बोनसपछि हकप्रदको घोषणासँगै सन नेपालको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो
काठमाडौं । आइतबारको सेयर बजारमा सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन २५ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार रकममा मात्रै नभई कारोबार संख्याको आधारमा पनि सन नेपालको सबैभन्दा बढी छ । कम्पनीको एकैदिन ४ लाख १५ हजार ९४९ कित्ता सेयर ४ हजार ९२५ पटकमा किनबेच भएको छ । त्यस्तै, आइतबारको बजारमा कम्पनीको सेयर मूल्य पनि बढेको छ । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य २८.८० रुपैयाँले बढेर प्रतिकित्ता ५९९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन अघिल्लो कारोबारको तुलनामा ५.०४ प्रतिशतले बढी हो । यससँगै, आइतबारको टप गेनरको सूचीमा सन नेपाल पाँचौं स्थानमा रहेको छ । यद्पि आइतबारको बजारमा कम्पनीको सेयर प्रतिकित्ता अधिकतम ६२८.१० रुपैयाँसम्म कारोबार भएको थियो । कम्पनीले बोनसपछि हकप्रद सेयर निष्काशन गर्ने घोषणा गरेसँगै त्यसको प्रभाव दोश्रो बजारमा परेको बजार जानकारहरु बताउँछन् । आइतबार मात्रै कम्पनीले २३.८० प्रतिशत बोनस र बोनसपछि २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको थियो । साथै, कम्पनीले कर प्रयोजनको लागि ४ करोड ८४ हजार २११ रुपैयाँ बराबरको नगद लाभांश पनि वितरण गर्ने घोषणा गरेको छ । फागुन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस वितरण गर्ने घोषणा गरेकोे हो । हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब २० करोड रुपैयाँ छ । प्रस्तावित बोनस पछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब ९६ करोड रुपैयाँ नाघ्ने छ । उक्त कायम पुँजीको २७ प्रतिशत अर्थात एक बराबर ०.२७ अनुपातको हकप्रद सेयर जारी गर्ने प्रस्ताव कम्पनीले गरेको छ । उक्त प्रस्ताव पारित भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब नाघ्ने छ । इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको ५ अर्ब पुँजी पुर्याउन उक्त प्रस्ताव गरेको हो । जुन प्राधिकरणले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कम्पनीले सो मात्राको बोनस पछि हकप्रद सेयर जारी गर्ने छ ।
बैंकहरूले ७/८ प्रतिशतभन्दा बढी लाभांश दिन सक्ने अवस्था छैन : सीईओ ढुंगाना
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकिङ क्षेत्रमा परेकाले आगामी वर्षमा लाभांश घट्न सक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा सीईओ ढुंगानाले आगामी वर्षमा बैंकहरूले ७/८ प्रतिशतभन्दा बढी लाभांश दिनसक्ने अवस्था नरहेको बताएका हुन् । ‘हिजोका दिनमा बैंकहरुले यति अर्ब नाफा कमायो भन्ने कुराको मात्रै चर्चा हुन्थ्यो । आजको परिस्थितिले भोलिका दिनमा फलानो बैंकको वितरणयोग्य मुनाफा यति नेगेटिभ भन्ने कुराको चर्चा होला,’ उनले भने, ‘नाफा जहिले पनि सापेक्षिक रुपमा हेरिनुपर्छ । रिटर्न अन इक्वीटी कति छ । लाभांश कति दिन सक्छ भन्ने कुरा हेर्नुपर्छ ।’ रिटर्न अन इक्विटी घट्दै जाँदा वास्तविक लगानीकर्ताले पाउने रिटर्न कम हुँदै गएको ढुंगानाले बताए । साथै, पछिल्लो समय कर्जा रिकोभरीमा समस्याले बैंकहरुको एनपीएल बढेको बताए । तर, कुनै समयमा यस्तो एनपीएल नेगेटिभ हुने गरेको उनको भनाइ छ । आगामी ६ महिनामा एनपीएल ह्वात्तै घट्ने अवस्था नदेखिएको उनले बताए । ‘अहिले ऋणीले ऋण तिर्न सक्ने अवस्था कम छ । कसैले कर्जा तिरे पनि नेपाल राष्ट्र बैंकको निर्देशनका कारण त्यसलाई पुनः वर्गीकरण गरी असल कर्जामा राख्न ६ महिना कुर्नुपर्छ,’ उनले भने, ‘केन्द्रीय बैंकको व्यवस्थाले यो वर्षको अन्तमा यो फिगर ठूलो देखिएर एनपीएल कम हुने अवस्था छैन ।’ परिस्थिति आउने र जाने हुँदा अहिलेको समस्या चाँडै समाधान हुने अपेक्षा गरेको ढुंगाना बताउँछन् । अवस्था सधैँ एकनासको नरहने र अर्थतन्त्रमा देखिएका समस्यामा सुधार हुँदै जादा बैंकिङ सेक्टर पनि राम्रो बन्ने उनको भनाइ छ । ‘अर्थतन्त्रमा देखिएको समस्याको बारेमा नेपाल सरकार र अर्थमन्त्रालय जानकार छन्’, उनले भने, ‘आगामी समयमा अर्थतन्त्रमा देखिएका समस्याको सम्बोधन गर्ने, निर्माण व्यवसायको पेमेन्ट समयममा निकासा गरिदिने र आगामी मौद्रिक नीतिमा केही सहुलियतपूर्ण प्रावधानको व्यवस्थाले अर्थतन्त्र उकासिने विश्वास छ ।’
उच्च अदालतका दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस
काठमाडौं । न्याय परिषदले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्न सिफारिस गरेको छ । आइतबार बसेको परिषदको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्त गर्न सिफारिस गरेको हो । परिषदले विवादमा मुछिएका दुवै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा पत्र पठाएको छ।
कुनै एउटा सूचकमा गिरावट आउँदैमा बैंक डुब्दैनन् : डेपुटी गभर्नर मिश्र
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकको कुनै एक सूचक सामान्य कमजोेर हुँदा बैंक सकिने कुरा गर्न नमिल्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले नबिल बैंकसँगको सहकार्यमा आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले कुनै पनि बैंकको एउटा कमजोर सूचक औँल्याएर संस्था नै सकिएको भन्न नमिल्ने बताएका हुन् । ‘बैंक तथा वित्तीय संस्था विश्वासको आधारमा चल्छन्। त्यसैले यो क्षेत्रलाई सवेदशील मानिन्छ’, उनले भने, ‘बैंकहरुले निक्षेपकर्ताको करिब ६२ खर्बको निक्षेप बोकेर बसेका छन् । यति धेरै दायित्व रहेका संस्थाको एक सूचकको गिरावटलाई हेरर त्यो सकियो भन्न हुँदैन ।’ कसैले पनि एक सूचक देखाएर संस्था सकियो भन्दा त्यसको असर धेरै ठाउँमा देखिने बताए । त्यसकारण यस्ता सवेदनशील क्षेत्रको बारेमा कुनै समाचार प्रवाह गर्दा निक्षेपकर्ताको विश्वासलाई ख्याल गर्नुपर्ने उनको भनाइ छ । पछिल्लो समय कुनै बैंकको एक एउटा सूचकलाई हेरेर संस्था नै डुब्न लागेको भन्ने सूचना सम्प्रेषण हुँदा त्यसको खण्डन गर्न केन्द्रीय बैंकले विज्ञप्ति नै जारी गर्नुपरेको उनले बताए । अहिले बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) सहज अवस्थामा रहेको मिश्रले बताए । ‘अहिले बैंकहरु तरलताको सहज अवस्थामा छन् । तरलतालाई हेर्दा बैंकहरु सहज अवस्थामा हुँदा बैंकहरुको एउटा सूचकमा केही समस्या हुँदैमा त्यसलाई मात्रै हेरेर त्यो सकियो भन्न मिल्दैन’, उनले भने, ‘त्यसैले यस्तो संवेदनशील क्षेत्रको बारेमा सूचना सम्प्रेषण गर्दा ध्यान दिनुपर्छ ।’ पछिल्लो समय अर्थतन्त्रमा देखिएको शिथिलताका कारण सबै क्षेत्रको मनोबल घटेको छ । ब्याजदर घट्दो अवस्थामा हुँदा विस्तारै कन्फिडेन्स बढाउनुपर्ने देखिन्छ । केन्द्रीय बैंकले कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले यस क्षेत्रमा जाने कर्जा बढ्ने र कन्फिडेन्ट बढ्ने उनले बताए । बढ्दो रेमिट्यान्स र आयात घट्दा अर्थतन्त्रको बाह्य क्षेत्रमा देखिएको सुधारसँगै विदेशी विनिमय सञ्चिति बढेको हुँदा आत्तिनुपर्ने अवस्था नरहेको मिश्रले बताए ।
अनुगमनमा आक्रामक बन्दै महानगर, थप चार अस्पतालको फोहोर नउठाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आइतबार (आज) चार वटा अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । कलंकी क्षेत्रमा रहेका सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल र चाबहिलका दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर संकलनमा रोक लगाइएको ल्याण्डफिल साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । कलंकी क्षेत्रका अस्पतालहरुको गएको शुक्रबार र चाबहिल क्षेत्रका अस्पतालको आइतबार अनुगमन गरिएको थियो । यसअघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पताल र बानेश्वरको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाइएको छ । यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई संक्रमित फोहोर निसंक्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धता, अहिले फोहोर व्यवस्थापनका लािग सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर ३ दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन भनिएको छ । ‘ल्याण्डफिल साइटमा कुनै पनि हानीकारक फोहोर नपुगोस भनेर हामीले अनुगमन गरेका हौँ । अनुगमनका क्रममा फोहोर व्यवस्थापन अभ्यास हेर्दा फरक फरक अवस्था देखिएको छ ।’ श्रेष्ठले भने, ‘संक्रमित फोहोरको व्यवस्थापन उत्पादक आफैँको हुन्छ । अस्पतालहरुको अवस्था हेर्दा सबैमा एकै खालको कसुर छैन । कसैले तत्काल सुधार गर्न सक्ने देखिन्छ । कुनै अस्पतालको फोहोर व्यवस्थापनका लागि पूर्वाधार र संयन्त्र नै बनाउनु पर्ने देखिएको छ । यसका आधारमा रोकिएको फोहोरको सम्बन्धमा निर्णय गरिनेछ ।’ कलंकीको सहिद मेमोरियल अस्पताल विशेषज्ञ सेवासहितको १ सय वेडको हो । महानगरकाअनुसार यस अस्पतालमा फोहोर वर्गीकरण गर्न राखिएका बाल्टिनहरुको रंग संकेत मिलेको छैन । सबै खालको फोहोर सबै बाल्टिनमा राखिएको छ । वार्डमा उत्पादन भएका सुईलाई निसंक्रमित बनाउन साना साना अटोक्लेभ राखिएका छन् । यी अटोक्लेभहरुको बिर्को राम्ररी नलाग्ने भएपछि प्रभावकारितामा प्रश्न उठेको छ । संकलित फोहोर ढुवानी गर्ने प्रणाली व्यवस्थित छैन । अनुगमनका बारेमा जानकारी दिँदै वातावरण निरीक्षक सृष्टि श्रेष्ठ भन्छिन्, ‘अटोक्लेभ गर्ने मेसिन भएको ठाउँमा पुग्ने साँघुरो बाटो छ । अँध्यारो र साँघुरो ठाउँबाट जानुपर्दा संक्रमित फोहोरले भित्ता र अन्य सामानमा छुने र यसबाट संक्रमण बढ्ने खतरा छ ।’ अस्पतालको छतमा सिरिञ्जलगायत कालो प्लाष्टिकका बाँधेर फोहोरका पोका राखिएका छन् । यो फोहोर खुला भएकोले पंक्षीहरुको सिधा सम्पर्कमा छ । यसकारण पनि जोखिम छ । फोहोर वर्गीकरण नभएपछि कुन संक्रमित, कुन सामान्य भन्न सकिने अवस्था छैन । फोहोर उत्पादन कति हुन्छ, अभिलेख राखिएको छैन । कलंकीको नेपाल नेशनल अस्पताल २५ शय्याको विशेषज्ञ सेवा सहितको हो । जसको फोहोर व्यवस्थापन कमजोर छ । स्रोतमा फोहोर वर्गीकरण गर्नका लागि रंग संकेतको उचित प्रयोग भएको छैन । कुन फोहोर कुन बाल्टिनमा हाल्ने हो, लेखिएको छैन । कति ठाउँमा अँध्यारोमा बाल्टिन राखिएका छन् । शौचालयको मुखमै राखिएका बाल्टिनमा शौचालयबाट उत्पादन भएको फोहोर समेत मिसिने खतरा देखिन्छ । संकलित फोहोर ढुवानी गर्ने साधनको उचित प्रबन्ध छैन । अस्पतालको पार्किङ्सँगै जस्ताले बेरेको फोहोर वर्गीकरण गर्ने कोठा बनाइएको छ । यसमा फरक फोहोर राख्न छुट्टै कक्ष बनाइएको छ । यति भएर पनि कुनमा कुन खालको फोहोर राख्ने एकिन छैन । यहाँ जम्मा भएको संक्रमित फोहोरलाई निसंक्रमित बनाउन अटोक्लेभ छैन । अस्पतालको नर्सिङ्क विभागका प्रमुख दीपा पौडेल भन्छिन्, ‘मैले सेवा सुरु गरेको २ महिना मात्र भयो । त्यस अघि नै अटोक्लेभ मेसिन विग्रिएर बनाउन लगेको सुनेकी छु । अहिलेसम्म आएको छैन ।’ उसो भए संक्रमित फोहोर कसरी निर्मलीकरण गर्नुहुन्छ त ? जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले सोधेका प्रश्नमा जवाफ दिँदै पौडेलले भनिन्, ‘रसायन हालेर यसलाई निसंक्रमित बनाउँछौँ ।’ अस्पतालले फोहोरको मात्रा र प्रकृतिको अभिलेख समेत नराखेको महानगरले बतायो । चाबहिलको दीर्घायु गुरु अस्पताल विशेषज्ञ सेवासहितको ५० शय्याको हो । यो अस्पतालले फोहोर व्यवस्थापनका लागि न्युनतम मापदण्ड पनि पालना गरेको छैन । मात्रा र प्रकृतिको अभिलेख छैन । स्रोतमा फोहोर वर्गीकरण गर्न सामान्य बाल्टिन राखेको भए पनि फोहोर नमिसिएको बाल्टिन छैन । नर्सिङ् स्टेशन नजिकै हुने औषधि वितरण गर्ने ट्रलीमा फोहोर राख्ने कुनै प्रणाली नभएको महागनरले बताएको छ । यसरी उत्पादन भएको फोहोर ढुवानी गरेर भण्डारण कक्षमा लैजाने साधन छैनन् । अस्पतालको प्राङ्गणको एउटा कुनामा फोहोर संकलन गर्ने कोठा बनाइएको छ । यो कोठामा सबै मिसिएको फोहोर राखिएका पोकाहरु छन् । जोखियुक्त फोहोर कहाँ राख्नुहुन्छ त, अनुगमन टोलीमा सहभागी महानगरपालिकाकी उपनिर्देशक सानुमैया महर्जनको प्रश्नमा उत्तर दिँदै अस्पतालका प्रशासन विभागका कर्मचारीले महेश उप्रेतीले अस्पताल अगाडि रहेको सडक पार गराउँदै अर्को साइडमा रहेको पार्किङ् स्थलमा पु¥याए । पार्किङ्को एक छेउमा बोराहरुको थुप्रो थियो । उनले त्यसको छेउमा बनाइएको खाल्टोको ढकन खोल्दै भने, हामीले हानीकारक फोहोर यहीँ हाल्ने हो । अनुगमन टोलीले प्रश्न राख्यो- अहिले त खाडल रित्तै छ त ? उप्रेतीले जवाफ दिए- ‘भर्खर निकालेर बोरामा हालेको ।’ अनि बोरामा किन नि- ‘टोलीले सोधेको अर्को प्रश्नमा जवाफ दिँदै उनले भने, हामीले गोकर्णेश्वर नगरपालिकासँग कुरा गरेका छौँ । यो फोहोर उतै पठाउने हो ।’ यसरी दिइएका जवाफ चित्त बुझ्दा थिएनन् । गहिरो कालो खाल्टोबाट जोखिमयुक्त फोहोर निकाल्ने कुनै प्रविधि वा उपकरण पनि थिएन । त्यस्तै, चाबहिलको ओम अस्पताल १७५ वेडको विशेषज्ञ सेवासहितको हो । अस्पतालको सामान्य फोहोर संकलन गर्न महानगरपालिकाको कन्टेनर राखिएको छ । अनुगमन टोली सुरुमै कन्टेनर भएको ठाउँमा गयो । यसका राखिएका फोहोरका पोका खन्याएर हेर्दा रगत देखिने केही कटनका टुक्रा फेला परे । यसअघि पनि कमजोरी थियो । सुधार देखिएन नि, वातावरण निरीक्षक सृष्टि श्रेष्ठले प्रश्न सोधेपछि हाउस किपर अफिसर ज्वाला सुवेदीले भनिन्, यो मिसिनु मानवीय कमजोरी हो । हामीले जनशक्तिसहितको संयन्त्र बनाएर काम थालेका छौँ । यसबाहेक सिरिञ्ज तथा अन्य धारिला र संक्रमण भएका फोहोर कन्टेनरमा आउन सक्ने कुनै अवस्था छैन । संक्रमित फोहोरलाई निसंक्रमित बनाउन अटोक्लेभ मेसिन राखिएको छ । मेसिन निसंक्रमण बनाउन फोहोरलाई प्लाष्टिकमा पोको पार्ने गरिएको छ । प्लाष्टिकको पोकोमा प्वाल नहुँदा बाफ भित्री भागमा नपुग्ने जोखिम छ । अनुगमन टोलीले सुझाव दिँदै भन्यो, ‘जोखिम शुन्य बनाउनु पर्छ । यसले अस्पतालसँगै ढुवानी र ल्याण्डफिल साइट व्यवस्थापनमा काम गर्ने कर्मचारीको स्वास्थ्य जोखिम कम हुन्छ ।’ अस्पतालले फोहोरको मात्रा र प्रकृतिको अभिलेख राख्न सुरु गरेको छ । यसलाई नियमित गर्नु पर्ने देखिन्छ । जोखिमयुक्त फोहोरसँगै सामान्य फोहोरको मात्रा र अटोक्लेभपछि सामान्य फोहोर भएर बिक्री गर्ने र ल्याण्डफिल साइटमा पठाउने फोहोरको मात्रा अभिलेखन गर्न टोलीले सुझाव दिएको छ । बिक्री हुने फोहोर धेरै समयसम्म एकै ठाउँमा राख्दा मुसा र बिरालोले छर्ने, अन्यत्र ठाउँमा लैजाने जोखिम देखियो । यसैको नजिक सालनाल व्यवस्थापन गर्ने प्लान्ट छ । एकै ठाउँमा भएका संरचनाहरुका कारण आपसमा संक्रमण सर्न सक्ने खतरामा ख्याल गर्न टोलीले सुझाव दिएको छ । त्यसैगरी, चाबहिलको १ सय शय्याको मेडिकेयर अस्पतालले अन्य अस्पतालको तुलनामा फोहोर व्यवस्थापन प्रणाली व्यवस्थित गरेको छ । स्रोतमा वर्गीकरण, ढुवानी गर्ने प्रणाली, फोहोरमै काम गर्ने जनशक्ति परिचालन गरेको छ । भवनको भूमिगत तलामा फोहोर वर्गीकरण र भण्डारण कक्ष बनाइएको छ । यस नजिकै तरल फोहोर प्रशोधन प्लान्ट राखेको छ । अस्पतालकी नर्सिङ् विभाग प्रमुख मुना भण्डारीका अनुसार मानव अङ्ग व्यवस्थापनका लागि अर्को अस्पतालसँग सम्झौता भएको छ । यसरी विभिन्न अस्पतालहरुको अनुगमन हेर्दा कतिपय अस्पताले संक्रमित फोहोरलाई वर्गीकरण गरेर अटोक्लेभ गर्ने गरेको देखिन्छ । जनस्वास्थ्य निरीक्षक श्रेष्ठका अनुसार यो विधि गलत हो । संक्रमित सबै फोहोर पहिले अटोक्लेभ गरेर निसंक्रमित बनाउनु पर्छ । यसपछि मात्र वर्गीकरण गर्न सकिन्छ । रंग संकेतको एकरुपता छैन । यसलाई एउटै रंगसंकेतमा रुपान्तरण गर्नु पर्नेछ । प्रयोगशाला र तरल फोहोर प्रशोधनमा पनि काम गर्नु पर्ने देखिन्छ । वर्गीकरण गर्ने ठाउँ व्यवस्थित छैन । यसलाई छुट्टै ठाउँमा व्यवस्थित गर्नु पर्ने देखिन्छ । फोहोरमा काम गर्ने जनशक्तिको स्वास्थ्य जोखिम कम गराउन खोप दिने, काम गर्दा लगाउने पीपीइ, मास्क, बुट र चस्मा दिनु पर्ने देखिएको छ । सबैभन्दा महत्वपूर्ण विषय, कुन फोहोर सामान्य र कुन संक्रमित, कुन फोहोरलाई खाली हातले छुन सकिन्छ, कुनलाई सकिँदैन । खाली हातले छुन नसकिने फोहोरलाई कसरी छुने, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सचेतना चाहिएको छ । यसलाई व्यवस्थापन गर्न लगानी र संयन्त्र निर्माणमा काम गर्न खाँचो देखिएको छ ।
सरकारी जग्गामा भ्रष्टाचार, झापाका तत्कालीन नापी अधिकृतसहित १८७ जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले झापाका चन्द्रगढी नापी कार्यालयका तत्कालीन नापी अधिकृत राम देव मण्डल धानुकसमेत १८७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ता प्रक्रियाबाट व्यक्ति विशेषको नाममा दर्ता गरी गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आयोगले बताएको छ । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार झापाको साविक दमक ६ग हाल दमक नगरपालिका वडा नं. १३ र १४ मा पर्ने बालुवाटारको रतुवा र दिपिनी खोलाको दोभानको सार्वजनिक जग्गा अतिक्रमण गरेको अभियोगमा मुद्दा दायर गरेको हो । आयोगका अनुसार कि.नं. ७६०,७६१,७६२,७७३,७८३,७८४,७८६,७८७,७८८ र साविक दमक ६ग र दमक ५ख बिचको मार्जिनका जग्गाहरू २०२१ सालको शुरु नापीमा सरकारी सार्वजनिक भए पनि स्वबासी प्रक्रियाबाट जग्गादर्ता गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार मिलोमतोमा ९२८ बिगाहा १७ कठ्ठा १३ धुर (९३८४ रोपनी ८ आना १ दाम) व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको हो । जसको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८ सय एक रुपैयाँ रहेको छ । आयोगले नापी कार्यालय, चन्द्रगढीका कर्मचारी ९ जना, सरकारी सार्वजनिक जग्गा गैरकानूनी तरिकाले स्ववासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका शुरु जग्गा दर्तावाला ६५, र बिगो असुल उपर तथा जग्गा जफत प्रयोजनका लागि मात्रै ११३ लाई प्रतिवादी बनाइएको छ । [pdf id=466112]
भरतपुर भ्रमण वर्षको उद्घाटन फागुन १८ गते, ५० हजार बढी स्थानीय सहभागि हुँदै
काठमाडौं । भरतपुर भ्रमण वर्षको यही फागुन १८ गते उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । नारायणी नदी किनारमा हुने उद्घाटन समारोहमा ५० हजारभन्दा बढी स्थानीयको सहभागिता हुने महानगरले अनुमान गरेको छ । भरतपुर महानगरपालिकाले यहाँको पर्यटन प्रवर्द्धनका लागि सन् २०२४ लाई भ्रमण वर्षका रुपमा मनाउँदै छ । नारायणगढ–गोन्द्राङ छ लेन सडकलगायत केही पूर्वाधार निर्माणमा ढिलाइ हुँदा उद्घाटन पछि सारेर मार्च १ अर्थात् फागुन १८ गते गर्न लागिएको हो । नारायणी नदी किनारमा भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरिँदैछ । महानगर प्रमुख रेनु दाहालका अनुसार उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुखहरु, सङ्घीयमन्त्री, प्रदेशका प्रमुख एवं मुख्यमन्त्री, प्रदेशका मन्त्री, जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय एवं प्रदेशका सांसदलगायतलाई निमन्त्रणा गरिएको छ । उनका अनुसार उद्घाटन समारोहपूर्व सबै वडाबाट झाँकीसहितको र्याली नारायणगढ नजिक नारायणी नदी किनार आइपुग्नेछ । विभिन्न जातजाति एवं सङ्घसंस्थाले झाँकी प्रदर्शन गर्ने दाहालले बताए । उनले भने, ‘भ्रमण वर्ष उद्घाटनमा ५० हजारभन्दा बढीको सहभागिता हुने अनुमान गरेका छौँ । महानगरका सबै वडासहित जिल्लाका अन्य पालिका र छिमेकी जिल्लाबाट समेत उद्घाटन समारोहमा सहभागिता हुनेछ ।’ कार्यक्रमको घोषणापूर्व र उद्घाटनसत्र पछि राष्ट्रिय तथा स्थानीय कलाकारले नदी किनारमा साँझसम्म साङ्गितक प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यकोसमेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको हो । भ्रमण वर्ष सफल पार्न महानगर प्रमुख दाहालको संयोजकत्वमा दुई हजार २४ सदस्यीय मूल समारोह समिति बनाइएको छ । समितिको शनिबार बैठक बसेको थियो । प्रमुख दाहालकै संयोजकत्वमा सात सदस्यीय निर्देशन समिति, उपप्रमुख चित्रसेन अधिकारीको संयोजकत्वमा १९ सदस्यीय कार्यसम्पादन समिति, एक सय एक सदस्यीय सल्लाहकार समिति र २९ उपसमिति गठन गरिएका छन् । उपसमितिमा सात सय सदस्य रहेका छन् । भ्रमण वर्षमा गरिने विभिन्न कार्यक्रम स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्यमा गरिँदैछ । महानगरका उपप्रमुख अधिकारीका अनुसार रु छ करोडभन्दा बढी सरकारी तवरबाट भ्रमण वर्षमा खर्च हुँदैछ । यसका लागि महानगरले रु तीन करोड विनियोजन गरेको छ । बागमती प्रदेश सरकारले रु दुई करोड उपलब्ध गराउने प्रतिबद्धता जनाएको उनले बताए । यसैगरी पर्यटन बोर्डबाट रु ६५ लाख निकासा भइसकेको उपप्रमुख अधिकारीले जानकारी दिए । यससँगै भ्रमण वर्ष तयारीका क्रममा भौतिक निर्माणमा समेत महानगरले खर्च गरेको छ । पर्यटकीय पूर्वाधार निर्माण महानगरको योजनाबद्ध खर्च भएको उहाँले बताउनुभयो । भ्रमण वर्षसँगै सुस्ताएको यहाँको पर्यटन क्षेत्र चलायमान हुने अधिकारीको अपेक्षा छ । महानगर प्रमुख दाहालले भ्रमण वर्षमा दुई लाख बाह्य र पाँच लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। भ्रमण वर्षका अवसरमा महानगरभित्र रहेका होटल, रिसोर्ट र रेष्टुरेन्टले विशेष छुटमा प्याकेज दिँदैछन् । प्रमुख दाहालका अनुसार महानगरभित्र २० शय्याभन्दा माथिका ६५ पर्यटकीय होटल छन् । मध्यमस्तरका सहित सात हजार जना अट्ने क्षमता महानगरभित्रका होटलमा रहेको छ । भ्रमण वर्षलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरसम्म प्रचारप्रसार गर्नेगरी विभिन्न कार्यक्रम गरिँदै छ । प्रमुख दाहालका अनुसार ५० भन्दाबढी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गरिँदै छन् । ऐतिहासिक दरबार दियालो बङ्गला सर्वसाधारणका लागि खुला गरिँदैछ । भ्रमण वर्षको उद्घाटनपछि लगत्तै दियालो बङ्गला सञ्चालनमा ल्याइनेछ । त्यहाँ पुनःनिर्माणको काम भइरहेको उनले बताए । यसैगरी दुर्लभ पाटेबाघ पर्यटकले हेर्न मिल्ने गरी खुला खोरमा राख्न लागिएको छ । भ्रमण वर्षको उद्घाटनअघि नै बाघ राखिनेछ । महानगरको देवनगरमा बाघसँगै सोही क्षेत्रमा गैँडा राख्नका लागि खोर बन्दैछ । दाहालले भनिन् ‘अब यहाँ आउने पर्यटकले निकुञ्जमा बाघ, गैँडा नहेरी फर्कनु पर्दैन ।’ महानगरपालिकाले गैँडाको खोर, मचान र त्यहाँ पुग्ने ठाउँसम्मका लागि बाटो निर्माण गर्न रु एक करोड खर्च गरेको छ । बाघको खोर निकुञ्ज आफैँले बनाएको हो । भ्रमण वर्षका अवसरमा विश्वका विभिन्न देशमा बस्ने भरतपुरवासी, समग्र नेपाली र सोही मुलुकका नागरिक घुम्न आउनका लागि निम्तो दिइएको छ । प्रमुख दाहालले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान बनाउन भ्रमण वर्ष उपयोगी हुने अपेक्षा छ ।’ भ्रमण वर्षका सन्दर्भमा गरिने गतिविधिका लागि महानगरपालिकाले एक वर्षदेखि गृहकार्य गर्दै आएको थियो । उनले भने, ‘भ्रमण वर्ष सफल पार्न सरकारी प्रयासले मात्रै हुँदैन, निजी क्षेत्र पनि सक्रियरुपमा लाग्नुपर्छ ।’ सबैको साथ र सहयोगले भ्रमण वर्ष सफल हुने उनको अपेक्षा छ । देशमै स्थानीयस्तरमा भौतिक पूर्वाधारमा अग्रणी मानिएको भरतपुर महानगरपालिकामा यहाँको भौतिक निर्माण हेर्न अन्य स्थानीय तहबाट जनप्रतिनिधि आउने अपेक्षा गरिएको छ । भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ डा विश्व सुवेदीले भ्रमण वर्षले सिथिल भएको समग्र अर्थतन्त्र चलायमान हुने बताए। चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार रहेको भरतपुर हुँदै पर्यटक निकुञ्ज प्रवेश गर्ने गर्दछन् । राप्ती र नारायणी नदीको बीचमा रहेको भरतपुर महानगर पर्या–पर्यटन, धार्मिक र संस्कृतिक हिसाबले महत्वपूर्ण छ । सुवेदीले भने, ‘सरकारी तवरबाट यो ढङ्गले पर्यटन प्रवर्द्धनका लागि गरिएको यो प्रयास निजी क्षेत्रका लागि कोसेढुङ्गा हुनेछ ।’ उनका अनुसार भरतपुर महानगरभित्र अन्तर्राष्ट्रियस्तरको रङ्गशाला र सिटिहल बन्दैछ । प्रदर्शनी केन्द्र सञ्चालनमा आएको छ । राजधानी नजिक रहेको यो महानगर आर्थिक नगरीका रुपमा विकास हुँदै गएको छ । यस्ता कार्यक्रमले यहाँको पर्या–पर्यटनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । रासस
कृषि विकास बैंकले १ हजार ४३४ जना आवेदकको परीक्षा शुल्क फिर्ता गर्दै
काठमाडौं । कृषि विकास बैंकले अनलाईन आवेदनको फाराम रद्द भएका आवेदकहरूको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । ३ वर्षअघि अनलाईन फाराम भरेका १ हजार ४३४ जना आवेदकको परीक्षा शुल्क फिर्ता गर्ने बैंकले जनाएको छ । बैंकका अनुसार वि.सं २०७७ माघ ९ गते र वि.सं २०७९ असार २४ गतेको सूचनामा खुल्ला तर्फका विभिन्न पदहरूमा अनलाइनमार्फत आवेदन दिएका तर, रीतपूर्वक नभएका दरखास्त फाराम अस्वीकृत भएकाले परीक्षा शुल्क रकम फिर्ता हुनेछ । आवेदन रद्द भएका आवेदकहरूले परीक्षा शुल्क फिर्ता लिनको लागि फागुन मसान्तभित्र निवेदन दिईसक्नु पर्ने बैंकले जनाएको छ । आवेदन अस्वीकृत भएका आवेदकहरूले परीक्षा शुल्क रकम फिर्ता लिन सम्बन्धित आवेदक स्वयंको खातामा जम्मा हुनेगरी खाता नम्बर उल्लेख गरी फाराम भर्दाको आवेदक नम्बर, नाम, ठेगाना, सम्पर्क नम्बर, तीनपुस्ते लगायतका विवरण तथा दस्तखत गरी बैंकको ईमेल वा शाखा मार्फत निवेदन दिनुपर्ने बैंकले जनाएको छ । यस्तै, बैंकबाट उल्लेखित खाता नम्बर र आवश्यक विवरण भिडाई रुजु भएमा सम्बन्धित आवेदकको खातामा जम्मा हुनेगरी फिर्ता भुक्तानी हुनेछ । साथै, बैंकमा खाता नभएका वा खाता खोल्न सम्भव नभएका आवेदकहरूले जनशक्ति व्यवस्थापन विभागमा स्वयं उपस्थित भई निवेदन दिनुपर्ने र बैंकले आवश्यक प्रक्रिया पुर्याई नियमानुसार फिर्ता भुक्तानी गर्ने बैंकले जनाएको छ । [pdf id=466059]