस’ गरिएको अङ्गमा कुनै समस्या आएन, ठीक रहनुभयो । म पनि निकै खुसी भएँ ।’ पहिले यस्ता समस्याहरु शल्यक्रिया गरेर निको पार्ने प्रयास गरिन्थ्यो । त्योभन्दा अहिलेको यो रिप्लेस्मेन्ट या प्रत्यारोपण ‘एड्भान्स’ हुँदै गयो, यो ठीक भएको छ । उनको आशय थियो अहिले बालबालिकादेखि वृद्धवृद्धाहरुसम्म पनि जोर्नी प्रत्यारोपण सम्भव मात्र होइन सामान्य हुँदै गएको छ । मानिसहरु प्रत्यारोपणका लागि तयार भए भने मेडिकल प्रविधि चुस्त दुरुस्त छ । मात्र चिकित्सकको दक्ष हात चाहिन्छ । तर मानिसहरु अझै पनि अङ्ग प्रत्यारोपण गर्ने काममा आशङ्का गर्ने गरेको आफूले पाएको उनको भनाइ छ । ‘मानिसहरु अहिले पनि प्रत्यारोपण गर्ने अर्थात् कुनै पनि अङ्ग फेर्ने काम सफल हुँदैन कि भन्ने सोच्ने गर्दछन् । त्यसैले उनीहरु सुरुमा त तयार पनि हुँदैनन्’, प्रा डा शर्मा भन्छन्, ‘अङ्गको प्रत्यारोपणपछि सङ्क्रमण हुन्छ या जटिलता उत्पन्न हुन्छ भन्ने मानिसहरु बताउने गर्दछन् । तर त्यसो नभएर अहिले यस क्षेत्रमा धेरै सफलता प्राप्त भइरहेको छ । त्यसप्रति आमनागरिकमा सचेतनाको आवश्यकता मैले देखेको छु ।’ त्यस्तै दुखाई बढी हुने, यसरी प्रत्यारोपण गरिएको अङ्गको दिगोपना कम हुने अर्थात् पटक–पटक प्रत्यारोपण गर्नुपर्ने अवस्था पनि आउनसक्ने तर्क गर्ने गरेका कारण मानिसहरु जोर्नी प्रत्यारोपणका लागि तयार नहुने गरेको आफूले पाएको उनको भनाइ छ । पछिल्लो समयमा निकै ‘एड्भान्स’ प्रविधि आएकाले ती प्रविधिको प्रयोग गरेर कुनै पनि दक्ष चिकित्सकले नदुखाई र सफलरुपमै जोर्नी प्रत्यारोपण गर्न सक्ने उनी बताउँछन् । हाल मुलचन्द हस्पिटल नयाँ दिल्लीमा ज्वाइन्ट रिप्लेस्मेन्ट विज्ञका रुपमा कार्यरत उनले आफूसँग हाडजोर्नीसम्बन्धी समस्या लिएर आउने कुनै पनि बिरामी निको नभई नफर्कने दाबी गर्छन् । जोर्नी प्रत्यारोपण गरिएका बिरामीलाई आफूले २० वर्षसम्म नै ‘फलो’ गरेको र उनीहरुमा कुनै समस्या नदेखिएको पनि उनको भनाइ छ । सुनिन्छ, हिजोआज मानिसका हाड कमजोर हुँदै गएका छन् । सानातिना ठाउँबाट सामान्य लड्दा पनि हाड भाँचिने गरेको सुनिन्छ, यस्तो किन हुन्छ ? हाम्रो प्रश्नमा उनको उत्तर छ ‘मानिसहरु दिनप्रतिदिन आफैँले आफ्ना हाड कमजोर बनाइरहेका छन् ।’ कसरी रु उनी भन्छन्, ‘पहिलो कुरा त खानपिन नै हो । मानिसमा पछिल्लो समय मीठो अर्थात् स्वादिलोमात्र खान खोज्ने र सुख अर्थात आरामदायी जीवनको खोजीका कारण उसको शरीर नै रोगको घर बनिरहेको छ । हाड र जोर्नीमा पनि यो लागू भैहाल्छ । मानिसको आफ्नै आनिबानी र खानपिनले हड्डी कमजोर हुँदै गएको देखेका छौँ । पछिल्लो समय यो अवस्था झन् बढ्दो छ ।’ धेरै खाना र बजारीया अस्वस्थकर खाना (जङ्क फुड तथा फास्ट फुड) ले शरीरमा धरै प्रकारका रोग भित्र्याएपछि त्यसले पनि हाडलाई कमजोर पारेको उनको भनाइ छ । मानिसमा पछिल्लो समय बढ्दो मोटोपनाले पनि हाडलाई कमजोर बनाएको र हाडजोर्नीमा समस्या देखिने गरेको उनी बताउँछन् । शरीरमा बढ्दो मासुको भार पनि हाडले नै बोक्नु परेको छ । मोटोपनको भार शरीरको हाडमा परेको छ र यसले पनि हाड कमजोर बनाउँदै गएको छ । जस्तो कि शरीरमा अत्यधिक मोटोपन छ भने शरीरको त्यो वजनको भार घुँडाले धान्नुपर्दछ । यसले शरीरको भार बढाइरहेको छ र हाडलाई कमजोर बनाइरहेको छ । शर्मा भन्छन्, ‘मानिसमा शारीरिक व्यायामको कमी हुँदै गएको छ र ‘टेबल वर्क कल्चर’ बढ्दो छ । यसरी मानिसको शरीरका हाडहरु खुम्चिएर रहनुपरिरहेको अवस्था छ । शरीर चलायमान हुन सकेन र हाडलाई आवश्यक अभ्यास पुगेन । यसकारण पनि हाड कमजोर बन्दै गएको छ । त्यसैगरी आवश्यक पोषण एवं क्याल्सियमको कमीले पनि मानिसका हड्डी कमजोर बनाएको छ । अनि मानिसहरु व्यस्तताका कारण घाममा बस्न छोडिसकेका छन् । यी सब भारतका मात्र नभएर नेपाल तथा समग्र दक्षिण एसियाकै साझा समस्यामा पर्दछन् । यस्तै कारणले नै मानिसको शरीर र शरीरसँगै उसका हड्डी र जोर्नीहरु कमजोर बन्दै गएका छन् ।’ उनका अनुसार धुमपान हाड कमजोर पार्ने अर्को प्रमुख कारण बनेको छ । त्यसैगरी पछिल्लो समय व्यायामशाला जाने प्रचलन जुन सुरु भएको छ, यो पनि हाडजोर्नीका लागि स्वस्थकर नभएको उनको भनाइ छ । ‘शरीरको हाड र जोर्नीका लागि सबैभन्दा राम्रो व्यायाम त ‘साइक्लिङ’ र ‘स्वीमिङ’ हो, यो ‘जिम कल्चर’ पनि त्यति राम्रो होइन’, उनले भने । हाडजोर्नीसम्बन्धी रोगको निदानका उपाय के होलान् त ? उनको सुझाव छ, ‘सरकारहरुले हाडजोर्नीसम्बन्धी रोगको उपचारलाई सबै सर्वसाधारणको पहुँचसम्म पुग्नेगरी विस्तार गर्नुपर्छ । नागरिकको स्वास्थ्य बीमामार्फत कार्डको व्यवस्था गर्नु राम्रो हुन्छ । भारतमा वर्षमा निश्चित रकमको उपचार कार्ड नागरिकलाई दिइएको छ । नेपाललगायतका देशका सरकारले पनि यस्तो व्यवस्था गर्न सक्छन् । योभन्दा पनि महत्वपूर्ण त शिक्षा हो । शिक्षाका माध्यमबाट हाडजोर्नीसम्बन्धी रोग निदानको नीति अख्तियार गर्न सकिन्छ । यससम्बन्धी शिक्षा र पछिल्लो समयमा विकसित प्रविधि र उपचार विधिका विषयमा तालिमलगायतका कार्यक्रममा लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक छ । हाडजोर्नीसम्बन्धी रोग र यसबारे नागरिकमा आवश्यक चेतना जागृत गराउनु पनि आवश्यक छ ।’ भारतका एक प्रतिष्ठित चिकित्सकका छोरा डा शर्मा अर्थोको एम एस अध्ययनमा स्वर्णपदक प्राप्त छन् । अर्थोपेडिक क्षेत्रमा ३२ वर्षको अनुभव सङ्गालेका उनले अहिलेसम्म १५ हजारभन्दा बढी जोर्नी प्रत्यारोपण गरिसकेका छन् । उनी उत्तरी भारतमा घुँडाको ‘कम्प्युटर नेभिगेटेड अर्थोप्लास्टी’ गर्ने पहिलो चिकित्सक पनि हुन् । सन् २००५ मा उनले कम्प्युटरको माध्यमबाट घुँडाको सो उपचार गरेका थिए । उनले करिब एक हजार घुँडाको अर्थोप्लास्टी गरेका छन् भने घुँडामात्र तीन हजार प्रत्यारोपण गरेका छन् । नेपालका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको हिपको प्रत्यारोपण पनि उनले नै गरेका थिए । क्यान्सरका कारण हिपमा समस्या देखिएपछि पूर्वराष्ट्रपति भण्डारीको हिप प्रत्यारोपण गरिएको थियो । डा शर्मा नेपालमा हाडजोर्नीसम्बन्धी उपचारका पनि सहयोगी छन् । जोरपाटीस्थित अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर डा कैलाश भण्डारीका अनुसार डा शर्माले सो अस्पताललाई समय समयमा सहयोग गर्दै आएका छन् । सो अस्पतालका साथै नेपालका यस क्षेत्रका चिकित्सकहरुलाई उनले विकसित पछिल्लो प्रविधि र उपचार विधिबारे तालिम प्रदान गर्दै आएका छन् । त्यसैले नेपाल सरकारले उनलाई केही वर्षअघि नेपालका सहयोगी एवं ख्यातिप्राप्त विदेशी नागरिकलाई प्रदान गरिने जनसेवाश्री पदकबाट सम्मान गरेको थियो । विश्वका विभिन्न देशमा भिजिटिङ प्रोफेसरका रुपमा आफ्ना अनुभवहरु प्रस्तुत गर्दै आएका डा शर्मा नेपालमा शिक्षा र चेतनाको स्तर बढेको देखिन्छन् । ‘धेरै वर्षदेखि म नेपाल आइरहेको छु । यहाँ शिक्षाको विकास उल्लेखनीय छ । नेपाली नागरिकमा बढ्दो शैक्षिक र चेतनाको स्तर प्रशंसनीय छ । यस कुराले मलाई खुसी लाग्छ । यो देश र यहाँका नागरिकको भविष्य राम्रो छ’, उनी भन्छन् । रासस
दुई हजारको बिन्दुबाट झर्यो नेप्से परिसूचक, कारोबारमा पनि संकूचन
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक दुई हजार बिन्दुबाट पनि तल झरेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन २६.८१ अंकले घटेर १९७९.०२ बिन्दुमा झरेको हो । जुन गत बिहीबारको तुलनामा १.३३ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घट्दो क्रममा छ । बिहीबार तीन अर्ब २० करोडको कारोबार भएको थियो भने आइतबार थप घटेर तीन अर्ब आठ करोडको सेयर किनबेच भएको छ । पछिल्लो समय हिमालयन रि इन्स्योरेन्सको निरन्तर सर्वाधिक कारोबार हुँदै आएको थियो । तर आइतबारको बजारमा भने उक्त रेकर्ड ब्रेक भएको छ । यससँगै हिमालयन रि सर्वाधिक कारोबार गर्नेको तेश्रो स्थानमा रहेको छ । आइतबारको बजारमा सर्वाधिक कारोबार गर्नेमा सूर्या नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । जसको एकैदिन २५ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने सेयर मूल्य पनि बढेर प्रतिकित्ता ५९९.८० रुपैयाँ पुगेको छ । कम्पनीले बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेसँगै कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको हो । इन्स्योरेन्सले आइतबार मात्रै २३.८० प्रतिशत बोनसपछि २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेको थियो । बजारमा टप गेनरको शीर्ष स्थानमा बोटलर्स नेपाल (बालाजु) नै रहेको छ । जसको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १४ हजार ७५६ रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा समाज लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता १९५८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । करिब दुई साता निरन्तर १० प्रतिशतले बढेको संस्थाको सेयर मूल्य आइतबार भने १० प्रतिशतले घटेको छ ।
रोयल इन्फिल्डको हन्टर कार्निभल सम्पन्न
काठमाडौं । रोयल इन्फिल्डले आयोजना गरेको ‘हन्टर कार्निभल’ सम्पन्न भएको छ । काठमाडौंको ईजी वे ट्रायल सेन्टरमा आयोजित उक्त कार्यक्रममा १ हजार २०० जना सहभागी भएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले शनिबार आयोजना गरेको कार्यक्रममा सहभागीले टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इन्फिल्ड गियर एण्ड जीएमए प्रदर्शनी, एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, फुड र भिन्टेज परेडको साथै म्यूजिकल पर्फमेन्सको मज्जा लिएका थिए । रोयल इन्फिल्ड ‘हन्टर राइड एण्ड भाइव स्लो रेस’ प्रतिस्पर्धामा सञ्जय बुढाथोकी बिजयी भए भने राम भण्डारी दोस्रो र आर्जित श्रेष्ठले तेस्रो स्थान हासिल गरे । उनीहरुलाई मेडल, सर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ ज्याकेट र हेल्मेट लगायत सामान प्रदान गरिएको थियो ।
सचिवहरूले मन्त्रीलाई ब्रिफिङ नगर्दा पुनर्बीमाको पुँजी वृद्धिमा खटपट
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरूको पुँजी वृद्धिको निर्णय गरे पनि त्यसको कार्यान्वयनको प्रक्रियामा पनि असमझदारी उत्पन्न भएको छ । प्राधिकरणले गत माघ १७ गते पुनर्बीमा कम्पनी (रिइन्स्योरेन्स)हरूलाई २० अर्ब पुँजी पुर्याउन निर्देशन दिए पनि त्यसको प्रक्रियामा भने अर्थमन्त्री र प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबीच असमझदारी सिर्जना भएको हो । प्राधिकरणले माघ १७ गते पुँजी वृद्धिका लागि १५ दिनभित्र योजना पेस गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो । प्राधिकरणले दिएको समय गत फागनु ४ गते सकिए पनि कम्पनीहरूले योजना पेस गरेनन् । तर, समय सकिएको केही दिनपछि मात्रै हिमालयन पुनर्बीमा कम्पनीले योजना पेस गरेको थियो । नेपाल पुनर्बीमा कम्पनीले थप १५ दिनको समयमा मागेको छ । निजी क्षेत्रको कम्पनीले योजना पेस गर्दा सरकारी स्वामित्वको नेपाल पुनर्बीमाले किन थप समय माग गरेको होला भन्ने विषयमा चासोका साथ हेरिएको छ । यसरी भयो पुँजी वृद्धिको निर्णय पुनर्बीमा कम्पनीको पुँजी वृद्धि गर्ने प्राधिकरणको निर्णयप्रति अर्थमन्त्री डा. प्रकाश शरण महत भने असन्तुष्ट छन् । पुँजी वृद्धिको विषयमा आफूलाई एक बचन पनि नसोधेको भन्दै अर्थमन्त्री डा. महत रूष्ट बनेको स्रोतको भनाइ छ । अध्यक्ष सिलवालले भने अर्थमन्त्रालयका दुइटै सचिवलाई ब्रिफिङ गरेको बताइएको छ । ‘नेपाल पुनर्बीमाको सञ्चालक समितिको फूल बोर्ड बोलाएर जानकारी गराएकै हो, मन्त्रालयका दुइटै सचिवसँग बसेर जानकारी दिएकै हो । तर, मन्त्रालयमा आएर मलाई किन नसोधेको भनेर गुनासो गर्नु भएको हो,’ प्राधिकरण स्रोतले भन्यो । उसो त प्राधिकरणको सञ्चालक समितिमा अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै सहसचिव भुपाल बराल सदस्य छन् । तर, उनी पुँजी वृद्धिको निर्णय गर्ने बैठकमा उपस्थित भएनन् । बराल सचिव बन्ने लाइनमा छन् । पुँजी वृद्धिको विषय विवादित बन्न सक्ने पूर्वानुमान गर्दै उनी प्राधिकरणको सञ्चालक समिति बैठकमा सहभागी हुन छाडेको स्रोतको भनाइ छ । ‘प्राधिकरणको बोर्ड बैठकमा बराल आउन छोड्नु भएको छ, उहाँ निरन्तर ४/५ वटा बैठकमा उपस्थित हुनु भएको छैन,’ प्राधिकरण स्रोतले भन्यो, ‘उहाँ सचिव बन्ने लाइनमा हुनुहुन्छ, विवादमा परिन्छ कि भन्ने हिसाबले बैठकमै आउनु भएको छैन ।’ पुँजी वृद्धिको योजना प्राधिकरणले फिर्ता लिने अवस्था नरहेको प्राधिकरण स्रोतको दाबी छ । पुँजी वृद्धि प्रक्रिया अर्थमन्त्रीले नरोकेर दुःखेसो मात्रै पोखेको बुझाइ प्राधिकरणको छ । प्राधिकरणका अध्यक्ष सिलवालले सचिवहरूसँग छलफल गरेपनि सचिवहरूले अर्थमन्त्रीलाई ब्रिफिङ नगराएको बुझिएको छ । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष ईश्वरी अर्यालले पनि ब्रिफिङ नगरेको बताइएको छ । त्यसकारण पनि अर्थमन्त्री महत रुष्ट बनेका हुन् । पुँजी वृद्धिको विषयमा मन्त्रालयका दुईटै सचिवसँग छलफल गरेपछि प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक राजु रमण पौडेल अर्थमन्त्रीलाई भेट्न कार्यकक्षमा गएका थिए । तर, अर्थमन्त्रीलाई नभेटेपछि उनीहरू मन्त्रालयबाट फर्किए । सचिवहरूलाई ब्रिफिङ गरिसकेका सिलवालले लगत्तै कम्पनीहरूलाई पुँजी वृद्धिका लागि निर्देशन दिए । सञ्चार माध्यममा पुँजी वृद्धिको योजना माग गरेको समाचार देखेपछि अर्थमन्त्री महत सिलवासँगै रुष्ट बनेका हुन् । तर, पुँजी वृद्धि गर्न नहुने भन्ने आशय भने उनको छैन । प्राधिकरण स्रोतका अनुसार हिमालयन पुनर्बीमाले प्रक्रिया अघि बढाएपछि नेपाल पुनर्बीमालाई स्वतः दबाब परेको छ । साथै, नेपाल पुनर्बीमाको पुँजी वृद्धिका लागि सरकारले एक रुपैयाँ थप्नु नपर्ने प्राधिकरण स्रोतको दाबी छ । नेपाल पुनर्बीमाले एफपीओ निष्काशन गरेर २० अर्ब पुँजी पुर्याउन सक्ने विकल्पमा पनि तयारी भइरहेको बुझिएको छ ।
मापदण्डअनुसार सञ्चालन नभएका ७० स्वास्थ्य संस्था बन्द
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो । सोअनुसार हुन नसकेपछि सेवा बन्द गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले गत भदौ १२ देखि सुरु गरेको अनुगमनका क्रममा यी संस्थाहरुले मापदण्ड पूरा नगरेको पाइएको थियो । मन्त्रालयले दुई सय १३ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । सोमध्ये ६७ वटा स्वास्थ्य संस्थालाई तोकिएको मापदण्ड पूरा गर्न एक महिनाको समय दिइएको छ । मन्त्रालयमा दुई सय १५ स्वास्थ्य संस्था दर्ता भएकामध्ये तीनले नवीकरण गरेका छैनन् । वैदेशिक रोजगार ऐन, नियमावली तथा वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधि २०७२ बमोजिम अनुगमन सुरु गरिएको थियो । अनुगमन तथा निरीक्षण टोलीले काठमाडौं उपत्यकाभित्र र उपत्यका बाहिर रहेका स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गरेको थियो । मन्त्रालयमा सूचीकृत स्वास्थ्य संस्थाहरुले कामदारको स्वास्थ्य परीक्षणबिना नै ‘मेडिकल रिपोर्ट’ तयार गरी कामदारलाई दिने गरेको अनुगमनका क्रममा पाइएको छ । यी संस्थाहरुमा कर्मचारी र उपकरण पर्याप्त नभएको र परीक्षण नै नगरी प्रतिवेदन दिने गरेको पाइएको छ । वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने कामदारले अनिवार्यरुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ । नेपालबाट जाने नेपाली कामदारको गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्य परीक्षण गरिन्छ । गन्तव्य मुलुकमा पुगेपछि स्वास्थ्यमा समस्या भएर फर्कनुभन्दा नेपालमा नै स्वास्थ्य परीक्षण गर्ने गरिएको हो । मन्त्रालयमा दर्ता भएका यस्ता स्वास्थ्य संस्थाका लागि मन्त्रालयले पूर्वाधारको मापदण्डसमेत तोकेको छ । मन्त्रालयमा सूचीकृत संस्थामा समस्या देखिएपछि गन्तव्य मुलुकले आफ्नै मुलुकको मापदण्डानुसार स्वास्थ्य संस्था छनोट गर्न थालेका छन् । यसमध्ये मलेसियाले रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि ३६ वटा संस्था छनोट गरेको छ । साउदी अबरले १९ वटा संस्था तोकेको छ । कतारले कतार भिसा सेन्टरबाट नै सबै प्रक्रिया पूरा गर्दै आएको छ । भने इजरायलले चार र कोरियाले तीन वटा यस्ता स्वास्थ्य संस्था तोकेको छ । रासस
गल्फ लुब्रिकेन्ट्सद्वारा रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट सम्पन्न
काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम चितवनमा सम्पन्न गरेको छ । नेपाल ल्युब आयल लिमिटेडका चितवनको लागि आधिकारीक डिलर आशीर्वाद अटो ट्रेडिङ्गको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रममा उत्साजनक रुपमा बिक्रेता र मेकानिक्सहरुले सहभागिता जनाएका थिए । आशीर्वाद अटो ट्रेडिङ्गका प्रवन्धक सुवास कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का बाग्मती प्रदेश प्रमुख एवं चितवन अटो मोबाईल एसोसिएसनका अध्यक्ष कुल बहादुर क्षेत्री रहेका थिए भने नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्र सहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति थियो । कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका उपमहाप्रबन्धक दिवाकर मिश्रले भने, ‘यो भेटघाट कार्यक्रम हाम्रो लागि निकै महत्त्वपूर्ण रहेको छ र यो हामी देशभरी संचालन गर्दै आएका छौ। यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंग प्रत्यक्ष भेटघाट गरी उहाहरुको सल्लाह र सुझाब लिई, त्येही अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्री नीति बनाउनु हो ।’ कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका एसिष्टेन्ट म्यानेजर राजन रावलले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए । त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए । कार्यक्रममा , चितवन अटो मोबाईल एसोसिएसनका निवर्तमान अध्यक्ष कृष्ण काफ्ले,चितवन अटो मोबाईल एसोसिएसनका पुर्व अध्यक्ष कृष्ण प्रसाद भण्डारी एवं चितवन अटो मेकानिकल ब्यवसायी संघका अध्यक्ष राम बहादुर तिमिल्सिना लगायतका बक्ताहरुले आफ्ना मन्तब्य राखेका थिए । कार्यक्रममा लुब्रिकेन्ट्स बिक्रीमा उत्कृष्ट प्रदर्शन गर्ने रिटेलर एवं मेकानिकहरुलाइ हौसला स्वरुप सम्मान समेत गरिएको थियो । फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्राण्ड बिगत ३८बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ ।